प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको सम्भावित फैसला राजनीतिक अस्थिरतालाई मलजल गर्नेगरी नआउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफू जस्तोसुकै परिस्थिति सामना गरेर आएको व्यक्ति भन्दै जे फैसला आए पनि डटेर अघि बढ्ने बताए ।
ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने भन्दै कथम कदाचित भएछै भने पनि प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना एक प्रतिशत पनि नरहेको बताए । पार्टी फुटाएर बहुमतको सरकार ढाल्ने र अरुलाई प्रधानमन्त्री बनिदेऊ भन्दै हल बाँधेर हिड्ने अवस्थामा प्रचण्ड-माधव पुगेको ओलीको टिप्पणी छ ।
प्रधानमन्त्रीले भने, ‘काल्पनिकरूपमै भने पनि लौ प्रतिनिधिसभा पुनःस्थापना भएछ रे, त्यसपछि बिचरा प्रचण्ड, माधवजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ । प्रधानमन्त्री भइदिनुस् भन्दै कहिले उत्तर, कहिले दक्षिणतिर जानुहुन्छ । खोजेर हिँड्दा हिँड्दै मैकहाँ आइपुग्न बेर छैन ।’
ओलीले देशलाई अस्थिरतातर्फ लैजाने फैसला अदालतले गर्छ भन्ने आफूलाई विश्वास नरहेको बताए । उनले सूर्य चिन्ह आफूले २०४७ सालमा निर्वाचन आयोगमा दर्ता गराएको भन्दै प्रचण्ड फर्केर पेरिसडाँडा गइसकेकाले चिन्ह कसले पाउँछ भन्ने विवादनै नरहेको बताए ।