उद्योगमन्त्री भट्टले ग्यास उद्योग बेचे



 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको स्वामित्वमा रहेको सैपाल ग्यास प्रालि बिक्री भएको छ । आयल निगमबाट करिब ३ महिनाअघि मात्रै सञ्चालन स्वीकृति पाएको सैपाल ग्यास बिक्री गरिएको हो ।

मन्त्री भट्टकी श्रीमती निर्मलादेवी भट्ट अध्यक्ष रहेको प्रालिमा गोपालबहादुर शाही, मानबहादुर शाही, दिनेश साह र सिद्धराज ओझा सञ्चालक छन् । उक्त ग्यास कम्पनी एभरेस्ट ग्रुपले किनेको हो ।

१८ करोड रुपैयाँमा सैपाल ग्यास किनिएको ग्रुपका सञ्चालक शिवप्रसाद घिमिरेले जानकारी दिए । ‘मन्त्रीज्यू सिधै सञ्चालक होइन । उहाँको म्याडम ग्यासको अध्यक्षसहित ५ जना सञ्चालक हुनुहुन्छ,’ एलपी ग्यास उद्योग संघका निर्वमान अध्यक्ष रहेका घिमिरेले भने, ‘एनसीसी बैंकमा सैपालको करिब ९ करोड ऋण थियो । मार्केटमा सहित करिब १२ करोड थियो । उद्योग १८ करोड रुपैयाँमा बिक्री गर्ने डिल भयो ।’

आयल निगम स्रोतका अनुसार सैपाल ग्यासमा मन्त्रीको करिब ३० प्रतिशत सेयर छ । उद्योग सन्चालनको क्रममा लागत नै बढी भएपछि करिब ३ महिना अघिदेखि नै बिक्री गर्ने मनस्थिति बनाएको थियो । गत शुक्रबार बिक्री नै गरेको हो ।

‘प्रोजेक्ट लागत बढी थियो । ग्यास उद्योग करिब १२ करोड रुपैयाँमा खोल्न सकिन्छ । तर लगानी करिब १६ करोड पुग्यो,’ निगमका ती अधिकारीले भने, ‘व्यापार गर्न सजिलो छैन । ऋण बढी भएपछि बाध्य भएर बिक्री गरेको देखिन्छ ।’ निगमका अनुसार सुरुवाती चरणमा उद्योगलाई महिनामा १० हजार टनको प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) दिइएको छ । त्यसपछि मागअनुसार उपलब्ध हुने जनाइएको छ । ग्यास उद्योग सञ्चालनका लागि उद्योग विभागमा दर्ता भएपछि निगमले पनि निरीक्षण गर्छ । सम्पूर्ण मापदण्ड पूरा गरेपछि निगमले सञ्लालन गर्न स्वीकृति दिन्छ । ‘करिब ३ महिनाअघि पीडीओ दिएका थियौं,’ निगमका ग्यास विभाग प्रमुख दिपक बरालले भने ।

सैपाल ग्यासको प्लान्ट कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा छ । २ बिघा ३ कट्टामा रहेको उद्योग चार वर्षअघि निर्माण भएको हो । ग्यास आपूर्तिका लागि करिब ३ महिनाअघि उद्योगले स्वीकृति पाएको हो । ‘स्वीकृति पाए पनि सञ्चालनमा आइसकेको थिएन । ग्यास उद्योग चलाउन प्रस्ताव आयो,’ घिमिरेले भने, ‘सुदूरपश्चिममा सैपालसहित २ वटा मात्रै ग्यास प्लान्ट छन् । सम्भावना देखेर खरिद गर्‍यौं ।’ प्लान्ट परीक्षणको काम सकिएकाले एक दुई साताभित्रै ग्यास बजारमा ल्याइने उनले बताए । घिमिरेले सैपालभन्दा ६ किलोमिटर टाढा कामख्या ग्यासको संरचना बनाइरहेका थिए । सैपाल ग्यासबाट प्रस्ताव आएपछि लगानी गरेको जनाएको छ ।

निगम स्रोतका अनुसार एभरेस्ट ग्रुप सुदूरपश्चिम जाने भनेपछि सैपालका सन्चालकहरु पछि हटेका हुन् । प्रतिप्रस्पर्धा गर्न नसक्ने डरले बिक्री भएको ती अधिकारीको भनाइ छ । निगमका अनुसार एउटा ग्यास कम्पनीले वार्षिक ३/४ करोड रुपैयाँभन्दा बढी कमाई गर्दैन । मासिक करिब २ लाख सिलिन्डर बिक्री हुन्छ । एउटा सिलिन्डरमा करिब २० रुपैयाँ नाफा हुन्छ । ‘कर्मचारीको तलब, बैकको ब्याज, प्रशासनिक खर्च सबै जोड्दा नयाँ उद्योगलाई ग्राहै छ,’ ती अधिकारीले भने ।’

सैपाल खरिदपश्चात एभरेस्ट ग्रुपसँग ग्यास उद्योगको संख्या ७ पुगेको छ । पूर्व प्रिमा र कामाख्या, हेटौंडामा सहारा, काठमाडौंमा एभरेस्ट, धादिङमा सुगम, भैरहवा त्रिशूल ग्यास उद्योग छ । बरालका अनुसार हाल मुलुकभर करिब ६० ग्यास उद्योग छन् ।

२०७४ यता नयाँ उद्योगका लागि सञ्चालन अनुमति बन्द गरिएको छ । सैपालले उद्योग विभागमा २०७३ मा स्वीकृत लिएको बरालले बताए । काीन्तपुरबाट साभार

प्रतिक्रिया दिनुहोस
थप २०४ जनामा कोरोना, संक्रमितको संख्या १६ हजार नाघ्‍यो

  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार नाघेको छ ।  स्वास्थ्य

नेकपा विवाद : हलो अड्कियो प्रधानमन्त्रीको राजीनामामा

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउने प्रयासमा बसेको दुई अध्यक्षबीचको

प्रधानमन्त्री पद फुत्काउन प्रचण्डको अनेकौ प्रयास असफल

  स्थायी कमिटी बैठक पटक–पटक रोकेर सहमतिको प्रयास गरिरहेका नेकपा अध्यक्षद्धय केपी शर्मा

मंसिर ४ को सहमतिअनुसार प्रचण्डलाई कार्यकारी अध्यक्ष दिन ओली तयार

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का