५० लाख तिर्न नसक्दा डिआइजी हुन पाइएन- यादवराज खनाल, पूर्वएसएसपी



 

 

जागिरबाट अन्यायपूर्वक अवकास, त्यसलगत्तै जीवनसंगीको असमयमै अवसान । यस्ता पीडा खपेर बाँचिरहेका छन्, भूपू एसएसपी यादव खनाल । डिआइजी पदमा दरबन्दी खालि हुँदाहुँदै नेतृत्व पूर्वाग्रही हुँदा उनले तल्लो दर्जाबाटै अवकास लिएर घर जानुप¥यो । त्यसो त प्रहरीमा यस्तो अन्यायको श्रृंखला नयाँ होइन । त्यसअघि पनि थुप्रै क्षमतावान प्रहरीले बेला नपुग्दै वा अन्यायमा परेर घर जानु परेका घटना छन् । लामो समय इलाका, जिल्ला र अञ्चल अनि दिलली दूतावासमा जिम्मेवारी सम्हालेका उनी कमाण्ड कन्ट्रोलमा कहलिएका अधिकृत हुन् ।

 

० जीवनको २९ वर्ष २ महिना प्रहरी फोर्समा बिताउनुभयो । त्यस्तो संगठनलाई अहिले हेर्दा कस्तो देख्नुहुन्छ ?
– रिटायर्ड भए पनि त्यहाँबाट पेन्सन खाइरहेका हुन्छाँै । त्यसैले म प्रहरीबाट पूरै अलग भएँ, सम्बन्ध शून्य भयो भन्दिनँ । भूपूहरु पनि त्यो संगठनका अंग छन् । फरक यत्ति हो, अंगका रुपमा व्यवहार भयो कि भएन ? संस्थामा बस्ने केही मान्छेले रिसइबी राखे होलान्, त्यो आफ्नो ठाउँमा छ । त्यही संस्थाबाट मैले करियर बनाएँ । सँगै प्रहरीमा जागिर खाएर निजामती सेवामा प्रवेश गर्नुभएका दीपेन्द्र काफ्ले सहसचिव हुनुहुन्छ । विदेशमा गएर आफ्नो क्षमता देखाउने अवसर पनि पाएँ । त्यही कारण यो संस्थाप्रति मेरो सम्मान छ ।

 

० यसपालि रिटायर्ड हुने डिआइजीले नै नेपाल प्रहरी माफिया र दलालको फन्दामा परेको खुलासा गरेका छन् । के यो वास्तविकता हो ?
– प्रहरी संगठन दूधले नुहाएको संस्था हैन । त्यसो भन्दैमा संगठन खत्तमै छ भन्ने पनि मान्दिनँ । मान्छेमा ५ औंला हुन्छ । सबै समान हुँदैनन् । त्यस्तै हो, केही मान्छेको छोटो बुद्धि हुन्छ, कोहीको बुद्धि ठूलो हुन्छ । कोहीलाई प्रहरी संगठनमा जागिर खाएर पैसा कमाउँछु, बंगला ठड्याउँछु, गाडी जोड्छु भन्ने ध्येय हुन्छ । कोही देशको सेवा गर्छु भनेर प्रवेश गरेका हुन्छन् । दुई किसिमको पर्सेप्सनबाट मान्छेले जागिर खाइरहेको हुन्छ । जागिर खाएर अर्बांै कमाए पनि खाने उही दाल, भात, तरकारी हो । सुन, चाँदी, हिरा, मोती खाने होइन । मरेर केही लाने पनि होइन । रित्तो आएको, रित्तै जाने हो । कुन नेचरबाट ऊ जागिरमा प्रवेश गरेको हो त्यसैमा निर्भर गर्छ ।

 

