कीर्तिपुरमा सहचालक बिनाको माइक्रो बस, यात्रुलाई दशैँको बम्पर उपहार ! ( भिडीयो)



 

कीर्तिपुर लेखिएको माइक्रोबस शहिदगेटमा रोकियो । दुई चारजना यात्रु मात्रै छन्, धेरै सिट खाली छ । अरुबेला सिट पाउन बसपार्क नै पुग्नुपर्थ्यो, बीचबाट चढ्दा उभिने ठाउँ पाउन पनि मुश्किल पर्थ्यो । तर अचम्म ! यो माइक्रोबस झण्डै रित्तै छ । ‘ए त्रिपुरेश्वर, कालिमाटी, बल्खु, कीर्तिपुर…’ भनेर कराउने सहचालक पनि छैन ।

चढ्ने कि नचढ्ने भनेर अलमलमा परेको बेला ड्राइभर दाइले भने–‘कीर्तिपुर जाने भए चढ्नुहोस् है, पर्खेर बस्दैन, हिँडिहाल्छ ।’

पछाडिको सिटमा गएर बसेँ । त्रिपुरेश्वर, टेकुबाट अरु यात्रु पनि थपिए । ढोकामा सहचालक नदेख्दा र बसमा सिट खाली देख्दा अरुलाई पनि अचम्म लागेछ ।

‘हैन भाइ बस त रित्तै छ, ढोकामा खलासी पनि छैन त ?’ टेकुबाट चढेका एकजना वृद्धले चालकलाई सोधे।

‘अब खलासी नराख्ने बा, खलासीबिनाको बस, मलाई पनि आनन्द, तपाईँहरुलाई पनि आनन्द’ पछिल्तिर फर्कंदै चालकले भने ।

‘भनेपछि हामी यात्रुलाई दशैँको बम्पर उपहार? खलासीबिनाको बस’ अर्को यात्रुले ठट्टा गरे ।

‘अब त्यस्तै सम्झनुहोस्, तपाईँहरुलाई बम्पर उपहारजस्तै हो ?’ चालकले भने ।

‘दशैँसम्म मात्र हो कि सधैं हो त यस्तो उपहार ?’ बृद्धले सोधे ।

‘अब सधैँलाई हो, खलासी हुँदैन’ चालकले शानसँग भने ।

‘तपाईंको बसमा मात्रै कि अरु बसमा पनि ?’ छेउमा रहेकी महिलालाई खसखस लागेछ ।

‘१०/१५ वटा बसमा भैसक्यो, अब अरु बसले पनि खलासी राख्दैनन्’ चालकले भने ।

‘रत्नपार्क – कीर्तिपुर रुटमा कति चल्छन् माइक्रोबस ?’ अर्का यात्रुले सोधे ।

‘दर्ता भएका चाहिँ ८६ वटा छन्’ चालकले भने ।

‘त्यसो भए, ८६ जना सहचालकको रोजीरोटी खोसियो नि, यो त अन्याय भयो ?’ अघिकी महिलाले भनिन् ।

‘हामीले खोसेको होइन, उनीहरुकै बुद्धि र व्यवहारले हो’ चालकले भने ।

चालकको कुरामा सही थाप्दै अघिल्तिर रहेका वृद्धले भने, ‘हो हो खलासीले त दिक्कै बनाउँछन् । त्यसमाथि १०० जनामध्ये ९० जना त बालश्रमिक हुन्छन्, उनीहरुलाई काममा लगाउन पनि मिल्दैन, खलासी नराखेर ठिक गर्नुभयो भाइ ।’

‘हो भन्या खलासीले त वाक्कै गर्ने भन्या । ठाउँ नभए पनि पर सर भन्छ । भाडामा पनि किचकिच गर्छ । झगडा गर्छ’ छेउमा रहेकी अर्की महिलाले सहचालकबाट पाएको सास्ती सुनाइन्।

‘अनि खलासी नभएपछि ढोका लगाउने, बन्द गर्ने चाहिँ कसले गर्छ नि ?’ अर्को यात्रुले सोधे ।

‘यि यहीँबाट लगाउने र बन्द गर्ने गर्छु म, ४० हजार खर्च गरेर अटोमेटिक ढोका बनाएको । यता स्वीच थिचेपछि आफैँ खुल्छ, आफैँ बन्द हुन्छ’ चालकले आफ्नो अघिल्तिर रहेको स्वीच थिचेर ढोका खोल्दै, लगाउँदै भने ।

कालिमाटी पुगेपछि केही मान्छे फेरि बसमा चढे ।

‘ल ल खलासीबिनाको बस चढ्नुहोस्, न ठेलम्ठेल न कचकच, पुरै यात्रुमैत्री’ चालक आफ्नै सुरमा बोले ।

रत्नपार्क–कीर्तिपुर चल्ने अरु माइक्रोबसकोभन्दा फरक र रमाइलो यात्रा हुँदै थियो । कालिमाटीमा पनि उनले धेरैबेर गाडी रोकेनन् । अरुलाई पर्खेनन् । सिट खाली भए पनि गाडी अगाडि बढाए । बल्खुमा पनि उसैगरी मान्छे राखे । खलासी नभएकोबारेमा उस्तै कुरा दोहोर्याए । सबै यात्रुले अचम्म मानेर उनको कुरा सुने र सही थापे ।

कीर्तिपुरको नयाँबजार गेटमा बस रोकियो ।

‘दाइ त्रिपुरेश्वरबाट आएको कति हो ?’ झर्दै गरेका एकजनाले गोजी छाम्दै सोधे ।

‘हुन त १७ रुपैयाँ हो, दुई रुपैयाँ तपाईंसँग हुँदैन, १५ रुपैयाँ दिनुहोस्’ चालकले हाँस्दै भने ।

अरुबेला त सहचालकले त्रिपुरेश्वरबाट पनि २० रुपैयाँ नै लिन्थे । खास भाडा त १७ रुपैयाँ रहेछ । बल्ल पो थाहा भयो ।

‘ए १७ रुपैयाँ हो भाडा त्रिपुरेश्वरबाट ? पहिले त २० रुपैयाँ तिथ्र्यौँ’ अर्का यात्रुले भने ।

‘खास भाडा १७ रुपैयाँ हो, तर चानचुन हुँदैन, त्यसैले त्रिपुरेश्वरबाट चढ्नेसँग म चाहिँ १५ रुपैयाँ लिन्छु, अनि शहिदगेटबाट खास भाडा १९ रुपैयाँ हो, तर एक रुपैयाँ मसँग हुँदैन, २० रुपैयाँ लिन्छु । १७ रुपैयाँको भाडा १५ रुपैयाँ र १९ रुपैयाँको भाडा २० रुपैयाँ लिएर मैले आफ्नो हिसाब मिलाइरहेको छु’ चालक हाँसे । उनको कुरा सुनेर रमाइलो लाग्यो ।

कीर्तिपुर बस स्टप पुगेपछि सबै यात्रु झरे । मलाई उनीसँग गफ गर्न मन लाग्यो । उनले सहचालकबाट पाएको दुःख र हैरानीको कथाव्यथा सुनाए ।

‘मेरो नाम विकास महर्जन । गाडी नम्बर बा २ ख २५५५ । यो मेरो आफ्नै गाडी, आफैँ चलाउँछु । १०/१२ वर्ष भयो गाडी चलाउन थालेको । अस्तिताकासम्म मेरो गाडीमा पनि खलासी थियो । उसलाई मैले स्कुल पठाउनेबाहेक सबैथोक गरेँ । जे भन्यो त्यही मानें । तर उसले मलाई धोका दियो । प्यासेन्जरलाई पनि हेप्ने । उभिने ठाउँ नभए पनि धकेल्ने । घचेट्ने । जे मन लाग्यो त्यही बोल्ने । भाडामा झगडा गर्ने ।

उठेको भाडा नदिने । महिनाको ३०/३५ हजार रुपैयाँ दिँदा पनि चोरेर खाने । खलासी राख्दा एक टिपको तीनसय, चारसय मात्र दिन्थ्यो । अहिले खलासी छैन । सिट पनि खाली खाली नै हुन्छ । तर मैले एक टिपको ५ सय रुपैयाँ उठाइरहेको छु । मैले एकजनालाई भए पनि रोजगारी दिन्छु भनेकै हो, तर खलासीले नै आफ्नो पेशाको कदर गरेन । यात्रुलाई भगवान ठानेन । मलाई तेल हाल्नै नसक्ने बनायो ।

कतिपटक त अरुसित पैसा मागेर तेल हालेको छु मैले । त्यसैले बाध्य भएर सहचालक नराखेको । सहचालक नभएपछि मलाई पनि आनन्द भएको छ । यात्रुलाई पनि आनन्द भएको छ । बढी भाडा लिएको गुनासो पनि आउँदैन । कारबाहीमा पनि परिंदैन । जहाँ पायो त्यहीँ रोक्न पनि पर्दैन । बसमा घुईंचो पनि हुँदैन । म कुवेत र दुबइमा पनि गाडी चलाएर आएको हो । उता पनि बसमा खलासी हुँदैन । त्यसैले बसमा खलासी नभएको धेरै राम्रो ।…’

उनको कुरा सुन्दा लाग्थ्यो, चालक र गाडीधनी सहचालकबाट वाक्क छन् । केही सहचालकको व्यवहारहाले यात्रु पनि दिक्क छन् । तर सहचालक नै नराख्नु पनि समाधानको उपाय त हैन होला । कीर्तिपुर–लगनखेल चल्ने बसले पनि सहचालक राख्दैन । तर सहचालक नहुँदैमा यात्रुलाई सुविधा त भएको छैन । यात्रुको कष्ट र हैरानी उस्तै छ ।

यो प्रसँग निकाल्दा उनले भने, ‘अरुको कुरा म भन्न सक्दिनँ, तर मेरो गाडी चढ्ने यात्रुले असुविधा र दुर्व्यवहार भोग्न नपरोस् भन्ने कुरामा म सचेत छु ।’

प्रतिक्रिया दिनुहोस
गैरआवासीय नेपाली संघको चुनाव : कुल आचार्यको प्यानल घोषणा, उम्मेदवारको सूचीसहित

गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो टिमलाई अन्तिम

काङ्ग्रेसबाट निर्वाचित वडा सदस्य नै जुवाको खाल बाट पक्राउ

  बुढानिलकण्ठ नगरपालिकामा नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा एक वडा सदस्य जुवाको खाल

एनआरएनएले नेपालको पहिचान बदल्ने भूमिका खेल्नेछ : कुमार पन्त, अध्यक्षका प्रत्यासी

    गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसिसी) को नवौं बिश्व

एनआरएनएलाई सबैको साझा बनाउँछु : कुल आचार्य

  गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन आगामी