सुरेन्द्र पाण्डे त मेरा कारण हारे रे ! माधव नेपाल कसरी हारे त ?



 

 

 अवसरका लागि नेतृत्वसँग ‘बार्गेनिङ’ गर्नुहुन्छ । बुटवल महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएपछि केन्द्रीय सदस्यको शपथ नै लिनुभएन । असन्तुष्टि पालेर लामो समय निस्क्रिय बस्नुभयो । तर, नेताहरूबाट गृहमन्त्री बनाउने आश्वासन पाएपछि हतारहतार बल्खु पुगेर शपथ खानुभयो ।

यो आरोप पूर्ण रूपमा गलत छ । बुटवलको आठौँ महाधिवेशनमा सहभागीहरूले मत दिएको एउटा बाकस गणना भएन । म मात्र होइन, धेरैले विरोध गर्नुभयो । यस विषयमा छानबिन समिति पनि गठन भयो । पार्टीभित्रको निर्वाचनमा पनि त्यस्तो भएपछि मलाई दुःखी तुल्यायो र त्यसको विरोध गरेँ । पछि नेताहरूले अब उप्रान्त यस्तो हुँदैन, हामीले छानबिन समिति पनि बनाइसकेका छौँ भनेर आश्वस्त तुल्याएपछि शपथ लिएको हुँ । अरू केही नेताहरूले पनि मेरो तुलनामा केही चाँडो लिए पनि महाधिवेशन स्थलमा शपथ लिनुभएको थिएन । मैले शपथ लिने वेलामा नयाँ सरकार र मन्त्रीको कुनै चर्चा नै थिएन । त्यसकारण मैले नेतृत्वसँग बार्गेनिङ अर्थात् सौदाबाजी गर्नका लागि शपथ लिएन भनेर केही व्यक्तिहरूले जुन प्रचार गरिरहेका छन्, त्यो पूर्वाग्रही र
गलत हो ।

 

अभियाेग २ : पार्टी र नेता विधि, विधान र पद्धतिअनुसार चल्नुपर्ने भन्दै कार्यकर्तालाई पढाउनुहुन्छ । आफू भने पार्टीका फोरममा उठाउनुपर्ने विषय मिडिया र सामाजिक सञ्जालमा छताछुल्ल पार्नुहुन्छ । 

यो पनि गलत आरोप हो । म पार्टीमा लागेदेखि आजसम्म पार्टीका प्रत्येक निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्दै आएको छु । पार्टी नीति, पद्धति, प्रक्रिया र अनुशासनअनुसार चल्नुपर्छ भन्ने मेरो दृढ मान्यता छ, र त्यसलाई आफ्नो जीवनकालमा कार्यान्वयन गर्दै आएको पनि छु । तर, केही समययतादेखि मैले सार्वजनिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विधान, सिद्धान्त र नीतिसँग बेमेल हुने कुराहरू औँल्याएको हुँ । ती पार्टीको कुनै कमिटीमा छलफल भएर निर्णय नभएका विषयहरू हुन् । पार्टीको अनुशासन भनेको पार्टीको विधि, नीति, सिद्धान्त र पार्टीले गरेका निर्णयहरू नमान्ने कुरामा आकर्षित हुन्छ । त्यसको प्रतिरक्षा गर्दा र पार्टी कमिटीमा कहीँ पनि निर्णय नभएका विषयहरू बाहिर आउँदा त्यसमा मत व्यक्त गर्दा अनुशासन नमानेको भन्ने मानिँदैन ।

यिनै कुरा पार्टी बैठकमा पनि उठाउन सकिन्छ भन्ने तर्क गर्नेहरू पनि छन् । तर, पार्टीका बैठकहरू नै हुँदैनन् । बैठक भएको भए निसन्देह म ती कुराहरू बैठकमा राख्थेँ । बैठकले जे निर्णय गथ्र्यो, त्यही मान्थें ।

 

अभियाेग ३ :  आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारविरुद्ध प्रतिपक्षी दलभन्दा कडा रूपमा प्रस्तुत हुनुहुन्छ । सरकार र पार्टी नेतृत्वको आलोचना मात्रै गर्नुहुन्छ । मन्त्रीको ‘बार्गेनिङ’का लागि निरन्तर नेतृत्वको आलोचना गरिरहेको आरोप तपाईंमाथि पार्टीभित्रैबाट लागेको छ नि । 

यस्ता आरोप सुन्दा मलाई हाँसो लाग्छ । नेपालको संविधानबाट निर्देशित र निर्धारित विषयहरू, पार्टीको नीति, सिद्धान्त र मान्यतामा आधारित विषयहरूको पक्षपोषण गर्दा सरकारको विरोध गर्‍यो भन्नु आश्चर्यको कुरा हो । उदाहरणका लागि नेपालको संविधानले धर्मनिरपेक्षताको कुरा गर्छ । नेकपाले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको कुरा गर्छ । यो सरकार बनिसकेपछि दक्षिण कोरियाकी एकजना महिला र तिनका एकजना नेपाली अनुयायीले देशभरका जनप्रतिनिधिलाई होटेलमा जम्मा गरेर होली वाइन खुवाउने भन्ने कुरा गरेपछि मैले यो काम नेपालको संविधान र नेकपाको मान्यताअनुरूप छैन भने । त्यो भन्नु मेरो मात्रै होइन, प्रत्येक नागरिकको कर्तव्य हो । त्यसकारण त्यसलाई सरकारको विरोध गर्‍यो भन्नु आफैंमा हास्यास्पद कुरा हो । त्यसैगरी, नागरिकताको विषयमा नेपालीले नागरिकता सजिलै पाउनुपर्छ, तर विदेशीहरूका लागि नागरिकता खुकुलो बनाउनुहुँदैन, नेपाली चेलीहरूले भारतमा विवाह गरेर जाँदा नागरिकताको दर्खास्त दिन ७ वर्ष कुर्नपर्ने, तर भारतीय चेलीहरूले नेपालमा बिहे गरेर आएको भोलिपल्टै नागरिकता मात्रै होइन, मन्त्रिपरिषद्मै प्रवेश पाउने ? यस्तो त्रुटिपूर्ण व्यवस्था हुनुहुँदैन भन्दा सरकारको विरोध गरेको ठान्ने हो भने त्यसको औषधि मसँग हुँदैन ।

 

‘सबैभन्दा पछिल्लो कुरा गर्ने हो भने विश्व व्यापार संगठन र त्यसअन्तर्गत भएका अन्तर्राष्ट्रिय सम्झौताअनुरूप प्रत्येक देशले विषादीको अवशेष परीक्षण गर्न पाउँछ, र गर्नु पनि पर्छ । नेपालले कसैको दबाबमा आएर त्यस्तो विषादीको अवशेष परीक्षण गर्ने कुराबाट पछाडि हट्नुहुँदैन’ मैले भनेँ । अब त्यसलाई पनि सरकारको विरोध ठान्ने हो भने त्यस्तो भन्नेहरूले नेपाली जनतालाई कस्तो तरकारी र फलफूल खुवाउन खोजेका हुन् सार्वजनिक रूपमा जनतालाई भने भइहाल्यो । त्योभन्दा अलिकति अगाडिको प्रसंग पनि उदाहरणका रूपमा दिन चाहन्छु । यहाँ बिमस्टेकको सम्मेलन भयो । त्यो सम्मेलनपछि भारतमा हुने एउटा संयुक्त सैनिक अभ्यासमा नेपालको सहभागिताको कुरा आयो । मैले नेपालको संविधानमा हामीले संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्नताका मान्यताअनुरूप विदेश सम्बन्ध जुन सञ्चालन गर्ने भनेका छौँ त्यससँग मिल्दैन भनेर नेपालको संविधानको प्रतिरक्षा गरेँ । नेपाल कम्युनिस्ट पार्टीले पनि लामो समयदेखि ‘हामी कुनै पनि ठूला देशको सैनिक दृष्टिकोणबाट र अन्य दृष्टिकोणबाट पनि गठजोडमा जाँदैनौँ’ भन्दै आएको छ, त्यो मान्यतासँग पनि यो मिल्दैन भनेर भनेँ । अब त्यसोभन्दा सरकार र पार्टीको विरोध ठान्नेहरूलाई मैले के भन्ने हो ? देशभक्त नेपालीहरूले के भन्ने भन्दिए हुन्छ । मैले उठाएका विषयहरू कांग्रेसका भन्दा चर्का भए भन्ने आरोप ठीक होइन । किनभने, कांग्रेस त राष्ट्रियताको विषयमा कहिल्यै बोल्दै बोल्दैन । देशभक्तिपूर्ण विषयमा मेरो स्वर कांग्रेसको भन्दा त जोडदार नै हुन्छ नि । यसलाई मप्रति पूर्वाग्रही रहेका वा देशप्रति गम्भीर नरहेका मान्छेहरूले प्रतिपक्ष भनेर प्रचार गरेका हुन् ।

 

अभियाेग ४ : विरोध गर्ने वा असहयोग गर्ने नेता/कार्यकर्ताविरुद्ध इगो पाल्नुहुन्छ । आफ्नै गुटका भए पनि उनीहरूसँग हिसाब चुक्ता गर्न गौँडा ढुकेर बस्नुहुन्छ । पार्टीको नवौँ महाधिवेशनमा आफ्नै प्यानलबाट महासचिवका उम्मेद्वार रहेका सुरेन्द्र पाण्डेलाई त हराउन भूमिकै खेल्नुभयो ।

यस्तो कुरा धरातल गुमाएका व्यक्तिले मात्रै प्रचार गर्ने विषय हुन् । मैले अहिलेसम्म नेकपा र तत्कालीन एमालेको प्रभाव विस्तार गर्ने क्रममा कांग्रेस र राप्रपासँग आवद्धहरूलाई समेत यो पार्टीमा ल्याएर महत्वपूर्ण जिमेवारीसमेत दिएको छु । पार्टीभित्रको कुनै पनि व्यक्तिलाई मैले आजसम्म व्यक्तिगत धारणाका आधारमा वा फरक मतका आधारमा कहिले पनि त्यस्तो व्यवहार गरेको छैन । गौँडा कुर्ने भन्ने त झन् प्रश्न नै भएन । तर, पार्टीलाई विभाजनमै लैजाने प्रयास, पार्टीका नीति र सिद्धान्तहरूमाथि प्रहार गर्ने, राष्ट्रको हितविपरीत काम गर्ने नीतिहरूलाई त मैले जहिले पनि आलोचना गरेको छु । देश, जनता र पार्टीको अहितमा गरिने क्रियाकलापको मात्रै मैले सैद्धान्तिक प्रतिवाद गरेको छु । त्यसकारण व्यक्तिगत रूपमा असहिष्णु हुन या कुनै व्यक्तिलाई समाप्त गर्ने भन्ने कुरा जसले त्यस्तो गर्ने गरेका छन्, उनीहरूले नै गर्ने हल्ला मात्रै हुन् ।  कसैले मसँग आएर त्यस्तो गरेको उदाहरण दिन्छ भने म धन्यवाद दिन्छु । तर, कुनै व्यक्ति पार्टी र संगठनको विरुद्धमा लाग्यो, नेपालको कानुनविपरीत बहुविवाहमा लाग्यो भने पार्टीको नीतिअनुसार कारबाही गरेको छु । कसैले यी कुरालाई जोडेर ममाथि त्यस्तो अरोप लगाएको हो भने त्यसको कुनै अर्थ छैन ।

 

अर्को सुरेन्द्र पाण्डेलाई असहयोग गरेर हरायो भन्ने कुरा सुन्दा दुःख र विस्मात लाग्छ । सुरेन्द्र पाण्डे त मेरो कारणले हार्नुभयो, माधवकुमार नेपालचाहिँ कसको कारणले हार्नुभयो त ?  माधव नेपाल र सुरेन्द्र पाण्डे त मेरो प्यानलमा हुनुहुन्थ्यो, मेरैे कारणले हार्नुभयो रे ! त्यसो भए शंकर पोखरेलचाहिँ कसको कारणले हार्नुभयो त, सचिवमा ? उपाध्यक्षमा सबैभन्दा बढी मत मैले ल्याएको थिएँ । अनि मैले सबभन्दा बढी मत किन ल्याएँ भन्ने उहाँहरूको प्रश्न हो भने सचिवमा गोकर्ण विष्टले कसरी बढी ल्याउनुभयो त ? यस्ता तर्क पार्टीभित्र गलत र विकृत वातावरण सिर्जना गर्ने मान्छेले मात्र गर्छन् । त्यो महाधिवेशनमा हलभित्र झडप पनि भएको थियो । त्यसलाई मञ्चबाट मिलाउने व्यक्ति म नै थिएँ । मैले यसोभन्दा आफ्नै प्रशंसा गर्‍यो भनेर टिप्पणी गर्लान् । इतिहासको यथार्थ त सुन्ने आँट गर्नुपर्‍यो नि । अहिलेका प्रधानमन्त्री केपी ओली र माधव नेपालबीचको चर्को रिक्तता मैले न्यून गरेको हुँ । होइन भने दुईजनालाई अगाडि राखेर कुरा गर्न सक्छु नि । यत्रो ठूलो भूमिका खेलेको दाबी गर्छ भनेर कसैलाई चहर्‍याउन सक्छ । अब चहर्‍याउने कुराको त मसँग के औषधि छ र ! औषधि गर्दे भन्यो भने त्यतिवेला यो हो औषधि म भन्दिन सकूँला । जस्तो, मैले देशभक्तिका कुरा गर्दा कतिपय मान्छेलाई चहर्‍यायो, ज्वरो आयो भन्ने कुरा आयो । मैले भनेँ, ‘देशभक्तिको चक्की खानुस् न, ज्वरो ठीक भइहाल्छ ।’ यस्तो सल्लाह म दिन सक्छु ।

 

अभियाेग ५ : भारतविरोधी हुनुहुन्छ । जनतामा ‘राष्ट्रवादी’ छवि देखाउन र चर्चामा आउन भारतको चर्को विरोध गरेको आरोप तपाईंमाथि लाग्छ । 

त्यस्तो भन्नेहरूले आफूले पनि विरोध गरेर चर्चामा आए हुन्छ नि त । भारत वा अरू कुनै देशको विरोध गरेर नेता हुन पाइने भए उनीहरूले पनि गरे हुन्थ्यो । उनीहरूले पनि संयुक्त सैनिक अभ्यासको विरोध गरिदिएहुन्थ्यो । तराई यो कारणले डुबान भयो भनेर बोलिदिएहुन्थ्यो । म प्रशंसा नै गर्थे, मेरो पनि नेता नै मान्थेँ । त्यसकारण यो सब नेपालको अहित चिताउनेहरूको प्रचारबाजी मात्रै हो ।

 

मैले जुन दिन राजनीतिमा प्रवेश गरेँ, त्यो वेलादेखि नै कम्युनिस्ट पार्टीले देशको अखण्डता, सार्वभौमसत्ता, स्वाभिमान र स्वाधिनताको रक्षा गर्छ भन्ने मान्यताबाट आफूलाई अगाडि बढाएँ । किनभने, कम्युनिस्ट पार्टीका घोषणापत्रहरूमा र सबै दस्ताबेजहरूमा त्यही कुरा लेखिएको थियो । मैले तिनै कुरा निरन्तर भन्दै आएँ । उदाहरणका लागि, राणा शासनले आफूलाई जोगाउनका लागि गरेको अपमानजनक गोरखा भर्ती सन्धि खारेज हुनुपर्छ भनेर कम्युनिस्ट पार्टीले भन्दै आयो । त्यसप्रति मेरो समर्थन रह्यो । १९५० को सन्धि तत्कालीन श्री ३ महाराजले आफ्नो सत्ता जोगाउन गरेको थियो । त्यसका कपिपय धाराहरू नेपालको राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनताका प्रतिकूल छन् भनेर कम्युनिस्ट पार्टीले भन्दै आयो । मैले त्यसको समर्थन गरेँ । पछिल्ला दिनहरूमा हाम्रा जलस्रोत र प्राकृतिक साधन र स्रोतहरू देशको हितमा भन्दा विदेशीको हितमा कांग्रेसलगायतका कतिपय पार्टीले प्रयोग गरे भनेर कम्युनिस्ट पार्टीले भन्दै आयो । मैले ती तथ्यहरूको अध्ययन गर्दा यथार्थ पाएँ । मैले कम्युनिस्ट पार्टीको त्यो मान्यतालाई पनि स्वीकार गरेँ । यी त कम्युनिस्ट पार्टीले अघि सारेका मान्यता हुन् । र, कम्युनिस्ट पार्टीले पनि भारतको विरोध गर्‍या होइन ।

 

भारतीय प्रधानमन्त्रीले ‘भारत महान् हो, भारत पहिलो हुन पाउनुपर्छ’ भन्ने । अमेरिकाका राष्ट्रपतिले ‘मेरो देशको रक्षा गर्नका लागि, आप्रवासनबाट जोगाउनका लागि मेक्सिकोसँग पर्खाल लाउनुपर्छ’ भन्न पाउने, चीनका राष्ट्रपतिले ‘म अब चिनियाँ सपना पूरा गर्छु, त्यसका लागि बिआरआई परियोजना अगाडि सार्छु’ भन्न पाउने । अरू युरोप र जापानले आफ्नो देशको हितका लागि बोल्न पाउने । अनि, नेपाली जनता, नेता र सरकारले आफ्नो राष्ट्रिय हितमा बोल्दा भारतको ‘विरोध गरिस्, अमेरिकाको विरोध गरिस्, युरोपियन युनियनको विरोध गरिस्’ भन्ने तर्क कसैले दिन्छ भने त्यो नेपालीहरूको देशभक्तिपूर्ण आवाजलाई दबाउने कुआकांक्षाबाट गरिएको प्रचार हो । मलाई व्यक्तिगत रूपमा ‘यो भारतविरोधी हो’ भनिदिएपछि त्रसित होला, भयग्रस्त होला, चुप लाग्ला भनेर गरिएको कुप्रचार पनि हो ।

 

म कुनै भारतविरोधी पनि होइन । र, म कुनै अरू ठूलो देशको समर्थक र प्रशंसक पनि होइन । म नेपाली हुँ । र, नेपालको समर्थक हुँ । अरू सार्वभौमसत्ता र स्वतन्त्र देशले जसरी आफ्नो हितलाई अगाडि बढाउँछन्, नेपालीले आफ्नो हितलाई अगाडि बढाउन पाउनुपर्छ भन्ने मेरो दृढ मान्यता छ । मलाई कुनै देशको विरोधी र कुनै देशको समर्थक भनेर प्रचार गर्दैमा म त्यसबाट न भयभीत हुनेवाला छु, न म आफ्ना अडानबाट अलिकति विचलित हुनेवाला नै छु । यस्ता कुप्रचार गर्नेले सपना राति ओछ्यानमा त देखे हुन्छ, मलाई कुनै आपत्ति भएन, दिवा सपनाचाहिँ नदेखे हुन्छ । किनभने, म यो पार्टीमा देशभक्ति, सामाजिक न्याय, समानता र संसारका सबै देशहरूले स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ भन्ने झन्डा बोकेर हिँडेको मान्छे हुँ ।

 

अभियाेग ६ :  क्षेत्रीयतावादी हुनुहुन्छ । कुनै वेला पार्टी नेतृत्वलाई ‘सुदूरपश्चिममा क्षेत्रीय दल खोल्छु’ भनेर घुक्र्याएको आरोप तत्कालीन एमालेका नेता/कार्यकर्ताले नै लगाउने गरेका छन् । 

मलाई यस्तो आरोप सुन्दा आश्चर्य लाग्छ । जो व्यक्तिहरू अलग्गै पार्टी खोलेरै हिँडे, उहाँहरूलाई छुट्टै पार्टी खोलेको भनेर कसैले प्रश्न उठाएको म देख्दिनँ । गुटै बनाएर हिँडे, नामै राखे, त्यस्ता व्यक्तिहरूले यस्तो गर्‍यो भनेर कसैले भन्दैन । मैले त छुट्टै पार्टी खोल्छु भनेर कहिल्यै भनेकै छैन । पूर्ण रूपमा गलत हो यो आरोप । माधव नेपाल प्रधानमन्त्री हुनुभएको वेला मुकुन्द न्यौपाने सुदूरपश्चिमको क्षेत्रीय संयोजक हुनुहुन्थ्यो, म सेती अञ्चलको इन्चार्ज थिएँ । त्यो वेला हामीले ‘सुदूरपश्चिम आर्थिक र राजनीतिक सहभागिताको दृष्टिकोणबाट पछाडि पर्‍यो, पार्टीले अवसरहरू एकदम कम दियो अथवा दिँदै दिएन, यो क्षेत्रलाई माथि उठाउनका लागि अवसरहरू प्रदान गरियोस्’ भनेर  नौवटै जिल्ला कमिटी र तत्कालीन क्षेत्रीय समन्वय कमिटीले समेत निर्णय पार्टीमा पत्र दिएका हौँ । यो कुरालाई बंग्याएर क्षेत्रीयतावाद र पार्टी खोल्नेसम्मको आरोप लगाउनु हास्यास्पद छ ।

 

नेपालको संविधान, तत्कालीन एमाले र अहिलेको नेकपा सबैले सामाजिक न्याय, समानुपातिक अवसर र सहभागिताको पक्षपोषण गरेका छन् । त्यो सिद्धान्तको उल्लंघन भएर अवसरहरू एकै ठाउँमा केन्द्रित भए भने त मैले मात्रै होइन, सबैले आवाज उठाउनुपर्छ । आफूचाहिँ एउटा क्षेत्र विशेष र समुदाय विशेषमा अवसरहरू केन्द्रित गर्ने अनि कर्णाली प्रदेशजस्ता, पूर्वको ताप्लेजुङजस्ता या तराईका कुनै पीछडिएका गाउँका मान्छेले यो अवसर र सहभागिता त हामीले पनि पाउनुपर्छ भनेपछि क्षेत्रीयतावादी कुरा गर्‍यौँ भन्ने ? जसले अवसर गुट्मुट्याएका छन्, उनीहरूले नै यस्तो प्रचार गरेको मैले देख्छु । त्यस्तो खालको दृष्टिकोण नै गलत हो  ।

 

अभियाेग ७ :  असहिष्णु हुनुहुन्छ । फरक मत राख्ने सहकर्मीहरूलाई घोचपेच गर्नुहुन्छ । नेपालगन्ज महाधिवेशनमा योगेश भट्टराई, रूपनारायण श्रेष्ठलगायतका युवाहरूलाई ‘गुन्डा’ भन्दै महाधिवेशन स्थलबाट निकाल्न हललाई उत्तेजित बनाउनुभयो ।

इतिहासमा गइसकेको कुरा कोट्याउन म त्यति इच्छुक त थिइनँ, तर आरोप आइसकेपछि मैले तथ्य कुरा भन्नुपर्ने हुन्छ । मैले आजसम्म मसँग फरक मत भएका आधारमा कुनै पनि व्यक्तिलाई कहीँ पनि अराजनीतिक शब्द प्रयोग गर्ने या मसँग कमिटीमा काम गरिरहेको व्यक्तिलाई कारबाही गर्ने काम गरेको छैन । मत सिर्जना गरेर फरक मतको मान्छेलाई कारबाही गर्ने हैसियतको पदाधिकारी पनि म अहिलेसम्म भएको छैन । किनभने, मैले पार्टीको अध्यक्ष, महासचिवजस्तो कार्यकारी पद पाएकै छैन ।

जहाँसम्म नेपालगन्ज महाधिवेशनको कुरा छ, त्यहाँ म स्टेयरिङ कमिटीको सदस्य थिएँ, तर त्यतिवेला केन्द्रीय सदस्य पनि थिइनँ । केन्द्रीय समितिका सदस्यहरू अर्कै ठाउँमा बस्नुहुन्थ्यो, म आफन्तको घरमा बस्थेँ । म रिक्सामा चढेर स्टेयरिङ कमिटीका कागजपत्रसहितको फाइल झोलामा बोकेर महाधिवेशन स्थलमा आएको थिएँ । जब म ढोकामा पुगें, एक्कासि ममाथि आक्रमण गरियो । मसँग ३/४ जना साथीहरू हुनुहुन्थ्यो, उहाँहरूले मलाई धकेलेर ढोकाबाट भित्र पुर्‍याउनुभयो । मेरो कोट च्यातियो । मलाई किन आक्रमण गरियो, मैले केही पनि बुझिनँ । हलभित्र पुगेपछि थाहा पाएँ, अरू १६ जना साथीहरूलाई त घाइते बनाइसकिएको रहेछ । तीमध्ये कतिपय अस्पताल भर्ना गरिएका रहेछन् । बाहिर हुन्जेलसम्म यो कुरा मेरो जानकारीमा थिएन ।

 

हलभित्र छिरेपछि मैले नेताहरूलाई प्रश्न गरेँ– ममाथि आक्रमण किन गरियो ? मैले के गल्ती गरेँ ? किनभने न त मेरो कसैसँग विवाद भएको छ, न मैले कसैसँग झगडा गरेको छु । म त अधिवेशनमा भाग लिन आएको हुँ । मैले सभ्य भाषामा यस्तो प्रश्न गर्दा उत्तेजना फैलाएको हुने, तर अरूले १६ जनालाई ढुंगा हान्दा, घाइते बनाउँदाचाहिँ उत्तेजना फैलाएको नठहरिने ? मलाई यही कुरा आश्चर्य लाग्छ । यही हो क्षेत्रीयतावाद र पक्षपात भनेको । सुदूरपश्चिमको बासिन्दा भएको हुनाले ममाथि गलत ढंगले प्रहार गरियो भनेर मैले उसैवेला भनेको थिएँ । त्यस्ता गलत क्रियाकलापविरुद्ध प्रश्न उठाउनु त मेरो अधिकार र कर्तव्य हो नि । त्यत्ति हो कुरा ।

जहाँसम्म तपाईंले नाम लिएका साथीहरूलाई कारबाही गर्ने कुरा छ त्यो त म कारबाही गर्ने पदमा थिइनँ । न म अध्यक्षमण्डलको अध्यक्ष र सदस्य । पार्टीको केन्द्रीय सदस्य त थिइनँ । फेरि पनि भीम रावलले कारबाही गर्‍यो भन्ने कुरा कसैले गर्छन् भने त म केन्द्रीय सदस्य नहुँदा पनि त्यति शक्तिशाली रहेछु, पदमा नभए पनि पछाडि बसेर सारा चलाउने रहेछु भन्ने गलत अर्थ लाग्छ । त्यसो होइन ।

 

अभियाेग ८ :  गरिब निमुखाका लागि राजनीति गर्नुहुन्छ । तर, गृहमन्त्री हुँदा कैलालीको डुँडेझाडीको सुकुम्बासी बस्तीमा आगो लगाउने र डन्डा वर्षाउने मात्रै होइन, गोली ठोक्नसमेत प्रहरीलाई निर्देशन दिनुभयो ।

तथ्यहीन कुरा हो । यथार्थ कुरा म भन्छु । म गृहमन्त्री भएका वेला तत्कालीन नेकपा माओवादी भर्खर सरकारको नेतृत्वबाट हटेको थियो । उहाँहरू आन्दोलन गरिरहनुभएको थियो । त्यही आन्दोलनको सिलसिलामा कैलालीको डुँडेझाडीमा उहाँहरूले निश्चित रकम तिरेपछि बसोवास गर्न पाइन्छ भनेर सुदूरपश्चिम र मध्यपश्चिमका धेरै मान्छेहरूलाई ल्याएर बसोवास गराउन थाल्नुभयो । वरिपरिका जनताले त्यसको तीव्र विरोध गरे । त्यहाँ ठूलो अशान्ति हुने अवस्था देखियो । मैले गृह मन्त्रालयबाट स्थानीय प्रशासनलाई कब्जा गरिएको सार्वजनिक जग्गा खाली गर्न उहाँहरूलाई आग्रह गर्नुस् भनेर निर्देशन दिएँ । प्रशासनले उहाँहरूलाई धेरैपटक आग्रह पनि गर्‍यो । तर, मान्नुभएन । त्यहाँ कुनै सुकुम्बासी बसेका थिएनन् । नियोजित रूपमा त्यो ठाउँ कब्जा गर्ने र त्यसपछि अर्को ठाउँ कब्जा गर्ने योजना थियो । त्यो सम्पूर्ण योजनामा म अहिले जान चाहन्नँ, किनभने अहिले स्थिति बदलिएको छ । कतिपय कुराहरू म अहिले भन्न पनि चाहन्नँ ।

गृहमन्त्रीको हैसियतमा मैले कब्जा गरिएको ठाउँ खाली गर्नका लागि निर्देशन दिएको हुँ । गोली हान्ने आदेश त मैले दिएकै छैन । तपाईंहरूले देख्नुहुन्छ, सानासाना घटनामा पनि मान्छे गोली लागेर मर्छन् । माओवादीले त्यो वेला काठमाडौंमा कत्रो ठूलो आन्दोलन गरेको थियो । सायद एकजना घाइतेसमेत नभएर आन्दोलन स्थगित भएको तपाईंहरूले देख्नुभयो । डुँडेझाडीमा जग्गा कब्जा गरेर बसेकाहरूलाई हटाउने सिलसिलामा हिँड्दै गर्दा एकजना प्रहरी बाटोमा लडे । लडेपछि केही मानिसले उनलाई टाउकोमा ढुंगाले थिचेर, अत्यन्त निर्मम तरिकाले मार्न लाग्दा प्रहरीलाई बचाउनका लागि त्यतिवेलाको प्रहरी कमान्डरले तत्कालै आक्रमणकारीहरूमाथि त्यही ठाउँमा गोली हानेको हो । त्यसरी भएको हो डुँडेझाडीको घटना । आफ्नो सिद्धान्तविपरीत सुकुम्बासीहरूलाई लखेट्यो भन्ने कुरा कुप्रचार मात्रै हो ।

 

अभियाेग ९ :  सुदूरपश्चिममा पार्टीभित्र आफूभन्दा अगाडि कसैलाई बढ्न दिनुहुन्न । ‘यस म्यान’ लाई मात्र ‘लिफ्ट’ दिनुहुन्छ । मन नपरेका नेता/कार्यकर्तालाई भूमिकाविहीन बनाउनुहुन्छ । तपाईंकै कारण पुराना नेता भीमबहादुर कडायत, जगत बोगटी, मोहनसिंह राठौरले पार्टी नै छाडे । सदस्यता जोगाएर निस्क्रिय रहेका त दर्जनौँ छन् ।

तत्कालीन एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारी र माधवकुमार नेपाल दुवैजनाले मलाई केन्द्रीय सदस्यका लागि आवेदन दिन भन्नुभएको थियो । म त्यतिन्जेल पार्टीको केन्द्रीय सदस्य थिइनँ । तर, विद्यार्थी आन्दोलनबाट राष्ट्रियस्तरमै परिचित भइसकेको थिएँ । दुवैजना नेताहरूलाई ‘म स्थापित भइसकेको छु, नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष भीमबहादुर कडायतलाई केन्द्रीय सदस्य बनाऊँ’ भनेर मैले नै प्रस्ताव  गरेँ । म ०३२ सालमै जेल पर्दा, ०३३ सालमा मुद्दा लाग्दा म पार्टीको सदस्य भएको थिएँ । तपाईंहरूले राधाकृष्ण मैनालीको किताब त पढ्नुभएकै होला, त्यतिवेलै मैले सदस्यता दिएको हुँ भनेर उहाँले लेख्नुभएको छ । जब कि, भीमबहादुर कडायतलाई जनमत संग्रहपछि मैले पार्टीमा ल्याएको हुँ । शिक्षक संगठनको अध्यक्ष बनाउन पनि मेरै पहल थियो । मैले नेताहरूसँग ‘सुदूरपश्चिममा मान्छेहरूको कमी छ, उहाँलाई ल्याउनुपर्छ’ भनेर जोड गरें । त्यसपछि उहाँ वैकल्पिक केन्द्रीय सदस्य हुनुभयो । मदन भण्डारीबाहेक माधव नेपाल र भीमबहादुर कडायत त जीवितै हुनुहुन्छ, सोध्दा पनि भयो ।

 

अर्को जगत बोगटीको कुरा गर्नुभयो । ०४८ सालको निर्वाचनमा जगत बोगटी, भीमबहादुर कडायत र म तीनै जना उम्मेदवार थियौँ, सबै हार्‍यौँ । त्यतिवेला पार्टीले पराजित उम्मेदवारलाई राष्ट्रिय सभामा नल्याउने निर्णय गरेको थियो । मैले पार्टी नेतृत्वसमक्ष ‘मलाई हुँदैन, तर सुदूरपश्चिममा पार्टी जोगाउन पनि एकजना राष्ट्रिय सभामा लैजानुपर्‍यो’ भनेँ । पछि सुदूरपश्चिमका हकमा पार्टीले त्यस्तै निर्णय गर्‍यो, एकजना राष्ट्रिय सभामा लैजाने भयो । त्यतिखेर मेरो घर घट्टेकुलामा थियो । मैले भीमबहादुर कडायत, जगत बोगटी, केशरबहादुर साउद र रेवन्त कुँवरलाई बोलाएर ‘पार्टीले सुदूरपश्चिमबाट एकजनालाई राष्ट्रिय सभामा लैजाने भयो । म जाँदिनँ । कडायत र बोगटीजीमध्ये को जाने सहमति गर्नुस्’ भनेँ । धेरै बेर छलफल भयो, दुवैजनाले दाबी छाड्नुभएन । पछि उहाँहरू दुईजनालाई मात्रै छुट्टै कोठामा पठाएर छलफल गर्नुस् पनि भनेँ । पाँच मिनेटमै फर्किनुभयो, र भीमबहादुर कडायतले ‘जगतजीले योपटक मलाई मौका दिनुस् भन्नुभयो, मैले उहाँलाई छाडिदिएँ’ भन्नुभयो । त्यसपछि बोगटी राष्ट्रिय सभामा जानुभयो । अब उनले मेरा कारणले छाडेको होला त  ?

 

अर्को मोहनसिंह राठौरको कुरा गरौँ । म बालुवाटारमा संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने काममा व्यस्त थिएँ । बल्खुमा स्थायी समितिले मलाई शिक्षामन्त्री बनाउने निर्णय गर्‍यो । फोनमा माधव नेपालले निर्णयबारे सुनाउनुभएपछि मैले एकदम खुसीसाथ ‘कमरेड म अहिले यो काममा व्यस्त छु, अरू साथीहरूलाई बनाऊँ’ भनेँ । तत्कालै फेरि बैठक बसेर निर्णय परिवर्तन गरियो । त्यतिखेर मलाई सोध्नुभयो– कसलाई बनाउने त सुदूरपश्चिमबाट ? मैले भानुभक्त जोशी र मोहनसिंह राठौरको नाम लिएँ । ‘उहाँहरू के के गर्नुहुन्छ अहिले’ भनेर सोध्नुभयो । मैले ‘भानुभक्तजी खप्तड विकास समितिको अध्यक्ष हुनुहुन्छ, मोहनजी केही हुुनुहुन्न’ भनेँ । त्यसपछि मोहनजीलाई शिक्षा राज्यमन्त्री बनाउने निर्णय भयो । त्यति मात्रै होइन । उहाँलाई कैलालीको पार्टी सचिव बनाउन पनि मैले महत्वपूर्ण भूमिका खेलेँ । जनकपुरको सातौँ महाधिवेशनमा भानुभक्तजीलाई केन्द्रीय सदस्य बनाउनै पर्छ, मोहनजीलाई अनुशासन आयोगमा ल्याउनै पर्छ, नत्र म उम्मेदवारी दिन्नँ भनेर अडान लिएँ । त्यतिखेर माधव नेपाल नै महासचिव हुनुहुन्थ्यो, उहाँ तयार भएपछि मात्रै मैले उम्मेदवारी दिएको हुँ । मान्छेहरू जिउँदै त छन्, सोध्दा हुन्छ नि । म त त्यस्ता तथ्यहरूमा चुनौती दिन सक्छु । अब भन्नुस् तपाईंले नाम लिएकाहरू मेरो कारणले कसरी किनारा लाग्नुभयो ?

 

मान्छेहरू पछि आफ्नो स्वार्थअनुसार बाटो लागेपछि मेरो के दोष ? भीमबहादुर कडायत पार्टी छाडेर जानुभयो । पार्टी फुट्यो । अनि, पार्टी फुटाउनमा लाग्नु भनेर उहाँलाई मैले भनेको थिएँ र ? जगत बोगटी सिपी मैनालीसँग लाग्नुभयो । पछि सिपी मैनालीलाई पनि छाडेर छुट्टै पार्टी बनाउनुभयो । यो सब के मेरो कारणले भएको हो ? मोहनसिंह राठौर कम्युनिस्ट पार्टी छाडेर कांग्रेसमा लाग्नुभयो । मान्छेहरू पलायन भएपछि फलानाका कारणले गयो भन्ने कुरा अत्यन्त निकृष्ट शैलीको प्रचार मात्रै हो ।

 

अभियाेग १० :  आफूले भनेको नमानेको झाेंकमा आफ्नै पार्टीको नेतृत्वमा रहेको सुदूरपश्चिमको प्रदेश सरकार ढाल्ने चुनौती दिनुभयो । बजेट पास गर्नुपूर्व आफूनिकट सांसदहरूलाई हस्ताक्षर अभियान चलाउन निर्देशन दिएर त्यसको संकेत गर्नुभयो ।

यो आधारहीन र निकृष्ट प्रचार हो । प्रदेश सरकारले गत वर्ष ल्याएको बजेटमा प्रदेश सभाका सदस्यहरूले माग गरेका आयोजना परेनन् । गलत तरिकाले आयोजना छनोट गरियो भनेर ठूलो विरोध भयो । त्यो विरोधलाई शान्त पार्नका लागि मैले नै पहल गरेँ, धेरै साथीहरूलाई सम्झाएँ । मुख्यमन्त्री र मन्त्रीहरूसँग हाम्रो पटकपटक बैठक हुँदा उहाँहरूले आगामी बजेटमा सच्याउने भन्नुभयो । यो बजेट आउनुभन्दा ६ महिनाअघिदेखि म मात्र होइन, सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरूले त्यहाँका सबै मन्त्रीहरूसँग एक्लै र समूहगत रूपमा, संसदीय दलमा समेत छलफल गर्‍यौँ । ‘पोहोरको गल्तीको पुनरावृत्ति नहोस् है, त्यस्तो भयो भने हामीले बाहिरबाट मात्र सम्झाएर सम्झने स्थिति हुँदैन’ भनेर उहाँहरूलाई पटकपटक भनियो ।

 

अभियाेग ११ :  आफ्नो स्वार्थअनुकूल नेतृत्वलाई प्रश्न गर्नुहुन्छ, विरोध गर्नुहुन्छ । नेकपा गठनपछि सचिवालयमा क्षेत्रगत सन्तुलन नमिलाएको भन्दै नेतृत्वको विरोध गर्नुभयो । तर, सुदूरपश्चिममा त्यस्तै आरोप तपाईंमाथि लाग्छ ।

सेती अञ्चलको इन्चार्ज हुँदा, तत्कालीन एमाले र अहिले नेकपाको सुदूरपश्चिम इन्चार्ज हुँदा मैले कुनै पनि ठाउँमा एकपक्षीय ढंगले काम हुनै दिएको छैन । सुदूरपश्चिम प्रदेश सरकार गठन गर्दा पनि सकभर सबै जिल्लाको प्रतिनिधित्व गर्ने कोसिस गर्‍यौँ । अब मन्त्रीको संख्या त्यति नै छ, त मैले के गर्ने ? फेरि मन्त्री बनाउने सम्पूर्ण अधिकार सम्पन्न व्यक्ति म होइनँ । त्यतिवेला पार्टीको निर्णय केन्द्रीय अध्यक्ष जो वर्तमान प्रधानमन्त्री पनि हुनुहुन्छ, संसदीय दलको नेता (त्यतिवेला प्रकाशबहादुर शाह) अनि इन्चार्ज तीनजना बसेर टुंगो लगाउने भन्ने थियो । अध्यक्ष र प्रधानमन्त्री माथि हुँदा त्यसको प्रभाव कस्तो पर्थ्यो भन्ने कुरा तपाईं अनुमान लगाउन सक्नुहुन्छ ।

 

पार्टी सचिवालयको कुरा त म अहिले पनि उठाउँछु । त्यो मैले आफूलाई भनेको होइन । पार्टीमा कुनै पनि कुरा न्यायसंगत हुनुपर्छ । सचिवालय गठनको प्रक्रिया के ? कि त त्यो केन्द्रीय कमिटीबाट निर्वाचित हुनुपर्‍यो, कि स्थायी कमिटीमा आएर निर्वाचन गर्नुपर्‍यो । कि, को व्यक्ति पहिले कुन पदमा थियो, त्यो आधारबाट हुनुपर्‍यो । जस्तो अहिले हाम्रो पार्टीले जिल्ला कमिटी र यी विभिन्न जनसंगठनहरू बनाउँदा जो व्यक्ति पहिले पदाधिकारी थियो, जो व्यक्ति प्रमुख पदमा थियो, उही हुन्छ भनेर निर्णय गर्‍यो । अनि सचिवालयको हकमा छुट्टै सिद्धान्त कहाँबाट आयो ? मैले कुनै क्षेत्रीयताको सन्दर्भमा भनेको होइन । पार्टी भनेको त देशव्यापी रूपमा त्यसले प्रतिनिधित्व गर्छ नि । सकभर धेरै समुदायको प्रतिनिधित्व गर्नुपर्छ । तब त्यो पार्टी शक्तिशाली हुन्छ । विगतमा नेकपा एमालेले त्यस्तै गरेको हुनाले शक्तिशाली भएको हो । अनि, अहिले सचिवालयको गठन गर्दा केन्द्रीय कमिटीलाई पनि थाहा छैन, स्थायी कमिटीमा छलफल पनि भएको छैन । अनि, को व्यक्ति महाधिवेशनबाट त्यत्रा प्रतिनिधिले मत दिएर आएको, के पदमा थियो भन्ने पनि हिसाबकिताब छैन भने यसबारे मैले हिजो पनि प्रश्न उठाएँ, आज पनि उठाउँछु ।

 

यस्तो कुरा गर्दा आफ्ना लागि पद खोज्यो भन्ने हो भने अर्को कुरा गर्न सकिन्छ । कुन व्यक्ति कतिचोटि कुन पदमा बस्यो ? हिसाब गरौँ । को कतिपटक पदमा हुनुपर्ने हो ? यदि हाम्रो पार्टीले यतिपटक भन्दा हुन नपाइने, यो पदमा पुगेपछि अवकाश लिनुपर्ने भन्ने हो भने त्यसको सबभन्दा अग्रपंक्तिमा रहेर समर्थन म गर्छु । तर, अरूको हकमा एउटा मापदण्डको कुरा गर्ने, आफ्नो हकमा जतिचोटि प्रधानमन्त्री भए पनि नपुग्ने, जतिचोटि जुनसुकै पद पाए पनि नपुग्ने विरोधाभासपूर्ण कुराको त मैले आलोचना गर्छु नै ।

 

अभियाेग १२ :  रुखो स्वभाव छ, व्यावहारिक हुनुहुन्न । ‘मभन्दा जान्ने कोही छैन’ भन्ने ठानेर कार्यकर्ताको कुरै सुन्नुहुन्न । 

सुदूरपश्चिममा कांग्रेसको सबैभन्दा बढी सदस्य भएको जिल्ला हो अछाम । कैलालीमा भन्दा अछाममा बढी सदस्य छन् कांग्रेसका । म पार्टीमा कार्यकर्तासँग घुलमिल नभएको भए, उनीहरूको सम्मान नगर्ने भए त्यस्तो जिल्लाबाट म निरन्तर जितेर कसरी आउँथे हुँला ? अनि, आफूलाई कार्यकर्तामा एकदमै लोकप्रिय र मीठो वचन बोल्छु भन्नेहरू बारम्बार किन पराजित हुन्थे होलान् ? हो, पार्टीलाई राजनीतिक र सैद्धान्तिक रूपमा प्रहार गर्ने, पार्टीलाई कमजोर बनाउने, देशलाई कमजोर बनाउने, देशको स्वाधीनता र अखण्डताका बारेमा नकारात्मक भूमिका खेल्नेहरूको भने मैले सैद्धान्तिक र राजनीतिक रूपमा जहिले पनि आलोचना गर्छु । व्यावहारिक रूपमा अहिले पनि त्यहाँका कार्यकर्ताहरूलाई अप्ठ्यारो, दुःख परेको वेला म अत्यन्त संवेदनशील भएर साथ दिइरहेको हुन्छु । तर, पार्टीका अनुशासन उल्लंघन गर्ने, तीनवटी बिहे गर्ने, कर्मचारी सरुवामा समेत पैसा खोज्ने, महिलाहरूमाथि आँखा लगाउने, योजना दिँदा पैसा खाने, जाँड खाएर दिउँसै सडकमा हिँड्नेहरूसँग भने म वास्तवमै रुखो छु । त्यस्ता व्यक्तिहरूप्रति कसरी सहिष्णु हुन सक्छु र ? यस्तो कुरा मैले गर्नुहुँदैन भन्दाखेरि कतिपय मान्छेले मलाई यो कडा भयो भनेको हो भने त्यो मलाई थाहा छैन । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
भोलि बिहीबारदेखि मौसममा सुधार हुने

  भारतको मध्यप्रदेशस्थित  उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय

सिन्धुलीमा बस दुर्घटना: २३ जना घाइते, धुलिखेल अस्पतालमा उपचार हुदै

  सिन्धुलीमा आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । यहाँको

दसैको मुखमा तरकारी तीन गुणासम्म मूल्यवृद्धि

  मुख्य चाडपर्व नजिकिँदै गर्दा हरियो तरकारीमा अस्वभाविक मूल्य वृद्धि भएको छ ।

सुस्ता र कालापानीमा भारतको दादागिरी छ : झलनाथ खनाल

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपाल–भारत सीमा क्षेत्र सुस्ता