रात्रिकालीन मनोरञ्जन क्षेत्रमा महिला : रहर कि बाध्यता ?



 

 

मनोरञ्जन भन्नासाथ सबैभन्दा सार्थक मनोरञ्जन महिला र पुरुषबीचको सम्बन्धमा गाँसिन पुग्छ । महिला र पुरुषबीचको सम्बन्धमा महसूस गरिनेजस्तो मनोरञ्जन अन्य कुनै पनि हुँदैन भन्ने मनोविज्ञान मानिसहरूमा पाइन्छ । तथापि पुरुषहरूका मनोरञ्जनका लागि महिलाहरूको रहर होइन बाध्यता पनि हुने गर्दछ । जो बाध्यता जीविकोपार्जनसँगसमेत जोडिएको हुन्छ ।

नुवाकोट घर भएकी अनुष्का तामाङ विगत चार–पाँच वर्षदेखि यस्तै मनोरञ्जन क्षेत्रमा काम गर्दै आइरहेकी छिन् । हरेक साँझ बेलुकी ६ बजे काममा जाने उनी रातको १२ बजेसम्म त्यहाँ काम गर्नुपर्ने बाध्यता सुनाउँछिन् । लामो समयदेखि उनी यस्तो मनोरञ्जन क्षेत्रमा डान्सर (नृत्याङ्गना) पेसा गर्दै आएकी छिन् । उनी अब त रातको समयमा पनि यस क्षेत्रमा काम गर्ने बानी परिसकेको जनाउँछिन् । यो पेसा इच्छाले भन्दा पनि धेरै महिलाको बाध्यताले यस क्षेत्रमा काम गर्ने गरेको पाइन्छ– उनी सुनाउँछिन् ।

त्यसैगरी रोल्पा घर भएकी रमिला बुढामगर पनि सेवासुविधा नपाएकोमा गुनासो गर्छिन् । रमिला नैनारेशम दोहोरीसाझँकी गायिका हुन् । उनी पनि यस क्षेत्रमा काम गरेको करिब ७–८ वर्ष भइसकेको सुनाउँछिन् । उनी राम्रो लोकदोहोरी गायिका पनि हुन् । उनले यही दोहोरी साँझलाई नै आफ्नो साङ्गीतिक यात्रा र पेसा बनाएकी छिन् । धेरै ग्राहकहरू उनको स्वरको प्रशंसा गर्छन् । दोहोरी साँझमै काम गरेर उनले आफ्नो गायिका बन्ने सपना पनि पूरा गरेकी छिन् भने आफ्नो घर व्यवहार पनि यसै पेसाबाट चलाइरहेकी छिन् । नयाँनयाँ काम गर्ने महिलालाई तलब सुविधा पनि नदिने गरेको गुनासो गर्छिन् । कतिपय स्थानमा तलबबिना नै काम गर्नुपरेको पनि उनी सुनाउँछिन् ।

 

 ( लेखक निशा तामाङ )

मनोरञ्जनमा महिलाको प्रयोग :

अहिलेको २१औँ शताब्दीमा रहेको विश्वव्यापीकरणको प्रभावसँगै आधुनिक युगमा अगाडि बढेको हाम्रो समाजको शहरी क्षेत्रहरूमा व्यावसायिक रूपमा सञ्चालन गरिएका विभिन्न सेवामूलक मनोरञ्जन क्षेत्रहरूमा महिलालाई काममा राख्ने गरेको पाइन्छ । मनोरञ्जन क्षेत्र भन्नाले रात्रिकालीन मनोरञ्जन क्षेत्र (मसाज पार्लर, क्याबिन, खाजाघर, दोहोरीसाँझ, डान्सबार आदि) जस्ता ठाउँमा कार्यरत श्रमिक महिला, किशोरकिशोरी र बालबालिकाको अवस्था निकै दयनीय छ । यस क्षेत्रमा कार्य गर्ने महिलाको उमेर हद भने यकिन हुँदैन । त्यही पनि तथ्याङ्कअनुसार १४ देखि ४५ वर्षसम्मका महिलाहरू यस क्षेत्रमा काम गर्ने गरेको पाइन्छ । यस क्षेत्रमा काम गर्ने महिलालाई समाजले दुव्र्यवहार गरेको गुनासो पनि सुन्न पाइन्छ ।

 

समाजमा यस क्षेत्रमा कार्यरत श्रमिक महिलालाई समाजमा गलत दृष्टिकोणले हेर्ने गर्दछन् । रमाइलो र वस्तुको रूपमा श्रमिक महिलाहरूलाई हेर्ने गरिन्छ, जब कि उनीहरूले गर्ने श्रमको कुनै सम्मान हुने गरेको पाइँदैन । श्रमिक महिलालाई कम पारिश्रमिक दिने गरेको पाइन्छ भने उनीहरूलाई सुविधा पनि पुरुषहरूको जत्ति दिइँदैन । तथापि मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको माग बढ्दै गएको पाइन्छ । यस क्षेत्रमा लाग्ने महिलाले सुविधा पनि त्यत्ति नै पाउने गर्दछन् ।

 

नेपाल भित्रिने विदेशी पर्यटकलाई लक्षित गरी राजधानीका अति व्यस्त मानिएका दरबारमार्ग, ठमेललगायत क्षेत्रमा मनोरञ्जनात्मक व्यवसाय २४सै घन्टा सञ्चालन हुने गरेका पाइन्छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याएका गजल, मसाज, पार्लर, क्याबिन, खाजाघर, दोहोरीसाँझ, डान्सबारलगायतका मनोरञ्जनात्मक व्यवसाय गर्ने क्षेत्रमा महिलाको माग बढेको पाइन्छ । यस क्षेत्रमा लागेका महिला श्रमिकलाई आफ्नो जीवनयापन गर्न र आर्थिकस्तर बढाउन मनोरञ्जन क्षेत्रले निकै टेवा पुऱ्याएको पाइन्छ । महिलाहरू यसै क्षेत्रमा काम गरेर आफ्नो आर्थिक स्तर बढाएका छन् ।

 

पुरुषकै लागि मनोरञ्जन, तर पुरुषबाटै शोषित पनि

महिला नभई पुरुषलाई मनोरञ्जन नहुने, तर महिला पुरुषबाटै हिंसाको सिकार बन्नुपर्ने अवस्था हाम्रो समाजमा देखिन्छ । पुरुषहरूकै लागि मनोरञ्जन क्षेत्रमा काम गरेका महिलाको घरको आर्थिक अवस्था पुरुषहरूकै कारणबाट कमजोर भएको हुन्छ । त्यही कारण आफ्नो आर्थिक स्तर उन्नतिका लागि यस व्यवसायमा महिला लाग्ने गरेको पनि यस व्यवसायमा सहभागी हुनेहरूबाटै सुन्न पाइयो । उनीहरूलाई यस व्यवसायले रोजगारीको अवसरको सिर्जना गरिदिएको छ । तर, यस व्यवसायमा काम गरेका महिला असुरक्षित रहेको गुनासो पनि सहभागी महिलाबाट सुन्न पाइयो । यस व्यवसायमा काम गरेका महिलाले रोजगारी त पाएका छन्, तर रोजगारसँगै हिंसाका सिकारसमेत बन्ने गरेको गुनासो धेरैको रहेको छ ।

 

यस व्यवसायमा काम गर्ने महिलाले विभिन्न हिंसा, शोषण र लैङ्गिक विभेद तथा दुव्र्यवहार सहन बाध्य हुनुपरेकोे छ । यस व्यवसायमा कार्यरत श्रमिक महिला जीविकोपार्जनका लागि रहरले नभई बाध्यताले यो पेसा अङ्गालेका छन् । उनीहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक छ । यस व्यवसायमा काम गर्छु भन्नेबित्तिकै उनीहरूलाई नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । मनोरञ्जन व्यवसायमा लागेका महिलाको घरको आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो जीविकोपार्जनका लागि यस व्यवसायमा कार्य गर्न बाध्य भएका पाइन्छन् । महिलाका लागि यो अवस्था सिर्जना हुनुमा पुरुषहरूकै हात रहेको हुन्छ भन्ने पनि स्पष्टै छ ।

 

मनोरञ्जन क्षेत्रमा ६० हजार श्रमिक महिला कार्यरत :

यो व्यवसाय अर्थात् मनोरञ्जन क्षेत्रमा लागेका श्रमिक महिलाको हक अधिकारका लागि काम गरेको ‘महिलाका निम्ति महिला मञ्च नेपाल’ले गरेको अध्ययनमा देशभर ३ हजार ५ सय ‘मनोरञ्जन’ क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौँको गोंगबु, कलङ्की, सुन्धारा, ठमेलका साथै पोखरा, विराटनगर, नेपालगञ्जलगायत ठूला सहरमा रहेका होटल, रेस्टुराँ, दोहोरी, डान्सबारहरूमा धेरै महिला श्रमिकले काम गरिरहेका छन् । धेरै होटेल, रेस्टुराँ, दोहोरी, डान्सबार भएको क्षेत्र टोखा नगरपालिकाको गोंगबु क्षेत्रमा काम गर्ने महिलाका हकअधिकारका लागि ‘क्याप नेपाल’ नामक एउटा संस्थाले अध्ययन तथा सर्वेक्षण गर्दै आएको छ ।

 

यति ठूलो सङ्ख्यामा महिला कामदारले काम गर्ने यो व्यावसायिक क्षेत्रमा रहेका कामदारको समस्याप्रति सरकारले बेवास्ता गरिरहेको गुनासो महिलाका निम्ति महिला मञ्च नेपालकी उपाध्यक्ष ज्ञानीमाया तामाङको छ । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई समाजले हेर्ने दृष्टिकोण सधैँ नकारात्मक रहेको छ । यस क्षेत्रमा काम गर्ने महिलालाई सधैँ हेपाहा प्रवृत्ति र नकारात्मक नजरले हेर्ने गरिन्छ । पहिले पहिले रातको समयमा काम गर्न नसक्ने भए पनि पछि अभ्यस्त हुँदै गएको उनी सुनाउँछिन् ।

 

होटेलमा नृत्य गर्छु भन्दा हाम्रो समाजले उनलाई घृणाको नजरले हेर्ने गरेकोमा उनको गुनासो छ । सरकारले यस्ता किसिमका समस्या समाधान गर्न र मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको सामाजिक सुरक्षा र सम्मानजनक बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न कानुनको निर्माण र कडा कार्यान्वयनतर्फ जोड दिनुपर्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकले राम्रो सेवा सुविधा पाइरहेका छैनन् । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले सरकारले तोकेभन्दा कम सेवा सुविधा पाउने गरेका छन् ।’ यो क्षेत्रमा काम गर्ने श्रमिकले सरकारले श्रम ऐनमा तोकेअनुसारको सेवा सुविधा नपाएको भनेर उजुरीसमेत गर्न आउँदैनन् ।

 

पारिश्रमिक तोकिनु जरुरी :

हाल सरकारले विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ९ सय रुपैयाँ तोकेको छ । तर, यो मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाले सरकारले तोकेअनुसारको तलब पाउँदैनन् । मनोरञ्जन क्षेत्रमा लागेका महिलाको श्रमको सम्मान नहुनु र उनीहरूको अधिकारको सुनिश्चितता नहुनु नै आफैँमा एक गम्भीर विषय हो । यो विषय मानव अधिकारको हनन् हो । मानिसको सम्मानजनक रूपमा बाँच्न पाउने अधिकारको हनन हो । यस क्षेत्रमा कार्यरत श्रमिक महिलाको कामलाई समाज र राज्यले सामाजिक मान्यता र पहिचान नदिइएको कारण उनीहरूमाथि अझ बढी जोखिम बढेको छ ।

 

विश्वमा आधाभन्दा बढी जनसङ्ख्या ओगटेर पनि महिलाको स्थिति त्यति सन्तोषजनक रहेको पाइँदैन । महिला घरका काममा मात्र सीमित नभएर रोजगारीका लागि बाहिरी काममा हात बढाउन थालेदेखि आफ्नो श्रम, ज्याला, सङ्गठन गर्न पाउने अधिकार, मतदान गर्न पाउने अधिकारजस्ता अधिकार प्राप्तिको लागि सङ्घर्ष गर्दै आइरहेका छन् । महिला अधिकार र लैङ्गिक समानताको विषयमा धेरै गोष्ठी, तालिम, सेमिनार भए तापनि महिलाका समस्या पूर्ण रूपले समाधान भएका पाइँदैनन् ।

महिला–पुरुष समानता नारा मात्र :

हाम्रो समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्दै लैजानुपर्ने आवश्यकता छ । सिद्धान्ततः र कानुनतः महिला र पुरुषलाई समान हैसियतमा राखिएको छ । समानताको वकालत गर्ने क्रममा महिला र पुरुषलाई एक रथको दुई पाङ्ग्रा पनि भन्ने गरिएको छ । २१औँ शताब्दीको वर्तमान समयसम्म आइपुग्दा जैविक क्षमता र शारीरिक रूपमा महिला र पुरुषका बीचमा केही भिन्नता भए पनि क्षमताको हिसाबले महिला र पुरुषमा कुनै भिन्नता देखिँदैन । मानसिक क्षमताका हिसाबले बरु पुरुषभन्दा महिला अझ बढी अब्बल देखिने गरेका छन् । तर, हामी जुन समाजमा जन्मियौँ, हुर्कियौँ (पितृ सत्तात्मक समाज) त्यो समाज आज पनि महिलालाई पुरुषसरह मान्न तयार देखिँदैन ।

 

नेपाल सरकारको मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्रा्िष्ट्रय अनुबन्ध १९६६ मा आफ्नो प्रतिबद्धता जनाइसकेको भए तापनि नेपाली समाजमा दिगो रूपले जरा गाडेर बसेको पितृसत्तात्मक मूल्य र मान्यताले महिलालाई पछाडि पार्ने क्रम जारी छ । त्यसैले महिला र पुरुषमा समानता कायम गर्न व्यावहारिक पक्षतर्फ ध्यान दिनु जरुरी छ ।

 

प्रहरी प्रशासनबाट असुरक्षा :

मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिला प्रहरी प्रशासनबाट समेत असुरक्षित हुनुपरेको गुनासो सुनिन्छ । अरूबाट असुरक्षित भएपछि न्याय पाउने ठाउँ प्रहरी र प्रशासन नै हो । तर, यो क्षेत्र पनि महिलामाथि अन्याय गर्ने क्षेत्रमै पर्दछ, पुरुषका नामबाट । विशेष गरी यो व्यवसायमा लागेकाहरू, ग्राहक, परिवार र समाजलगायत अन्यहरूबाट यो क्षेत्रमा काम गर्दाका अवस्थादेखि आवागमनमार्गसम्ममा पनि महिलामाथि विभिन्न प्रकारका हिंसा तथा शोषण हुने गरेको पाइन्छ ।

 

महिलाले समाजमा आफ्नो आत्मसम्मानमा आँच आउने समस्याको सामना कदम–कदममा गरिरहनुपर्ने अवस्थाले महिलालाई स्वतन्त्रता र सुरक्षाको अभाव बाँचुन्जेलसम्म महसूस गरिरहनुपर्छ । मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको कामको पहिचान र कामको मान्यता राज्य र समाज दुवैबाट दिइएको छैन । यसले गर्दा महिलाले आफ्नो पहिचान लुकाएर काम गर्न बाध्य छन् । परिचय खुल्ने डरले काम गर्ने क्षेत्र परिवर्तन गर्न पनि महिला बाध्य हुन्छन् । आफूमाथि भएको हिंसा पनि खुलेर राख्न र उजुरी गर्नसमेत सङ्कोच मान्दछन् ।

 

राज्यबाटै महिलाको सुरक्षा व्यवस्था छैन :

महिला मनोरञ्जन क्षेत्रमा काम गर्छन् भन्ने कुरा राज्यलाई जानकारी नभएको विषय होइन । महिलाले यो क्षेत्रमा काम नगर्ने हो भने यो क्षेत्र तहसनहस भएर जान्छ । राज्य यो विषयमा पनि बेखबर छैन । तर, यो क्षेत्रमा काम गर्ने महिला असुरक्षित नहोऊन् भन्नेतर्फ सरकारी निकायको ध्यानाकर्षण पाइँदैन । घर, परिवार, समाज र राज्यबाट पनि अपहेलित हुन परेको अवस्थाले यो क्षेत्रमा काम गर्ने महिलाको मनोबल कमजोर हुनु स्वाभाविक हो । पितृसत्तात्मक सामाजिक संरचना र नीतिगत कमी–कमजोरीका कारण महिलामाथि हिंसा भइरहेको छ ।

