मैले नेकपालाई कम्युनिष्ट पार्टी नै मानेको छैन : मोहनविक्रम सिंह



 

 

यहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एउटा अभिभावक हुनुहुन्छ । अनवरत संघर्षमै हुनुहुन्छ । कम्युनिष्ट आन्दोलन यो दिनसम्म आइपुग्दा खुसी हुनुहुन्छ कि दुःखी ?

यसमा खुसी वा दुःखी हुने कुरा छैन । किनभने कम्युनिष्ट आन्दोलन एउटा अन्तर्राष्ट्रिय आन्दोलन हो । त्यो पनि ठूलठूला उतारचढाव, द्वन्द्वको बीचबाट गुज्रिएको छ । हामीले देख्यौँ, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा ठूलठूला घटना भएका छन् । विश्व समाजवादी व्यवस्थाको पतन भयो । रुसजस्तो समाजवादी देशमा पुँजीवादको स्थापना भयो । चीनले आफूलाई अझै समाजवादी देश भन्छ, तर त्यो पुँजीवादको बाटोमा गइरहेको छ । यसरी हेर्दा, संसारका धेरै कम्युनिष्ट आन्दोलनहरूको, कम्युनिष्ट पार्टीहरूको पतन भएर गएको छ । त्यसको छायाँ नेपालमा पनि परेको छ । त्यसकारण कम्युनिष्ट आन्दोलनमा आउने यस्ता प्रकारका उतारचढाव सामान्य कुरा हुन्, त्यसका निम्ति खुसी या दुःखी हुने कुरा छैन ।

 

प्रक्रियामा हेर्दा हामी समाजवादतिर जाँदै छौँ, अथवा उल्टै बाटो हिँडिरहेका छौँ ?

दुईवटाबीचको कुरा सत्य हो । विश्वस्तरमा अहिले कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा छ, रक्षात्मक अवस्थामा छ । हाम्राअगाडि थुप्रै उदाहरण छन् । यसरी हेर्दा यो पतनको दिशामा गइरहेको छ भन्ने बुझिन्छ । तर, त्यो वास्तविक सत्य होइन । कम्युनिष्ट आन्दोलनको विकास या पतनलाई मूलरूपमा भौतिक परिस्थितिले निर्धारण गर्छ । भौतिक परिस्थिति समाजमा चल्ने वर्गसंघर्ष, त्यहाँका शोषण उत्पीडनले निर्धारण गर्छ । संसारमा अहिले पनि शोषण उत्पीडन विद्यमान छ । शोषितवर्गमाथिको शोषण, दमन कायम छ । त्यो नै कम्युनिष्ट आन्दोलनको विज हो, आधारशीला हो । त्यो रहँदासम्म कम्युनिष्ट आन्दोलन समाप्त हुँदैन ।

 

विश्व कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा कयौँ उतारचढाव देखिन्छ । तर, त्यसको बीचबाट त्यो अगाडि बढ्दै आएको छ । त्यसकारण यो अहिलेको जुन रक्षात्मक अवस्था छ, त्यो अस्थायी अवस्था हो । त्यसमा पुग्न भौतिक परिस्थितिको मूल्यांकन गर्दा हामीले कम्युनिष्ट आन्दोलनको आधार समाप्त भएको पाउँदैनौँ । मजबुत छ । किनभने कम्युनिष्ट आन्दोलन बाहिरबाट हेर्दा कमजोर भएता पनि त्यसको भौतिक आधार, उत्पादन शक्तिहरूको सामाजिककरणको जो प्रक्रिया हो, त्यो झन बढ्दै गइरहेको छ । त्यसकारण कम्युनिष्ट आन्दोलनको भविष्य उज्वल छ ।

 

उमेरका हिसावले युवा हुँदा, ऊर्जाशील हुँदा पक्कै समाजवादको सपना दृढ थियो होला । हाम्रै जीवनकालमा समाजवादतर्फ जान सकिन्छ भन्ने लाग्थ्यो होला । जीवनको यो कालखण्डमा आइपुग्दा कस्तो लाग्छ, निराशा पो छ कि ?

प्रथमतः निराशाको कुरा छैन, यसमा । किनभने, नेपालको जुन स्थिति हो, पहिलेको तुलनामा आन्दोलन धेरै कमजोर भएको छ । बाहिरबाट हेर्दा संसारको दृष्टिकोणमा हेर्दा नेपालको कम्युनिष्ट आन्दोलन धेरै शक्तिशाली भएको देखिन्छ । तर, यो वास्तविकता होइन । यहाँ कम्युनिष्ट आन्दोलन होइन, दक्षिणपन्थी, संशोधनधार मात्र मजबुद भएको हो । जसरी संसारभर संशोधनवादी धार मजबुद भएका छन्, यहाँ पनि त्यस्तै भएको मात्रै हो । यसलाई कम्युनिष्ट आन्दोलन मजबुद भएको भन्न सक्दैनौँ । जस्तो, यहाँ नेकपाको सरकार छ । करिब दुईतिहाइको बहुमतको सरकार छ । त्यसको अर्थ नेपालमा कम्युनिष्ट सरकार छ भन्ने होइन ।

 

किन, नेकपा कम्युनिष्ट पार्टी होइन र ?

नेकपा कम्युनिष्ट पार्टी होइन । उसले जुन नीति र कार्यक्रम लिएको छ, त्यो कम्युनिष्ट प्रकारको छैन । मूलतः दक्षिणपन्थी दिशातिर उन्मुख छ । समाजवाद उन्मुख भनिए पनि उनीहरूका नीति पुँजीवादी दिशामा, यथास्थितिवादी दिशातर्फ केन्द्रित छ । चीनमा यस्तै भएको हो । बाहिरबाट हेर्दा संसारले चीनको पार्टीलाई कम्युनिष्ट पार्टी भन्छ । त्यहाँको व्यवस्थालाई समाजवादी भन्छ । तर, त्यो सत्य होइन । चीन त पुँजीवादको दिशामा गइरहेको छ । नेपालमा ठीक यस्तै भइरहेको छ । बाहिरबाट हेर्दा नेकपा कम्युनिष्ट जस्तो देखिए पनि, अहिलेको सरकार कम्युनिष्ट सरकारजस्तो देखिए पनि न नेकपा कम्युनिष्ट पार्टी हो, न उसको नेतृत्वको सरकार कम्युनिष्ट सरकार हो । यहाँ कम्युनिष्ट शासन आएकै छैन ।

 

पहिले कम्युनिष्ट आन्दोलन निकै शक्तिशाली थियो । कम्युनिष्ट आन्दोलन एउटा अन्तर्राष्ट्रिय आन्दोलन हो । द्वन्द्वात्मक भौतिकवादले कुनै पनि एउटा चिजमा उसको आसपासको वातावरणको, समग्र परिस्थितिको असर पर्छ भन्ने गर्दछ । विश्व कम्युनिष्ट आन्दोलन जसरी कमजोर भएको छ, त्यसको असर नेपालको कम्युनिष्ट आन्दोलनमा परेको छ । तर, त्यसको अर्थ हामी निराश छौँ भन्ने होइन । हिजो पनि धेरै प्रतिकूल स्थितिमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन प्रयत्न गर्दै आएका छौँ । अहिले पनि त्यसमा संघर्ष गरिरहेका छौँ । त्यसकारण फेरि अगाडि बढ्छ भन्ने हामीलाई विश्वास छ ।

 

यहाँले नेकपाको सन्दर्भ कोट्याउनुभयो । नेकपाले आफूलाई कम्युनिष्ट पार्टी नै भन्छ । नाम मात्र होइन, हामीले संविधान नै समाजवादउन्मुख बनायौँ भन्छ नि ?

रुसले सन् १९५६ को कंग्रेसपछि लामो समयसम्म आफूलाई कम्युनिष्ट पार्टी नै भनेको थियो । माक्र्सवादी लेनिनवादीले चैँ कम्युनिष्ट पार्टी होइन भनेका थिए । उसले त्यो भ्रम दिइरह्यो । तर, अन्तमा त्यो भ्रम साफ भयो । ऊ आफैँले कम्युनिष्ट पार्टीलाई विघटन ग¥यो । ठीक यसैगरी डा. केशरजंग रायमाझीले पनि आफ्नो अस्तित्व कायम हुँदासम्म, कम्युनिष्ट पार्टीलाई विघटन नगर्दासम्म सच्चा कम्युनिष्ट पार्टी हो भनेकै थिए । त्यस्तो भ्रम दिएका थिए । तर, अन्तिममा त्यो समाप्त भएर गयो ।

 

त्यसैले कसैले आफूलाई के भन्छ भन्ने कुरा मुख्य होइन । वास्तवमा त्यो के हो भन्ने कुरा मुख्य हो । त्यसैले वास्तविक रूपमा नेकपाको चरित्र हेर्दा, उसको अहिलेको कार्यप्रणाली, कार्यशैली, संगठनात्मक प्रणाली हेर्दा कम्युनिष्ट पार्टीको जस्तो छैन । त्यसकारण ऊ कम्युनिष्ट पार्टी होइन । कम्युनिष्ट पार्टीको दक्षिणपन्थी, संशोधनवादी दिशामा गइरहेको एउटा संगठन हो । त्यसकारण नेकपालाई कम्युनिष्ट पार्टी भन्न सक्दैनौँ । उसको नेतृत्वको सरकारलाई कम्युनिष्ट सरकार भन्न सकिँदैन ।

 

यहाँको नजरमा कम्युनिष्ट पार्टी बन्नलाई चाहिने कसी के हो ?

त्यसको कसी बिल्कुल सिधा छ, हेर्नुस् । हिन्दु बन्नलाई के कसी चाहिन्छ भनेर हिन्दु धर्मले स्पष्ट गरेको छ । मुस्लिम हुनलाई के चाहिन्छ भन्ने कुरा मुस्लिम धर्मले स्पष्ट गरेको छ । बौद्ध धर्मलाई के चाहिन्छ भन्ने कुरा बौद्धधर्मले स्पष्ट गरेको छ । त्यसका सिद्धान्त, प्रणाली, आचरण छाडेपछि न हिन्दु हिन्दु हुन्छ, न मुस्लिम मुस्लिम हुन्छ, न बौद्ध बौद्धमार्गी हुन्छ । त्यसकारण कम्युनिष्ट पार्टी के हो भन्ने कुरा अहिलेको नेकपाले व्याख्या गरेर हुने कुरा होइन । यो कुरा माक्र्सवाद–लेनिनवाद सिद्धान्तले स्पष्ट गर्दै आएको छ । त्यसका आधारभूत सिद्धान्त छन् । त्यसका आर्थिक प्रणाली छन् । संगठनात्मक प्रणाली छ । नेकपाले यी सबै कुरा छाड्दै गएको छ । त्यसकारण उसले आफूलाई कम्युनिष्ट हुँ भनेर मात्र हुँदैन । माक्र्सवाद–लेनिनवादका जुन सिद्धान्त अपनाएर उनीहरू कम्युनिष्ट पार्टीमा लागेका थिए, ती सिद्धान्तलाई उनीहरूले अपनाएका छन् कि छाडेका छन् भन्ने कुरा नै उसको मापन गर्ने कसी हो ।

 

यहाँले सोलोडोलो कुरा गर्नुभयो । सुत्रबद्ध रूपमा भन्दा मूलत : नेकपाले के कुरा छाड्यो र कम्युनिष्ट पार्टी रहेन भन्ने यहाँलाई लाग्यो ?

