मानिसहरूको अनुहारबाट हाँसो हराउँदै गएको छ



 

१८ सालदेखि ३० सालसम्म साँच्चै हास्यव्यंग्य नै थियो । रमाइलो गर्ने, हास्य गर्ने, कहिलेकाहीं छास्सछुस्स व्यंग्य पनि गर्थ्यौं । त्यति कडा व्यंग्य पनि हुँदैनथ्यो । पछि–पछि अलि कडा राजनैतिक व्यंग्य आए । साँच्चै भन्ने हो भने ०३० सालसम्म नेपाली साहित्यमा हास्यव्यंग्य एकदम उच्चतम स्थितिमा थियो ।

रामकुमार पाँडे, नेपालका वरिष्ठ हास्यव्यंग्यकार हुन् । २०१८ सालदेखि हास्यव्यंग्य लेखनमा सक्रिय पाँडे हास्यव्यंग्यलाई प्रवर्द्धन गर्न हरेक वर्ष आफ्नो निवासमा आलु पार्टीसमेत आयोजित गर्छन् । पाँडेका हास्यव्यंग्य सम्बन्धी ॅख्याल–ख्याल’, ॅ१०१ हास्यव्यंग्य’, ॅहाँस्ने कविता’, ॅमुसोलाई श्रीपेच’, ॅथुइक्क’, ॅहास्यकथा’, ॅमुक्त माहुर’ आदि कृति प्रकाशित छन् । पाँडेले नेपाली हास्यव्यंग्यलाई अन्तर्राष्ट्रियकरण गर्न ॅनेप्लिज कार्टुन ’, नेप्लिज ह्युमर’ तथा ॅनेप्लिज कमिक्स’ गरी अंग्रेजी भाषामा तीन पुस्तक प्रकाशित गरेका छन् । पाँडेसँग नेपाली हास्यव्यंग्य, यसको अवस्था, समस्या आदि विषयमा केन्द्रित रहेर जनक तिमिल्सिनाले गरेको कुराकानी :

हास्यव्यंग्यकारको नजरमा हास्यव्यंग्य के हो ?

हास्यव्यंग्य भनेको मानिसका लागि अपरिहार्य कुरा हो । नेपालमा मात्र होइन, विश्वभर नै हास्यचेत लोप हुँदै गएको भान हुन थालेको छ । किनभने ठूला–ठूला सहरहरूमा मानिसहरू एकदमै सिरियस मुद्रामा हिँडिरहेका हुन्छन् । हामी जनावरहरू लोप हुन थाले भनेर चिन्तित हुन्छौं, तर अनुहारबाट भगवान्को वरदान हास्य हटायो भने मान्छे रुखो–सुखो हुन्छ । नेपाली जाति नै हँसिला–रसिला छन् । दुःखमा पनि हाँस्न सक्ने कुनै जाति छ भने त्यो नेपाली नै हो । भोको पेटमा पनि दंग परेर जात्रा मेलामा भाग लिनु हाम्रो परम्परा नै हो । यद्यपि यो एकादेशको कथा होला कि भन्ने डर बढेको छ ।

तपाईंले कहिलेदेखि हास्यव्यंग्य क्षेत्र हात हाल्नुभएको हो ? 

मैले २०१८ सालदेखि नै हास्य–व्यंग्य क्षेत्रमा हात हालेको हुँ ।

त्यतिबेला हास्यव्यंग्य पनि लेखिन्थ्यो ? 

मलाई हास्यव्यंग्य के हो भन्ने कुरा थाहा थिएन । २०१८ सालमा विद्यालयस्तरमा छँदा नै मैले लेख्न थालेको हुँ । निकै अग्लो भएकाले अरूले उपहार दिएका लुगा मलाई मिल्दैनथे, पाइन्ट कट्टुजस्तो देखिन्थ्यो, होचो घरमा बस्ने साथीहरूको घरमा जाँदा ढोकामा टाउको ठोक्किने, सीधै हिँड्यो भने ठोक्किएर टुटुल्को उठ्थ्यो । त्यस्ता घटनाहरू टिप्दै गएँ । ‘म अग्लो भएँ’ भनेर लेखे, दाइहरूलाई देखाउँदा उनीहरूले ओहो गज्जब लेखेछौं, यो त हास्यव्यंग्य हो भने । यस्तै लेख्दै जाऊ भनेर हौस्याए अनि मैले लेख्दै गएँ । हांस्यव्यंग्य के हो भनेर खोज्दै जाँदा केशवराज पिंडालीले लेखेको प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित भएको ‘खै खै’ भन्ने उत्पातको पुस्तक फेला पारें । ‘खै खै’ भन्ने थेगोलाई टिपेर उहाँले गज्जब मीठो पुस्तक लेख्नुभएको थियो । २००८ सालमा कृष्ण पराजुलीले ‘रसवरी चकचक’ शीर्षकको पुस्तक निकाल्नुभएको थियो । त्यो पनि एकदमै सुन्दर । २०२२ सालतिर भैरव अर्यालले ‘काउकुती’ निकाले । २०२३ सालमा मेरो संकलन ‘ख्याल ख्याल’ निस्कियो ।

अहिले नेपालमा हास्यव्यंग्यको स्थिति कस्तो छ ? 

०१८ सालदेखि ३० सालसम्म साँच्चै हास्यव्यंग्य नै थियो । रमाइलो गर्ने, हास्य गर्ने, कहिलेकाहीं छास्सछुस्स व्यंग्य पनि गर्थ्यौं । त्यति कडा व्यंग्य पनि हुँदैनथ्यो । पछि–पछि अलि कडा राजनैतिक व्यंग्य आए । साँच्चै भन्ने हो भने ०३० सालसम्म नेपाली साहित्यमा हास्यव्यंग्य एकदम उच्चतम स्थितिमा थियो । अहिले व्यंग्य कम हुँदै गएको छ भने हांस्य बढी हुन थालेको छ । अहिले त हास्यंव्यंग्यलाई गालीगलौजका रूपमा, कटाक्षका रूपमा प्रयोग गर्ने गरिएको छ । अहिले हास्यव्यंग्यको शिल्पशैलीको दुरुपयोग हुँदा व्यंग्य साहित्यको शाश्वत सुन्दरता हराएको छ । म सबैलाई भन्छु, नेपाली साहित्यमा हांस्यव्यंग्य सबैभन्दा माथि उठेर लेखिनुपर्छ, कुनै जाति, धर्म एवं राजनैतिक पक्षको भएर होइन । मानिसमा देखिएका कमजोरीहरूप्रति व्यंग्य गर्नुपर्छ, किनभने हास्यव्यंग्य सुधारसापेक्ष हुन्छ, व्यंग्य मानिसमा चेत पलाओस् भनेर गरिने कुरा हो ।

अहिले किन हास्यव्यंग्य लेखनको त्यति चर्चा नभएको होला ? 

०६२/६३ को आन्दोलनपछि मानिसमा संवेदनशीलता हरायो । देशको सबैभन्दा ठूलो नोक्सानी भनेकै मानिसको संवेदनशीलता हराउनु हो, त्यसमा कसैले ध्यान दिएका छैनन् । दुई जना मरे भने ए भन्यो, कसैलाई मतलबै छैन, १० जना मरे भने मरे है भन्यो सकियो, ३०/४० जना मरे भने ए यसरी मरेछन् भन्नेसम्म आयो । कुनै बेला पोखरामा एउटा सानो घटना घट्दा देशै हल्लिन्थ्यो । हास्यव्यंग्यमा व्यंग्यचित्र पनि त्यत्तिकै पुरस्कृत हुन्थे, कविता, प्रहसन त्यत्तिकै आउँथ्यो, पुरस्कार हुन्थ्यो, त्यसैले सबै उत्साहित थिए । त्यसबाट सरकारले पनि देशमा के गलत भैरहेको छ भन्ने जानकारी पाउँथ्यो । २०२२ सालमा म ‘मायालु’ भन्ने पत्रिका निकाल्थें, त्यसमा हास्यव्यंग्य अलिअलि हुन्थ्यो । २०२७–०२८ सालतिर ‘कलियुग’ नामक हास्यव्यंग्य पत्रिका बजारमा आउनासाथ हारालुछ हुन्थ्यो । त्यो पक्रिका दरबारका साथै अन्य शत्ति केन्द्रहरूमा पनि पुग्थ्यो । त्यसले गलत गर्नेलाई हटाउने र राम्रोलाई ल्याउनेसम्मको प्रभाव हुन्थ्यो । २०३६ सालपछि अलि राजनीतिक चेतना आउन थाल्यो, २०४६ सालको परिवर्तनपछि व्यंग्य चित्र प्रशस्त आए । व्यंग्य चित्रकार तथा लेखकहरू मिलेर ‘भाँडभैलो’ पत्रिका निकाले । त्यसअघि ‘रचना’ भन्ने पत्रिकाले एउटा विशेषांक निकाल्थ्यो । ‘मुस्कान’ भन्ने हास्यव्यंग्य पत्रिका पनि थियो । ०६२/६३ पछि पत्रिकाहरूले हांस्यव्यंग्यलाई महत्त्व दिन छाडे । पहिले–पहिले सम्पादकहरूले फोन गरेरै व्यंग्य माग्थे, छापिन्थ्यो, मानिसहरूले खुब मन पराउँथे ।

त्यो बेलाका जस्ता हास्यव्यंग्य नआएका हुन् कि नयाँ लेखक नै नभएका हुन् ? 

अहिले अवसरको पनि अभाव छ । केही राम्रा लेखक अहिले पनि छन् तर उनीहरूले अवसर पाएका छैनन् । काठमाडौंकै मेरा मित्रहरूले पनि आफ्ना लेखहरू छापिँदैनन् भनेर गुनासो गर्छन् । लेखकहरूलाई पत्रपत्रिका, मिडिया र पब्लिसर्स हाउसहरूले पनि प्रोत्साहित गर्नुपर्छ । अहिले मिडियाहरूले आख्यानमा जोड दिइरहेका छन्, त्यसमा म कुनै गुदी कुरो पाउँदिनँ । कति उपन्यासमा नाराबाजी छ, कति उपन्यासमा पक्षधरता छ, कतिमा जे कुरा लेखिनु हुँदैनथ्यो त्यो पनि लेखिएको छ । हाम्रो राष्ट्रिय मान्यताअनुसार नभएका चिजहरू पनि आएका छन् । यता एकथरीले सोझै व्यंग्य गर्न थाले, तिनीहरूको व्यंग्य हेर्दा सम्पादकहरू समेत दिक्क हुने अवस्था छ ।

व्यंग्य गाली–गलौजको शैलीमा किन गएको होला ? 

यो सबै राजनैतिक विकृतिले सिर्जना गरेको हो । लेखकहरू राजनैतिक पक्ष…–विपक्षमा लाग्न थाले । केही पाइन्छ कि भनेर लोभ गर्न थाले, त्यही लोभका कारण उनीहरू माथि उठ्न सकेनन् । स्वच्छ हिसाबले नेपाललाई सबैभन्दा माथि राखेर सोच्छु भने म कुनै पार्टीलाई राम्रो भनेर, कसैलाई नियतवश होच्याएर लेख्दिनँ । म सबैभन्दा माथि उठेर यो ठीक भएन है भनेर नेपाल र नेपालीका लागि लेख्छु । अहिले त्यस्ता लेखकहरू छैनन् भने पनि हुन्छ । अलिकति पक्ष नलागेकालाई पत्रपत्रिकाले पनि छाप्दैनन् । किनभने, पत्रिकाहरू नै पक्षमा लागेका छन् । धेरै पछि केही पत्रिकाले यसपटक मसँग लेख–रचना मागे, मैले पठाइदिएको छु । नत्रभने पत्रिकाले लेख–रचना नमागेको पनि धेरै भैसकेको थियो । पहिले प्रत्येक साता मेरो एउटा रचना कुनै न कुनै पत्रिकामा छापिन्थ्यो, तर अहिले स्थिति कस्तोसम्म भएको छ भने यो विधालाई न एकेडेमीले प्रोत्साहित गरेको छ, न सरकारले, न त पत्रपत्रिकाहरूले नै यसको महत्त्व बुझेका छन् ।

भनेपछि अहिले हास्यव्यंग्य लेख्नेहरूका लागि माध्यम र प्रोत्साहन भएन ? 

