केपी शर्मा ओली पूरै कार्यकाल प्रधानमन्त्री रहनुपर्छ : हरिबोल गजुरेल



 

नेकपाको स्थायी कमिटी बैठक सुरु भएपछि तपाईंहरुमा एक किसिमको उत्साह देखिएको छ । यस्तो उत्साह बैठक सुरु हुनुअघिसम्म थिएन । के अदृश्यमा कुनै गोप्य सहमति भएको हो ?

प्रथमतः स्थायी कमिटी बैठकमा उहाँ (केपी ओली) लाई विश्वास छ र यसले विवेकपूर्ण निर्णय लिन्छ भन्ने सन्देशसहितको पत्र पठाउनुभएको छ । दोस्रो, अध्यक्ष पनि मेरो अन्तिम हो र प्रधानमन्त्री पनि अब हुन्न भन्नुभयो । प्रचण्ड (पुष्पकमल दाहाल प्रचण्ड) ले पनि म पार्टी र एजेण्डा (अहिलेको व्यवस्था) बचाउन आवश्यक परे पद त्याग गर्न पनि तयार छु भन्नुभयो । यसलाई सकारात्मक छलफल शुरु भयो भनेर हामीले बुझ्यौं ।

स्थायी कमिटी (भदौ २६ ) ले गरेको निर्णय सचिवालयले कार्यान्वयन गर्न सकेन । दुई अध्यक्षले त्यो निर्णय कार्यान्वयन गर्नुपथ्र्यो । विवाद फेरि फर्केर स्थायी कमिटीमै आयो । स्थायी कमिटीको बैठकप्रति अध्यक्षहरुको जुन विश्वास छ, त्यसैले स्थायी कमिटी अलि उत्साहित भयो ।

तर, फेरि पनि उहाँहरु (दुई अध्यक्ष) बाटै बदमासी भएको भन्ने त स्थायी कमिटीलाई थाहा छ नि ? कसरी हल हुन्छ त विवाद ?

विभिन्न समयमा विभिन्न प्रकृतिका त्रुटिहरु त भए, त्यो एउटा पाटो हो । तर, अहिले दुई अध्यक्षले स्थायी कमिटीप्रति गरेको विश्वास र यसले खेल्न सक्ने भूमिकालाई लिएर उत्साहित भएको हो ।

नेकपाको सचिवालयमा जस्तो समीकरण र गुट छ । स्थायी कमिटी सदस्यहरु पनि कुनै नेताविशेषका समर्थक छन् । स्थायी कमिटीले विवाद हल गर्छ भन्ने के आधार छ ?

स्थायी कमिटीका सदस्यहरुले अलि विवेकपूर्ण ढंगले सोच्छन् । गुटगत लिगेसी त अलिअलि भइहाल्छ नि । विभिन्न पृष्ठभूमि छन्, विभिन्न नेताहरुसँग जोडिएका छन् । विभिन्न बाध्यता र मनोविज्ञान छ । तर, एजेण्डामाथिको छलफल गर्ने क्रममा भने स्थायी कमिटी सदस्यहरुको मूल स्पि्रड अलि उचाइमै छ ।

तर, यो पनि टिप्पणी हुँदैछ कि यसपटक पनि छलफल हुन्छ, कार्यदल बन्छ । त्यो कार्यदलले अध्यक्षहरुको भावनाअनुसार, रिपोर्ट बुझाउँछ र विवाद मिल्छ । तर, विवाद फेरि सुरु भइहाल्छ…

अब कसरी विवाद हल हुन्छ भन्ने कुरा अलग कुरा हो । कार्यदल बन्यो र त्यसको सुझावअनुसार भएको निर्णयले पनि विवाद हल भएन । तर, मलाई लाग्छ- नेताहरुको विश्वासले समस्या समाधान हुन्छ । अब उहाँहरु सहमत हुन सक्नुभएन भने स्थायी कमिटीका सदस्यहरुले समाधान निकाल्छौं । तर, मुख्य कुरा स्थायी कमिटी सदस्यहरुले विवादको निकास निकाल्छौं भन्ने विश्वास गर्ने वातावरणचाहिँ बन्यो । तपाईंले सन्तुलित ढंगले बैठक शुरु गर्नुभयो भनेर हामीले प्रचण्डलाई बधाइ नै दिऔं । प्रधानमन्त्रीले पनि पत्र पठाएर बैठकलाई मान्यता दिनुभयो ।

स्थायी कमिटीका सदस्यहरु उत्साहित नै हुनुहुन्छ, तर, पार्टीको अध्यक्ष नै बैठकमा आउँदैनन् र पत्र लेखेर विश्वास गर्छु भन्दा यत्रो उत्साहित हुनुपर्छ र ?

