किसानको छोरादेखि कृषि सचिवसम्म



 

 

जागिरे जिन्दगीमा उनी जहाँ जहाँ गए, त्यहाँ त्यहाँ किसानको हकहितमा लागिपरे । के पाउँछु या कुन पदमा पुग्छु भन्दा पनि कृषक एवं कृषि व्यवसायीका पक्षमा हिजोभन्दा बढी काम कसरी गर्न सकिन्छ, उनीहरुका लागि सेवा, सुविधा बढाउन सकिन्छ कि सकिँदैन भनेर सोचे । किनभने उनी पनि गाउँले किसानकै छोरा हुन् । त्यसैले सदैव किसानकै पक्षमा सोच्छन् ।

हुन पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीको सिंगो जीवन कृषि क्षेत्रको विकास, त्यसको व्यावसायिकीकरण र आधुनिकीकरणको रोडम्याप, योजना, कार्यक्रम र रणनीति बनाउनमै बित्यो । त्यसैले ‘कृषि क्रान्तिका सूत्रधार’का रुपमा उनको सार्वजनिक चिनारी बनेको छ ।

सगरमाथाको काखमा रहेको सोलुखुम्बु जिल्लाको सिमखर्क नेलेमा रणसुर कार्की खानदानका कुलगौरव डा. कार्की समाजसेवी खड्गबहादुर र मनमायाको माइला सुपुत्रका रुपमा २०२० सालमा जन्मेका हुन् । उनले स्थानीय जीवनज्योति माविबाट उत्कृष्ट अंकसहित २०३६ सालमा एसएलसी गरे । त्यसपछि काठमाडौं छिरेका उनले पाटन बहुमुखी क्याम्पसबाट भौतिकशास्त्र समूहबाट आईएस्सी गरी कोलम्बो प्लानको छात्रवृत्ति पाए । उनलाई युनिभर्सिटी अफ एग्रिकल्चरल साइन्सेज बैंगलोर (भारत) बाट बीएस्सी एजी गर्ने अवसर मिल्यो ।

त्यसपछिको शिक्षा भने उनले नेपालमै लिए । रामपुर क्याम्पस चितवनबाट एमएस्सी एजी, जनप्रशासनमा स्नातकोत्तरका साथै २०७३ मा कृषि अर्थशास्त्रमा विद्यावारिधि उपाधि लिए । एग्रिकल्चरल मार्केटिङ, पोलिसी एनलाइसिस, एग्रिकल्चरल इकोनोमिक्स, भ्यालु चेन एप्रोच, इन्भारोमेन्ट एन्ड नेचुरल रिसोर्स म्यानेजमेन्टलगायतका विषयमा उनको विशेषज्ञता छ ।

निजामती सेवामा उनको करिअरको सुरुआत भएको थियो, मार्फा मुस्ताङमा । सहायक बाली विकास अधिकृतका रुपमा  । त्यसपछि जिल्ला कृषि विकास अधिकृतका रुपमा रामेछाप खटिए । एसिस्टेन्ट एग्रिकल्चरल इकोनोमिक्स्ट र सिनियर एग्रिकल्चरल इकोनोमिक्स्टका रुपमा समेत काम गरे ।

कृषि मन्त्रालयअन्तर्गतका विभिन्न विभाग, शाखा र संस्थाको सफल नेतृत्व गरेका डा कार्की सन् १९९८ मा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मार्केट म्यानेजर थिए । त्यहाँ दुई वर्ष बसेपछि कृषि मन्त्रालयको वैदेशिक समन्वय, योजना, अनुगमन तथा मूल्यांकन लगायत महाशाखाको प्रमुखको जिम्मेवारी लिए । सामाजिक कार्यमा पनि रुचि राख्ने कार्कीका व्यावसायिक कृषिसम्बन्धी दर्जनौं पुस्तक र अनुसन्धानात्मक लेख प्रकाशित छन् ।

नेपाल सरकारको निजामती सेवामा उनले विशिष्ट श्रेणीबाहेक सबै पदमा लोक सेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाटै छनोट भए । २०५० सालमा राजपत्रांकित तृतीय श्रेणी, २०५४ मा द्वितीय श्रेणी र २०६५ मा प्रथम श्रेणीको अधिकृत भए भने २०७७ मंसिर १५ मा विशिष्ट श्रेणीमा पदोन्नति पाए ।

