तिजविरुद्ध प्रशासन : हिन्दूधर्म-संस्कृतिमाथि प्रहार



 

हिन्दू महिलाहरूको ठूलो चाड तिज परम्परागत पर्व, रातो पहिरन या ब्रतसँग मात्र सम्बन्धित नभएर महिलाको अभिव्यक्ति स्वतन्त्रताको इतिहाससँग जोडिएको छ । कुनै बेला थियो हाम्रा आमा, हजुरआमा, जिजुआमाहरू आफ्ना कुरा घरपरिवारमा जस्ताको तस्तै राख्न सक्दैनथे, बोल्न सक्दैन थिए । पितृसत्ताको जालो यति बाक्लो थियो कि त्यसबाट अलिकति पनि तलमाथि गर्नु अपराध मानिन्थ्यो, जसले महिलालाई मौन रहन बाध्य बनाएको थियो ।

 

महिलाको सार्वजनिक संसार त थिएन नै, भएको पारिवारिक संसारमा उनीहरूको हैसियत प्रश्न सुन्ने मात्रै थियो, प्रश्न गर्ने थिएन । मौनताको त्यो इतिहासलाई चिर्नका लागि तिज एउटा ऐतिहासिक पर्व बन्यो जहाँ महिलाले गीत,–सङ्गीतमार्फत आफ्ना दुःखसुखका कुराहरू सार्वजनिक रूपमा राखे । मिठो खाने, राम्रो लाउने मात्र होइन, महिलाले बोल्ने, घरबाहिर चौतारीसम्म निर्धक्क जाने, नाच्ने, गाउने, वर्षभरि भोगेका दुःख र बुहार्तन बिसाउने, मौनता तोड्ने चाड बन्यो तिज ।

 

हामी सानो छँदासम्म तिजका गीतहरू प्रायः बुहार्तन र पतिले आफूप्रति गरेका व्यवहारमै सीमित थिए । कारण, त्यसभन्दा बाहिर महिलाको संसार नै थिएन । समयक्रममा महिलाको संसार फराकिलो हुँदै गयो, उनीहरूले शिक्षादेखि राजनीतिसम्मका गीत गाउन थाले । ०४६ सालको प्रजातन्त्रसम्म आइपुग्दा तिज प्रजातन्त्रका लागि चेतना फैलाउने पर्व बनिसकेको थियो ।

 

नेतृ पम्फा भुसाल, हिसिला यमीहरूले तिजको दिन पशुपतिको पाखामा क्रान्तिका गीत गाएको देख्ने, सुन्नेहरू धेरै छन् । यसैगरी तिजको सन्दर्भ पारेर छलफल कार्यक्रमहरू हुन थाले । केही वर्षदेखि साथी संस्थाले ‘तिज टक’ नै गरिरहेको छ, अरूले पनि विभिन्न समारोहहरू गरिरहेका छन् । चौतारोको ठाउँ स्वाभाविक रूपमा होटेल, पार्टी प्यालेसहरूले लिन थाले । कार्यक्रमहरू त्यसै पनि भइरहेकै हुन्छन्, तिजको सन्दर्भ जोड्दा विशेष हुन थाल्यो ।

 

एक महिना अघिदेखि महिलाले तिजका गीत गाएर ध्वनि प्रदूषण भएको उल्लेख गर्दै जिल्ला प्रशासन कास्कीले महिलालाई सचेतता नअपनाए समाजको सहनशीलताको तहसमेतलाई ध्यान राखी कानुनअनुरूप कारबाही गर्ने चेतावनी दिएको छ । चेतावनी सूचना बडो गजबको छ । ‘दिनभर निराहार ब्रत बसी सोको एक दिनअगाडि दर खाने यो चाडको मौलिक परम्परा हो’ भनिएको छ । सूचना हेर्दा यस्तो लाग्छ मानौँ, कुनै महिला दिनभर निराहार नबसे राम्रो हुँदैन । सूचनामा फजुल खर्च कम गर्न, ध्वनि प्रदूषण, समाजको सहनशीलताजस्ता शब्दहरू प्रयोग भएका छन् । रोचक कुरा त के छ भने महिलालाई नाचगान र दर खान रोक्नका लागि महिलाकै नामको संस्थालाई प्रयोग गरिएको छ ।

 

२०७६ साल साउन ९ गते जारी सूचनामा भनिएको छ, ‘नारी जागरण अभियानलगायत सङ्घसंस्थाबाट तिज चाडको मौलिकतामाथि आँच आउने प्रकृतिका फजुल खर्च, तडकभडक, गरगहना प्रदर्शन र साङ्गीतिक कार्यक्रमका नाममा हुने ध्वनि प्रदूषण तथा होटेल एवम् पार्टी प्यालेसमा हुने दर खाने कार्यक्रमलगायतका खर्चिला कार्यक्रमले हिन्दू नारीहरूले मनाउने मौलिक चाडको मौलिकतामाथि प्रश्न उठाएको भनी तिज पर्वको मौलिकता संरक्षणको लागि ध्यानाकर्षणपत्रसमेत प्राप्त भएको छ ।

 

समाजमा बढ्दो तडकभडकलाई न्यून गर्न, ध्वनि प्रदूषण हुन नदिन, फजुल खर्चलाई कटौती गर्न तथा समाजको मौलिक परम्परालाई जगेर्ना गर्ने किसिमले समाजको सहनशीलताको तहसमेतलाई ख्याल गरी हरितालिका तिज मनाउन अनुरोध छ । यस सूचनाको बर्खिलाप हुने गरी भए–गरेको कार्यक्रमको सूक्ष्म रूपमा निगरानी राखी कानुनअनुसार कारबाही गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

 

हो, केही वर्षयता अलिअघिदेखि नै तिजको दर खाने गरिएको छ । विभिन्न कार्यालय, समूह, क्लबहरूले तिजको दर आयोजना गर्ने गरेका छन् । विगतमा ती कार्यालयमा पुरुष मात्रै हुने गर्थे, तिज मनाइँदैनथ्यो, अहिले प्रायः हरेक कार्यालय, उद्योग, व्यवसाय, समूहहरूमा महिला छन् त्यसैले महिला सहकर्मीका लागि पुरुषहरूले पनि तिज मनाउने गरेका छन् । राम्रो नियत र उद्देश्यले गरिएका त्यसप्रकारका कार्यक्रममा समाजको सहनशीलता टुट्नुपर्ने कारण के छ ? गाउँगाउँमा महिला मात्रै भएका विभिन्न उपभोक्ता समूहहरू छन्, वर्षभरि काममा खटिने महिला तिजको अवसरमा नाचगान गरेर रमाइलो गर्छन्, एकैछिन नाचेर गीत–सङ्गीतमार्फत आफ्ना दुःखपीडा भुल्छन् भने त्यसमा यो देशको प्रशासनलाई केको आपत्ति ?

 

पहिला घरमा रहेका बेला महिलाहरू घरमै दर खान्थे । अहिले महिलाहरू समूह, क्लब, राजनीतिक दल, विभिन्न पेसागत सङ्गठन, सङ्घसंस्था, सामुदायिक तथा अन्य सार्वजनिक गतिविधिमा छन् । आफ्नो दायरा फराकिलो भएसँगै महिलाले सहज स्थानमा आफ्नो पैसा तिरेर दर खान्छन् भने यसमा सरकारले सूक्ष्म निगरानी राख्नुपर्ने किन ? के महिलाले चाहिँ सधैँ घरमै सीमित हुनुपर्ने ? एक छाक बाहिर गएर अरूले पकाएको खान नहुने ? आफैंले पकाएर खानुपर्ने ? के अब यो देशमा आफ्नो धर्म, संस्कृतिअनुरूप चाडबाड मनाउन पनि प्रशासनको स्वीकृति लिनुपर्ने भयो ? हिन्दू महिलाले मनाउने चाडको ठाउँमा अन्य धर्म, संस्कृति मान्नेका लागि यसप्रकारको सूचना निकालिएको भए अहिलेसम्म के–के मात्रै भइसक्थ्यो होला ? प्रश्न धेरै छन् ।

 

हाम्रो देशमा पुरुषका अनौपचारिक सत्रहरू अनेक हुने गर्छन् । बिहानको तातो चियापसलदेखि बेलुकाको चिसो चियापसलसम्म पुरुषहरूको जमघट प्रत्येक दिन हुन्छ । मुलुकभरिका भट्टी पसलदेखि रेस्टुरेन्ट हुँदै पाँचतारे होटेलहरू पुरुषहरूकै खानपानले चलेका छन् । यी ठाउँहरूमा यदाकदा महिला पनि जालान्, तर महिलालाई सधैँ घर नै बितिरहेको हुन्छ । गृहिणी हुन् या कामकाजी महिला अनौपचारिक सत्र या ‘ह्यापी आवर’मा सहभागी भएका उदाहरण कमै होलान् । कामकाजी महिलाको त झन् जिन्दगी जात्रै छ, कार्यालयबाट निस्कन पाएको छैन घरको कामको बोझले बाटोबाटै थिच्न शुरु गर्छ ।

 

गृहिणीहरूको पनि पारिवारिक विवाह, ब्रतबन्धबाहेक जाने ठाउँ कहाँ नै छ र ? महिलाले गर्ने रमाइलो भनेकै तिजमा हो । इतिहासदेखि वर्तमानसम्म तिजले महिलालाई थोरै भए पनि जिन्दगीमा नाच्ने, हाँस्ने ठाउँ दिएको छ । हो, हिजोआज तिजका नाममा निर्माण गरिएका कतिपय गीतका शब्द र भिडियोहरू भड्किला बन्दै गएका छन । सञ्चारमाध्यममार्फत घरघरमा, कोठाकोठामा, हातहातमा, आँखाआँखामा पुग्ने हुँदा यसप्रकारका गीत निर्माणमा सम्बन्धितलाई सचेत गराउनुपर्ने अवस्था छ ।

 

तर, तिजको नाममा अन्य तडकभडक केलाई भन्ने ? रातो पहिरनलाई ? चुरापोतेलाई ? धेरैजसो महिलाले हिजोआज सुनका गहना लगाउन छोडिसके, विशेषगरी तिजमा पोतेका गहना लाउने चलन नै भइसक्यो । सामान्य गहना र रातो सारी लगाएका महिलाले मुलुकको शान्तिसुरक्षामा कहाँबाट आँच पुऱ्याए ? तिजका गीत गाउँदा कसको कानमा ध्वनि प्रदूषण भयो ? क्रिसमसमा पोखरा घन्किँदा त सुमधुर नै लाग्छ । तिजका गीत सहन कुन समाजलाई गाह्रो भयो ?

 

महिलाहरूको महान् चाड तिज सार्वजनिक स्थानमा गर्न लगाइएको अघोषित प्रतिबन्धलाई नाचगान र पहिरनमा गरिएको बन्देजको रूपमा मात्र हेर्न मिल्दैन । यसलाई हिन्दूधर्म, संस्कृतिमाथिको गरिएको प्रहारका रूपमा लिनुपर्ने हुन्छ । यो पितृसत्तासँग होइन राज्यसत्तासँग सम्बन्धित छ । यो नागरिक स्वतन्त्रतासँग जोडिएको कुरा हो ।

 

महिलाहरूले हाँस्दा, नाच्दा विगतमा पितृसत्तात्मक समाजले औँला उठाउँथ्यो, अहिले कम्युनिस्ट सरकारको प्रशासनले नै सूक्ष्म निगरानी गरेर कारबाहीको धम्की दिएको छ । आफ्नो पैसा खर्च गरेर खान र साथीसङ्गी जम्मा भएर रमाइलो गर्न कुनै पनि कानुनले रोक्न सक्दैन । यो मानिसको व्यक्तिगत र प्रजातान्त्रिक दुवै अधिकार हो । यो देश प्रचण्ड र केपी ओलीको जति हो धनमाया र कमलादेवीको पनि उत्ति नै हो । महिलाले खुसी साट्दा राज्य दुःखी हुन्छ भने त्यसलाई प्रजातान्त्रिक मुलुक भन्न मिल्दैन ।

लेखक बबिता बस्नेत

प्रतिक्रिया दिनुहोस
हदै सम्म प्रेम गर्छन् यी पाँच राशि भएका मानिसहरू ! जान्नुहोस्

    यो संसारका हरेक व्यक्ति एकजस्ता हुँदैनन् । कसैमा केही कुरा विशेष

विस्तार हुने भो कलंकी–महाराजगञ्ज सडक

  काठमाडौंको चक्रपथ विस्तारको दोस्रो चरणको काम तीव्र रुपमा भइरहेको छ । मार्चको

भ्रष्टाचारमा शुन्य शहनशिलता प्रदेश सरकारको लक्ष्य–मुख्यमन्त्री पौडेल

  ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमा शुन्य शहनशिलता प्रदेश सरकारको लक्ष्य

अस्पतालबाट फर्किएपछि ओलीले बोलाए पहिलो क्याबिनेट बैठक

  प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक सोमवार बस्दैछ ।