भूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव’ को अन्तरर्वाता



 

प्रश्न :यतिखेर तपाईंको पार्टी के गर्दैछ ?

उत्तर—: सिङ्गो मानव जातिलाई सताइरहेको कोरोना भइरस विरुद्ध जनजागरण सञ्चालन गर्दै जनताको सेवामा समर्पित छौं ।

प्रश्न : यहाँहरुले कोरोना महाव्याधिको कारण युद्धविराम गरेको हो ?

उत्तर—: सही हो, कोरोना विरुद्ध लड्नु पर्ने परिस्थितिका कारण पार्टीले सैन्य कारबाहीहरु रोक्ने निर्णय गरेको छ । तर दमन गरेमा प्रतिरोधको अधिकार कायमै छ । केपी सरकार भने यो बेलामा पनि हाम्रा नेता कार्यकर्तालाई गिरफ्तार गर्ने जस्तो अनैतिक कार्य गरिरहेको छ । भरखरै मात्र सुर्खेतबाट कमरेड हिमाललगायत देशका विभिन्न भागबाट केही कमरेडहरुलाई गिरफ्तार गरेको छ । कोरोना जागरणमा हिँडेका कमरेडहरुलाई दुःख दिने कार्य गरिरहेको छ ।

प्रश्न :कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले अवलम्बन गरेका नीति र तिनको कार्यान्वयनलाई कसरी हेरिरहनु भएको छ ?

उत्तर—: देश कोरोनाको कहर र केपी सरकारको भ्रष्ट जहरमा परेको छ । नागरिकहरु विभिन्न ठाउँमा भोकै, नाङ्गै अलपत्र छन् तर सरकार सफलताको कोकोहोलो मच्चाउँदै छ । कोरोनाको त्रास त छदैछ केपी सरकारले विश्वव्यापी अबलम्बन गरिएको लकडाउनलाई प्रयोग गरेर कोरोनाको विपत्तिलाई भ्रष्टाचार गर्ने मौकाका रुपमा प्रयोग गर्नु देशकै लागि लज्जाको विषय बनेको छ ।

प्रश्न :कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणको नाममा भ्रष्टाचार र कुशासनमा डुबेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्न थालिएको छ ? त्यसबारे यहाँहरुको भनाइ के छ ?

उत्तर–: यो एकदमै उचित माग हो । देश कोरोना विपत्तिमा छ तर केपी सरकार भ्रष्टाचारमा लिप्त छ । विपत्तिलाई कमाउ धन्दामा प्रयोग गर्ने अनैतिक, अपराधीक चरित्र यही देखियो । यो सरकारलाई त हटाउनै पर्छ । त्यसका लागि पुनः संयुक्त आन्दोलनको खाँचो टडकारो बनेको छ । त्यस्तो आन्दोलनमा हाम्रो पार्टी जोसुकै सँग सहकार्य गर्न तयार छ । तर हाम्रो प्रष्ट दृष्टिकोण छ कि यो केपी सरकारको समस्या मात्र होइन । मुख्यतः दलाल पूँजीवादी सत्ताकै समस्या हो । सरकारसँगै राज्यको परिवर्तन पनि आवश्यक छ भन्ने सच्चाइलाई सबै अग्रगामी राजनैतिक नेतृत्व र जनताले समयमै बोध गर्नुपर्छ ।

प्रश्न : कोरोना संक्रमण नियन्त्रणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नाटकीय रुपमा अघि सारेका राजनीतिक दल विभाजन एवं संवैधानिक परिषद् सम्बन्धी दुई विधेयक र राष्ट्रपतिद्वारा हस्ताक्षर गरेर गरिएको हस्तक्षेप अनि चार दिन पनि बित्न नपाउँदै सरकारद्वारा गरिएको खारेजीको समग्र घटनाक्रमलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

उत्तर–: यी सारा घटनाहरु सरकार र राज्य असफल हुनुका परिणाम हुन् । असफल भएपछि संकट मोचनका निम्ति जे गर्न सकिन्छ त्यो गर्नेमा शासक र सरकार पुग्ने गर्दछन् । केपी ओली र उनको सरकारले आफ्नो असफलताको दोष अरुको टाउकोमा थोपर्न र जनतामा थोरै भए पनि भ्रम पार्न सकिन्छ कि भन्नेमा लागेको छ । यस्तै असफलता र संकटबाट गलत तरिकाले उम्किन्छु भन्दा फासिवाद, आराजकता र विद्रोहरु अगाडि आउने हुन् । आजको अवस्था त्यस्तै छ ।

प्रश्न :नेकपाभित्र भुसको आगोझैँ सल्कैँदै गरेको अन्तरविरोधले देश र जनतासित कत्तिको सम्बन्ध राख्छ भन्ने तपाईंलाई लाग्छ ?