“नेपाल गाउँगाउँबाट बनेको देश हो । गाउँको किसानको अर्थतन्त्र नसुधारीकन राष्ट्रिय अर्थतन्त्रको उन्नति र समृद्धि सम्भव छैन । त्यसैले हामीले किसानहरुको उन्नतिमा ध्यान दिएका छौं,” उनी भन्छन्, “ग्रामीण अर्थतन्त्र सुधार नभई देशको आर्थिक विकास हुन सक्दैन । ग्रामीण अर्थतन्त्र त्यतिबेला सुधार हुन्छ, जतिबेला कृषिको व्यावसायीकरण हुन्छ ।”

रातारात परिवर्तन नभए पनि नेपालमा आधुनिक, व्यावसायिक र गुणस्तरयुक्त कृषिको विकास भइरहेको डा. कार्कीको धारणा छ । सरकारले पछिल्लो समय पशुपन्छी र कृषि विभाग मन्त्रालय समायोजन गरेपछि काममा सहजता आएको उनको अनुभव छ ।

कृषि विकासका लागि सिँचाइ, कृषि सडक, कृषि ऋण, कृषि बजार, कृषि मल लगायत पूर्वाधार अत्याआवश्यक छन् । तर यस्ता पूर्वाधार निर्माणका काम कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पर्दैनन् । कृषि सिँचाइ सिँचाइ मन्त्रालयअन्तर्गत पर्छ भने कृषि सडक भौतिक योजना मन्त्रालयअन्तर्गत ।

“कृषि र पशुपन्छी एक अर्काका परिपूरक हुन्, पहिला एकै ठाउँमा थिए । बीचमा अलग भयो । यो किसानहरुको चाहना र आवश्यकता हो । अझ किसानको माग त  सिँचाइ पनि एकै ठाउँ भइदिए हुन्थ्यो भन्ने छ,” उनी भन्छन्, “किसानलाई अत्यावश्यक सेवा सुविधा एउटै थलोबाट दिनु राज्यको कर्तव्य पनि हो ।”

प्रदेश सरकार र स्थानीय सरकारसँग संघीय सरकारको समन्वय अहिलेको चुनौती भएको सचिव डा. कार्कीको धारणा छ । “हामी आफैंले गर्ने भन्दा पनि प्रदेश र स्थानीय सरकारमार्फत काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने हुन्छ,” उनी भन्छन्, “योजना बनाउने, बजेट बनाउने जस्ता काम हामीले गरे पनि कार्यक्षेत्रमा प्रदेश र स्थानीय सरकारले नै कार्यान्वयन गर्ने वातावरण तयार गर्नुपर्छ ।”

डा. कार्कीले कृषि बाली र वस्तुहरुमा आत्मनिर्भरमुखी रोडम्याप बनाइसकेका छन् । धान, गहुँ, मकैमा ३ वर्ष, तरकारी र माछामा २ वर्ष, फलफूलमा ७ वर्षभित्रमा आत्मनिर्भर बनाउने योजना पूर्ववर्ती सरकारको नीति तथा कार्यक्रममै समेटिएको छ ।

सरकारी तथ्यांक हेर्दा ६६ प्रतिशतभन्दा बढी जनता कृषिमै आश्रित छन् । तर कुल गार्हस्थ उत्पादनमा ३३.३४ प्रतिशत कृषिको योगदान छ । डा. कार्कीका अनुसार अब व्यावसायिक रुपमा वस्तु उत्पादन गर्दा आयात प्रतिस्थापन गर्ने वस्तु र विश्व बजारमा पु¥याउन सकिने वस्तुमा ध्यान नदिई सुखै छैन । आयात प्रतिस्थापन गर्ने वस्तुमा दैनिक उपभोग्य माछा, मासुदेखि डेरी, पोल्ट्री, फलफूल, तरकारी लगायत पर्छन् । चिया, कफी उत्पादन गरेर विश्व बजारमा पुर्याउन सकिने सम्भावना बढेको छ ।

मलका लागि ठेक्का प्रणाली वा ‘जी टु जी’ मार्फत बहुवर्षीय आपूर्तिका लागि सम्झौता, सिँचाइ सुविधा वृद्धि, कृषिजन्य वस्तु तथा बालीको न्युनतम समर्थन मूल्य निर्धारण, कृषि उपजको बजारीकरणमा सहजीकरण, मल, बीउ, सिँचाइको उचित ग्यारेन्टी लगायत विषय उनले सम्बोधन गर्दै गएका छन् ।

