वालुवाटारको रोग कोटेश्वरमा, माधव नेपालमाथी षडयन्त्र



 

तत्कालीन एमालेको नवौं महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा चलिरहेको थियो । झलनाथ खनाल समूहबाट वामदेव गौतम एक्लो बृहस्पति बनेर केपी ओली समूहमा गए । उनै गौतमले भृकुटीमण्डपको गुट भेलामा भनेका थिए– ‘माधव नेपाल एउटा सल्लाका रूख हुन्, आफू माथि जाने, तल कसैलाई पनि जाग्न नदिने । यसपटक उनलाई जीवनभर उठ्न नसक्ने गरी ढाल्नुपर्छ ।’

२०७१ सालमा भएको महाधिवेशनमा झिनो मतान्तरबाट अध्यक्षमा पराजित नेता नेपाल पटक–पटक ढले तर उत्ति नै उठे । गौतम भने ढलेका ढल्यै भए । अध्यक्ष ओलीले उनलाई बारम्बार ढालेका हुन् । नेता नेपालले नै उनलाई बारम्बार उठाउनुपरेको छ । तापनि गौतमका खुट्टा ठीक ठाउँमा छैनन् । उनी कहिले केपी, कहिले प्रचण्डनिकट भएको आरोप खेपिरहेका छन् ।

एमालेको त्यो महाधिवेशनयता नेपाललाई अध्यक्ष ओली समूहले निरन्तर प्रहार गर्यो । त्यति प्रहार त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा आफ्ना विरोधी राहुल गान्धीलाई पनि गरेनन् । एमाले महाधिवेशनदेखि माओवादीसँग पार्टी एकतासम्म नेपाल बारम्बार लखेटिए, हेपिए र कर्नरमा पारिए । तापनि पार्टीबाट विचलित भएनन् । उनै नेता नेपाल अहिले ओली समूहका नेताको पूजा गर्ने मौलो बन्न थालेका छन् ।

पार्टीलाई व्यक्तिको इच्छाभन्दा विधि र विधानबाट चलाउनुपर्ने अडान नेपालले तत्कालीन एमालेदेखि राख्दै आएका थिए । पार्टी एकतापछि दुई अध्यक्षको इच्छामा पार्टी चल्यो । विधि र विधानमा नचलेका कारण लाखौं कार्यकर्ताले पार्टी सरकारमा भएको अनुभूति गर्न सकेका छैनन् । पार्टीमा योगदान र क्षमताभन्दा दुई अध्यक्षको ‘चाप्लुसी’ गर्नेहरू मन्त्रीदेखि पार्टीको प्रभावशाली पदमा पुगे । योग्य र क्षमतावान् कार्यकर्ता सधंै रछ्यानबाहिरको माली बने ।

नेपाल पक्षलाई रछ्यानबाहिरको माली बनाउने ओली समूह नै हो । उनको समूहमा बसेर गुटको खेती गर्नेहरू ओलीलाई खुसी बनाउनका लागि नेपालको सार्वजनिक आलोचना गर्न पछि पर्दैनथे । गाउँ, जिल्लादेखि केन्द्रसम्म नेपाल समूहमाथि अन्याय मात्र होइन, अत्याचार गरिएका तथ्यको चाङ छ । अत्याचारकै हिमायतीहरू यति बेला नेपाल निवास कोटेश्वरमा पालो कुरेर बसिरहेका छन् ।

नेकपाभित्रको समीकरण बदलिएको छ । पार्टी सचिवालय, स्थायी र केन्द्रीय कमिटीमा अध्यक्ष ओली अल्पमतमा छन् । पार्टीको प्रदेश र जिल्ला कमिटी बनाउँदा नेता नेपाललाई यसरी नै अल्पमतमा पारिएको थियो । सांसदको टिकट दिँदा पनि यसरी नै गुटको हतियार चलाएर नेपाल समूहको सफाय गर्ने नियत कार्यकर्ताले मात्र हैन, जनताले पनि बुझेका थिए । यतिसम्म कि टिकट पाएर गाउँ पुगेका नेताको टिकटै खोसिएको थियो । जुन पीडाको भारी जाजरकोटका नीरज आचार्यले भोगे ।

ओली अल्पमतमा परेपछि भने ‘चाटुकार’हरू नेपाल निवास छिर्न थालेका छन् । उनीहरूको नियत स्पष्ट छ– ‘नेपाललाई फकाउन होइन, फसाउन हो’ । ओलीविरुद्धको गठबन्धन टुटाउन उनीहरू दिनरात लागिपरेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’को बलियो गठबन्धन बनेको छ । यसलाई तोड्न ओली समूहका नेताहरूले नेपाल निवासमा लिगलिगे दौड थालेका छन् । नेपालको सधैं आलोचना गर्ने नेताहरूको मुहार अहिले बालुवाटारभन्दा कोटेश्वरमा बढी देखिन थालेको छ ।

उनीहरूले पूर्वएमालेको गुट बनाउन कसरत थालेका छन् । नियत छुट्टै गुट बनाएर नेपाललाई नेता बनाउने होइन, प्रचण्डसँग दूरी बढाएर गठबन्धन टुटाउने खेल हो । ‘अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच अहिले सम्बन्ध राम्रो छ । यो सम्बन्धमा ब्रेक लगाउने कोसिस भइरहेका छन्’, नेपालनिकट नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘यस्तो भुमरीमा नेता नेपाल फस्नु हुन्न । गुट होइन, पार्टी बलियो बनाउनुपर्छ भन्ने पक्षमा उहाँ हुनुहुन्छ ।’

ओली समूहका नेताहरूले जनताको बहुदलीय जनवाद (जबज)को नाम दिएर ओली र नेपाल मिल्नुपर्ने तर्क गर्न थालेका छन् । जबज पक्षधर एक हुनुपर्ने र त्यसको नेतृत्व नेपाललाई लिन आग्रह गरिरहेका छन् । नेपाल भने तत्काल जबजको बहस थाल्ने पक्षमा छैनन् । ‘पार्टीभित्रको सैद्धान्तिक बहसमा दुवै नेता एक ठाउँमा हुनुहुन्छ । तर, यही बहानामा पार्टीभित्र भुमरी पर्दा गर्ने प्रयास भइरहेका छन्’, विदेश विभागका उपप्रमुखसमेत रहेका रिजालले भने ।

नेपालको आलोचना गर्न तत्कालीन एमालेभित्र एउटा संस्था खडा गरिएको थियो– मदन भण्डारी फाउन्डेसन । फाउन्डेसनबाट गरिने सबै कार्यक्रममा नेपाल समूहको चर्काे आलोचना गरिँदै आएको थियो । तर, बिहीबार त्यही संस्थाको कार्यक्रममा नेपाललाई प्रमुख अतिथि बोलाइयो । त्यो प्रयास ओली र नेपाल एक भएको भ्रम पैदा गर्नुबाहेक अरू केही होइन । कतिपय सञ्चारमाध्यमबाट त्यो भ्रम पनि पैदा गरियो । नेपालले कार्यक्रममै जबजको बहस थाल्ने बेला नभएको अभिव्यक्ति दिएर उनीहरूको योजना भताभुंग पारेका छन् ।

ओली समूह अल्पमतमा परेपछि केही समयअघि फाउन्डेसनमा छलफल भएको थियो । त्यहाँ पनि नेता नेपालकै पक्षमा छलफल भएको स्रोतले बताएको छ । पूर्वमाओवादी र प्रचण्डका गतिविधिलाई तह लगाउन नेपाललाई नेता मानेर जाने विषयमा छलफल भएको थियो । त्यसपछि ओली समूहका नेताले कोटेश्वर धाउन थालेका हुन् । एस काठमाण्डौबाट

प्रतिक्रिया दिनुहोस
सीमामा भारतले एकलौटी बाँध निर्माण गर्यो

  नेपालको सुदुरपश्चिम प्रदेशको पश्चिमी सीमा तर्फको बिवाद उत्कर्षमा रहेका बेला रौतहटको सीमावती

क्वारेन्टाइन बन्द हुँने अवस्थामा

  रौतहट जिल्लाको मौलापुर नगरपालिकालाई बदनाम गराउने उद्देश्यले हुँदै नभएका विषयवस्तु देखाएर सामाजिक

बाँकेको नरैनापुरमा सेना परिचालन

  बाँकेको नरैनापुरमा निधेषाज्ञा जारी गर्दै नेपाली सेना परिचालन गरिएको छ।  संक्रमित व्यक्तिलाई

शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने : ईद पर्व सबै नेपालीको मौलिक पुँजी

  प्रधानमन्त्री केपी शर्मा ओलीले ईद पर्वलाई सम्पूर्ण नेपालीको मौलिक पुँजी भनेका छन्