कठघरामा मन्त्री विष्ट : कतिपय नेता साथीहरू बाह्रै महिना खुराफातमा लाग्छन्



 

अभियोग १ : प्रचारको भोको हुनुहुन्छ, वेलावेला मिडियाबाजी गर्नुहुन्छ । अघिल्लोपटक ऊर्जामन्त्री हुँदा क्यामेराम्यान पछिपछि लगाएर आफै बिजुलीको लाइन काट्न हिँड्नुभयो । विद्युत् प्राधिकरणका सामान्य कर्मचारीले गर्न सक्ने काम मिडियामा चर्चा बटुल्न आफै  अग्रसरता लिनुभयो । मन्त्रीको छोटो कार्यकाल सस्ता चर्चा बटुल्नमै बित्यो ।

यो आरोपमा सत्यता छैन । मैले कहिल्यै पनि समाचारका लागि वा चर्चा पाउन काम गरिनँ । कुनै नयाँ काम गर्दा त्यो आफैँ समाचार बन्दो रहेछ । म ऊर्जामन्त्री हुँदा ०३६ सालदेखि विद्युत् महसुल नतिर्ने सरकारी कार्यालयहरू पनि थिए । विभिन्न उद्योग र संस्थाहरूले पनि दशकौँदेखि विद्युत् उपभोग गर्ने, तर महसुल नतिर्ने गरिरहेका थिए । विद्युत् प्राधिकरण घाटामा जाने तैपनि विद्युत् आपूर्ति गराइरहनुपर्ने अवस्था थियो । त्यस्तो वेला सुशासन कायम गर्न मैले कडा कदम चाल्नु आवश्यक थियो । हामीले सुरुमा बाँकी रहेको विद्युत् महसुल तिर्न आह्वान गर्‍यौँ । सम्बन्धित निकायलाई बक्यौता तिर्न पटक–पटक पत्राचार पनि गर्‍यौँ । तैपनि, चुक्ता गरिएन । त्यसपछि सरकारका तर्फबाट एउटा निर्मम निर्णय लिनुपर्ने बाध्यता भयो ।

 

मैले प्राधिकरणलाई नै महसुल नतिर्ने निकायहरूको लाइन काट्न निर्देशन दिएको थिएँ । तर, केही यस्ता ठाउँहरू पनि थिए, जहाँ प्राधिकरणले लाइन काट्न साहस देखाएन । त्यस्तो अवस्थामा मन्त्रालयसँग दुईवटा विकल्प मात्रै थिए, कि त त्यतिवेला चलिरहेको बेथितिलाई निरन्तरता दिने वा कठोर बनेर अगाडि बढ्ने । सिंहदरबारभित्रैका कतिपय मन्त्रालय र निकायहरूको लाइन काट्नुपर्ने भयो । त्यसका लागि सामान्य कर्मचारी र प्राधिकरणले हिम्मत देखाएन । मैले त्यतिवेला मन्त्रालयका सचिव र प्राधिकरणको नेतृत्वलाई बोलाएर अगाडि बढ्न भनेँ । तर, उहाँहरूले आँट गर्न सक्नुभएन, आनाकानीजस्तो गर्नुभयो । स्वाभाविक रूपमा त्यसपछि म आफैँ सडकमा उत्रिएर लाइन काट्नुपर्ने अवस्था आएको हो । त्यसको उपलब्धि भनेको ०३६ सालदेखिको महसुल नतिर्ने कार्यालय, उद्योगहरूले बक्यौता चुक्ता गरे । प्राधिकरणले अर्बौँ रुपैयाँ बक्यौता हासिल गर्‍यो । त्यो एउटा महत्वपूर्ण कदम थियो । यद्यपि, त्यो काम मेरो तहसम्म आउनुपर्ने थिएन, मैले गर्नु अन्तिम विकल्प थियो ।

 

अभियोग २ : योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्दा प्रधानमन्त्री केपी ओलीलाई खुसी पार्न सडकका पोल–पोलमा फोटो झुन्ड्याउन लगाउनुका साथै मिडियामा तामझामसहित विज्ञापन गर्नुभयो । तर, त्यसबाट प्रधानमन्त्रीको प्रशंसाभन्दा बढी आलोचना भयो ।

नयाँ वर्ष आउँदा आमनागरिकले हर्षबढाइँ गर्ने गर्छन् । खुसीयालीमा नाच्छन्, गाउँछन्, बेलुन उडाउँछन्, चंगा उडाउँछन्, वनभोज गएर रमाइलो गर्छन् । त्यस्तै, दसैँ, तिहार, इद, ल्होसारलगायतका विभिन्न जाति र धर्मावलम्बीका चाडहरूमा पनि अत्यन्त हर्षबढाइँका साथ खुसीयाली व्यक्त गर्ने गरिन्छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा लाखौँ नेपाली श्रमिकको जीवनलाई परिवर्तन गर्ने अत्यन्त महत्वपूर्ण ऐतिहासिक शुभारम्भ थियो । दिनरात काम गर्ने श्रमिकहरूले काम नगर्दा खान नपाउने स्थिति छ । बिरामी पर्दा, दुर्घटनामा पर्दा उपचारको कुनै प्रबन्ध छैन । लगातार काम गर्दा श्रमिकको मृत्यु भयो भने उनीमाथि आश्रित परिवारको बिचल्ली हुन्छ । जीवनभर पसिना बगाउने श्रमिक जब वृद्ध हुन्छ, बाँच्ने आधार नै समाप्त हुन्छ । उनीहरूको जिन्दगी अत्यन्त दयनीय, कारुणिक बन्छ । यस्तो अवस्थामा हामीले बिरामी र दुर्घटनामा पर्दा उपचारको व्यवस्था, श्रमिकको निधन हुँदा आश्रित परिवारको सुरक्षाको व्यवस्थासहित वृद्ध अवस्थामा निजी क्षेत्रमा कार्यरत मजदुरलाई पनि पेन्सन सम्भव छ भनेर यो (योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम) कार्यक्रम थालेका हौँ ।

 

यस्तो ऐतिहासिक कार्यक्रम आएको खुसीमा देशभरिका श्रमिक रमाउने र हर्षबढाइँ गर्ने कुरा अस्वाभाविक थिएन । श्रमिकहरू रमाउनुभयो, बाजा बजाउनुभयो, नाचगान गर्नुभयो, पोलपोलमा प्रधानमन्त्रीको फोटो टाँग्नुभयो, ठाउँठाउँमा तोरण राख्नुभयो । श्रमिकहरू खुसी भएर हर्षबढाइँका साथ पोलपोलमा फोटो झुन्ड्याउँदा, तोरण लगाउँदा हामीले टिप्पणी गर्नु आवश्यक थिएन । सरकारले खर्च गरेर पोस्टर टाँसेको थिएन, श्रमिकहरूले आफ्नो खर्चमा टाँसेका हुन् । सामाजिक सुरक्षाकोषबाट पैसा तिरेर गरिएको विज्ञापन थिएन । तपाईंंले मिडियामा देखेका विज्ञापन पनि सरकार वा सुरक्षाकोषको पैसाबाट गरिएका होइनन् । जति पनि विज्ञापन थिए ती बैंकहरूले गरेका थिए, रोजगारदाताले गरेका थिए । एकातिर समाजिक सुरक्षा योजनाले श्रमिकको जीवनमा ठूलो आधार पैदा गर्‍यो । अर्कोतिर श्रमिक र रोजगारदाताको बीचको अन्तरविरोधलाई, द्वन्द्वलाई कम गर्‍यो । त्यसकारण श्रमिकसँगै रोजगारदाता पनि खुसी थिए । उनीहरूले पनि विज्ञापन दिएर खुसी व्यक्त गरे । दुवैले स्वस्फूर्त रूपमा खुसीयाली मनाए ।

 

अभियोग ३ : प्रधानमन्त्री रोजगार कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट भन्दै प्रचारबाजी गर्नुभयो, तर विनायोजना राज्यकोषबाट करोडौँ रकम खर्च गरियो । उपलब्धिभन्दा दुरुपयोग धेरै गरेको आरोप तपाईंंमाथि लाग्यो ।

समाजमा प्रत्येक नयाँ र महत्वपूर्ण कामले चर्चा पाउने गर्छ । त्यसले सकारात्मक र नकारात्मक प्रतिक्रिया पनि जन्माउँछ । कहीँ प्रशंसा त कहीँ ईर्ष्याका साथ पनि चर्चा हुन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सामाजिक सुरक्षामा आधारित कार्यक्रम हो । यो कार्यक्रम सामाजिक न्यायमा आधारित छ । जसले पैत्रिक सम्पत्तिमा आफ्नो जीवन निर्वाह गर्ने आधार पाएका छैनन्, आफैँ रोजगारीमा लाग्ने सामर्थ्य पनि राख्दैनन्, न त देशभित्र रोजगारीका लागि टाढा जाने वा वैदेशिक रोजगारीमा जाने सामथ्र्य राख्छन् । त्यस्ता व्यक्तिहरूलाई काम गरेर बाँच्न पाउने आधार तयार गर्ने कार्यक्रम हो, प्रधानमन्त्री रोजगार कार्यक्रम । हाम्रो देशमा यो नौलो भयो, तर दुनियाँका धेरै देशमा यो धेरै पहिले सुरु भइसकेको हो । केही देशले त सय वर्षअगाडि नै यस्ता कार्यक्रम सुरु गरेका छन् । करिब डेढ दर्जन देशहरूले बेरोजगार नागरिकलाई भत्ता दिएका उदाहरण पनि छन् । कार्यक्रमका नाम फरक छन्, तर आफ्ना नागरिकलाई सामाजिक सुरक्षा दिइरहेका छन् ।

 

हामीले पनि नयाँ संविधानको मौलिक हकमा सबैका लागि रोजगारीको हक भन्ने व्यवस्था गरेका छौँ । संसद्बाट त्यससम्बन्धी ऐन निर्माण गर्‍यौँ । ऐनअनुसार या त हामीले गरिबीको रेखामुनि रहेका व्यक्तिलाई न्यूनतम सय दिनको रोजगारीको व्यवस्था गर्नुपर्छ, या त न्यूनतम ५० दिनको निर्वाहभत्ता दिनुपर्छ । करिब ६ लाख परिवारहरू गरिबीको रेखामुनि छन् । रोजगारीको सट्टा निर्वाहभत्ता दिँदा राज्यले झन्डै ३० अर्ब त्यसमा खर्च गर्नुपर्ने हुन्छ । नेपालजस्तो गरिब मुलुकले त्यति ठूलो परिमाणमा हुन आउने निर्वाहभत्ता वितरण गर्न सक्दैन । देशको आर्थिक सामर्थ्यले पनि त्यो सम्भव हुँदैन । अर्को, काम नगरी निर्वाहभत्ता दिने संस्कृति कामका लागि बाधक हुन्छ । नेपालमा काम गर्ने मनोविज्ञान, मनोवृत्ति र संस्कृतिको विकास गर्नु आवश्यक छ । हामी काम गरेर उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न चाहिरहेका छौँ । कामका अवसर दिन खोजिरहेका छौँ ।

 

काममा आधारित पारिश्रमिक हामीले प्रधानमन्त्री रोजगार कार्यक्रममा डिजाइन गरेका हौँ । गत वर्ष रोजगार ऐन, नियमावली, निर्देशिका, कार्यविधि बनाउनेदेखि रोजगार सेवा केन्द्रको स्थापना, रोजगार संयोजकको छनोटलगायतका काम गर्‍यौँ । स्थानीय तहमार्फत काममा आधारित पारिश्रमिक उपलब्ध गराउने कार्यविधि बनाएका थियौँ । त्यो कार्यविधिको सीमाभित्र रहेर पठाइएको ससर्त अनुदानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जिम्मा स्थानीय तहहरूलाई थियो । कतिपय स्थानीय तहमा काम सोचेजति प्रभावकारी नभएको हुन सक्छ । तर, ६ सय ४८ वटा स्थानीय तहमा सात हजार सात सयभन्दा धेरै आयोजनामा औसत १३ दिन एक लाख ८७ हजार व्यक्तिले झन्डै २३ लाख कार्यदिनबराबरको रोजगारी प्राप्त गरे । गरिब नागरिकले काम गरेर ज्याला पाए । १६ खर्ब बजेट रहेको मुलुकमा दुई अर्ब त गरिबहरूले काम गरेर पैसा पाए । यसकारण पनि यो कार्यक्रमलाई हामीले गौरवका साथ प्रचार गर्नुपर्छ ।

 

कुनै–कुनै ठाउँमा झार उखेल्ने काममा पनि मजदुरहरूलाई हेल्मेट र ज्याकेट लगाएर प्रस्तुत गराइयो, दुरुपयोग भयो भन्ने कुरा पनि आयो । तर, श्रम कानुनमा श्रमिकहरूले काम गर्दा सुरक्षाको ख्याल गर्दै हेल्मेट, बुट, पन्जालगायत लगाउने व्यवस्था छ । जहाँ मजदुरहरूले लगाएका छैनन्, त्यहाँ सरकारको ध्यानाकर्षण हुनुपर्छ । हेल्मेट लगाएकोमा होइन, नलगाएकोमा प्रश्न गर्नुपर्छ । सुरक्षाका लागि अपनाइने सामग्रीहरू लगाइएकै हुनुपर्छ । मिडियाका साथीहरूको पनि यी लगाउनुपर्ने सामग्रीहरू हुन्, किन लगाइएनन् भनेर प्रश्न सोध्ने काम कम भएको छ ।

 

अभियोग ४: तपाईंंको बोली र व्यवहारमा एकरूपता छैन । पार्टी नेतृत्वमा हुनुहुन्छ, नयाँले अवसर पाउनुपर्छ भन्ने वकालत पनि गर्नुहुन्छ । तर, गृहजिल्ला गुल्मीमा चाहिँ करिब अढाई दशकदेखि आफू मात्रै चुनाव लडिरहनुभएको छ । जिल्लाका नयाँ नेता–कार्यकर्ताले संसदीय र पार्टी राजनीति दुवैतिर अवसर पाउन सकेका छैनन् । 

हामी केही सांसद छौँ र केही मन्त्री छौँ । हाम्रा कारणले बाँकी जनसंख्या सांसद र मन्त्री बन्ने अवसरबाट वञ्चित भइरहेको छ । हाम्रै पार्टीका लाखौँ कार्यकर्ता पनि वञ्चित हुनुहुन्छ । तर, हाम्रो मान्यता भनेको फेरि पनि क्षमता, क्रियाशीलता, योगदान र प्रतिस्पर्धाद्वारा नै हरेक व्यक्तिले श्रेष्ठता स्थापित गर्नुपर्छ भन्ने हो । चाहे त्यो निर्वाचनको सन्दर्भमा होस्, चाहे त्यो पार्टी नेतृत्वको सन्दर्भमा होस् । नेतृत्वमा आउने वा निर्वाचित हुने सन्दर्भमा यी सबै कुरा लागू हुन्छ । त्यसकारण प्रतिस्पर्धालाई पारदर्शी बनाउन जरुरी छ, प्रतिस्पर्धालाई विधिसम्मत बनाउन जरुरी छ । यसले नै नेतृत्व निर्माणमा महत्वपूर्ण योगदान गर्छ ।

 

विगतमा हाम्रो पार्टीमा निर्वाचनको अवस्था थिएन, तर आज म जहाँ आइपुगेको छु, निर्वाचनको विधिमार्फत नै आइपुगेको हुँ । निर्वाचनको विधि नै त्यस्तो विधि हो, जसले व्यक्तिलाई विस्थापित वा स्थापित गर्ने सन्दर्भमा महत्वपूर्ण योगदान गर्न सक्छ । त्यसकारण हरेक नयाँ प्रतिभाहरू माथि आऊन्, हरेक नयाँ प्रतिभाहरूले योग्यता, क्षमता, इमानदारिता, भूमिका र प्रतिस्पर्धाद्वारा श्रेष्ठता स्थापित गर्न सकून् भन्ने कुरा नै नेतृत्व निर्माणका लागि महत्वपूर्ण पक्ष हो । म यही कुराको वकालत हिजो पनि गर्थेँ, आज पनि गर्छु, भोलि पनि गर्छु ।

 

अभियोग ५ : कतार जाने श्रमिकहरूको भिसा प्रोसेसिङदेखि स्वास्थ्य परीक्षणसम्मका सबै काम कतार भिसा सेन्टरले गर्छ । साउदी अरब जानेहरूको यस्तो काम १२ वटा कम्पनी मिलेर गर्छन् । मन्त्रीका रूपमा तपाईंंले उनीहरूको सिन्डिकेट देख्नुभएन । तर, मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गरिरहेका ३६ नेपाली कम्पनीहरूको मात्रै सिन्डिकेट देख्नुभयो र तिनका विरुद्ध लाग्नुभयो । तर, मलेसियाले तिनै पुराना ३६ कम्पनीलाई नै मान्यता दियो । 

मलेसियाको सन्दर्भमा हामीले लामो समय अडान राख्यौँ । हाम्रो अडानकै कारणले मलेसियाको तर्फबाट स्वास्थ्य परीक्षणको मापदण्ड नेपाल सरकारलाई प्राप्त भयो । त्यसका आधारमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक संस्थाको आह्वान गर्‍यौँ । आएका संस्थाहरूलाई विज्ञको समूहले निरीक्षण गर्‍यो । मापदण्ड पुगेका एक सय २२ संस्थालाई हामीले सिफारिस गर्‍यौँ । त्यसमध्ये ३६ संस्था दुवै देशको सरकारको अनुगमनमा पास देखिए, त्यसमा कुनै समस्या देखिएन । बाँकी संस्थालाई अनुगमन गर्न आउने सन्दर्भमा फेरि पनि केही समस्या देखापरेका थिए, हामीले लगातार संवाद गर्‍यौँ, अडान राख्यौँ । र, नोभेम्बरको पहिलो हप्तादेखि ८६ संस्थाको अनुगमन हुने गरी हामीले टुंगो लगाएका छौँ । त्यसकारण पनि हामीले सिन्डिकेट त तोडिसक्यौँ । ३६ संस्थाबाहेकको अनुगमन गर्न आउने पुरानै सिन्डिकेट तोडेको एउटा महत्वपूर्ण प्रमाण हो । टिम आउनेछ, अनुगमन गर्नेछ, मापदण्ड पुग्नेहरू समावेश हुनेछन्, मापदण्ड नपुग्नेलाई पनि समावेश गर्नुपर्छ भन्ने हाम्रो तात्पर्य होइन । हाम्रो मुख्य उद्देश्य भनेको सिन्डिकेट तोड्ने हो । प्रतिस्पर्धालाई स्थापित गर्ने कुरा हो । गुणस्तरीय स्वास्थ्य परीक्षणमार्फत नेपाली श्रमिकहरूको सुरक्षा प्रत्याभूत गर्ने लक्ष्य नै हो हाम्रो ।

 

कतारमा नेपालका स्वास्थ्य संस्थाहरूले जुन ढंगले स्वास्थ्य परीक्षण गरिरहेका थिए, नेपालभित्र हुने स्वास्थ्य परीक्षण पहिले जुन चलन थियो, त्यो अहिले पनि कायम नै छ । जहाँसम्म कतार भिसा सेन्टरको प्रश्न छ, त्यसले कतार गइसकेपछि गर्ने परीक्षण मात्र गरेको छ, नेपालभित्र गर्ने परीक्षणहरू पूर्वावस्थामै निरन्तर छन् भन्ने कुरा नै अहिले पनि आइरहेका छन् । कतार भिसा सेन्टर स्थापनाको अनुमति अर्कै (परराष्ट्र) मन्त्रालयले दिएको हो । त्यसकारण यो मेरो जवाफको दायराभित्र पर्दैन होला । कतारको सन्दर्भमा पनि हाम्रो एउटा निश्चित मान्यता छ कि नेपालका संस्थाहरूले पहिले जुन ढंगले परीक्षण गर्दै आएका थिए, त्यो निरन्तर रहनुपर्छ भन्ने हाम्रो अडान हो । कतार जाने श्रमिकहरूले त्यसबाट निःशुल्क सेवा प्राप्त गर्नुपर्छ भन्ने हाम्रो अडान हो । यसउपर कहीँ समस्या पर्‍यो भने सरकारको ध्यान अवश्य जानेछ । अरू देशका सन्दर्भमा पनि हामी प्रत्येक देशसँग एमओयू गर्दै छौँ । द्विपक्षीय सम्झौता गर्दै छौँ । ती सम्झौताहरूमा प्रतिस्पर्धा, पारदर्शिता र श्रमिकको सेवा, सर्त, सुविधालाई प्रस्ट किटान गर्ने व्यवस्था हामी मिलाउनेछौँ । क्रमशः हामी सबै त्यससँग संवादलाई अगाडि बढाइरहेका छौँ ।

 

अभियोग ६ : मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गरिरहेका कम्पनीहरूसँग तपाईंंको स्वार्थ बाझिएकाले बढी जोड त्यता दिनुभयो भन्ने आरोप तपाईंंमाथि लाग्यो नि !

चाहे मलेसिया जाने सन्दर्भमा होस्, चाहे अरू देश जाने, मेरो एउटै मात्र स्वार्थ भनेको आमनेपाली श्रमिकहरू सुरक्षित हुनुपर्छ भन्ने हो । नेपाली श्रमिकहरू मर्यादित र शोषणरहित ढंगले जाने वातावरण हुनुपर्छ । मैले यही कुरा उठाइरहेको छु । श्रमिकहरूको हितको वकालत गरिरहँदा, उनीहरूको हितका लागि अडान राखिरहँदा त्यसमा मेरो व्यक्तिगत स्वार्थ कसरी जोडिन्छ ? मैले देशभित्र र बाहिर सम्पूर्ण क्षेत्रमा शून्य लागतमा नेपाली श्रमिक जाने कुरालाई उठाइरहेको छु । एउटा नजिर स्थापित गरेर अन्य देशमा पनि नेपाली श्रमिकले शून्य लागतमा जान पाउने कुरालाई क्रमशः सम्झौता गर्दै जाने हो । युएईसँग सम्झौता भएको छ, मलेसियासँग भएको छ, ओमानसँग अब हामी अन्तिम चरणमा छौँ । साउदीसँग अगाडि बढेको छ, कतारसँग संवाद भइरहेको छ । टर्कीसँग हामीले कुरा अगाडि बढाएका छौँ । यी सबै देशसँग हामीले यही मान्यताका आधारमा सम्झौताको तयारी गरिरहेका छौँ भने त्यसमा मेरो व्यक्तिगत स्वार्थ के रहन्छ ? नेपाली श्रमिकले शून्य लागतमा सुरक्षित ढंगले काम गर्ने अवसर प्राप्त गर्नुपर्छ भन्ने मैले जे मान्यता उठाएँ, यो मान्यतालाई देख्न नचाहने कुनै शक्तिले स्वार्थ देख्न पुग्छ भने मैले के भन्नु ? नेपालीमा एउटा उखान छ, ‘के जातिलाई सधैँभरि हरियो’ भनेजस्तै हो त्यो ।

 

अभियोग ७ : योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू हुने भएपछि श्रमिक उत्साही बने । तर, एक वर्षको अवधिमा देशभरका करिब सवा नौ लाख प्रतिष्ठानमध्ये पाँच हजारलाई पनि कोषमा आबद्ध गराउन सक्नुभएन । निजी क्षेत्रको प्रभावले कार्यक्रम नै लागू नहुने हो कि भनेर श्रमिकहरू शंका गर्न थालेका छन् । 

यो सामाजिक सुरक्षा योजनालाई सही ढंगले बुझ्ने सवालमा भएको कमी हो । संसारका विकसित देशले पनि सामाजिक सुरक्षा योजनाको दायरामा आमजनतालाई ल्याउन दशकौँ पार गरेका इतिहास छन् । हामीले एक वर्षभित्र योजना कार्यान्वयनमा ल्याउन चाहिने कानुनी र आइटी संरचना निर्माण, जनशक्तिको व्यवस्थापनदेखि रोजगारदाता र श्रमिकको सूचीकरण मात्र गरेनौँ, रोजगारदाता र श्रमिकको तर्फबाट गरिने योगदानको पनि संकलन सुरु गरेका छौँ । कतिपय देशहरूमा यस्तो योजना शुभारम्भ भएको तीन वर्षमा मात्रै यी विवरण संकलन गरिएका उदाहरण छन् । तर, हामीले एक वर्षभित्र यी सबै चरणलाई पार गरेर झन्डै पाँच हजार रोजगारदाता र झन्डै ६७ हजारभन्दा बढी श्रमिकको नाम सूचीकरण गरेका छौँ । हरेक दिन तीन–चार हजारका दरले थपिँदै छन् ।

 

जहाँसम्म सवा नौ लाख प्रतिष्ठानको कुरा छ, त्यो नेपालमा जम्माजम्मी दर्ता भएकाको संख्या हो । काम गरे–नगरेका, खारेज भएका वा स्वरोजगारी गरेका, अरूलाई रोजगारी दिएका, उपभोक्ता समिति, एनजिओ, आइएनजिओ, उद्योग, खुद्रा पसलहरू सबै त्यसमा छन् । तर, रोजगारी दिने हैसियतले क्रियाशील संस्थाहरू ३०–४० हजारभन्दा बढी छन्जस्तो मलाई लाग्दैन । अति धेरै भए पनि ५०–६० हजारभन्दा बढी छैनन् । अत्यन्त प्रतिष्ठित ठूला प्रतिष्ठानहरू कोषको दायरामा आइसकेका छन् । पाँच हजार प्रतिष्ठानभित्र झन्डै दुई–तीन लाख श्रमिकहरूले काम गर्ने तथ्यांक आएको छ, त्यो सूचीकरणका लागि निरन्तर काम भइरहेको छ । सूचीकरणका लागि जुन प्रकारको आइटी प्रणालीबाट हामीले काम गरिरहेका छौँ, त्यो काम गर्दागर्दैै ढिलो भएको मात्र हो । उहाँहरू आउन नचाहेको होइन, आइरहनुभएको छ । त्यसकारण यो कार्यक्रम अत्यन्त सफल छ ।

 

कुनै पनि काम शतप्रतिशत पूर्णता कहिल्यै पनि हुँदैन । यो कार्यक्रमले पनि सम्पूर्ण रूपमा आमजनतालाई सामाजिक सुरक्षाको आदान–प्रदान गर्न अझै केही वर्ष लाग्न सक्छ । तर, यो छोटो अवधिमा पनि जुन उत्साहका साथ सूचीकरणमा आइरहनुभएको छ, त्यो उत्साहपूर्ण छ । असोज मसान्तभित्र सबै उद्योग–प्रतिष्ठानहरूलाई सूचीकरणका लागि म्याद राखिएको छ । हामीलाई विश्वास छ, यो कार्यक्रम पूरा हुन्छ । किनकि, यो कार्यक्रम रोजगारदाता र श्रमिक दुवैको हितमा छ । आमश्रमिकको जीवनलाई बदल्ने ऐतिहासिक कार्यक्रम हो । राज्यको सामर्थ्य नहुँदा पनि यस प्रकारका कार्यक्रमले आमजनतालाई सुरक्षाको आदान–प्रदान गर्न सक्छ । यसकारण यो कार्यक्रम स्वयंमै जनताको कार्यक्रम भएकाले पनि यसमा असफलताको कुनै गुन्जाइस छैन ।

 

अभियोग ८ : पार्टीभित्र स्वार्थअनुकूल गुटहरूसँग दूरी बनाउनुहुन्छ । सबै नेताहरूको प्रिय बन्न खोज्नुहुन्छ, त्यही भएर कसैले पनि पूर्ण विश्वास गर्दैनन् । 

कतिपय नेताहरू दिउँसो–दिउँसो पत्रिकामा विरोध गरेजस्तो गर्ने, राति–राति गुलामी गर्न ठूला नेताहरूको दैलो चहार्छन् । त्यस्ता साथीहरू बाह्रै महिना अरुविरुद्ध खुराफातमा लाग्ने गरेको छन्, जुन पार्टी, आन्दोलन र स्वयं उनीहरूकै लागि पनि हितकर होईन ।  त्यही मानसिकता र प्रवृत्तिका व्यक्तिहरूले ईष्र्यावश यस्ता आरोपहरू लगाउने गरेका हुन् । तर, तपाईंं आफ्नो ढंगले बुझ्नुस, इमानदारीसाथ अनुसन्धान गर्नुस्, विश्लेषण गर्नुस्, म दाबाका साथ भन्छु, मलाई न्यायोचित मान्यतामा लगातार अडान राख्ने कार्यकर्ताका रूपमा पाउनुहुन्छ होला । मेरा केही तर्क, केही मान्यता छन् । त्यसकै आधारमा ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने गरी नै म उभिने गर्छु । यसकारण सत्यको पक्षमा उभिँदा कहिले को नजिक पर्ला, कहिले को टाढा हुन पुग्ला । इस्युले नै सबै कुरा निर्धारण गर्छ । मलाई त्यस्तो अरोप लगाउने व्यक्तिहरूबारे खोज्नुस्, तिनीहरूले दिउँसो एउटा र राति अर्को कुरा गर्ने गरेको पाउनुहुन्छ । मेरो दिउँसो पनि एउटै कुरा, राति पनि एउटै कुरा हुन्छ । कहीँ संवाद हुँदा पनि एउटै कुरा, नहुँदा पनि एउटै कुरा हुन्छ । म जे बोल्छु त्यही गर्छु, जे गर्छु त्यति मात्रै बोल्छु । र, अर्को कुरा म पार्टीभित्र हरेक निर्वाचनमा नेता÷कार्यकर्ता साथीहरूको विश्वास जितेर निर्वाचित भएर नै यो ठाउँमा पुगेको हुँ । संसदीय निर्वाचनमा पनि आममतदाताको आशिर्वाद पाएर जितेको हुँ, खुराफात गरेर होईन ।

 

अभियोग ९ :  नवौँ महाधिवेशनमा माधव नेपाल समूहबाट उम्मेदवार बन्नुभयो, तर सार्वजनिक रूपमा प्रस्ट खुल्नुभएन । भोट पनि समूहलाई होइन, आफूलाई मात्र माग्नुभयो । जसले गर्दा माधव नेपाल समूहलाई घाटा भएको आरोप तपाईंंमाथि लाग्यो । 

म एउटा व्यक्तिले भोट माग्दा र नमाग्दा त्यस्तो निर्णायक परिणाम प्राप्त हुन्छ भन्ने विश्लेषण यदि कसैले गरेको छ भने त्यसलाई म धन्यवाद नै दिन्छु । जहाँसम्म भोट माग्ने र नमाग्ने सन्दर्भ छ, अरूले जुन शैलीले भोट मागे, मैले पनि त्यही शैली नै प्रयोग गरेको हुँ । यस्तो आरोप म सामेल भएको समूहकै साथीहरूले लगाएको पनि हुन सक्छ । उनीहरूले एकपटक फर्किएर हेरून् त, आफ्ना फोटाहरू मात्र छापे, तोरणहरू बनाए, आफ्नो पक्षमा मात्र फेसबुकमा क्याम्पेन गरे । बरु, ती साथीहरूले समूहका लागि भोट मागेनन् । तपाईंंले गम्भीरता साथ खोज्नुभयो भने प्रस्ट हुन्छ । महाधिवेशनमा सबैभन्दा बढी मत आमप्रतिनिधि साथीहरूले मलाई दिएको कारण कहीँबाट ईष्र्यावश पनि यस्ता आरोप लगाएका हुन सक्छन् । यसप्रति मेरो कुनै गुनासो छैन, टिप्पणी छैन । र, नवौँ महाधिवेशनलाई सम्झिएर, चर्चा गरेर अहिले बोल्नुपर्ने, बहकिनुपर्ने वेला यो होइन । हामीले पार्टी एकता गरिसकेका छौँ, नयाँ ढंगले पार्टीलाई अगाडि बढाउने सोचका साथ अगाडि बढेका छौँ । यसकारण नवौँ, आठौँ, सातौँ महाधिवेशन सम्झिएर विगतको कुण्ठाबाट भविष्यलाई हेर्न म चाहँदिनँ ।

 

अभियोग १० :  प्रतिस्पर्धी नेतासँग राम्रो सम्बन्ध राख्नुहुन्न । तपाईंकै जिल्लाका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग राम्रो सम्बन्ध छैन, दुईजनाबीच आपसी समन्वय हुँदैन । जिल्लामा पनि तपाईंंहरूका फरक–फरक गुट छन् । त्यस्तै, तत्कालीन एमालेको नवौँ महाधिवेशनमा एउटै समूहबाट सचिवका उम्मेदवार बनेका योगेश भट्टराईलाई पनि प्रतिस्पर्धी ठान्नुहुन्छ, उनीसँग पनि सुमधुर सम्बन्ध छैन ।

प्रदीपजी, योगेशजीलगायतका साथीहरूसँग मेरो अत्यन्तै सौहार्द्धपूर्ण सम्बन्ध छ । न कुनै ईर्ष्या छ, न कुनै प्रतिस्पर्धा छ, न कुनै गुनासो छ । अत्यन्त सौहार्द्धपूर्ण सम्बन्धका साथ नै हामी राजनीतिमा अगाडि बढिरहेका छौँ । मेरो विचारमा व्यक्ति–व्यक्तिबीचको सम्बन्ध, संस्था–संस्थाबीचको सम्बन्धमा कहिलेकाहीँ उतार–चढाव आउन सक्छन् । यो स्वाभाविकै कुरा हो । यदि मबाहेक पार्टीभित्र अरू सबै साथीहरूका जीवनभर हरेक क्षणहरूमा सबै नेता–कार्यकर्तासँग एकै प्रकारको सम्बन्ध छ भन्ने मान्यता राख्नुहुन्छ र त्यही प्रकारको सम्बन्ध छ भने मेरो भन्नु केही छैन । त्यो उहाँहरूले नै पुष्टि गर्नुहोला । उहाँहरूको सबै प्रकारका नेता–कार्यकर्तासँग एकै प्रकारको सम्बन्ध रहन्छ भने त्यसमा मेरो भन्नु केही छैन, गुनासो केही छैन । तर, सम्बन्धको हिसाबले हामीले हेर्ने हो भने हरेक व्यक्ति–व्यक्तिबीचको सम्बन्ध निर्धारण हुने भनेको कहिलेकाहीँ इस्युले, कहिलेकाहीँ घटनाले, कहिलेकाहीँ समयले सम्बन्धलाई तलमाथि पार्न सक्छ । तर, अहिले तपाईंंले उल्लेख गरेका सबै नामसँग मेरो अत्यन्त सौहार्द्धपूर्ण सम्बन्ध छ । म शुभेच्छा पनि राख्छु । उहाँहरूलाई सम्मान पनि गर्छु । उहाँहरूले कस्तो गर्नुहुन्छ भन्ने कुरा उहाँहरूलाई नै सोध्नुहोला । मेरो तर्फबाट अत्यन्त सौहार्द्धपूर्ण सम्बन्ध छ ।

 

अभियोग ११ : आर्थिक रूपमा पनि पारदर्शी हुनुहुन्न । व्यापारीहरूसँग गोप्य साँठगाँठ रहेको आरोप तपाईंंकै पार्टीभित्र लाग्ने गर्छ । व्यवसायी राज्यलक्ष्मी गोल्छाले त सार्वजनिक रूपमै तपाईंंले रकम मागेको बताइन् । 

मेरो विचारमा यतिवेला यो प्रश्न गर्नुको पछाडि पनि डिजाइन छ । तपाईंंले बिर्सिनुभएछ, जति वेला राज्यलक्ष्मीजीले यो विषयको चर्चा गर्नुभयो, त्यसतिखेर मैले औपचारिक रूपमै त्यसको खण्डन गरेँ । र, लगत्तै स्वयं राज्यलक्ष्मीजीले पनि ‘म र इश्वर पोखरेल होइनन्’ भनेर औपचारिक वक्तव्य दिनुभएको थियो । बरु, अरू कतिपय साथीहरूका नाम आए, उहाँहरू कसैले पनि खण्डन गर्नुभएन । खण्डन नगर्नुभएका साथीहरूको चर्चा भएन । हामीले खण्डन गर्‍यौँ, स्वयं आरोप लगाउनेले पनि करेक्सन गरिसक्दा पनि तपाईंंले यो प्रश्न बनाउनुको तात्पर्य, यसका पछाडि कहीँ न कहीँ डिजाइन छ ।

 

अभियोग १२ : अघिल्लोपटक ऊर्जामन्त्री हुनुअघि तपाईंमाथि खुकुरी प्रहार भयो, तर तपाईंले अनुसन्धानका लागि दबाब नै दिनुभएन । अपराधी फेला नपरेकोमै खुसी हुनुहुन्छ भन्ने आरोप तपाईंमाथि लाग्छ ।
त्यतिखेर छानबिनका लागि एउटा टिम बन्यो, त्यसले पर्याप्त अनुसन्धान पनि गर्‍यो । तर, अपराधीहरू पत्ता लागेनन् । मैले खुकुरी खाएँ, अपराधीहरू पत्ता लागेनन् । र, पनि मैले ममाथि हमला गर्नेहरू खोजी गर्न रुचि देखाइनँ भनेर कसैले भन्छन् भने उनीहरूको सोचको दरिद्रताप्रति मैले दया गर्नुपर्छ । त्यसबाहेक मैले के भन्न सक्छु र ? नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
महरा र रोशनीको फरेन्सिक जाँच: आयो यस्तो रिपोर्ट, अब के होला ?

  निवर्तमान सभामुख कृष्णबहादुर महराबाट ब’लात्कार प्रयासकी पीडित रो’शनी शाहीको शरीरमा लागेका चोटपटकमा

गैरआवासीय नेपाली संघको चुनाव : कुल आचार्यको प्यानल घोषणा, उम्मेदवारको सूचीसहित

गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो टिमलाई अन्तिम

काङ्ग्रेसबाट निर्वाचित वडा सदस्य नै जुवाको खाल बाट पक्राउ

  बुढानिलकण्ठ नगरपालिकामा नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा एक वडा सदस्य जुवाको खाल

एनआरएनएले नेपालको पहिचान बदल्ने भूमिका खेल्नेछ : कुमार पन्त, अध्यक्षका प्रत्यासी

    गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसिसी) को नवौं बिश्व