नेपालकै ‘बलियी’ महिला



२२ वर्षअघि खेलकुद यात्रा सुरू गर्दा तारादेवी पुन भलिबल खेलाडी थिइन्।

२०५४ सालमा उनी १६ वर्षकी हुँदा म्याग्दीबाट भलिबल खेल्न नपालगञ्ज पुगेकी थिइन्। चौथो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट स्वर्ण जितेकी ताराले २ वर्षपछि जीवनको बाटो मोडिन्। भलिबल छाडेर भारोत्तोलन रोजिन्।

त्यही रोजाइले ताराको परिचय बदलियो। आफूले भाग लिएका राष्ट्रिय प्रतियोगितामा सधैं पहिलो भएकी तारा दुई दशकदेखि नेपालकै ‘बलियी’ (स्ट्रङ्गेस्ट) महिला खेलाडीका रुपमा चिनिन्छन्।

गत साता भएको सुनील जोशी स्मृति राष्ट्रिय प्रतियोगितामा उनी ‘स्ट्रङ्गेस्ट’ खेलाडी घोषित हुन सफल भइन्। सिनियर ७६ केजी तौलमा खेलेकी उनले कुल १७० किलो भार उचालेर स्वर्ण जितेकी थिइन्।

निरन्तर २२ वर्ष खेलकुद क्षेत्रमा सक्रिय तारा लगातार पाँच राष्ट्रिय खेलकुदमा भाग लिएर पाँचै वटा प्रतियोगितामा स्वर्ण पदक जित्ने नेपालकी एक्ली खेलाडी हुन्।

दुई दशक नेपाली भारोत्तोलनमा राज गरेकी ताराको बाल्यकाल भने दुःखैदुःखमा बितेको थियो। त्यही दुःख उनको खेल जीवनमा वरदान साबित भयो।

‘म ठूलो हुँदासम्म हाम्रो घर थिएन। गोठमै जन्मिएँ, गोठमै हुर्किएँ,’ तारा बाल्यकाल सम्झिन्छिन्।

तारा काम गर्न सक्नेपछि बुबाले घर बनाउन थाले।

‘कामदार लगाएर घर बनाउने स्थिति थिएन। दाजुहरू र मैले चाहिने काठ र ढुंगा बोक्थ्यौं। ठूल्ठूला ढुंगा पिठ्यूँमा बोकेको अझै याद छ,’ तारा भन्छिन्।

बाल्यकालदेखि नै बलियी र मोटीघाटी तारा गाँउकै ठूलो भारी घाँस ल्याउने केटीमा पर्थिन्।

‘कुखुराले जहाँ अण्डा पार्‍यो त्यहीँबाट झिकेर खाइदिन्थेँ। दुहुँदै गरेको दूध पिउँथेँ,’ तारा आफ्नो तागतको राज खोल्छिन्।

उनी खेलकुदमा त्यस्तै थिइन्। कबड्डी खेल्दा विपक्षीका एक हुल नै सोहोरेर ल्याउथिन्। गाँउकी राम्रो भलिबल खेलाडीमा पर्थिन्। गाँउमा खेलेको भलिबलले उनलाई पश्चिमाञ्चलको टिममा पर्न काफी भयो। २०५४ सालमा पश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै चौथो राष्ट्रिय खेलकुदमा भाग लिन नेपालगञ्ज पुगिन्।

दुई दशकअघिको नेपालगञ्ज सम्झना उनको दिमाखमा तिरमिर मात्र बाँकी छ।

‘नेपालगञ्जको चौथो राष्ट्रिय खेलकुद अहिले सपना जस्तै लाग्छ,’ ताराले सुनाइन्।

चौथो राष्ट्रिय खेलकुद खेलेर फर्किएपछि उनको भेट तेक्वान्दोकी ओलम्पियन प्रमिला थापासँग भयो। प्रमिलाले तारालाई देख्नेबित्तिकै भारोत्तोलन खेल्न सुझाव दिइन्।

‘देख्दा मोटोघाटो भएर होला, उहाँले मलाई भारोत्तोलन खेल्न सुझाउनुभयो। तर मलाई भारोत्तोलन कस्तो खेल हो, कसरी खेलिन्छ, केही थाहा थिएन,’ ताराले भनिन्।

भारोत्तोलन खेलाडी बन्ने सपना बोकेर उनी २०५८ साल पुसमा पहिलो पटक काठमाडौं आइन्। तत्कालीन प्रशिक्षक सुनीललाल जोशी भेट्न त्रिपुरेश्वर पुगिन्। लगातार चार दिन त्रिपुरेश्वर धाउँदा पनि जोशीलाई भेट्न सकिनन्।

‘म बिहानै त्रिपुरेश्वर आउँथेँ। उहाँ दिउँसो आउनुहुँदो रहेछ। पाँचौ दिन बल्ल सुनील गुरुसँग भेट भयो। उहाँले मिठु गुप्ता गुरुसँग भेट गराइदिनु भयो,’ तारा सम्झिन्छिन्, ‘मैले भारोत्तोलन खेल्न आएको भनेपछि मिठु गुरुले पत्याउनु भएन। दोहोर्‍याइ तेहेर्‍याइ ‘पक्का खेल्छौ नि’ भनेर प्रश्न गरिरहनु भयो। मैले ‘खेल्न सक्छु गुरु’ मात्र भनिरहेँ।’

त्यति बेलासम्म भारोत्तोलनमा महिला खेलाडीको उपस्थिति न्यून थियो। अझ गाँउबाट झरेकी र भारोत्तोलनबारे जानकारी नभएकी किशोरीको कुरा पत्याइहाल्ने स्थिति थिएन।

मिठुले तारालाई अर्का प्रशिक्षक राजेन्द्र प्रधानसँग सिक्न पठाइदिए। प्रधानले पनि सुरूमा पत्याएनन्।

‘अहिले ५ केजीको रड उचालेर प्रशिक्षण सुरू हुन्छ। तर मलाई त्यति बेला एकैपटक २० केजी दिनुभयो। आत्मविश्वास भएकाले सिधै उचालिदिएँ। त्यसपछि गुरुलाई पनि विश्वास भयो। २०५८ पुस २३ को त्यो मिति अझै मलाई याद छ,’ तारा भारोत्तोलनको सुरूआती दिन सम्झिन्छिन्।

पुसमा भारोत्तोलन सिक्न थालेकी तारा चैतमा वीरगगञ्मा भएको राष्ट्रिय प्रतियोगितामा भाग लिन पुगिन्। प्रतिस्पर्धा स्थल पुगेपछि उनको नजरमा एउटा ट्रफी पर्‍यो।

‘तिमी प्रतियोगिताको स्ट्रङ्गेस्ट खेलाडी भयौ भने त्यो ट्रफी पाउँछ्यौ,’ उनलाई प्रशिक्षकले भनेका थिए।

भर्खर भारोत्तोलनमा लागेकी उनलाई ट्रफी जित्ने इच्छा त थियो, विश्वास भने थिएन। विश्वासलाई इच्छाले जितिदियो। उनी प्रतियोगिताको स्ट्रङ्गेस्ट खेलाडी घोषित भइन्।

‘त्यो राम्रो ट्रफीसहित खाममा राखेर ५ हजार पुरस्कार पाएपछि औधी खुसी भएकी थिएँ,’ तारा भन्छिन्, ‘त्यसअघि सामूहिक खेलमा मात्र जितेको थिएँ। वीरगञ्जमा विजयी भएपछि एकल खेल जितको स्वाद फरक भएको महशुस गरेँ। आफ्नै मिहिनेतले जितेको हुँ भन्ने भावना आउँदो रहेछ।’

स्वर्णको स्वाद चाखेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। भाग लिएका सबै राष्ट्रिय प्रतियोगिता जितिन्।

२०६५ सालमा काठमाडौंमा भएको पाँचौ, २०६८ मा धनगढीमा भएको छैठौं, २०७३ मा विराटनगरमा भएको सातौं र २०७६ मा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेर कीर्तिमान बनाइन्। भाग लिएका सबै प्रतियोगितामा उनले स्ट्रङ्गेस्टको उपाधि हात पार्ने गरेकी छिन्।

‘मेरा प्रशिक्षक र मेरो मिहिनेत, लगनशीलता र इच्छाशक्तिले यहाँसम्म आइपुगेँ,’ आफ्नो सफलताबारे भन्छिन्।

उनले पाँच वर्षअघि दक्षिण कोरिया र गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा भाग लिइन्। दुवै प्रतियोगितामा राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी थिइन्। इन्चोनमा एउटा राष्ट्रिय कीर्तिमान बनाएकी उनले जाकर्तामा ३ वटा कायम गरिन्।

तीन वर्षअघि भारतमा भएको दक्षिण एसियाली खेलकुद (साग)मा कास्य जित्नु उनले अन्तर्राष्ट्रिय स्तरमा जितेको महत्वपूर्ण पदक हो। यसपटक नेपालमै आयोजना हुने (साग) मा उनी स्वर्ण जित्न मिहिनेत गरिरहेकी छिन्।

हाल सागका लागि बन्द प्रशिक्षणमा रहेकी तारा भन्छिन्, ‘अझै दुइटा छनोट बाँकी छ। भाग्य र स्वास्थ्यले साथ दिएर छनोट भएँ भने अघिल्लो सागमा ल्याएको कास्य पदकभन्दा माथिल्लो पदक जित्ने लक्ष्य छ।’

बंगलादेश र श्रीलंकाका खेलाडीको स्तर समान छ। त्यसैले ताराले भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्न थप मिहिनेत गर्नुपर्नेछ।

भन्छिन्, ‘अरु देशका खेलाडीलाई कमजोर आँक्न मिल्दैन। तर भारतसँग अलि खत्रा लडाइँ लड्नुपर्छ। अझ बढी मिहिनेत गर्नुपर्छ।’

सागअन्तर्गत भारोत्तोलनको प्रतिस्पर्धा पोखरामा हुने भएपछि उनी थप हौसिएकी छिन्।

‘पोखरा घरनजिकै पर्ने भएकाले छुट्टै जोश आउनेछ। घर परिवारका सबैलाई बोलाउने चाहना छ,’ उनले भनिन्।

घरका अधिकांश सदस्य ताराले भारोत्तोलनमा लागेर पाएको सफलताले खुसी छन्, आमाबाहेक।

उनकी आमाको एउटै इच्छा छ, ‘मेरी छोरीले छिट्टै खेल्न छाडोस्।’

आमा किन खुसी हुनुहुन्न?

ताराको जवाफ छ, ‘एकपटक मैले आमालाई मेरो खेल हेर्न ल्याएकी थिएँ। त्यति नै बेला ‘वेट’ खेसर मेरो शरीरमा लाग्यो। हल्का घाइते भएँ। त्यो देखेपछि आमा डराउनु भयो।’

त्यसपछि ताराले दर्जनौं पदक जितिसकिन्। तर, उनकी आमा खुसी हुनु भइनन्।

‘जितेपछि स्याबास् त भन्नुहुन्छ तर आत्मादेखि खुसी भए जस्तो लाग्दैन। सायद मैले खेल छाडेपछि खुसी हुनुहुन्छ,’ तारा भावुक भनिन्, ‘आमाको इच्छाविपरीत खेल्दा त्यति खुसी त लाग्दैन। तर खेलमै रस बसेकाले छोड्न पनि सक्दिनँ।’

आमा दुखी भएपछि उनी सम्झाउँदै भन्छिन्, ‘आमा म पहिला जस्तो छैन। घाइते हुँदा खेल्दिनँ। आराम गरिरहन्छु। उपचार गरिरहन्छु।’

ताराले सम्झाए पनि आमाको मन, कसरी मान्थ्यो र। आफ्नो सन्तानलाई चोट लाग्ला भनेर सधैं पिरोलिरहन्छ।

‘कहिले यसले खेल्न छाड्छे अनि मलाई सन्चो हुन्छ,’ ताराले सम्झाउँदा मुन्टो हल्लाउने आमा दिदीहरूलाई भनिरहन्छिन्।

उमेर ढल्किँदै जाँदा आमाको इच्छा पूरा हुने दिन धैरै टाढा छैन। एक दिन आफूले खेल जीवन त्याग्नुपर्ने ३८ वसन्त पार गरिसकेकी ताराले बुझेकी छिन्।

भन्छिन्, ‘सागमा स्वर्ण जितेर खेल्न छाड्ने मेरो चाहना छ। भाग्यले साथ दिए पूरा होला। नत्र अधुरै रहला।’

 

प्रतिक्रिया दिनुहोस
एडिबीको सहुलियत ऋण सहयोगमा तीन अर्बका योजना

  एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिकामा तीन अर्बका

उपप्रधानमन्त्री यादव भारत भ्रमणमा

  समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव सोमबार नयाँ दिल्ली

जीवनभरन पैसाको कमी हुन नदिन यस्ता कुरामा ध्यान दिनुहोस…

  हरेक दिन भगवानको पूजा गरेर सोचेजस्तै कृपा पाउन सकिदैन् । धार्मिक ग्रन्थमा

को को हुँदैछन् नेकपाबाट मन्त्री ?

  प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझसम्म मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन् ।