सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार शुक्रबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले शुक्रबार संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।
५ जेठमा मन्त्रिपरिषद्ले स्वीकृत गरेर ७ जेठमा जारी गरिएको नेपालको पूर्ण नक्शाले हालको निशान छापमा रहेको नक्शालाई प्रतिस्थापन गर्न संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो। संविधानको अनुसूची-३ मा निशान छापसम्बन्धी व्यवस्था छ । संशोधन प्रस्ताव पारित भएपछि नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा हुनेछ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।
