कोरोना भाइरसको ‘इपिसेन्टर’ भारत बन्यो



 

विज्ञहरुले कोरोना भाइरस (कोभिड–१९) को अबको इपिसेन्टर भारत बन्न सक्ने चेतावनी दिएका छन् । एसियाको अन्य मुलुकमा सफल मानिएको  रोकथामको प्रयास विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतका लागि पर्याप्त नहुने उनीहरुको निष्कर्ष छ ।

भारतमा अहिलेसम्म १४७ जनामा यो भाइरसको संक्रमण देखिएको छ । यसमध्ये तीनजनाको ज्यान गइसकेको छ । भाइरसको संक्रमण रोकथामको प्रयासमा भारतले सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । साथै बाहिरबाट आउने मानिसलाई क्वारेन्टाइनमा राख्ने र संक्रमण देखिए आइसोलेसनमा राख्नेलगायतका काम गरिरहेको छ ।

भारतको चिकित्सा अध्ययन परिषद्ले कोरोना परीक्षणको क्षमता बढाएर दैनिक ८ हजार जनाको परीक्षण गर्न सकिने बनाउने निर्णय गरेको छ । अहिले भारतमा दैनिक ५०० जनाको मात्र परीक्षण गर्ने क्षमता छ ।

र, भारतीय समाजमा यो भाइरस फैलिएको कुनै प्रमाण नभेटिएको अधिकारीहरुले बताएका छन् ।

तर विज्ञहरु भने १ अर्ब ३० करोडभन्दा बढी जनसंख्या भएको मुलुकमा यस किसिमको प्रयासले भाइरसलाई रोक्न नसक्ने बताउँछन् । विशेषगरी अत्याधिक जनसंख्या भएको शहरमा यो भाइरसको प्रकोप रोक्न मुश्किल हुने उनीहरुको भनाइ छ ।

तर यो संख्या अप्रिल १५ सम्ममा १० गुणा बढी हुने भारतले सञ्चालन गरेको सेन्टर फर एड्भान्स रिसर्च इन भाइरोलोजीका पूर्व प्रमुख डा. टी जाकोब जोनले बताएका छन् ।

यो भाइरस ठूलो महामारी हो भन्ने भारतले नबुझेको उनको भनाइ छ । उनका अनुसार प्रत्येक साता बितेसँगै यो महामारी ठूलोभन्दा ठूलो हुँदै गइरहेको छ । एसियाका अन्य मुलुकको तुलनामा भारतमा अहिलेसम्म यो भाइरसको प्रकोप कम छ । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाइरस नियन्त्रणका लागि सबैभन्दा राम्रो प्रयास गरिरहेको बताएका छन् ।

अहिले भारतको सबैभन्दा ठूलो समस्या महारष्ट्रमा छ । यो राज्यमा सबैभन्दा बढी शहरीकरण छ । यो राज्यमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । अहिलेसम्म यहाँ ३९ संक्रमितको पुष्टि भइसकेका छन् । सोमबार महाराष्ट्रले भर्चुअल लकडाउनको घोषणा गरेको थियो ।

त्यसका लागि सबै सार्वजनिक स्थान बन्द गरिएको थियो । सबै विश्वविद्यालयको सबै जाँच रोक्न र सरकारी कार्यालयका आधा कर्मचारीलाई घरबाटै काम गर्न लगाउन सरकारले आग्रह गरेको थियो ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले अहिले महाराष्ट्र कोरोना भाइरस रोकथामको दोस्रो चरणमा रहेको बताएका छन् ।

यो अवस्थालाई रोक्न नसकिएको अवस्थामा कोरोना भाइरसको प्रकोप तेस्रो चरणमा प्रवेश गर्ने र यो अवस्थामा राज्यमा नयाँ संक्रमितको संख्यामा उल्लेख्य वृद्धि हुने उनको भनाइ छ । ‘हामीले कुनै पनि अवस्थामा यो भाइरसलाई नियन्त्रण गर्नु जरुरी छ’ उनले भने ।

मुलुकको आकारको साथै अत्याधिक जनघनत्व पनि भाइरस नियन्त्रणको एक समस्या हो । अहिले औसतमा एक वर्गकिलोमिटरको दूरीमा ४२० जना मानिस बस्ने गरेका छन् जबकी चीनमा यो क्षेत्रमा केवल १४८ जना मानिस बसोबास गर्छन् ।

त्यस्तै भारतीय सहरमा त्यति धेरै खुला ठाउँ पनि छैन ।

दक्षिण कोरियामा कुनै लक्षण नदेखिएका मानिसमा पनि यो भाइरसको परीक्षण भइरहेको छ । तर भारतको हकमा अत्याधिक जनसंख्या भएको कारण यस्तो गर्नु कठिन हुने नयाँ दिल्लीस्थित थिंक ट्यांक पब्लिक हेल्थ फाउण्डेशन अफ इण्डियाका अध्यक्ष डा. के श्रीनाथ रेड्डीको बुझाइ छ । उनका अनुसार धेरै घरहरु जोडिएको र यहाँका मानिसहरु गरीब तथा मध्यवर्गका भएकाले पनि भाइरस रोक्न कठिन हुन सक्छ ।

भारतले मंगलबार निजी प्रयोगशालालाई पनि कोरोनाको परीक्षण गर्न अनुमति दिने निर्णय गरेको छ । तर सरकारले अहिलेसम्म त्यस्ता प्रयोगशालाको सूची भने सार्वजनिक गरेको छैन ।

भारतको सार्वजनिक स्वास्थ्य प्रणालीको सीमित स्रोतको आधारमा कोरोना भाइरस नियन्त्रणको प्रयास भइरहेको रेड्डी बताउँछन् ।

भारतको स्वास्थ्य स्याहारको खर्च विश्वको सबैभन्दा कममध्येको एक हो । भारतमा स्वास्थ्य क्षेत्रमा कूल जीडीपीको केवल ३ दशमलव ७ प्रतिशत खर्च हुने गरेको छ ।

साउथ चाइना मर्निङ पोष्टको सहयोगमा

प्रतिक्रिया दिनुहोस
कोरोना भाइरसको कारण ६९ हजारको मृत्यु, १३ लाख संक्रमित

  कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार

बेलायतका प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

  बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल

स्वास्थ्य सामाग्री सरकारले सोझै खरिद गर्ने, संकटमा बिरामीको जिम्मा सेनालाई

  कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि अतिआवश्यक स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत र

महाकालीपारि हजार नेपालीको दुर्दशा, भन्छन् आफ्नै देशले अवहेलना गर्‍यो, विदेशीबाट के आशा गर्ने ?

  भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपालीले आफ्नो सरकारप्रति दुःख व्यक्त