उत्तर–: निश्चय पनि सरकारी नेकपा भित्रको अन्तर्विरोध र संघर्षले जनतासँग सम्बन्ध राख्छ । सबैले बुझ्नु पर्छ केपी सरकारले प्रदर्शन गरिरहेको भ्रष्टाचार, राष्ट्रघात, हत्या हिंसाको मूल्य सरकारी नेकपाले त चुकाउनु परिरहेकै छ सँगै राष्ट्रले पनि चुकाउनु पर्ने छ ।  किनकि सरकारले जे मन लाग्यो गर्ने र सबै मुकदर्शक मात्र बन्ने हो भने देशले थप राष्ट्रघात र फासिवादका मार खप्नु पर्र्ने छ । केपी त आफ्नो स्वार्थका लागि जे पनि गर्न र देशै सुम्पिन पनि तयार देखिन्छन् ।

प्रश्न : नेकपाका दुई जना सांसद तथा पूर्व आइजीपीद्वारा गरिएको भनिएको तत्कालीन समाजवादी फोरमका नेता, पूर्व स्वास्थ्य राज्यमन्त्री तथा हालका सांसदको कथित अपहरणको घटनालाई कसरी हेर्नुभएको छ ?

उत्तर–:यो घटनाले सत्तासिन शासकहरु नै सारा अपराधहरुका स्रोत, संचालक र संरक्षक छन् भन्ने तथ्य खोलिदिएको छ । कुर्ची बचाउन केपी सरकार कति तलसम्म गिर्दै गएको छ? यसले उदाङ्गो पार्दछ । यस्तालाई कारवाही हुनुपर्छ पनि भनिदै छ । तर कस्ले कारवाही गर्ने ? जबकि कार्यवाही गर्ने अंगका जिम्मेवार मान्छेहरु नै यी अपराधिक घटनामा संलग्न छन् । हाम्रो विचारमा जनताले बाहेक कसैले पनि यस्ता अपराधीहरुलाई कार्यवाही गर्ने हैसियत राख्दैनन् ।

प्रश्न : कोरोना भाइरस संक्रमणपछिको नेपालको अर्थतन्त्र सम्बन्धमा तपाईंको कस्तो पूर्वकथन (Prediction) छ ?

उत्तर–: वास्तवमा यो एउटा रोचक विषय बनेको छ । नेपालको मात्र होइन विश्व अर्थराजनीतिमै कोरनाका गहिरा एवम् मननीय असरहरु देखिएका छन् । सायद तपाईलाई याद होला कोरोना भइरसले चीनलाई भरखर समातेको समयमा एक जना पश्चिमा लेखकले काठमाडौँ पोष्टमा साभार गरिएको लेखमा चीनको कम्युनिष्ट व्यवस्था र सर्वसत्तावादी शासन र शासकका कारण चिनियाँ जनताले कोरोना भइरसबाट ठूलो क्षति भोग्नु परेको, चीनका राष्ट्रपति अरुलाई दोष दिएर बच्न खोजे पनि कम्युनिष्ट सत्तालाई फेर्ने समय आएको तर्क गरेका थिए । उनले अमेरिकामा जस्तो प्रजातन्त्रिक व्यवस्था हुनु पर्ने त्यसो भएमा कुनै समस्या नहुने तर्क गरेका थिए । तर आज के हुँदै छ ? चीनले जम्मा भोगको क्षति बराबर अमेरिकाले जम्मा केही दिनमा भोग्दै छ ।

पूँजीवादी व्यवस्था भएका विकसित भनिने देशहरुले दोस्रो विश्वयुद्ध पछि कै भयानक क्षति भोग्नु पर्दै छ । अरु बेला निजी स्वतन्त्रता, सम्बृद्धि र सम्पन्नताका डंका पिटने मालिकहरु आज सामाजिक उत्तरदायित्वबाट कसरी भागिरहेका छन् र उल्टै राज्यबाट क्षतिपूर्तिको माग गरिरहेका छन् । यदि आपत पर्दा राज्यले नै सारा व्यवस्था गर्नु पर्ने हो भने केवल सम्पन्नवर्गको मुनाफाका लागि मात्र काम लाग्ने प्रजातन्त्र, स्वतन्त्रता र विकास कसरी मानव जातिका लागि उपयुत्त भयो ? समग्र समाजको क्षमताद्वारा हासिल गरिने उपलब्धिमा रजाई गर्न तयार हुने तर सामाजिक जिम्मेवारी वहन गर्न तयार नहुने पूँजीवादी प्रजातन्त्र मानव जातिको हितमा छैन भन्ने देखिएन र ?

नेपालको अर्थराजनीति विप्रेशन, विदेशी ऋण र अनुदानमा आधारित हुँदाको पीडा आज जनताले भोग्नुपरेको छ । अर्थात दलाल पूँजीवादी परनिरभरताको चपेटामा देश परेको छ । नेपाली जनता पुरै आत्मनिरभर बन्न सक्ने खाध्यान्न, तरकारी, माछामासु, फलफुलमा पनि भिकमङ्गा जस्तो बन्नु पर्दाको पीडा हामीमा छ । कृषि र उद्योगमा क्षमता नभएसम्म लाख, करोड, अरबका कुरा गरेर कुनै अर्थ छैन । बैंकमा करोड, अरब राखेर पनि भान्सामा दाल, चामल छैन भने जनताको के कुरा शासक पनि पानी विनाका चेपा जस्ता भएर मर्छन । राज्यलाई यत्तिकै चल्न दिने हो र जनताले आर्थिक सम्बन्धमा परिवर्तन नगर्ने हो भने नेपाली अर्थतन्त्र टाट पल्निे, जनता भोकभोकै पर्ने चुनौति छ ।

प्रश्न : विश्वमै उथलपुथल ल्याउने कोरोना महामारीको नियन्त्रणपछि शक्ति सन्तुलनको दृष्टिबाट विश्वको अवस्था कस्तो हुनेछ भन्ने तपाईंको विश्लेषण छ ?

उत्तर–: निश्चयनै, कोरोना एउटा प्राकृतिक समस्याका रुपमा आयो तर यो दुःखद परिणाका पछाडि पूँजीवादी राजनैतिक, आर्थिक, साँस्कृतिक, धार्मिक सम्बन्धले पर्यावरण र समाजमा पारेका नकारात्मक प्रभावहरु धेरै हदसम्म जिम्मेवार छन् । त्यसैगरी पूँजीवादी राज्य व्यवस्थाहरु भित्र सामाजिक उत्तर दायित्व, मानवीयता र साझा पहलकदमीमा निकै ठूला समस्याहरु देखा परे । अमेरिका, ब्राजिललगायतका देशका नेतृत्वबाट नागरिकको जीवनभन्दा पैसा ठूलो हो भन्ने जस्ता अभिब्यक्तिहरु भए । नागरिकहरुलाई समस्या परे पनि आर्थिक कारोबारमा समस्या आउन नदिनेगरी लकडाउन खोल्नुपर्छ भन्ने तर्कहरु गरिए । तथ्यगत आधारले हेर्दा पनि चीन, क्युवा, जनवादी गणतन्त्र कोरिकाया, भियतनाम जस्ता देशहरुमा प्रभाव कम देखियो । यसले विश्व शक्ति सन्तुलनमा केही मात्रामा प्रभाव पार्नेमा शंका छैन । तपाईंहरुले पनि हेर्नु भएको होला अहिले पूँजीवादी अर्थराजनीतिबारे गम्भीर समिक्षा चलिरहेको छ । युरोप, अमेरिकामा पनि पूँजीवादले चल्दैन भन्ने बहस चलिरहेको छ । नेपालमै पनि यस्ता विश्लेषणहरु बुद्धिजीवीहरुले गरिरहेका छन् । यसबाट भन्न सकिन्छ विश्वको राजनैतिक प्रणालीमा पनि नयाँ हेरफेरहरु ल्याउने छ । तर तुरुन्तै या केही समयपछि भन्ने कुराको निर्धारण युरोप, अमेरिकामा हुने बहस र आन्दोलनले निर्धारण गर्ने छन् ।

प्रश्न :हिन्द प्रशान्त क्षेत्रको लागि अमेरिकाले एक वर्ष पहिले एउटा विवादास्पद रणनीति (हिन्द–प्रशान्त रणनीति) आक्रामकरुपबाट अघि सारेको छ । यसको पक्षविपक्षमा व्यापक एवम् गहन बहस चलिरहेको पृष्ठभूमिमा त्यससम्बन्धमा तपाईंको विश्लेषण के छ ?