पहिले उसको संगठनात्मक प्रणाली हेरौँ । कम्युनिष्टको संगठनात्मक प्रणाली बुर्जुवाहरूको जस्तो हुँदैन । त्यो बेग्लै हुन्छ । जनवादी केन्द्रीयताको सिद्धान्त हुन्छ । छलफलमा स्वतन्त्रता, काममा एकरूपता हुन्छ । अनुशासनको एकप्रकारको प्रणाली हुन्छ । अहिले नेकपामा तपाईं यो देख्नुहुन्छ ? जनवादी केन्द्रीयता कहाँ छ, त्यहाँ ? निर्णयहरू कसले गर्छन् ? नेकपाको अहिलेको सांगठनिक प्रणाली हेर्नुभयो भने त्यो कम्युनिष्टको जस्तो छैन । सम्पूर्ण रूपमा बुर्जुवाहरूको जस्तो छ ।

 

कार्यक्रमलाई हेर्नुस्, कम्युनिष्ट पार्टी र कम्युनिष्ट सरकारको कार्यक्रम किसान, मजदुर, शोषित जनतालाई केन्द्रमा राखेर बनाइएको हुन्छ । नेकपाको सरकारका कार्यक्रममा तपाईंले त्यस्तो देख्नुभएको छ ? सरकारको केन्द्रमा किसान, मजदुर, शोषित जनता छन् ? छैनन् । हो, कम्युनिष्ट पार्टीले पनि कतिपय अवस्थामा तत्कालीन परिस्थितिलाई हेरेर केही पुँजीवादी कार्यक्रम अपनाउँछन् । तर, मूलदिशा समाजवाद उन्मुख नै हुन्छ । नयाँ जनवाद उन्मुख हुन्छ । तर, समाजवाद उन्मुख कार्यक्रमको कुरा गर्ने नेकपाका कार्यक्रम त्यसप्रकारको छैन ।

 

किसानका हकअधिकारको कुरा, भूमिसुधारको कुरा, हदबन्दीको कुरा, देशमा राष्ट्रिय उद्योगहरूको संरक्षणको कुरा कहाँ छ ? सरकारको कुरा छाड्नुस्, पार्टीको राजनीतिक प्रतिवेदनसमेत आएको छैन । तर, उनीहरूकै नेताले भन्ने गरेका छन्, राजनीतिक प्रतिवेदनबाट सामन्तवादप्रति सम्झौतापरस्त नीति अपनाएको छ । अमेरिकी साम्राज्यवादप्रति सम्झौतापरस्त नीति अपनाएको छ । अमेरिकी साम्राज्यवाद भन्ने शब्दावली नै हटाइएको छ । भारतीय विस्तारवाद भन्ने शब्दावली नै हटाइएको छ । जबकि, भारत विस्तारवाद मात्र होइन, साम्राज्यवादकै रूपमा पुगिसकेको छ । तर, उनीहरू सबैतिर सम्झौतापरस्त नीति अपनाइरहेका छन् । यसैगरी, अहिले देश कुन अवस्थामा छ भन्नेमै उनीहरू गलत ब्याख्या गरिरहेका छन् ।

 

अझै पनि देश अर्धसामन्ती, अर्धऔपनिवेसिक अवस्थामै छ । तर, उनीहरू नयाँ जनवादको अवस्था पार गरेर समाजवादको अवस्था आइसक्यो भन्छन् । समाजवादको अवस्था आउन त देशमा विद्यमान अर्धसामन्ती, अर्धऔपनिवेसिक अवस्था समाप्त हुनुपर्छ । आज पनि सामन्ती व्यवस्थाका अवशेष छन् । औपनिवेसिक शोषणका अवशेषहरू पनि छन् । यी सबैलाई समाप्त नगरी कसरी समाजवादमा जान सक्छौ ? समाजवादमा जानका लागि पुँजीवादको विकास हुनुपर्छ । तर, यहाँ अर्धसामान्ती र अर्धऔपनिवेसिक अवस्था कायमै छ । यी सबैलाई अनदेखा गरेर उसले हामी समाजवादीदिशामा गयौँ भनिरहेको छ । त्यसकारण उसका तत्कालीक कार्यक्रम पनि सही छैन ।

 

ठीक यसै गरेर वर्ग संघर्षका सिद्धान्तमा पनि उसमा स्खलन देखिन्छ । सशस्त्र संघर्षको अनिवार्यताको सिद्धान्त उसले छाडिसकेको छ । यो भनेको संशोधनवादी सिद्धान्त हो । सशस्त्र संघर्ष बिना आजको अवस्थामा परिवर्तन सम्भव छैन । तर, सशस्त्र संघर्षको अनुकुल परिस्थिति छ कि छैन भन्ने हेर्नुपर्छ । सशस्त्र संघर्ष पूर्वमालेले गरेको थियो, माओवादीले गरेको थियो । तर, त्यो उग्रवामपन्थी भड्काव थियो । हामीले उनीहरूलाई त्यसै भनेका थिएनौँ । त्यो पुष्टि भएको छ । किनभने उग्रवादी भड्काव अन्ततः दक्षिणपन्थी दिशामा गएर टुंगिन्छ । अहिले उनीहरू त्यहीँ पुगेका छन् । यस्तै, सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्त पनि उनीहरूले छाडिसकेका छन् ।

 

यहाँले माथि उल्लेख गर्नुभएका सशस्त्र संघर्ष, सर्वहारावर्गको अधिनायकत्व अहिले सम्भव छ र ?

निश्चय पनि अहिले सम्भव छैन । तर, सशस्त्र संघर्ष बिना अहिलेको समाज परिवर्तन सम्भव पनि छैन । त्यसको अर्थ हतियार उठाइहाल्ने भन्ने होइन । हतियार कहिले उठाउने भन्ने कुरा त परिस्थितिले निर्धारण गर्ने कुरा हो । उनीहरू कम्युनिष्ट रहेनन्, त्यसैले सशस्त्र संघर्षको अनिवार्यतालाई उनीहरूले छाडे । सर्वहारावर्गको अधिनायकत्वको पनि यही हो । निश्चय पनि नेपालजस्तो देशमा आज सर्वहारावर्गको अधिनायकत्व सम्भव छैन । तर, सिद्धान्तै छाड्नु त गलत हो नि । कम्युनिष्टहरूमा जबजब संशोधनवादी धार हावी भयो, उनीहरूले सर्वहारावर्गको अधिनायकत्व छाड्दै गए । जस्तो, रुसमै पनि त्यस्तै भयो । सर्वहारावर्गको अधिनायकत्व छाडेपछि ख्रुश्चिभहरूले टाउको उठाउने मौका पायो र त्यहाँ पुँजीवाद आयो । समाजवादमा जाने भन्ने अनि सिद्धान्त छाड्दै जाने हो भने कम्युनिष्ट रहन सकिँदैन, जसरी नेकपा अहिले कम्युनिष्ट रहन सकेन ।

 

अहिले नेकपाको सरकारले भनेजस्तो विकास र समृद्धि आजको लक्ष्य होइन ?

पुँजीवादी विकास नै त समाजवादी होइन नि । विकास र समृद्धिलाई मात्रै समाजवाद भन्नु गलत हो । त्यो विकासबाट समाजका शोषित, पीडित जनतालाई कति उपलब्धि प्राप्त भएको छ, तिनको हक कति रक्षा भएको छ भन्ने कुरा महत्वपूर्ण हो । अहिले भनिएको विकास र समृद्धिले त्यतातर्फ हेरेको पाइँदैन । त्यसोतः नेकपामा सांस्कृतिक धरातल नै कमजोर बनिसकेको छ । पार्टी, समाज, सिद्धान्तभन्दा उनीहरूको सम्पूर्ण आचरण कसरी व्यक्तिगत स्वार्थ पूरा गर्ने, व्यक्तिगत फाइदा कसरी उठाउने भन्नेतर्फ गइरहेको छ । नीति र सिद्धान्तको प्रश्न गौण भएर गएको छ । यसरी समग्र रूपमा हेर्दा उनीहरू कम्युनिष्ट हुन् भन्ने कुनै आधार बाँकी छैन ।

 

यिनै पार्टीको नेतृत्वमा राजतन्त्र अन्त्यको संघर्ष भयो । गणतन्त्र आयो । धर्मनिरपेक्षता आयो । यी उपलब्धिलाई त मान्नुहुन्छ नि ?

हामीले कयौँपटक बुर्जुवा पार्टीहरूका सकारात्मक पक्षलाई पनि समर्थन गर्ने गरेका छौँ । जस्तो, सुशील कोइरालाको नेतृत्वमा संविधान बनाउँदा, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा प्रतिगमनविरुद्ध संघर्ष गर्दा, गणेशमान सिंहको नेतृत्वमा पञ्चायती व्यवस्थाको विरुद्धमा भएको संघर्षमा पनि हामीले समर्थन गरेका हौँ । उनीहरू कम्युनिष्ट होइनन्, तै पनि उनीहरूका त्यसबेलाको भूमिका महत्वपूर्ण थियो, त्यसैले समर्थन ग¥यौँ । अझ नेकपाको सन्दर्भमा कुरा गर्दा, कम्युनिष्ट आचरण छाड्दै गए पनि हामीले नेकपालाई मित्रशक्ति नै मानेका छौँ । तपाईंले भनेजस्तै गणतन्त्र, धर्मनिरपेक्षताका लागि उनीहरूको महत्वपूर्ण भूमिका छ । सारा कमजोरीका बाबजुद, यी वामपन्थी शक्ति हुन् भनेर उनीहरूको भूमिकालाई सकारात्मक मान्छौँ । सरकारलाई समर्थन गर्छौं । तर, अवसरवादी, ढोंगी चरित्र छ, साम्राज्यवादप्रतिको विस्तारवादप्रतिको सम्झौतापरस्त चरित्र छ, त्यसको चैँ हामीले विरोध गर्दै आएका हौँ ।

 

जुन–जुन कसीमा नेकपा चुकेको छ भनेर यहाँले भन्नुभयो । उनीहरूले जुन बाटो तय गरे, त्यो नभएको भए अहिलेका राजनीतिक परिवर्तन सम्भव थियो र ?

हामीले कम्युनिष्टका सिद्धान्तलाई रणनीति र कार्यनीतिका रूपमा बाँड्छौँ । जुन सिद्धान्तको मैले ब्याख्या गरेँ, यान्त्रिक रूपमा सबै परिस्थितिमा ती लागू गर्नुपर्छ भन्ने होइन । त्यसैले त, माले वा माओवादीको सशस्त्र संघर्षलाई हामीले विरोध ग¥यौँ, उग्रवादी भड्कावको भण्डाफोर ग¥यौँ । सशस्त्र संघर्ष अहिले पनि लागू गर्नुपर्छ, सर्वहारावर्गको अधिनायकत्व अहिले पनि लागू गर्नुपर्छ भन्ने कुरा होइन । कार्यनीतिले के भन्छ भने, कुनै खास बेलाको परिस्थितिअनुसार नै हामीले संघर्ष तय गर्नुपर्छ । त्यसैले त आन्दोलनहरूमा हामीले पनि समर्थन ग¥यौँ, सहभागी भयौँ ।

 

कम्युनिष्ट आन्दोलनमा पनि एकखाले वामपन्थी संकीर्णतावादी विचार पाइन्छन् । जसले यो गणतन्त्र पुँजीवादी हो खारेज गर्नुपर्छ भन्छ । यो संविधान पुँजीवादी हो, त्यो खारेज गर्नुपर्छ भन्छ । ती अवस्तुवादी सोच हुन्, तिनलाई हामी गलत मान्छौँ । कुनै पनि कुरालाई यान्त्रिक रूपमा लिनु हुँदैन भन्ने हामी ठान्छौँ । तर, त्यसको अर्थ मूलभूत सिद्धान्त छाड्नुको चैँ हामी विरोध गर्छौं । मूलदिशाबाट, मूलपथबाट उनीहरू विचलित भए त्यसैले हाम्रो आलोचना हो ।

 

उत्पीडित जनता, मजदुर, किसानलाई नेकपाले छाड्यो भन्ने यहाँको कुरा रह्यो । तर, निर्वाचनमा उनीहरू नै सबैभन्दा ठूलो दल बने । सबैभन्दा धेरै जनमत पाए नि ?

जनमत कसबेला कसको पक्षमा छ भन्ने कुराले सबैकुराको फैसला गर्दैन । जनमत त अमेरिकामा ट्रम्पको पक्षमा आयो । भारतमा मोदीको पक्षमा फेरि पनि आयो । नेपालमा राजतन्त्र रहँदा जनमत पञ्चायतको पक्षमा थियो, राजतन्त्रको पक्षमा थियो । तर, जनमत मुख्यचिज होइन । जनताको पीछडिएको चेतनाको परिणामले यस्तो भएको हो । पैसा, सत्ता, प्रलोभनको प्रभावबाट पनि कयौँपटक गलत पक्षले पनि निर्वाचन जित्छ । पछाडि फर्केर हेर्नुभयो भने नेकपाले मात्रै बहुमत पाएको होइन । कुनै समय कांग्रेसले पनि बहुमत पाएको हो । तर, त्यसको अर्थ उसको राजनीति सही छ भन्ने होइन । मधेसवादीहरूले पनि ठूलो मत पायो । त्यसको अर्थ, उनीहरूले बोकेका विचार राम्रा छन् भन्ने होइन ।

 

अघिल्लोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यहाँको पार्टीको मोर्चा सरकारमै सहभागी थियो । अहिलेको सरकारसँग दुरी बढेको छ कि घटेको छ ?

उस बेलाको राजनीतिक परिस्थितिका कारण हाम्रो राष्ट्रिय जनमोर्चा नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी भएका थियौँ । त्यसबेला एमालेले राष्ट्रियताको विषयमा राम्रो अडान लिएको थियो । नाकाबन्दीका विरुद्ध राम्रो संघर्ष गरेको थियो । भारतीय दबाबविरुद्ध राम्रो संघर्ष गरेको थियो । चीनसँग सम्बन्ध विस्तारका लागि राम्रो भूमिका खेलेको थियो । त्यसबेला मोदीले अन्तर्राष्ट्रिय रूपमै नेपालको संविधानविरुद्ध अभियान चलाइरहेका थिए ।

 

त्यसपरिस्थितिमा हामीले राष्ट्रियताको पक्षमा सरकारलाई बलियो बनाउनु उपयुक्त ठानेर सरकारमा गएका थियौँ । त्यसोतः हामीले कयौँ आन्दोलन सँगसँगै गरेका थियौँ । पाँच नम्बर प्रदेशलाई फोरेर मधेसमा बेग्लै प्रदेश बनाउन हुँदैन भन्नेमा पनि हामी साथसाथै थियौँ । तर, अहिलेको सरकारले जुन नीति अपनाइरहेको छ, त्यो सही छैन । त्यसैले त्यतिबेलाजस्तो नजिकको सम्बन्ध अहिले छैन । यद्यपि, हामी उनीहरूलाई दुश्मन शक्तिका रूपमा लिएका छैनौँ । प्रतिक्रियावादी शक्ति मानेका छैनौँ । मित्रशक्ति नै मानेका छौँ । हामी आलोचना गर्छौं तर, त्यो मैतृपूर्ण आलोचना हो । उसलाई हामी वामपन्थी शक्तिकै रूपमा लिएका छौँ ।

 

केही साताअघि नेकपा मुख्यालयबाट नेकपाका शीर्ष नेताहरूले एउटै कम्युनिष्ट केन्द्र बनाउन यहाँको नामै लिएर एकताको आह्वान गरे । त्यो सम्भावना छ कि छैन ?

त्यो उहाँहरूको दृष्टिकोण हो । उहाँहरू नेकपा नै सच्चा कम्युनिष्ट हो, कम्युनिष्टको मूलधार हो भन्ने ठान्नुहुन्छ । त्यसकारण सबै कम्युनिष्ट एकै ठाउँमा आउँदा राम्रो हुन्छ भन्नु हुन्छ । त्यसलाई हामी गलत मान्दैनौँ । तर, हामीले नेकपालाई कम्युनिष्ट पार्टी मानेका छैनौँ । सैद्धान्तिक, सांगठनिक रूपमै उहाँहरूमा विचलन भएको छ भन्ने हामी भनिरहेका छौँ । त्यसैले हामी नेकपामा सामेल हुने कुरा सोच्न पनि सकिँदैन । सैद्धान्तिक रूपमै हामीबीच धेरै ठूलो खाडल छ ।

 

नेकपा महाधिवेशनमा जान बाँकी छ । उहाँहरूले लिने बाटो तय भएकै छैन । त्यसभित्र राजनीतिक विचारधाराको बहस सुरु भएकै छैन । यो त एउटा अनुकुल समय हुन सक्दैन ?