कहिलेकाँही मै जान्न बैठकमा । अरु साथीहरु आउनुहुन्न । यदाकदा आफ्नो अडान लिन त्यस्तो (अनुपस्थित) हुनु राम्रै कुरा हो । विरोध र असहमतिको विभिन्न तरिका हुन्छ । तर, सधैं अनुपस्थित हुनु राम्रो हुँदैन । पटक-पटक अनुपस्थित हुँदा प्रवृत्ति नै यस्तो हो कि भन्ने हुन्छ । प्रधानमन्त्रीको अलि बढी त्यस्तो व्यवहार छ । कहिलेकाँही त त्यस्तो हुन्छ ।

पूर्वनिर्धारित बैठकमा तपाईंहरु सबै जानुभयो । उहाँ (ओली) मात्र आउनुभएन । अनि, मान्यता दिनुभयो भन्नेमै खुशी हुनुपर्ने अवस्थामा पुग्नुभएको हो ?

मान्यता दिएकोमा उत्साहित भनेको होइन । पत्रमा मेरो अन्तिम कार्यकाल हो र तपाईंहरुको विवेकपूर्ण निर्णयप्रति विश्वास छ भन्नुभयो नि त ।

तर, बैठकपछि पनि उहाँ -ओली) निकट नेताहरुले बैठकको निर्णय मान्नैपर्छ भन्ने टिप्पणी पनि गरे नि ?

यो व्यक्ति-व्यक्तितिर नजाऔं । व्यक्तिले विभिन्न ठाउँमा विभिन्न टीकाटिप्पणी गर्छन् । तर, बैठकमा लिखितरुपमा आधिकारिक तरिकाले दिएको कुरा त अर्थपूर्ण हुन्छ । हुन त उहाँ (ओली) ले दुबै पद छोड्छु भनेर भनिरहेकै कुरा हो । तर, लिखित थिएन । अनि, प्रचण्डले पनि जवाफ दिनुभयो- एजेण्डा (अहिलेको व्यवस्था) र पार्टी प्यारो छ, आवश्यक परेमा पद त्याग्न तयार छु । यसको अर्थ दुवै अध्यक्षको विश्वास स्थायी कमिटीप्रति देखियो । स्थायी कमिटी निकास दिन सक्षम छ भन्ने नै हो ।

दुई अध्यक्ष मिल्दा सबै कुरा मिल्यो, पार्टी चल्यो । तर, कात्तिक २३ यता त एकले अर्कालाई लगाउनुपर्नेसम्मका सबै आरोप लगाउनुभएको छ । पद छोड्ने कुरा पनि एकअर्कालाई अप्ठ्यारो पार्न ल्याएको हो भन्ने लाग्दैन ?

विवाद र झगडा भएपछि एउटा क्लाइमेक्समा पुग्छ । प्रस्ताव वा आरोप जे भन्नुहोस्, त्यो भनेको संघर्षको उत्कर्ष हो । कहिलेकाँही यस्तो हुन्छ । उत्कर्षमा पुगेपछि समाधान जाने बाटो पनि हुन्छ । नेकपाको विवाद उत्कर्षमा पुग्यो, अब निकास बाटो निस्कन्छ । एकअर्कामा संवादहीनताको स्थिति र बैठक अस्वीकार गर्ने कुरा भइरहेका बेला एकले अर्कालाई निषेध गर्न नसकेको परिस्थिति बन्यो नि त । निषेध गर्न नसकेपछि मिल्नुको विकल्प रहेन । मिल्नुपर्छ भन्ने रियलाइजेसन भयो ।

केपी ओलीलाई प्रचण्डसँग मिल्नुपर्छ भन्ने रियलाइजेसन भएको हो ?

लेखेर दिनु भनेको रियलाइजेसन पनि हो नि त । निषेध गर्न सकिएन भन्ने नै हो । मान्दिनँ, टेर्दिनँ, बैठकमै जान्न भन्ने थियो । आ-आफ्नो बाटो लागौं भन्ने स्थितिबाट फेरि संवादको अवस्था आयो र स्थायी कमिटीको बैठकमा आएर विचार राख्नुभयो । यसले फेरि समाधानको प्रक्रिया शुरु भयो । समाधान भयो भनेको छैन, स्टेप शुरु भयो । यसलाई सकारात्मक मान्नुपर्छ ।

तपाईंहरु उत्साहित हुनुभयो । तर, मंसिर २४ को ओली-प्रचण्ड भेटवार्तामा प्रधानमन्त्रीले प्रचण्डलाई माधव नेपाल धोकेबाज हो, हामी मिलौं भन्नुभयो नि ?

त्यो त मिडियाको कुरा हो । यसमा मलाई चित्त बुझेको छैन । दुईजना बस्नुहुन्छ । पाँचजना भए पो कसले लग्यो भन्नु । त्यो पनि मिडियामा आउँछ । यसले वातावरण बिगार्छ ।

मिडियामा आउने कुरा त प्राविधिक विषय भयो । कन्टेन्टचाहिँ दुई अध्यक्ष मिल्नु नै समाधान हो त ?

सरकार र पार्टी सञ्चालनमा निश्चित विधि, नीति र नयाँ मान्यता अघि नसारेसम्म समस्या हल हुन्न । नहुने रहेछ । मान्यता विकास गर्न सकियो भने नयाँ आधारमा एकता गर्नुपर्‍यो । भदौ २६ मै फकौर्ं भनेर त हुँदैन । त्यो पछाडि परिसक्यो, अब नयाँ ठाउँमा गएर सहमति खोज्नुपर्‍यो । भदौ २६ मै फर्किएर मात्रै हुँदैन । सरकार र पार्टी कसरी चल्छ ? दुई अध्यक्षको भूमिका के हुन्छ ? एउटै अध्यक्ष रहने कि ?

मलाई लाग्ने कुरा- एउटा अध्यक्ष, एउटा प्रधानमन्त्री । समाधान यही हो । अर्को बाटो नबन्दासम्म कसैले पनि छोड्दैन । मलाई गलहत्याएर निकाल्दैछन् भन्ने बुझाइले राम्रो हुँदैन । एउटा विश्वासको वातावरण बन्यो भने त्यो हुन सक्छ । हामीले भूमिका खेल्नुपर्ने त्यही हो । एउटा मान्छेको दुईवटा टाउको भएर नहुने रहेछ । त्यो भएन ।

अनि, अबको निर्वाचन -स्थानीय र संघ तथा प्रदेशको निर्वाचन) सम्म महाधिवेशन हुँदैन । त्यसैले अबको विकल्प भनेको एउटा प्रधानमन्त्री र अर्को अध्यक्ष हुने । अध्यक्षले महाधिवेशनको तयारी गर्ने र प्रधानमन्त्रीले पाँच वर्ष देशमा सरकार चल्यो भन्ने सन्देश दिनुपर्छ । त्यो दिशातिर जाने सम्भावना छैन भन्दिनँ । छलफल र बहस गर्दै जाँदा, विश्वासको वातावरण बन्दै जाँदा त्यहाँ पुग्न सकिन्छ । पुग्नुपर्छ । हाम्रो सफलता त्यही नै हो ।

भदौ २६ को सहमतिले नि पार्टीलाई निकास दिएन । दुई अध्यक्ष बीच कुरा मिलेन । अबको निकास के होला जस्तो लाग्छ ?

समीकरण शत्रुतापूर्ण हुन्छ । खुमलटार जाँदा मैले दसौंचोटि प्रचण्डलाई भनेको छु- कमरेड, अरु सबै गर्नुहोस्, समीकरण नबनाउनुहोस् है भनेको छु । समीकरणले मान्छेलाई हातखुट्टा बाँधिन्छ र अन्तरसंघर्ष शत्रुतापूर्ण हुन्छ । यसले पार्टीलाई विभाजनतर्फ लान्छ । समीकरणमा एउटाले अर्कोलाई सिध्याउने कुरा हुन्छ, अर्कोले पनि त्यही गर्छ । आरोप-प्रत्यारोपमा जान्छ, संघर्ष शत्रुतामा बदलिन्छ ।

मैले जे भनेको थिएँ, आखिर त्यही त भइरहेको छ । कहिले प्रचण्डले समीकरण -सचिवालयमा) बनाउनुभयो, कहिले प्रधानमन्त्रीले बनाउनुभयो । एकले अर्कालाई घेराबन्दी गर्न समीकरण बनाउँदा पार्टीलाई अस्वस्थ्य बनाउँछ । समीकरणले खुट्टा बाँधिदिन्छ । गुटहरु हामीसँग छ । त्यही रहिरहन्छ, केही समयसम्म । त्यसलाई निवारण गर्ने विधि पनि खोजौंला । तर, समीकरणचाहिँ बन्न हुन्न ।

तपाईंले ओली र प्रचण्डले समीकरण गर्नु हुन्न भन्नु भयो । तर, माधव नेपाललाई पेल्नेगरी दुई अध्यक्षको समीकरण थिएन र ?

माधव नेपाललाई यताउता गर्ने कुरामा प्रचण्डको भूमिका हैन है । त्यो त प्रधानमन्त्रीले गर्नुभएको हो । दुई अध्यक्षले सहमति गर्ने कुरालाई समीकरण भन्नुभएन । अध्यक्षहरु भनेको त आधिकारिक मान्छे हो नि । त्यसलाई समीकरण भन्नु भएन नि । दुई अध्यक्षको सहमतिलाई समीकरण भन्ने हो भने संस्था कुन हो त ? समीकरणले हातखुट्टा बाँध्छ । अध्यक्षले त ड्याङ ड्याङ निर्णय गर्नुपर्‍यो नि । मानौं- छलफल शुरु भयो । समीकरणमा बाँधिएपछि त प्रस्तावमै समस्या पर्छ । नयाँ प्रस्ताव आउँदा पख्नुहोस् है म समीकरणसँग छलफल गरेर आउँछु भन्नु भएन । अनि, टालटुल कुरा गरेर उठ्नु परेन ?

हिजो त ओली र प्रचण्डले ड्याङड्याङ निर्णय गरेको हो नि । समीकरणले त्यो हुन छाड्यो । समीकरणबाट कहिले समाधान हुँदैन । आ-आफ्नो समीकरणमा छलफल त गर्नुपर्‍यो । अध्यक्षले सबैको सुझाव सुन्नुपर्छ, तर निर्णय गर्ने अधिकार आफूमा राख्नुपर्‍यो नि ।

अहिलेको समीकरणले प्रचण्डको हातखुट्टा बाँधिएको हो ?

समीकरण कहिले कसले बनायो, को बहुमतमा र को अल्पमत पर्‍यो भन्ने दोस्रो कुरा हो । जस्तो- अहिले ठूला नेताहरु त प्रचण्ड कमरेडसँग हुनुहुन्छ । दुई अध्यक्ष र दुई प्रधानमन्त्री भइसकेको मान्छे हुनुहुन्छ । तर, अर्कोतिर प्रधानमन्त्रीले समीकरण बनाए पनि जुनियर मान्छेहरु हुनुहुन्छ नि त ।

तर पूर्वएमाले एक ठाउँमा उभियौं र पूर्वमाओवादीलाई ठेगान लगाऔं भन्ने प्रस्ताव पनि प्रधानमन्त्री निकट नेताहरुबाटै सुनिँदैछ नि ?

पूर्वएमाले र पूर्वमाओवादी भन्ने कुरा पछाडि र्फकने कुरा हो । पार्टी एकता भइसकेपछि पृष्ठभूमितिर जानै हुन्न । कहिलेकाँही त्यस्तो अभिव्यक्ति आउँदा हामीलाई दुःख लाग्छ ।

दुई अध्यक्ष मिले कम्युनिष्ट आन्दोलन ठीक हुने, क्रान्ति अगाडि बढ्ने, जनमतको सम्मान हुने र देश अघि बढ्ने, तर नमिले सवै बिग्रने भन्ने तर्कमा तपाईं पनि सहमत ?

अहिलेको स्थिति त्यस्तै छ । महाधिवेशनसम्म पुग्दा कस्तो वातावरण बन्छ, त्यो कुरा अलग हो । अहिले यस्तै छ । अर्को विकल्प पनि त छैन ।

तपाईंले समीकरण बनाउने कुरामा आपत्ति जनाउनुभयो । तर, प्रचण्डले त प्रधानमन्त्रीले पार्टी निर्णय नै मान्नुभएन । त्यसैले समीकरण बनाएको तर्क गरिरहनुभएको छ नि ?