 

हिंसापीडित महिलाले न्याय पाउन नसकिरहेको अवस्था हाम्रोसामु लुकेको विषय होइन । यो विषयमा राज्य बेखबर छैन । त्यसकारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको कामलाई राज्यले पहिचान गर्नुको साथै मान्यता दिनु आवश्यक छ । यसको लागि श्रम ऐनले उनीहरूको अधिकारलाई सम्बोधन गर्न आवश्यक छ । महिला हरेक क्षेत्रमा सामथ्र्यवान् हुँदाहुँदै पनि विभिन्न असुरक्षा र अवसरबाट वञ्चित हुुनुपरेका कारणले उनीहरू पछाडि पर्दै आएका छन् । यसमा हाम्रो सामाजिक सोचाइ नै पहिलो कारण हो भन्दा फरक नपर्ला । राज्यले नै पहलकदमी लिन आवश्यक छ ।

 

पितृसत्तात्मक सोचको अन्त्य जरुरी :

हुन त पत्नीबिना पतिको जीवन परिकल्पना गर्न सकिँदैन । आमाबिना छोराको परिकल्पना हुन पनि सक्दैन । तर, पति र छोरा नै महिलामाथि पितृसत्तात्मक सोचको प्रभाव जमाउन खोज्दछन् । त्यही कारणले नै हाम्रो समाजमा महिलाले स्वतन्त्र रूपमा काम गर्न पाएका छैनन् । समाजमा महिलाप्रति सकारात्मक सोचको जरुरी छ । संविधानमा उल्लेख गरिएको सम्मानजनक बाँच्न पाउने अधिकारको सुनिश्चितता हुन जरुरी छ । पितृसत्ताको अन्त्य सामाजिक र सांस्कृतिक रूपान्तरणबाटै हुने गर्दछ । जसको आधार हरेक नागरिकको सोचाइ, बोलाइ र गराइमा हुने रूपान्तरण हो ।

 

यी कुरामा रूपान्तरण देखिन महिलालाई मातहतको रूपमा होइन, समान नागरिकका रूपमा हेर्ने, लेखाइ र बोलाइमा समभावी भाषाको प्रयोग गर्ने, दिइने जिम्मेवारी र गरिने व्यवहारमा प्रतिबिम्बित हुनेलगायतका व्यवहारमा रूपान्तरण जरुरी छ । यसका लागि मूलतः राजनीतिक नेतृत्वदेखि समाजका हरेक क्षेत्रका अगुवाले आफूलाई रूपान्तरणको मोडेलका रूपमा प्रस्तुत गर्न आवश्यक छ । सरकारले अन्य क्षेत्रमा जस्तै मनोरञ्जन क्षेत्रमा लागेका महिलाको श्रमको सम्मान गर्दै यो क्षेत्रलाई उचित पारिश्रमिकको व्यवस्था गर्दै सम्मानजनक कामका रूपमा यो क्षेत्रको विकास गर्न जोड दिनुपर्छ । सरकारले निर्धारण गरेको न्यूनतम ज्याला यो क्षेत्रमा काम गर्नेलाई दिन–दिलाउन जोड दिनुप¥यो । व्यवसाय सञ्चालकले मनोरञ्जन क्षेत्रमा काम गर्ने कर्मचारी सबैको खातामा पारिश्रमिकबापतको रकम जम्मा गरिदिने व्यवस्था हुनुपऱ्यो ।

 

अन्त्यमा, सुरक्षातर्फ राज्यको ध्यानाकर्षण जरुरी :

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको सुरक्षाको सुनिश्चितता प्रदान गर्नु आवश्यक छ भन्ने कुरा राज्य सञ्चालकहरूले नबुझ्ने हो भने नेपालमा मनोरञ्जन क्षेत्रमा काम गर्न महिलालाई निषेध गर्नु आवश्यक छ । सुरक्षा गर्न सकिँदैन भने त्यो क्षेत्रमा असुरक्षित हुनेहरूलाई प्रवेश गर्नै नदिनु सबैभन्दा प्रभावकारी सुरक्षा उपाय हो । यस क्षेत्रमा काम गर्ने महिलाको सुरक्षाका लागि प्रत्येक मनोरञ्जन क्षेत्रमा सुरक्षाकर्मी राख्नुपर्नेमा जोड दिनु आवश्यक छ । प्रत्येक मनोरञ्जन कार्यक्षेत्रमा सीसीटीभी क्यामरा जडान गर्नुपर्दछ । ता कि कुनै पनि यौन दुव्यर्वहारका घटना हुनासाथ अपराधी उम्किने अवस्था नरहोस् । सीसीटीभीसँगै गुनासो–पेटिका पनि राख्नु जरुरी छ ।

 

त्यहाँ जसका पनि गुनासाहरू आउन सक्छन् । र, यस्ता क्षेत्रका महिलाको हकहितका लागि लागेका संस्थाहरूले त्यो गुनासोे र समस्या समाधानका लागि आवश्यक पहलकदमी लिन सहज हुनेछ । अन्यथा मनोरञ्जन क्षेत्रलाई यथावतै रूपमा चलाउने सोच सञ्चालकहरूले त्याग्न जरुरी छ । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई कार्यस्थलबाट घर फर्किनसमेत समस्या हुने गर्दछ । उनीहरूका लागि सुरक्षित यातायातको सुविधा हुनु आवश्यक छ । यसका लागि व्यवसायीले नै काम गर्ने महिलाका लागि यातायातको सुविधा प्रदान गर्नुपर्छ । राज्यको ध्यान यसतर्फ पनि जान जरुरी छ ।

 

सरकारका तर्फबट यस्ता मनोरञ्जन क्षेत्रमा बेलाबेला अनुगमन गर्नुपर्छ । यसबारे काम गर्ने कामदारको स्थिति के–कस्तो छ ? बुझ्न आवश्यक छ । यस क्षेत्रमा काम गर्ने महिला कतिपय पढ्न रहर हुँदाहुँदै बाध्यतावश यस क्षेत्रमा काम गर्ने सङ्ख्या थुप्रै छ । उनीहरू गरिबीका कारण र अन्य कारण आफ्नो पढाइ बीचैमा छोडेर यस क्षेत्रमा काम गर्न आइपुग्ने गरेको पाइन्छ । उनीहरूले आफ्ना छोराछोरी पढाउनसमेत यस क्षेत्रबाट पाएको आम्दानीले गुजारा धान्न मुस्किल पर्दछ । तसर्थ सरकारले यस क्षेत्रमा काम गर्ने महिलाका लागि र छोराछोरीका लागि समेत निःशुल्क शिक्षाको व्यवस्था गरिदिनु राज्यको कर्तव्य हो । साथै महिलाअधिकारका विषयमा सचेतना जगाउन जरुरी छ । यस क्षेत्रमा लागेका महिलाका लागि यौनशिक्षा दिलाउनेतर्फ राज्यको ध्यान पुग्नुपर्छ । महिला हिंसाबारे खुलेर बोल्न सक्ने वातावरण बनाउनुपर्छ । अशिक्षा र असुरक्षाको भयले गर्दा महिला आफूमाथि भएको हिंसाबारे खुलेर बोल्न सकिरहेका हुँदैनन् । महिला रोजगारबारे के–कस्ता समस्या छन् ? सरकारले यस विषयमा पनि अनुगमन र व्यवस्था गर्न जरुरी छ । घटना र विचारबाट

(लेखिका नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौं शाखाकी कोषाध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस
सुनसरी अनेरास्ववियु संयोजकमा जीबि गजल

    नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववियूले जिल्ला संयोजकमा इटहरीका जीबि गजल चुनिएका

सभामुखको निर्वाचन माघ १२ मा

    उपसभामु्ख डां शिवमाया तुम्बाहाम्फेले संसदमा सम्बोधन गर्दै राजिनामा दिएपछि अहिले ४

नेकपामा ‘तँ’ भन्ने शब्द प्रयोग गरे पार्टीबाट निस्काशन

    सत्तारूढ नेकपाले नेता कार्यकर्ताको आचरणमा सुधार ल्याउन ११ बुँदे आचारसंहिता जारी

शिवमाया तुम्बाहाङफेलाई कानुनमन्त्री बनाउने तयारी

    शिवमाया तुम्बाहाङफेलाई उपसभामुखबाट राजीनामा गराएपछि सत्तारुढ दल नेकपाभित्र उनको ब्यवस्थापन के