जसरी हामीले कांग्रेससँग पार्टी एकता गर्न सक्दैनौँ । मधेसवादीसँग वा राप्रपासँग एकता गर्न सक्दैनौँ । अहिलेको अवस्थामा नेकपासँगको एकता पनि त्यस्तै असम्भव छ । राजनीतिक, सैद्धान्तिक रूपमा उहाँहरू र हाम्रोबीचमा धेरै ठूलो खाडल छ । यस्तो अवस्थामा पार्टी एकताको सम्भावना नै छैन । तत्कालीक राजनीतिक प्रश्नमा हामी एकठाउँमा उभिन सक्छौँ । विगतमा पनि उभिएकै हौँ । भोलि कुनै खास राजनीतिक परिस्थिति आयो भने त्यसले हामीलाई नजिक ल्याउन पनि सक्छ । जस्तो, २०४६ मा वा ०६२÷०६३ मा ल्यायो, त्यो अवस्था भोलि पनि आउन सक्छ । तर, पार्टी एकता नै भने सम्भव छैन ।

 

राजनीतिक रूपले नेकपा संशोधनवादी, दक्षिणपन्थी भयो भन्नुहुन्छ । तर, त्यो शक्ति यतिबेला मुलुकको दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेको छ । हामी क्रान्तिकारी शक्ति हौँ, साँचो कम्युनिष्ट हौँ भन्ने तपाईंहरू सांगठनिक रूपले निकै कमजोर अवस्थामा हुनुहुन्छ । कतै हामी पो चुक्यौँ कि भन्ने यहाँलाई लाग्दैन ?

नेपालमा मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनमै यो भइरहेको हुन्छ । रुसमा कम्युनिष्ट पार्टी विघटन भयो । बुर्जुवाहरू फेरि सत्तामा आए । भारतमै पनि जसले आफूलाई कम्युनिष्ट भन्थे, तिनीहरू बडारिँदै गए, मोदी फेरि सत्तामा आए । यसो हुनुको निर्णायक शक्ति जनता नै हुन् । जनता भनेको जनताको चेतना हो । जनताको चेतना कति उठ्छ, त्यति क्रान्तिकारीहरू बलियो हुन्छन्, जनताको चेतनामा भ्रम पार्न सकियो भने प्रतिक्रियावादी शक्तिहरू हावी हुन्छन् ।

 

भारतमा मोदीले हिन्दू धर्मको भ्रम दिए, ट्रम्पले राष्ट्रवादको भ्रम दिए र आफ्नो शक्ति मजबुद पारे । यस्तो भइराख्छ । संसारमा कयौँपटक क्रान्तिकारी शक्ति कमजोर हुन्छन्, समाप्त पनि हुन्छन् । तर, यी अस्थायी कुरा हुन् । मूलकुरा, भौतिक परिस्थिति हो । त्यहाँ चल्ने वर्ग संघर्ष हो । त्यहाँ चल्ने शोषणहरू हुन् । त्यसले नै कम्युनिष्ट आन्दोलनलाई पैदा गरेको हो । त्यसले नै कम्युनिष्ट आन्दोलनलाई विजयको मार्गमा अग्रसर बनाउँछ ।

 

कम्युनिष्ट पार्टीहरूले जनताको चेतनाको स्तर पो बुझेनन् कि । किनभने, यहाँहरू माक्र्सवाद–लेनिनवादलाई धर्मशास्त्र जस्तो अपरिवर्तनीय छ भनेजस्तो व्याख्या गर्नुहुन्छ । त्यसलाई अस्वीकार गरेर जनताले माक्र्सवाद–लेनिनवाद पनि समयसापेक्ष परिवर्तनीय छ भन्ने बुझे र त्यसो भन्नेहरूलाई पो समर्थन गरेका हुन् कि ?

माक्र्सवादलाई कहिल्यै पनि अपरिवर्तनशील छ भन्दैनौँ । माक्र्सको समयमा जुन माक्र्सवाद थियो, लेनिनको समयमा बेग्लै रूपमा आयो । माओको समायमा बेग्लै रूपमा आयो । समाजवादका बीचबाट फेरि नयाँ जनवाद निस्कियो । नेपालमा हामीले नयाँ जनवादको कुरा गरे पनि यो बुर्जुवा गणतन्त्रलाई पनि समर्थन गरेका छौँ । धर्मनिरपेक्षतालाई समर्थन गरेका छौँ । कम्युनिष्टको सिद्धान्त अन्तर्राष्ट्रवाद हो, तै पनि हामीले राष्ट्रवादको पक्षमा संघर्ष गर्छौं । कम्युनिष्टहरूले माक्र्सवादलाई जडसूत्रवादको रूपमा या धर्मशास्त्रका रूपमा लिँदैन, परिस्थितिअनुसार त्यसलाई प्रयोग गर्ने काम गरिरहेको हुन्छ ।

 

तर, जनताको प्रश्न भन्नुहुन्छ भने, जनता निर्णायक शक्ति हुन् भन्ने कुरा उनीहरूको चेतनाले निर्धारण गर्ने कुरा हो । उदाहरणका लागि, जबसम्म जनता भ्रममा थिए, राणाशासन टिक्यो, पञ्चायती व्यवस्था बलियो भयो । जतिबेला जनतामा चेतना आयो, त्यो विस्फोटले राणाशासन फाल्यो, पञ्चायत ढाल्यो, राजतन्त्र फाल्यो । यो महत्वपूर्ण कुरा छ । जतिबेला जनताको चेतना उच्च हुन्छ, त्यसले क्रान्ति गर्छ, त्यसले नयाँ परिवर्तन ल्याउँछ, जतिबेला जनताको चेतना कुण्ठित हुन्छ, जातिवादलाई पनि प्रश्रय दिन्छ, सतिप्रथालाई पनि प्रश्रय दिन्छ । त्यसकारण जनताको चेतना स्थिर कुरा होइन ।

 

यसको अर्को कोण पनि छ । समाज जहिले पनि न्युनस्तरबाट माथिल्लोस्तरमा गइरहेको हुन्छ । दासयुगबाट सामान्तवाद, सामन्तवादबाट पुँजीवातिर क्रमशः गइरहेको हुन्छ । अर्को कुरा, प्रत्येक समयका शासकवर्गले आफ्नो समयको शासन व्यवस्थालाई सर्वश्रेष्ठ विकल्परहित भन्छ । जस्तो, महेन्द्रले भनेका थिए, पञ्चायत व्यवस्था विकल्परहित व्यवस्था हो । त्यस्तै, पुँजीवादीले पनि त्यस्तै ब्याख्या गर्छ भने त्यो अनौठो होइन । तर, त्यसभित्र पनि देखा परिररहेको संकटका कारण यो झनझन कमजोर हुँदै जाँदैछ । फासीवादतिर जाँदैछ ।

 

यहाँको साढे ६ दशक लामो राजनीतिक सक्रियताको अनुभवका आधारभन्दा हामी दुर्घटनातिर जाँदैछ कि सम्हालिँदै सम्हालिँदै ठीक बाटोतिरै हिँड्दैछौँ ?

राजनीतिक कहिल्यै सिधा रेखाबाट अगाडि बढ्दैन । उतारचढावहरू, घातप्रतिघातहरू भइरहन्छन् । क्रान्ति–प्रतिक्रान्तिको बीचबाटै यो जान्छ । यसलाई हामीले यही रूपमा हेरेका छौँ । बर्खामा जन्मिएको बच्चाले बर्खामै जीवन बित्छ भन्न सक्छ । तर, बर्खापछि हिउँद पक्कै आउँछ । हामी निराश हुने कुरा छैन ।

 

आम सर्वहारा वर्गले भोलि आफ्नो सत्ता आउँछ भन्ने आधार छ ?

निश्चित रूपमा छ । मुलुकमा पञ्चायती व्यवस्था आएपछि कम्युनिष्टकै पनि ठूलो पंक्ति निराश भए । कयौँ त पञ्चायतमै सामेल भए । हामीले पञ्चायत व्यवस्था एकदिन पक्कैजान्छ भनेरै हामी सक्रिय भइरह्यौँ । गयो पनि अहिले आएको व्यवस्था पनि अस्थायी व्यवस्था हो । यसको अन्त्य भएर आम सर्वहारा वर्गको सत्ता अवश्य आउँछ ।

 

कम्युनिष्ट आदर्शका लागि भनेर लामो समय जेलनेल भोगेका, ठूलठूला योगदान गरेका, संघर्ष गरेकाहरू किन एकाएक स्खलन भएको देखिन्छ । यस्तो किन हुन्छ ?

जसरी संसारमा कयौँ चिज परिवर्तन हुन्छन्, मानव चरित्र, मानव दृष्टिकोण, मानव स्वभावमा पनि त्यस्तो प्रभाव पर्छ । विश्व कम्युनिष्ट आन्दोलनमा त यस्ता धेरै भइराख्छन् । डा. केशरजंग रायमाझी पनि क्रान्तिकारी आन्दोलनमा सामेल भएका थिए । उत्साहपूर्वक लागेका थिए । तर, पछि उनी पतन भए । अरु पनि थुप्रै उदाहरण छन् । यसको कारण भनेको आफूलाई निरन्तर क्रान्तिकारी बनाइराख्न नसक्नु हो । जनताको बीचमा नरहने, कम्युनिष्ट सिद्धान्त र निष्ठालाई कडाइपूर्वक व्यवहारमा कार्यान्वयन नगर्नेहरूमा त्यस्तो विचलन आउँछ । कयौँ दबाबहरू आउँछन् ।

 

आन्तरिक, बाह्य, सांगठनिक दबाब आइरहन्छ, त्यसलाई चिरेर निरन्तर अगाडि बढिरहनुपर्छ । एउटा क्रान्तिकारी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर क्रान्तिका लागि, पार्टीका लागि, देशका लागि, सिद्धान्तका लागि काम गरिरहन्छ भने उसमा कहिल्यै पतन आउँदैन । तर, देश, जनता, शोषित वर्ग, समाज, क्रान्तिबारे सोच्न छाडेर आफ्नो जीवनबारे, भविष्यबारे, करिअरबारे चिन्ता हुन थाल्छ । त्यसपछि उसमा पतन सुरु हुन्छ । राजनीतिमा मात्र होइन, विभिन्न पेशामा रहेकाहरूमा पनि यो समस्या देखापर्छ । तर, यस्ता कुराले कम्युनिष्ट आन्दोलन रोकिँदैन । पात्र फेरिए पनि आन्दोलन निरन्तर अगाडि बढिरहन्छ ।

 

क्रान्तिकारीहरूको पतनमा सांस्कृतिक पक्षको कति भूमिका हुन्छ ?

कम्युनिष्ट आन्दोलनमा लागेकाहरूमा जब लगातार संघर्ष, आत्मआलोचना, अन्तरसंघर्ष र शुद्धीकरणको प्रश्न कमजोर बन्दै जान्छ, त्यसबेला कम्युनिष्ट पार्टी बिग्रिँदै जान्छ । कयौँपटक गलत तत्वको प्रभाव बढ्छ, सहीहरू पनि कमजोर बन्दै जान्छन् । तर, क्रान्तिकारीहरूले लगातार संघर्ष गर्न छाड्नु हुँदैन । तपाईंले हेर्नु भयो भने, रुस र चीनका ठूला क्रान्तिकारी पृष्ठभूमिका पार्टीहरूमा के भइरहेको छ ? पुटिनलाई हेर्नुस्, कुनै समय उनी कम्युनिष्ट थिए ।

 

आज के गरिरहेका छन् ? रुसका कम्युनिष्टहरू धनाढ्य वर्गमा परिणत भए । चीनमा त्यही हुँदैछ । कम्युनिष्ट पार्टीमा मात्र होइन, बुर्जुवाहरूको पार्टीमा पनि कयौँ यस्ता पात्र हुन्छन्, जसले देशका लागि, समाजका लागि ठूलो योगदान गरेका हुन्छन् । तर, कम्युनिष्ट पार्टीमा लागेकाहरू नै व्यक्तिगत जीवनमा लागेको देख्नुको कारण समग्रमा राष्ट्रिय चेतना, राष्ट्रिय चरित्रको विकास हुन नसक्नुको हो । यहाँ कयौँ नेताले व्यक्तिगत फाइदाका लागि नदीनाला बेच्छन् ।

 

विदेशीसँग सौदावाजी गर्छन् । करोडौंँ अर्बौंको घोटाला गर्छन् । ब्युरोक्रेसीमा रहेकाहरू त्यसै गर्छन् । उनीहरू सामान्य अशिक्षित किसान, मजदुर होइन् । माथिल्लो तहमा रहेका पढेलेखेकाहरू नै छन् । यसले हाम्रो राष्ट्रिय चरित्रको विकास अत्यन्त न्युनस्तरको छ भन्ने देखाउँछ । बर्जुवा देशहरूमा जति राष्ट्रिय चरित्रको विकास भएको छ, त्यति पनि यहाँ विकास भएको छैन भन्ने देखिन्छ । त्यसको असर राजनीतिक पार्टीका नेताहरूमा पनि परेको छ । नभए माथिल्लो कर्णाली किन बेच्नुप¥यो ? नेपालले आफैँ बनाउन सक्छ नि माथिल्लो कर्णाली । तर, केही करोड, अर्बको लाभका लागि विदेशी कम्पनीलाई दिइन्छ । नेपाल आफैँले गर्न सक्ने अरु कयौँ परियोजना पनि त्यसैगरी विदेशीलाई दिइएको छ ।

 

यसले पनि हाम्रो राष्ट्रिय चरित्रमा गम्भीर प्रकारको कमजोरी छ भनेर देखाउँछ । हामी कहाँ राजनीतिक पक्षमा ठूलठूलो परिवर्तन भए, तर राष्ट्रिय चरित्र, सांस्कृतिक रुपान्तरणका लागि आन्दोलन हुन सकेन । बरु, बुर्जुवा भनिएका देशहरूमा समेत सांस्कृतिक रूपान्तरणका लागि ठूलठूला आन्दोलन भए र त्यहाँ राष्ट्रिय चरित्रको निर्माण भयो । त्यसकारण सांस्कृतिक रुपान्तरणका लागि हामी कहाँ पनि ठूलो आन्दोलनको जरुरत छ ।

 

विमतिहरूका बाबजुद अहिलेको सरकारलाई तपाईंका सुझाब के छन् ?

उसले कम्युनिष्ट सरह अहिले काम गर्न सक्छ र गरुन् भन्ने हामीले सोचेका छैनौँ । किनभने उनीहरू कम्युनिष्ट होइनन्, त्यसका लागि धेरै क्रान्तिकारी परिवर्तन गर्नुपर्छ । त्यो नभए पनि कमसेकम बर्जुवासरह नै भए पनि विकासका काम गर्न सक्नुपर्छ । त्यसका लागि उनीहरूले आफ्ना घोषणापत्रमा लेखिएका कुरा लागू गर्नतिर ध्यान दिनुपर्छ ।

 

तर, मलाई अहिले सरकारले केही राम्रो काम गर्न खोज्यो भने पनि गर्न दिँदेनन् । किनभने, यहाँको समाजको बनावट त्यस्तो छ, कमशिनखोर, माफियाहरूको ठूलो प्रभाव छ । प्रशासनयन्त्रमा भ्रष्टहरूको ठूलो प्रभाव छ । उनीहरू बलियो जरा हालेर बसेका छन् । सरकार चक्रब्युहमा फसेको छ । तै पनि सरकारले त्यसलाई चिरेर आफ्नो घोषणापत्रमा लेखिएका कुरा कार्यान्वयन गर्नतिर लाग्नुपर्छ । दिष्टि न्युजबाट

प्रतिक्रिया दिनुहोस
थप ४७३ जनामा कोरोना, संक्रमितको स‌ंख्या १४ हजार ५१९ पुग्यो

  बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड शीतल निवासमा

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई

सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओली समूहको प्रस्ताव

    सत्तारुढ दल नेकपा भित्र चर्किरहेको विवादका बीच प्रधानमन्त्री तथा अध्यक्ष केपी

नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको