नुवाकोटको सम्झना पाण्डे (पठाओ राइडर)



 

 

सानै छ खेत सानै छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान

 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो कविताले निकै मन छुन्छ सम्झना पाण्डेलाई । ‘बाहिरबाट झट्ट हेर्दा जति सहज देखिन्छ नि, उति नै कठिन रहेछ जीवन,’ जीवन र भोगाइ सुनाउने क्रममा उनले भनिन् ।

हतार हतार बिहानको चुलो बालेर काममा दौडिन सकेमात्रै बेलुकाको चुलो बल्छ । त्यसैले सम्झना बिहान सकेसम्म छिटै घरबाट निस्किन्छिन् ।

 

सम्झना आफ्नो कर्ममा गर्व गर्छिन् । ‘नबिराउनु नडराउनु भन्छन् नि ! काम गरेर खान केको लाज ? कहिले सिमेन्ट बालुवा बोक्ने म आज मान्छे बोक्छु, त्यही हो फरक,’ उनले भनिन्, ‘काम, काम नै हो र कामको म सम्मान गर्छु ।’

चुलो बाल्न सहज बनाइदिएको छ सम्झनाको सेकेण्ड ह्यान्ड स्कुटरले । र, स्कुटरलाई चुलो बाल्ने माध्यम बनाउन सघाएको छ राइडिङ सेयरिङ एप ‘पठाओ’ले । पठाओ राइडर हुन् सम्झना । स्कुटरको पछाडि मान्छे बोकेर हिँडेको पनि १५ महिना बढी भइसकेछ । विगत सम्झदै सम्झना भन्छिन्, ‘महिलालाई कमजोर पात्रको रुपमा चित्रित गर्ने समाजलाई म जवाफ दिन चाहन्थेँ । त्यसैले केही त गर्नु थियो । पठाओले महिला राइडरलाई पनि अवसर दियो र आज म निर्धक्क अनि खुसीका साथ यो काम गरिरहेकी छु ।’

सम्झना आफ्नो कर्ममा गर्व गर्छिन् । ‘नबिराउनु नडराउनु भन्छन् नि ! काम गरेर खान केको लाज ? कहिले सिमेन्ट बालुवा बोक्ने म आज मान्छे बोक्छु, त्यही हो फरक,’ उनले भनिन्, ‘काम, काम नै हो र कामको म सम्मान गर्छु ।’

कामको सम्मान गर्नेहरु भने ‘ओह ! लेडिज हुनुहुँदो रहेछ, सरी !’ भनेर आफ्नो स्कुटरमा चढ्न हिचकिचाउने गरेको उनले सुनाइन् । ‘म पनि सहजै इट्स ओके भनिदिन्छु,’ उनले अगाडि भनिन्, ‘जसले श्रमको सम्मान गर्छ, उसलाई मेरो स्कुटरमा स्वागत छ ।’

सम्झना कुनै पुरुषभन्दा कम छैनन् बरु ज्यादा नै छिन् । कठिन परिस्थितिमा पनि हार नमानेकी उनी आफूलाई कसैले कमजोर आँखाले हेरेको फिटिक्कै मन पराउँदिनन् । जति बोल्ड उनको आवाज छ, उतिनै सशक्त छ उनको विचार । दुई सन्तानकी आमा सम्झना आफूलाई ‘सिङ्गल मदर’ भन्न रुचाउँछिन् । उनको बोल्ड अवतार फेरि झल्कियो, ‘सन्तान जन्मिएपछि कुनै पुरुषले आफ्ना सन्तानको लालनपालन अनि हुर्काइमा साथ दिन सक्दैन र सन्तानप्रतिको दायित्व निभाउन सक्दैन भने उसलाई बुबा हुनुको अधिकार पनि छैन ।’

