अल्पमत र बहुमतका आधारमा निर्णय गर्ने ठाउँमा पुग्‍नै हुँदैन : मन्त्री भट्टराई



 

नेकपा स्थायी समितिको बैठक सरेको सरै छ, कहिलेसम्म निकास आउला ?

स्थायी समितिको बैठक असार १० गतेबाट सुरु भएको हो। पार्टीको आन्तरिक जीवनबारे बैठकमा गम्भीर बहस भए। त्यस विषयमा हामी ठोस निष्कर्षमा पुग्न सकेनौं। पार्टीका दुई अध्यक्ष, वरिष्ठ नेताहरू र सचिवालयका सदस्यहरूका बीचमा औपचारिक–अनौपचारिक छलफल गरेर समान धारणा बनाउन सकियो भने राम्रो हुन्छ भनेर बैठक स्थगित हुँदै आएको छ। पार्टीभित्र उत्पन्न संकटपूर्ण अवस्था समाधानका केही शुभसंकेत पनि देखिन थालेका छन्।

बैठक नै नबसी समाधान निस्केला त ?

बैठक पर सर्दैमा आपत्ति जनाइहाल्नुपर्ने अवस्था छैन। बैठक प्रारम्भ हुँदा हामी कसरी जान्छौं भन्ने त्यो महत्वपूर्ण हो। पार्टीभित्र देखिएका समस्या, प्रधानमन्त्रीमाथि केही कमरेडले लगाउनुभएका गम्भीर आरोप, प्रधानमन्त्रीले अरू नेतामाथि लगाउनुभएका आरोप र यसबीचमा विकसित घटनाक्रमलाई बैठकले ठीक ढंगले सम्बोधन गर्न सक्यो भने बैठक दुईचार दिन अघिपछि हुनु वा स्थगित हुँदैमा फरक पर्दैन। मुख्य कुरा बैठकले परिणाम दिन सक्नुपर्छ। परिणाम दिनकै लागि स्थायी समिति बैठक पर सारेर नेताहरूबीच अनौपचारिक–औपचारिक छलफलमा जोड दिएका छौं।

पार्टीको विधि मान्ने कि नमान्ने भन्ने विवाद तीव्र देखिन्छ ? विधि नमान्ने कुराले विवादको समाधान निस्कला त ?

पार्टीमा विधि मान्दिनँ भनेर कसैले भनेको छैन। पार्टीका हरेक सदस्य विधिभित्र बाँधिएका हुन्छन्। हामी नेपाली नागरिक किन छौं भने नेपाली हुनुको नाताले नेपालको संविधान र विधि मानेका छौं। संविधान मानेनौं भने नेपाली रहँदैनौं। हरेक नागरिकले व्यक्तिगत स्वतन्त्रता राष्ट्रको अधीनमा राखेको हुन्छ, संविधानमार्फत। हरेक व्यक्ति पार्टीमा किन आउँछ भन्दा पार्टीको स्वतन्त्रताको अधीनस्थ बस्न हो।

त्यसैले हरेक व्यक्ति विधिको मातहत हुन्छ। जनताको बहुदलीय जनवाद मान्नेले त विधि मान्दैनौं भन्नै सक्दैन। जबज ल्याउँदा नै हामीले भन्यौं नि, संविधानको सर्वोच्चता, कानुनी शासन, विधिको शासन स्वीकार गर्छौं भनेर। अहिले पनि कसैले विधि मान्दिनँ भन्या पनि छैन। विधि मान्नुपर्छ। ती विधि यति हुन् कि सबैका लागि सर्वमान्य हुन्। सबैका लागि समान विधि होस् भन्नेमा विधिको प्रयोग गर्नेले विवेक पुर्‍याउनुपर्छ। विवेक गुमाइयो भने विधिमाथि प्रश्न उठ्छ।

सहमतिका लागि शुभसंकेत देखिएका छन् भन्नुभयो, त्यसको अर्थ पार्टीको विवाद समाधानउन्मुख छ भनेर बुझ्दा हुन्छ ?

समाधानको ठोस आधार त तयार भइसकेको छैन। तर समाधानतिर जान्छ भन्ने मेरो विश्वास हो। पहिलो भेटमा दुई अध्यक्षबीच तीक्ततापूर्ण छलफल र व्यवहार भयो। एकले अर्कालाई गम्भीर आरोप पनि लगाउनुभयो। तीक्तताका कारण दुई अध्यक्षबीच छलफल नै राम्रोसँग हुन सकेको थिएन। पार्टीका समस्यालाई मसिनो गरी बुझ्ने काम सुरु भएको छ। गुम्सिएर रहेका समस्याहरू बाहिर निस्केका छन्। छलफल अघि बढ्दै जाँदा दुई अध्यक्षले के भन्नुभयो त भन्दा, हामी त एउटै डुंगामा छौं, एउटै जहाजमा सवार छौं। मिलेर जानुको विकल्प छैन।

एकअर्काविरुद्ध आरोप–प्रत्यारोप र सडकमा नाराबाजी गर्ने जस्ता कुरा बन्द गरौं र फेरि संवाद र छलफल प्रक्रिया अगाडि बढाऔं भन्ने उहाँहरूबीच सहमति भएको छ। नेकपाको एकताबाहेक अर्काे विकल्प छैन। दुई अध्यक्षसहित अरू वरिष्ठ नेताहरूबीचका संवाद र छलफलले नेकपालाई नयाँ धरातलबाट फेरि एकताबद्ध बनाएर अघि बढाउने छ।

गलत सूचनाका कारण नेताहरूबीच दूरी बढेको देखिन्छ। नियोजित रूपमै गलत सूचनाहरूबाट पार्टी फुटाउने षड्यन्त्र त भइरहेको छैन ?

नेताहरूमा सूचनाको आधिकारिकताको गम्भीर समस्या देखेको छु। गलत सूचना उत्पादन गर्ने कारखाना खुलेका छन्। ती कारखाना नेपालभित्र छन् कि बाहिर छन्, त्यो थाहा भएन। तर गलत सूचनाहरू नेताहरूको कानसम्म पुर्‍याउने गरिएको छ। एकका विरुद्ध अर्कालाई भड्काउने, उत्तेजित बनाउने र परिस्थिति जटिल बनाउने कुचेष्टा भइरहेका छन्। यस बीचमा त्यस्ता केही घटना पनि भए। राष्ट्रपतिका सन्दर्भमा पनि यस्तै हल्ला फिँजाइयो। प्रधानमन्त्रीले पनि अरू नेताहरूमाथि गम्भीर आशंका गर्नुभयो। प्रधानमन्त्रीले के–के गर्दै हुनुहुन्छ ? भन्नेमा अरू नेताहरूमा आशंका पैदा भएका छन्। जस्तो– प्रधानमन्त्रीले अध्यादेश ल्याउनुहुन्छ, पार्टी फुटाउनुहुन्छ, संसद् विघटन गर्नुहुन्छ, संकटकाल घोेषणा गर्नुहुन्छ र मुलुकलाई संवैधानिक र राजनीतिक संकटतर्फ लैजाँदै हुनुहुन्छ भन्ने आशंका अरू नेताहरूमा छ।

अलग–अलग बैठकहरू बसेर अविश्वास प्रस्ताव ल्याउने, पार्र्टीबाट हटाउने, संसदीय दलबाट हटाउने, संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने एवं प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट आफूलाई हटाउने षड्यन्त्र भइरहेको भन्ने आशंका प्रधानमन्त्रीमा छ। यही सिलसिलामा राष्ट्रपतिमाथि पनि त्यही कुरा उठे। जुन स्वयं नेताहरूले प्रस्ट गर्नुभयो कि त्यो होइन भनेर। यी सूचना नियोजित रूपमा कुनै कारखानाबाट उत्पादन भएका छन्। नेकपालाई विभाजित गर्न, अन्तर्विरोध हल हुन नदिन र मुलुकलाई फेरि अस्थिर राजनीतितिर धकेलेर आफ्ना स्वार्थसिद्ध गर्न चाहने देशभित्र होलान्, देशबाहिर होलान्, ती तत्वहरूको नियोजित षड्यन्त्र हो भन्नेमा मलाई कुनै शंका छैन।

