सीमामा आइसकेकालाई नेपाल प्रवेश दिनुपर्छ : भीम रावल



 

नेपाल र भारत दुवै मुलुकले लकडाउन गरेपछि सीमा क्षेत्रमा हजारौं मानिस अलपत्र परेका छन् । भारतका विभिन्न सहरबाट आएर सीमामा अल्झेकाहरूले स्वदेशमा प्रवेश पाउनुपर्छ भन्दै नाराबाजी र धर्नासमेत गरिरहेका छन् ।

सीमापारि भारतको धार्चुलामा नेपाली नागरिक दुःख पाएर बसेका छन्। तीमध्ये केही महाकाली नदीमा हामफालेर स्वदेश आएका छन्। धार्चुलामा अलपत्र नेपालीहरूले सरकार र राजनीतिक पार्टीले आफूहरूलाई स्वदेश फर्काउन पहल नगरेको गुनासो गरेका छन्। सरकार भने विपत्तिका कारण लकडाउन गरिएकाले यस्तो बेला खुला गर्नु वाञ्छनीय नहुने तर्क गरिरहेको छ। सीमामा रोकिएका नेपालीलाई घर फर्काउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच पनि बुधबार कुराकानी भएको थियो।

लकडाउनपछि भारतबाट आएका हजारौं नागरिक सुदूरपश्चिमका सीमा नाकामा अलपत्र छन्। त्यहाँको अवस्था के छ?

निरन्तर जानकारी लिइरहेको छु। सिमानामा आइरहेका नेपालीहरू देशभित्र प्रवेश गर्न खोज्दा सरकार वा प्रशासनले नदिएको विषयमा सरकारसँग मैले पटक–पटक कुरा गरिरहेको छु। पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छु। भारतसँग सीमा जोडिएका स्थानमा केही समस्या उत्पन्न हुनसक्छ, त्यसका लागि विशेष व्यवस्था गर्नुपर्छ भनेर प्रतिनिधिसभाको समितिमा पनि कुरा राखेको थिएँ। नभन्दै त्यस्तै समस्या उत्पन्न भयो।

नेपाल र भारतका नागरिकका लागि औषधि–उपचारलगायत सेवा–सुविधाको उचित प्रबन्ध गरिनुपर्छ। भारत र नेपाल दुवैतर्फ लकडाउन छ भने जहाँ–जहाँ दुवै देशका नागरिक छन्, तिनलाई त्यहीं सुरक्षित प्रबन्धमा राख्नुपर्छ भनेको थिएँ। कतिपय नागरिक सिमानामा आइसकेका छन् भने उनीहरूलाई आफ्नो देश प्रवेश गर्न रोक लगाउन मिल्दैन। त्यस्ता नागरिकको हकमा सिमानामै थप स्वास्थ्य जनशक्ति, सुरक्षा प्रबन्ध, एकान्तमा राख्नुपर्ने अथवा अस्पतालमा राख्नुपर्ने हो भने पनि त्यो प्रबन्ध गरेर प्रवेश गर्न दिनुपर्छ।

दार्चुलापारि धार्चुलामा पाँच सयभन्दा बढी नेपाली छन् भन्ने कुरा आएको छ। केही मानिस कैलाली, कञ्चनपुर र अरु प्रदेशका सिमानामा पनि छन् भन्ने आएको छ। एकातिर भारतमा पूरै बन्देजको अवस्था छ। भारतको मुम्बई, कोलकाता, बैंगलोर, दिल्लीमा भएका मानिसहरू कसरी सिमानामा आइपुगे? यो विषयमा गम्भीर तरिकाले दुई देशबीच कुराकानी हुनुपर्छ।

तपाईं सत्तारुढ दलको त्यही क्षेत्रको नेता, पूर्वमन्त्री पनि हुनुहुन्छ। यसरी थुनिएका नागरिकलाई घर आउने वातावरण बनाउन ठोस पहल के गर्नुभयो त?

अहिलेको स्थितिमा सरकारको तर्फबाट देशलाई सुरक्षित राख्न केही कदम चालिएका छन्। देश बन्देजको अवस्थामा छ। पहिलो, सरकारका निर्देशन सबैले कार्यान्वयन गर्नुपर्छ। सरकारले यो गर्नैपर्ने थियो गरेको छ, यसलाई सबैले समर्थन र कार्यान्वयन गर्नुपर्छ। दोस्रो, सरकारले आफ्नो देशमा भएकाका लागि जे–जस्ता कदम चालेको छ, त्यस्तै गरेर नेपाली नागरिक जुन–जुन देशमा छन्, उनीहरूका लागि पनि कूटनीतिक पहल गरेर सुरक्षा गर्नुपर्छ। तेस्रो, उत्तरसँगको सिमानामा ठूलो समस्या छैन। भारतसँगको सिमानामा पहिलेका शासकहरूको गलत चिन्तनका कारण नियमन छैन। त्यस्तो स्थितिमा जो नागरिक सिमानामा आएका छैनन्, उनीहरूको सुरक्षाका लागि भारत सरकारको उच्च तहमा वार्ता गरेर सुरक्षा प्रबन्ध मिलाउन भन्नुपर्छ। जो नेपाली नागरिक सिमानामा आइसकेका छन्, उनीहरूलाई स्वास्थ्य परीक्षण र अन्य व्यवस्था गरेर प्रवेश गर्न दिनुपर्छ।

दार्चुलामा आवश्यक चिकित्सक, सुरक्षाकर्मी नहोलान्, त्यसका लागि माथिबाटै प्रबन्ध गरेरै भए पनि ती नागरिकको सुरक्षा गरिनुपर्छ। अप्ठेरो बेला दार्चुलाको मात्रै काम हो, त्यहाँको सीडीयो, सशस्त्र प्रहरीको मात्रै काम हो जस्तो गर्नुहुँदैन। यो त राज्यको दायित्वभित्र पर्छ। पारिपट्टि भारतले क्याम्प खडा गरेको र नेपालीले हातमा प्लेट लिएर मागेर खाएको जस्ता तस्बिर भारतीय सञ्चारमाध्यममा देख्नुपर्ने स्थिति कदापि उचित हैन।

त्यहाँका जनताले त यो दु:खको घडीमा नेता हामीसँग भएनन् भनेर गुनासो गरेका छन् नि?

त्यस्तो गुनासो गर्नु स्वाभाविक हो। हामीलाई आलोचना गरे भने पनि स्वीकार्नुपर्छ। मैले पार्टीका नेताहरू, मन्त्री, प्रशासकलगायत थुप्रैसँग यो विषयमा कुरा गरेको छु। उनीहरू हाम्रो कुरा सुन्दैनन्। हाम्रो हातमा कार्यकारी अधिकार छैन। यो कुरा म त्यहाँका सबै जनतालाई बुझिदिन आग्रह गर्छु। मैले ध्यानाकर्षण गराउने हो, गराएको छु। मैले सिधै भारतसँग वार्ता गर्न मिल्दैन। मैले कसैलाई आदेश दिन पनि मिल्दैन। मैले सुझाव दिने हो। समयमै सुझाव दिएको छु। भारतसँगका सिमानामा समस्या उत्पन्न हुनसक्छ है भनेर एक महिनाअगाडि नै भनेको हुँ। सचेत गराएको हुँ।

प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीसँग यस विषयमा कुरा गर्नुभयो?

प्रधानमन्त्रीसँग कुरा गर्ने स्थिति बनेन। सम्बन्धित मन्त्रीलगायत अन्य निकायसँग मेरो पटक–पटक कुरा भएको छ। समस्या उत्पन्न भएका जिल्लाहरूका प्रतिनिधिसँग पनि कुरा गरेको छु। यो साझा समस्या हो। सुदूरपश्चिमको उत्तराखण्डसँग जोडिएको ठाउँबाट वा भारतको उत्तरप्रदेशबाट आउने नेपालीमार्फत कोरोना संक्रमण फैलियोस् भन्ने कोह् ीचाँहदैन। भारतबाट आएका ती नेपालीले पनि चाहँदैनन् तर नागरिकहरू सिमानामा आइसकेपछि उनीहरूको सुरक्षा गर्नु देशको कर्तव्य हो।

जो जहाँ छ, त्यहीँ बस्ने भन्ने डब्लुएचओको प्रोटोकल छ, सरकाले पनि त्यही फलो गरेर रोकेको भनेको छ नि?

त्यसमा मेरो समर्थन छ। सरकारले अहिलेसम्म गरेका सबै कुरामा मेरो समर्थन छ। आफू प्रतिनिधि भएको क्षेत्रका जनतालाई विभिन्न माध्यमबाट आह्वान गरेको छु, सरकारले जारी गरेको निर्देशन पालना गर्नु भनेर। जो जहाँ छन्, उनीहरूलाई आवश्यक सबै प्रबन्ध गरेर त्यहीं राख्नु उपयुक्त हुन्छ भनेर विश्व स्वास्थ्य संगठन र कोरोना संक्रमण नियन्त्रण गर्न सफल मुलुकहरूले स्वीकार गरेका छन्। यो कुरा भारतले पनि स्वीकार गर्नुपर्छ। त्यसमा कुनै समस्या छ भने नेपालले आफैं पहल गरी दुई देशबीच वार्ता गरेर लागू गर्न भन्नुपर्छ। सिमानामा आएर खोलामा हामफालेर स्वदेश छिरेपछि ती व्यक्तिलाई आइहाल्यौ भनेर स–सम्मान सुरक्षित स्थानमा राख्ने कि फिर्ता जा भन्ने?

कोरोनाविरुद्धको लडाईंमा सरकारले गरेको तयारी र काम कति परिपक्व छ?

नेपाल सरकारको तर्फबाट बन्देज र बन्दको घोषणा गरियो, यो उपयुक्त कदम थियो। जतिबेला चीनको वुहानबाट नेपालीलाई उद्धार गर्‍यौं। त्यही बेला जस्तो पनि गर्न सकिएन कि भन्ने अहिलेका घटनाक्रमले देखाएका छन्। सरकारले अहिले जे–जति प्रयत्न गरिरहेको छ, यसमा सबैले साथ दिनुपर्छ तर केही संवेदनशील विषयमा तुरुन्त ध्यान दिनुपर्छ।

पहिलो, जो स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अग्रपंक्तिमा छन्, उनीहरूका लागि व्यक्तिगत सुरक्षाका उपकरण अविलम्ब उपलब्ध गराउनुपर्छ। सामग्रीहरू जहाँ–जहाँबाट ल्याउनु पर्ने हो, त्यता पाइला चाल्नुपर्छ। ती सामग्री ल्याउँदा अनियमितता, भ्रष्टाचारका विषयमा जनताले टिकाटिप्पणी र आलोचना गर्ने तथा प्रश्न नउठुन् भन्ने विषयमा ध्यान दिएर ल्याउनुपर्छ। दोस्रो, आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाउनुपर्छ।

तेस्रो, खाद्यान्न आपूर्तिको कुरा गर्दा बालिनाली थन्काउने, लगाउने कुरा अत्यन्तै महत्वपूर्ण छन्। अब गहुँ काट्ने बेला भएको छ। त्यो थन्काउनुपर्छ। त्यसका लागि कृषि मन्त्रालयको तर्फबाट पाकेको अन्नबालीलाई व्यवस्थित रूपमा थन्काउने र नयाँ अन्नबाली कसरी लगाउने? कृषि विज्ञ र स्वास्थ्यकर्मीर्हरूसँग छलफल गरेर त्यो योजना ल्याउनुपर्छ। आवश्यक सामग्री कसरी उपलब्ध हुन्छ, त्यो व्यवस्था गर्नुपर्छ।

चौथो, एकातिर कोरोना संक्रमणको भय छ। अर्कोतर्फ गर्मीर् मौसममा अरु रोग फैलिएला भन्ने भय हुन्छ। गर्मीर् मौसममा विभिन्न रोग फैलिएको हामीले देखें, भोगेका छौं। त्यो नफैलियोस् भन्नका लागि ठूला सहरहरूमा सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

पाँचौं, यी सबै काम गर्नका लागि देशमा शान्ति सुव्यवस्थाको प्रवन्ध मिलाइ राख्नुपर्छ। त्यो शान्ति सुव्यवस्थाको प्रबन्ध मिलाउन खाद्यान्न आपूर्तिमा, भिडभाड नियन्त्रणमा सुरक्षाकर्मी खटिनुपर्छ। अस्पतालमा पनि सुरक्षाकर्मीर् खटिन्छन्। अन्यत्र त्यस्ता ठाउँमा पनि खटिन्छन्। ती सुरक्षाकर्मीहरूका लागि व्यक्तिगत सुरक्षा उपकरणहरू उपलब्ध गराउनुपर्छ।

अर्को प्रसंग, चीनबाट स्वास्थ्य सामग्री आयात प्रक्रिया विवादमा पर्‍यो? रातारात ठेक्का दिने, फेरि रद्द गर्ने जे–जस्ता घटनाक्रम भए, यसमा तपाईंको प्रतिक्रिया के छ?

यो समाचार सुन्दा दःख लाग्यो। यो संकटका बेला यस्ता समाचार आउने स्थिति बन्न हुँदैनथ्यो। अहिलो यस्तो कुरा सुन्नुपर्दा अत्यन्तै दुःख लागेको छ। अनियमितता हुन लागेको रहेछ, त्यसलाई सरकारले रोक्न सम्झौता रद्द गर्नु सकारात्मक छ। सँगसँगै यस्तो संकटमा राज्यले युद्धस्तरमा काम गर्नुपर्ने बेला, मानिसहरूले निःस्वार्थ काम गर्नुपर्ने बेलामा जनताले यस्ता कुरा सुन्ने स्थिति हुनु धेरै दुःखद कुरा हो।

जुनकुरा बाहिर आइसकेको छ, अब सरकारप्रति जनताको विश्वास कमजोर नहोस् भन्नका लागि यसको यथार्थ के हो? साँच्चिकै अनियमितताको काम भएको छ कि छैन? यो सम्पूर्ण कुराको स्पष्ट जानकारी जनताले पाउनुपर्छ। कहीं, कसैले अनियमितता र भ्रष्टाचार गरेको छ भने कडाइका साथ कारबाही गर्नुपर्छ। कुनै पनि व्यक्तिले उन्मुक्ति, छुट पाउनु हुँदैन।

तपाईंहरूकै पार्टीको सरकार छ। पार्टीमा अनुभवी नेताहरू हुनुहुन्छ। पछिल्लो समय सरकारका कामको यति धेरै आलोचना हुँदा पनि तपाईंहरू बोल्नुभएको छैन, किन?

पार्टी एकीकरण भएपछि यसरी छलफल गर्ने स्थिति नै बनेन। पार्टीका बैठकहरू भएनन्। धेरै लामो समयपछि भएका बैठकमा पनि विभिन्न विषयमा गहन छलफल गरेर जाने अवस्था बनेन। झन् यो समस्या आइसकेपछि पार्टीका सबै गतिविधि बन्द छन्। यस्तो स्थितिमा राज्य सञ्चालन गर्ने या यस्ता अप्ठ्याराहरूसँग जुधिरहनुभएका नेताहरूले सुझाव–सल्लाह माग गरे हामी अवश्य दिन्थ्यौं। हाम्रो दायित्व हो। सरकारले एक्लै काम गरोस्, हामी चुप लागेर बस्नुपर्छ भन्ने हैन तर सल्लाह–सुझाव लिने स्थिति देखिँदैन। यो स्थितिमा सञ्चारमाध्यम कसैले सोधे भने रचनात्मक सुझाव, सल्लाह दिन्छौं। त्यसले सरकारमा रहने साथीहरूलाई पनि मद्दत पुगोस्, सम्बन्धित निकायमा ध्यान जान सकोस् भन्ने कुरा भइरहेको छ। तर सामूहिक रुपमा छलफल गरेर यो संकटसँग सामूहिक बल, बुद्धि, विवेक र शक्तिका साथ जुध्ने भनेर चिन्तनमनन गर्ने अवस्था बनिहालेको देखिएन।

यो संकटको घडीमा सरकार जति आलोचित भएको छ, यसको असर भोलि पार्टीमा पनि देखिएला नि हैन?

यो संकटका बेलामा नेकपाको सरकारले गर्ने काम–कारबाही र देखाउने व्यवहारले पार्टीको भविष्य र यसअन्तर्गत क्रियाशील नेता–कार्यकर्तालाई मात्रै प्रभाव पर्ने होइन, सिंगो देशलाई प्रभाव पार्छ। तदअनुसार नै सोच्नुपर्छ।

प्रतिक्रिया दिनुहोस
नेपालमा थप १९ जनामा कोरोना, संक्रमितको संख्या ६०३ पुग्यो

  थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै

निजगढमा तीन सय भन्दा बढी होम क्वारेन्टाइनमा

  बाराको निजगढमा तीन सय भन्दा बढीलाई होम क्वारेन्टाइनमा राखिएको छ । कोरोना

संविधान संशोधन रोक्न ‘रअ’ सक्रिय, को को छिरे लैनचौर ( नाम सहित )

  सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधनको विधेयकलाई असफल बनाउन नेपाली कांग्रेसका

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु : एनआरएनए

  कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको गैरआवासीय