कोरोना भाइरसको दोस्रो लहर भनेको के हो?



 

 

कोरोनाभाइरसको विश्वव्यापी महामारी तत्काल सकिने छाँटकाँट देखिँदैन। केही देशहरू यो महामारीसँग सङ्घर्ष गरिहेका छन्, तर भाइरसलाई अहिले नियन्त्रणमा राख्न सफल देशहरू “दोस्रो लहर” आउने त्रासमा छन्।

एक शताब्दीअघि फैलिएको स्पेनिश फ्लूको दोस्रो चरण पहिलोभन्दा बढी घातक थियो।

के त्यसो भए दोस्रो लहर अवश्यम्भावी छ? यो कतिसम्म खराब हुनसक्छ त?

दोस्रो लहर भनेको के हो?

तपाईँ यसलाई समुद्री छालसँग तुलना गर्न सक्नुहुन्छ। सङ्क्रमितहरूको सङ्ख्या माथि जान्छ र फेरि तल झर्छ – प्रत्येक चक्र कोरोनाभाइरसको एउटा “लहर” हो।

तर अझैसम्म यसको औपचारिक व्याख्या छैन।

“यो नितान्त वैज्ञानिक होइन, लहरलाई कसरी व्याख्या गर्नुहुन्छ भन्ने तपाईँको स्वेच्छा हो,” वोरिक यूनिभर्सिटीका डाक्टर माइक टिल्डेस्लीले बीबीसीलाई भने।

केहीले सङ्क्रमितको कुनै पनि सङ्ख्या वृद्धिलाई दोस्रो लहर भनी व्याख्या गर्छन्, तर धेरैजसो यो पहिलो लहरमा तलमाथि हुने स्थिति हो।

यो अमेरिकाको केही राज्यहरूमा भइरहेको छ।

एउटा लहर अन्त्य भयो भन्नका लागि भाइरस नियन्त्रणमा आउनुपर्छ र सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य कमी आउनुपर्छ।

दोस्रो लहर सुरु हुनका लागि सङ्क्रमितको सङ्ख्यामा निरन्तर वृद्धि हुनुपर्छ। पहिला सङ्क्रमित देखिएपछि २४ दिनसम्म कोरोनाभाइरस नदेखिएको न्यूजील्यान्ड वा महामारी झेलेको ५० दिनसम्म भाइरस नदेखिएको बेइजिङ यो अवस्थामा छैनन्।

तर केही वैज्ञानिकहरूले भने दोस्रो लहरको सङ्क्रमणका लागि हुनुपर्ने अवस्थामा इरान पुग्न लागेको तर्क गरेका छन्।

ब्रिटेनमा दोस्रो लहर आउँछ?

यसको उत्तर हामीले कस्ता निर्णयहरू लिन्छौँ भन्नेमा भर पर्छ।

“मलाई साँच्चै लाग्छ कि अहिलेको अवस्थामा धेरै अनिश्चितता छ… तर इमान्दार भएर भन्ने हो भने यसबारे म धेरै चिन्तित छु,” डाक्टर टिल्डेस्लीले बीबीसीलाई भने।

सम्भावना स्पष्ट रूपमा छ – भाइरस अझै पनि यतै छ र सन् २०२० को सुरुमा भएभन्दा कम सङ्क्रामक वा कम घातक छैन।

यूकेमा जम्मा पाँच प्रतिशत मात्रै मानिसहरू सङ्क्रमित भएको ठानिएको छ र तिनीहरू सुरक्षित छन् भन्ने सुनिश्चित छैन।

केले निम्त्याउन सक्छ दोस्रो लहर?

लकडाउनका प्रतिबन्धहरू हटाउनुले।

विश्वभरि लकडाउनका कारण व्यापक असर परेको छ। मानिसहरूको जीविकोपार्जन गुमेको छ, स्वास्थ्य प्रभावित भएको छ र बालबालिकाहरू विद्यालय जान पाएका छैनन्। तथापि कोरोनाभाइरसलाई नियन्त्रणमा राख्न सकिएको छ।

“तर आखिरी उपाय भनेको दैनिक उत्पन्न हुने बाधालाई कम गर्दै कसरी नियन्त्रण गर्ने भन्ने हो,” लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनका डाक्टर एडम कुखार्स्कीले भने।

लकडाउनको प्रतिबन्ध कहिलेसम्म लम्ब्याउन सकिन्छ भन्नेमा कोही पनि शतप्रतिशत निर्क्योल गर्न सक्दैनन्।

त्यसैले लकडाउनका उपायहरू चरणबद्ध रूपमा हटाइँदैछ र कोरोनाभाइरसलाई नियन्त्रणमा राख्ने कन्ट्याक्ट ट्रेसिङ वा मुख छोपेर हिँड्ने जस्ता नयाँ तरिकाहरू ल्याइँदैछ।

सङ्क्रमण फैलिएको क्लस्टर अर्थात् समूहको तीव्र पहिचान भयो, स्थानीय स्तरमा लकडाउन लगाइयो र भाइरसको सङ्क्रमण रोकियो भने यो ठूलो समस्या होइन।

अन्यथा यसले दोस्रो लहर निम्त्याउन सहयोग गर्छ।

त्यस्तै क्लस्टरहरूका कारण कोरोनाभाइरस नियन्त्रणका लागि चालेका कदमका कारण प्रशंसित दक्षिण कोरियाले पनि पुन: केही प्रतिबन्धहरू लगाउनुपरेको थियो।

के दोस्रो लहर पनि पहिलोजस्तै हुन्छ?

उस्तै भयो भने गम्भीर रूपमा केही नराम्रो भएको हुनेछ।

आर भनिने कोरोनाभाइरस सङ्क्रमणको दर महामारी सुरु हुँदा तीन थियो।

अर्थात् भाइरस छिटो फैलिरहेको थियो, तर अहिले हाम्रो व्यवहार फरक भएको छ। हामी सामाजिक दूरी राख्छौँ र ‘आर’ अर्थात् सङ्क्रमणको दर फेरि कसरी उच्च हुन्छ भन्ने हेर्न कठिन छ।

डाक्टर एडम कुखार्स्कीले बीबीसीलाई भने, “सबै देशहरू प्रतिबन्ध हटाउन लाग्दैछन् र सामान्य अवस्थामा फर्किन चाहन्छन्।”

“कोरोनाभाइरसको नियन्त्रण नभएका देशहरू जस्तै ब्रजिल र भारतमा पनि ‘आर’ तीन छैन।”

यदि सङ्क्रमितको सङ्ख्या फेरि वृद्धि हुन थाल्यो भने यो तुलनात्मक रूपमा मन्द गतिको हुने देखिन्छ।

यद्यपि सैद्धान्तिक रूपमा दोस्रो लहर पहिलोभन्दा ठूलो हुन सक्छ किनभने धेरै मानिसहरू अझै पनि सङ्क्रमणको जोखिममा छन्।

“तर यदि सङ्क्रमितको सङ्ख्या फेरि पनि बढ्यो भने दोस्रो लहरलाई निस्तेज पार्न हामीले पुन: लकडाउन लगाउन सक्छौँ। त्यो विकल्प हामीसँग सधैँ रहनेछ,” डाक्टर टिल्डेस्लीले भने।

कहिले आउँछ दोस्रो लहर? जाडोले स्थिति झन् बिगार्छ कि?

डाक्टर कुखार्स्कीका अनुसार यदि लकडाउन पूर्णत: हटाइयो भने “आउँदा साता वा महिनामै” स्थानीय रूपमा सङ्क्रमण एक्कासि बढ्न सक्छ।

तर त्यो दोस्रो लहर नै हो भन्न सकिँदैन।

डाक्टर टिलडेस्ली भन्छन्, “यदि उल्लेख्य रूपमा लकडाउनका उपायहरू खुकुलो पारियो भने अगस्टको अन्त्य वा सेप्टेम्बरको सुरुमै दोस्रो लहर आउन सक्छ।”

हिउँदको समयमा अन्य कोरोनाभाइरस सहजै फैलिने भएकाले त्यो महत्त्वपूर्ण समय हो।

नटिङम यूनिभर्सिटीका भाइरसविज्ञ प्राध्यापक जोनाथन बाल भन्छन्, “निस्सन्देह वसन्तऋतुले हामीलाई राहत दिएको हो।”

“अब हिउँद आउने भएकोले दोस्रो लहर लगभग अवश्यम्भावी छ। स्वास्थ्य सेवा प्रणालीनै थेग्न नसक्नेगरी सङ्क्रमण उच्चबिन्दुमा नपुगोस् भन्ने सुनिश्चित गर्न सरकारमाथि चुनौती छ।”

के भाइरस दुर्बल बन्ला समस्या कम होला?

भाइरस परिवर्तित हुने र कम घातक बन्न सक्ने एउटा तर्क पनि छ।

एचआई पनि केही दुर्बल भएको जस्तो देखिन्छ। यो मान्यताका अनुसार सङ्क्रमितको मृत्यु नभए भाइरस झन् फैलिन्छ तर दुर्बल हुन्छ।

तर त्यसका लागि लामो समय चाहिन्छ। विश्वव्यापी महामारीको छ महिनामा भाइरसको सङ्क्रमण सजिलै फैलिएको वा कम घातक भएको कुनै स्पष्ट प्रमाण छैन।

प्राध्यापक बाल भन्छन्, “मलाई लाग्छ भाइरसले अहिलेको समयमा राम्ररी काम गरिरहेको छ। मानिसमा एकदमै मध्यम खालको वा सङ्क्रमणको लक्षण नै छैन।”

“तर यदि उनीहरूले सार्न सक्छन् भने कोरोनाभाइरस दुर्बल बनेको कल्पना गर्नुको अर्थ छैन।”

प्रतिक्रिया दिनुहोस
थप २०४ जनामा कोरोना, संक्रमितको संख्या १६ हजार नाघ्‍यो

  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार नाघेको छ ।  स्वास्थ्य

नेकपा विवाद : हलो अड्कियो प्रधानमन्त्रीको राजीनामामा

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउने प्रयासमा बसेको दुई अध्यक्षबीचको

प्रधानमन्त्री पद फुत्काउन प्रचण्डको अनेकौ प्रयास असफल

  स्थायी कमिटी बैठक पटक–पटक रोकेर सहमतिको प्रयास गरिरहेका नेकपा अध्यक्षद्धय केपी शर्मा

मंसिर ४ को सहमतिअनुसार प्रचण्डलाई कार्यकारी अध्यक्ष दिन ओली तयार

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का