मैले भन्ने गरेको छु- प्रचण्ड कमरेड, तपाइँ सही ठाउँमा एक्लै उभिनु न लाखौं मान्छेले साथ दिन्छन् । धेरै मान्छे, यहाँ, उहाँ किन ? तपाईं किन डराएको ? प्रचण्डको आफैं व्यक्तित्व र इतिहास बनेको छ । डराउनुपर्ने कुरा के छ ? ठीक ठाउँमा उभिएर अपिल गर्नुहोस्, लाखौं मान्छे सहयोग गर्न आउँछन् । तपाईं आफैं यति कमजोर सोच्ने ? यत्रो परिवर्तन, यत्रो जनयुद्ध गरेको मान्छे यति कमजोर ठान्ने ? एक्लै उभिँदा सही ठाउँमा उभिनुपर्छ । हरिबोलले साथ दिन्छन्, लाखौं मान्छे आउँछन् । तर, जनताको नजरमा उहाँले सही ठाउँमा उभिनु पर्‍यो नि ।

प्रचण्डलाई तपाईंले धेरै राम्रोसँग चिन्नुहुन्छ । उहाँ कुन ठाउँमा डराउनुभएको छ ?

तपाईंहरुले बुझ्नुहोस्, प्रचण्ड र ओली कमरेड सही ठाउँमा उभिदिएको भए यो हालत हुन्थ्यो ? यस्तो गाईजात्रा हुन्थ्यो ? अहिले जग हसाँउने काम भएको छ कि छैन ? दुई तिहाइ नजिकको, चारवटा प्रधानमन्त्री भएको पार्टी र अहिले पनि कार्यकारी भएको पार्टी अनुसार, के गर्‍यौं त ?

यो, ऊ, छोडौं न । अहिले त परिवर्तन नै धरापमा पर्ने चिन्ता भइरहेको छ । हामी जति कमजोरी गर्दै जान्छौं, अर्कोको मनोवल त उति नै बढ्दै गएको छ नि । दबिएका शक्तिको मनोवल बढ्दै गएको छ, अनि असन्तुष्ट मानिसको समर्थन त्यहीँ पुग्दै गएको छ । आक्रोश र आवेग त्यहीँ व्यक्त भइरहेको छ । आक्रोशमा मान्छेको विवेक हराउँछ । यसलाई उहाँहरु (ओली र प्रचण्ड)ले बुझ्नुपर्छ र सुधार्नुपर्छ । उपलब्धी जति भयो, त्यो उहाँहरुकै कारण हो । तर, जति समस्या आएको छ, त्यो पनि उहाँहरु (ओली र प्रचण्ड) कै कारण हो ।

नेतृत्वलाई अब तपाईंहरु सल्लाहकार हुनुहोस्, सम्मान गर्छौं, तर, पार्टीको नेतृत्व हामी गर्छौं भन्ने बेला भएन र ?

अहिले रातारात त्यो हुँदैन । तपाईंले भनेको कुरा समय भएको भए हुन्थ्यो । तर, अहिले हामीसँग समय छैन । हामीसँग त दुई वर्ष मात्रै -स्थानीय र संसदीय निर्वाचनको) समय बाँकी छ । यो छोटो समयमा थोरै सुधार गर्नेबारे सोचिरहेका छौं । हामी एकताका पक्षधरहरुले एकता गर्नुपर्छ भनेर मात्रै पुग्दैन । के आधारमा एकता अगाडि बढाउने ? हामीले ठोस आधार तयार पार्नुपर्छ । भदौ २६ पनि पछाडि परिहाल्यो । त्यसको आधार खोजिरहेका छौं, छलफल चलिरहेको छ । छलफलका क्रममा नयाँ चिज आउँछ, हेर्दै जाऔं ।

भनेको, केपी ओली पाँच वर्ष प्रधानमन्त्री, एकल अध्यक्ष प्रचण्ड ?

छलफलका क्रममा छौं । अहिले नभनौं । त्यसका लागि विश्वासको वातावरण बनाउनुपर्छ । त्यो अगाडि एकताको आधार खडा गर्नु पर्‍यो नि ?

तर, यो प्रस्ताव ल्याउने कसले ? ओली-प्रचण्ड-माधव मिल्नुपर्छ भनेर बाहिर भन्नेहरु पनि कुनै न कुनै गुटमा छन् ।

स्थायी कमिटी सदस्यहरु त्यस्तो रबरस्ट्याम्प जस्तो पनि मलाई लाग्दैन । स्थायी कमिटी अलि फरकखालको छ । अस्ति (असार १० देखि भदौ २६ सम्म चलेको) स्थायी कमिटीमा बोल्दा पनि सबैको कुरा सुनिहाल्नुभयो । स्थायी कमिटीका नेताहरु सापेक्षित रुपमा अलि स्वतन्त्र धार समात्छन् । कसैले भन्नासाथ भइहाल्ने देख्दिनँ त्यहाँ । स्थायी कमिटीको बैठकमा समाधानका उपायहरु हामीले दिनुपर्छ ।

सम्भावित एकताको आधार के हो ?

केही सोचेको छु । यहाँ भन्दिनँ । मैले बैठकमै भन्नुपर्छ । केही साथीहरुलाई भनेको छु- भदौ २६ ले पुग्दैन । त्योभन्दा अगाडि बढ्ने विकल्पबारे कुराकानी भइरहेको छ । एउटा अध्यक्ष र एउटा प्रधानमन्त्री भन्ने प्रस्ताव आजको भोलि नहुन सक्छ । तपाईं-हामीलाई थाहा छ, चुनवाङ बैठकमा कस्तो अवस्था थियो भन्नेबारेमा । प्रचण्ड, बाबुराम, बादल रुवाबासी र अँगालो हालाहाल ! त्यसपछि एक ठाउँमा उभिएको होइन ? अन्तरसंघर्ष हो नि । बाबुराम कारवाहीमा हुनुहुन्थ्यो । कुन परिवेशमा थियो ? तर, त्यही चुनवाङको बैठकले नयाँ परिस्थिति बन्यो नि । त्यो यहाँ हुन सक्दैन ? तर, हामीले त्यो (हाई जम्पिङ ) खालको वातावरण बनाउन सक्नुपर्छ । अहिले स्थायी कमिटीको अग्नि परीक्षा आएको छ । सचिवालय आफ्नो भूमिकामा चुक्यो, चुक्यो । तर, स्थायी कमिटीले एउटा निकास दिन्छ ।

चुनवाङ बैठकमा त एकअर्कामा विलीन हुने परिस्थिति नै बनेको हो नि (हामीले बुझेअनुसार) । अहिले त्यो तहको विश्वास चाहिँ…

हो, प्रधानमन्त्रीले प्रचण्डको प्रस्ताव खारेज नभएसम्म बैठकमा आउँदिनँ भन्नुभएको छ । फिर्ता वा खारेज हुनुपर्छ भनिरहनुभएको छ । अनि, प्रचण्डले भन्नुभएको छ- दुईवटा प्रस्ताव आएका छन्, तर स्थायी कमिटीले अर्को प्रस्ताव ल्याउन सक्छ । त्यतातिर हामी किन नसोच्ने ?

यसको अर्थ नयाँ चिज स्थायी कमिटीले अगाडि सार्नुपर्‍यो । जसले समाधान दिँदा सबैलाई सन्तुष्ट पार्छ । चुनवाङ बैठकमा विचार, राजनीति सबै कुराले त्यो भयो । त्यतिकै चोचोमोचो मिलाएर त त्यहाँ समाधान भएको होइन नि । त्यस्तै परिवेश बन्ने सम्भावना छ ।

तर, त्यो आधार खोज्न त, एउटा ‘ग्रे एरिया’ का नेता हुनुपर्ला, जसले आफ्नै विवेकले निर्णय लिन सकुन् । तर, स्थायी कमिटीमा पनि ओली-प्रचण्ड-नेपाल निकट नेताहरु बहुमतमा हुनुहुन्छ नि ?

