प्रतिनिधिसभा विघटन नयाँ युगतर्फको पाइला



 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका नेता शंकर पोखरेलले प्रतिनिधिसभा विघटनलाई राजनीतिक जडताविरुद्ध केपी ओलीको राजनीतिक विद्रोह भनेका छन् । पोखरेलले यसलाई नयाँ युगतर्फको पाइला भन्दै प्रतिनिधिसभा विघटन हुनुभन्दा केही घण्टा अगाडि पनि आफूले प्रचण्डलाई विभाजन रोक्ने विकल्प सुझाउदा कुनै हालतमा नमानेको दावी गरेका छन् । आज विहान सामाजिक सञ्जालमार्फत केही तथ्यहरू खुलासा गर्दै पोखरेलले कम्युनिस्ट पार्टी अब नयाँ शीराबाट पुनर्गठन हुने बताएका छन् । उनले प्रतिनिधिसभा विघटन अहिलेको संकटको कारण नभएर परिणाम मात्र हो भनेका छन् ।

एकताको रक्षाका लागि गरिएका प्रयासहरू किन असफल भए भनेर कमरेडहरू प्रश्न गर्नुहुन्छ । म कति कुरा बताउँ भनेर अन्योलमा पर्छु । प्रतिनिधिसभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिएँ, जनार्दन शर्माको साथमा । त्यस दिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्त्वकासाथ सुझाएको थिए ।

तर कमरेड प्रचण्ड त्यस प्रति एकरती पनि सकारात्मक देखिनु भएन । मेरो तर्फबाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनु भएन । उहाँ आफ्नो भित्रि योजनामा निकै प्रतिवद्ध भइसक्नु भएको रहेछ । उहाँ सहमतिमा होइन, षडयन्त्रको बाटोबाट सत्तामा पुग्ने हतारोमा हुनुहुँदो रहेछ । नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम बेहोर्दै छौँ ।

पार्टी एकता समयको माग र आवश्यकता थियो । दुई अध्यक्षले त्यसको नेतृत्व गर्दा चमत्कारको शैलीमा आफूलाई प्रस्तुत गर्नु भो । हामीले वैचारिक र सांगठनिक प्रश्नलाई सुल्झाएर अघि बढ्नु उचित हुने सुझाव दिएका थियौ । तर उहाँहरूले भावनात्मक कुरा गर्नु भो । हामीले त्यसलाई स्विकार गर्‍यौं ।

तर कमरेड प्रचण्डमा एकतालाई पूर्णतामा लैजाने कुरामा कुनै तत्परता देखिएन । भएको शक्तिसमिकरणका माध्यमबाट अघि बढ्नेकुरामा नै हमेसा रुचि देखियो । तर आज आएर विचार गर्दा पार्टी एकता नै कमजोर धरातलमा अडेको देखियो । तर पनि यसले दुई फरक आन्दोलनका प्रवृत्तिहरूलाई अन्तरघुलन हुने अवसर भने प्रदान गरेको छ । एकातिर कमरेड केपीको साथमा रामबहादुर थापा ‘बादल’ हुनुहुन्छ अर्कोतिर पुष्पकमल दाहाल प्रचण्डको साथमा माधवकुमार नेपाल । यसले पनि नयाँ शिराबाट आन्दोलनलाई पूनर्गठन गर्ने अवसर प्रदान गरेको छ ।

नेपाली राजनीतिमा पुरानो पुस्ताले अधिकार प्राप्तिको लडाईमा ऐतिहासिक भूमिका निर्वाह गरेकै हो । नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले एउटै पुस्ताले तीन वटा क्रान्तिको नेतृत्व गरेको कुरा सगौरव चर्चा गर्नुहुन्थ्यो । वास्तवमा क्रान्तिको इतिहासमा यो अनुपम कुरा नै थियो । तर दुनियामा एउटा क्रान्तिबाट युगको परिवर्तन हुन्छ । तर हामी कहाँ तीनवटा क्रान्तिपछि पनि युग परिवर्तनको आभाष दिन सकिएको छैन ।