उत्तर–: यसबारेमा हामीले पहिले नै आफ्नो दृष्टिकोण स्पष्ट गरिसकेका छौं । फेरी पनि उल्लेख गर्नु पर्दा हिन्द प्रसान्त रणनीतिका केही दूरगामी प्रभाव राख्ने विशेषता छन् ।  प्रथमतः यो अमेरिकी सैन्य–राजनीतिक रणनीति हो । दोस्रो यसको सम्बन्ध दोस्रो विश्वयुद्ध पछि कम्युनिष्ट प्रभावलाई रोक्न खडा गरेको नेटो र प्रशान्त क्षेत्रिय सैन्य रणनीतिसँग छ । तेस्रो यसको उद्देश्य विश्व राजनीतिमा विशेषतः दक्षिण एसियामा चीनलाई रोकेर आफू आउने हो । चौथो नेपालमा चीनलाई रोक्ने रभारतलाई पनि एउटा दबावमा पार्ने छ । पाँचौं नेपालका कम्युनिष्टलाई तहसनहस पार्ने र वैज्ञानिक समाजवादी क्रान्तिलाई बाधा हाल्ने छ । छैठौं र सबैभन्दा भयानक उद्देश्य नेपालमा अमेरिकी सैन्य अखडा खडा गर्ने र चीनलाई घेर्ने रहेको छ । यसअर्थमा एमसीसीलाई नेपालमा स्वीकार गर्नु हुँदैन ।  खारेज गर्नु पर्छ । तर केपी सरकार कुनै पनि हालतमा एमसीसीलाई स्वीकारगरेर अमेरिकी निगाहमा सत्तामा बस्न चाहन्छ । तर खुसीको कुरा नेपाली जनमत, राजनैतिक धारा एमसीसीवादी राष्ट्रघाति धाराभन्दा शक्तिशाली छ । यसमा सरकारी नेकपा भित्रै चलेको संघर्ष पनि महत्त्वपूर्ण छ । हामीले स्पष्टै भनेका छौं राष्ट्रघातका विरुद्ध सबैसँग मिलेर संघर्ष गर्छौं भनेर । अहिले पनि हाम्रो नीति यही छ ।

प्रश्न :तपाईंको पार्टीले न्यूनतम कार्यक्रमको रुपमा समाजवादलाई अघि सारको छ । के यसको अर्थ नेपालले राष्ट्रिय मुक्ति र दलाल एवम् नोकरशाही पूँजीवाद तथा सामन्तवाद विरुद्धको लडाइँको चरण पार गरिसक्यो भन्ने हो ?

उत्तर–: तपाईको प्रश्नलाई दुई भागमा हेर्नु पर्छ । पहिलो हामीले नेपाली क्रान्तिको कार्यक्रम वैज्ञानिक समाजवाद संश्लेषण गरेको साँचो हो । दोस्रो राष्ट्रिय मुक्ति, दलाल एवम् नोकरशाही पूँजीवाद तथा सामन्तवाद विरुद्धको लडाइँको चरण पारभइसकेको भन्ने होइन ।

एउटा सच्चाई हो दश वर्षको जनयुद्ध र ६२–६३को जनआन्दोलनपछि सामन्तवादी सत्तासँग नेपाली जनताको मुख्य अन्तर्विरोध मूल रुपले समाधान भएको छ । सामन्तवादका अवशेषहरु छन् तर ति मुख्य छैनन् । परन्तु सत्ता श्रमिक जनताको हातमा नआएर दलाल पूँजीपतिवर्गको हातमा गएको छ । साम्राज्यवादी विशेषतः भारतीय साम्राज्यवादीको हस्तक्षेप कायमै छ । जसले गर्दा नेपाली जनताको मुख्य संघर्ष दलाल पूँजीवादीवर्ग, उसको सत्ता र साम्राज्यवादी हस्तक्षेपसँग पर्न गएको छ । नेपाली जनताले देशलाई पूर्ण स्वाधीन बनाउन र सत्ता प्राप्त गर्न साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्ध विजय हासिल गर्नु पर्छ । दलाल पूँजीवाद भित्र सामन्तवाद र नोकरशाही चरित्र हुने भए पनि मूलरुपमा यो पूँजीवादतिर ढल्केको हुन्छ । त्यसैले यसको समाधान नयाँ जनवादी क्रान्तिले होइन वैज्ञानिक समाजवादी क्रान्तिले गर्छ । अर्को विषय आजको पूँजीवादी विश्व व्यवस्थाको चरित्रले गर्दा वैज्ञानिक समाजवादको कार्यक्रम बढी वस्तुवादी हुँदै गएको छ ।

प्रश्न :तपाईं चीन एउटा शक्तिशाली सामाजिक साम्राज्यवादी मुलुक होइन, त्यो चिनियाँ विशेषतायुक्त एउटा समाजवादी मुलुक हो भन्ने पार्टीको अडानलाई कसरी सिद्ध गर्नुहुन्छ ?

उत्तर–: यो विषय पनि निकै गहिरो विषय हो । यहाँ दुईवटा सन्दर्भ उपयुक्त छन् । प्रथमतः चिनियाँ कम्युनिष्ट पार्टी स्वयम्ले चीनको राज्य व्यवस्थालाई चिनियाँ विशेषताको समाजवाद भनेर उल्लेख गरिरहेको छ । जसलाई त्यसैरुपमा चर्चा गर्नु सही हुन्छ । चिनियाँ कम्युनिष्ट पार्टीले माक्र्सवाद–लेनिनवाद–माओ विचारधारालाई मार्गदर्शक सिद्धान्त र वैज्ञानिक साम्यवादलाई अधिकतम लक्ष्य मान्दै पनि आएको छ ।

दोस्रो पूँजीवादी साम्राज्यवादी अझ विश्व पूँजीवादी व्यवस्थासँग चीनले खुल्ला र छिपेका संघर्षहरु संचालन गरिरहेको छ । पूँजीवादीहरुले चीन विरुद्ध अनेकौँ घेराबन्दी र हमलाहरु गरिरहेका छन् । उनीहरुको जोड चीनलाई पूर्व सोभियतसँघ बनाउने छ । कम्तिमा पनि विश्व पूँजीवादी व्यवस्थाका अतिक्रमण विरुद्ध चीनले राष्ट्रिय स्वाधीनताको धारलाई बढाइरहेको छ । यसले चिनियाँ विशेषताको समाजवादको प्रतिनिधित्व गरेको छ । यस अर्थमा हामीले भनेको सही छ । तथापी हाम्रो पार्टी चीनका कैयौं सैद्धान्तिक, राजनैतिक, आर्थिक विषयमा सुस्पष्ट छ । विभिन्न ढंगले बहसहरु पनि गरिरहेकै छ । वैज्ञानिक समाजवादले विकासको माग गरेको छ तर मालेमावादी तरिकाको विकास गर्नु पर्छ भन्ने हाम्रो दृष्टिकोण रहेको छ ।

प्रश्न :कतिपय राजनीतिक विश्लेषकहरुको विचारमा तपाईंको पार्टीको राजनीतिक कार्यदिशा नै प्रष्ट छैन । कृपया जनताले बुझ्ने भाषामा भनिदिनु न, तपाईंको पार्टीको तत्कालीन राजनीतिक कार्यदिशा के हो ? त्यो उद्देश्य प्राप्तिका लागि मुलुकको वर्तमान अवस्था अनुकूल वा प्रतिकूल के छ ? त्यसबारे तपाईंहरुको विश्लेषण के हो ?

उत्तर–:हाम्रो कार्यदिशाबारे अप्रष्टता र प्रष्टता दुवै छ । दुई थरी वर्ग र मान्छेहरु प्रष्ट छन् । लाटो तरिकाले हेर्दा पनि किसान, मजदुर, बुद्धिजीवी, महिला एवं उत्पीडित समुदायले एकीकृत जनक्रान्तिलाई दलाल पूँजीवादी सत्ता फाल्ने र वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने कार्यदिशा हो भनेर बुझेका छन् । त्यसैगरी दलाल पूँजीपतिवर्ग, सुदखोर, कमिशनखोर, भ्रष्ट, अवसरवादी, संशोधनवादी, आत्मसमर्पणवादी, विसर्जनवादीहरुले दलाल पूँजीवादी राज्य सत्ता ढाल्ने र वैज्ञानिक समाजवाद  ल्याउने कार्यदिशा एकीकृत जनक्रान्ति हो भन्नेमा प्रष्ट छन् । त्यसैले त दमन र विद्रोह, हमला र प्रतिहमला, प्रतिबन्ध र प्रतिरोध चलिरहेको छ ।

केहीले स्पष्ट भएन, बुझिएन पनि भन्ने गरेको पाइन्छ । त्यसमा पनि दुई तीन थरी प्रवृत्तिहरु छन् । एकथरी मान्छेछन् जसले आजको समाजको विकास र यसका विशेषताहरुलाई पकड्न सकेका छ्रैनन् । यिनीहरुले आधुनिकता र विकास जति जम्मैलाई नमिलेको र उल्टो जस्तो ठान्छन् । यिनीमा रुढीवादी, परंपरागत एवं पण्डित मनोवृत्ति पाइन्छ ।

केही पूँजीवादी विश्लेषक र राजनीतिज्ञले पनि एकीकृत जनक्रान्ति बुझिएन प्रष्ट पार्नुपर्यो भन्छन् । यिनको अप्रष्टतामा जनयुद्धकालका प्रचण्ड–बाबुरामले जस्तै सरकार या व्यत्ति विरुद्ध मात्र हो भनिदिए सजिलो हुने थियो भन्ने मनोइच्छा व्यक्त भएको पाइन्छ । यसमा कम्युनिष्ट पार्टी र श्रमिक वर्गको सत्ता सम्बन्धि दृष्टिकोण र आदर्शलाई भुत्ते पारिदिने विचार छ ।

अर्कोथरी लेखक विश्लेषक छन् जसको चिन्ता क्रान्ति भन्ने वित्तिकै रुस र चीनलाई मात्र सम्झिने अनि ति क्रान्तिभित्र देखिएका नकारात्मक पक्षसँग हामीलाई पनि जोडेर आशंकित भएर हेर्ने छ । यिनलाई सिद्धान्त र प्रयोगको माध्यमबाट बुझाउँदै वैज्ञानिक समाजवादप्रति विश्वस्त गर्न सकिन्छ ।

प्रश्न :सन् ७० को दशकयता विश्वका कुनै पनि भूभागमा सशस्त्र संघर्ष वा क्रान्तिका प्रयत्न सफल भएका दृष्टान्त छैनन् । त्यस्ता संघर्ष या त सम्झौतामा विसर्जन भएका छन् या त तिनको निर्मम दमन भएर समाप्त पारिएका छन् । यस पृष्ठभूमिमा आजको विश्व परिस्थितिमा क्रान्तिको मूल प्रवृत्ति के हो वा हुनुपर्छ भनेर तपाईं ठान्नुहुन्छ ?

