विप्लवको वार्ता टोलीसँग रातारात भेटघाट, कसले-कसलाई भेटे



 

 

एक साताअघि (माघ २० मा) खानेपानी मन्त्री मणि थापाले नख्खु कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश वलीलाई भेटेको खबरले चर्चासँगै अनेक अड्कलबाजी भए ।

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेता वलीसँग मन्त्रीको त्यो भेटघाट सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ताको वातावरण बनाउनेतर्फ केन्द्रित भएको बताइएको छ । तत्कालीन माओवादी जनयुद्धकालदेखिकै साथी रहेका मणि थापा र हेमन्तप्रकाश वलीबीच हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण रूपमा आउने हो भने सरकारले सहजीकरण गर्नेबारे कुरा भएको थियो ।

मणि थापाले जेलभित्रको खानेपानीको अवस्था अनुगमनका क्रममा वली भेटे पनि त्यसको आधार तय भएको थियो प्रधानमन्त्री निवास बालुवाटारमा । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतजस्ता पृथकतावादीलाई समेत मूलधारमा ल्याइएको भन्दै विप्लवको नाम नलिई सबै असन्तुष्ट समूहलाई पनि सहमतिमा ल्याइने बताएका थिए ।

प्रधानमन्त्रीले असन्तुष्ट समूहहरूलाई वार्तामार्फत मूलधारमा ल्याउने बताएलगत्तै पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीहरू विप्लव समूहसँग सम्पर्कमा जुटेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले एक उच्चस्तरीय बैठकमा विप्लवलाई मूलधारमा ल्याएर ‘सरप्राइज’ दिने खुलासा गरेका थिए ।

वैशाखमा तय गरिएको प्रतिनिधिसभा निर्वाचन कुनै अवरोध विना शान्तिपूर्ण र सफल ढंगबाट सम्पन्न गराउन वातावरणका लागि पनि विप्लवसँगको वार्तालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अनौपचारिक रूपमा विभिन्न समूहसँग संवाद भइरहेको बताए । तर, उनले विप्लव समूहसँग आफू सम्पर्कमा नरहेकाले थप जानकारी नभएको पनि बताए । यद्यपि सरकार विप्लवलाई पनि सहमतिमा ल्याएर ‘सरप्राइज’ दिने दिशामा अघि बढेको स्रोतहरू बताउँछन् ।

वार्ताका लागि विप्लव समूह लचक

गत मंसिरको २० देखि २८ सम्म बसेको केन्द्रीय कमिटी बैठकबाटै राजनीतिक दलहरूसँग छलफल र आवश्यक परे सरकारसँगै संवाद अघि बढाउन उच्चस्तरीय एक कार्यदल बनाएको थियो । कार्यदलको नेतृत्व खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले गरेका छन् । सदस्यहरूमा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला र उपत्यका ब्यूरो इन्चार्ज चिरन पुन छन् ।

विप्लव नेतृत्वको नेकपाका सगरमाथा ब्यूरो उच्च स्रोतले  दिएको जानकारी अनुसार कार्यदलका सदस्य र केही मन्त्रीहरूबीच अनौपचारिक छलफल चलिरहेको थियो । तर, यही बीचमा धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि ‘ब्रेक’ लाग्यो । विप्लव समूहको दोस्रो तहका नेता मानिने बाँस्तोलालाई काठमाडौं उपत्यका छिर्न लागेको सूचनाको आधारमा मकवानपुरको वागमती गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको थियो ।

‘वार्ताकै माध्यमबाट समाधान खोज्न हामी तयार छौं । तर, यसका लागि सहज वातावरण बनाउने काम सरकारको हो । सबैभन्दा पहिले हाम्रो पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्छ । पक्राउ परेका कार्यकर्ताको रिहा र लगाइएको मुद्दा खारेज हुनुपर्छु, ब्यूरो स्रोतले भन्यो, ‘आवश्यक पर्दा सरकारसँग वार्ता गर्नेसम्मको म्याण्डेट दिएर बनाइएको कार्यदलमा पार्टीका दोस्रो तहका नेताहरू हुनुहुन्छ । त्यसले पनि वार्ताप्रतिको हाम्रो गाम्भीर्यतालाई देखाउँछ ।’

अग्रगामी राजनीतिक निकासको लागि अग्रगमन चाहने प्रगतिशीलहरूको संयुक्त अन्तरिम सरकारको एजेण्डा लिएर छलफल अघि बढाउने केन्द्रीय कमिटीले प्रस्ताव पारित गरेको छ ।

विप्लव निकट स्रोतका अनुसार उनी प्रतिबन्ध हटेदेखि खुला राजनीति गर्न आतुर छन् । प्रतिबन्धित अवस्थामा सो समूहले निकै क्षति व्यहोरेको छ । स्रोतका अनुसार पक्राउ परेका विप्लवका वार्ता टोली सदस्य बाँस्तोलासँग पनि सरकारी संयन्त्रहरूले अनौपचारिक छलफल गरेका छन् ।

संयुक्त मोर्चाबन्दी निर्माण

विदेशी शक्तिको आड र इसारामा प्रधानमन्त्रीले संसद् विघटन गरेको ठम्याइसहित १४ पुसमा विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलले मोर्चाबन्दी गरेका छन् । मंसिर तेस्रो साताको केन्द्रीय कमिटी बैठकको म्याण्डेट अनुसार शुरू गरिएको छलफलको नतिजास्वरूप त्यो मोर्चाबन्दी भएको स्रोतले बताएको छ ।

मोर्चाबन्दी गरेका पार्टीहरूमा चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी छन् ।

मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाँडै नै घोषणा गरिने उल्लेख गर्दै जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘केपी वली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी चार पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ ।’

प्रतिक्रिया दिनुहोस
ओली-प्रचण्डको नेकपा खारेज, ऋषि कट्टेलले मुद्दा जिते

  सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीशद्वय

देउवाद्वारा अविश्वासको प्रस्ताव दर्ता गर्न इन्कार

  प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता

आङ्ग छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीलाई

    स्वर्गीय आङ्ग छिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीले

अविश्वासको प्रस्तावबाट पछि हट्यो प्रचण्ड-माधव गुट

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका नेपाल कम्युनष्टि पार्टी (नेकपा) का