बेडरुमबाटै लाइभ ?



 

 

एक महिलाका श्रीमान् पत्नी र बच्चाको रेखदेख नगरी छुट्टै बस्दा रहेछन् । पत्नीको कुरा सुन्दा बच्चा जन्मिनुअघि नै उनीहरूको सम्बन्ध बिग्रिएको भन्ने बुझिन्छ । पतिले उनलाई आफ्नो बस्ने ठाउँ नभएको बताउँदै आएका रहेछन् । डेरा पत्ता लगाएर उनले कोठाको साँचो फोरिन् । साँचो फोर्दा आफू या केही आफन्त प्रत्यक्षदर्शी मात्र होइन साथमा क्यामेरावाला युटुबरहरू पनि लिएर गइन् । उनले ‘ल हेर्नु मेरो पतिको कोठा, यहाँ केटी लिएर आउँछ, यही कोठा हो जहाँ उसले केटी राख्छ’ भनिन् । बेडरुममा छिरेका मिडियाले क्यामेरा घुमाइ–घुमाइ वरिपरिका दृष्यहरू खिचे र देखाए ।

 

अर्को क्यामेरावालालाई तिनै महिलाले ‘ल हेर्नुस्, यी केटीहरू मेरा श्रीमानका प्रेमिका हुन्, यिनले छोडिसके तर फोटो राख्नुभएको रहेछ’ भन्दै फोटोहरू देखाइन् । केही महिलाका नामै लिएर ती अहिले कहाँ बस्छन् भन्ने जानकारीसमेत दिइन् । युट्युबमार्फत ती फोटोहरू, तिनका नाम, बस्ने ठेगाना सबै प्रशारण भए । आफूले जान्नै नपर्ने अर्काका ब्यक्तिगत कुरा मानिसहरूले सेयर गर्दै एकर्कालाई सुनाए, देखाए, अनि जे मन लाग्छ त्यही प्रतिक्रिया दिए ।

 

■ बाबुआमाको सम्बन्धबिच्छेद मुद्दा चलिरहेको पाँच वर्षको बच्चाको सुत्ने कोठा, घर–परिवारका सदस्यहरू को–कहाँ सुत्थे, कपडाहरू कहाँ राखिएका छन्, खेलौनाहरू कता छन् सबै युटुबमा आयो । युटुबरले बेडरुमको दराज खोलेर देखाउन भने, दराजभित्र के छ भनेर सोधे, घरवालाले देखाइदिए । ‘खान दिएनन्, लाउन दिएनन् भनेको कुरालाई लाइक कमेन्ट गर्ने ?’ भन्दै बच्चाकी हजुरआमाले बडो आक्रोशित मुद्रामा प्रश्न मात्र गरिनन्, हाम्रो कुरा सबै देखाइदिनुस पनि भनिन् । कौसी, कोठा, भऱ्याङ, ब्यक्तिगत जीवन बाँचिरहेका त्यो परिवारको गोपनियता के रह्यो ?

 

कसैको बेडरुम देखाउने अधिकार कुनै पनि मिडियालाई छैन । अपराध अनुसन्धानका क्रममा सम्बन्धित अधिकारीले बाहेक अरुले कसैको बेडरुममा पसेर त्यहाँ के छ खोजीनीति गर्न पाइँदैन । यसो गर्न मिल्दैन भन्ने हामीसँग मूल्य–मान्यता मात्र होइन कानून नै छ तर कानूनको प्रयोग भएको पाइँदैन । सामान्य छलफल, बहस र सम्झौतामा टुङ्गिन सक्ने नीजि कुराहरू जहाँ बसेर पनि हेर्न मिल्ने मिडियामा आउँदा त्यसको कहाँ, कसलाई, कतिबेला, कस्तो असर पर्छ भन्ने बारेमा सोचिएको छैन । आफ्नो जीवनमा भएका कतिपय घटनाहरू समयक्रममा मानिसले बिर्सन चाहन्छन् । कुनै पनि बेला हेर्न मिल्ने र हेर्नुपर्ने गरी सुरक्षित रहने यस्ता कुरा बारम्बार अगाडि आइरहँदा सम्बन्धित ब्यक्तिको मानसिक अवस्था के हुन्छ ? अहिले ‘लाइक कमेन्ट’को चिन्ता गरिएका घटना–प्रसङ्गहरूले भोलि मानसिक अवस्थामैं असर गर्न सक्छ भनेर सोचिएको छैन । जुन विषयमा सर्वसाधारण सबैले सचेत हुनु आवश्यक छ ।

 

हामीकहाँ ब्यक्तिको गोपनियताको हकसम्बन्धी कानून छ । गत २०७५ सालदेखि लागु भएको उक्त कानूनको प्रस्तावनामैं ‘प्रत्येक व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्याङ्क, पत्राचार तथा चरित्रसम्बन्धी विषयको गोपनियताको हकलाई सुनिश्चित गर्ने’ भनिएको छ । उक्त कानूनअनुसार कुनै पनि व्यक्तिलाई निजको निजी जीवनसँग सम्बन्धित जैविक वा आनुवंशिक पहिचान, लैङ्गिक पहिचान, यौनिकता, यौन सम्बन्ध, गर्भाधान वा गर्भपतन, कुमारीत्व, पुरुषत्व, नपुंशकत्व वा शारीरिक रोग जस्ता विषयको गोपनीयता कायम राख्ने अधिकार हुनेछ । कानूनको दफा ४ मा भनिएको छ, ‘कसैले कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने, आघात पुग्ने वा बेइज्जत हुने गरी त्यस्तो व्यक्तिसँग सम्बन्धित उपदफा (३) बमोजिमका कुनै पनि विषय लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन ।’

 

पारिवारिक गोपनीयताअन्तर्गत ‘दाम्पत्य जीवनको क्रममा पति र पत्नीबीच मात्र जानकारी हुने एकअर्काको गोपनीयतासँग सम्बन्धित विषय पति र पत्नीबीच चलेको मुद्दाका सन्दर्भमा आवश्यक भएको अवस्थामा बाहेक अनतिक्रम्य हुनेछ’ भनिएको छ । तर हामीकहाँ पतिपत्नीका गोपनियता भङ्ग हुने भनाई र बेडरुममा लिएका तस्बिरहरू मिडियामा अहिले छरपष्ट छन् । कानूनमा आवाससम्बन्धी गोपनियताको पनि ब्यवस्था छ । ‘कानूनबमोजिम खानतलासी लिन अधिकार प्राप्त अधिकारी वा निजको आदेशबमोजिम बाहेक कुनै पनि व्यक्तिको आवासमा प्रवेश गर्न वा गराउन वा खानतलासी लिन वा लिन लगाउन हुँदैन ।’ अहिले जसरी हामीकहाँ ‘उहाँका पतिको बेडरुममा छौँ या बच्चाको बेडरुममा छौँ’ भन्दै दृष्यहरू देखाइने गरिएको छ, कानूनतः त्यस्तो गर्न पाइँदैन ।

 

चरित्रसम्बन्धी गोपनियताको पनि कानूनी ब्यवस्था छ । भनिएको छ, ‘कुनै व्यक्तिको चरित्र, आचरण वा व्यवहारको सम्बन्धमा कुनै प्रश्न उठेमा त्यस सम्बन्धमा छानबिन गरी कानूनबमोजिम कारबाही गर्ने क्रममा बाहेक निजको चरित्रको सम्बन्धमा कसैले कुनै टिप्पणी गर्न हुँदैन । कसैले कुनै पनि व्यक्तिको चरित्रमा आघात पार्ने वा निजको बेइज्जती वा अपमान हुने गरी कुनै पनि प्रकारको काम कारबाही गर्न वा निजको आचरण वा व्यवहारसम्बन्धी कुनै पनि कुरा सार्वजनिक गर्न वा गराउन हुँदैन ।’ यस्ता अपराधमा कानूनले ३ वर्षसम्म कैद या ३० हजारसम्म जरिवानाको ब्यवस्था गरेको छ ।

 

हरेक मानिसका ब्यक्तिगत र सार्वजनिक सीमाहरू हुन्छन् । सार्वजनिक ब्यक्तिका पनि ब्यक्तिगत परिधिहरू हुन्छन् । ब्यक्तिगत जीवन बाँचिरहेका मानिसका पनि सार्वजनिक रूपमा गर्न मिल्ने–नमिल्ने कुराहरू हुन्छन् । हिजोको परिस्थिति फरक थियो, आजको यत्तिको छ, भोलिको अवस्था डरलाग्दो हुने देखिन्छ । सूचना प्रविधिले मानिसको जीवनमा जति अवसरहरू ल्याइरहेको छ, जोखिमहरू पनि त्यत्तिकै बढाइरहेको छ । हिजो एउटा चिट्ठी सम्बन्धित ब्यक्तिसम्म पुग्न महिनौँ लाग्थ्यो, अहिले बेडरुममा खिचेका फोटा र दृष्यहरू एकैछिनमा विश्वब्पापी भइरहेका छन् । हरेक मानिसले पल–पलमा सचेतता अपनाउनु पर्ने अवस्था छ । आफ्ना कुरा मिडिया या सोसियल मिडियामा राख्नुअघि यसको असर केसम्म पर्न सक्छ भनेर सोच्नु आवश्यक छ ।

 

नागरिक र राज्य दुवैका लागि साइबर अपराध भविष्यको ठुलो चुनौती मध्येको एक हो । यो चुनौतीको सामना गर्न सचेतता र कानूनको प्रयोग दुवै आवश्यक छ । ब्यक्तिगत गोपनियतासम्बन्धी कानूनको बारेमा कतिलाई थाहै छैन । राज्यले कानून बनाउने मात्र होइन, यसको बारेमा सर्वसाधारणलाई जानकरी दिने ब्यवस्था पनि गर्नुपर्छ । साइबर अपराध कम गर्नका लागि सूचना, प्रविधि सम्बन्धमा संसदमा पेश भएको ऐनमा विविध ब्यवस्थाहरू गरिएको छ । पास भएपछि यस्ता कुरामा उक्त कानूनको प्रयोग महत्वपूर्ण हुन्छ । बबिता बस्नेत घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस
कलैयामा युवाहरुको सहयोगी टिम : संयोजकमा मुकेश साह

  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसको संक्रमण बिरुद्ध बिश्व समुदाय जुद्धिरहेको छ

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

  कोरोनाभाइरस (कोभिड–१९)को उपचारमा अत्यवश्यक पर्ने मेडिकल सामग्री खरिदमा अनियमितता गरेको आरोपमा स्वास्थ्य

पूर्वराजाले कोरोना राहत कोषमा दुई करोड सहयोगको घोषणा

  पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना भाइरस संक्रमण, रोकथाम,

अस्ट्रेलियामा यस्तो छ नेपाली विद्यार्थीको अवस्था

  करिब ६२ हजार नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियामा कोरोना भाइरसका कारण लकडाउन भएपछि