एकल दौडमा विजयी को, पराजित को ?



 

वडादेखि प्रतिनिधिसभासम्मको लागि भएका उपनिर्वाचन परिणामलाई लिएर भइरहेका विश्लेषण र टीका–टिप्पणीहरू रोचक छन् । कुल ५२ स्थानका निम्ति भएको चुनावमा प्रतिनिधिसभा सदस्यसहित तीस स्थानमा विजय हासिल गर्नुलाई वामपन्थी कम्युनिस्टहरूले आफ्नो सफलता ठानेका भए पनि सबै निर्वाचन क्षेत्रमा सफलता प्राप्त हुन नसक्नुको पीडा नेकपाभित्र छँदै छैन भन्नेचाहिँ होइन । केही स्थानमा आफ्नो उम्मेदवारको अनपेक्षित विजयलाई लिएर वामपन्थी काङ्ग्रेस पनि हर्षोल्लास मनाउँदै छ । क्षेत्रीयतावादी समूहहरूचाहिँ कतै कुनै वडातिर आफ्ना मानिस विजयी बनेकोमा दङ्गदास छन् । र, सम्पन्न उपनिर्वाचनमा नयाँ मितिमा खुलेका पार्टीहरूप्रति जनताको आकर्षण नरहेको सन्दर्भलाई पुरानो मितिका पार्टीसम्बद्ध नेता–कार्यकर्ताहरू आफ्नो प्रसन्नताको विषय बनाउँदै छन् ।

 

निर्वाचन परिणामबारे धारणा बनाउनुअघि हामीले चुनावी प्रतिस्पर्धा क–कसका बीचमा भएको थियो भन्ने तथ्यबारे स्पष्ट हुन आवश्यक हुन्छ । वास्तवमा यो निर्वाचन पञ्चायती व्यवस्थाअन्तर्गत वि.सं. २०३८ र २०४३ सालमा सम्पन्न राष्ट्रिय पञ्चायतको भन्दा आधारभूत रूपमा भिन्न प्रकृतिको होइन भन्ने हामीले बुझ्नुपर्दछ । पञ्चायतकालमा विपक्षी विचारलाई स्थान थिएन, पञ्चायती व्यवस्थालाई स्वीकार गर्ने मानिसबीच प्रतिस्पर्धा हुन्थ्यो, जित्ने र हार्नेहरू सबै पञ्च हुन्थे । एउटा अनुहारको पञ्चले हार्दथ्यो र अर्को अनुहारवालाले विजय हासिल गथ्र्यो । पञ्चायती निर्वाचनमा सहभागी हुनका लागि पञ्चायती व्यवस्था मान्न बाध्य तुल्याइएजस्तै अहिले सङ्घीयता, धर्मनिरपेक्षता, जातिवाद र गणतन्त्र अस्वीकार गर्नेहरूलाई विधिवत् दल खोल्न बन्देज लगाइएको छ । कसैले धर्मसापेक्षता, एकात्मक राष्ट्रियता र राजसंस्थाको पक्षमा आफूलाई दस्तावेजीकरण गरेको छ भने त्यस्तो दल निर्वाचन आयोगमा दर्तासम्म हुन सक्दैन ।

 

प्रजातन्त्र त्यस्तो व्यवस्था हो जहाँ प्रजातन्त्रप्रति नै असहमति र विरोध जनाउन पनि पाइन्छ । प्रजातन्त्रको सुन्दरता पनि यही नै हो । हिजो पञ्चायतमा एकथरीलाई निषेध गरिएको थियो भने अहिले यो व्यवस्थाले अर्को थरीलाई निषेध गरेको छ । त्यसैले विद्यमान संविधानअन्तर्गत हुने निर्वाचनमा सबै एकै विचार समूहका मानिसबीच प्रतिस्पर्धा थियो, हुन्छ र दलका नाम जे भए पनि हार्ने र जित्ने दुवै एकथरी हुन् भन्नेमा हामी स्पष्ट हुनुपर्दछ । पञ्चायती निर्वाचनमा पनि अहिलेझैँ सत्तरी प्रतिशतभन्दा बढी नै मतदान हुने गर्दथ्यो र विजय जुलुसमा हजारौँहजार मानिसको सहभागिता रहन्थ्यो । तर, पञ्चायती व्यवस्था विस्थापित हुँदा पञ्च र पञ्चायतको नाममा आँसु बगाउने दुईजना मानिस कतै भेटिएनन् । निर्दलीयता, राजा र पञ्चायतको बखान गरेर निद्रामा समेत बर्बराउनेहरू पञ्चायत ढलेकै भोलिपल्टदेखि ठूला बहुदलवादी बनेर कुर्लिएको पनि देखिएकै हो । त्यसैले सार्वभौमिकता विभाजन, धर्मनिरपेक्षता र गणतन्त्र पक्षधरहरूबीच भएको एकलौटी प्रतिस्पर्धामा विजय पनि उनीहरूको एकलौटी भएको हो । यो निर्वाचनमा भएको जनसहभागिता र विजय–पराजयले वास्तविकता उजागर गरेको ठहर गर्न सकिँदैन । मुलुकमा यतिबेला अस्तित्वमा रहेका सबै समूहहरू वामपन्थी हुन् ।

 

काङ्ग्रेस, कम्युनिस्ट र अन्य जुनसुकै नाममा विजयी र पराजित हुने सबै वामपन्थी अनेकतावादी नै हुन् । कसैकसैले राप्रपा, साझा, विवेकशील आदि नामधारी भुरेटाकुरे समूहलाई काङ्ग्रेस–कम्युनिस्टभन्दा वैचारिक, सैद्धान्तिक एवम् दार्शनिक दृष्टिले भिन्न ठानेका छन् भने त्यो पनि ठान्नेहरूको भ्रम मात्र हो । उनीहरूले पनि आफूलाई धर्मनिरपेक्षता, सार्वभौमिकताको विभाजन, जातिवाद र गणतन्त्रकै पक्षमा उभ्याएका छन् । राप्रपा नामको एउटा ‘थापा क्लब’ले २०७० को निर्वाचनमा विपक्षी शक्ति भएको भ्रम दिन सफल हुँदा राम्रै स्थितिमा आफूलाई पुऱ्याएको थियो, राष्ट्रप्रतिकूल संविधान निर्माणका क्रममा निर्वाह गरेको भूमिका र त्यसपछि सत्तामा सहभागी भएर उसले निरन्तर दिएको अभिव्यक्तिले उसलाई पनि ‘एकै ड्याङको मूला’ प्रमाणित गरिसकेको छ । त्यसैले साझा, विवेकशील र अन्य विभिन्न नाममा खुलेका समूहलाई पनि भिन्न ठान्नुपर्ने अवस्था छैन ।

 

विभाजित सार्वभौमिकता, धर्मनिरपेक्षता, जातिवाद र गणतन्त्रकै पक्षधरलाई मतदान गर्नुपर्ने अवस्थामा त्यस्तो मान्यताका वास्तविक हकदार काङ्ग्रेस र कम्युनिस्ट नाम नै मतदाताको रोजाइमा पर्नु स्वाभाविक हो । उपनिर्वाचन परिणाम कुनै दृष्टिले अस्वाभाविक र अनपेक्षित रहेन । काङ्ग्रेस नाममा असन्तुष्ट भएकाहरूले कम्युनिस्ट नामलाई मतदान गरे र कम्युनिस्ट नाममा असन्तुष्ट रहेकाहरूले काङ्ग्रेस नामलाई मतदान गरे । यो निर्वाचनलाई मिनी जनमतसङ्ग्रह भनेर पनि हौवा चलाइएको थियो । तर, जनतामा बेग्लै भोक छ, भात या रोटी खोजेका जनताका अघिल्तिर ढुङ्गा या इँटा रोज्नुपर्ने बाध्यात्मक अवस्था बनाइयो । भात या रोटी रोज्न पाउने स्थिति नभएपछि कसैले इँटा रोजे त कसैले ढुङ्गा, यो रोजाइलाई स्वाभाविक अर्थात् प्राकृतिक मान्न सकिँदैन र, मान्नुपर्दैन पनि । विजयी बन्नेहरू कोही ‘हेमबहादुर मल्ल’ होलान्, कोही ‘नानीमैया’ त कोही ‘बद्री मण्डल’ र कोही ‘दीपक बोहोरा’हरू होलान्, तिनले आफ्नो समयमा पाएको मतका आधारमा पञ्चायतलाई हेर्ने हो भने कहिल्यै नढल्ने व्यवस्थाका रूपमा पञ्चायतलाई बुझ्नुपर्ने हुन्थ्यो ।

लेखक देवप्रकाश त्रिपाठी

नेपाली मतदाताहरूको चेतनास्तर सैद्धान्तिक, वैचारिक र ‘इस्युबेस्ड’ छैन । जसको हातमा सत्ता छ त्यतैतिर मात्र सोझिने नेपाली मतदाताको पुरानो विशेषता हो । नेपालमा कुनै समय प्रजातन्त्र रहँदा काङ्ग्रेस पार्टीका केही नेताहरू बदनाम थिए, बदनाममध्येका एक विजयकुमार गच्छदार पनि हुन् जसलाई ‘भ्रष्ट’ व्यक्तिका रूपमा लिइन्थ्यो । अर्का व्यक्ति शङ्करप्रसाद पाण्डे, जो जुत्ता–चप्पलसम्म प्रयोग नगर्ने सादगी, आध्यात्मिक र निष्ठावान मानिन्छन् । मान्छेहरू भ्रष्टाचार र भ्रष्ट व्यक्तिहरूको निकै विरोध गर्थे, तर निर्वाचनमा मतदान गर्नुपर्दा तिनै गच्छदारहरू रोजाइमा पर्थे, पछि लाग्नेहरूको सङ्ख्या पनि तिनकै अधिक देखिन्थ्यो । शङ्कर पाण्डे चुनावमा पनि पराजित हुन्थे र सडकमा एक्लै हिँडिरहेका भेटिन्छन् । यदि जनतालाई इमानदार र निष्ठावान नेता चाहिएको थियो भने सधैँ शङ्कर पाण्डेहरू नै रोजाइमा पर्नुपर्ने थियो, होइन र ? तर शङ्करहरू न जनताको रोजाइमा परे न नेताको ।

 

वर्तमानको विडम्बना यही नै हो । राज्यसत्ताको पक्ष र विपक्ष भूमिकामा काङ्ग्रेस र कम्युनिस्ट बसेका छन्, त्यसैले मतदाताको ध्यान त्यतै आकर्षित भएको छ । काङ्ग्रेस–कम्युनिस्टको विकल्प खोज्नेहरूका निम्ति मतदानयोग्य पक्षको अहिलेसम्म नेपाली राजनीतिमा उदय नै भएको छैन । कमल थापाहरूबाट धोखाधडी भएपछि वर्तमानप्रति निराश र असन्तुष्टहरूले आफ्नो मत अभिमत जाहेर गर्ने कुनै विश्वास र भरोसायोग्य ठाउँ नै पाएका छैनन् । जुन दिन विश्वास र भरोसायोग्य ठाउँ फेला पर्छ त्यसपछि काङ्ग्रेस र कम्युनिस्टले भोग्ने भनेको नेपालमा पञ्चहरूले र भारतमा त्यहाँका काङ्ग्रेस–कम्युनिस्टले भोगेकै परिणाम हो भन्नेमा द्विविधा राख्नु नपर्ला ।

 

सैद्धान्तिक, वैचारिक, नीतिगत र व्यवहारगत भिन्नता काङ्ग्रेस र कम्युनिस्टबीच नभए पनि आममानिसमा यी दुई नै एक–अर्काका विकल्प हुन् भन्ने भ्रम कायम छ । जहाँ कम्युनिस्ट विजयी भएको हुन्छ त्यहाँ कम्युनिस्टप्रति बढ्दो असन्तुष्टिले मानिसलाई अर्को चुनावसम्म काङ्ग्रेसतिर पुऱ्याउने, जहाँ काङ्ग्रेस विजयी बनेको हुन्छ त्यहाँ कम्युनिस्टतर्फ सर्ने आममनोविज्ञान देखिन्छ । नेपालीहरू विगतका कुनै पनि असरदार घटना द्रुत गतिमा बिर्सन–भुल्न सक्छन् । महाभूकम्पले घर ढालेको वर्ष दिनमै मापदण्डविपरीत साततले घर ठड्याउन अग्रसर हुने जातिको नाम नेपाली हो । घर ढाल्ने र ज्यानै लिने भूकम्पलाई त वर्ष दिन नहुँदै भुल्ने नेपालीले काङ्ग्रेस र कम्युनिस्टका नाममा देशविरुद्ध या आफैँ (जनता) विरुद्ध भएका ज्यादति सम्झिइरहन्छन् भन्ने होइन । बारम्बार सम्झाइरहनुपर्ने हुन्छ, तर त्यसरी ज्यादति सम्झाइरहने कुनै शक्तिको नेपालमा अहिलेसम्म प्रादुर्भाव भएकै छैन । त्यसैको लाभ काङ्ग्रेस र कम्युनिस्टले उठाइरहेका हुन् ।

 

विश्वास र भरोसायोग्य राष्ट्रवादी एवम् देशभक्त शक्तिको उदय नहुँदासम्म चुनावमा काङ्ग्रेस र कम्युनिस्टले आलोपालो विजय हासिल गरिरहने सम्भावना रहिरहन्छ । दानव महिषासुर हुन् या बकासुर तिनले गर्ने कर्म उस्तै हुन्छ र उस्तै कर्मको परिणाम मात्र भिन्न आउने अपेक्षा गर्न सकिँदैन । हामी कहिले बकासुरहरूको विजयमा खुसी मनाउँदैछौँ त कहिले महिषासुरको । यसरी अक्षम, असफल, अयोग्य र बेइमानहरूलाई पालैपालो शासनसत्ता सुम्पिरहने क्रम चलिरहँदासम्म उनीहरू जितिरहने र देश हारिरहने क्रम जारी रहनेछ, त्यसर्थ वैकल्पिक राष्ट्रवादी शक्तिको प्रादुर्भाव द्रुतगतिमा अपरिहार्य भएको छ । घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस
भीरबाट खस्यो ट्रक, दुई जनाको मृत्यु

    हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ ।

प्रधानमन्त्री ओलीले खेलाडीलाई बालुवाटारमा नै बोलाएर गरे ‘सरप्राइज’ घोषणा

  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) का

मौसमविद भन्छन्- नयाँ प्रणाली भित्रियो, अब देशभर चिसो बढ्छ

  बुधबार रातिबाट विकास भएको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा हिमपात भएको

पदक जित्ने खेलाडीलाई प्रदेश-१ सरकारले नगदसहित सम्मान गर्ने

  प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा प्रदेश १