म विचार शून्य मान्छे होइन- रमेशकुमार सिलवाल



 

यतिबेला नेपाली खेलकुद हाँक्ने नेतृत्वको अगाडि थुप्रै चुनौती थपिएका छन्। राष्ट्रको प्रतिष्ठासँग जोडिएको १३औं साग संघारमै छ, क्रिकेटको निलम्बन फुकुवा हुन सकेको छैन, खेल संघहरूको विवाद अझै पनि छताछुल्ल अवस्थामै छ। यस्तो अप्ठ्यारो परिस्थितिमा तपाईं सदस्यसचिवको जिम्मेवारी वहन गर्न आउनु भएको छ। यस्तोमा नेपाली खेलकुद हाँक्न तपाईंले के कस्तो योजना र खाका तयार पार्नु भएको छ ?       

 

ढुक्क हुनोस्, नेपाली खेलकुदको वर्तमान नेतृत्व जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार छ। सदस्यसचिवको जिम्मेवारी स्विकार्नुअघि नै यी चुनौती र समस्याहरूको बारेमा म जानकार थिएँ। चुनौतीको सामना गर्ने साहस भएकोले नै मैले यो जिम्मेवारी स्वीकारेको हुँ। चुनौती र समस्या नभए काम गर्न मजा पनि आउँदैन। राखेपको वर्तमान नेतृत्वसँग आफ्नो अगाडि आउने हरेक चुनौती र समस्याको समाधान गर्ने क्षमता छ। प्रतीक्षा गर्नुस्, म बोलीले होइन कामबाट आफ्नो कुरालाई प्रमाणित गरेर देखाउनेछु।

 

राष्ट्रको प्रतिष्ठासँग जोडिएको १३औं साग सम्पन्न गर्न अब चार महिनामात्र बाँकी छ। विगतमा पनि हामी पटकपटक यसमा चुक्दै आएका छौं। यसपटक १३औं सागको सफल आयोजना प्रति तपाईं कत्तिको ढुक्क हुनुहुन्छ ? 

 

पक्कै पनि १३औं सागको सफल आयोजना देशको प्रतिष्ठासँग जोडिएको विषय हो। त्यसैले यो राखेप वा कुनै एउटा निकायले मात्र चाहेर सफल हुने कुरा होइन। यसका लागि सरकारको सक्रिय सहयोग आवश्यक पर्छ। यसैगरी सागमा सहभागी अन्य सदस्य राष्ट्रको चाहनाले पनि यसको आयोजनामा असर पार्छ। विगतमा पनि तीन पटक १३औं सागको मिति परिवर्तन भइसकेको छ।

 

सदस्यसचिवको जिम्मेवारी सम्हालेपछि मैले १३औं सागको आयोजनालाई नै आफ्नो पहिलो परीक्षाको रूपमा लिएको छु। त्यसैले राखेपको वर्तमान नेतृत्वको सम्पूर्ण ध्यान पनि सागको सफल आयोजनामै केन्द्रित छ। अब हाम्रो कारणले १३औं साग सर्दैन भन्ने विश्वास म सबैलाई दिलाउन चाहन्छु। प्रतियोगिताको सफल आयोजनाप्रति म शतप्रतिशत विश्वस्त छु।

 

 समय त घर्कंदै छ नि ! १३औं सागको तयारी कसरी अगाडि बढ्दै छ ?       

सागको तयारीलाई हामीले तीन पक्षबाट अगाडि बढाएका छौं। पहिलो पक्ष भनेको भौतिक पूर्वाधारको तयारी हो। हामीसँग खेलका लागि चाहिने भौतिक पूर्वाधार पूर्णरूपमा तयार भइसकेको छैन। अधिकांश पूर्वाधार तयार भए पनि केही मूल कुरा भने टुंगिने क्रममा छन्। दशरथ रंगशाला, पोखरा रंगशाला र सातदोबाटोमा हिटिङ प्रणालीको पौडी पोखरीको निर्माण हाम्रा लागि अहिले प्रमुख चुनौतीको विषय बनेको छ। अहिले हामीले आफ्नो सम्पूर्ण ध्यान यसैमा केन्द्रित गरेका छौं। सागका लागि पूर्वाधार निर्माणको सम्पूर्ण काम कात्तिक १५ गतेभित्र सकिनेछ।

 

० घरेलु मैदानमै आयोजना भएको आठौं साफमा नेपाली खेलाडीले उल्लेख्य सफलता हात पारेका थिए। त्यतिबेला नेपाल पदक तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो। लामो समयपछि घरेलु मैदानमै आयोजना हुन लागेको १३औं सागका लागि खेलाडीको प्रशिक्षणको अवस्था कस्तो छ ?   

 

भौतिक पूर्वाधारको निर्माणपछि दोस्रो पक्ष भनेको खेलाडीको प्रशिक्षण नै हो। साग खेलकुद भनेको हाम्रा खेलाडीको स्तर मापन गर्ने महत्वपूर्ण थलो पनि हो। त्यसैले खेलाडीको तयारीमा हामी कुनै कसर बाँकी राख्ने छैनौं। सबै खेलको बन्द प्रशिक्षण पनि अगाडि बढिसकेको छ। कतिपय खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाई सकिएको छ। सागलाई ध्यानमा राखी कतिपय खेलमा विदेशी प्रशिक्षक झिकाएर देशभित्रै प्रशिक्षण दिने कार्य भइरहेको छ। यसैगरी तेस्रो पक्ष भनेको १३औं सागको उद्घाटनदेखि लिएर समापनसम्मको कार्यक्रमलाई कसरी ऐतिहासिक बनाउने भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित छ।

 

उपसमितिहरूको काम कसरी अगाडि बढ्दै छ ?       

उपसमितिहरूको काम जति तीव्र हुनुपर्ने हो त्यति भइसकेको छैन। उपसमितिहरूको वर्कआउट भइरहेको छ। हामीले सागका लागि प्राथमिकताक्रम निर्धारण गरेर काम अगाडि बढाएका छौं। भौतिक पूर्वाधार र खेलाडीको प्रशिक्षणपछि अब हामी आफ्नो ध्यान उपसमितितर्फ केन्द्रित गर्नेछौं। अहिले अधिकांश काम सचिवालयमार्फत नै भइरहेको छ। अब चाँडै नै हामी उपसमितिहरूको टुंगो लगाएर द्रुत गतिमा अगाडि बढ्ने छौं।

 

 साग आयोजनाको विषयलाई लिएर सरकारी स्तरबाट यहाँलाई कत्तिको आश्वस्त पारिएको छ ?       

सरकारको पूर्ण सहयोग नभई सागजस्तो ठूलो प्रतियोगिता आयोजनाको हिम्मत कसैले पनि गर्न सक्दैन। प्रतियोगिता आयोजनाका लागि नैतिक, भौतिक, आर्थिक, कूटनीतिक हरेक पक्षमा सरकारको सहयोग चाहिन्छ। यो राज्यकै काम हो र म पनि सरकारकै एउटा अंग हुँ। प्रधानमन्त्रीज्यूबाट पनि १३औं सागलाई भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्नु भन्ने निर्देशन प्राप्त भएको छ। त्यसैले सागको सफल आयोजनालाई लिएर शंका गर्नुपर्ने कुनै कारण छैन।

 

प्रसंग बदलौं, आईसीसीबाट घरेलु क्रिकेट निलम्बन भएको तीन वर्षभन्दा लामो समय बितिसकेको छ। क्यान निलम्बनअघि तपाईं पनि यो विषयमा जोडिनु भएको थियो। संयोगले यतिबेला नेपाली खेलकुदको नेतृत्वदायी निकायको बागडोर तपाईंकै हातमा छ। क्यानको निलम्बन फुकुवाका लागि अझ कति समय पर्खनु पर्ने होला ?   

 

हो, लामो समयदेखि नेपाली क्रिकेट पदाधिकारीविहीन अवस्थामा छ। क्यान निलम्बनमा परेयता खेलाडीकै कारणले मात्र नेपाली क्रिकेट जीवित अवस्थामा छ। यसका लागि खेलाडीहरू धन्यवादका पात्र हुन्। तर, क्यान नभए पनि खेलाडीको प्रशिक्षण र देशभित्र प्रतियोगिताहरू रोकिएका छैनन्। यसका बाबजुद हाम्रो आवश्यकता अनुरूपको प्रतियोगिताहरू सञ्चालन हुन सकेका छैनन्।

 

यसले गर्दा नयाँ प्रतिभाहरू उत्पादन हुन सकेका छैनन्। घरेलु क्रिकेटको रिजनल स्ट्रक्चर कमजोर भएको छ। क्लब क्रिकेटको संस्कार विकास हुन सकेको छैन। टीट्वेन्टी ढाँचाका प्रतियोगिताहरू निकै आयोजना भए पनि आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि हामीलाई आवश्यक पर्ने एकदिवसीय र त्योभन्दा पनि लामो ढाँचाको प्रतियोगिताहरू आयोजना हुन सकेको छैन। अब हामीले टीट्वेन्टी, एकदिवसीय र त्योभन्दा लामो ढाँचाको प्रतियोगिताका लागि छुट्टाछुट्टै टोली बनाएर अगाडि बढ्नुपर्ने हुन्छ।

 

 तर, क्यानको निलम्बनले यी सबै कुरामा असर पारिरहेको छ नि, हैन र ?       

वास्तवमा यो निकै लामो समय हो। क्यानको निलम्बन हाम्रो लागि चिन्ताको विषय बन्दै आएको छ। तर, अब यो अवस्था लामो समय कायम रहने छैन। क्यानको विवाद निकै अघि समाधान भइसक्नु पर्ने थियो। हालै सम्पन्न आईसीसीको बैठकबाटै पनि विवाद समाधान हुने सम्भावना थियो। तर, हाम्रै केही व्यक्ति खराब छन्। हामीभित्र केही क्रिकेटका भाइरसहरू छन्।

 

उनीहरू विवाद समाधान होस् भन्ने चाहँदैनन्। क्रिकेटमा कुनै योगदान नगर्ने तर, सधैं विवाद झिकेर रमाउने केही व्यक्तिका कारण नेपाली क्रिकेट प्रताडित बनेको हो। उनीहरू खेलकेन्द्रित भन्दा पनि आत्मकेन्द्रित छन्। म नरहे क्रिकेटलाई पनि ध्वस्त बनाउँछु भन्ने मानसिकता बोक्ने व्यक्तिहरूका कारण यस्तो भएको हो।

 

 निलम्बन कहिले फुकुवा होला त ?       

अब छिट्टै नै क्यानको निलम्बन फुकुवा हुँदैछ। हालै बसेको आईसीसीको बैठकमा पनि नेपालबारे पर्याप्त छलफल भएको थियो। केही व्यक्तिले आईसीसीको बैठकमा नेपालबारे छलफल नै भएन भनेर हल्ला फिजाए। तर, बैठकमा हाम्रो बारेमा लामै छलफल भएको थियो। आईसीसीको बैठकमा अहिले नेपालमा सक्रिय पाँच सदस्यीय कमिटीको कामलाई मान्यता दिने र छिट्टै निर्वाचनमा जाने भन्ने सहमति भएको छ। मेरो विचारमा अब बस्ने आईसीसीको बैठकले क्यानमाथि लगाएको निलम्बन फुकुवा गर्नेछ। अबको ६ महिनाभित्र क्यान निलम्बनमुक्त हुनेछ। म आफैं आईसीसीको मुख्यालयमा गएर भए पनि ६ महिनाभित्र क्यानको निलम्बन फुकुवा गराउँछु।

 

 १३औं साग नजिकिँदो छ तर, कतिपय खेल संघमा अझै पनि चर्को विवाद देखिन्छ। खेलाडी छनोट, बन्द प्रशिक्षक र प्रशिक्षक छनोटमा समेत यसको प्रभाव देखिन्छ। यसले कतै खेलाडीको प्रदर्शन र नतिजामा त असर नपार्ला नि ?       

संघभित्रको विवाद हाम्रो आन्तरिक कुरा हो। यो विगतदेखि नै मौलाउँदै आएको संस्कार हो। विवाद समाधानका लागि प्रयास पनि अघि बढिसकेको छ। धेरै संघको विवाद समाधान पनि भइसकेको छ। लामो समयदेखि हुर्कंदै आएको संस्कार हट्न केही समय त लाग्छ नै। यसबीचमा म आफैंले ५० वटा संघका पदाधिकारीसँग छलफल गरिसकेको छु। अब सबै संघसँग स्पष्ट योजना माग्छु। चुनाव नगर्ने संघलाई त्यसका लागि निश्चित समय दिन्छु।

 

काम नगर्ने र चुनाव नगर्ने संघलाई खारेजी र पुनर्गठनको प्रक्रियामा लैजान्छु। यति धेरै संघ आवश्यक पनि छैनन्। अब सबै संघलाई एउटै डालोमा राखेर हेरिने छैन। काम नगर्ने र खोज्दा नभेटिने संघहरूको अब काम छैन। खेलकुदमा दर्ता र नवीकरण नभए तथा नियमित रूपमा लेखा परीक्षण नगराउने संघका कुनै पनि व्यक्ति विदेश जान पनि पाउने छैनन्।

 

राखेपका कर्मचारी खेल संघहरूमा बसेर पनि कतिपय समस्या आएका छन्। तर, अब राखेपका कर्मचारीले कि खेल संघ रोज्नु पर्‍यो कि त जागिर रोज्नु पर्‍यो। यसैगरी विदेश जानकै लागि खोलिएका संघहरू पनि छन्। म आएपछि पनि ८० जनाभन्दा बढीलाई अनावश्यक रूपमा विदेश जानबाट रोकेको छु। बंगलादेश जान भनेर कोही आउँदैनन् तर, अमेरिका, जापान, अस्ट्रेलिया, बेलायत जान भने ओइरो लाग्छ। अब यस्ता विकृतिहरूका लागि खेलकुदमा कुनै स्थान छैन।

 

त्यसोभए १३औं सागमा संघहरूको विवादले खेलाडीको प्रदर्शन र नतिजामा कुनै असर पार्दैन ?       

यसतर्फ पनि म सचेत छु। खासगरी अहिले १३औं सागमा समावेश गरिएका २७ वटा खेल संघभित्र कुनै पनि विवाद नहोस भन्नेमा मेरो ध्यान केन्द्रित छ। अहिले विवाद झिक्ने भन्दा पनि पुरानो विवादलाई थाँती राख्दै एक ढिक्का भई धेरैभन्दा धेरै पदक जितेर देशको गौरव बढाउने बेला हो। संघका पदाधिकारीहरूलाई पनि मैले कम्तीमा सागसम्म विवाद सिर्जना नगर्नु, सागपछि बसेर एउटा निचोड निकालौंला भनेको छु। म विश्वास दिलाउन चाहन्छु, अबको ६ महिनाभित्र तपाईंहरूले हरेक खेल संघ अनुशासित, मर्यादित र विवादरहित तरिकाले अगाडि बढेको देख्न पाउनु हुनेछ।

 

नेपाली खेलकुदमा बेलाबखत भिजन ट्वेन्टी÷ट्वेन्टी, राष्ट्रका लागि खेलकुद ः स्वाथ्यका लागि खेलकुद, स्कुल टु ओलम्पिक, स्वर्णकालजस्ता नाराहरू आउने गरेका छन्। हरेक सदस्यसचिवले अघि सार्ने यस्ता नाराले पूर्णता पाएको देखिँदैन। तपाईं पनि यस्तो कुनै योजना अघि सार्दै हुनुहुन्छ कि ?       

म नाराभन्दा पनि कामलाई विश्वास गर्ने व्यक्ति हुँ। सस्तो लोकप्रियताका लागि अघि सारिएको नारा सान्दर्भिक हुँदैन। नारा वा योजना ल्याउनु गलत कार्य होइन तर, व्यवहारमा उतार्न सकिए मात्र त्यसको सार्थकता रहन्छ। अहिलेसम्म ल्याइएका कुनै पनि नारा नराम्रा छैनन् तर, त्यसको कार्यान्वयन पक्ष भने फितलो छ। हामी नारा त ल्याउँछौं तर, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हाम्रो स्तर किन खस्कँदैछ भनेर विश्लेषण गर्दैनौं। भिजन ट्वेन्टीट्वेन्टीको अवधारणा आएको वर्षौ बित्यो तर, व्यवहारमा भने हाम्रो अवस्था झनै खस्कँदो छ।

 

हामीले अवधि नै तोकेर एसियाली खेलकुदमा स्वर्ण पदक र ओलम्पिकमा पदकको सपना देख्यौं तर, त्यस अनुरूपको व्यवहार प्रदर्शन गरेनौं। पदक त ल्याउने तर, कुन खेलमा, कुन स्पर्धामा भन्ने हाम्रो ठोस योजना नै छैन। यसैगरी स्वर्ण कालको नारा ल्यायौं तर, त्यसलाई नाप्ने मापदण्ड के हो भनेर अघि सारेनौं। तपाईंहरूलाई रमाइलो लाग्ला, स्कुल टु ओलम्पिकको ड्राफ्ट त मैले नै गरेको हुँ। जसले जे भने पनि त्यो मेरो नारा हो। त्यसको पछाडि मेरो एउटै उद्देश्य थियो, खेललाई शिक्षासँग जोड्ने। त्यसैले नारा ल्याउनु नराम्रो होइन तर, त्यसलाई व्यवहारमा पनि उतार्न सक्नु पर्छ।

 

 विगतमा राखेप र नेपाल ओलम्पिक कमिटीबीचको सम्बन्ध खासै सुमधुर देखिएन। तपाईंको कार्यकालमा यो सम्बन्धले नयाँ मोड लिन्छ कि ?       

वास्तवमा म सदस्यसचिव भएर आएपछि धेरैले यो विषयमा प्रश्न गर्नु भएको छ। म आएको पनि २० दिनभन्दा बढी भइसकेको छ। यसबीचमा हाम्रो सम्बन्ध सुमधुर रूपमै अगाडि बढेको छ। राखेप बिना ओलम्पिक कमिटीको र ओलम्पिक कमिटीबिना राखेपको कुनै अस्तित्व छैन। यो कुरा हामी सबैले बुझेका छौं। खासगरी साग खेलकुद, एसियाली खेलकुद र ओलम्पिक खेलकुदमा ओलम्पिक कमिटीको भूमिका आवश्यक पर्छ। तर, देशभरीको खेलकुद चलायमान बनाउने भनेको त राखेपले नै हो। ओलम्पिक कमिटीमा जाने संघहरू पनि राखेपकै हुन्। त्यसैले यसमा विवाद गरिरहनु आवश्यक छैन। मेरोतर्फबाट विवाद सिर्जना गर्ने काम हुने छैन। ओलम्पिक कमिटीका अध्यक्षले पनि विवाद सिर्जना हुने काम नगर्ने प्रतिबद्धता व्यक्त गरिसक्नु भएको छ। यसलाई जुंगाको लडाइँ बनाउनु आवश्यक छैन।

 

 नवनियुक्त सदस्यसचिवको रूपमा राखेप प्रवेश गर्दा तपाईंले त्यहाँको अवस्था कस्तो पाउनु भयो ?       

खेलकुदमा मैले कुनै सिस्टम पाइनँ। जता हेर्‍यो त्यतै अस्तव्यस्त अवस्था छ। प्रशासनिक स्वच्छता छैन। खेलाडीको प्रशिक्षण नै व्यवस्थित छैन। वर्षभरि प्रशिक्षण गरायो न प्रतिभाशाली खेलाडी उत्पादन भएका छन् न त आशा गरेजस्तो पदक नै प्राप्त भएको छ। आवश्यकता अनुरूपको प्रतियोगिताहरू छैन। खेल संघहरूमा ऊर्जा र उत्साह छैन। पुराना खेलाडीहरूको लेखाजोखा र सम्मान छैन। राखेप छिरेपछि मैले त जताततै भताभुंग शैली र अस्तव्यस्तता मात्र पाएको छु।

 

 तपाईं खेलकुदभन्दा पनि शिक्षा क्षेत्रसँग बढी जोडिएको मान्छे। खेलकुद क्षेत्रमा आफूलाई कसरी प्रमाणित गरेर देखाउनु हुन्छ ?       

खेलकुद मेरो लागि नयाँ क्षेत्र होइन। म लामो समयदेखि खेलकुद क्षेत्रसँग जोडिँदै आएको छु। अझ बाल्यकालदेखि नै खेलकुदप्रति मेरो गहिरो लगाव रहँदै आएको छ। अधिकांश खेलकुदको बारेमा मलाई ज्ञान छ र कतिपय खेल म आफैंले पनि खेलेको छु। यति हुँदाहुँदै पनि म आफूलाई खेल क्षेत्रको व्यवस्थापक भन्न रुचाउँछु। आगामी दिनमा खेलकुदलाई देशको समृद्धि र राष्ट्रिय स्वाभिमानको आधार बनाउने विषयमा मेरो ध्यान केन्द्रित हुनेछ। आगामी दिनमा म आफ्नो कामले नै आफूलाई प्रमाणित गरेर देखाउनेछु।

 

 राजनीति र खेलकुदबीचको सम्बन्धलाई कसरी परिभाषित गर्नुहुन्छ ?       

मलाई कुनै राजनीतिक दलले नभई नेपाल सरकारले सदस्यसचिवमा नियुक्त गरेको हो। मेरो नियुक्त आस्थाको आधारमा पनि भएको होइन। हरेक व्यक्तिको आफ्नो राजनीतिक आस्था हुन्छ र त्यसको सम्मान पनि गर्नु पर्छ। म पनि विचार शून्य मान्छे होइन। मेरो विचारमा खेलकुदमा राजनीति हुनु हुँदैन तर, राजनीतिक पार्टीहरूले खेलकुदलाई एजेन्डा बनाउनु पर्छ। हाम्रो देशमा राजनीतिक पार्टीले खेलकुदलाई आफ्नो एजेन्डा बनाएनन् तर, खेलकुदमा भने आवश्यकताभन्दा बढी अस्वस्थ राजनीति भयो।

 

त्यसैले खेलकुद क्षेत्रले विकासको गति पछ्याउन सकेन। म कसीमा जाँचिन तयार छु, मेरो कार्यकालमा राजनीतिक आस्थाका आधारमा कसैमाथि पनि फरक व्यवहार हुने छैन। तर, खेलकुदलाई राजनैतिक पार्टीको एजेन्डा बनाउन भने म सक्रिय रहनेछु। मेरो कार्यकालमा राजनीतिक दलका नेताहरू पनि खेलकुदसँग जोडिएको देख्न पाउनु हुनेछ। राजनीतिक दलका नेताहरू पनि मानसिक र शारीरिक रूपमा स्वस्थ्य हुनैपर्छ। त्यसका लागि उहाँहरू पनि खेलमैदानमा सक्रिय हुनैपर्छ। यतिमात्र होइन, नेपालस्थित कूटनैतिक नियोगका पदाधिकारीलाई पनि खेलमैदानसम्म तान्ने वातावरण बनाउँछु।

प्रतिक्रिया दिनुहोस
ओली–प्रचण्डको यस्तो निर्णय, यी ८ मन्त्रीहरुको पद धरापमा

  लामो समय देखि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्को सरकारमा रहेका मन्त्रीहरु हेरफेर

महरालाई अझै ३ दिन हिरासतमा राखिने

  महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप

सोनीका र पारस बीच प्रेम सम्बन्धको वास्तविक खुलासा छिटो हेर्नुहोस

  पुर्वयुवराज पारश शाह र मोडेल तथा भिजे सोनिका रोकायाबिचको हिमचिमका कारण पारश

कार्तिक १ गतेबाट ललितपुरमा गोदावरी मेला सुरु

  आगामी कात्र्तिक १ गतेबाट ललितपुरको जावलाखेल मैदानमा १३ औं गोदावरी फूलको प्रतियोगितात्मक