विभाजित नेकपाका प्रचण्ड गुटका २ नम्बर अध्यक्ष’ माधवकुमार नेपाल रसिलो भाषण गर्नेमा चिनिँदैनन् । प्रायः खस्रा भाषण गरेर सहभागीलाई उँघ्न वाध्य पार्ने नेपालले सोमबारको पत्रकार सम्मेलनमा भने केहीबेर हँसाए । त्यसो त उनको भाषण आज पनि केपी ओलीमाथि नै केन्द्रित थियो । तथापि, अलिक फरक शैलीमा उनी प्रस्तुत भए । ओलीलाई ‘धर्तीकै बेइमान मान्छे’ को संज्ञा दिएका नेपालले प्रचण्डलाई भने जालझेल नबुझ्ने सोझो नेताका रुपमा चित्रित गरेका थिए ।
नेपालले गरेको छोटो सम्वोधनका केही अंश उनकै शब्दमा :
केपी ओली त प्रशंसाको भोको, आलोचना सुन्नै नचाहने मान्छे हो । उहाँ भन्नुहुन्छ मलाई राम्रो काम गर्न दिइएन । मेरा हात खुट्टा बाँधे । घेराबन्दी गरे । तर, हामीले राम्रो काम गर्न कहाँ रोकेका छौं ? राम्रो काम गर्नुस्, राम्रो काम गर्नुस् भनिरहेका छौं ।
हामीले ओम्नी, यती प्रकरणजस्ता अनेक खालका भ्रष्टाचारजन्य कुराहरूको सन्दर्भमा सत्य, वास्तविकता के हो छलफल गरौं भनेर आवाज उठायौं । उहाँले छलफलै गर्न नचाहने । अहिले त सबैतिरबाट केपी ओली एक्लिएका छन् । नागरिक समाज उनको साथमा छैनन् । मिडिया उनका पक्षमा छैनन् । पूर्वन्यायाधीश उनका पक्षमा छैनन् । उनी पूरै एक्लिएका छन् । यो प्रतिनिधिसभा भंग गर्ने आधारै छैन । सर्वोच्च अदालत जस्तो सम्मानित संस्थाका सम्मानित न्यायाधीशले अन्यथा निर्णय गर्नुहुन्छ भनेर हामी कसरी सोच्न सक्छौं ?
केपी ओलीको चुनाव-सुनाव गर्ने इच्छै छैन । चाहनै छैन । उहाँ तीन महिनामा चुनाव गराएर बालकोट जानुहुन्छ त ? अहँ होइन । उहाँ त पाँच वर्ष, अर्को पनि पाँच वर्ष बस्छु भन्नेमा हुनुहुन्छ । दिएनन् भने सबै भंग गर्दिन्छु, त्यसपछि संकटकाल लगाएर, तानाशाही लादेर भए पनि सत्तामा टाँसिएर बस्छु भन्ने चाहना हो उहाँको । कसलाई थाहा छैन ?
उहाँका प्रत्येक कुरा नक्कली हुन्छन् है, विश्वास नगर्नुस । उहाँको भन्ने कुरा एउटा र भित्री कुरा अर्कै हुन्छ । हाम्रो प्रचण्ड कमरेडले विश्वास गर्नुभएछ, कागजमा सही गर्नुभएनछ । निर्वाचन आयोगले लेखेर पठाएछ, दुईवटा अध्यक्षको हुनुपर्नेमा तपाईंको खोई भने । उहाँले फकाउनु भयो होला । केही छैन, मैले गरे हुन्छ भन्नुभयो होला । केपी ओलीको जालसाँझी हेर्नुस त । प्रचण्ड कामरेड सोझो हुनुहुन्छ, जालझेल बुझ्नुहुन्न । हामी पूर्वएमालेका त भुक्तभोगी । कामरेड जेएन खनाल पनि भुक्तभोगी, म त महा-भुक्तभोगी ।