७० वर्ष लागे प्रधानमन्त्री ओली, १४ वर्षको जेलजीवन, यस्तो छ आरोह-अवरोह



 

 

प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७०औं जन्मदिन मनाउँदैछन् । सामाजिक सञ्जालमा बिहानैदेखि उनलाई शुभकामनाको वर्षा भइरहेको छ । २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा उनी जन्मेका थिए । ओलीका बुवा मोहनप्रसाद अहिले ९१ वर्षमा हिंडिरहेका छन् । आमालाई भने उनले सानै उमेरमा गुमाएका थिए । ओलीको परिवार २०२२ सालमा तेह्रथुमबाट झापामा बसाइँ सरेको थियो । झापा आएपछि ओली कम्युनिष्ट राजनीतिमा होमिए । २०२२ सालबाट राजनीतिमा सक्रिय उनले २०२६ सालमा कम्युनिष्ट पार्टीकाे सदस्यता लिएका हुन् ।

झापाको सुरुङ्गास्थित कन्काई नदी किनारमा बसोबास गर्ने ओलीको परिवारको आर्थिक अवस्था राम्रो थिएन । डेढ वर्षकै उमेरमा आमा गुमाएकाले उनको बाल्यकाल पनि कष्टप्रद बन्यो । उनी सानै छँदा कन्काईमा आएको बाढीले घरजग्गा सबै बगाएको थियो । तेह्रथुम इवाकै प्रणाली माविमा ओलीले औपचारिक पढाइ सुरु गरेका थिए । पछि उनलाई झापा आन्दोलनका शहीद रामनाथ दाहालले आफ्नो घरमा राखेर पढाए । सानैदेखि चलाख र बोल्न तगडा ओलीबाट रामनाथ प्रभावित थिए । उनले नै ओलीलाई राजनीतिमा लाग्न प्रेरित गरेका हुन् । राजनीतिमा लागेपछि ओलीले पढाइलाई निरन्तरता दिन सकेनन् । यद्यपि अनौपचारिक अध्ययनलाई भने उनले जारी राखे । एसएलसी दिएपछि उनले गाउँकै प्राथमिक विद्यालयमा केही समय पढाएका थिए । तर, पछि त्यो पनि छोडे ।

१४ वर्षको जेलजीवन

राजनीतिमा ओलीको वास्तविक उदय भने झापा विद्रोहबाट भएको हो । त्यसबेला उनी वैचारिकरुपमा कट्टरपन्थी कम्युनिष्टका रुपमा चिनिन्थे । उनले २०२९ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी झापा आन्दोलन कमिटीको नेतृत्व गरेका थिए । पञ्चायतविरोधी आन्दोलनका क्रममा ओली लामो समय जेलमा बस्नुपर्यो । पहिलोपटक २०२७ साल फागुन १६ गते झापाबाट पक्राउ परेका उनी त्यसपछि बारम्बार पक्राउ पर्ने र छुट्ने सिलसिला चल्यो । २०३० असोज २३ गते पक्राउ परेपछि भने उनले लामो र कष्टपूर्ण जेलजीवन बिताउनुपरेको थियो । यस क्रममा उनलाई ‘जेलभित्रको पनि जेल’ भनिने गोलघरमा राखिएको थियो । त्यसबेला ओली मृत्युको मुखमा पुगेर बाँचेको उनका सहयात्रीहरु बताउने गर्छन् । केन्द्रीय कारागार, नख्खु जेलबाट २०३६ साल जेठमा ओली जेलमुक्त भए । तर, फेरि २०३७ सालमा गिरफ्तार भएका उनी २०४४ असार ११ मा भद्रगोल जेलबाट छुटेका थिए ।

राजनीतिका आरोह-अवरोह

नेपालमा कम्युनिष्ट आन्दोलनका अग्रणी नेताहरुमध्ये पर्छन् ओली । पार्टीको नेतृत्व सम्हाल्न भने उनले लामो समय प्रतीक्षा गर्नुपरेको थियो । २०२५ सालदेखि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा उनी आवद्ध थिए । २०२६ सालमा तत्कालीन नेकपाको उपसचिव बनेका उनले २०२७ सालमा नेकपा र पूर्वकोशी प्रान्तीय कमिटीसँगकाे एकीकरण अभियानको अगुवाइ गरे । २०२९ सालमा उनी नेपाल कम्युनिष्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुख भए । २०३० सालदेखि लगातार जेल जीवन बिताएपछि ओलीले पार्टीका सिंढी उक्लिन सकेनन् । जेलबाट छुटेपछि एकैपटक २०४४ सालमा आएर उनी नेकपा मालेको केन्द्रीय सदस्य बने ।

प्रजातन्त्र आएपछि २०४८ र २०५१ सालमा ओलीले झापा ६ बाट संसदको चुनाव जिते । २०४७ मा उनी पार्टी निकट प्रजातान्त्रिक युवा संघको संस्थापक अध्यक्ष बने । मदन भण्डारीको देहावसानपछि नेकपा एमालेमा माधव नेपाललाई महासचिव बनाउन ओलीको भूमिका थियो । ओलीले ‘सेकेन्ड म्यान’ का रुपमा नेपाललाई अविच्छिन्न साथ दिए । पछि नेपालसँग उनको फाटो भयो । अहिले उनीहरु अलग–थलग भइसकेका छन् । २०४९ सालदेखि २०७१ सालसम्म नेकपा एमालेको स्थायी कमिटी सदस्य मात्रै भए पनि पार्टीभित्र उनी शक्तिशाली मानिन्थे । अन्ततः २०७१ साल असारमा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भए । त्यसअघि २०७० साल माघमा झलनाथ खनाललाई हराएर उनी संसदीय दलको नेतासमेत बनिसकेका थिए । यसरी नेपालकाे राष्ट्रिय राजनीतिमा ओलीको जबरजस्त उदय भएको थियो ।

ओली पहिलोपटक लाभको पदमा पुगेको चाहिं २०५१ सालमा हो । त्यसबेला एमालेको अल्पमतको सरकारमा उनी शक्तिशाली गृहमन्त्री थिए । गृहमन्त्रालय हाँक्दा निकै राम्रो छवि बनाए उनले । त्यसपछि उनी एकपटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री तथा दुईपटक प्रधानमन्त्री बनेका छन् । २०६३ सालमा उनी उपप्रधानमन्त्री बनेका थिए । ओली २०७२ असोज २४ मा पहिलोपटक प्रधानमन्त्री निर्वाचित भए । कांग्रेसका सुशील कोइरालालाई हराउँदै उनी प्रधानमन्त्री पदमा पुगेका थिए । तर, त्यो सरकार ९ महिना मात्रै टिक्यो । गृहमन्त्रीका रुपमा सफल ओलीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रुपमा भने खासै छाप छाड्न सकेनन् । प्रधानमन्त्रीका रुपमा पहिलो कार्यकाल भने छोटो तर अविस्मरणीय रह्यो । उनले भारतले लगाएको नाकाबन्दी डटेर सामना गर्दै राष्ट्रवादी छवि बनाएका थिए । दोस्रो कार्यकालमा भने उनी अपेक्षित सफल भइरहेका छैनन् ।

क्षमता र कमजोरी

पहिलोपटक प्रधानमन्त्री बनेयता ओलीले प्रखर राष्ट्रवादी नेताको छवि बनाएका छन् । त्यसबेला अत्यन्तै अप्ठेरो कालखण्डमा उनी प्रधानमन्त्री बन्न पुगेका थिए । भारतले लगाएको नाकाबन्दीसँग नझुकिकन उनले यसलाई पार लगाए । प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका तीन वर्ष ओलीले व्यतीत गरेका छन् । यो कार्यकालमा उनी अत्यधिक विवादमा तानिए । लामो समयपछि देशले स्पष्ट बहुमतसहितको बलियो सरकार पाएको थियो । तर, पार्टीभित्रको कचिंगललाई सही समाधान गर्न नसक्दा सरकारको कामकारबाही प्रभावित बन्यो । अन्ततः ओलीले प्रतिनिधिसभा नै भंग गर्ने दुस्साहसी निर्णय लिन पुगे । यो उनका राजनीतिक जीवनकै सर्वाधिक विवादित कामका रुपमा रेकर्ड हुनेछ ।

ओलीको एउटा विशिष्ट प्रतिभा भनेको वाक्पटुता हो । उनका भाषण समर्थक र विरोधी दुवैले चाख मानेर सुन्ने गर्छन् । भाषणबाटै ओलीले निकै आलोचना पनि भोग्ने गरेका छन् । विरोधी नेताहरुलाई भित्तामा पुर्याउने गरी प्रहार गर्न खप्पिस छन् ओली । उखान टुक्का र हास्यरसले भरिएका उनका भाषणहरु चर्चित छन् । तर, भाषण गर्ने क्रममा कहिलेकाहीं आफ्नो पदीय मर्यादा नै बिर्सिने गरेको आरोप उनीमाथि लाग्ने गर्छ । उच्च मनोबल र सक्रियता ओलीको अर्को सबल पक्ष हो । दुईपटक किड्नी फेरेर पनि उनले आफूलाई कहिल्यै कमजोर सोचेनन् । अहिले पनि पार्टी निर्माणका काममा देशभर खटिरहेका छन् । स्वास्थ्यप्रति लापरवाह रहेकोमा उनका निकटस्थहरु भने चिन्तित बन्ने गर्छन् ।

ओलीको अर्को प्रशंसित पक्ष भनेको ज्ञानको भण्डार हो । औपचारिक अध्ययन कम भए पनि उनको ज्ञानले अनौपचारिक अध्ययनमार्फत आफ्नो ज्ञानको दायरा फराकिलो बनाएका छन् । राजनीति मात्र नभएर अरु पनि विभिन्न विधामा उनी लामो प्रवचन दिन सक्छन् । उनी नयाँ नयाँ कुराहरुमा पनि अपडेट रहन्छन् । राष्ट्र निर्माणको भिजन पनि उनीसँग छ, तर त्यसको कार्यान्वयन पक्षमा भने ओली कमजोर देखिएका छन् । बोली र व्यवहारको अन्तराल घटाउन सके उनीबाट अझै देशले आशा राख्ने ठाउँहरु छन् ।नेपाल प्रेसबाट साभार

प्रतिक्रिया दिनुहोस
ओली-प्रचण्डको नेकपा खारेज, ऋषि कट्टेलले मुद्दा जिते

  सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीशद्वय

देउवाद्वारा अविश्वासको प्रस्ताव दर्ता गर्न इन्कार

  प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता

आङ्ग छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीलाई

    स्वर्गीय आङ्ग छिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीले

अविश्वासको प्रस्तावबाट पछि हट्यो प्रचण्ड-माधव गुट

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका नेपाल कम्युनष्टि पार्टी (नेकपा) का