कृषि मन्त्रालयको नीति निर्माण तहका रहेर काम गरेको लामो अनुभवले उनलाई सघाएको छ नै । यसअघि उनी कृषि मन्त्रालयका वरिष्ठ सहसचिवका हैसियतले वागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवका रुपमा सेवारत थिए ।

त्यहाँ रहँदा उनी कृषि औजार कारखाना निर्माण लगायत कृषि क्षेत्रमा पहिलो प्रदेशका रुपमा परिचित गराउन अहोरात्र खटिए । उनकै कार्यकालमा वागमती दूध, फलफूल, तरकारी मत्स्यपालनमा आत्मनिर्भर प्रदेशका रुपमा चिनियो । साथै हरेक निर्वाचन क्षेत्रमा सामूहिक कृषि खेती, बाख्रा पालन, मत्स्य पालन, कृषि औजार कारखाना, गाई पालन, दुग्ध उत्पादन, शीत भण्डारण लगायत कृषि सम्बन्धी कुनै न कुनै फार्म निर्माण गरी कृषि विकास गर्ने योजना ल्याइयो । सिन्धुलीको दुधौली, चितवनको माडी तथा नुवाकोटका पञ्चकन्या र विदुरमा सामूहिक कृषि खेतीको सुरुआत भए ।

सचिव डा. कार्की दातृ निकायको अनुदानमा सञ्चालित आयोजनाहरूको डिजाइन र कार्यान्वयनका क्षेत्रका ‘च्याम्पियन’ मानिन्छन् । उनले एसियाली विकास बैंक, विश्व बैंक तथा संयुक्त राष्ट्रसंघको आर्थिक सहयोगमा सञ्चालित विभिन्न आयोजनाहरुका निर्देशकका रुपमा पनि सेवा गरिसकेका छन् ।

त्यसमध्ये एउटा हो, व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) । कृषि विकास मन्त्रालयअन्तर्गतको हालसम्मकै ठूलो कार्यक्रम प्याक्टले पुरक अनुदानमा आधारित कार्यक्रम सञ्चालन गरेको थियो । त्यसअन्तर्गत किसानले सहज रुपमा अधिकतम १० लाख रुपियाँसम्म अनुदान पाए । त्यसले केही हदसम्म कृषिलाई व्यावसायीकरणका साथै कृषिप्रति युवालाई आकर्षण मात्र गरेन, स्वदेशमै स्वरोजगारीको अवसर सिर्जना गर्यो पनि ।

नेपालको कृषि क्षेत्रको विकासका लागि ३५ भन्दा बढी राष्ट्रमा कृषि सम्बन्धी तालिम, अनुसन्धान, अवलोकन अनुभव गरेका डा. कार्की सुप्रबल जनसेवा श्री मानपदवी, सुप्रबल गोर्खा दक्षिणवाहु जस्ता प्रतिष्ठित राष्ट्रिय सम्मानबाट पनि विभूषित छन् । उनले ७० देशको भ्रमण गरिसकेका छन् । उनी नेपाल कृषि अर्थशास्त्र समाजका अध्यक्षका साथै अन्तरराष्ट्रिय प्रसार शिक्षा समाजका उपाध्यक्ष पनि हुन् ।

डा कार्कीको विवाह २०४५ मा रमलासँग भयो । रमला नेपाल विद्युत् प्राधिकरणबाट माथिल्लो तहबाट निवृत्त भइसकेकी छन् । २०४९ मा जन्मेकी छोरी सोनियाको विवाह भइसकेको छ भने २०५५ मा जन्मेका जुम्ल्याहा छोरा हिमाल र सागर उच्च अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
माधव नेपालले ओलीलाई महाराजधिराज भनेपछि…….

    नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई

आईटी आर्मीप्रति मेरो पूर्ण समर्थन छ : महेश बस्नेत

      नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ूआईटी आर्मीू प्रति

यती एअरलाइन्सको सहयोगमा एयरपोर्टको गेटमा नयाँ ट्राफिक लाईट

    महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एव पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा

दोस्रो अध्यक्ष र भागवण्डामा माधव नेपाल मिल्ने संकेत

    नेकपा एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता