श्रृंखला खतिवडाको महिनावारी अनुभव : बाबालाई नभन्न आमालाई कसम खुवाएँ



 

महिनावारीका कुरा

केही साताअघि पूर्व मिस नेपाल श्रृंखला खतिवडाले आफ्नो युट्युब च्यानलमा एउटा भिडिओ सार्वजनिक गरिन्।

‘छाउपडीको अनुभव’ नामक उक्त भिडिओमा उनले अछाममा रहेको छाउप्रथाको अवस्था प्रस्तुत गरेकी थिइन्। त्यहाँका महिलाले महिनावारी बेला भोग्नुपर्ने समस्या चित्रण गर्दै श्रृंखला स्वयं छाउभित्र बसेको देखिन्छ भिडिओमा।

उक्त भिडिओ सार्वजनिक भएलगत्तै श्रृंखलाले आफ्ना प्रशंसकहरूबाट व्यापक प्रशंसा पाइन्। छ मिनेट लामो भिडिओमा उनले छाउपडीमा बस्दाको संघर्ष र यो प्रथाले निम्त्याएका कयौं घटनाका विषयमा बोलेकी थिइन्।

महिनावारीका विषयमा यस्ता सन्देशमूलक भिडिओ पछिल्ला दिनमा नबनेका होइनन्। तर, श्रृंखलाको भिडिओ सचेतना अभियानमा मात्र नभई उनी आफ्नै लागि खास र नौलो अनुभव थियो।

तेह्र वर्षको उमेरमा पहिलोपटक महिनावारी भएकी श्रृंखलाले नेपाली समाजमा चलिआएका कुरीति मान्नुपरेन। तर उनले आफ्नो पहिलो महिनावारी भएको कुरा बाबालाई नभन्न आमालाई कसम खुवाइन्।

‘भाइ र बाबा काठमाडौंमा हुनुहुन्थ्यो,’ श्रृंखलाले पहिलो अनुभव सम्झँदै भन्छिन्, ‘पिरियड भएको बाबालाई नभन्न आमालाई कसम खुवाएँ। किनभने म बाबाको सानी छोरी भएर हुर्किरहेको थिएँ। जहिले पनि काखमा राख्ने, माया गरिराख्ने बाबाले फेरि छोरी ठूली भई भन्ठान्नुभयो भने कस्तो लाज हुने होला भन्ने लाग्यो।

त्यसो त श्रृंखलालाई आमाले आठ-नौ वर्ष उमेरमै महिनावारीबारे ज्ञान दिएकी थिइन्। ‘महिनावारी बेला शरीरमा देखिने प्रक्रिया र आवश्यक खानपिन तथा सामग्रीबारे सचेत गराइरहनु हुन्थ्यो,’ उनी सम्झन्छिन्।

आमाले सिकाएकै कारण सानैदेखि महिनावारी अनुभवसँग परिपक्व भइन् उनी। आजभन्दा एक दशकअगाडि भर्खर ‘टिनएज’ लागेकी केटीलाई पहिलो महिनावारीमै धेरै ज्ञान हुनु हाम्रो समाजमा विरलै हो। श्रृंखलाले भने स्कुलका किताबमा पढ्नुअघि नै महिनावारी र महिला प्रजनन् स्वास्थ्यबारे आमाबाट शिक्षा पाइन्।

आमा र परिवारका अन्य सदस्य पनि महिनावारीबारे खुलेर बोल्ने हुँदा श्रृंखलाले अन्धविश्वासको चपेटामा पर्नुपरेन। त्यसैले, उनी आज पनि घरपरिवारबाट पाएको सहजताका कारण आफूलाई भाग्यमानी ठान्छिन्।

घरमा सहज भए पनि समाजमा चलेको महिनावारी कुचलनबारे श्रृंखला सचेत थिइन्। आफन्त, दिदीबहिनी र साथीहरू पहिलो महिनावारीमा अर्काको घरको अँध्यारो कोठामा थुनिएर बस्नुपरेको, दिनदिनै खोलामा नुहाउनुपरेको देख्दा उनलाई असह्य हुन्थ्यो।

‘जाडोमा पनि खोलामा नुहाउनुपरेको साथीहरू र अरू दिदीबहिनीका भोगाइ सुन्दा सिरिङ्ग हुन्थ्यो,’ उनले भनिन्, ‘आफन्तकहाँ जाँदा अलग्ग बस्नुपरेको सुन्दा कुनै अपराधको सजाय दिएजस्तो लाग्थ्यो।’

सामाजिक हेराइकै कारण उनी स्कुलमा हुँदा लुगामा रगत लाग्छ कि भनेर एकदमै डराउँथिन्। सेतो ‘युनिफर्म’ लगाउनु परेको र महिनावारी भएको भए त भयानक सपना नै हुने उनी बताउँछिन्।

‘हरेकपटक बेन्चबाट उठ्दा साथीहरूलाई ‘मेरो लुगामा रगत लागेको छ कि’ भनेर सोध्थ्यौं,’ उनले सुनाइन्।

समाजमा अझै महिनावारीबारे खुलेर बोलिँदैन। यो अवस्था हाम्रो शैक्षिक प्रणालीको कमजोरीका कारण सिर्जना भएको उनी बताउँछिन्। उनलाई विद्यार्थी हुँदै प्रजनन् स्वास्थ्य विषयमा शिक्षकले खुलेर नपढाउने, सँगैका केटाहरू हाँस्ने र केटीहरू लाजले पढ्नै नखोज्नेजस्ता अनुभव भइसकेको थियो।

उनका अनुसार कतिपय महिलालाई महिनावारी बार्नुपर्ने कारण पनि थाहा छैन। परम्परागत चलन भनेर उनीहरू बिनाप्रश्न यो प्रथा मानिरहेका छन्। यसमा कसैलाई दोष दिन वा रोकतोक गर्न उचित मान्दिनन्।

‘महिनावारी संस्कृति र परम्परासँग जोडिएको छ। पुराना पुस्तासँग बार्नु हुँदैन भनेर विवाद गर्दिनँ। मान्छेको मनमा महिनावारीलाई लिएर ठूलो डर बसेको छ, उनीहरू मानसिक रूपमा विचलित छन्। त्यसैले एकाएक महिनावारी नबार्न दबाब दिनु हुँदैन। बरू नयाँ पुस्ताकालाई सचेत बनाउनु आवश्यक छ। कसैलाई सिधै नबार भन्नुभन्दा सम्झाइबुझाइ गर्नु राम्रो हुन्छ,’ उनले भनिन्।

परिवारमा विशेषगरी महिला सदस्यले नै आफ्ना छोरीलाई महिनावारी बार्न सिकाएको भन्ने कुरा आउँछ। उनी यसमा पूर्ण समर्थन गर्दिनन्। पहिले महिलालाई शिक्षाबाट वञ्चित गराइएका कारण उनीहरू अन्धविश्वासमा बाँधिएको उनको भनाइ छ।

‘आमाले जे गर्दै आए छोरीहरूले त्यही चलन अघि बढाएका हुन्। उनीहरूको नजरमा त्यो गलत थिएन,’ उनी भन्छिन्, ‘व्यवहारिक रूपमा पहिलेका महिलाले आफ्नो शरीरको बलभन्दा बढी काम गर्नुपर्थ्यो। त्यस्तो बेला चार दिन भए पनि आराम गर्न पाउथे भने त्यो उचित थियो।’

छोइछाइ पनि पहिले-पहिले भरपर्दो ‘प्याड’ को चलन नहुँदा उब्जेको चलन भन्ने उनको बुझाइ छ। उनका अनुसार पहिलेका पुस्ताले अन्जानमा सुरू गरेको चलन अहिलेको पुस्ताले निरन्तरता दिनु गलत हो। सबै जानेर र सुविधा पाएर पनि बार्ने चलन अपनाउनु अन्धविश्वास भएको उनी बताउँछिन्।

नयाँ पुस्तामा यो अवस्था कम हुँदै गए पनि त्यो खोक्रो ज्ञान भएको उनको बुझाइ छ।

‘प्रविधिसँगै नयाँ पुस्ता थुप्रै कुरामा अघि बढिसकेको छ। तर उनीहरू बाहिरी रूपमा मात्र सचेत छन्। प्रविधिले दिन नसकेको ज्ञान स्कुलमा दिइनुपर्ने हो, तर उनीहरू यसबाट वञ्चित छन्,’ उनी भन्छिन्।

पछिल्लो समय काठमाडौंका कतिपय स्कुलमा महिनावारी र प्रजनन् स्वास्थ्य विषयमा खुलेर पढाउन र बोल्न थाले पनि अरू थुप्रैमा समस्या उही छ। झन् ग्रामीण भेगमा अझै मुश्किल। देशको स्वास्थ्य उत्थानका लागि यो ठूलो चेतावनी बनेको श्रृंखला बताउँछिन्।

‘अब पनि यो समस्या कायम हुनु भनेको नयाँ पुस्ताको मात्र होइन, देशकै भविष्यको निम्ति ठूलो बाधा बन्ने छ,’ उनले भनिन्।

स्कुलहरू छात्राका निम्ति महिनावारीमैत्री नहुँदा निकै समस्या भोग्नुपरेको उनको अनुभव छ।

अहिलेको समाज महिनावारीबारे सचेत हुँदै गए पनि व्यवहारिक समस्या यथावत् रहेको उनको भनाइ छ। भरपर्दो शौचालय व्यवस्था छैन। प्याड फ्याँक्ने डस्टबिन हुँदैन। प्रयोग गरेको प्याड झोलामै हालेर घर ल्याएर फ्याँकेको उनी बताउँछिन्।

‘हामीकहाँ बन्दुक बोक्दा लाज हुँदैन, बरू प्याड बोक्न लजाउनुपर्छ, लुकाउनुपर्छ,’ उनले भनिन्, ‘अबको युगमा पनि महिनावारीका समस्या भोगिरहनु देश विकासको बाधा हो।’

शैक्षिक प्रणालीको सुधारले जनताका सोचाइ सुधारिएलान्, तर समाजमा केही यस्ता चलन छन् जसले महिनावारी बार्ने ‘नियम’ लाई झनै उक्साउँछन्। यस्तै एक हो, ऋषिपञ्चमी। यो दिन महिलाहरू ‘पाप पखाल्न’ भन्दै बिहानै खोलामा गएर नुहाउँछन्। श्रृंखलाले जब यो बुझिन्, ‘पाप पखाल्ने’ शब्द सुनिन्, उनलाई ऋषिपञ्चमी मिथ्या लाग्यो।

सरकारले यो पर्व मनाउन बिदा पनि दिन्छ भनेर थाहा पाउँदा नरमाइलो लागेको उनी बताउँछिन्।

‘हाम्रा धेरै राम्रा पर्व र संस्कृति छन्, जसलाई संरक्षण गरेर निरन्तरता दिन जरुरी छ,’ शृखंला भन्छिन्, ‘ऋषिपञ्चमीजस्तो पर्वमा भने यो जरूरी छैन। नयाँ पुस्ताले यसमा प्रश्न उठाउनुपर्छ। किन यो पर्व मनाइरहेका छौं भनेर कारण खोज्नुपर्छ।’

पुर्खौंदेखि मान्दै आएको भनेर अहिलेको समयमा उचित नहुने पर्व-नियम हटाउँदै लानुपर्ने उनको भनाइ छ।

दुर्गम क्षेत्रमा पुगेर महिला स्वस्थ्य र सरसफाइबारे सचेतना कार्यक्रम गर्दै आएकी श्रृंखलाले अछामको स्थिति नजिकबाट नियालेकी थिइन्। छाउपडी प्रथा अझै आधुनिक तरिकाले फैलिएको उनले देखिन्। सरकारबाट छाउपडी हटाउने निर्देशन पाएर घर-घरका साना छाउगोठ भत्काएर सामुदायिक छाउघर बनिरहेको उनले सुनाइन्।

यसको मुख्य कारण महिनावारीलाई त्यहाँका मान्छेले सामान्य मान्न नसकेको हो। काठमाडौंमै पनि महिनावारी बार्ने चलन छ। सहरबाट यो चलन नहटेसम्म गाउँमा ‘हटाऊ’ भन्न सहज नहुने र जायज पनि नहुने उनको तर्क छ।

‘महिला अधिकार र छाउपडीको विरोधमा आवाज उठाउदै हिँड्नेको घरमै बार्ने चलन छ,’ उनी भन्छिन्, ‘आफैंबाट परिवर्तन ल्याउन सकिएन भने अरूको सोचलाई दोष दिनु उचित हुँदैन। हाम्रा आमा, दिदीबहिनी, साथी र श्रीमतीले महिनावारीकै कारण दुःख पाउन नपरोस् भन्ने जिम्मेवारी अब हाम्रो काँधमा छ।’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीले मन्त्री र सचिवहरुलाई भने फागुनपछि सडकमा खाल्डा देख्न नपरोस

  प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मन्त्रालयले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर

नव विवाहित दम्पतीमा किन हुन्छ यस्तो डर ?

  बन्धनमा बाँधिनुभएको छ । तपाईं केही रोमाञ्चक पक्कै हुनुहुन्छ । किनभने हिजो

देउवाले भने शाही आयोग हो कि अख्तियार

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप

यसरी थुना मुक्त हुदैछन् महरा

    संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि