कलियुगमा के हुँदै छ ?



 

 

बनवास जानुअघि महाभारतमा पञ्च पाण्डवले श्रीकृष्णलाई सोध्छन्– कलियुग कस्तो हुन्छ ? कलियुगमा मान्छेका विचार कस्ते हुन्छन् ? जवाफमा कृष्णले युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव पाँचै भाइलाई केही क्षण बाहिर फरकफरक स्थानमा गई जे देखिन्छ अवलोकन गरेर फर्कन भन्छन् । बाहिर आफूले देखेको दृश्य वर्णन गर्ने क्रममा युधिष्ठिरले भने– मैले दुई सुँढ भएको अचम्मको हात्ती देखेँ, यसको अर्थ के हो ? जवाफमा कृष्ण भन्छन्– ‘यसको अर्थ हो कलियुगमा धेरै बोल्ने, बाहिर एउटा कुरा बोल्ने, तर कामचाहिँ अर्कै गर्ने मानिसले राज गर्छन् ।’ अहिले व्यवहारमा यस्तै भइरहेको छ । राज्य सञ्चालनको उपल्लो तहमा बसेकाहरूले नबोली चुपचाप काम गरिदिए हुन्थ्यो, कामकै माध्यमबाट बोलिदिए हुन्थ्यो जस्तो लाग्छ, तर भाषणमा नै धेरैले आफ्नो समय खर्च गरिरहेका छन । समय बिताइरहेका छन् ।

 

युधिष्ठिरपछि भीम आफूले देखेको दृश्यबारे भन्छन्– मैले पक्षीले मान्छेको कङ्काल खाइरहेको देखेँ । अचम्म त के भने ती पक्षीका पखेटामा वेदका ऋचा लेखिएका थिए, यसको अर्थ के हो ? जवाफमा कृष्णले भने– ‘कलियुगमा पढे–लेखेका विद्वान् भनिने मानिसहरू यति लालची हुन्छन् कि उनीहरूको दृष्टि सधै धन, सम्पत्ति र पदमा हुन्छ । उनीहरू आफूले शिक्षामार्फत पाएको बुद्धि प्रयोग गरेर केही गर्नेभन्दा पनि राज्यको सम्पत्तिमा आँखा लाउँछन् ।’ अहिले यसो हेर्दा पढेलेखेका मानिने कर्मचारीलगायतका मानिसको आँखा अवकाश पाएपछि पनि पदमै देखिन्छ । यहाँ हुन्छ कि त्यहाँ हुन्छ, आफ्नै पेसा, व्यवसाय गरेर खान सक्नेलाई पनि राजनीतिक नियुक्ति नै चाहिएको छ । विद्वानहरुलाई सेवा, सुविधा, गाडीदेखि औषधि–उपचार हुँदै आफ्नो सम्पूर्ण खर्च राज्यले व्यहोरिदिने खालको पद चाहिएको छ ।

 

भीमपछि अर्जुनको पालो आयो । उनले भने– मैले जङ्गलमा भर्खरै ब्याएको गाई र बाच्छो देखेँ । अचम्म त के भने गाईले बाच्छोलाई यसरी चाटिरहेको थियो कि बाच्छोको शरीरबाट रगत आइरहेको थियो, यसको अर्थ के हो ? जवाफमा कृष्ण भन्छन्– ‘कलियुगमा मानिस आफ्ना सन्तानप्रति यति आसक्त हुन्छन् कि ती सन्तान आफैँले केही गर्नै सक्दैनन् । आफ्नै बाबुआमाले मायाले चाटेर सन्तानलाई केही गर्न नसक्ने बनाउँछन् ।’ अहिले वास्तविकतामा के भइरहेको छ केही भनिरहनै पर्दैन । पहिलापहिला पाँच वर्ष भएपछि आफ्ना सन्तानलाई घर छोडेर एक्लै गुरुकुल पठाइन्थ्यो । अहिले स्कुल त के कलेज पढ्ने छोराछोरीलाई बाबुआमा गाडीमा राखेर कलेज छोड्न पुग्छन् ।

 

छोराछोरीलाई ओथारो राखेझैँ गरी बाहिरी संसार बुझ्नै नदिई छोप्नेहरूको सङ्ख्या ठूलो छ । जसले ती सन्तानलाई बाहिरी संसारमा आफैँले केही गर्न नसक्ने गरी हतोत्साही बनाइरहेको छ । हामी जङ्गलका बिरुवाझैँ घामपानी, शीत खाँदै हुर्कियौँ, दुःखसुख गऱ्यौं । सानातिना असिनाले हाम्रो पुस्तालाई छुँदैन, तर अहिले हाम्रा सन्तान वृक्षको ओतमा हुर्किएका, छुँदै उखेलिने बिरुवाझैँ पिलपिल गर्दै हुर्किंदै छन् । यद्यपि हामी पनि कलियुगकै हौँ, तर युग अघि बढ्दै जाँदा यो भनाइले झन् मूर्तरूप लिइरहेको छ ।

 

अर्जुनपछि पालो आयो नकुलको । उनले भने– मैले देखेको दृश्य वरिपरि ससाना कुवाले भरिएको ठाउँ थियो जहाँ बीचमा ठूलो गहिरो कुवा थियो । अचम्म त के भने ती साना कुवा पानीले भरिएका थिए, तर त्यो गहिरो ठूलो कुवा पानीविहीन सुक्खा थियो । जवाफमा कृष्णले भने– ‘यसको अर्थ कलियुगका मानिसहरूले विवाहमा करोडौँ खर्च गर्नेछन् । विवाहजस्तो कुराका लागि टाढाटाढाका मानिस बोलाएर भोजभतेर गरिनेछ । भोजमा मदिरा र थरीथरीका मासु हुनेछन् । सुन्दरतामा पैसा खर्च गरिनेछ । टाढाका मानिसलाई खान बोलाइए पनि आफैँ वरिपरिका गरिब मानिसको भने वास्ता गरिनेछैन, उनीहरूलाई भोजमा बोलाइनेछैन । भोका मानिसहरूले ठूला भोजहरू खान पाउने छैनन् ।’

 

पाँच हजार वर्षअघि महाभारतमा बोलिएको यो संवाद अहिले हुबहु मिलेको छ । विवाहजस्तो सामान्य कार्यमा मानिसले यति खर्च गर्न थालेका छन् कि निम्ता कार्ड नै कस्ता–कस्ता, मदिराबिनाका विवाह पार्टीहरू भेटिन मुस्किल छ । आफन्त र नातेदारहरूबीच सानो समारोहमा हुनुपर्ने विवाह कुनै नाता–सम्बन्ध नभएका सार्वजनिक व्यक्तित्वको भिड जुटाएर गर्न थालिएको छ ।

 

विवाहकै लागि मानिसले पोसाक र मेकअपमा पैसा खर्च गर्छन् भनेर पनि त्यतिबेलै भनिएको रहेछ । साधुसन्त, दुःख पाएका, भोका मानिसलाई भोजमा बोलाएको देखिँदैन । अन्त्यमा नकुलले भने– मैले हेर्दाहेर्दै एउटा ठूलो चट्टान पहाड र ठूला वृक्ष हुँदै अघि बढ्यो । पहाडले पनि चट्टानलाई रोक्न सकेन । जवाफमा कृष्णले भने– ‘कलियुगमा मानिसको बुद्धि क्षीण हुन्छ । धन र सत्ता भनेपछि कसैको पनि मन रोकिन सक्दैन ।’

 

अहिले हामी भोलि के हुन्छ भनी भन्न सक्ने अवस्थामा छैनौँ । पाँच हजार वर्षअघि महाभारतमा लेखिएका कुराहरू अहिले पनि उत्तिकै सान्दर्भिक छन् । त्यतिबेला गरिएका भविष्यवाणीहरू अहिले जस्ताको तस्तै लागू भइरहेका छन् । सत्ययुग अहिलेसम्मको राम्रो युग थियो भनिन्छ । त्यतिबेला मानिसको आयु लामो थियो र उनीहरूको उचाइ पनि अग्लो थियो भन्ने छ । त्रेता युगमा देवताले मान्छेको रूपमा जन्म लिए, रामलाई त्रेता युगका मानवरूपी भगवान् मानिन्छ । जनकपुरसँग रामको इतिहास (वैवाहिक सम्बन्ध) जोडिएकाले नेपालीको रामसँग फरक भावनात्मक सम्बन्ध गाँसिएको छ ।

 

द्वापरयुग महाभारतकालीन युग हो जुन युग कृष्णसँग जोडिएको छ । विराट राजाको दरबारमा पाण्डवहरू गुप्तवास बसेको स्थान अहिलेको विराटनगर नै हो भन्ने छ । पाण्डवहरू पुगेको स्थान भनिएको दैलेखको पञ्चदेवलमा अहिले पनि देवलहरू छन् । द्वापरयुगपछि अहिले हामी कलियुगको पहिलो चरणमा छौँ ।

 

कलियुगमा महिलाले पुरुषलाई जित्ने, ब्राह्मणका छोराछोरी शूद्रले विवाह गर्ने, शूद्रका छोराछोरी ब्राह्मणले विवाह गर्ने (अहिलेको अन्तरजातीय विवाह) मानिसहरूको उचाइ घट्दै जाने, अग्ला मान्छे देख्न मुस्किल पर्ने, जनावरको पनि उचाइ घट्ने, मानिसहरूले शास्त्र पढ्न छोडेर अश्लील कुरा पढ्नमा रुचि राख्ने, महिलाहरू बढी बोल्ने (महिलाहरू मौन रहने समयमा लेखिएको) लगायतका कुरा उल्लेख छ । साथै अन्न उत्पादन नहुने, गाई लोप हुने, रूखमा फल नलाग्ने, मानिसको मनमा पाप बढ्दै जाने, धर्मको कुरा गर्ने मानिस भेट्न मुस्किल हुने, दाजुभाइबीच झगडा हुने, मानवता नष्ट हुने, मानिसको आयु घट्ने, पृथ्वी तातो हुने, पानीका मुहानहरू सुक्ने, पानीको हाहाकार हुने उल्लेख छ । लेखक, बबिता बस्नेत घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस
थला पर्दैछन् युरोप र अमेरिका, संक्रमित नेपालीको तथ्यांक छैन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा ज्यान जानेको संख्या छ हजार नाघेको छ

दोषीलाई कारबाही गर्न ढिला भयोः देउवा

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न

गलैँचा र गाडीका पार्टपुर्जा आयात गर्ने कम्पनीलाई स्वास्थ्य सामग्री आयात गर्ने ठेक्का

    गलैँचा, तयारी पोसाक तथा गाडीका पार्टपुर्जा आयात गर्ने, सामग्री आयात गर्ने

लकडाउनले मन्त्रीहरु फुर्सदिला, को-के गर्दैछन्

  उच्चस्तरीय समन्वय समितिमा नरहेका ऊर्जामन्त्री वर्षमान पुनसहित महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री