भारतीय ड्यामले नेपाली भूमि डुवानमा



 

एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माण गर्दा भारतले अघोषित ड्याम बनाएपछि मोरङको विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र डुवानमा परेको छ । सामान्य वर्षाको पानी निकास नहुँदा विराटनगर– १८ बुधनगर क्षेत्र डुवानमा परेको हो ।

डुवानकै कारण बुधबार सात वर्षीय बालकको ज्यान गएको छ । वर्षाका कारण जमेको पानी जाने निकास नहुँदा बिहीबार घर नजिकैको खेतमा डुबेर स्थानीय जयपाल मण्डलका ७ वर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको हो ।

भारतले आईसीपी र रेलेको लिक बिछ्याउँदा ठूलाठूला ड्याम बाध्यो । तर निकासका लागि नाला राखिदिएनन्,’ विराटनगर महानगरको वडा नं १८ का वडाध्यक्ष राजदेव यादव भन्छन्, ‘निर्माण गर्दा हामीसँग सल्लाह पनि गरेनन् ।’

विराटनगर- १८ भारतसँग सीमा जोडिएको क्षेत्र हो । आफ्नो क्षेत्रमा बाढीको प्रभाव रोक्न भारतले रेलको लिकलाई नै ड्यामको रुपमा प्रयोग गरेको स्थानीयले बताएका छन् ।

स्थानीयले पटक-पटक आग्रह गर्दा राज्यले नसुनेका कारण आफ्नो वडा डुवानमा परेको अध्यक्ष यादवले बताए । ‘निर्माण गर्दै गर्दा महानगरलाई भन्यौं । प्रशासनलाई गुहार्‍यौं,’ स्थानीय शम्भुकुमार यादव भन्छन्, ‘हाम्रो कुरा कसैले सुनेनन्, अहिले डुवान भोग्दैछौं ।’

डुवानका कारण खेतीयोग्य जमिन जलमग्न छ । रोपेको धान पनि नष्ट हुने अवस्थामा पुगेको स्थानीयले बताए । बाढीका कारण विराटनगर १८ का खोक्साहा, समादगी, लावाघाट, भेडीयारी र डाङग्रा टोल बढी डुवानमा परेका हुन् ।

असारको झरी असोजसम्म डुवान, पसल जान बाँसको पुल

बुधनगर क्षेत्रमा डुवानको समस्या धेरै पुरानो होइन । तीन वर्षयता स्थानीयले डुवान भोगिरहेका छन । निकास नाला नहुँदा असारको पानी असोजसम्म जमेर बस्छ । ‘यहाँ असोजसम्म डुवान हुन्छ,’ स्थानीय अशोक यादव भन्छन्, ‘हाम्रो समस्या कसले सुनिदिने ।’

किशोर मण्डल बुधनगरमा पसल सञ्चालन गर्दै आएका छन् । उनको पसल डुवानमा परेपछि सडकबाट पसलसम्म पुग्न आफैँ बाँसको पुल बनाएका छन ।

मेरो दोकान पहिले डुब्दैन थियो,’ उनले भने, ‘आइसीपीसम्म जाने सडक र रेल्वे लिक बनाउन ड्याम बनाएपछि पसल डुब्न थाल्यो ।’

मेयर भन्छन् – ‘आइसीपीका नाममा भारतले ड्याम बनायो’

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भारतले आईसीपी र रेल्वे लिकका नाममा ड्याम बनाएका कारण बुधनगर क्षेत्र डुवानमा परेको बताउँछन् ।

‘रेल्वेको नाममा बुधनगर क्षेत्रमा ड्याम बनेको छ,’ उनले भने, ‘ हामीले निकासका लागि पुल बनाउन भन्दैछौं, संघीय सरकारले पहल पनि गरेको छैन ।’

रेल्वे लिकमा बिछ्याइएको स्थानमा निकासका लागि पुल नबनाएसम्म विराटनगर– १८ मा डुवान समस्या समाधान नहुने उनले बताए । ‘प्रदेश सरकार र संघीय सरकारलाई भनेका छौं,’ उनले भने, ‘डुवानको समस्या समाधान गर्न सरकारले पुल बनाइदियोस् ।’

आईसीपी क्षेत्रमा पुल नबनाएसम्म डुवानको समस्या सामधान नहुने बताउँदै उनले तत्काल संघीय सरकारले पुल बनाउन पहल गर्नुपर्ने बताए । ‘विराटनगरको अन्य क्षेत्रमा समस्या छैन्,’ उनले भने, ‘आईसीपीका कारण बुधनगरमा डुवानको समस्या हो ।’

सिडिओ भन्छन् – केन्द्रमा जानकारी भइसकेको छ

सीमा क्षेत्रमा निर्माण गरेको आईसीपीसम्म पुग्न लिङ्क रोड बनाइएको छ । करिब चार किलोमिटर लिङ्क रोडमा निकासका लागि बनाइएको नालामा पानी कट्न मुस्किल पर्छ । रेल्वे लिकका लागि ड्याम बनाइएको छ । ड्याममा बनाइएको निकास नाला पनि उच्च स्थानमा छ ।

डुवानको अवस्था हेरेका मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल स्थानीय स्तरबाट तत्काल केही गर्न नसक्ने बताउँछन् ।

‘बुधनगर क्षेत्र डुवानमा छ, अवस्थाको बारेमा केन्द्रमा केन्द्रमा जानकारी गराएको छौं,’ उनले भने, ‘आईसीपी उद्योग मन्त्रालय मातहत पर्छ, अध्ययन गर्न प्राविधिक टोली आउला ।’

प्रतिक्रिया दिनुहोस
थप २०४ जनामा कोरोना, संक्रमितको संख्या १६ हजार नाघ्‍यो

  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार नाघेको छ ।  स्वास्थ्य

नेकपा विवाद : हलो अड्कियो प्रधानमन्त्रीको राजीनामामा

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउने प्रयासमा बसेको दुई अध्यक्षबीचको

प्रधानमन्त्री पद फुत्काउन प्रचण्डको अनेकौ प्रयास असफल

  स्थायी कमिटी बैठक पटक–पटक रोकेर सहमतिको प्रयास गरिरहेका नेकपा अध्यक्षद्धय केपी शर्मा

मंसिर ४ को सहमतिअनुसार प्रचण्डलाई कार्यकारी अध्यक्ष दिन ओली तयार

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का