केपी, तिमी फेरि पनि बाँच किनभने…



 

केपी शर्मा ओलीलाई नेपालको सर्वोत्कृष्ट मानिस ठहर गर्न सकिँदैन र, उहाँ देशकै उत्कृष्ट मानिस होइन पनि । केपीबिना देश चल्नै नसक्ने ठानियो भने त्यो झन् ठूलो भ्रम हुन सक्छ । केपी नेतृत्वको सरकार गठन भएयता मुलुकको कायापलट भएको ठान्नेहरूले आफ्नो आत्मसमीक्षा गर्नु उपयुक्त हुनेछ । तर, हामी बाँचिरहेको यो समयका शीर्षस्थ नेताहरूमध्ये केपी ओली नै उत्तम हुन् भनियो भने त्योचाहिँ गलत हुनेछैन ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका निम्ति अस्पताल भर्ना हुनुभएपछि उहाँलाई पुनः प्रधानमन्त्रीनिवासमा देख्नु नपरोस् भनेर कतिले भैँसी पूजा शुरु गरेका होलान् र कोही सुन बाहनमा चढेर दौडधुप गर्दै गरेको अवस्थामा पनि भेटिएलान् । केपी ओली प्रधानमन्त्री भएपछि पनि देशले सकारात्मक दिशा र गति लिन नसकेकोमा असन्तुष्ट रहेकाहरूले पनि केपीको स्वास्थ्यस्थितिप्रति निरपेक्ष दृष्टिकोण राखेका हुन सक्छन् ।

कुनै दलविशेषलाई दुईतिहाइ बहुमत प्राप्त हुनु प्रजातन्त्रमा दुर्लभ तर सुवर्ण अवसर मानिन्छ । वि.सं. २०१७ सालमा बीपी कोइरालाले पनि दुईतिहाइ समर्थन प्राप्त गर्नुभएको हो, तर त्यसबेला राजदरबार एउटा शक्तिकेन्द्रको रूपमा रहेकोले त्यसको मान नराखीकन अगाडि जान सकिने अवस्था थिएन । प्रमुख विपक्षी (भरतशमशेर नेतृत्वको) गोर्खा दल पनि आरजु राणाको काङ्ग्रेसजस्तो ‘आमा’लाई राजदूत पदमा यथावत् राखिदिएकै भरमा चुपचाप बसिरहने स्तरको थिएन । केही न केही उपद्रव गरिरहने चरित्रको प्रमुख विपक्षी दल बीपीका सामुन्ने उपस्थित थियो । तर, अहिले केपी ओलीलाई दुईतिहाइ बहुमतको समर्थन प्राप्त हुँदा राजा वैधानिक शक्तिका रूपमा अस्तित्वमा छैनन् र, प्रमुख विपक्षी दल पनि ‘ललिपप’ देखाएर अलमल्याउन सकिने स्तरको छ । यस्तो सुवर्ण समयमा समेत परिणामदायी काम गर्न नसक्दा केपीको छविमा क्षति पुग्ने मात्र होइन, प्रजातन्त्रप्रतिको विश्वास र भरोसाकै अन्त्य हुने खतरा छ ।

सामान्यतया कसैले छलछाम गर्न सक्ने व्यक्ति केपी ओली होइनन्, शत्रु या विपक्षीले उहाँलाई झुक्याउन असम्भव ठानिन्छ, तर आफ्ना भनिएकाहरूबाट चाहिँ केपी पनि ठगीमा परेको या झुक्किएको अवस्था छ । अर्थमन्त्रीको जिम्मेवारीमा रहेका एक गैरराजनीतिक व्यक्तिले कागजी रिपोर्ट प्रस्तुत गरेर चारैतिर उन्नति–प्रगति मात्र देखाउँदा केपी आश्चर्यजनक ढङ्गले झुक्किनुभएको छ । देशमा न लगानीमैत्री वातावरण बन्न सकेको छ न खर्चको । कमाउन सक्दै नसक्ने, तर कर मात्र तिर्नुपर्ने जुन परिस्थिति बनेको छ, यसले केपीको कार्यक्षमतामाथि नै प्रश्न उठाइरहेको छ । देशको इतिहासकै सबभन्दा असफल र अलोकप्रिय अर्थमन्त्रीलाई क्षमतावान र सफल ठान्ने मनोदशाबाट केपी गुज्रनु आफैँमा उदेकपूर्ण छ ।

 (लेखक, देवप्रकाश त्रिपाठी ) घटना र विचारबाट

अर्थमन्त्री मात्र योग्य भइदिएको भए जनताले विद्यमान सास्ती व्यहोर्नुपर्ने र केपीको क्षमतामाथि प्रश्न उठ्ने स्थिति उत्पन्न हुने थिएन । कसैकी बुहारीले मन्त्रालय ओगटेर मेलम्चीको पानी ल्याउने योजनामा अड्चन पैदा नगरिदिएको भए पनि सरकारले उपलब्धि हासिल गरेको ठान्न सकिन्थ्यो । सडकको गुणस्तरमा सुधार ल्याउन सकेको भए, भ्रष्टाचार नियन्त्रण भएको अनुभूति जनस्तरले गरेको भए, कर्मचारी प्रशासनको कार्यव्यवहार बदलिएर जनमुखी बनेको भए र जनताको समग्र जीवनस्तरमा सकारात्मक परिवर्तन आएको भए देशको समृद्धिसँगै केपी ओलीको उचाइ थपिने निश्चित थियो । वरिपरि ‘सञ्जय’हरू राख्न र ‘धृतराष्ट्र’हरूलाई धपाउन सकेको भए केपीको कामले सही दिशा र गति लिने निश्चित थियो । केवल तीनवटा मात्र मन्त्रालयले राम्रो काम गर्न नसक्नुको परिणाम सरकारप्रमुखका रूपमा केपी ओलीले र उपभोक्ताका रूपमा आमजनताले भोग्नु परिरहेको छ ।

हामी सबैलाई थाहा छ, प्रचण्डजस्तो नयाँदिल्लीमा ‘अन्तरध्यान’ भएर सिंहदरबारमा फुत्त प्रकट भएको पात्र केपी ओली होइनन् । किशोरवयमा ख्यालख्यालमै क्रान्तिकारी बन्न खोजेको भए पनि चौध वर्ष साँच्चैको जेल तथा गोलघरको यातना भोग्ने व्यक्तिमा केपी ओली पर्नु हुन्छ । कठोरतम यातनाको पृष्ठभूमिबाट खुला राजनीतिक गतिविधिमा सरिक हुन आइपुगेको र आफ्नै क्षमता एवम् पौरखबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल व्यक्तिका रूपमा केपीलाई बुझिन्छ । दिल्लीको सुविधासम्पन्न आवासबाट बालुवाटारमा बास सार्ने र अदृश्य शक्तिको भरिया बनेर नेपाल विघटन गराउन यात्रारत तिलस्मी यात्रीजस्तो पनि केपी हुनुहुन्न ।

देशलाई जाति र क्षेत्रका नाममा विभाजन गरी तेह्र–चौध टुक्रामा विभक्त गर्ने कुरूप प्रयास भइरहँदा त्यसका विरुद्ध सतिसालझैँ उभिने नेताहरूमध्ये ‘नेकपा एमालेका अध्यक्ष’ केपीको नाम अग्रपङ्क्तिमा आउँछ । देश जातीय युद्धको दुन्दुभीमा फस्न लागेको त्यो समयमा प्रचण्ड–बाबुराम नाममा प्रकट भएका भष्मासुर नेता तथा आङकाजी, सीकेद्वय र कृष्ण भट्टचनजस्ता धुन्धुकारी नागरिक रहेका देशको एकता र अस्तित्व रक्षा गर्नु सानो साहस र क्षमताबाट सम्भव थिएन । नेकपा एमाले र तिनका नेतालाई गाली या आलोचना गर्न मिल्ने अरू हजार विषय हुन सक्छन्, तर देशलाई जातीय आधारमा विभाजन गर्न भएको कपटी प्रयासलाई रोक्ने एउटै मात्र दल ‘नेकपा एमाले’ हो र उक्त पार्टीका प्रमुख नेता केपी शर्मा ओली हुनुहुन्छ भन्ने तथ्यलाई हामी स्वीकार गर्न कञ्जुस्याइँ गर्छौं भने हामीजति झुट र बेइमानीका भरपर्दा मित्र अरू कोही नभएको ठान्नुपर्दछ ।

नेपाली काङ्ग्रेस नामको पार्टी त्यसताक माओवादीको लाचार छायाभन्दा अर्को बेग्लै अस्तित्वमा थिएन । नवदुलहीका रखवालाजस्तै भूमिकामा काङ्ग्रेसका नेताहरू प्रचण्डहरूको अघि र पछि गरिरहन्थे । तिनको मखमली यात्रामा अत्तर र गुलाव छर्ने सेवामा काङ्ग्रेसका नेताहरू खुब रमाइरहेका हुन्थे । क्रान्तिका नाममा गाउँगाउँमा क्रियाशील काङ्ग्रेस कार्यकर्ताका शिर ताकी–ताकी ढुकुरझैँ ढाल्ने माओवादी नाइकेहरूको सम्मानमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाहरू शिर तल पारेर उभिइरहँदा माओवादीलाई खबरदारी गर्ने काम कसैले गरेका थिए भने त्यो केवल केपी ओलीबाट भएको थियो । कोइराला र देउवाहरू माओवादीको जन्ती बनेका बेला हिंसा र हिंस्रकका विरुद्ध फलामे अडान ओलीले राख्नुभएको हो । काङ्ग्रेस नेतृत्व देश बर्बाद हुनेभन्दा माओवादीका नेता रिसाउने कुराप्रति ज्यादा संवेदनशील थियो । सत्ताप्रमुख गिरिजाप्रसाद कोइराला थिए, तर प्रचण्डले सार्वजनिक रूपमा नेपाली सेनालाई अपमान गर्दा त्यसको प्रतिवाद भने केपी ओलीले नै गर्नुपरेको थियो ।

देश र प्रजातन्त्रप्रतिको स्पष्ट दृष्टिकोण र अडानबाट केपी ओलीले उचाइ प्राप्त गर्नुभएको हो । राजनीतिमा मानिस अनेक कारणबाट उचालिएका हुन्छन् । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह आफ्नै भूमिकाका कारण उठेका व्यक्ति हुन् भने बीपीको भाइ हुनुको जगमा टेकेर गिरिजा उभिएका थिए । प्रचण्ड–बाबुरामहरूको नाभी कहाँ गाँसिएको छ भन्ने जानकारी आमजनतालाई छ, तर नेकपाको मात्र कुरा गर्दा केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम आफ्नै बुतामा उठेका नेता हुन् । यीमध्ये केपी ओलीले विशिष्ट स्थान बनाउनुभएको छ ।

२०५२ सालमा शुरु भएको देश, राष्ट्रिय एकता र प्रजातन्त्रविरुद्ध षड्यन्त्रको पटाक्षेप अझै भइसकेको छैन । नेपाललाई एउटा एकपक्षीय अधिनायकवादी राज्यसत्तामा रूपान्तरित गर्न शुरु भएको खेल चालीस सूत्रीय माग, हिंसात्मक सङ्घर्ष, बाह्रबुँदे सम्झौता, कथित बृहत् शान्तिसम्झौता, संविधानसभाको चुनाव र रातारात संविधान जारी हुँदै ‘यहाँसम्म’ आइपुगेको छ । प्रचण्डहरू विचार बदलेर शान्तिप्रक्रियामा आएका होइनन्, रणनीति मात्र बदलिएको हो, ‘माओवादी नेतृत्व’ अहिले पनि क्रान्ति प्रक्रियामै रहेको बुझ्न सक्नुपर्छ ।

यस क्रममा देशको एउटा सुगठित, भरोसायोग्य र शक्तिशाली पार्टीको नेतृत्व कब्जा गर्ने र, इटालीका ‘समाजवादी’ तानाशाह मुसोलिनीले झैँ वैधानिक प्रक्रिया पूरा गर्दै अधिनायकवादलाई संस्थागत गर्ने बाटोमा प्रचण्ड हुनुहुन्छ । प्रचण्डको यस्तो कपटी चाललाई परास्त गर्न सक्ने ल्याकत केपी ओलीमा रहेको विश्वास गरिन्छ । यसको अर्थ माधव नेपालले चाहिँ ‘माओवादी’लाई सर्वस्व सुम्पिनुहुन्छ भन्ने होइन, तर केपीले प्रचण्डहरूको खोटो रणनीतिक चालबाजीलाई बेकाम तुल्याइदिने क्षमता दर्शाइसक्नुभएको छ । प्रचण्डबाट २०६५ सालमै ‘विधिवत् सत्ता कब्जाको प्रयास भएको’ हो । त्यसबेला कतिपय अदृश्य कारण र सेनापति रुक्मांगद कटवालको अडानले प्रचण्ड–इच्छामा तुषारापात गराइदिएको हो ।

अब उहाँ सम्पूर्ण सत्ता कब्जाको दोस्रो र सम्भवतः अन्तिम प्रयत्न गर्दै हुनुहुन्छ । राजतन्त्र विस्थापित गरिसकेपछि मुलुकमा पैदा हुन सक्ने अवस्थाको विश्लेषण र व्यवस्थापन नगरीकन अगाडि बढ्दा आज देशले जस्तो अवस्थाको सामना गरिरहनुपरेको छ, प्रचण्डको योजनाअनुरूप नै सरकारबाट केपीको बहिर्गमन भयो भने देशले थप सङ्कट र अव्यवस्था झेल्नुपर्छ भन्ने पक्षलाई हामीले अहिले नै देख्न सक्नुपर्छ । मुलुकले शान्ति, समृद्धि र स्थायित्वको मार्ग तय गरेकै छैन, प्रचण्डहरू जनवादी क्रान्ति सम्पन्न भएको दाबीसहित ‘समाजवादमा फड्को मार्ने’ योजना प्रस्तुत गर्दै छन् । प्रचण्डले भन्ने गरेको समाजवादलाई हामीले अधिनायकवादबाहेक अन्य अर्थमा बुझ्यौँ भने त्योभन्दा ठूलो भ्रम शायद हुनेछैन । केपीबाट समृद्धिको जग रहला–नरहला, कम्तीमा अधिनायकवादमा जानबाट रोकिने सम्भावनाचाहिँ प्रबल छ । यस्तो अवस्थामा प्रचण्डको दोस्रो ‘एटेम्प्ट’लाई परास्त गर्न सक्ने नेतृत्वको अपरिहार्यता रहेको छ र, त्यो केपी ओलीबाट सम्भव छ भन्ने विश्वासका बलिया आधारहरू छन् ।

साधारण प्राणीहरू बाँच्नका लागि बाँचेका हुन्छन्, सृष्टिको ऋत धान्नु तिनको सामान्य संस्कार हो । तर, असाधारण मानिस बाँच्नुको कारण हुन्छ, कार्यकारणका निम्ति जन्म लिएकाहरूले आफ्नो कर्तव्य पूरा गरेर मात्र धर्तीबाट बिदा लिनु उचित हुन्छ । नेपाली दार्शनिक रूपचन्द्र विष्ट भन्नुहुन्थ्यो, ‘मेरो काम जनता जगाउने हो, तर यहाँका मानिस जाग्दै जागेनन्, जे–जति जागे ती पनि जाली–फटाहालाई काम लागे । म थाकिसकेको छु, मान्छे जगाउनु नपर्ने भएपछि मैले बाँचिरहनुपर्दैन ।’ तर केपीको काम सकिएको छैन, उहाँले गर्नुपर्ने कार्य अझै बाँकी छ, त्यसैले पनि केपी शर्मा ओली अस्पतालबाट सकुशल र अझै स्वस्थ भएर फर्कन आवश्यक छ, उहाँलाई स्वास्थ्यलाभको निम्ति कोटीकोटी शुभकामना । एकपटक फेरि बाँच्नका लागि शुभकामना !

प्रतिक्रिया दिनुहोस
थप ४७३ जनामा कोरोना, संक्रमितको स‌ंख्या १४ हजार ५१९ पुग्यो

  बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड शीतल निवासमा

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई

सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओली समूहको प्रस्ताव

    सत्तारुढ दल नेकपा भित्र चर्किरहेको विवादका बीच प्रधानमन्त्री तथा अध्यक्ष केपी

नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको