रावलजीले यता आएर सरकारको आलोचना र निन्दाबाहेक अरु के गर्नुभएको छ र ?



 

 

तपाईको पार्टीका नेता भीम रावलले भन्नुभयो, मलाई बालुवाटारबाट मार्ने धम्की आयो । किन तपाईहरुले उहाँलाई मार्न चाहनुभयो ?
– उहाँले एउटा टेलिभिजन कार्यक्रममा यसढंगले बोलेको एउटा गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक भएपछि मैले भनेको छु, उहाँले सपनामा वा निद्रामा त्यस्तो वा तन्द्रामा त्यस्तो देख्नु भएको होला । तर कसले सोच्नसक्छ कि भीम रावलजत्तिको वा कोही पनि मान्छेलाई बालुवाटारबाट ज्यानको धम्की दिने ? उहाँलाई भनिएको कति हो भने, उहाँको कथित कवितामा तथ्यहीन, आत्मभत्र्सना गरिएको, तथ्यको भ्रष्टीकरण गरिएको, निन्दा गरिएको र बालुवाटारबाट कालो मुस्लो धुवाँ निस्कियो भन्ने तथाकथित कविताको मैले आलोचना गरेको हो । र, म प्रष्ट भन्न चाहन्छु, रावलजी यो सरकार बनेयता कुनै एउटा विन्दुमा पनि सरकारको प्रतिरक्षा, सरकारको राम्रो कामको समर्थनमा होइन यस्तै वाहियात कुराहरु गरेर सरकारलाई बदनाम गर्ने, सरकारका कामहरुलाई विवादित बनाउने, कमीकमजोरी छन् भने तिनलाई अतिरञ्जना गर्ने र सरकारलाई लोकप्रिय हुनबाट जनताको ध्यान अन्यत्रै मोड्ने गलत काममा तल्लीन हुनुहुन्छ । खासगरी सत्तारुढ दलको नेता, सांसद होइन, तमाम आफ्ना कुण्ठाहरुले भरिपूर्ण भएर प्रतिपक्षभन्दा पनि अझ दुई कदम अगाडि बढेर बोल्दै र गतिविधि गर्दै आउनुभएको छ । एक होइन अनेक प्रकरणमा उहाँको यस्तो गलत रवैया उदांगै भएको छ ।

 

अनेक काण्डहरुको पर्दाफास गर्नुभएको छ भीम रावलजीले ?
– पर्दाफास गर्ने जिम्मेवारी उहाँलाई कसले तोकेको छ ? यस्तो जिम्मेवारी कुन तत्वले दिएको छ ? उहाँ देशभक्त अरु सबै देशघातीजस्तो गरी जसरी प्रस्तुत भइराख्नुभएको छ, योभन्दा वाहियात र तथ्यहीन कुरा केही पनि होइन । बालुवाटारबाट उहाँलाई किन धम्की दिनु ? सूर्य थापा कसैको हत्याको, धम्कीको कुरामा विश्वास गर्दैन । भीम रावलजी अगुवापछुवा सुरक्षा घेरामा डेढ दर्जनभन्दा बढी सुरक्षाकर्मीसहित सरकारी प्रबन्धमा नै सुरक्षित हुनुहुन्छ । उहाँ रक्षामन्त्री, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेको मान्छे हो । उहाँलाई हामीजस्ता मूलतः लेख्ने, पढ्ने काम गरेर आएका मान्छेहरुले धम्की किन दिने ? एउटा कुराचाँहि म तपाइलाई स्पष्ट भन्न चाहन्छु, हिजो राजकुमारी डायनालाई पापराजीहरुले जसरी घेरिरहेका थिए आज सरकार विरोधीहरुले, पार्टी विरोधीहरुले भीम रावलजीलाई त्यसैगरी घेरिरहेका छन् । यो मैले लेखेको स्टाटस हो, कुनै धम्की होइन । हत्या तथाकथित धम्कीको कुरा उहाँले गरेको अपव्याख्या हो । हत्याको धम्कीको कुरा गरेर नकारात्मक र असन्तुलित भइरहेको दिमागको हदमा पुग्न उहाँलाई नै जिम्मा दिउँ । अहिले भ्रम पैदा गर्ने गरी रावलजी जत्तिको नेतालाई राजपरिवारको घेराबाट जसरी डायनालाई पापराजीहरुले घेरेर उनलाई समाचारका लागि पछ्याउथे, रावलजीलाई पनि सरकार विरोधीको रुपमा विषयवस्तुलाई बंग्याउन त्यसैगरी पछ्याइरहेका छन् । यो उहाँले किन गरिरहनुभएको छ ? बुझ्नु भएको छ कि छैन भनेर मैले भनेको अवश्य हो । तथ्य के हो भने उहाँ एक्लो बृहस्पतिजस्तो बन्न आवश्यक छैन । पढाइलेखाइ भएका वा नभएका र तथ्य बुझ्ने धेरै मान्छे यहाँ छन् । रावलजी मन्त्री हुँदा असाथ्यै हर्षित हुनुहुन्छ, मन्त्रीबाट बाहिर हुँदा असाध्यै छट्पटिनु हुन्छ, यसो किन गर्नुभएको होला भनेर मैले भनेको हो । सरकारका राम्रा कामको पक्षमा, पार्टीको पक्षमा तर्कबहस र छलफल गर्ने दायित्व उहाँको पनि हो । प्रतिपक्षलाई उछिनेर वा माथ गरेर निराशा छर्ने, तथ्य बंग्याउने र आत्मनिन्दा गर्ने काम उहाँले गर्ने होइन, एक्लो बृहस्पतिजस्तो हुनखोज्ने काम गर्ने होइन है भनेको हो । यो त मैले अहिले पनि भन्छु ।