यस्तो किन ? पुरानो पुस्ताका नेताले खोज्ने कोशिस कहिले गर्नु भएन । कमरेड केपीले त्यसको समाधान दिने प्रयास के गर्नु भएको थियो । उहाँलाई चारैतिरबाट घेराबन्दी गरियो र अपमानजनक हिसावले पार्टी र आन्दोलनबाट बाहिर पठाउने कोशिस गरियो । कमरेड केपी ओलीको प्रतिनिधिसभा विघटनको घटनालाई सोही परिपेक्षमा हेर्नु पर्दछ । यो एक प्रकारले नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्धमा कमरेड केपी शर्मा ओली नेतृत्वमा भएको राजनीतिक विद्रोह हो । नयाँ युगतर्फको पाइला हो ।

नेकपा भित्र कमरेड केपी शर्मा ओलीलाई एकता निर्माणमा असफल भएको आरोप लगाइएको छ । मेरो विचारमा नेपालका पार्टी निर्माणमा देखिएको जडताको परिणाम हो यो । नौ सदस्यीय सचिवालयमा सात जना पार्टी प्रमुख हुनु र चार जना पूर्व प्रधानमन्त्री हुनु आफैमा एकता निर्माणको चुनौती थियो । पश्चिमा मुलुकहरूले राजनीतिमा आउनसक्ने यस प्रकारको अवस्थाको समाधान पहिले नै खोजेका थिए । समाजवादी चीनले पनि त्यसको समाधान खोजिसकेको छ । तर हामीले पद्धतिगत सुधारको साटो व्यवस्थापनमा जोड दियौं र आजको संकटलाई आमन्त्रण गर्‍यौं।

मेरो विचारमा पार्टी पद्धतिमा सुधारको प्रयास नगर्ने हो भने पुनर्गठित पार्टीहरू भित्र पनि भविष्यमा यही प्रकृतीको समस्या नआउला भन्न सकिन्न । अहिले प्रचण्ड र माधव कमरेडहरूका बीचमा चलिरेहको छलफलले पनि त्यही संकटलाई संकेत गरिरहेको छ ।कतिपय कमरेडहरू नयाँ शिराबाट एकताको पहल गर्न अनुरोध गरिरहनु भएको छ। त्यो पहलकदमीका लागि यस्ता कुरामा मतैक्यताको आवश्यकता पर्दछ । आजको संकटको कारण प्रतिनिधिसभाको विघटन हो या दुई तिहाईको जनादेशलाई र पार्टी एकताको भावनालाई आत्मसात गर्न नसक्ने कुरा हो भन्नेमा हाम्रा बीचमा विमती रहेछन् ।

प्रतिनिधिसभा विघटन परिणाम हो । कारण होइन । कारण त हाम्रो पार्टी प्रणालीमा छ र त्यसमा सुधार नै नयाँ एकताको आधार हो । आउनुहोस् नयाँ जनादेशको बाटोबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकतावद्ध गरौँ । पार्टी पद्धतीको सुधारका माध्यमबाट नयाँ युगको सारथीको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनलाई सुदृढ गरौँ ।

प्रतिक्रिया दिनुहोस
प्रचण्ड–माधव प्रतिगमनकारी हुन : मन्त्री रायमाझी

    नेकपा ओली पक्षका नेता एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा

यती समुहद्धारा समाचारको खण्डन

    नेपालको समग्र पर्यटन विकास र राष्ट्रको पर्यटन अर्थतन्त्रका असिमित संभावनालाई अन्तर्राष्ट्रिय

कास्कीका सवै जनप्रतिनिधि ओलीतिर, प्रचण्ड-माधव गुट पत्तासाफ

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजन गरी अलग समुह बनाउनु भएका

मघेशी दल फेरी फुटने संकेत, जसपामा अर्को लफडा सुरु

    जनता समाजवादी पार्टी (जसपा) ले संसद् विघटनविरुद्ध सिरहामा गर्न लागेको सभा