हो, माध्यम पनि चाहिन्छ र प्रोत्साहन पनि चाहिन्छ । अहिले त्यो दुवै छैन । भारतमा एउटा राम्रो कवितालाई एक पटक टेलिभिजनमा वाचन गर्दा कविले ४०–५० हजार रुपैयाँसम्म पाउँछ । त्यही कविता लिएर उनीहरू देशभर घुम्छन् । त्यहाँका एक सुप्रसिद्ध व्यंग्यकार नेपाल आएका बेला धेरै लेख्नै पर्दैन, एउटा राम्रो लेखे हामीलाई सालभर पुग्छ भन्थे । नेपालमा लेखिसकेपछि नेपाली समाजका विभिन्न क्षेत्रमा पुर्‍याउने कसले ? अहिले हास्यव्यंग्य भनेको प्रहसन मात्र हो भन्ने सोच विकसित भएको छ । त्यो कलाकार र कमेडियनको कुरा मात्र भयो । अहिले व्यंग्यचित्र आएको छ । २०२१ सालमा मैले मायालु पत्रिका निकाल्दा व्यंग्यचित्र पनि छापिन्थ्यो । त्यो पनि व्यंग्यचित्रको इतिहासमा आउँदा अचम्म लाग्छ । त्यो बेला हामी त्यस्ता व्यंग्यचित्र कार्टुन संवादका रूपमा छाप्थ्यौं ।

आलु पार्टीले हास्यव्यंग्यलाई कसरी टेवा पुर्‍याइरहेको छ ? 

२०३४ सालमा वासुदेव लुइँटेल हुनुहुन्थ्यो, उहाँले हास्यव्यंग्यसम्बन्धी पुस्तकहरू प्रकाशन गर्ने संस्था खोल्नुभयो, त्यसबाट धेरै पुस्तक आए । उहाँ हास्यव्यंग्यकारहरूलाई प्रोत्साहित गर्नुहुन्थ्यो । मलाई हास्यव्यंग्यकारहरूलाई प्रोत्साहन गर्ने लुइँटेलजीलाई पनि केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि त्यो बेलाका वरिष्ठ पत्रकार दाताराम शर्मा, व्यंग्यचित्रकार टेकवीर मुखिया, पत्रकार वासु रिमाल यात्री आदिसँग मिलेर एउटा सम्मानपत्र बनाएँ । त्यो सम्मानपत्र लुइँटेलजीलाई दिन मेरै घरमा बोलाउने निधो भयो । त्यो कार्यक्रमका लागि हामीले आलुका १७ थरीका परिकार बनाएर पहिलो पटक आलु पार्टीको आयोजना गरेका थियौं । त्यही बेलादेखि सुरु भएको यो आलु पार्टी अहिले पनि जारी छ । अहिले आलुका ४–५ वटा परिकार बनाएर आलु पार्टी गर्छौं । आलुको नौगेडी माला, खुर्सानीको धुप बाल्ने, हवन गर्ने, कहिले बिरालो, कहिले भालुलाई ल्याएर प्रमुख अतिथि बनाउने जस्ता नयाँ–नयाँ कुरा गर्दै आलु पार्टी सम्पन्न गरिन्छ । त्यहाँ मुख्यतः साथीहरू जम्मा भएर कविता, चुटकिला, हास्यव्यंग्य सुन्ने–सुनाउने काम हुन्छ ।

 

अहिले हास्यव्यंग्य गाईजात्रा र तराईको होलीमा मात्र सीमित भएको देखिन्छ ? किन खुम्चिँदै गएको होला ? 

शक्तिकेन्द्रहरूमा हास्यव्यंग्य बुझेको, साहित्य बुझेको, संस्कृति बुझेको व्यक्तित्व पनि हुनुपर्‍यो । उनीहरूले प्रोत्साहन नगरेपछि व्यक्तिगत रूपमा हामीले के गर्ने ? यस्तो स्थितिमा साहित्यको यो विधा खुम्चिनु स्वाभाविक हो । यद्यपि जसको जीवनमा हास्यव्यंग्य छैन, त्यसको जीवन रूखो हुन्छ । हास्यव्यंग्य नभएको मान्छे मान्छे नै होइन भन्छु म त, किनभने हास्यव्यंग्य भगवानको ठूलो वरदान हो । राजनैतिक नेताहरू पनि उदार दिलले जोकर बन्न सक्नुपर्छ । अहिलेका प्रधानमन्त्रीमा अलि–अलि त्यो चेतना छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीका उखान टुक्का तपाईंलाई कस्ता लाग्छन् ? 

प्रतिउत्पन्न मति अरू नेताहरूमा भन्दा उनमा बढी देखिन्छ, तर कहिलेकाही अँध्यारोमा ढुंगा हानेजस्तो हुन्छ । अहिलेसम्मका प्रधानमन्त्रीको तुलनामा उहाँमा हास्यव्यंग्यका रूपमा टाक्कटुक्क नेपाली संस्कृतिको भाव छ । त्यसैले उहाँको भाषण सुन्न मानिसहरू लालायित हुन्छन् ।

तपाईंको नजरमा ओली कत्तिका रसिक छन् ? 

उनको व्यक्तिगत जीवन त्यति रसिक होला जस्तो लाग्दैन । उनमा राजनीति तथा स्वास्थ्यको तनाव होला, तर कहिलेकाहीँ चलाख र जान्ने हुँदाहुँदै पनि उनलाई वरिपरि घेरेर बस्ने मानिसहरूले घुमाउँछन् । नेपालको राजनीतिमा त्यो घेराउ तोड्न नसक्ने मान्छे कहिल्यै सफल हुन सक्दैन । नेता त्यस्तो हुनुपर्छ, जसले आफूलाई त्यस्तो घेराबाट बाहिर निकाल्न सक्छ ।

हास्यव्यंग्य लेखनलाई युट्युब र टेलिभिजनहरूले कत्तिको प्रभाव पारेका छन् ? 

कुनै पनि विषयको लेखक आफैंमा पूर्ण हुँदैन, कलाकार पनि हुँदैन, व्यंग्य–चित्रकार पनि हुँदैन । यो सबै मिल्यो भने पूर्ण हुन्छ । लेखक आफैं, कलाकार आफैं, व्यंग्य–चित्रकार आफैं हुँदा धेरै कुरा बिग्रिएका छन् । उनीहरू व्यंग्यकारसँग सम्पर्क नै गर्दैनन् । प्रहसन गर्दा पहिले–पहिले स्क्रिप्ट ल्याउँथे, त्यसलाई हामी राम्रो सम्पादन गरेर दिन्थ्यौं । अहिले उनीहरूको आ–आफ्नै समूह छ, उनीहरू अरूलाई किन पैसा बाँड्ने भन्छन्, आफैं गर्छन् । हामीले गुणस्तरीय बनाउन र संसारभर देखाउन योग्य बनाउनतिर पनि लाग्नुपर्छ । पैसाको मात्र कुरा होइन, कलाको स्तर पनि माथि उठ्नुपर्छ । प्रहसनलाई अहिले हास्यव्यंग्य भन्न थालिएको छ, त्यसमा कला र व्यंग्य हराएको छ ।

 

प्रतिक्रिया दिनुहोस
जीवनभरन पैसाको कमी हुन नदिन यस्ता कुरामा ध्यान दिनुहोस…

  हरेक दिन भगवानको पूजा गरेर सोचेजस्तै कृपा पाउन सकिदैन् । धार्मिक ग्रन्थमा

को को हुँदैछन् नेकपाबाट मन्त्री ?

  प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझसम्म मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन् ।

पुरुषले किन पूरा गर्न सक्दैन् महिलाको यस्तो इच्छाहरु ? यस्ता छन् कारण

  आफूमा भएको यौन क्षमताअनुसार प्रत्येक पुरुषले आफ्नो महिला साथीको इच्छा पूरा गर्ने

पूर्वराजा ज्ञानेन्द्र नाइट क्लबमा नाचेपछि…

  पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एउटा नाइट क्लबमा नाचेको फोटो र भिडियो सार्वजनिक