० अपराध अनुसन्धानमा विश्वकै उत्कृष्टमध्ये गनिने संगठनले आफूभित्रैका बेथिति किन निमिट्यान्न पार्न सकेन ?
– हरेक सेवामा राजनीति पसेको छ । पहिला सरुवा, बढुवा हुँदा दरबारका ऋषिकुमार पाण्डेहरुको चाकरीमा जानुपर्ने कुरा सुन्थ्यौं, जतिखेर म इन्स्पेक्टर थिएँ । अहिले कहाँ जाने भन्ने अन्योल छ । कुनै एसपीको पोष्टिङ हुनुप¥यो भने अहिले ए बी सी डी कहाँ जाने ? पहिला एक ठाउँमा चाकडी गरे पुग्थ्यो अहिले २० ठाउँ धाउनुपर्छ । जतिखेर रत्नसमशेर राणालाई हटाइयो, त्यहीपछि प्रहरीमा राजनीतिकरण शुरु भयो । हुँदाहुँदा अहिले त आइजीपीले खटाएको प्रहरी त्यही जिल्लामा जान नसक्ने घटना देखियो । प्रहरी सेवा आयोग गठन गर्न सके यसले ट्र्याक समाउँथ्यो ।

० सेवा प्रवेशदेखि नै लेनदेन चलेर हो कि ?
– रिक्रुटमेन्ट नै सफा भएन । कसैको दबाब र प्रलोभनमा नपरी क्लिन अफिसरलाई निकाल्न सकियो भने अपरेसन, अपराध अनुसन्धानमा पर्फेक्ट हुन्छजस्तो लाग्छ । म त भर्ना गर्ने टे«निङ सेन्टरमा बसिनँ । विराटनगर तालिम केन्द्रमा गोविन्द निरौला कमाण्डेण्ट हुनुहुन्थ्यो । रिक्रुटमेन्ट चल्दै गर्दा आफन्तको निधन भएपछि मलाई १५ दिनका लागि काजमा पठाइयो । त्यतिखेर धरानमा एसएसपी थिएँ । टे«निङ सेन्टरमा कहिल्यै नबसेको मान्छे । त्यहाँ राजनीतिक दलको हेड अफिसबाटै लेडरहेडमा ‘भर्ना गर्नु पर्ने मान्छेको लिष्ट’ पुगेको देखियो । मैले त्यस्तो चिठी हेर्दै हेरिनँ । त्यो बेला उपेन्द्रकान्त अर्याल डिआइजी हुनुहुन्थ्यो । प्रहरी सेवामा प्रवेश गर्ने व्यक्तिमा म योग्य छु । राम्रो छु । यद्यपि छनोटमा पर्दिनँ भन्ने छ । त्यही कारण योग्य हुँदाहुँदै पनि वडाध्यक्ष, मेयर, सांसद र मन्त्रीलाई गुहार्न थाले । मानौँ, कोही दुई लाख तिरेर सेवा प्रवेश गरेको छ भने त्यसको ध्यान पैसामै केन्द्रित हुन्छ । कमाउनतिरै लालायित हुन्छ ।

० तपाईं पनि डिआइजीको दरबन्दी खाली हुँदाहुँदै एसएसपीमा पदावधि लागेर जानुप¥यो । के कारण त्यस्तो भएको थियोे ?
– मेरो लाष्ट पोष्टिङ नयाँ दिल्लीमा थियो । चार महिनाभित्र प्रमोसन भैहाल्छ भन्नेमा ढुक्क थिएँ । नम्बरिङमा पनि दोस्रो । भोगबहादुर थापा, दोश्रोमा म, रमेश खरेल, सर्वेन्द्र खनाल चौथो । ५÷६ जना खाली छ । त्यही समय श्रीमतीलाई क्यान्सरको कारण दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेको थिएँ । यता प्रमोसनको मार । साथीहरुले बेला आउँदैछ, काठमाडौं बस्नुस्, एक महिना कतै नजानुस् भनेका थिए । मैले तत्कालीन आइजिपी, गृहसचिव, गृहमन्त्रीलाई भेटेर आफ्नो कुरा राखँें । भन्ने उनीहरुलाई नै हो तर एकले अर्काेलाई देखाउने ।

० प्रमोसन हुनका लागि सुटकेश होइन, बोरामै पैसा बोक्नुपर्ने रहेछ भनेर तपाईंले अभिव्यक्त गर्नुभएको थियो । डिआइजी बढुवा हुने समयमा कहाँ कहाँबाट रकम मागिएको थियो ?
– रमेश खरेलले सुटकेश बोक्नुपर्ने रहेछ भनेका थिए । मैलेचाहिँ सुटकेश होइन, बोरै चाहिने रहेछ भनेर लेखेको थिएँ, सामाजिक सञ्जालमा । एक वर्ष डिआइजी हुनु छ, ४०÷५० लाखसम्म मागिएको छ ।

० बढुवा समितिबाट मागिएको थियो त्यो रकम ?
– मैले एक–दुई जनासँग कुरा गर्दा पैसा खर्च गर्नुपर्छ भन्ने जवाफ आउँथ्यो । तिनको नामचाहिँ नखुलाऔं । सचिवज्यूको लेभलबाट पनि माग भयो । मेरो बढुवा नहुनुपर्ने कारण के त ? पैसामा अड्किएको न हो † मैले तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिललाई दुईपटक भेट्दा ‘तपाईंको फाइलै बढेर आएको छैन, फाइल आओस्, राति १२ बजे पनि गरिदिन्छु’ भने । गृहसचिव लोकदर्शन रेग्मीलाई तीनपटक भेटेँ । सधैं चपाएर कुरा गर्ने । आइजिपीलाई दश पटक भेटेँ । नगर्ने कोही पनि नभन्ने । त्यसपछि लेनदेनको कुरा हो ? भनेर सोधेँ । ‘सचिवलाई भेट्नुस्’ भनेर पन्छिने । पछि सचिव निकटका एक जना मान्छे लगाएँ । उहाँले कता–कता मिलाउनुपर्दछ, त्यसैले ‘खर्चपर्च’ भनेर पठाउनुभएछ । पछि एक जना अफिसरले ‘बूढानीलकण्ठतिर मिलाउनुपर्दछ रे, सक्नुहुन्छ भने गर्नुस्, नत्र छोडिदिनु नै बेश हुन्छ’ भन्नुभयो । म डिआइजी बन्न तीन सय पनि खर्च गर्दिनँ भनेर फेरि श्रीमतीको उपचारका लागि अस्पतालतिरै लागेँ । उनलाई एक–एकछिनमा केमो दिनुपर्ने । दिल्ली–काठमाडौं सातपटक ओहोर–दोहोर गरेँ । प्लेन खर्चमा मात्रै एक लाख सकियो ।

० अदालत जानुभयो । त्यहाँबाट पनि न्याय पाउनुभएन होइन ?
– जेठको ९ गते (०७४ साल) अदालतमा रिट दिएँ । प्रमोसनमा ढिलाइ गरिँदा ३० बर्षसम्म प्रहरीमा सेवा गरेको क्यान्डिडेटलाई अपूरणीय क्षति हुने हुँदा तत्कालै बढुवाको प्रक्रिया अघि बढाउन्ु भन्ने अन्तरिम आदेश जारी भयो, १० गते नै । गृहसचिव र आइजीपीले सबैभन्दा पहिला कस्तो परमादेश जारी भयो भनेर लिन पठाउनुभएको थियो । त्यो परमादेश लुकाइयो । ०७५ जेठमा सपनामल्ल प्रधान र डम्बरबहादुर शाहीको इजलाशबाट त्यो मुद्दा जितेँ । मलाई क्षतिपूर्ति दिन भनिएको थियो । डिआइजीको फुली लगाउन नपाए पनि डिआइजी बराबरको सेवासुविधा दिनु भनेको थियो कोर्टले । प्रधानमन्त्री कार्यालयदेखि गृह, आइजिपी कार्यालय सबै निकायमा पुगेँ । दुई वर्षसम्म कराउँदा पनि न्याय पाइएन । तर, क्षतिपूर्ति दिने व्यवस्था कहीँ कतै नभएको पत्र थमायो गृहले ।

० तपाईंलाई सिध्याउनै खोज्नुको कारण के थियो ?
– म धरानमा एसएसपी थिएँ, नवराज सिलवाल विराटनगरमा डिआइजी । एसएसपीको नाताले डिआइजीलाई सहयोग गर्नु मेरो कर्तव्य । त्यसअघि नै जिप्रका सुनसरीमा ३० महिना बसेको । कोशीको बाढी, मधेश आन्दोलन सबै मैले व्यहोरेको हो । आत्मविश्वासका साथ भन्छु कि, मैले एक कल फोन गर्दा धरान–सुनसरीमा जस्तोसुकै समस्या निवारण हुन्थ्यो । पछि आइजीपी प्रकाश अर्याललाई लाग्यो होला, यो त नवराज सिलवालसँग नजिकको मान्छे, यसलाई सिध्याउनुपर्छ भनेर । प्रकाशले नवराजलाई थुन्नै खोजेको । भित्री कारणचाहिँ पैसा नै हो । होइन भने तपाईं यो–यो कारण अयोग्य भन्ने जवाफ त दिनु पर्ने हो नि †

० हालै भएको प्रहरी बढुवा कस्तो लाग्यो ?
– बाहिरबाट हेर्दा बिना चलखेलको । ठाकुर ज्ञवाली सरको अवधि ५ महिना मात्र छ । उहाँलाई ५ महिना मात्र हो, किन चलखेल गर्नु भन्ने लाग्यो होला । उहाँको चरित्र पनि त्यस्तो होइनजस्तो लाग्छ । उहाँपछि दोस्रो, तेस्रोका प्रतिस्पर्धी पनि सिध्याउनै पर्दछ भनेर लाग्नुभएन । बरु, अब हुने एआइजीको बढुवामा चाहिँ कसरत होलाजस्तो देखिन्छ ।

० दिल्ली दूतावास बस्दाको उपलब्धि के–के रहे ?
– त्यहाँ एक जना एसएसपी, नेपाली सेनाको एकजना जर्नेल र गुप्तचर रहने हो । गुप्तचरले राजनीति हेर्ने, सेना सेरेमोनियल । प्रहरीले गर्ने काम धेरै छ । मैले त जहाँ–जहाँ नेपाली धेरै गएका छन्, ती देशमा नेपाल प्रहरी खटाउनुपर्छ भनेर प्रतिवेदन नै दिएको छु । दिल्लीमा कामै नगरी बसे पनि हुन्छ, काम गर्ने हो भने धेरै काम छ । सुरक्षाकर्मीसँगको लिगेसी धेरै ठूलो कुरा हो । मलाई मभन्दा अघिको एसएसपी राजेन्द्रमान श्रेष्ठले धेरै सहयोग गर्नुभयो । एक हप्ता त्यहाँ बसेर सबैसँग चिनजान गराइदिनुभयो । आइबीको डेपुटी डाइरेक्टर, क्राइम ब्राञ्चका चिफहरु लगायतसँग चिनाइदिनुभयो । त्यही कारण कुवेत जान लागेका नेपाली चेलीको उद्धार गरियो । २० महिना बस्दा धेरै मान्छेलाई बचाइयो । फ्रड केशहरु जस्तो फेसबुकबाटै साथी बनाउने, १५ देखि २० लाख खातामा हाल्न लगाउने अनि त्यहाँ पुग्दा मान्छे नहुने । त्यसमा नाइजेरियाको गिरोहलाई दिल्लीबाट समातियो । हामीसँग दिल्लीमा स्रोत साधन छैन । प्रहरीको एउटा गाडी पनि छैन ।

० अनुसन्धानमा प्रहरी किन चुक्छ ? जस्तो निर्मला हत्या प्रकरण ?
– म धनुषामा हुँदा पत्रकार उमा सिंहको हत्या भयो । तीन दिनदेखि लाश उठिरहेको थिएन । त्यतिखेर कृष्णबहादुर महरा सञ्चारमन्त्री हुनुहुन्थ्यो । सिडिओ कार्यालयमा ‘कमिटमेन्ट गरिदिनुस् म अपराधी पत्ता लगाएरै छाड्छु भनेर, अनि लाश उठ्छ’ भन्नुभयो । मैले कमिटमेन्ट गर्नु भनेको अपराधी लुकाउनु हो । कमिन्टमेन्ट गर्दिनँ किनकि मैले अपराधी लुकाएको छैन । तर, अहोरात्र खटिएर एक महिनाभित्र यो केशको सत्यतथ्य पत्ता लगाउन सकिनँ भने नेपालको नालायक एसपी भन्नुस्, एक महिना एक दिनभित्र जनकपुर छाडेर जान्छु भनेको थिएँ । यादव थरका मुख्य योजनाकार जो, फरार छन् । तिनको भाउजु, बुदन महतो, नेमलाल पासवानलगायत यसमा संग्लग्न व्यक्तिहरुलाई १६ दिनभित्रैमा पक्रियौं । अपराध अनुसन्धानमा हतार गर्नु हुँदैन । बलात्कार भयो, प्रमाणले पुष्टि गर्ने हो । जहाँ भिडको दबाबमा अनुसन्धानकर्ताले छिट्टै रिजल्ट निकाल्न खोज्छ, त्यहाँ असफल हुन्छ । निर्मला काण्डमा राज्यलाई प्रेसर भयो । प्रहरीले हतार ग¥यो । भेजिनल स्वाब र डिएनए टेष्ट गराउनेबाहेक अरु प्रमाण त केही छैन । एक्सपोज गर्नलाई हतार भएका कारण यस्तो भयो । मान्छेहरु अनुसन्धान कहाँ पुग्यो भनेर सोध्छन् । उमा सिंहकै केशमा मलाई प्रश्न राख्थे । म ढल्केबर पुग्यो भनेर जवाफ फर्काउँथें । अनुसन्धान किलोमिटर, मिटरमा नापिने कुरा होइन । हामी जति हतार गर्छाैं, त्यति नै अनुसन्धान अप्ठ्यारोमा पर्छ ।

० पदमा रहँदा आफूले गुण लगाएका मान्छेहरुको व्यवहार आज पदबाट बाहिर हुँदा कस्तो पाउनुभएको छ ?
– मान्छेको स्वभाव जन्मँदै स्वार्थी हुन्छ । केही प्रतिशत स्वार्थी छैनन् । फोर्सकै साथीहरु, कोही फोनै उठाउँदैनन् । केहीलाई सानो काम लगाए पनि बहालवालाको जस्तै गरी काम गरिदिन्छन् । कोही हुन्छ भन्छन् । गर्दैनन् । संगठनकै साथीहरुको नेचर त्यस्तो छ भने अरुको कुरा नगरौं ।

० जीवनमा एकसाथ भंयकर पीडा प¥यो । एकातिर डिआइजी बन्न दिएनन् । त्यही समयमा उमेरमै पत्नी बियोग झेल्नुप¥यो । एक्लो जिन्दगी कसरी चल्दैछ ?
– सहज रुपमा लिनुपर्ने रहेछ । जीवनको उत्तराद्र्धमा दुर्घटना भयो । जे भयो त्यसलाई चिन्ताले चितासम्म पु¥याउँछ भन्छन् । बिहान दुई तीन घण्टा स्वास्थ्यका लागि व्यायाममा खर्चन्छु । दिउँसो कन्सलटेन्टका रुपमा काम गर्छु । सक्दो आफूलाई व्यस्त राख्ने प्रयास गर्छु । जीवनमा जे नहुनुपर्ने, भइसक्यो । चित्त दुखाएर पनि ती चिज फर्कंदैनन् । मसँग जो छन्, बच्चाहरु तिनका लागि भए पनि आत्मसन्तुष्टि लिएर काम गर्नुपर्छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
कोरोना भाइरसको कारण ६९ हजारको मृत्यु, १३ लाख संक्रमित

  कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार

बेलायतका प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

  बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल

स्वास्थ्य सामाग्री सरकारले सोझै खरिद गर्ने, संकटमा बिरामीको जिम्मा सेनालाई

  कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि अतिआवश्यक स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत र

महाकालीपारि हजार नेपालीको दुर्दशा, भन्छन् आफ्नै देशले अवहेलना गर्‍यो, विदेशीबाट के आशा गर्ने ?

  भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपालीले आफ्नो सरकारप्रति दुःख व्यक्त