उत्तर–: तपाईंले उठाएको प्रश्न आधा मात्र सत्य हो । सत्य यो हो कि ७० को दशक यता विश्व पूँजीवादी व्यवस्था विरुद्ध विद्रोह नभएको, क्रान्ति नछेडिएको र भयानक युद्ध नचलेका बर्ष नै भएनन् । लेनिनले स्थापना गरेको समाजवाद र पूर्वी यूरोपका समाजवादी सत्ताहरु ढल्दा पनि कम्युनिष्टहरुले पूँजीवादका विरुद्ध विद्रोह र क्रान्ति गर्न साथै वैज्ञानिक समाजवाद–साम्यवादको ध्वजा फहराउँन एकछिन रोकेका छैनन् । क्रान्तिका अनेकौं उतार चढाबका बावजुद विश्व पूँजीवादी व्यवस्थालाई थर्कमान पार्ने केवल एउटा मात्र शक्ति छ, त्यो हो कम्युनिष्ट शक्ति र विचार । लुटेरा पूँजीपतिवर्गलाई त्रसित पार्ने वर्ग र विचार एउटा मात्र छ त्यो हो श्रमिक वर्ग र साम्यवादी विचार ।

जहाँसम्म क्रान्तिको मूल प्रवृत्तिको कुरा छ त्यो पूँजीपतिवर्ग र उसको सत्ताले कम्युनिष्ट र श्रमिक वर्गप्रति लिने नीतिले निर्धारण गर्छ । जवसम्म पूँजीपतिवर्गले आफ्नो सत्ता र स्वार्थको रक्षा बन्दुकद्वारा गर्छ तवसम्म श्रमिकवर्गको मुक्ति निशस्त्र र अलापविलापबाट संभव छैन ।  कम्युनिष्टहरुले यसको पहल र  नेतृत्व साहसका साथ गर्नु पर्छ ।

हामीले श्रमिवर्ग, क्रान्ति, उच्चतम मानव सभ्यता र सारा मानव जातिबारे सही विचार, नीति र योजनाहरु बनाएर आजसम्मका नकारात्मक परिणामहरुलाई अपूर्व सफलतामा बदल्न सक्छौं ।

प्रश्न :नेपालमा भएका राजनीतिक परिवर्तन, विशेषतः राजतन्त्रको समाप्ति र संघीयताको स्थापनापछि अब हिंसात्मक क्रान्तिको युग सकिएको विश्लेषण एकथरिको छ भने अर्कोतिर तपाईंको पार्टीका गतिविधि हिंस्रक भएको टिप्पणी छ । ठोस रुपमा भनिदिनु न, तपाईंको पार्टीले अपनाएको राजनीतिक नीतिको स्वरुप कस्तो हो ? यो मूलत सामरिक नीति मात्रै भएन र ?

उत्तर– माथि तपाईंको प्रश्नले थोरै भए पनि दलाल पूँजीवाद, नोकारशाही पूँजीवाद, राष्ट्रिय मुक्तिको विषय उठाएको छ । यदी पूँजीवाद र दलाल पूँजीवादलाई हिंसात्मक व्यवस्थाको चरम रुप मान्ने हो भने(जो वास्तविकता नै हो) हिंसात्मक क्रान्तिको युग सकियो कसरी भन्न मिल्छ ? जवकी दलाल पूँजीवादको जम्माजम्मी आरम्भ मात्र भएको छ ।

अर्को कुरा गणतन्त्र र संघीयता वर्ग स्वतन्त्र प्रणाली होइनन् बरु वर्ग रक्षक साधन हुन् । अहिलेका गणतन्त्र र संघीयता दलाल पूँजीपतिवर्गले कब्जा गरेका र चलाइरहेका प्रणाली हु्न । त्यसैले श्रमिक वर्ग र जनताले यसका विरुद्ध हरेक दिन, हरेक महिना विद्रोह गरिरहेका छन् । हामीले तिनै जनताका संघर्षलाई सचततापूर्वक नेतृत्व दिइरहेको मात्र हो ।

प्रश्न :नेकपाले भुइँतहका संगठन निर्माणसँगै उनीहरुको अगुवाइमा भूमि, जीविकासँगै राज्यको रुपातन्तरणका मुद्दा उठाएको छ ?

उत्तर—: तपाईंले ठीक भन्नु भयो । राज्यको उपरिसंरचनामा केही परिवर्तन भएका छन् । तर जनताको अर्थराजनैतिक सम्बन्धमा नयाँ समस्याहरु देखा परेका छन् । जस्तोकि भूमिमा जमिन्दारी स्वामित्वको त लगभग अन्त्य भयो तर जमिनको स्वामित्व न जनताको हातमा गयो न राज्यको हातमा नै आएको छ । भू —स्वामित्व दलालहरुको हातमा गइरहेको छ । एउटै दलाल पूँजीपतिको हातमा हजारौं रोपनी जमिन पुगेको छ । किसान मजदूरको अवस्था संकटपूर्ण छ । शिक्षा, स्वास्थ्यको क्षेत्र माफियाहरुको हातमा गइरहेको छ । राष्ट्रिय स्रोतहरुको लिलामी र बेचबिखन त्यस्तै छ । यी तमाम समस्या विरुद्ध जवसहरु सक्रिय छन् ।

प्रश्न :नेकपाले अहिले राज्यलाई मात्रै फेर्न खोजेको हो कि समाजलाई पनि ? समाजलाई पनि खोजेको हो भने कहाँ कुन ठाउँमा कस्तो रुपान्तरणको प्रक्रिया जारी छ ?

उत्तर—: हो, हामीले आठौं महाधिवेशनबाट संश्लेषण गरेका छौं कम्युनिष्ट पार्टीले केवल राज्य परिवर्तनको नारालाई मात्र उठाएर काम गर्नुहुँदैन । हामीले नागरिकहरुको निजी जीवन, समाजिक जीवन र राज्य सबैतिर परिवर्तन गर्ने नीति लिनु पर्छ । केवल कम्युनिष्ट पार्टी मात्र बनाउने सोच्नु हुँदैन कम्युनिष्ट समाज र परिवार पनि बनाउने सोच्नु पर्छ । परिवर्तन राजनैतिक क्रान्ति पछि भन्ने पनि सोच्नु हुँदैन । क्रान्ति भित्रै तीनै क्षेत्रमा परिवर्तन गर्दै जानु पर्छ । यो विचारले पार्टीलाई वास्तवमै नयाँ मार्ग खोलिदिएको छ । पार्टी जीवनमा निकै राम्रा अभ्यास र परिणामहरु प्राप्त हुन थालेका छन् । तर हामीलाई केपी वली सरकारले जनताको सेवा गर्न पनि दिएको छैन । सायद तपाईहरुलाई पनि थाहा होला जनयुद्धको ऐतिहासिक क्षेत्र कालिकोटको लालु—मालकोट—कोटवाडा—रुपसा क्षेत्रलाई जोड्ने मोटर बाटो खनिरहेको ठाउँमा प्रहरी पुगेर रोक्ने कार्य ग-यो । सरकारले त उपेक्षा ग-यो नै हामीले गर्न खोज्दा पनि गर्न दिएन । चितवन, सिन्धुली लगायतका ठाउँमा जनताका लागि बनाएका समाज घरहरु पनि जलाउने र भत्काउने गर्यो । कपिलवस्तुमा जनमुक्ति सेना र कार्यकर्ताले उत्पादन गरेको ६५ बोरा धान केपीका पुलिसहरुले लुटेर लगे ।

प्रश्न : समाज र राज्यलाई फेर्दै नेकपा जान लागेको कता हो ? समाजवादतिर ? समाजवादतिर त नेपालकै संविधानै उन्मुख छ भने संघर्ष र हिंसा किन ?

उत्तर—: हो, नेपाल कम्युनिष्ट पार्टीले आज दलाल पूँजीवादी संसदीय व्यवस्थालाई परिवर्तन गरेर वैज्ञानिक मसाजवाद स्थापना गर्ने नेतृत्व गर्ने हो । जुन व्यवस्था साच्चै नै समानतामूलक, मुक्त, स्वाधीन, न्यायीक, मानवीय र सभ्य हुन्छ ।

जहाँसम्म तपाईंले संविधानमा उल्लेख गरेको समाजवादको कुरा छ यो केवल दलाल पूँजीपतिवर्गले आफ्नो सत्ता रक्षाका लागि प्रयोग गरेको शब्द व्यापार मात्र हो । पत्रकार मित्र बिसौँ शताब्दीका भीषण वर्ग संघर्ष र क्रान्तिबाट पूँजीपतिवर्ग पनि चलाख बनेको छ । केही शब्द लेखिदिएर उसको सत्ता सुरक्षित हुन्छ भने किन नलेख्ने । पञ्चायतको बेलामा राजा महेन्द्रले जनवाद नै लेख्नुपर्छ भने पनि लेखौँ म तयार छु भनेका थिए भनेर खुब चर्चा हुने गर्दथ्यो । नेपालमा त्यस्तै भयो । हैन भने काँग्रेसले बोलिरहेको हेर्नुस् न केपी सरकारलाई नै कम्युनिष्ट अधिनायकवादी भन्दै छ भने साँच्चैको समाजवाद भइदिएको भए के भन्थ्यो होला ?

प्रश्न :विप्लव नेतृत्वको नेकपामा पार्टीको साइनबोर्ड मात्रै नयाँ कि संरचना र संस्कृति पनि नयाँ ? अरुको भन्दा भिन्न नयाँ र लोकतान्त्रिक वा जनवादी संरचना र संस्कृति के छ ?

उत्तर— अवश्य पनि पार्टी भनेको समग्र दृष्टिकोणलाई अभिव्यक्त गर्ने साधन हो । त्यसमा पनि विचारधात्मक, राजनैतिक, आर्थिक, साँस्कृतिक मूल्य र दृष्टिकोणहरुलाई ठोस र बोधगम्यरुपले अभिव्यक्त गर्नु पर्छ । हामीले यी विषयमा महत्त्वपूर्ण मान्यताहरु संश्लेषण गरेर प्रयोग गर्दै गएका छौं । हामीलाई यिनै संश्लेषणले विजयी बनाउने छन भन्ने विश्वास छ ।

दर्शनमा हाम्रो निस्कर्ष छ भौतिकवाद नै अन्तिम सत्य हो । साथै वस्तुमा विपरितको एकत्व सम्बन्धि नियम मानव समाज र पार्टी जीवनमा निर्जीव तत्वमा जस्तो हुँदैन । यो गतिशील प्रकृतिको हुनु पर्छ ।

राजनीतिमा जनताको स्वतन्त्रता र वैज्ञानिक समाजवादको नेतृत्वदायी भूमिका सुनिश्चित हुने प्रणाली लागु गर्नु पर्छ । जो आजको पूँजीवादी चुनाव भन्दा गुणात्मकरुपले नयाँ हुन्छ ।

आर्थिक जीवन तीन खालको हुनुपर्छ  । जनताका लागि कामको सुनिश्चितता, काम अनुसारको दाम, नेताका लागि क्षमता अनुसारको काम आवश्यकता अनुसारको दाम र कार्यकर्ताका लागि क्षमता अनुसारको काम र आवश्यकता साथै क्षमता अनुसारको दाम  ।

संस्कृतिमा अधययन, अनुसन्धान, श्रम र राजनैतिक कार्य एकीकृत हुनु पर्छ । जीवनका सारा विषयहरुलाई वैज्ञानिक समाजवाद, कम्युनिष्ट पार्टीको हित अनुकूल प्रयोग गर्नु पर्छ ।

हामीले पार्टीका यी संश्लेषणहरुको प्रयोग गर्दै जादा वास्तवमै नयाँ जीवन प्राप्त भएको महसुस हुँदै गएको छ ।

प्रश्न :माओवादीकै गर्भबाट जन्मिएका नेकपा नेतृत्वले संसद्वाद वा संशोधनवादमा नफँस्ने र नयाँ वर्गमा रुपान्तरित नभइ क्रान्तिकारी भइरहने कुनै प्रक्रिया र पद्धतिको प्रत्याभूति दिन सकेको छ ?

उत्तर—: तपाईंको प्रश्नको तौल पक्कै पनि धरै छ । यो कुनै दैवी भविष्यवाणी जस्तो विषय त होइन तर हामीले कम्युनिष्ट आन्दोलनमा प्राप्त गरेका सफलता र असफलताका प्रचुर व्यवहारिक अनुभवका आधारमा तथ्यगत अनुसन्धान र वैज्ञानिक संश्लेषण गरेका छौं । खासगरी समाजवादी—साम्यवादी राजनैतिक विचारलाई निजी एवम् सामाजिक अर्थजीवनमा रुपान्तरण गर्न असफल हुनुमा संसदवाद, संशोधनवाद मौलाएको छ । यसको समाधान गर्दै हामीले भनेका छौं बलियो संस्थागत सामाजिक अर्थजीवन भित्र समान एवम् सम्बृद्ध निजी जीवनको निर्माण सँगै संशोधनवाद र वर्ग विचलनकारी समस्याको समाधान हुन्छ ।

रातोपाटी अनलाईनबाट साभार

प्रतिक्रिया दिनुहोस
श्री लालीगुराँस सहकारीद्वारा ऋण लिएका सदस्यलाई छुट सुविधा

  पुल्चोकस्थित श्रीलालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ऋण लिएका सदस्यलाई सुविधा दिने भएको

भागबण्डा नमिलेपछि एकता नटुंगिंदै विभाजनतिर मधेसी दल

    राष्ट्रिय जनता पार्टी(राजपा) संविधान संशोधनको विपक्षमा उभिने भएको छ । देशको

संसदमा संविधान संशोधन विधेयक पेश

  संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । कानुनमन्त्री डा.

संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने