कोठामा खाट थिएन, घरबाट ल्याएको गुन्द्री ओछ्याएर सुतिन्थ्यो तर पनि रंगशाला बन्छ : धुर्मुस



 

जुँगाको ढाँचा हेर्दा त पुरानो भुवन केसीको झझल्को आयो नि ?

हाहा.. त्यतिसम्म त होइन कि ? जुँगा पालेको चाहिँ हाम्रो नयाँ चलचित्र ‘सेन्टी भाइरस’ का लागि हो । कथाले मागेर भनौं न । जुँगा बिल्कुल अर्गानिक र मेरो निजी भएकाले भुवन केसीको कपिराइट चाहिँ नलाग्ला ।

आफैंलाई ऐनामा हेर्दा कत्तिको अनौठो लाग्छ ?

पहिले बस्ती निर्माणका क्रममा काट्न नभ्याएर जुँगा-दाह्री बढ्थ्यो । तर, त्यतिबेला त ऐना हेर्न पनि फुर्सद हुन्थेन । अहिलेचाहिँ यसो ऐना हेर्दा जिल्ल पर्छु । बोल्दाखेरि पनि जुँगाका कारण अलि असहज भएको हो कि, बोल्ने भाँती पुगेको छैन कि जस्तो भान हुन्छ ।

क्रिकेट रंगशाला निर्माणमा होमिएका बेला एकाएक फिल्म निर्माणतिर पो लाग्नुभयो त ?

एकाएक होइन । फिल्म बनाउने पुरानै योजना हो । आफ्नो क्षेत्रलाई निरन्तरता दिनका लागि पनि केही त गर्नैपर्ने थियो । फिल्म बनाउने भनेर एक-डेढ वर्षदेखि नै गृहकार्य गरेका थियौं । तर, विभिन्न काममा व्यस्त रहँदा समय व्यवस्थापन गर्न सकिएको थिएन । अहिले अलिकति खुकुलो समयमा घोषणा गरेका हौं । रंगशालाको काम त पहिलो प्राथमिकतामा छँदैछ, फिल्मले त्यसलाई अवरोध गर्दैन ।

तपाईं फिल्ममा व्यस्त हुँदा रंगशालाको काम अलपत्र पर्दैन ?

अहिले रंगशालाको डीपीआर अन्तिम चरणमा छ । त्यसका लागि एकाध महिना लाग्छ । त्यतिञ्जेल म आफैं खटिनुपर्ने गरी कामको चाप छैन । फिल्डमा कर्मचारीहरु हुनुहुन्छ । टिमका साथीहरुले पनि हेर्नुहुन्छ । अलपत्र पर्ने स्थिति हुँदैन ।

फिल्मको सुटिङ जम्मा एक महिनाको मात्र हो । त्यसपछिको सबै जिम्मेवारी निर्देशक रामबाबु गुरुङलाई नै सुम्पिने छु । म फिल्मको अरु काम हेर्न भ्याउँदिनँ । सुटिङ सकिएपछिको समय रंगशालालाई नै दिने हो ।

तपाईं दीपकराज गिरी र दीपाश्री निरौलाको समूहबाट चाहिँ किन अलग हुनुभयो ?

मेरै कारणले हो । जतिबेला उहाँहरुले फिल्म निर्माण गर्नुभयो, म चाहिँ बस्ती निर्माणमा व्यस्त थिएँ । बस्तीको काम ३/४ महिनामा सक्नुपर्ने हुन्थ्यो । फिल्म सुटिङमा जानेवित्तिकै एक/डेढ महिना टाइम दिनु परिहाल्यो । त्यसले बस्ती निर्माणमा ढिलाइ हुन सक्थ्यो ।

तर, आज पनि म त्यो समूहलाई आफ्नो मातृसमूह नै मान्छु । आफैंले चलचित्र निर्माण गर्ने आँट पनि त्यही टिमका कारण आएको हो । हास्य कलाकारहरुले लिडिङ रोल गर्दा पनि दर्शकहरु हलसम्म आउँदा रहेछन् भन्ने मान्यता उहाँहरुले नै स्थापित गर्नुभएको हो । अहिले पनि सबैजनासँग मेरो उत्तिकै सुमधुर सम्वन्ध छ ।

एकातिर दीपक-दीपाको डफ्फा र अर्को महजोडीको डफ्फा चलचित्र निर्माणमा छ । तपाईंहरुले चाहिँ हास्य कलाकारको तेस्रो शिविर जन्माउन खोज्नुभएको हो ?

त्यस्तो होइन । हामीले आफ्नो कलाकारितालाई निरन्तरता दिन मात्र खोजेका हौं । अलग समूह भए पनि हास्य कलाकारहरुबीचमा राजनीतिक दलमा जस्तो गुटबन्दी छैन ।

पाँच वर्षदेखि सुन्तली र तपाईं दुबैजना सामाजिक काममै व्यस्त हुनुहुन्छ । पैसा कमाउने कुनै उद्यम गर्नुभएको देखिँदैन । फिल्म बनाउन करोडौं पैसा कहाँबाट ल्याउनुभयो ?

पहिलो कुरा त, हामी पनि कलाकारिताबाट एक स्तरको हैसियत बनाएकै मान्छे हौं । एउटा फिल्म बनाउन चाहँदा लगानी गर्नै असम्भव नहोला । फेरि आजकाल त फिल्म बनाउने भन्नेबित्तिकै अगि्रमरुपमा डिजिटल राइट्स र ओभरसिज राइट्स पनि बेच्न सकिने स्थिति छ ।

यद्यपि, अहिले हामीले बनाउन लागेको ‘सेन्टी भाइरस’को लगानीकर्ता चाहिँ म होइन । धुर्मुस-सुन्तलीको ब्यानरमा निर्माण मात्र भएको हो, हाम्रो पैसा यसमा छैन । फिल्मको निर्माता डिन्डु लामा हुनुहुन्छ । उहाँ अमेरिकामा बस्ने व्यवसायी हो । गिरानचौर बस्ती निर्माणदेखि नै उहाँको साथ र सहयोग हामीले पाइरहेका थियौं । हाम्रा हरेक परियोजनामा उहाँले आर्थिक सहयोग गर्नुभएको छ ।

एक वर्षअगाडि उहाँ नेपाल आउँदा चलचित्र निर्माणको प्रस्ताव गर्नुभएको थियो । चलचित्रले नाफा कमायो भने त्यसको २० प्रतिशत हिस्सा समाजसेवा लगाउनसमेत उहाँ तत्पर भएपछि हामीले त्यतिबेला नै उहाँसँग सम्झौता गरेका हौं ।

योबीचमा अरु फिल्मबाट पनि थुप्रै अफर आएका थिए क्यारे, किन गर्नुभएन ?

धेरै निर्माताले कुरा गर्नुभएको थियो । ठूला-ठूलो पारिश्रमिकको अफर आए । तर, समय अभावका कारण हामीले स्वीकार्न सकेनौं ।

कतिसम्म पारिश्रमिकको अफर आएको थियो ?

एकजना निर्माताले ५० लाख रुपैयाँ प्लस निश्चित प्रतिशत सेयरको अफर गर्नुभएको थियो । अर्को एक जनाले एन्ड्भान्स रकम नै छोड्नुभएको थियो । तर, हामीले के सल्लाह गर्‍यौं भने पैसामा लोभिएर फिल्मतिर लाग्यौं भने हाम्रो चालु परियोजनामा समस्या आउँछ । त्यसैले एड्भान्स रकम पनि फिर्ता गरिदियौं ।

तपाईंहरु दुबैजना सामाजिक काममा व्यस्त भइरहँदा आयआर्जनको स्रोत चाहिँ के त ?

हामी अहिले पनि ६ वटा कम्पनीको ब्रान्ड एम्बेस्डर छौं । मुक्तिनाथ विकास बैंक, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जगशक्ति स्टिल, सालीमार सिमेन्ट, मगमग तयारी चाउचाउ र सन नेपाल लाइफ इन्स्योरेन्ससँग हाम्रो वाषिर्क सम्झौता छ । त्यसबाट आउने पैसाले नै हाम्रो घर खर्च र चलेको छ । त्यसबाहेक देश तथा विदेशमा हुने कार्यक्रममा समय मिलेसम्म सहभागी भइरहेका छौं । यूट्युवमा भिडियोहरु पनि आइरहेका छन् ।

सरकारले पनि तपाईंहरुलाई सरसफाइ दूत बनाएको छ, त्यताबाट चाहिँ पैसा आउँदैन ?

हामीले नेपाल सरकारको सरसफाइ दूतका रुपमा काम गरिरहेका छौं । यो उपसचिव स्तरको पद हो । तर, त्यसबापत आजसम्म एक रुपैयाँ पनि सरकारबाट लिएका छैनौं । सरकारसँग मागेका पनि छैनौं । सेवाको भावनाले मात्र यो जिम्मेवारी लिएका हौं ।

यो मात्र होइन । हामी पुनर्निमाण दूत पनि हौं । यस्तै प्रदेश नम्बर १ ले स्वस्थ जीवन कार्यक्रमको सद्भावना दूत बनाएको छ । तर, सबै अवैतनिकरुपमै गरेका हौं ।

तपाईंहरुलाई विभिन्न संघसंस्थाहरुमा ‘दूत’ बन्न संयुक्त अफर आउँछ कि आफूलाई अफर आउँदा कुञ्जनाजीलाई पनि राख्न प्रस्ताव गर्नुहुन्छ ?

हामीलाई सबैले धुर्मुस-सुन्तलीकै हिसाबमा डिल गर्छन् । दर्शकले पनि दुवैलाई एकसाथ देख्न चाहन्छन् । उनी आफैंमा एक सक्षम कलाकार हुन् । मैले मेरी श्रीमतीलाई पनि राखिदिनुपर्‍यो भनेर अनुरोध गर्नुपर्ने अवस्था छैन ।

धुर्मुस-सुन्तली फाउन्डेसनको कोषबाट कति पारिश्रमिक लिनुहुन्छ ?

पारिश्रमिक लिँदैनौं । यो संस्था हामीले नितान्त सामाजिक कामका लागि स्थापना गरेका हौं । पैसा कमाउनलाई होइन । विदेशमा रगत-पसीना बगाइरहनुभएका दाजुभाइ दिदीबहिनीले आफ्नो गाँस काटेर पठाएको पैसाबाट तलव खान हाम्रो आत्माले दिँदैन ।

मैले भनिहालेँ, हामी आफ्नो कलाकारिताबाटै पालिएका छौं । फाउन्डेसनबाट हामीले मोबाइल खर्चमात्रै लिन्छौं । मोबाइलमा धेरैजसो अफिसियल प्रयोजनका कुराकानी हुने भएकाले त्यो खर्च चाहिँ लिएका हौं ।

अब क्रिकेट रंगशालातिर फर्कौं । तीन अर्ब रुपैयाँ जनसहयोग जुटाएर अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने भन्नुभएको छ । यो त अति नै महत्वाकांक्षी भएन र ?

तपाईंलाई पनि याद होला, हामीले रंगशाला बनाउने घोषणा गर्दाखेरिको माहोल अर्कै थियो । नेपालले भर्खरै एकदिवसीय क्रिकेटको मान्यता पाएकाले देशभर खुशीयाली छाएको थियो । क्रिकेट समर्थकहरु देशभित्र तुरुन्त अन्तर्राष्ट्रियस्तरको रंगशाला चाहियो भनेर आवाज उठाइरहेका थिए ।

त्यतिबेला हामी त ‘नमूना नेपाल’ नामको परियोजनामा व्यस्त थियौं । तर, जनस्तरबाट हामीलाई रंगशाला निर्माणमा अघि बढ्ने आह्वान भयो । सामाजिक सञ्जालदेखि हाम्रो कार्यालयमै आएर समेत धेरैले यस्तो सुझाव दिनुभयो । त्यसपछि मैले फेसबुकमा प्रश्न राखेको थिएँ, पहिले नमुना नेपाल कि रंगशाला ? त्यसमा हजारौंले कमेन्ट गर्नुभयो । सतप्रतिशत कमेन्ट रंगशालाको पक्षमा थिए । त्यसैले हामीले नमूना नेपाललाई थाती राखेर जनभावनाको अनुरुप रंगशाला निर्माणको घोषणा गरेका हौं ।

त्यतिबेला ३ अर्ब रुपैयाँ केहीदिनमै उठ्लाजस्तो माहोल थियो । हामी धेरै ठाउँमा जग्गा हेर्न पनि गयौं । जहाँ जाँदा पनि जनताले उच्च सम्मान र स्वागत दिनुभयो । उहाँहरुको भावुकता हेर्दा रंगशाला नेपालमा कति जरुरी छ भन्ने महसुस गर्न सकिन्थ्यो ।

म सम्झिन्छु रुपन्देही जाँदाको क्षण । त्यहाँ जग्गा हेर्न जाँदा जहाज ढिलो भएर हामी राति अबेर मात्र विमानस्थलमा ओर्लिएका थियौं । त्यति राति पनि त्यहाँ ठूलो जनसमूह हामीलाई पर्खेर बसेको रहेछ । बच्चादेखि बृद्धसम्म हातमा राष्ट्रिय झण्डा र माला बोकेर उभिनुभएको देख्दा हामीलाई सपना हो कि विपनाजस्तो भएको थियो ।

अनि त्यो माहोल कसरी बिगि्रयो त ? योबीचमा आफूबाट कतै चूक भएको महसुस हुन्छ ?

यही त म पनि बारम्बार सोच्ने गर्छु, आखिर गल्ती हामीबाट के भयो ? हामी त उत्तिकै इमान्दारितापूर्वक लागिरहेका छौं । कतै पनि आफ्नो प्रतिवद्धताबाट डग्मगाएका छैनौं ।

भइदियो के भने, रंगशालाका लागि जग्गा छनोट र प्राप्तिले निकै समय लियो । एक वर्षसम्म अलमल हुँदा जनतामा पहिलेको उत्साह सेलाइसकेको रहेछ । उहाँहरुलाई पुरानै माइन्डसेटमा फर्काउन हामीलाई चुनौतिपूर्ण भयो ।

रंगशाला घोषणा कार्यक्रममा तपाईंले प्रधानमन्त्रीदेखि प्रचण्डसम्मलाई उभ्याउनुभयो । देशको प्रधानमन्त्रीलाई भाषण गराउने अनि जनतासित पैसा माग्ने कुरा ठीक भएन कि ?

अहिले आएर हामीलाई पनि धेरै कुरा महसुस भएको छ । हाम्रा अघिल्ला परियोजनामा आफ्नै हिसाबले निर्णय लिन्थ्यौं । सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेर घोषणा गरिन्थ्यो ।

तर, पहिलेको तुलनामा यो फरकखालको आयोजना हो । लागत अत्यन्त ठूलो अनि निर्माणको प्रक्रिया पनि जटिल । राष्ट्रिय गौरवसँग जोडिएको विषय पनि हो । त्यसैले हामी सरकारसँग टाढा रहेर यत्रो संरचना निर्माण गर्न सहज हुँदैन भन्ने ठान्यौं । धेरैले सुझाव दिनुभयो कि पहिलेजस्तो सामाजिक सञ्जालबाट घोषणा गरेर हुँदैन । धुमधामले नै गरौं भन्ने भयो । अहिले सम्झिँदा त्यसमा अलिकति कमजोरी भयो कि भन्ने पनि लाग्छ ।

तर, भोलि आयोजनाका लागि जन संकलनले बजेट अपुग भयो भने सरकारलाई गुहार्नुपर्ने स्थिति आउन सक्छ । रंगशाला निर्माणदेखि सञ्चालनसम्म सरकारसँगै समन्वय गर्नुपर्ने हुन्छ । त्यसैले प्रधानमन्त्रीबको उपस्थितिमै उद्घाटन गराउँदा भोलि उहाँलाई पनि अपनत्व बोध होला भन्ने ठानियो ।

 

प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई कार्यक्रममा निम्त्याउनुभयो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाचाहिँ देखिनुभएन । यसले गर्दा कतिपयले तपाईंहरुलाई नेकपाका मान्छे पनि त ठाने नि ?

मैले त्यसबेला कार्यक्रममा बोलाउँदा सबैभन्दा बढी फलोअप गरेको देउवाजीलाई नै हो । म आफैं उहाँको निवासमा पुगेर निम्तो गरेको थिएँ । पटक-पटक फलोअप पनि भयो । तर, उहाँले आफू नभ्याउने भनेर डा. शशांक कोइरालालाई पठाउनुभयो ।

घोषणा कार्यक्रमपछि नेकपाको सरकारले धुर्मुस-सुन्तलीलाई प्रयोग गरेको भन्नेखालका आरोप पनि लागे । तर, ती आरोपमा सत्यता छैन । हाम्रो विगत हेर्दा हुन्छ । हामी कसैबाट प्रयोग भएका छैनौं र हुनेवाला पनि छैनौं । विगतदेखि जुनसुकै सरकारसित पनि हामीले मिलेर काम गर्दै आएका छौं । बुझ्ने वर्गले पक्कै बुझ्नुभएको होला यति कुरा ।

रंगशाला निर्माणका लागि धेरै ठाउँबाट जग्गा दिने प्रस्ताव आएका थिए, तर अन्ततः प्रचण्डपुत्री मेयर रहेको भरतपुरलाई नै छनोट गर्नुका पछाडिको कारणचाहिँ के त ?
प्रचण्डलाई सोचेर भरतपुर गएका हुँदै होइनौं । देशकै सेन्टरमा पर्ने भएकाले भरतपुर प्राथमिकतामा परेको हो । साथै सबै मापदण्ड पूरा भएको उपयुक्त जग्गा पनि त्यहीँ भेटियो ।

पछिल्लो समय सामाजिक सञ्जालमा आइरहेका कतिपय नकारात्मक टीकाटिप्पणीहरुले तपाईंलाई कत्तिको निराशा वा पीडावोध हुन्छ ?

यसपालि देखिने गरी आलोचना खेपियो । अदृश्यखालको चाहिँ पहिले पनि खेपिरहेका थियौं । ठूला टर्चर पनि भोगेका छौं । ती सबै कुराहरु म अहिले सार्वजनिक गर्न चाहन्न ।

हामी पनि मानिस हौं । मन त दुखिहाल्छ । सबै चिज छोडेर दुवैजना मरी मेटेर देश सेवामा लागेका छौं । आखिर हामीले पाउने के हो त ? निश्वार्थरुपमा देशका लागि केही गर्न खोज्दा किन हामीलाई नै गलत देखाइन्छ ?

कहिलेकाहीँ के सोचाइ आउँछ भने कलाकारिताबाट नाम र दाम दुवै कमाइरहेका थियौं । देश विदेश घुमिरेहकै थियौं । नदुखेको टाउको डोरी लगाएर दुखाएजस्तो भयो । फेरि धेरै जनताले दिनुभएको माया र गर्नुभएको विश्वास सम्झेर आफैंलाई ढाडस दिन्छौं । मनमा सकारात्मक सोचको विकास गर्छौं । आज नकारात्मक टिप्पणी गर्नेहरुले पनि भोलि पक्कै स्याब्बासी दिनुहुनेछ भन्ने विश्वास आफूभित्र जगाउँछौं ।

हालैको डोजर काण्डले तपाईंहरुलाई थप सेटब्याक भयो होइन ?

त्यो ठूलो सेटब्याक थियो । अकल्पनीय नै हो हाम्रा लागि । क्षतिको हिसाबले ठूलो नहोला । तर, हाम्रो भावना र मर्ममाथि ठूलो प्रहार थियो त्यो । हामी त एक हिसाबले आयोजनाबाटै पछि हट्ने स्थितिमा पुगेका थियौं ।

 

यसअघि बस्तीहरु निर्माण गर्दा सबैभन्दा खुशी स्थानीयवासी हुन्थे । तर, यस आयोजनामा चाहिँ स्थानीयवासीलाई किन खुशी बनाउन सक्नुभएन ?

सम्बन्धित निकायले बुझाउन नसकेको हो जस्तो लाग्छ । हामीले त महानगरपालिकासित सम्झौताबमोजिम बनाउने हो । आफूलाई दिइएको जग्गा सुरक्षित राख्ने अधिकार हामीसित थियो नि । कुनै स्थायी पर्खाल लगाएका पनि थिएनौं, जस्ताले बारबेर गरेको मात्र हो । त्यो पनि टोलविकास संस्थालगायत सबैसँग सहमति लिएर गरेका हौं । तर, एकाएक डोजर चलाइयो ।

हामीले त विगतमा आफैं जग्गा किनिदिएर पनि जनतालाई घर बनाइदिएका हौं नि । हामी कसरी जनताको जग्गा खोस्न सक्छाैं ? जनतालाई रुवाएर मलाई रंगशाला बनाउन मलाई के आवश्यक थियो ? हाम्रो देशमा कहाँबाट कसरी अवरोध हुन्छ, कुनै टुंगो हुँदैन । कसैका केही निहीत स्वार्थ थिए होलान् ।

असन्तुष्ट स्थानीयवासीलाई तपाईंहरुले सम्झाउनु/बुझाउनुपर्नेमा आरोप-प्रत्यारोपमा लाग्नु ठीक भएन कि ?

मैले त त्यसलाई तुरुन्तै साम्य बनाउने नै सोचेको थिएँ । तर, नचाहँदा नचाहँदै विषय चर्किँदै गयो । उहाँहरुको महत्वाकांक्षा बढेको देखियो, जसलाई हामीले सम्वोधन गर्न सम्भव थिएन । तर, मैले कसैलाई एक शब्द गाली गरेको छैन ।

तपाईंले गाली नगरे पनि कुञ्जनाजीले आक्रोशित अभिव्यक्ति दिनुभएको भिडियो भाइरल भयो । त्यसलाई लिएर धेरै नकारात्मक प्रतिक्रिया पनि आए । उहाँ त्यसरी उत्तेजित हुनु ठीक थिएन कि ?

मान्छेको आ-आफ्नो स्वाभाव हुन्छ । म अलि सफ्ट नेचरको छु । उनी हक्की छिन् । आफ्नो पेटमा कुरा राख्न सक्दिनन् । चाँडै भावुक पनि हुन्छिन् ।

निर्माणस्थलमा डोजर चलेका बेला उनी फिल्डमा थिइनन् । काठमाडौंमा एउटा सहकारीले सहयोग हस्तान्तरण गर्दै गर्दा उनले त्यो खबर सुनेकी रहिछन् । त्यसैले उनी बढी ‘इमोसनल’ बनिन् । खबर सुनेर उनी चितवन आइन् । तर, घटनास्थल नपुग्दै युट्युवरहरुले प्रतिक्रिया मागे । त्यसक्रममा उनको आक्रोश प्रकट भयो । शब्दचयनमा केही गल्ती भयो होला । यो कुरा उनी आफैंले पनि रियलाइज गरेकी छन् । यसप्रति हामी अहिले पनि क्षमाप्रार्थी छौं ।

तथापि, त्यो डोजरकाण्ड एउटा अपराधिक कार्य नै थियो । नेपालमा हाम्रो तीव्र आलोचना भइरहँदा मलेसियाका नेपाली जनताले रुँदै हामीलाई दिएको पैसाले किनिएको जस्ता थियो, त्यसमाथि डोजर चल्दा हामीलाई आफ्नो छाती चिरिएको जस्तो भयो भने । यस्तो परिस्थितिले जुनसुकै मान्छेलाई पनि इमोसनल बनाउँछ ।

भिडियोमा आएका नकारात्मक टिप्पणीले कुञ्जनाजीलाई कस्तो असर गर्‍यो ?

उनी मानसिकरुपमा निकै डिस्टर्ब भइन् । एकखालको डिप्रेसनकै अवस्थामा पुगिन् । धेरै रोइन् । विस्तारै अहिले सम्हालिएकी छन् ।

डोजरकाण्डपछि फेरि काममा फर्किने स्थिति कसरी बन्यो त ?

त्यो घटना भइसकेपछि हामीलाई धेरैले रंगशालाबाट ब्याक हुन सुझाव दिनुभएको हो । हाम्रो टिमभित्र पनि त्यस्तो मत प्रकट भएको थियो । यदि कसैलाई चाहिएको छैन भने हामीले मात्र किन मरिहत्ते गर्ने भन्ने कतिपयको भनाइ थियो । तर, धेरैले चाहिँ आवेशमा निर्णय लिन नहुने विचार राख्नुभयो ।

डोजर चलाइएको घटनालाई लिएर हाम्रो कसैप्रति कुनै इगो थिएन । जग्गा प्राप्त भइसकेको अवस्था छ । मास्टरप्लान छ हातमा । फिल्डमा काम सुरु गरिसकिएको छ । यस्तो अवस्थामा हामी पछि हट्दा ठूलो निराशा पैदा हुन सक्थ्यो । हाम्रो त एकमात्र ध्येय रंगशाला निर्माण गर्ने न हो । त्यसैले काम गर्ने वातावरण पुनस्र्थापित भएपछि हामी फर्किन तयार भयौं ।

रंगशालाका लागि आशातीतरुपमा आर्थिक संकलन हुन नसकिरहँदा कत्तिको दबाव महसुस भएको छ ?

दबावको त के कुरा गर्नु । दिनरात रंगशाला मात्रै घुम्छ दिमागमा । ३ अर्ब रुपैयाँ भनेको सिंगो खेलकुद मन्त्रालयको बजेट हो । तर, पैसा संकलनको गति निकै सुस्त छ । डीपीआर बनाउने कम्पनीलाई तिर्ने पैसा पनि छैन अहिले त । सोच्नुस न, मान्छेलाई आफू बस्ने एउटा घर बनाउँदा त कति तनाव हुन्छ, यो त देशकै प्रतिष्ठासँग जोडिएको परियोजना हो । त्यसमाथि अनेक आरोपहरु झेल्नुपर्ने परिस्थिति छँदैछ ।

अहिलेसम्म कति आर्थिक संकलन भयो ?

जम्मा ६ करोड रुपैयाँको प्रतिवद्धता प्राप्त भएकोमा हाम्रो खातामा आएको चानचुन २ करोड मात्र हो । त्यसबाहेक महानगरपालिका र प्रदेश सरकारले ५ र ६ करोड दिने भनेका छन् ।

देश-विदेशमा रहनुभएका हाम्रा साथीभाइ, शुभचिन्तकहरु लागिरहनुभएको छ । चितवनमा राम्रै माहोल बनिरहेको छ । अब एकाध महिनाभित्र डीपीआर पनि आउला । डीपीआर सार्वजनिक भएपछि आयोजनामा फेरि एकखालको रक्तसञ्चार होला भन्ने आशामा छौं । एकपटक फेरि जनता जुर्मुराउनेछन् भन्ने विश्वासमा छौं ।

जनसंकलन भएन भने सरकारले सहयोग गर्ला नि ? केही कुराकानी प्रधानमन्त्रीसँग भएको छ ?

छैन । पछिल्लो समयमा उहाँसँग भेट पनि भएको छैन । उहाँको व्यस्तताले भेट पाउनै मुस्किल छ ।

त्यसोभए, अब रंगशाला बन्छ भन्नेमा जनता कति आशावादी हुने ?

मैले पहिले जे भनेको थिएँ, त्यसमा अहिले पनि अडिग छु । यदि जग्गा र स्रोत व्यवस्थापन भयो भने दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउँछौं भनेका छौं ।
म अहिले पनि ठोकुवा गरेर भन्छु कि आर्थिक वा अन्य कुनै व्यवधान आएनन् भने दुई वर्षमा रंगशाला तयार हुन्छ । जनता जुर्मुराएको खण्डमा ३ अर्ब संकलन गर्न असम्भव कुरा होइन ।

जनस्तरबाट रंगशाला बनेपछि यसको स्वामित्वचाहिँ कोसित हुन्छ ?

हामीले यसलाई एउटा व्यवस्थापन समितिअन्तरगत सञ्चालन गर्ने भनेका छौं । व्यवस्थापन समितिमा महानगरपालिका, धुर्मुस-सुन्तली फाउन्डेसन र अभियन्ताहरु रहनेछन् । महानगरसँग भएको सम्झौता यही नै हो ।

रंगशालाबाट आम्दानी पनि होला, त्यो कसले पाउँछ ?

व्यवस्थापन समितिअन्तरगत एउटा कोष स्थापना हुन्छ । रंगशालाको आम्दानी त्यही कोषमा जान्छ । हामीले एकेडेमीको मोडलमा रंगशाला सञ्चालन गर्ने भनेका छौं । ७७ वटै जिल्लाबाट विभिन्न विधाका खेलाडीलाई ल्याएर प्रशिक्षित गराउने योजना छ । कोषको पैसा यसमा खर्च हुन्छ । बाँकी पैसा सामाजिक कामलाई छुट्याइन्छ । देशमा कुनै आपतविपत पर्दाखेरि पनि त्यो पैसा प्रयोग गर्न सकिन्छ ।

कतिपयको भनाइ के छ भने विकासको काम त सरकारले गर्ने हो । जनताले सरकारलाई कर तिरेका छन् । अनि, विकास पनि जनताबाटै चन्दा उठाएर गर्ने हो भने किन चाहियो सरकार ? यस्तो प्रश्नलाई कसरी लिनुहुन्छ ?

प्रश्न जायज हो । तर, हामी त जनताले घच्घच्याएर नै यो अभियानमा होमिएका हौं नि । सरकारले आजसम्म एउटा पनि क्रिकेट रंगशाला बनाउन सकेको छैन । सुरु गरिएका रंगशाला वर्षौंदेखि अलपत्र छन् । त्यसैले जनस्तरबाटै गरेर देखाइदिउँ भन्ने हिसाबले अघि बढिएको न हो । यो निर्माण भयो भने सरकारलाई पनि त पाठ हुन्छ ।

जनता एकजुट हुँदा देशमा ठूला राजनीतिक परिवर्तनहरु भएका छन् । अब विकासका लागि पनि एकजुट होउँ न । यसलाई एउटा नमूनाका रुपमा लिउँ न । कमजोर आर्थिक अवस्था भएकाले पनि जबरजस्ती दिनुपर्छ भनेका छैनौं । सक्नेले दिने हो ।

सरकारले विकास गरेन भनेर हामी सामाजिक सञ्जालमा कराउँछौं । आज सरकारलाई विकासको एजेन्डामा हिँड्न बाटो देखाउने मौका हो यो । यसले दिने सन्देश र उत्पन्न गर्ने जागरण अभूतपूर्व हुनेछ ।

तर, यही मोडालिटीमा देश विकास हुन सक्छ र ?

हामीले त्यस्तो भनेकै छैनौं । रंगशाला नेपालमा अत्यावश्यक भयो, तर सरकारले तत्काल निर्माण गर्न सक्ने छाँटकाट देखिएन । त्यसैले एउटा रंगशाला जनस्तरबाट बनाऔं भनेको हो । यसको अर्थ सबै विकासका काम जनताले नै गर्ने भन्ने होइन ।

तर, रंगशाला निर्माण सफल भयो भने सरकारलाई पनि आफ्ना विकाससम्वन्धी नीतिनियम र कार्यशैली बदल्न पक्कै प्रेरणा हुनेछ । किनकि अहिलेको नीति नियममा नै धेरै यस्ता विषयहरु छन्, जसले जुनसुकै विकास आयोजनामा ढिलासुस्ती हुन्छ ।

यो एउटा यस्तो परियोजना हो, जसले देशको भविष्यप्रति जनतालाई पुनः आशावादी तुल्याउनेछ । म मेरी छोरीलाई सम्भिmन्छु । उनको पुस्तालाई हामीले यही तन्नम अवस्थाको नेपाल दिने ? देशलाई सधैंभरि यही अवस्थामा राखिरहने ?

बस्ती निर्माण गर्दा तपाईं आफूले श्रम गरेको फोटोसेसन गर्नुहुन्छ, अनि त्यही फोटो प्रचारमा ल्याएर ‘इमोसनल ब्ल्याकमेल’ गर्नुहुन्छ भन्ने कतिपले आरोप लगाउँछन् नि ?

यो हास्यास्पद आरोप हो । म सानैदेखि दुःख गरेर हुर्किएको मान्छे । मलाई श्रम गर्न कहिल्यै गाह्रो लागेन । बस्ती निर्माण गर्दा म अन्य कामदारकै बीचमा रहेर आफू पनि काममा खटिन्थेँ । मेरो दैनिकी नै त्यही हुन्थ्यो । हामीले काम गरेको देखेपछि अरुलाई पनि उर्जा मिलोस् भनेर हो ।

अर्को कुरा, हामीले श्रम गर्नुहुँदैन भन्ने पनि त छैन । आफू सुकिलो-मुकिलो भएर कामदारहरुलाई अह्रन-खटन गर्ने मेरो शैली नै होइन । त्यसरी गरेको भए यति चाँडो कुनै पनि बस्ती बन्दैनथे ।

बस्ति निर्माण गर्दा मैले ढुंगा बोक्ने, गाह्रो लगाउनेदेखि डोजर चलाउनेसम्म गरेको छु । मैले काम गरिरहँदा कसैले फोटो खिच्दा नखिच भन्ने कुरा आउँदैन । त्यसमा ध्यान पनि दिइएको हुँदैन ।

हो, कतिपय यस्ता फोटा हामीले सहयोग संकलनका क्रममा मानिसहरुलाई उत्प्रेरित गर्न प्रयोग गरेका छौं ।

एकपटक बच्चालाई पिठ्यूमा राखेर बाढी तरेको फोटोमा पनि धेरै टिप्पणी भए । त्यो फोटो चाहिँ कसरी खिचिएको थियो त ?

बाढीको फोटो सप्तरीको हो । त्यहाँ बच्चाको परिवार एउटा टापुजस्तोमा अलपत्र परेको थियो । बच्चा तीन/चार दिनदेखि भोकै रहेछ । रुँदै हामीकहाँ आयो । हाम्रो टोली राहत सामग्री लिएर पारि पुगिसकेको थियो । बच्चालाई जसरी पनि पारि लैजानुपर्ने भयो । त्यतिबेला अरु केही नसोची मैले बच्चालाई काँधमा लिएँ र बाढीमा हेलिएँ ।

मैले ज्यान जोखिममा मोलेरै यसरी बच्चालाई लिएर बाढीमा पसेको थिएँ । त्यतिबेला पारिपट्टी हाम्रो गाडीमा एकजना पत्रकार हुनुहुन्थ्यो । उहाँसँग पावरफुल क्यामरा रहेछ । उहाँले क्यामरा जुम गरेर मैले बाढी तरिरहेको फोटो खिच्नुभएछ । म पारि पुगेर बच्चालाई परिवारसम्म पुर्‍याउँदा निकै ठूलो विजयको अनुभव गरेँ । चिच्याएर रोएँ पनि । ठूलो धर्म गरेँ जस्तो भयो । अनि मलाई ती पत्रकार भाइले फोटो देखाए । फोटो हेर्दा त आफैंलाई डर लाग्यो । अनि मनमा के सोचाइ आयो भने यो फोटो मैले सार्वजनिक गरेँ भने बाढीपीडितहरुको कस्तो अवस्था छ र उनीहरुलाई उद्धारको कति आवश्यकता छ भन्ने ज्वलन्त उदाहरण देखिनेछ । त्यसैले मैले आफ्नै फेसबुकबाट त्यसलाई पोष्ट गरेको हुँ ।

त्यसको दुई दिनसम्म फेसबुक चलाइएन । तेस्रो दिन हेर्दा पो हंगामा भइसकेछ । कतिले गलत ढंगले बुझेका रहेछन् । के फोटो खिच्नकै लागि मैले यत्रो रिस्क मोलेँ होला ? बाढी तर्दा मैले दुईपटक पानी खाएको छु ।

तपाईंकी सानी छोरी छिन् । सामाजिक दायित्व निर्वाह गर्न हिँडिरहँदा बाबुको दायित्व कसरी निभाइरहनुभएको छ ?

हो, मैले बाबुको दायित्व निर्वाह गर्न सकिरहेको छैन । छोरीलाई आफन्तको जिम्मा लगाएर दुवैजना बाहिर हिँडिरहन्छौं । बस्ति निर्माणमा जाँदा छोरीलाई कुञ्जनाको दिदी भिनाजुको जिम्मामा छाड्थ्यौं । धेरैजसो उहाँहरुसँगै बसेकाले छोरीले कुञ्जनाकी दिदीलाई मामु र भिनाजुलाई बाबा भन्न थालिन् । अहिले पनि उहाँहरुलाई नै बाबामामु जस्तो मान्छिन् । मलाई त छोरीले अहिलेसम्म आफ्नो बाबुका रुपमा फिल नै गरेकी छैन । आजकाल ‘धुर्मुस बाबा’ भन्न थालेकी छ । कुञ्जनालाई चैं अलि पछ्याउन थालेकी छे ।

एकचोटि ज्वरो आएका बेलामा आँखाभरि आँशु पारेर सोधिन्, ‘तपाइर्ंहरु किन सँधै मलाई छोडेर जानुहुन्छ ?’ उनको त्यो प्रश्नले हामीलाई ज्यादै पिरोल्यो । आखिर एक्ली सन्तान हो ।

छोरीको स्कुलमा कत्तिको जानुहुन्छ ?

जम्मा एकपटक प्यारेन्ट्स डेमा गएको हो । त्यतिबेला स्कुलका सरहरुले पनि मलाई आफ्नो बच्चालाई ध्यान नदिएको भनेर निकै कुरा भन्नुभयो ।

अब पछाडि फर्कौं । तपाईंको आफ्नै बाल्यकालचाहिँ कसरी बितेको थियो ?

म सोलुखुम्बुको दुर्गम पहाडी गाउँमा जन्मेको हुँ । दुई भाइ र दुई बहिनीमाथिको जेठो छोरा भएकाले सानैदेखि पारिवारिक जिम्मेवारी बहन गर्नुपर्ने । ०४८ सालमा बसाइँ सरेर झापा गयाैं । स्कुल जाने-आउने र घरायशी काम गरेरै बाल्यकाल बितेको हो । गाईवस्तुलाई घाँस काट्ने, हलो जोत्ने, धान रोप्ने सबै काम गरियो ।

बिहानै पाँच बजे गोरु नारेर खेत जोत्न जान्थेँ । खाना खाएर स्कुल लाग्थेँ । स्कुलबाट फर्केर फेरि घरको काममा भिड्नुपथ्र्यो । पढाइमा चाहिँ अब्बल नै थिएँ । पहिलो हुन नसके पनि दोस्रो हुन्थेँ ।

कलाकार बन्ने लक्षण चाहिँ सानैदेखि थियो ?

शुक्रबार स्कुलमा सांस्कृतिक कार्यक्रम हुन्थ्यो । एकपटक मैले गीत गाउनुपर्ने भयो । तर, स्टेजमा उक्लेपछि म थरथर काँप्न थालेँ । गीत गाउन खोज्दा र्‍याल-सिंगान निस्किएर बेहाल भयो । लाजले भुतुक्कै भएँ । ५ कक्षा पास गरेर अर्को स्कुलमा भर्ना भएपछि चाहिँ मैले नाटक-साटक खेल्न थालेँ । कलाकारिताको लक्षण त्यहीँबाट प्रकट भएको हो ।

‘क्यारिकेचर’ चाहिँ कहिलेदेखि गर्न थाल्नुभयो ?

स्कुल पढ्दा नै हो । गाउँमा स्वस्थानीको साङ्गे हुँदा भाडामा ल्याएर टीभी हेर्ने प्रचलन थियो । त्यतिबेला ‘देवी’ टेलिसिरियल हिट थियो । त्यसमा शिवहरी पौडेलले ‘पूर्णे’ को क्यारेक्टर गर्नुभएको थियो । मैले सुरुमा क्यारिकेचर गरेको पूर्णेकै हो ।

त्यसपछि ‘कान्तिपुर’ सिरियलमा हरिवंश दाइले खेलेको वडाध्यक्षको क्यारिकेचर गरेँ । स्कुलमा साथीहरुसँग शिक्षकको क्यारिकेचर गरेर बस्थेँँ ।

तर, पछि गएर कलाकार बन्छु भन्नेखालको सोचचाहिँ त्यतिबेला थिएन । केवल रमाइलोका लागि गरिएको थियो । बरु चित्रकारितामा रुची बेसी थियो । कुनै पनि मान्छेको दुरुस्त अनुहार बनाउँथे । अहिले पनि सक्छु ।

बाल्यकालमा फिल्म कत्तिको हेर्नुहुन्थ्यो ?

खुबै हेरिन्थ्यो । नेपाली फिल्म सकेसम्म छुट्दैनथ्यो । घरबाट फिल्म हेर्न पैसा दिने स्थिति थिएन । तर, धान शिला खोज्नेदेखि अनेक तरिकाले पैसा जुटाएर हेर्थेँ । फिल्म हेरेको दिन स्कुलमा साथीहरुलाई डाइलग सुनाउने र कथा भन्ने मात्र काम हुन्थ्यो ।

तपाईंले पहिलोचोटि प्रत्यक्ष देखेको कलाकार को हो ?

एकपटक हरिवंश र मदनकृष्ण दाइहरु सिस्नुपानी नेपालले झापाको गौरादहमा राखेको कार्यक्रममा भाग लिन आउनुभएको थियो । म उहाँहरुको ठूलो फ्यान । धेरैतिर जी हजुर गरेर त्यो कार्यक्रमका लागि स्वयम्सेवक बन्ने मौका पाएँ ।

त्यतिबेला मेरो काखीमुनि पिलो आएको थियो । कार्यक्रममा भीड व्यवस्थापन गर्न हात उठाइनुपर्ने । त्यही क्रममा पाखुराले थिचिएर काखीको पिलो फुट्यो । खपिनसक्नु दुखाइले गर्दा कार्यक्रम छोडेर घर जानुपर्‍यो । महजोडीलाई नजिकबाट हेर्न पाइनँ ।

मैले नजिकबाट हेरेको चाहिँ ‘घामछाया’ कि हिरोइन क्षितिजा शाक्यलाई हो । त्यो घटना पनि रमाइलो छ ।

उहाँ एकजना आफन्तलाई भेट्न हाम्रो गाउँमा आउनुभएको रहेछ । हिरोइन गाउँमा आएको भनेपछि त हामी भुराहरुबीच कुदाकुद भइहाल्यो । म पनि स्कुलबाट गुटुङटुङ कुद्दै पुगेँ । म पुग्दा उहाँ बसेको घर अगाडि त ठूलै भीड जम्मा भइसकेको रहेछ । केहीबेरमा क्षितिजा शाक्य बार्दलीमा निस्किनुभयो र हात हल्लाउनुभयो । म त्यहाँ रहेको एउटा रिक्सामा उक्लिएर उहाँलाई हेर्दै हात हल्लाउँदा रिक्सा नै लड्यो र म पनि बुर्लुङ्ग पछारिएँ । रिक्सावालले मलाई एक थप्पड हान्यो । म रुँदै घर फर्किएँ ।

अर्को पनि अनुभव छ, राजेश हमाललाई हेर्न जाँदाको ।

उहाँ गौरादह आउनुभएको छ भन्ने सुन्नेवित्तिकै म बुर्कुसी मारेर कुदिहालेँ । बेपत्ताले चार किलोमिटर कुद्दै असिन-पसीन भएर गौरादह पुगेँ । म टक्क पुग्नु पनि, राजेश हमालको गाडी आँखै अगाडिबाट हुँइकिएर गयो । मैले उहाँलाई एक झलक पनि हेर्न पाइनँ । मलाई मरेझैं लाग्यो ।

उहाँलाई हेर्न पाउनेहरुको फूर्ति निकै ठूलो भयो । म सबैसँग सोध्न थालेँ- लुगा के लगाएका थिए, कपाल कत्रो थियो ? कालो थियो कि गोरो ? ठिक्क कालो कि धेरै कालो ? के भनेर गए ? तर, कसैले राम्रोसँग जवाफ नदिँदा निकै निराश भएँ । राजेश हमाललाई हेर्न नपाएकोमा लामो समय थकथकी लागिरह्यो ।

झापाबाट काठमाडाैं कहिले आउनुभयो ?

राजदरबार हत्याकाण्ड भएकै भोलिपल्ट म काठमाडौंमा उत्रेको हुँ । एसएलसी दिएपछि बुवाले त्यहीँको क्यापसमा भर्ना गरिदिन्छु भन्नुभएको थियो । तर, मलाई चाहिँ काठमाडौंकै क्याम्पसमा पढ्ने रहर ।

घरको आर्थिक स्थिति ठीक थिएन । आमाको बिमारीले गर्दा बुवा ऋणमा डुब्नुभएको थियो । उहाँले आफ्नो भएको जग्गाजमिन बेच्दै ५ सन्तानलाई पढाइरहनुभएको थियो । मलाई काठमाडौंमा राखेर पढाउन सक्ने उहाँको अवस्था थिएन । मैले काठमाडौंमा काम खोज्छु र आफैंले खर्च जुटाएर पढ्छु भनेर उहाँलाई कन्भिन्स गराएँ ।

बुवाले ३६ प्रतिशत ब्याजमा ऋण लिएर मलाई १७ सय रुपैयाँ हातमा राखिदिनुभयो । धरानबाट कोशी सुपर भन्ने गाडी चढेर ऋषिराम भन्ने दाइसँग काठमाडौं आएँ ।

कलंकी ओर्लिएपछि थाहा भयो, राजपरिवारको हत्या भएको । सडकमा गाडी चलेको थिएन । त्यहाँबाट हिँड्दै कोटेश्वर आइयो । कोटेश्वरमा ऋषिराम दाइका आफन्त हुनुहुन्थ्यो । त्यहाँ केही दिन बसेपछि अनामनगरमा कोठा लिएर बस्न थाल्यौं । दिउँसै बत्ति बाल्नुपर्ने कोठा थियो । मासिक १३ सय भाडा ।

बुवाले दिएको १७ सयबाट ८ सय रुपैयाँ घरबेटीलाई एडभान्स दिएँ । बाँकी पैसाले केही भाँडाकुँडा किनियो । कोठामा खाट थिएन । घरबाट ल्याएको गुन्द्री ओछ्याएर सुतिन्थ्यो ।

काठमाडौंमा गुजारा गर्न कत्तिको गाह्रो भयो ?

काठमाडौंमा मैले गरेको संघर्षको लामो कथा छ । धेरै रातहरु छन् भोकभोकै सुतेका । धेरै रात पाइनापल बिस्कुट खाएर सुतियो । ती बिस्कुटका खोल अहिले पनि मसित सुरक्षित छन् । कयौंचोटि बन्दाकोबीमा तेल नहाली छर्लङ्ग पानी हालेर पकाउँथेँ ।

सुरुमा मैले चित्रकारितामा केही काम पाइन्छ कि भनेर प्रयास गरेँ । केही आर्ट सेन्टरहरुमा धाउँदा मैले धेरै कुरा सिक्नुपर्ने देखियो । तर, सिक्नलाई पैसा थिएन ।

त्यसमा पार नलाग्ने देखेपछि कलाकार बन्नेतिर लागेँ । त्यतिबेलाको सर्वाधिक चर्चित ‘हिजोआजका कुरा’ मा चान्स पाइन्छ कि भनेर सन्तोष पन्तको घर धाएँ । तर, म धापासीमा रहेको उहाँको घर कलाकार बन्न आउनेहरुको ठूलो भिड लागेको हुन्थ्यो । मैले चान्स पाउनेजस्तो देखिनँ र छोडिदिएँ ।

पढाई चाहिँ कसरी अगाडि बढ्यो ?

म काठमाडौं आएपछि एसएलसीको रिजल्ट निस्कियो । फर्स्ट डिभिजनमा पास भएँ । त्यसपछि आरआर क्याम्पसमा पत्रकारिता र अंग्रेजी विषय लिएर पढ्ने निर्णय गरेँ । तर, भर्ना गर्ने पैसा थिएन ।

बुवाले पठाएको १७ सय त्यतिबेलै सकिएको थियो । अनि धुईधुई काम खोज्नतिर लागेँ । पत्रिकामा एउटा सूचना देखेँ । मार्केटिङ गर्ने मान्छे मागेको थियो । कलंकीमा कार्यालय रहेछ । म खोज्दै पुगेँ । सेल्सब्वाईको काम भनियो । तलब नआउने, बेचेको कमिसन मात्र पाइने । मैले त्यही काम सुरु गरेँ ।

कराई, मैनवत्ति स्ट्यान्ड, ग्यासको पाइपलगायतका सामानहरु डोकोमा बोकेर बेच्नुपर्थ्यो । आयो… आयो… भनेर कराउँदै गल्ली-गल्ली चहार्थेँ । घरभित्र र पसलहरुमा पस्थेँ । कतिपय मानिसहरुले हेप्थे र गेटबाहिरैबाट लखेट्थे । कतिले चाहिँ राम्रो व्यवहार पनि गर्थे । सामान बिक्न भने असाध्यै गाह्रो हुन्थ्यो । कहिलेकाहीँ फिटिक्कै एउटा पनि बिक्दैथ्यो । अलिअलि पाउने पैसा पनि खाजा खाँदै सकिन्थ्यो ।

एकचोटि साँझपख डोकोमा सामान बेच्न हिँडिरहँदा एउटा जँड्याहाले ‘नक्कली सामान बेच्छस ?’ भनेर बङ्गै हान्यो । म कुलेलम ठोकेँ । रातभरी जरो आयो । त्यसपछि विरक्त लागेर त्यो काम छोड्ने निर्णय गरेँ । कम्पनीमा गएर हिसाब गर्दा १३ सय रुपैयाँ हात पर्‍यो । त्यही पैसाबाट ७ सयले क्याम्पस भर्ना भएँ ।

क्याम्पस नियमित जानुहुन्थ्यो ?

कहाँ जानु ? पहिलो वर्ष १७ दिन गएँ । दोस्रो वर्ष त्यस्तै ३९/४० दिन गएँ होला । तर, पास भएँ ।

मार्केटिङको काम छोडेपछि के गर्नुभयो ?

गौशालामा एकजना आफन्तकहाँ घरको काम गर्ने गरी बस्न थालेँ । तलव नआए पनि दुई छाक खान पाइन्थ्यो ।

कामचाहिँ क-के गर्नुपर्थ्यो ?

घरभित्रको सबै काम गर्थेँ । भात पकाउने, भाँडा माझ्ने, लुगा धुने, बच्चाहरु स्याहार्ने, यिनै त हुन् ।

संघर्षका बेलाको अहिले अत्यधिक सम्झिने कुनै क्षण छ ?

एकदिन बेलुकीपख चाबहिलमा भौतारिँदै हिँडिरहेको थिएँ । बिहानदेखि केही नखाएको हुनाले भोकले पेटका आन्द्रा बटारिएका थिए । हिँड्दा हिँड्दै सडकमा फोहोर थुपारेको ठाउँनिर कसैले एक झोला भात फ्याँकेको देखेँ । मलाई त्यो भात टिपेर खाउँ-खाउँ जस्तो भयो ।

यताउति हेरेँ । एकजना टाइसुट लगाएको मान्छेले मलाई नियालिरहेका रहेछन् । उनले मेरो मनोदशा बुझेछन् क्यारे । ‘के भयो भाइ ?’ भनेर सोधे । मैले पिलपिल रुँदै भनेँ, ‘भोक लाग्यो ।’

उनले मलाई बौद्धमा एउटा भोजनालयमा लगे र पेटभरि भात खुवाए । अनि, पाँच सय रुपैयाँ पनि दिए ।

त्यसदिन साह्रै विरक्त लाग्यो । घरमा कम्तिमा हलो जोतेर सम्मानपूर्वक खान त पाइन्थ्यो भन्ने सोचेँ । त्यसपछि सदाका लागि काठमाडौं छोड्ने निर्णय लिएर झापा फर्किएँ ।

झापाबाट फेरि कसरी काठमाडौं आउनुभयो ?

घरमा गएर पनि मेरो मन शान्त हुन सकेन । टीभीमा हिजोआजका कुरा हेर्दा मैले त्यतिबेला सन्तोष पन्तको घर धाउँदा भेटेका व्यक्तिहरुले खेलिरहेको देख्न थालेँ । हत्तेरी ! मैले पनि प्रयास जारी राखेको भए चान्स पाउने रहेछु भन्ने लाग्यो । त्यसपछि फेरि काठमाडौं फर्केर कलाकारितामै केही गर्छु भन्ने अठोट लिएँ । अनि ठूलोबुवासित गाडीभाडा मागेर काठमाडौं आएँ ।

थापाथलीमा एक साथीसँग रुम सेयर गरेर बस्न थालेँ । सबै घरायशी काम मैले गर्थेँ, कोठाभाडा साथीले तिर्थे ।

त्यही क्रममा मोहन निरौलाको परिवर्तन नेपाल भन्ने संस्थाले नि:शुल्क अभिनयको तालिम दिन लागेको थाहा पाएँ । त्यो तालिम लिएपछि उहाँहरुले सडक नाटकमा खेलाउन थाल्नुभयो । दुई सय रुपैयाँ पनि आउँथ्योे । त्यही क्रममा केदार घिमिरेजी (माग्ने बुढा)सँग भेट भयो । अनि हामी जोडी बनेर अघि बढ्ने निर्णय गर्‍यौं ।

उहाँसित भेटचाहिँ कसरी भयो ?

मैले एउटा सडक नाटक खेल्दा उहाँले दर्शकका रुपमा हेर्नुभएको रहेछ । तर, उहाँसित भेटचाहिँ जितु नेपाल दाइको कार्यालयमा भएको हो । हाम्रो क्याम्पसमा एकपटक नयाँ विद्यार्थीका लागि स्वागत कार्यक्रम हुँदा जितु नेपाल प्रस्तुतिका लागि आउनुभएको थियो । मैले पनि कार्यक्रममा प्रस्तुति दिएको थिएँ । जितु दाइलाई निकै मन परेछ । कार्यक्रम सकिएपछि उहाँले मलाई ‘गीताञ्जली’ कार्यक्रमका लागि स्कृप्ट लेख्ने अफर गर्नुभयो । एउटा स्कृप्टको खाका लिएर कमलादीमा रहेको नेपाल आट्र्स कला मन्दिरमा आउन भन्नुभयो ।

म एक दिन स्कृप्ट लिएर जाँदा केदारजी पनि स्कृप्ट बोकेर पुग्नुभएको रहेछ । दुवैको स्कृप्ट पढेपछि जितु दाइले तिमीहरु संयुक्त रुपमा गर न त भनेर प्रस्ताव गर्नुभयो । हामी राजी भयौं । यसरी जितु दाइले नै हाम्रो जोडी बनाइदिनुभएको हो ।

पछि तपाईंहरुको सम्वन्धचाहिँ किन बिग्रियो ?

सम्वन्ध कहिल्यै बिगि्रएको छैन । हल्लामात्र हो । मिडिया हबमा आर्थिक संकट आएपछि केदारजीले ‘मेरीबास्सै’ छोड्ने निर्णय लिनुभयो । मैलेचाहिँ केही समय निरन्तरता दिएँ । त्यसरी हाम्रो जोडी छुट्टियो । यसकै आधारमा केही मिडियाले सम्बन्ध बिग्रिएको भनेर लेखे । खासमा सम्वन्ध हाम्रो अहिलेसम्म पनि उत्तिकै सुमधुर छ । सहकार्य नभए पनि भावनात्मकरुपमा हामी एकदम आत्मीय छौं ।

तर, मेरीबास्सैमा काम गर्दा लामो समयसम्म तपाईंहरुबीच बोलचालै नभएको होइन र ? सुटिङ पनि बेग्लाबेग्लै गर्नुहुन्थ्यो त ?

सुटिङ बेग्लाबेग्लै गरेको चाहिँ सजिलोका लागि हो । हाम्रो बेग्लाबेग्लै कथा हुन्थ्यो । एकै दिन सुटिङ सक्न गाह्रो हुने भएपछि बेग्लाबेग्लै गर्न थाल्यौं ।

भाइ (जिग्री) लाई पनि कलाकारितामै ल्याउनुभएको छ । उहाँले अहिले भद्रगोलबाट आफ्नै पहिचान बनाइसक्नुभयो । दाजुभाइबीच प्रतिस्पर्धाको भावना कत्तिको हुन्छ ?

केको प्रतिस्पर्धाको भावना हुनु ? उसका लागि म दाजुमात्र नभएर अभिभावक पनि हुँ । उसले राम्रो गर्दा सबैभन्दा बढी खुशी म नै हुन्छु । अहिले रंगशाला निर्माणको अभियानमा पनि उसले मलाई बलियो साथ दिइरहेको छ । खासमा सबैभन्दा अगाडि रंगशाला बनाउन मलाई घच्घच्याउने मेरै भाइ कुमार हो ।

तर, तपाईंहरुबीच असमझदारी भएर बेग्लाबेग्लै बस्न थाल्नुभएको होइन ?

अहँ होइन । त्यतिबेला उसले एउटा अफिस खोलेको थियो । तर, बिहान अबेरसम्म सुत्थ्यो । सबै कुरामा मेरै भर पर्थ्यो । त्यसैले उसले आफ्नै बलबुँतामा अगाडि बढ्न सकोस् भनेर छुट्टै बसाएको हुँ । मैले सोचेजस्तै त्यसपछि उसले राम्रो प्रगति पनि गर्‍यो ।

अब भाइलाई बुहारी खोजिदिने बेला भएन ?

बेला भयो । मिल्यो भने यसैपालि बुहारी भित्र्याउने योजनामा छौं । उपयुक्त कन्याको खोजी भइरहेको छ ।

पछि गएर तपाईंको राजनीति गर्ने सुर छ कि छैन ?

बिल्कुल छैन । जीवनको अन्तिम अवस्थासम्म पनि सेवकै भएर काम गर्ने संकल्प छ । भोलिका दिनमा आम मानिसको भावना त्यस्तो रह्यो भने छुट्टै कुरा हो ।

कुनै राजनीतिक पार्टीले अफर गरेका छन् ?

धेरै अफर आएको हो । वैकल्पिक पार्टीबाट पनि आए । काठमाडौंको मेयर लड्न पनि धेरै साथीहरुले आग्रह गरेका हुन् । तर, मेरो सोच त्यो थिएन ।

आफूले निर्माण गरेका बस्तीहरुमा कत्तिको पुग्नुहुन्छ ?

नियमित गइरहन्छु । बच्चाबच्ची झ्याम्मिन्छन् । बालबालिकाको भविश्य नै हाम्रो बस्ती निर्माणको मुख्य उद्देश्य थियो । हामी जाँदा उनीहरु ‘बाबा, मामु’ भन्दै रमाउँछन् । चक्लेट माग्छन् । म सेकेन्ड भएँ, फर्स्ट भएँ भन्छन् । ती बच्चाबच्चीको अनुहार हेर्दा सबै पीडा र आलोचना बिर्सिइन्छ । अनलाईनखबरबाट साभार

प्रतिक्रिया दिनुहोस
मनकामना केवलकारको भाडा बढ्यो

    गोरखाको मनकामना मन्दिर जाने केवलकारको भाडा बढेको छ । मनकामना दर्शन

सरकारी डाक्टरलाई निजीमा जान रोक्दैछौं : स्वास्थ्यमन्त्री यादव

  उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले सरकारी अस्पताललाई निजी अस्पतालमा विरामी जाँच्ने रोक्ने गरी

थप उपचारको लागि प्रधानमन्त्री ओली बिहीबार सिंगापुर जाने

  प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पर्सी बिहीबार पुनः सिंगापुर जाने

विहे गरेको तीन बर्षपछि छवी–शिल्पाको विहेको तस्विर भाईरल

    विहे गरेको तीन बर्षपछि निर्माता छवी ओझा र अभिनेत्री शिल्पा पोखरेलका