हँसिली अनि उत्तिकै मिजासिली देखिने सम्झनाको त्यो हसिलो अनुहारभित्रको पीडा भने कमैले मात्रै आँकलन गर्न सक्छन् । पीडाको भूमरीले गाज्दैजाज्दै लैजादा आज पठाओ उनको जीविकोपार्जनको मुख्य आधार बन्न पुग्यो । पठाओ राइडिङ सम्झनाजस्ता तीन सयभन्दा बढी महिला र हजार बढी पुरुषको रोजगारीको आधार बन्न पुगेको छ । सम्झनालाई लाग्छ पठाओलाई राज्यले महत्व दिने हो भने हजारौं युवा विदेशिनुपर्ने बाध्यता अन्त्य हुनेछ ।

पठाओले सम्झनाजस्ता थुप्रै परिवारको रोजिरोटी धानेको छ । पठाओले आफ्नो बिहानबेलुकाको चुलो बलेको र आफ्ना सन्तानको पठनपाठनका लागि आर्थिक स्रोत जुटाउन सहज भएको सम्झना बताउँछिन् ।

सम्झनाको माइती (स्थायी घर) नुवाकोट हो । उनी विवाहपछिको घर अनि थरसँग जोडिन चाहिनन् । कारण खुलाउँदै उनी भन्छिन्, ‘जसले जन्म दियो, पहिचान दियो र जहाँ जन्मिएँ, हुर्किएँ, त्यही हो मेरो स्थायी घर अनि थर ।’

११ वर्षकी छोरी र १० वर्षको छोराको जिम्मेवारी उनको थाप्लोमा छ । त्यसैले घरमा आफन्तहरु कोही आउँदा भने उनी मौका छोप्छिन् र बालबच्चा जिम्मा लगाएर काममा दौडिन्छिन् । कोही नहुँदा बच्चाहरु एक्लै छोड्न उनको मनले मान्दैन । सकभर छिटो काम सकेर फर्किन्छिन्, जसका कारण कमाइ कम हुन्छ । तर दिदीबहिनी वा कोही आफन्त आएका छन् भने बच्चा ढुक्कले छाडेर उनी पूरा दिन काम गर्छिन् ।

सम्झनाको राइडिङ यात्रा साइकलबाट सुरु भयो । साइकलमा मार्केटिङ गर्दैगर्दा पठाओबारे थाहा पाएकी उनले किस्तामा सेकेन्ड ह्यान्ड स्कुटर किनिन् र पठाओमा दर्ता गरिहालिन् । किस्ता तिर्ने, आफ्नो र सन्तानको जीवन धान्नेमात्रै होइन, सन्तानको शिक्षादीक्षा सबै पठाओ राइडिङबाटै हुने कमाइले धान्दै आएकीछन् सम्झनाले ।

मोटरसाइकल अनि गाडी पनि राम्रोसँग चलाउन सक्छिन् सम्झना । उनी भन्छिन्, ‘हामीजस्ता मध्यमस्तरका मानिसकालागि न गतिलो काम मिल्छ, न त बाहिर गएर कमाइ गरौंला भन्न सहज छ । हो यस्ता अवस्थाका नागरिकका लागि पठाओ गतिलो उपाय बनेर आएको रहेछ ।’

सक्दा दिनभरी काम गर्ने, नसकेको बेला आराम गर्छु भन्न पनि पाइने भएकाले यो निकै सहज काम लागेको उनको भनाइ छ । ‘बच्चाहरुको बिदाको दिन उनीहरुलाई समय दिन्छु, आज काम गर्दिन भन्न पनि पाइयो,’ उनले भनिन्, ‘आज दिनभरी काम गर्छु, भोलि आराम गर्छु भन्न पनि पाइयो । आज पार्टटाइम गर्छु र भोलि फुल टाइम गर्छु भन्दा पनि भयो । आजभोलि मैले अलिकति आँट गर्ने हो भने सडकमै पनि क्षमता देखाउन सकिने रहेछ भन्ने महसुस गरेको छु ।’

पठाओले एप प्रयोग गरेबापत राइडरबाट २० प्रतिशत लिन्छ । पठाओले राइडरको रेटिङ गर्छ । राम्रो रेटिङमा परेका राइडरलाई कम्पनीले बोनस दिन्छ । यसले राइडरहरुलाई उत्साहित गर्ने गरेको सम्झना बताउँछिन् ।

अन्य सवारीभन्दा पठाओ केही सस्तो, सहज र समयको पनि सदुपयोग हुने भएकाले आज धेरैको रोजाइमा परेको छ । यसले गर्दा रोजगारीको अवसर त छँदैछ साथमा पार्ट टाइम गर्न चाहनेका लागि पनि यो राम्रो अवसर बनिदिएको छ । पठाओमा जोडिएका सबै राइडर रोजीरोटीकै लागि संघर्षरत होइनन् । कति पकेट खर्चका लागि आउँछन्, कति रहरले आउँछन् त कति चुलो बाल्न कै लागि आउँछन् ।

महिला राइडरको सुरक्षा

‘महिलाहरु घरभित्रै सुरक्षित छैनन् भने बाहिर हुने कुरै भएन । समाजले र पुरुषहरुले महिलाहरुलाई हेर्ने दृष्टिकोण कहिले परिवर्तन हुन्छ थाहा छैन, तर कसैले कुदृष्टि लगाउँछ भने त्यसको सामना गर्न हामी हरेक सेकेन्ड तयार भएर बस्नुपर्छ,’ आफ्नो अनुभव सुनाउने क्रममा सम्झनाले भनिन्, ‘पठाओ राइडिङ सुरु गरेको केही दिनमै एकजना प्यासेन्जर बोकेर जाँदै थिए । एक त लोकेसन भेटाउन सुरुमा अलि अलमल हुन्थ्यो, एप चलाउन अनि पठाओको नियमहरु बुझ्दै थिएँ । एकजना पुरुषलाई खुसिबुबाट पिक गरेर रातोपुल लैजाँदै थिएँ । कमलपोखरी सिटी सेन्टरनिर पुगेपछि ती पुरुषले अलि असहज हाउभाउ देखाउन थाले, त्यो मलाई सह्य भएन । तत्काल बीचबाटोमै स्कुटर रोकेर ओरालेँ अनि यहाँभन्दा अगाडि लैजान सक्दिनँ भनेर पेमेन्ट लिएँ ।’

उनले ‘सरी, सरी’ भन्दै गरे पनि पेमेन्ट लिएर आफू आफ्नै बाटो लागेको उनले सुनाइन् ।

महिला राइडरसँग कतिले निकै सुरक्षित महसुस गर्छन् भने कतिले ‘महिला पो !’ भनेर रिक्वेस्ट क्यान्सिल नै गरिदिन्छन् । सम्झनासँग पनि यस्ता अनुभव छन् । उनी भन्छिन्, ‘भत्केको पुलबाट बालाजुको रिक्वेस्ट देखेर फोन गरेँ । मेरो आवाज सुन्ने बित्तिकै फोन काटियो ।’

केहीबेरमै फेरि उताबाटै फोन आयो र ‘तपाईं आइमाई हो ?’ भन्दै प्रश्न गरिएको सम्झनाले सुनाइन् । ‘आइमाई’ भन्ने शब्दले आफूलाई चसक्क घोचेको उनले बताइन् । यद्यपि आफूले नम्र भएरै ‘सर मेरो प्रोफाइल हेर्नुहोस् न’ भनेपछि ती पुरुषले ‘होस् तपाई आइमाई हुनुहुँदो रहेछ, म जान्नँ’ भनेको सम्झनाले सुनाइन् । फेरि एकछिनमा ती पुरुषले फोन गरेपछि आफूले भत्केको पुलमै धेरै पुरुष राइडर रहेको र उहाँहरुसँगै जान सुझाव दिएको बताइन् ।

सम्झनासँग यस्ता अनुभव थुप्रै छन् । रिक्वेस्ट देखेर प्यासेन्जर लिन दैलोमा पुगेपछि कतिपयले ‘ओहो ! लेडिज पो ! जादिनँ’ भन्ने गरेकोमा महिलाप्रति विश्वासको कमी देख्छिन् सम्झना । पठाओ एप प्रयोगकर्ताले सवै राइडरको तीनपुस्ते प्रोफाइल एपबाटै हेर्न सक्छन् । पठाओ सबैभन्दा सुरक्षित यातायात हो । कहाँ पुग्यो, कोसँग जाँदैछ जस्ता सवैकुरा एपमा हेर्न मिल्छ । मूल्य तोकिएको हुन्छ । ठगिएला कि भन्ने चिन्ता हुँदैन । यी सवै सुविधा हुँदाहुँदै पनि महिला भएकै आधारमा रिजेक्ट गर्दा भने सम्झनालाई दुःख त लाग्छ नै, तर समाजलाई राम्रोसँग चिन्ने अवसर पाएको बताउँछिन् । उनी भन्छिन्, ‘कतिपयले महिला राइडर भन्दै खुसी पनि व्यक्त गर्छन् र सम्मान दिन्छन् । यसले हौसला पनि मिल्छ ।’

महिला राइडरहरुलाई हेर्ने दृष्टिकोणमा आजभोलि अलि परिवर्तन भएको पाएकी छन् सम्झनाले । पहिला चढ्न नमान्नेहरु आजभोलि सुरक्षित महसुस गर्छन् । अझ महिला वा विद्यार्थीहरु त महिला राइडरलाई भेट्दा झनै खुसी हुने सम्झना बताउँछिन् । महिला राइडर देख्दा कतिले फर्किफर्कि पनि हेर्ने गर्छन् । त्यस्तो बेला सम्झनालाई निकै रमाइलो लाग्छ र हात उठाएर ‘हेल्लो’ भन्दिन्छिन् ।

सम्झना कहिलेकाहीँ रातको ९/१० बजेसम्म पनि पठाओ चलाउँछिन् । रातको समयमा प्रायः मादकपदार्थ सेवन गर्नेहरु बढी हुने हुँदा रातमा राइड त्यति सहज नभएको उनी बताउँछिन् । कम्पनीले महिला राइडरहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम दिने र महिलालाई आत्मरक्षाका लागि सक्षम बन्न प्रेरित गरिनुपर्ने उनको धारणा छ । यस्तो भएमा भने दिन वा रात कुनै पनि समयमा काम गर्न डराउनु नपर्ने उनी बताउँछिन् ।

महिला शारीरिक रुपमा सँधै एकैनासको नहुन सक्छन् । कति प्यासेन्जरले कहिलेकाहीँ हतार गर्दा सम्झना उनीहरुलाई उल्टै सम्झाउने गर्छिन् । काठमाडौंको ट्राफिक र सडक एक त सुरक्षित छैनन्, त्यसमाथि हतार गर्नु उचित नहुने उनी बताउँछिन् । महिनावारीको समयमा राइडिङ अलि असहज हुने भएकाले उनी त्यस्तो बेला थोरै समयमात्र राइडिङमा निस्किन्छिन् । बाँकी समय आराम गर्छिन् ।

सम्झना आफूजस्ता महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्दै भन्छिन्, ‘यहाँ अवसरहरु यत्रतत्र छन्, मात्र हामीले पहिचान गर्न सक्नुपर्छ । महिला अवला होइनन् हामीहरुसँग क्षमता छ, सिप छ । यहाँ पुरुषले गर्ने जुनसुकै काम महिलाले पनि गर्न सक्छन् । मात्र हामीले हिम्मत गर्नुपर्ने रहेछ ।  रातोपाटी बाट साभार

 

प्रतिक्रिया दिनुहोस
नेकपा एमालेका नेताहरूको कार्यविभाजन (सूचीसहित)

    नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन

प्रेस चौतारीको इञ्चार्जमा सूर्य थापा

  प्रेस चौतारी नेपालको इञ्चार्जमा सूर्य थापाले जिम्मेवारी पाउनु भएको छ । आज

उपचुनावमा बादललाई नै उम्मेदवार बनाउने एमालेको निर्णय

  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण

एमालेको स्थायी कमिटीबाट माधव- झलनाथ गुट आउट

    नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् ।