दोस्रो अध्यक्ष र भागवण्डामा माधव नेपाल मिल्ने संकेत



 

 

नेकपा एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक वार्ता गराउने विघटित कार्यदलका नेताहरुको प्रयास जारी रहे पनि दुई नेताको भेट तय हुन सकेको छैन । विहीवार अध्यक्ष केपी ओलीले उपाध्यक्ष भीम रावललाई माधव नेपालसँग कुरा गर्न र सहमतिको प्रस्ताव ल्याउन आग्रह गरेका थिए । सोही बमोजिम रावलले वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए ।

उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि दुवै नेताबीच संवादको पहल गरिरहेका छन् । यसपटक माधव नेपाल ‘प्याकेज सहमति’को ठोस प्रस्तावबिना वार्तामा बस्न अनिच्छुक रहेको नेपाल निकट स्रोतले जनाएको छ । दुई नेताबीच विहीवारै वार्ता प्रयास भएको थियो । तर नेपालको सचिवालयले वार्ताको समय तय नभएको भन्दै सहमतिको प्रस्ताव बिना वार्तामा बस्न नचाहेको सन्देश दियो ।

एमाले केन्द्रीय कमिटीको विहीवार सम्पन्न बैठकले पार्टी एकताको लागि अन्तिम प्रयत्न गर्न अध्यक्ष ओलीलाई जिम्मा दिएको छ । ओलीले एकताको लागि आफू लचिलो बन्न र सबैलाई आम माफी दिन तयार रहेको बताएका छन् । पछिल्लो समय आफ्नो हात माथि परेको महशुस गरेका नेपालले ओलीसँग एकताका लागि केही शर्त अघि सारेका छन् । साना मसिना कुरादेखि पावर शेयरिङसम्मको प्याकेजमै सहमति भएमात्र ओलीसँग संवाद हुने नेपाल निकट पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘१० बुँदे सहमति अपूर्ण छ,त्यसलाई संशोधन गरेर विस्तृत प्याकेज सहमति हुनुपर्छ । यो भनेको तलदेखि माथिसम्म नेता कार्यकर्ताको सुरक्षा र पार्टी एक बनाउने कुरा हो ।’

ओलीले पार्टी जोगिन्छ भने आफू माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । नेपाल पक्षले भने छलफलमा आएको कुरालाई ओलीले बाहिर ल्याएर एकताको वातावरण बिगार्ने र माधव नेपाललाई पदलोलुप सिद्ध गर्न खोजेको टिप्पणी गरेको छ । त्यसो त अहिले ओली र माधव नेपालबीच नमिलेको भनेको शक्ति बाँडफाँड (पावर शेयरिङ) नै हो । विधान संशोधन गरेर अर्को अध्यक्ष पद सिर्जना गर्न सकिने कुरा एमालेमा चलिरहेको छ । कार्यदलमा भने यो विषयमा नेताहरुले छलफल गर्न चाहेनन् र दुई नेतालाई जिम्मा दिए ।

आफूसँगको कुराकानीमा नेपालले दोस्रो अध्यक्ष मागेको ओलीले बताएका छन् । तर नेपाल पक्षका नेताहरु भने दोस्रो अध्यक्ष भन्नु पनि माधव नेपालको अपमान हुने भन्दै दुई अध्यक्ष भन्न सकिने बताउछन् । नेपाल निकट ती स्थायी कमिटी सदस्यले भने–पावर शेयरिङको विषय बाहिर हल्ला गर्ने भन्दा पनि दुई नेताबीच समझदारी हुनुपर्छ । अर्को अध्यक्ष भने पनि भयो,हरेक निर्णयमा माधव नेपालको समेत हस्ताक्षरमात्र कानूनी रुपमा आधिकारिक हुने सम्झौता भए पनि हुन्छ । मुख्य कुरा ओलीको एकलौटी रोक्न पावर शेयरिङ चाहिएको हो ।

माधव नेपालले प्याकेज सहमतिमा पावर शेयरिङभित्र अर्को अध्यक्षका साथै फागुन २८ यताका सबै निर्णय खारेज, केन्द्रीय कमिटीमा आफ्नो पनि बराबरी हिस्सा मनोनयन, स्थायी कमिटीमा बराबर संख्या खोजेका छन् । तल्ला कमिटीदेखि माथिल्लो तहसम्म एकैपटक प्याकेज सहमति नगरे फरि धोखा हुन सक्ने भन्दै लिखित प्रस्तावमाथि छलफल हुने गरी ओलीसँग संवादमा बस्ने नेपालको अडान छ ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा बहुमत ल्याउने एमालेका ३८ रणनीति

    एमाले अध्यक्ष केपी ओलीले एमालेलाई पुनः राज्य सञ्चालनको केन्द्र भागमा स्थापित

विप्लव समूहको ‘मोजमस्ती’, लोकल खसी र भाले समाप्त

  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक तनहुँ

यति एअरलाईन्सको पर्वतीय उडान असोज ९ गतेबाट शुरु

    दोश्रो लकडाउन पछि रोकिएको यति एअरलाईन्सको पर्वतीय उडान असोज १० गते

बालुवाटार प्रकरणको मुख्य पात्र माधव नेपाल हो : विजय गच्छदार

    नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा