राजेश हमाल महानायक हुन् ?, यस्तो छ भुवन केसीको लफडाबाजी



 

 

‘महानायक’ को साझा मापदण्ड के हुन् ? यसलाई नाप्ने सर्वस्वीकार्य इकाइ के हुन् ? राजेश हमालको अघिल्तिर ‘महानायक’ को फुर्को किन झुन्ड्याइयो ? के वास्तवमै उनी ‘महानायक’ हुन् ?

यी प्रश्नले हामीलाई दुई कित्तामा विभाजित गर्छ । एकथरी नतमस्तक भएर ठोकुरा गर्छन्, ‘राजेश हमाल महानायक नै हुन् ।’ अर्कोथरी नाक खुम्च्याउँछन्, ‘महानायक भन्नलायक के छ उनमा ?’

जस्तो एक अन्तर्वार्तामा दीपाश्री निरौला प्रश्न गर्छिन्, ‘उहाँ महानायक हुनुहुन्छ र ?’

दीपाश्रीको बुझाइ के छ भने, आफ्नो जमानामा राजेश हमालको टाउको बिक्थ्यो । पोस्टरमा उनको अनुहार देखेर दर्शकहरु हलसम्म तानिए । यस हिसाबले राजेश हमालको क्रेज जरुर थियो । तर, त्यो स्टारडमबाट उनीमात्र लाभान्वित भए, समग्र चलचित्रको उत्थान हुन सकेन ।

आज संकटको घडीमा उनी न केही बोलिरहेका छन्, न कुनै सहयोगको लागि हार्दिकता पोखिरहेका छन् । दीपाश्री संशय गर्छिन्, ‘उहाँ पहिले हुनुहन्थ्यो, अहिले कहाँ हुनुहुन्छ ?’

पचासको दशकमा जसरी राजेश हमालको क्रेज उकासियो, त्यो एउटा नियमित आकस्मिकता थियो । त्यसअघि कसैले नपाएको ‘स्टारडम’ उनैले पाए । उनको टाउको बिक्यो । रसरंगको दुनियाँबाट टाढा रहेका नेता मोहनविक्रम सिंहलाई एकपटक हामीले सोधेका थियौं, ‘नेपालका कुनै हिरो चिन्नुहुन्छ ?’

उनले अनकनाउँदै भासिएको स्वरमा भनेका थिए, ‘त्यो हमाल कि के भन्ने छ नि ?’

नेपाली सिनेमाभन्दा बाह्र हात पर रहेका अहिलेका किशोर पुस्तालाई सोध्ने हो भने उनीहरुले कनीकुथी लिने नाम हो, ‘राजेश हमाल ।’

अग्लो कद, कर्ली कपाल, वाकपटुतायुक्त ‘जेन्टलमेन’को आवरणमा राजेश हमाल जरुर एक मानक हुन्, नेपाली सिनेमाका । तर, करिअरको उत्कर्षमा राजेश हमालले खेलाँची गरे । उनको यन्त्रवत् उपस्थितिले दर्शकलाई ‘मुर्गा’ बनाइरह्यो । आस्था र श्रद्धाको त्यो अग्लाइमा उक्लिएर पनि उनले आवश्यक ठानेनन्, नेपाली सिनेमाको दिशा र गति बदल्नुपर्छ ।

न आफ्नो अभिनयमा विविधता खोजे, न चरित्र–निर्माणका लागि अतिरिक्त मिहेनत गरे । आफू जस्तो छु, त्यही रुपमा दर्शकले स्विकार्नुपर्छ भन्ने हठी मनोविज्ञानले ग्रस्त बनायो । एक निर्देशक सुनाउँथे, ‘राजेश दाइ सुटिङ स्पटमा आएर बल्ल आफ्नो डायलग के हो भनेर माग्थे ।’ आफ्नो करियरलाई उनले एक स्वचालित औजार ठाने, त्यसका लागि ‘तप र जप’ गर्नुपर्ने जरुरी देखेनन् ।

राजेश हमाल शैली हावी भइरहँदा नै हो, घरेलु दर्शकले नेपाली चलचित्र भन्नासाथ नाक खुम्च्याउन थालेका ।

एक अन्तर्वार्तामा राजेश हमाल भन्छन्, ‘जस्तोपायो त्यस्तो सिनेमा खेल्नु मेरो भुल थिएन । कुनै पनि निर्माता/निर्देशक ‘मेरो चलचित्र झुर छ, कमसल छ खेलिदिनुपर्‍यो’ भन्दै आएका थिएनन् । सबैले आफ्नो चलचित्र राम्रो छ, उत्कृष्ट छ भनेकाले मैले खेलिदिएँ ।’

सामान्य बजारको प्रवृत्ति हो, बोल्नेको पीठो पनि बिक्ने । अर्थात थोक बिक्रेतादेखि उद्यमीसम्मले आफ्नो ‘माल’ खराब छ भनेर उपभोक्तामाझ पेश गर्दैन । त्यसो भन्दैमा उपभोक्ताले सबै माल–सामान उठाइदिने ?