 

तर भीम रावलजीको प्रशंसा ह्वात्तै बढेको छ, राष्ट्रवादी नेता भनेर ?
– आज उहाँले जेजे बोलिरहनुभएको छ नि, भोलि चुनावमा जाँदा थाहा पाउनुहुन्छ– उहाँले बोलेका कुराहरु कसरी जनतामा प्रशारण गरिने छन्, सुनाइने छन् र पार्टीका बारेमा, सरकारका बारेमा, सरकारका कामहरुको बारेमा उहाँले भनेका कुराहरुलाई उहाँकै मतदाताहरुलाई दिगभ्रमित पार्नका लागि प्रयोग गरिने छन् ? उहाँ आज बोलिरहेका कुराहरु त्यसका निम्ति दुरुपयोग गरिने छन् । त्यतिखेर आज उहाँलाई विभिन्न उद्देश्यले उचाल्नेहरु कसैले पनि साथ दिने छैनन् । पार्टीका इमान्दार नेता कार्यकर्ताहरु, नेकपालाई माया गर्ने मतदाता अनि यो देशलाई माया गर्ने जनताले मात्र साथ दिने छन् । रावलजी तिनै जनताको बलमा यहाँसम्म आइपुग्नु भएको हो । रावलजीले लाइसेन्स दिएर देशभक्त हुने, अन्यथा नहुने होइन । देशभक्ति आफ्ना कर्मले, आफ्ना व्यवहारले, आफ्नो पौरखले, देशप्रतिको मायाममताले र देशप्रतिको इमान्दार सेवाभावले प्रकट हुने कुरा हो । यस्ता एकदुई प्रकरणमा म देशभक्त भएँ भनेर हिजो पनि अनेकन् मान्छे निस्किएका थिए । तिनीहरुले आफूलाई कति टिकाए ? आज कहाँ छन् ? रावलजीलाई देशभक्तका रुपमा यो पार्टीले नै चिनाउने हो । पार्टीको संरचनाले चिनाउने हो । व्यक्तिका रुपमा एक्लो बृहस्पति बनेर, सरकारको निरन्तर आलोचना गरेर उहाँका एजेण्डाहरु आज के भएका छन् ? सिके राउतलाई बिखण्डनकारी धन्दाबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउँदा उहाँको किन टाउको दुख्छ ? शून्य उपस्थिति भएको ठाउँमा २ वटा सिट लाभ हुने गरी राजपासँग भएको सम्झौतामा उहाँको किन चित्त दुख्छ ? अनि देशभक्तिको कुरा किन ठाउँ कुठाउँ ? मचाँहि यो प्रश्न सोध्न चाहन्छु ?

 

होलीवाइनको कुरा उहाँले गर्नुभएको होइन ? चीन जाँदा गल्ती भयो भन्नुभएको होइन ?
– चीन जाँदा के गल्ती भयो ? उहाँले के के भन्नुहुन्छ, त्यतातिर नजानुस् । रावलजीका तर्क, तथ्यहरुका आधार खोज्दै जानुभयो भने, अरु नबोल्दासम्म उहाँले केही भ्रम पार्नुहुन्छ, त्यत्ति हो । के उहाँले एमसीसीअन्तर्गतको सहयोग नलिने भनेर भन्न सक्नुभएको छ ? एमसीसी कुनै सैन्य गठवन्धनको विषय होइन । योचाँहि आइपीएसको धारणा आउनुभन्दा अगाडि नै दुई देशबीच सहमति भएर एमसीए भएको स्पष्ट छ । हामी जुन एमसीएको प्रक्रियामा बढेका छौँ, यो आवद्यिक रुपमा ५ वर्षका निम्ति सम्झौता भएको विषय हो । ५ वर्षसम्मको अवधि तोकिएको कार्यक्रम हो । काठमाडौँको लप्सेफेदीदेखि, नुवाकोटको रातामाटे, दमौली, हेटौँडा, बुटवलहुँदै नेपाल–भारतबीच अन्तरदेशीय विद्युत प्रशारण लाइन, केही सडकको स्तरोन्नतिलगायतका कामहरु हुनेछन् । यसलाई गलत रुपमा चीनलाई घेरा हाल्ने, नेपालमा अमेरिकी सैनिक ल्याउनेजस्ता तथ्यहीन र मनगढन्ते कुरा उछालेर विषयान्तर किन गर्ने ?

 

नेपालमा सन् १९३७ पछि वैदेशिक सहयोगको कुरा आयो । १९४७ पछि अनुदान आए । ४० भन्दा बढी एजेन्सीसँग १ लाखभन्दा बढी सम्झौता भएका छन् । कुन सम्झौतामा दाताको रुचि हुँदैन ? कुन सम्झौतामा राजनीतिक कुरा हुँदैन ? कुन सम्झौतामा व्यापारिक कुरा हुँदैन र कुन सम्झौतामा आर्थिक एवं मानवीय सरोकाराको कुरा हुँदैन ? यी सबै कुरा हरेक सम्झौतामा अन्तरनिहीत हुन्छन । अमेरिकाको विषयमा पनि यो अहिलेको सरकारले ल्याउन खोजेको विषय होइन । सन् २०१७ मे मा वासिङटनमा भएको सम्झौताअनुसार यो अगाडि बढेको हो । नेपालको अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणका निम्ति लगानी हुने कुरा हो । यसमा इण्डोप्यासिफिकको कुरै छैन । संझौतामा हुँदै नभएको कुरा उछालेर भ्रम छर्नु रावलजीको बकवास मात्र हो ।

 

भीम रावलजीले त धेरै खतरनाक छ भन्नुभएको छ ?
– के मा खतरनाक ? यसमा सैन्य गठबन्धनको कुनै कुरा छैन । एमसीसीअन्तर्गत विश्वका ४६ भन्दा देशहरुले अनुदान प्राप्त गरेका छन् । उहाँ पनि अमेरिका र नेपाल सहमत भएर गरिएको सम्झौता हो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की २०१७ मे मा वासिङटनमा गएर सम्झौता भएको छ । झलनाथ खनाल प्रधानमन्त्री हुँदा टिफाको एउटा बैठकमा जानुभएका तत्कालीन उपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीले यसको शुरुवाती वातावरण बनाउनु भएको थियो । त्यसबेला माओवादीका कारण फिर्ता भएको पिस्कोरलाई फेरि ल्याउने र एमसीसीअन्तर्गतको सहयोगका लागि उहाँ लाग्नुभएको थियो । हिजो अमेरिकाले औँलो उन्मूलन लगायतका थुप्रै कार्यक्रमका निम्ति सहयोग गरेको छ । वि.सं २००९ सालयता अमेरिकाले थुप्रै योजनाहरुमा सहयोग गर्दै आइरहेको छ । के हामी अमेरिकासँग कुनै सहयोग लिन्नौँ भन्न सक्छौं त ?

(सूर्य थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकार )

 

रावलजीले नबुझी तर्क गर्नुभएको होला त ?
– उहाँले एउटा यस्तो पनि तर्क गर्नुभएको छ, जस्तोकि अन्तरदेशीय विद्युत प्रशारण लाइन, दमौली, पाल्पा, हेटौडा, बुटवल हुँदै किन गयो ? सुदुरपश्चिम वा कर्णाली हुँदै किन गएन ? यस्ता कुतर्क पनि गर्नुभएको छ । यस्ता कुतर्कका पछि लाग्ने होइन । नेपाल र अमेरिकाको पारस्परिक सहमतिका आधारमा भएको सम्झौता हो । सम्झौतमा नभएका कुराहरु उछालेर दुई देशबीच भएको सम्बन्धलाई बिगार्न खोज्ने ? हिजो ५० अर्ब डलर अमेरिकाले सहयोग गर्ने भनेर घोषणा हुँदा नेपालका कुनै राजनीतिज्ञ बोलेका छैनन् । रावली पनि बोल्नुभएको छैन । सबै खुशी छन् । सबै मिडियाले खुशी मनाएका छन् । पुरानो इतिहासलाई फर्केर हेर्नुहोस न । आफ्ना अरु असन्तुष्टि वा कुण्ठाहरु यस्ता सहमतिमा जोड्दै उछाल्ने काम गर्नु आवश्यक छैन । उहाँको यसखाले नियत सबैले बुझेका छन् ।

 

रावलजीको तर्क आएको छ, यो सरकारले धेरै गलत काम गरेको छ …?
– चीनसँग नाकाहरु खोल्ने, उत्तर–दक्षिण करिडोरहरु विस्तार गर्ने, बन्दरगाहसम्म जाने सुविधा ल्याउने, पारवहन सन्धि गर्ने काम राष्ट्रघात हो भने राष्ट्रवादको परिभाषा बदल्नुपर्ने भयो ! उहाँले त्यसो भन्नुभएको छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन । नेपालमा जुद्धसम्शेर प्रधानमन्त्री भएको बेलाजस्तो किताबका कुरा पढेर आफूलाई त्यही समयका पात्रमा फिट गर्ने खालको कुरा नगरे हुन्छ । गद्दार काउत्की पढेर मोहनविक्रम सिहले गद्दार पुष्पलाल लेख्नुभयो । तर मोहनविक्रम सिहले आफ्नो जीवनमा नै त्यो गल्ती सच्चाउनुपर्ने भयो । रावलजीले पनि किताबमा पढेका आधारमा आफूलाई हिरोका रुपमा प्रस्तुत गर्ने प्रयाश गर्न आवश्यक छैन । उहाँ उपप्रधानमन्त्री हुँदा, पर्यटनमन्त्री हुँदा, रक्षामन्त्री, गृहमन्त्री, हुँदा वा कृषि र वनमन्त्री झलनाथ खनालकोे स्वकीय सचिव हुँदा के गर्नुभयो ? विभिन्न समितिमा हुँदा के गर्नुभयो ? चन्द्र शम्शेर राणाले सतीप्रथा उन्मूलन गरे । कमराकमारी प्रथा उन्मूलन गरे । रावलजी हाम्रो पार्टीको नेता हुनुहुन्छ । सुदुरपश्चिम क्षेत्रमा आज पनि छाउपडी प्रथा छ भन्दा उहाँ किन बुरुक्क उफ्रिने ? त्यसको अन्त्य गर्नका निम्ति उहाँको के भूमिका रह्यो त ? उहाँजस्ता नेताहरुको के भूमिका रह्यो त ? आफूले टेकेको जमिन र आफूले खामेको आकाशमा उभिएर भूमिका खेल्ने होइन र ? सामाजिक परिवर्तनमा सकारात्मक भूमिका खेल्ने हो भन्ने कुराको हेक्का राख्नुपर्छ कि पर्दैन ?

 

तर भीम रावलजीले सरकारको आलोचना गर्दा तपाईहरु किन डराउनुभएको ?
– सरकारको आलोचना गर्नका निम्ति उहाँ किन प्रेरित हुनप¥यो ? प्रतिपक्षभन्दा तीन कदम अघि बढेर उहाँ किन प्रेरित हुनप¥यो ? आकाश खस्न आँट्यो जस्तो के काम भएको छ र आलोचना गर्नुप¥यो ? रावलजीले धेरै आत्मकेन्द्रित भएर सरकारले गल्ती ग¥यो भन्दै भ्रमको हावाहुरी सिर्जना गरेर केही हुन्न । सरकारले गरेका कामहरुको सन्दर्भमा सरकार जवाफदेही छ । प्रधानमन्त्रीज्यूले नेतृत्व गरेको यो सरकारले गरेका कामहरुको बारेमा सिंगो सरकार, पार्टी जवाफदेही भएर अगाडि बढ्ने काम हुन्छ । उहाँले आफ्ना कुराहरु आफ्नो ठाउँमा राख्न पाउनुभयो । तर अहिले परिस्थिति कस्तो छ भने, मानौं भीम रावलजी नभइदिएको भए देशभक्तिको कुरा कसले उठाइदिन्थ्यो जस्तो गरिरहनु भएको छ । यस्ता वाहियात कुरा नगरौँ । केपी शर्मा ओली नेतृत्वको सरकारका कामहरु देशको हितमा भएनन्, अनि रावलजीले देशभक्तिको कुरा गरेर मानौँ यो देश चलेको छ, राष्ट्रियता जोगिएको छजस्तो कुरा नगरौँ । उहाँले सरकारलाई कहाँ समर्थन गर्नुभयो ? पार्टीलाई कहाँ प्रतिरक्षा गर्नुभयो ? यो मूल विषय हो । उहाँ मन्त्री हुँदा सबै राम्रो हुने, मन्त्री नहुँदा सबै नराम्रो हुने त होइन नि ! यस्तो पनि हुन्छ ?

 

रावलजी रक्षामन्त्री र गृहमन्त्री हुँदा कालापानीमा भारतीय सुरक्षा फौज थियो त ! उहाँको जानकारीमा त्यो थियो त ! उहाँले चुइक्क कतै कुरा उठाउनुभयो त ? कँही उठाएको नोटिसमा छ ? कँही सीमा सुरक्षा पोष्ट राखेको निर्णय छ ? अहिलेको सरकारले त ११४ स्थानमा सीमा सुरक्षा पोष्ट राख्ने निर्णय गरिसकेको छ । आज कालापानीमा के भइराखेको छ ? त्यहाँको स्थलगत स्थिति बुझ्नुस न ! कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता क्षेत्रमा सीमा समस्या छ । दुबै देशका प्रधानमन्त्रीको तहमा कुरा भएर सीमा समस्या छ भन्ने साझा स्वीकारोक्ति छ । अकस्मात् भारतले राजनीतिक नक्सा सार्वजनिक ग¥यो । त्यो नक्साचाँहि अहिले होइन, शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा जारी गरिएको नक्सा नै हो । त्यसपछि परराष्ट्र मन्त्रालयले एकतर्फी रुपमा सार्वजनिक गरेको नक्सा स्वीकार्दैनौ भन्यो । प्रधानमन्त्रीज्यूले सर्वदलीय, सर्वपक्षीय बैठक बोलाएर त्यो नक्सा मान्दैनौं भनेर कूटनीतिक पहलद्वारा टुंग्याउने भन्नुभयो । जनवरी १ मा भारतका प्रधानमन्त्रीले टेलिफोन गर्नुहुँदा पनि प्रधानमन्त्रीज्यूले यस विषयमा कुरा राख्नुभएको छ । र, यो विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा समाधान हुन्छ । हामी नेपालको एक इन्च जमिन कसैलाई दिन्नौं र कसैको एक इन्च जमिन लिन पनि चाहन्नौं ।

 

रावलजीलाई तपाइहरुले साँच्चिकै किन कमजोर बनाउन खोज्नुभयो ?
– उहाँ हाम्रो नेता हो । स्थायी कमिटीको सदस्य रहनुभएको छ । पटकपटक मन्त्री भइसकेको अनुभवी मान्छे हो । अहिले पनि देशका विशिष्ट व्यक्तिहरुले पाउने सुरक्षा घेरा, सुरक्षापंक्ति, अगुवापछुवासहित सुरक्षित व्यक्तित्व हो । स्टन्टवाजी र वाहियात कुरा नगरौँ । उहाँलाई धम्की दिने कुरा कसैले गरेको छैन । उहाँले डायना बनाउन खोजियो भन्दै अपव्याख्या गर्दै हिड्नुभएको छ । ‘म गर्छु आग्राको कुरा, उहाँ गर्नुहुन्छ गाग्राको कुराजस्तो’ गर्दै किन हिड्नुप¥यो ? भीम रावलको सुरक्षा यही सरकारले गरिरहेको छ नि । उहाँलाई किन धम्की दिनुप¥यो ? कार्यविधिभन्दा धेरै सुरक्षापंक्ति उहाँले पाउनुभएको छ । बालुवाटारबाट धम्की दिनुपर्ने के जरुरत प¥यो ? बालुवाटारलाई उहाँले यसढंगले किन गलत चित्रण गर्न खोज्नुभएको छ ? बालुवाटार कोही उहाँको दुश्मन बस्ने ठाउँ होइन । देशका प्रधानमन्त्री, पार्टी अध्यक्ष, उहाँको पार्टीले बनाएको र नेपाली जनताले चुनेको प्रधानमन्त्री बस्ने ठाउँ हो बालुवाटार ! आफू मन्त्री नहुनेबित्तिकै यो तहको अपव्याख्या गर्नु कत्तिको सान्दर्भिक हुन्छ ?

 

उहाँले मदन भण्डारीको जस्तै हत्याको कुरा उठाउनुभएको छ ?
– उहाँ भीम रावलजस्तै भएर चल्नुहोस् । मदन भण्डारी, पुष्पलाल, कृष्णलाल, लेखनाथ वा अरु सम्मानित व्यक्तित्वजस्तो त उहाँ हुँदै होइन । उहाँ भीम रावल मात्र हो । उहाँले विषयवस्तुलाई यसरी विषायन्तर गर्नु आवश्यक छैन । सरकारलाई खुइल्याउने हिसाबले चलिरहँदा उहाँ देशभक्त भएको, राष्ट्रवादी भएको धेरैलाई लागेको होला, तर यो सब मिथ्या प्रपञ्च हो । उहाँ हाम्रो पार्टीको नेता, स्थायी कमिटी सदस्य, लामो समयदेखि पार्टीमा लागेको नेता, सुदूरपश्चिम प्रदेशमा पार्टीले भरोसा गरेको एक नेता र इन्चार्ज हो । त्यसैले उहाँले आफूले टेकेको जमिनलाई किन बिर्सनुहुन्छ ? उहाँप्रति म आक्रामक छैन । पार्टी कामको एउटा सन्दर्भमा उहाँले मिडिया ब्रिफिङ गरेपछि पार्टीको प्रवक्ताजस्तो गर्ने काम उहाँको होइन । म पार्टीको प्रचार विभाग उपप्रमुख भएको नाताले यो तरिका मिलेन भनेको थिएँ । त्यसपछि व्यक्तिगत रुपमा उहाँ मेराबिरुद्ध विभिन्न तवरले लाग्नुभयो । कहिले १० महिनाको बालक हुनुहुन्थ्यो भन्नुभयो । मभन्दा अगाडि उहाँ जन्मिनु भयो त त्यसमा मेरो के दोष भयो ? उहाँले कुनै एउटा पर्चा छर्दा म १० महिनाको थिएँ त त्यसमा मेरो के अयोग्यता भयो र उहाँको कुन त्यत्रो योग्यता भयो ? मान्छे पहिले जन्मिन सक्छ वा पछि जन्मिन पनि सक्छ । पछि जन्मेका मान्छेले सही कुरा गर्नैहुन्न त ? रावलजीलाई कुनै अपमान, असम्मान गरेको होइन । मानमर्यादा गरेकै हो । तर यो तहको असहिष्णुता र मपाईँत्वको प्रदर्शन गर्न के जरुरत छ ? कहिले बालुवाटारका जागिरे भनेर अन्तर्वार्ता दिनुहुन्छ । उहाँले जस्तो विदेशी नियोगमा जागिर खाँदै हिडेको त होइन । अनि कहिले यस्ता पातहरुले भनेर मलाई केही फरक पर्दैन भन्दै नानाथरी लेख्नुहुन्छ । कहिले मलाई धम्की दिइयो भन्नुहुन्छ । उहाँको कुरामा किन सन्तुलन छैन ? उहाँको शैली किन यस ढंगले आत्मभत्र्सनामा लिप्त भइरहेको छ ? मचाँहि सोध्न चाहन्छु ?

 

तर आजको दिनमा उहाँकोे लोकप्रियता नाप्नुभएको छ ?
– यो क्षणिक कुरा हो सुन्निएकोजस्तो । यस्तो लोकप्रियतालाई सरकार विरोधी र पार्टी विरोधीहरुले प्रतीकका रुपमा उभ्याउन सक्छन् नि त ? उहाँलाई नेता त पार्टीपंक्तिले नै बनाएको हो । पार्टीका सदस्यहरुले नै बनाएको हो । हामीले नै भोट हालेर बनाएको हो । उहाँले जुन सार्वजनिक जीवन बिताइरहनुभएको छ , यो के कुनै भिंडले बनाइदिएको हो र ? यही पार्टीले त्यो हैसियत प्रदान गरेको हो । पटकपटक मन्त्री यही पार्टीले बनाएको होइन ? अर्थात्, उहाँ यही पार्टीको उत्पादन हो । पार्टी बनाउन उहाँ मात्र होइन, सबै सदस्यको भूमिका उत्तिकै छ । उहाँभन्दा धेरै पार्टीमा योगदान गर्ने थुप्रै व्यक्तिहरु कुनै जिम्मेवारी नपाइकन पनि कुनै गाउँ र कुनामा क्रियाशील भई आस्थाको दियो निरन्तर बालेर बसिरहेका छन् । उहाँले जति अवसर नपाएर पनि कैयौँ नेता कार्यकर्ताहरु गाउँमा सक्रिय र आधार बनेर बसेका छन् ।

 

उसो भए भीम रावललाई खतरा छैन सरकारबाट ?
– केही खतरा छैन । उहाँलाई सरकारले नै १८ जना प्रहरी उपलब्ध गराएको छ । पछुवा गाडी छ । कार्यविधिले ३ जना सुरक्षाकर्मी दिने भने पनि उहाँलाई यति धेरै सुरक्षा प्रदान गरिएको छ । देशको संवेदनशील क्षेत्रको नेतृत्व गरेको नाताले उहाँले यो सुविधा पाउनुभएको छ । सरकारले सुरक्षाको भरपर्दो प्रत्याभूति दिलाएको छ । तर उहाँले स्टन्टवाजीचाँहि बन्द गर्नुपर्छ । आफ्नै सहयोद्धाले धम्की दिएकोे भन्ने ढंगले सोँच्नु खासमा उहाँमा बढिरहेको नकारात्मक सोंचको पराकाष्ठा र आत्मनिन्दाबाहेक केही होइन ।

प्रतिक्रिया दिनुहोस
निजी स्कुलमा साउन १ देखि अनलाइन कक्षा बन्द

  निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन्

यी हुन् भगवान राम जन्मभूमी अयोध्या नेपालमै रहेका प्रमाण

  प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम जन्मभूमी नेपालमै रहेको दाबी गर्दै भारतले

ओली र प्रचण्डबीच पुनः छलफल गर्ने सहमति

  साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयासमा सत्तारुढ नेपाल

काठ व्यवसायी सांसद प्रेम आलेलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  पूर्व काठ व्यवसायीले वैज्ञानिक वनमा भएको अनियमतिताबारेमा गरेको छानविन आफुहरुलाई मान्य नहुने