मेलम्ची आएपछि विकल्प खोज्दै ट्याङ्कर व्यवसायी



 

 

मेलम्ची खोलाको पानी काठमाडौंमा आइपुगेपछि यतिबेला काठमाडौं उपत्यकावासी खुसी छन् । दुई दशक लामो प्रतीक्षापछि पानी काठमाडौँ आइपुग्दा वर्षौंदेखि अभावको अवस्था झेल्दै आएका उपत्यकावासीले हर्षको अनुभुति गरेका हुन् । निर्माण सम्पन्न हुन अझै बाँकी रहे मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुगेपछि उपत्यकाबासीको वर्षौँको निराशा आशामा बदलिएको छ । सरकारले अन्तरकालिन व्यवस्थाबाट आएको पानी चैत दोस्रो सातादेखि उपत्कावासीलाई वितरण गर्ने उल्लेख गरिसकेको छ । हेडवक्र्स निर्माण सकिएपछि भने उपत्यकाबासीलाई नियमित रुपमा पानी वितरण हुने मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक त्रिनेश खत्री बताउँछन् । योसँगै वैशाखदेखि धारामा दैनिक २ देखि ३ घण्टा पानी आउने अवस्था रहेको उनको भनाइ छ ।

खानेपानी वितरणसम्बन्धी सरकारी निकायहरु मेलम्चीको खानेपानी आपूर्तिका लागि सक्रिय भइरहँदा उपत्यकामा पानी आपूर्ति गर्ने ट्याङ्कर व्यवसायी र मजदुर भने यतिबेला संकटमा छन् । मेलम्चीको पानी वितरण हुन थालेपछि बजारबाट पानीको माग ह्वात्तै घट्ने भन्दै व्यवसायी र मजदुरहरुले यसको विकल्प खोज्न थालेका हुन् । मेलम्चीको खानेपानी आउनेबित्तिकै ७० प्रतिशत व्यवसायी र मजदूरको रोजीरोटी गुम्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन् ।

कति घट्ला पानीको माग ?

मेलम्चीको पानी पहिलो चरणमा काठमाडौं उपत्यकामा आउँदा वर्षामा दैनिक १७ करोड लिटर र हिउँदमा दैनिक १२ करोड लिटर पानी आउँछ । यो आपूर्ति हुँदा केयुकेएलको क्षमता बर्खामा ३० करोड लिटर भन्दा बढी र सुख्खा याममा २० करोड लिटरभन्दा बढी हुन्छ । यो अहिले आपूर्ति मेलम्ची आउनुअघिको कुल आपुर्तिभन्दा बढी हो । अहिले मेलम्चीको पानी आउन थाल्नेबित्तिकै काठमाडौँमा ट्याङ्करबाट आपूर्ति हुने पानीको माग करिब ७० प्रतिशतले घट्ने अनुमान चोभार क्षेत्रमा बोरिङ सञ्चालन गर्दै आएका व्यवसायी सुवर्ण महर्जन बताउँछन् ।

उनका अनुसार मेलम्चीको पानी आपूर्ति भएका घरमा अब ट्याङ्करको पानीको माग नै हुँदैन । होटल र अरु कर्पोरेट हाउसमा आपूर्ति हुने पानीको मागमा पनि निकै कमी आउँछ । त्यसैले अब यो व्यवसाय गर्नेले विकल्प खोज्ने बेला भइसकेको उनको भनाइ छ । ट्याङ्करहरु अर्कै प्रयोजनमा चलाउन सकिने भए पनि बोरिङको लगानी भने वैकल्पिक रुपमा प्रयोग गर्नसक्ने अवस्था नभएको उनको भनाइ छ । एउटा बोरिङ सञ्चालनका लागि अहिले २÷३ करोड लाग्छ । व्यवसायी पञ्चराम तामाङ पानीको माग घटे अनुसार रोजगारी क्षमता पनि घट्ने बताउँछन् । ‘अहिले करिब १ हजार ट्याङ्करमा २ हजार र मुहान, बोरिङ लगायतमा १ हजार हाराहारीमा समेत गरी करिब ३ हजार जनाले रोजगारी पाएका छन्,’ तामाङ भन्छन्, ‘७० प्रतिशत माग घट्ने हो भने त्यति नै प्रतिशतले रोजगारी गुमाउँछन् । यो हुँदा करिब २ हजारको रोजीरोटी गुम्छ ।’ उनका अनुसार आफैं मजदूर र आफैं मालिक भएकाहरु टिक्नसक्ने अवस्था भए पनि अरु मजदूर भने विस्थापित हुनैपर्छ ।

वैकल्पिक क्षेत्रमा जान सहयोगको अपेक्षा

आफ्नो रोजीरोटी व्यवसायीहरु मेलम्ची आउँदा हर्षित छन् । तर, विस्थापित भएर अर्को क्षेत्रमा जाँदा सरकारले यसका लागि उचित वातावरण बनाइदिनुपर्ने व्यवसायीहरुको माग छ । ललितपुर क्षेत्रमा पानीको आपूर्ति गर्दै आएका उज्जवल शाक्य ट्याङ्करका लागि प्रयोग भइरहेको गाडीहरु अब अर्कै प्रयोजनमा प्रयोग गर्न मोडिफिकेसन गर्नुपर्ने भन्दै यसका लागि सरकारले राहत दिए राम्रो हुने बताउँछन् । ‘व्यवसाय गर्नेले जोखिम मोल्नुपर्छ । हामीले त वर्षौंदेखि मेलम्ची आउँदैछ भन्ने थाहा पाएका हौँ । त्यसैले हामीले विकल्प खोज्न त तयार हुन्छौँ नै,’ शाक्य भन्छन्, ‘हामी अध्ययनकै चरणमा छौँ । अध्ययन गरेर सबै व्यवसायीहरुलाई आवश्यक सहजीकरण गर्छौं ।’

व्यवसायी तामाङ भने व्यवसायीलाई भन्दा मजदूरलाई नयाँ क्षेत्रको रोजगारीमा लाग्न सरकारले सहयोग गर्नुपर्ने बताउँछन् । व्यवसायीले त केही गर्ला तर काम नभएको दिन मजदूरको त रोजीरोटी नै गुम्छ । उनीहरुको वैकल्पिक व्यवस्थाका लागि सरकारले सहयोग गर्नुपर्छ । तर, अर्का व्यवसायी शाक्य भने सरकारले राहत दिनेमा आफूलाई विश्वास नभएको बताउँछन् । आफूहरुले व्यवसायसँगै सेवा गरेको भए पनि सरकारले यसलाई नदेखेको उनको गुनासो छ । ‘हामीले व्यवसाय त गर्यौं, सरकारले पूरा गर्न नसकेको खानेपानीको माग पूरा गर्न हामीले साथ दियौँ, तर सरकारले त्यसको मूल्याङ्कन कहिल्लै गरेन,’ शाक्य भन्छन्, ‘दुःखको बेला साथ दिँदा त सरकारले हामीलाई केही गरेन भने अब पानी आएपछि हामीलाई सहयोग गर्ला भन्ने हामीलाई लागेको छैन ।’

नयाँ व्यवसायीको प्रवेश ठप्प

अघिल्लो वर्षको दशैंदेखि मेलम्चीको पानी काठमाडौं आइपुग्ने भनिएको थियो ।  यो हल्ला सुरु भएदेखि नै नयाँ व्यवसायी र मजदूरहरु यो क्षेत्रमा प्रवेश गर्ने क्रम रोकिएका थिए । पुराना व्यवसायीले पनि नयाँ ट्याङ्कर थप्ने योजना स्थगित गरेका थिए । पछिल्लो कोभिड महामारीपछि यो क्रम ठप्प भएको छ । बरु भएका केही मजदूरहरु भने अझै पनि यो क्षेत्रमा फर्केर आएका छैनन् । उनीहरुमध्ये कतिपयले वैकल्पिक क्षेत्र समेत रोजिसकेको व्यवसायीकरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
नेकपा एमालेका नेताहरूको कार्यविभाजन (सूचीसहित)

    नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन

प्रेस चौतारीको इञ्चार्जमा सूर्य थापा

  प्रेस चौतारी नेपालको इञ्चार्जमा सूर्य थापाले जिम्मेवारी पाउनु भएको छ । आज

उपचुनावमा बादललाई नै उम्मेदवार बनाउने एमालेको निर्णय

  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण

एमालेको स्थायी कमिटीबाट माधव- झलनाथ गुट आउट

    नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् ।