पार्टीका नेताहरूले सरकारलाई सहयोग गरेन भन्ने प्रधानमन्त्रीको आरोप छ। सरकारले पार्टीसँग समन्वय गरेन भन्ने अरू नेताहरूका भनाइ छ। विवादको कारण नै सरकार र पार्टीबीच समन्वय नहुनुको परिणाम हो कि ?

पार्टी र सरकारको नेतृत्वबीच समन्वय नहुँदा समस्या उत्पन्न भएको प्रस्टै छ, चाहे ती राजनीतिक नियुक्तिका सन्दर्भ हुन् वा बजेट र नीति तथा कार्यक्रम निर्माणका विषय हुन्। राम्रोसँग पार्टीका नेताहरूलाई सम्प्रेषण भएन। सरकारले गरेका राम्रा काम, निर्णयहरू जस्तै– कोभिड– १९ को रोकथाम र नियन्त्रणकै सन्दर्भमा पनि केही कमजोरी रहे तर आमरूपमा सरकारले ठीक ढंगले राम्रो काम गरेको छ। यसलाई पनि पार्टीले बोकेन, अपनत्व गरेन। नीति तथा कार्यक्रम र बजेटमा नेताहरूका केही गुनासा हुन्छन्। तीन वर्षमा हामीले जे–जे नीति कार्यक्रम र बजेटमा ल्यायौं, यी विचार के प्रतिक्रान्तिकारी छन् त ? यी त कम्युनिस्ट पार्टीकै विचारका हुन्। होला, मैले सोचेजस्तो, अरूले सोचेजस्तो मात्र पनि नहोला, अलिकति समन्वय नभएकै आधारमा नेताहरूले पनि के भन्न थाल्नुभयो भन्दा सरकार स्वेच्छाचारी भयो। सरकारले गरेका राम्रा काम पनि उहाँहरूले बोक्नु भएन। अपनत्व लिनुभएन। यसपटकको छलफलबाट अब हामी के निष्कर्षमा पुग्नुपर्छ भने पार्टी र सरकारका बीचमा एउटा राम्रो संयन्त्र बनाउनुपर्छ। महत्वपूर्ण निर्णयहरू त्यो संयन्त्रमा बसेर गर्नुपर्छ। त्यसलाई प्रधानमन्त्रीले सरकारमार्फत कार्यान्वयन गर्नुपर्छ। नेताहरूले पार्टीमार्फत त्यसको कार्यान्वयन गर्नुपर्छ। यो विधिबाहेक अर्को हुँदैन।

पार्टीभित्र उत्पन्न विवाद समाधानका सूत्र केके हुन् ?

सहमतिको सूत्र यो नै हो भनेर अहिल्यै म भन्न सक्दिनँ। पार्टी बैठकमा जे कुरा आएका छन्, त्यो जगबाट समाधान खोज्नुपर्छ। प्रधानमन्त्री केपी ओलीले सरकार र पार्टी दुवै चलाउन सक्नु भएन भन्दै दुवै पद छाड्न केही कमरेडले माग गर्नुभएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्षले पनि आफूमाथि गम्भीर षड्यन्त्र भएको, आफ्नो सार्वजनिक बदनाम गराइएको, सरकारलाई असफल पार्न प्रयत्न गरिएको, पार्टी एकतालाई कमजोर बनाउन कोसिस भएको आदि आरोप र टिप्पणी अरू नेताहरूमाथि लगाउनुभएको छ।