मैले भनिसकें कि म कुनै गुटमा छैन । कुनैबेला मेरो कोठामा भीड हुन्थ्यो, कति मान्छे भेला गर्थे ? त्यो तपाईंहरुले पनि देख्नुभएको छ । अहिले मैले त्यसो गरेको छैन । बाबुराम भट्टराई पार्टी छोडेर गइसकेपछि अध्यक्ष -प्रचण्ड) ले पेरिसडाडाँमा भन्नुभयो- गुटबन्दी गर्ने हो भने पार्टी विघटन गरौं । टोपबहादुरलाई गुट नबनाउनुहोस् भन्नुभयो । टोपबहादुरले पनि छुट्टै गुट बनाउनुभएको छैन । गुटबन्दीमा भएको भए मैले यसरी कुरा राख्न सक्थें ? मेरो गुटबन्दी भए हिजो ओलीले अध्यादेश ल्याउँदा अग्रपंक्तिमा रहेर त्यसको विरोध गरेँ । पछि, माधव र प्रचण्डले कमरेडले दुवै पदबाट हटाउन खोज्दा हुन्न भनेँ । राष्ट्रियको मुद्दामा दुवै पदबाट हटाउँदा राम्रो सन्देश जाँदैन भनेँ । प्रतिवाद गरेँ । अहिले भदौ २६ को निर्णय कार्यान्वयन नहुँदा प्रधानमन्त्रीले त्यसरी एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गर्ने र राजदूतहरुको सिफारिस गर्नु हुँदैनथ्यो भन्न सक्थें ? अनि केको गुटको कुरा गर्नु हुन्छ ? पार्टीलाई एकतावद्ध बनाउने कुरामा हामी एकतावद्ध हो । कुनै गुटले पार्टीलाई गलत दिशातिर लैजान खोज्यो भने कहाँ मानिन्छ र ? मानिँदैन नि ।

फेरि पनि सोध्यौं, स्थायी कमिटी सदस्यहरुमा त्यो हिम्मत छ ?

छ । दुबैतर्फबाट गलत कुरा आउँदा हामीले विरोध गरेर देखाएका छौं ।

नयाँ चर्चा पनि छ । तपाईं र टोपबहादुरसहित नेकपामा नयाँ गुट बनाउँदै हुनुहुन्छ ?

छैन । जसले फुटको कदम चाल्छ, त्यसको विरोध गर्ने भन्ने छ, हाम्रो । फुटपरस्त कदम जसले चाल्छ, त्यसको विरोध गर्ने हो ।

पछिल्लो विवादमा चाहिँ कसले फुट परस्त कदम चाल्यो होला ?

पहिलोपटक प्रधानमन्त्रीले चाल्नुभयो, अध्यादेश (दल विभाजन सम्बन्धी) ल्याएर । केन्द्रीय कमिटीमा ४० प्रतिशत माओवादीको पुग्थ्यो । माओवादीलाई पेलेपछि ४० प्रतिशत लिएर हिँडिहाल्छ, अनि १० जना मधेसवादी ल्याएपछि प्रधानमन्त्रीको ४० प्रतिशत पुग्थ्यो । यताबाट पेलियो भने उहाँ (ओली) लाग्ने भयो । परिणाम पार्टी विभाजनकै थियो, त्यसैले हामीले विरोध गर्‍यौं । पछि, दुवै पदबाट हटाउने भनेपछि त फेरि पार्टी फुटतिर जाने भयो । त्यसको विरोध गरियो । पछिल्लोपटक प्रधानमन्त्री दुवै पदबाट सुरक्षित हुनुभयो । स्थायी कमिटीले निर्णय गरेको थियो । त्यो लागू गर्ने कुरा उहाँले मिस गर्नुभयो । मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिमा जसरी आफ्ना मान्छेहरु मात्रै राख्नुभयो, त्यसले बाहिर ओलीले जसरी पनि पेलेर जान्छ भन्ने सन्देश गयो ।

यसबारे हामीले उहाँकै अगाडि पनि र बाहिर पनि भनिरहेका छौं । जहाँ गलत भएको छ, त्यहाँ विरोध गरिएको छ । अहिले छलफल गरौं, नयाँ ठाउँबाट एकता गर्नुपर्छ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेले न्यूज २४ छोडेपछि सिधा कुरा बिबादमा

  लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र

नेकपा आधिकारिकता जसको सम्पत्ति त्यसकै हुने

    ओली पक्षले भाइ अंश समेत नलाग्ने बताइरहेका बेला प्रचण्ड–माधव पक्षले आफूहरू

चुनावी घोषणापत्र लेख्दै नेकपाका अध्यक्ष ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फबाट आगामी चुनावका लागि घोषणापत्र लेख्ने कार्य

२३ वर्षीया मोडलसँग ४९ वर्षीय मुख्यमन्त्री राईको आज विवाह

  प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ४९ वर्षको उमेरमा बेहुला बनेका छन्