एसइई परीक्षा खारेज, कक्षा १२ को परीक्षा हुने



 

कोरोना भाइरसको कारण स्थगित गरिएको गत वर्ष ०७६ को कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) अब नहुने भएको छ । विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने गरी कानुनी व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

कोरोनाको संक्रमण बढ्दै गएको र विद्यालय पनि क्वारेन्टाइनका रूपमा प्रयोग गरिएकाले पहिलेजस्तै गरी परीक्षा लिन नसक्ने अवस्था भएकाले गत वर्षको एसइईमा विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने तयारी गरिएको हो । यस विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । त्यहीअनुसार, एसइईका विषयमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय भएको मन्त्री पोखरेलले बताए ।

गत ६ चैतमा हुने तय भएको एसइईका प्रश्नपत्र परीक्षा केन्द्रनजिकको प्रहरी चौकीमा पुगिसकेका थिए । कोरोनाको जोखिम बढेपछि एक दिनअघि परीक्षा स्थगित गरिएको थियो । एसइईमा एक हजार नौ सय ९५ केन्द्र र चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् ।

अहिलेको कानुनअनुसार परीक्षा लिने व्यवस्था रहेको र विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा कसरी ग्रेडसिट दिने भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले तयारी गर्ने शिक्षामन्त्री पोखरेलले बताए । परीक्षा गर्न सक्ने स्थिति नभएकाले विद्यालयलाई मूल्यांकन पठाउन लगाउने र त्यसका आधारमा परीक्षा बोर्डले ग्रेडसिट दिने व्यवस्था गर्ने निर्णय भएको उनको भनाइ छ ।

एसइईका ५१ लाख प्रश्नपत्र प्रहरी कार्यालयमा

गत ६ चैतबाट हुने तय गरिएको एसइई परीक्षा स्थगित भएपछि प्रहरी चौकीसम्म पु¥याइएका प्रश्नपत्र फिर्ता गरी जिल्ला प्रहरी कार्यालय वा ‘क’ श्रेणी इलाका प्रहरी कार्यालयमा राखिएको थियो । शिक्षासचिवको संयोजकत्वमा रहेको केन्द्रीय सुरक्षा समन्वय समितिको बैठकले प्रश्नपत्र सुरक्षित राख्नका लागि कम्तीमा इन्स्पेक्टरको नेतृत्व रहेको कार्यालयमा राख्ने निर्णय गरेको थियो ।

एसइईमा सहभागी हुने विद्यार्थीका लागि ५१ लाख थान प्रश्नपत्र तयार भएका थिए । केन्द्रअनुसार सबै प्रश्नपत्र टिनको बाकसमा दुई ताल्चा लगाउने र एउटा सम्बन्धित केन्द्राध्यक्ष र अर्को ताल्चाको चाबी सुरक्षा इन्चार्जसँग रहने व्यवस्था गरिएको थियो ।

कक्षा १२ को परीक्षा हुने

एसइईका विषयमा निर्णय गरिएको भए पनि कक्षा १२ मा हुने विद्यालय तहको अन्तिम परीक्षा कोरोना संक्रमण हटेर सामान्य अवस्था आएपछि उपयुक्त समयमा हुने भएको छ । शिक्षामन्त्री पोखरेलले विद्यालय तहको अन्तिम परीक्षा भएकाले कक्षा १२ को परीक्षा लिइने बताए । बुधबार एसइईको मात्र प्रस्ताव लगेकाले कक्षा ११ र १२ को विषयमा भने कुनै निर्णय भएको छैन । एसइई परीक्षा नभएपछि कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनका आधारमै गरिने भए पनि अहिले निर्णय नभएको मन्त्री पोखरेलको भनाइ छ । कक्षा ११ र १२ मा गरी करिब नौ लाख विद्यार्थीले परीक्षा फारम भरेका छन् ।

प्रतिक्रिया दिनुहोस
थप २०४ जनामा कोरोना, संक्रमितको संख्या १६ हजार नाघ्‍यो

  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार नाघेको छ ।  स्वास्थ्य

नेकपा विवाद : हलो अड्कियो प्रधानमन्त्रीको राजीनामामा

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउने प्रयासमा बसेको दुई अध्यक्षबीचको

प्रधानमन्त्री पद फुत्काउन प्रचण्डको अनेकौ प्रयास असफल

  स्थायी कमिटी बैठक पटक–पटक रोकेर सहमतिको प्रयास गरिरहेका नेकपा अध्यक्षद्धय केपी शर्मा

मंसिर ४ को सहमतिअनुसार प्रचण्डलाई कार्यकारी अध्यक्ष दिन ओली तयार

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का