अब हामी यस्तो ठाउँमा आइपुगेका छौं कि जसले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हट्नुपर्छ भन्नेको तथ्य र यथार्थ (लजिक) कुरा के हो ? वास्तविक तथ्यगत कुरा के–के हुन् ? उहाँहरूले बुँदागत रूपमा पुष्टि गर्न सक्नुपर्छ। अध्यक्ष एवं प्रधानमन्त्रीले पनि अरू नेताहरूले लगाउनुभएका आरोप किन गलत छन् र आफू किन सही छु भनेर पुष्टि गर्नुपर्छ। अहिलेको समाधानको बाटो त्यही हो। मैले सुरुदेखि उठाउँदै आएको कुरा पार्टीमा विवेकसम्मत निर्णय गरौं। कहिलेकाहीं संख्यात्मक आधारमा पनि निर्णय गर्न सकिन्छ। केही लागेन भने अल्पमत र बहुमतका आधारमा पनि निर्णय होला। पार्टीलाई त्यो ठाउँसम्म पुग्न दिनु हुँदैन। किनकि हामी सहमतिको राजनीतिबाट यहाँसम्म आएका छौं। अल्पमत र बहुमतको अवस्थामा पुग्नुअगावै पुनर्विचार गर्नुपर्छ।

सहमति नभए अल्पमत–बहुमतबाट त निर्णय गर्नुपर्ला नि ?

सामान्य अवस्थामा अल्पमत–बहुमत गर्न सकिन्छ। अहिलेको अवस्था सामान्य होइन। प्रधानमन्त्रीलाई हटाउने कुरा, प्रधानमन्त्रीले अरू नेताहरूमाथि लगाउनुभएका गम्भीर आरोप पुष्टि गर्ने कुरा यी सामान्य घटना होइनन्। यस्तो असमान्य अवस्थालाई विवेकपूर्ण सुझबुझबाट मात्र पार लगाउन सक्छौं। त्यसैले प्रधानमन्त्री, अर्का अध्यक्ष प्रचण्ड, अरू नेताहरूलाई पनि के आग्रह छ भने तपाईंहरू जुन तहको नेता हुनुहुन्छ, त्यही तहको विवेक लगाउनुहोस्।

पार्टीले गरेका निर्णय प्रधानमन्त्रीले मान्ने कि नमान्ने भन्ने विवादमा नेताहरू अल्झिरहनुभएको छ, प्रधानमन्त्रीले पार्टीको निर्णय नमान्ने कुरा पनि हुन्छ त ?

हरेकले पार्टीको निर्णय मान्नुपर्छ, त्यसमा विवादै छैन। तर, अहिलेको अवस्था सामान्य होइन। यतिबेला हामी अल्पमत–बहुमतको विधिभन्दा सहमतिको बाटोमा पुगौं। केही गर्दा पनि भएन भने सधैं पार्टी बन्धक भएर बस्न मिल्दैन। त्यस्तो अवस्थामा पार्टीले आफ्नो कोर्स लेला। त्यो कोर्स प्रधानमन्त्रीका लागि अप्रिय पनि हुन सक्छ अथवा अरू नेताका लागि पनि अप्रिय हुन सक्छ। त्यतिबेला सबैले पार्टीले निर्णय स्वीकार गर्नुपर्छ। त्यो अवस्थामा पुग्नुअघि अरू सबै उपाय अवलम्बन गर्नुपर्छ। सबै उपायमा असफल भइयो, उपायहरूले काम गरेनन् भने मात्र अन्तिम विकल्प त्यो हो।

पार्टी विभाजन हुन दिँदैनौं, नेताहरू मिल्नुपर्छ भनेर तपाईंसमेतका ११ जना दोस्रो पुस्ताका नेताहरूले अभियान सुरु गर्नुभएको थियो। अभियानले कस्तो प्रभाव पारेको छ ?

पार्टीभित्र समस्या देखिएपछि हामी छलफलमा छौं। हाम्रा छलफलका निष्कर्षहरू दुई अध्यक्ष र अरू नेताहरूलाई सुनाइरहेका छौं। हाम्रै अभियानले त दुई अध्यक्षबीच टुटेको संवाद पुनः जोडिएको छ। नेताहरू पुनः संवादको टेबुलमा जुट्नुभएको छ। हामीले धेरै ठूलो काम गर्न नसके पनि नेताहरूबीचको संवादहीनताको अवस्था तोडेका छौं। छलफलबाट निकासको मेलो लागेजस्तो छ। परिणाम नआई त यस्तै होला भन्न सकिन्न। पार्टीभित्र प्रतिकूल अवस्था पनि आउन सक्छ। त्यस्तो अवस्था आउन नदिन हामीले हरहालतमा कोसिस गर्नैपर्छ।

नेकपाको यो विवादमा तपाईं मध्यमार्गी धारमा उभिनुभएको हो ?     

राजनीतिमा मध्यमार्ग भन्ने नै हुँदैन। राजनीतिमा धार प्रस्ट हुन्छ। राजनीतिमा कहीं न कहीं उभिनैपर्छ। तर जब कुनै धारमा उभिनुपर्ने आवश्यकता नै छैन भने किन बलजफ्ती उभिने भन्ने मेरो मान्यता हो। आज पार्टीभित्र मान्छेलाई जता उभ्याउन खोजिँदै छ, त्यो नै गलत छ। सांसदहरूलाई कहिले यता लग्यो कहिले उता लग्यो। हस्ताक्षर गर भनेको छ। सांसदहरूलाई नै विभाजित गरिएको छ। यो ठीक होइन। अहिलेको समस्या भनेको पार्टीका शीर्ष नेताहरूबीचको अन्तरविरोध हो।

सांसद र तलका सदस्यहरूमा किन विभाजन ल्याउने ? पहिला माथि नै हल गर्नुहोस् न, हामीले त्यो भनिरहेका छौं। मन्त्री, सांसद वा स्थायी समितिका सदस्यको नाताले कहीं न कहीं यस्तो अवस्था नआओस् भनेर हाम्रो भूमिका हुन सक्छ। पार्टीका सामान्य कार्यकर्ताले पनि विभाजनतिर होइन, एकताका लागि भूमिका निर्वाह गरौं। हामी कुनै पनि मध्यमार्गमा छैनौं। निर्णायक बेलामा आफ्नो मत जाहेर गर्न भाग्दैनौं।

पार्टीमा अहिले कोही पनि कुनै कित्तामा उभिन जरुरी छैन त ?

अहिले विभाजन गर्ने र ध्रुवीकृत गर्ने बेला होइन। माथिल्लो तहका नेताहरूको समझदारीमा पार्टीका पदहरू निर्धारण भएका हुन्, जिम्मेवारी बाँडफाँट गरिएका हुन्। तिनै जिम्मेवारी र पदमा अहिले आएर उहाँहरूमा अविश्वास बढेको छ। एकले अर्कालाई धोका दिएको भन्दै हुनुहुन्छ। विचरा तलका कार्यकर्तालाई किन साक्षी बकाउन बोलाउनुहुन्छ ? हिजो त साक्षी बकाउन बोलाउनु भएन नि उहाँहरूले। हिजो दुई अध्यक्ष बनाउने भन्दा को साक्षी बसेको थियो ? हिजा चारबुँदे, पाँचबुँदे सहमति गर्दा कोही पनि साक्षी बसेको छैन नि। कतिपय सहमति त अफिसियली अनुमोदनका लागि पार्टी बैठकमा समेत ल्याइएका छैनन्। हिजो त्यो गर्न सक्नेहरूले आज किन गर्न सक्नुहुन्न ? किन कार्यकर्तालाई विभाजन गर्ने ? त्यसैले म भन्छु– आज विभाजन हुने आवश्यकता छैन।

नेकपाका देशभरका सम्पूर्ण साथीहरूलाई के भन्न चाहन्छु भने सडकमा आउने र कोही कसका पक्षमा उभिने नगरौं। यसले आम पार्टी र कार्यकर्ताका भावनालाई प्रतिनिधित्व गर्दैन। पार्टीभित्रको समस्या बाहिर सडकमा आएर हल हुँदैन। सडकमा कसैलाई पनि पछारेर पार्टी समस्या हल हुँदैन। त्यसैले पहिला समस्यालाई घरभित्र लानुपर्‍यो, पार्टीभित्र लानुपर्‍यो, स्थायी समितिमा लानुपर्‍यो। आवश्यक परे केन्द्रीय कमिटीमा लानुपर्‍यो, त्यही हल गर्नुपर्‍यो।

महिना, दुई महिनामा पार्टीमा देखा परिरहेका छन् विवादको दीर्घकालीन समाधान के त ?

पार्टी एकतापछि जति पनि समस्या आए, तत्कालीन रूपमा हल गर्दै आयौं। नेकपा अहिले संगठनात्मक हिसाबले संक्रमणकालीन अवस्थामा छ। यस्तो बेलामा समस्या आउँछन्, जटिलता देखा पर्छन्। दायाँ अथवा बायाँ भड्काउ पनि आउन सक्छन्। तर संक्रमणकालीन नियन्त्रण र सन्तुलनको विधिबाटै हल गर्नुपर्छ। त्यसकारण अब हामी यो टुंगोमा पुग्नुपर्छ कि महाधिवेशन कहिले गर्ने ? महाधिवेशन गर्ने मिति तोक्नुपर्‍यो। महाधिवेशनसम्म जाने न्यूनतम सहमतिको बाटो बनाउनुपर्‍यो। सरकार र पार्टी समन्वयका सन्दर्भमा, दुइटा अध्यक्षको कार्यविभाजन सन्दर्भमा, वरिष्ठ नेताहरूको जिम्मेवारी र भूमिका सन्दर्भमा, बाँकी एकताको काम सम्पन्न गर्ने सन्दर्भमा यस्ता कतिपय विषय जो आज अन्तर्विरोधका मुख्य समस्याका रूपमा आएका छन्, यसलाई हल गर्ने एउटा संयन्त्र र विधि बनाएर गयौं भने यो संक्रमणकाललाई व्यवस्थापन गर्न सकिन्छ र महाधिवेशनपछि पार्टी फुल फ्लेजको बाटोबाट अघि बढ्छ।

त्यसो भए समस्याको दीर्घकालीन निकास महाधिवेशनबाट मात्र हुन्छ ?

महाधिवेशनमा त जानैपर्‍यो। महाधिवेशन नहुँदासम्म त हामी सबै तदर्थ समितिमा छौं नि। हिजो म सचिव थिएँं, आज स्थायी कमिटीमा छु। पार्टी एकताका कारण मेरो सचिव पद गयो। तर पनि मैले चित्त बुझाएँ। कारण के त भन्दा पार्टी एकताका कारण। महाधिवेशन भयो भने त म फेरि सचिव, महासचिव वा अध्यक्ष जेमा पनि लड्न पाउँछु नि। त्यो फोरम त मेरा लागि सुरक्षित छ। हरेक व्यक्तिले आफूलाई टेस्ट गर्ने त महाधिवेशनमा हो नि। तलदेखि माथिसम्म महाधिवेशन गर्दा हामी वैचारिक रूपले पनि एक ठाउँ आउँछौं, संगठनात्मक रूपले पनि एक ठाउँमा आउँछौं। नेतृत्वबीचको असमझदारी र अन्तर्विरोधलाई पनि महाधिवेशन प्रक्रियाबाट हल गर्दै जान्छौं।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना पोजेटिभ

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि

नेकपाका सांसदले भने हामी कुनै गुटमा छैनौ

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो

काठमाडौंको गोगंबुमा टाउको काटेको लास सुर्केशभित्र भेटियो, भिडीयोमा हेर्नुहोस्

    काठमाडौं उपत्यकाको गोंगबुमा देखिएको एक घटनाले सबैको होस उडाएको छ ।

त्यो मखमली पर्स

    दश वर्ष अगाडि म बिहे गरेर आउँदा उहाँले आफूले बोक्ने लेदरको