राजेश हमाल जत्तिका बौद्धिक अभिनेताले स्क्रिप्ट, ब्यानर, निर्देशकको गुणवत्ता जाँच्न नसक्नु वा नचाहनु उदेकलाग्दो हो । यसले उनको करियरलाई त ध्वस्त बनायो नै, नेपाली सिनेमाले एउटा राम्रो अवसर पनि गुमाउनुपर्‍यो ।

भुवन केसी र लफडाबाजी

स्क्यान्डलको अर्को नाम भुवन केसी । गसिप बजारमा यस्तै चर्चा हुने गर्छ । नेपाली चलचित्रको इतिहासमै भुवन केसी यस्ता पात्र हुन्, जो विवादको चौघेराबाट कहिल्यै मुक्त भएनन् ।

‘प्लेब्वाइ’को छवी बनाएका भुवन सुरा–सुन्दरीप्रेमी मानिन्छन् । एकताका अभिनेत्री सारंगा श्रेष्ठले भनेकी थिइन्, ‘चलचित्र उद्योगमा भुवन केसी नभइदिएको भए धेरै अभिनेत्री कुमारी नै रहन्थे ।’

अहिले नेपाली सिनेमामा भुवन पुत्र अनमोलको रजगज छ । नव–जवान अनमोलले आफ्नो जवानी छताछुल्ल पारेका छैनन् । अर्थात् उनी संयमित छन् । अनमोलकै छिमलकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘अंकल समानका’ अभिनेता भुवन केसीमाथि औंला उठाउँदै भनेकी छिन्, ‘अनेक बहानामा उनले ममाथि दुर्व्यवहार गरे ।’ नेपोटिज्मकै भुमरी चलिरहँदा साम्राज्ञीलाई पनि पुराना दिन सम्झेर झोक चलेको हुनुपर्छ ।

सिनेमाको रंगिन चमकदमकभित्र एउटा अँध्यारो साम्राज्य छ, जहाँ अनेक–अनेक छक्कापञ्जा चल्छन् । त्यसैको एउटा तुरुप हो, भावनात्मक मोलमोलाई । नवआगन्तुक कलाकार खासगरी अभिनेत्री यसको शिकार बन्ने गर्छन् । संघर्ष गर्छु, करियर बनाउँछु, नेम र फेम कमाउँछु भनी उमंगसाथ सिनेमामा प्रवेश गरेका नवकलाकार एवं अभिनेत्रीहरुले कति ठेस सहनुपर्दो हो ? कति दुर्व्यवहार झेल्नुपर्दो हो ? कति अपमान सहनुपर्दो हो ?

के आफैंभित्र निस्सासिएको पीडा र वेदनालाई लुकाएर आवरणमा चाहिँ ‘सबै ठीकठाक छ’ भने जसरी हाँस्नु सहज होला ? सिनेमाको सप्तरंगी दुनियाँमा कति अभिनेत्री/नव कलाकार अपमान, दुर्व्यवहार समेटेर बाँचिरहेका होलान् ।

यसको अर्को पाटो पनि छ । कसैले कसैलाई कुनै पनि आरोप लगाउन यहाँ रोकटोक छैन । यस कोणबाट हेर्दा रिस साँध्न, बदला लिन, इमान–इज्जतमा दाग लगाइदिन, प्रतिष्ठामा आँच पुर्‍याउन वा फेरि आफ्नै चर्चा बटुल्न पनि ‘आरोप’ को झटारो हान्न सक्छन् ।

नेपालीमा एउटा उखान छ, ‘ताक परे तिवारी, नत्र गोतामे ।’ यो एक द्वैध प्रवृत्ति हो हाम्रो । जबसम्म आफूलाई अनुकुल हुन्छ, चुपचाप बस्ने । केही प्रतिकूल भएमा अन्धधुन्द जाइलाग्ने । कसैमाथि लाग्ने यस्ता आरोपहरु कति सत्य हुन् ?

हुनसक्छ, एउटी अभिनेत्रीले दुर्व्यवहार झेलिरहँदा उनले त्यसलाई पुष्टि गर्ने ठोस प्रमाण जुटाउन सम्भव हुँदैन । के पनि हुनसक्छ भने, कतिपय यी आरोप मिथ्या र कपोलकल्पित हुन् । राजा हाँसले झैं ‘दूधको दूध, पानीको पानी’ छुट्याउने कस्तो तराजुले यसको सर्वस्विकार्य निसाफ गर्न सकिएला ?

प्रतिक्रिया दिनुहोस
गोंगबु हत्याकाण्ड: यी हुन् प्रहरीले पत्ता लगाएका १६ तथ्य र ८ प्रमाणहरु

    राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको

कोरोना नियन्त्रण बाहिर गएको छैन: मन्त्री ढकाल

  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् भन्दै

पूर्वमन्त्रीप्रभु साहमाथि दरबारीया षड्यन्त्र

  काठमाडौ ।तत्कालीनशाही दरबारीयहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतातथापूर्वमन्त्रीप्रभु साहविरुद्ध षडयन्त्रपूर्ण गतिविधि

त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड

    नेपाल विद्यार्थी संघका कार्यकर्ताले मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा