डिभोर्सी केटी…सो ह्वाट ?



 

 

निरु त्रिपाठी

उनको नागरिकता र पासपोर्ट दुवैमा श्रीमानको थर रहेछ । डिभोर्स भएको पाँच वर्षपछि उनी बल्ल आफ्नो नागरिकता र पासपोर्टबाट श्रीमानको थर हटाउन चाहन्छिन् ।

लगभग दुई वर्षको चिनजानमा मलाई उनी न त विवाहित हो भन्ने थाहा थियो न त डिभोर्सी भन्ने नै। उनको नागरिकता, पासपोर्ट, भिसा वा अन्य कागजपत्र कहिल्यै देखिनँ र सोधखोज पनि गरिनँ । त्यही भएर पनि उनको नामको पछाडि दुइटा थर भएको मलाई उनीसँग चिनजानपछिको भेटहरूमा थाहा नै भएन।

पहिलो भेटमा परिचय हुँदा उनले आफ्नो नाम मौनता शर्मा भनेकी थिइन्। फेरि दोस्रो भेटमा उनले आफूलाई मौनता भन्दा ‘मौन’ भनेर बोलाएको मन पर्छ भनिन्। मलाई पनि दुई अक्षरको नाम ‘मौन’ भन्न सजिलो लाग्यो र त्यही नामले बोलाउन थालें।

म मौनलाई एक मेहेनती र अथाहा क्षमता भएको एक महिलाको रूपमा लिन्छु। उनको मेहेनत र आत्मविश्वासले नै उनलाई उनको लक्ष्यमा पुर्याएको हो। अस्ट्रेलिया आएको छोटो समयमा उनले आफ्नो कामप्रतिको लगाव र खुबी देखाएर नै सामान्य स्टाफबाट अहिले उनी एउटा अस्ट्रेलियन कम्पनीमा आइटी म्यानेजरको रूपमा कार्यरत छिन्। उनको यो सफलतालाई चियर्स गर्न हामी बेलाबेलामा भेट्ने गर्छौ।

पछिल्लो भेटमा उनले आफू बसेको घरमा एउटा कोठा खाली छ भनेकी थिइन्। यो सूचनासँगै कोही खोजिदिन पनि आग्रह गरिन्। केही दिन अगाडि मलाई एक जना बहिनीले पनि कतै कोठा भए खोजिदिनु भनेकी थिइन्।

मौनको अगाडि उनलाई फोन घुमाएँ। एकै घण्टीमा फोन उठ्यो । बहिनीले अझै अन्त कोठा पाएकी रहेनछ। मौनसँग कुरा गराइदिए।

अर्को हप्ता घर हेर्न आउने कुरा भयो। सोमबार साँझ ६ बजेलाई मौनकोमा कोठा हेर्न जाने अपोन्टमेन्ट फिक्स्ड भयो। बहिनीलाई लिएर तिमी पनि घर आउन भनेर मौनले मलाई आग्रह गरिन्। मैले नाइँ भन्नै सकिनँ अनि निर्धारित दिन र समयमा मैले ती बहिनीलाई लिएर मौनकोमा गएँ।

म र मौन राम्रो साथी भइसकेको भए पनि उनले मसँग आफ्नो दुःखको कुरा भन्दा सुखको कुरा बढी भन्थिन्। कहिलेकाहीँ समय मिल्यो भने ‘मेरो विगतको रामकहानी तिमीलाई भन्छु नि है’ भन्थिन्।

उनको कुनैदिन यो दुई वर्षमा कहिल्यै आएन। तर यसरी अहिले एक्कासी आउँछ भनेर पनि मैले सोचेको थिइनँ। सायद उनलाई यही समय उपयुक्त लाग्यो होला आफ्नो विगत पोख्न।

बहिनीको अगाडि उनलाई आफ्नो विगत भन्न झन् सजिलो भएको मैले त्यो दिन महशुस गरें। उनको छातीमा यति ठूलो रहस्य लुकेर बसेको छ भन्ने कुरा मैले त्यो दिन मात्रै थाहा पाएँ।

जब यो रहस्य पोखियो यतिन्जेलसम्म मसँग लुकाएको भनेर मलाई रिस उठेन बरु उनीप्रति झन् सम्मान बढेर आयो। कोही मान्छेमा यति धेरै चोट र तीतो विगत लिएर हिँड्न यति धेरै साहस कसरी आउँछ भनेर मेरो दिमाग धेरै दिनसम्म घुम्न थाल्यो।

त्यो दिन मेरो मौनताप्रति मात्रै होइन बहिनीप्रति पनि उस्तै सम्मान पलाएर आयो। उनीहरूको अठोट र दुःखलाई आत्मसाथ गरेर निरन्तर हिँड्ने संकल्प देखेर गर्व लाग्यो।

मौनले भनेअनुसार सोमबार मैले बहिनीलाई लिएर उसकोमा कोठा देखाउन लगे।

बहिनीले कोठा देख्ने बित्तिक्कै मन पराइन् र भोलि नै सर्छु भनिन्।

‘अनि, बहिनी सिङ्गल बस्ने हो नि है ?’ मौनले मतिर फर्केर सोधिन् तर मैले जवाफ दिनुभन्दा पहिले नै बहिनीले आफ्नो बोली अघि सारिन् –‘बस्न त जोडीसँगै बस्न मन थियो नि दिदी , के गर्नु सिङ्गल बस्न लेखेको रहेछ।’

मौनले फेरि पनि मलाई हेरिन्। उनको मौनताले केही इशारा गर्दै थियो।

‘अब बिहे गरेर जोडी बस्ने नि’ मौनले आफ्नो मौनता तोडेर बहिनीलाई यसो जिस्काइन् ।

‘कतिचोटि बिहे गर्ने र दिदी ? अब पुग्यो । बरु डिभोर्सी केटीलाई त घरमा राख्नुहुन्छ नि है ?’

बहिनीले मजाकले यसो भनिन् कि जिस्केर हामी रनभुल्लमा पर्यौ। मौन र मलाई अब कस्तो रियाक्ट गर्ने भन्ने नै आएन।

तर बहिनीले भने हँसिलो पाराले रियाक्ट गरिन्, ‘मेरो ६ महिना अगाडि साँच्चिनै डिभोर्स भएको हो तर यो प्रश्न चाहीँ जिस्केर सोधेका मात्रै हो क्या। तर, जे भए पनि यसरी मेरो डिभोर्समा एकछिन मौनधारण गरिदिनुभएकोमा अग्रज दिदीहरूलाई विशेष धन्यवाद।’

मौनले अलि अन्कनाएर ‘सरी’ भनिहालिन्।

बहिनीले मौनको नजिक गएर उनको हात समातिन् र भनिन्,‘मलाई सरी नभन्नु न। यो त गूड न्यूज हो मेरो लागि अनि मलाई लाग्छ उसको लागि पनि। हामी दुवैको निर्णय हो यो दिदी। हाम्रो सम्बन्धमा हामी दुवै सही पनि छौं र गलत पनि। यो निर्णयमा हामी दुवै एकअर्काको लागि खुसी छौं र एकअर्कालाई दोष पनि दिँदैनौं। म कोहीसँग लागेर, ऊ कोहीसँग गएर, कुटाकुट, रमिता, दोषारण, शंका उपशंका गरेर छुटेका हैनौं हामी। बिहे गरेको केही महिनादेखि हामीबीच असमझदारी बढ्दै गयो। यो आगोलाई धेरै दन्काउनुभन्दा सेलाउनतिर लाग्यौं र सेलाउन अगुल्टाहरू छुट्टिनु जरुरी थियो अनि हामी कानुनी रूपमा छुट्टियौं।’

बहिनी मतिर फर्केर फेरि भन्न थालिन्, ‘उहाँ दिदीलाई त सबै थाहा छ, हामीले एकअर्कासँग जति सम्झौता गर्न खोजे पनि सम्झौतै गर्न सकिएन। सम्बन्धलाई खुसी पार्ने हर मन्त्रतन्त्र गरिए तर कहिकतै पार लागिएन। उहाँ दिदीकै सल्लाहमा हामीले रिलेशनसिप भिक्टोरियाबाट काउन्सिलिङ कक्षा पनि लियौं। घुम्न गयौं, एकअर्कामा बढी भन्दा बढी समय बितायौं तर केही पनि पार नलागेपछि अन्त्यमा हामीले छुट्टिने निर्णय गर्यौं। हामी एक असल साथी बन्न सक्ने रहेछौं तर श्रीमान्–श्रीमती बन्न अझ तयार रहेनछौं भन्ने महशुस पनि भयो।  सायद हाम्रो लागि उत्तम साथी भइरहनु नै समयको माग थियो।’

मौन र म केही बोलेनौं। उनी घडी हेरेर अब जाऔं भन्न थालिन्।

मौनले कहाँ चिया नखाई जाने भनेर हामीलाई रोकिन्। बहिनीले आफ्नो पीडा सेयर गरिरहेकी थिइन्। उनलाई केही हदसम्म हल्का भइरहेको थियो। त्यही कारणले पनि एकै क्षणमा हुन्छ भनेर दूधको बाक्लो चिया है दिदी भनी त्यही सोफामा बसिन्।

बहिनीले जति भनि भनि हामीले हामीले त्यसमा अरु कुरा कोट्याउन चाहेनौ । मौन भान्सातिर चिया पकाउन लागिन्।

बहिनी फेरि बोल्न थालिन्,‘कहिलेकाहीँ चाहिँ अचम्म लाग्छ समाजमा मानिसहरू देखेर नि दिदी। उनीहरूलाई हाम्रो सम्बन्धको बारेमा सबै थाहा छ। एकएक पलको हिसाब राखिरहेका हुन्छन् तर पनि कतै भेटिहाल्यो भने थाहा नपाए जसरी बिचरा! तिम्रो त डिभोर्स भएछ है भनेर सोध्छन् अनि सान्त्वना पनि दिन्छन्। त्यति मात्रै कहाँ हो र डिभोर्स भैहाल्यो अब कसरी बाँच्छौ त नानी ? भनेर पनि सोध्छन्।

उनीहरूले यसरी सोध्छन् कि म विवाह अगाडि बाँचेकै थिइनँ अनि डिभोर्सपछि त बाँच्नै सक्दिनँ। मेरो डिभोर्स हुनु भनेको तिनीहरूलाई लाग्दो रहेछ मेरो जीवन समाप्त भयो। मेरै अगाडि मेरो जीवनको अन्तिम संस्कार नै पो गरिदिन्छन्।

म चाहिँ समाजमा घुलमिल हुँदा यी सबै तनावहरू मेट्ला अनि उनीहरूको साथ सहयोगले ममा झन् आत्माविश्वास पलाउँला भनेर सोच्छु तर उल्टै अनावश्यक चासो र व्यङ्ग्यले मेरो श्वास तान्नतिर पो लाग्छन्।’

मौनले त्यतिखेर चिया र विस्कुट ल्याइसकेकी हुन्छे र दूधको चिया बहिनीलाई दिँदै ती श्वास तान्नेहरूलाई अनि तिमी के भन्छौ त ?भनेर सोध्छिन्।

म मिडल फिङ्गर देखाएर– हो, म डिभोर्सी केटी हो –सो ह्वाट भनिदिन्छु?

‘साँच्चै त्यसै भन्छौ ?’ मौन पुरै गम्भीर भएर सोध्छिन्।

अँ म त भनिदिन्छु। केही नबिराउनु नडराउनु भन्छन्। डिभोर्स आफ्नै श्रीमानसँगै त हुने हो उनीहरूको श्रीमानसँग हुने हैन अनि किन उनीहरूसँग डराउनु। अर्काको निजी जीवनको बारेमा तिनीहरूलाई केको चासो नि, भन्नुस् त? मिडल फिङ्गर नदेखाउनु पनि किन क्या, तिनीहरू हामी डिभोर्सी केटीहरू हाँसेकै देख्न चाहन्नन्।

ओहो ! डिभोर्स भएर पनि कसरी खुसी हुन सकेको रे ? डिभोर्स भएर पनि कति मोटाएकी रे ? डिभोर्स भएर पनि कस्तो पार्टीहरूमा हिँड्न सकेको रे ? कतै बिहे भोजमा  नाच्यो भने पनि डिभोर्स भएकी केटी ओहो! कस्तोसँग नाचेकी रे। कतै घुम्न गयो डिभोर्स भएको केटी, फेसबुकमा केही स्टाटस, फोटो राख्यो डिभोर्स भएको केटी फोटो राखेको राख्यै छ।

डिभोर्स भइहाल्यो अब दाग लागिहाल्यो ओहो ! बिचरीको। अब यसले कुमार केटो पाउँला त ओहो! अब यस्तो डिभोर्सीलाई कसले बिहे गर्ला? अब यसले कसरी गरेर खाली ? यति भन्दाभन्दै पनि अझ मेरो आमाबुवाले दिएको संस्कारलाई पनि सराप्न थाल्छन्। यस्तो व्यवहार गर्छन् कि म जस्तो डिभोर्सी केटीलाई समाजमा कुनै स्थाननै छैन।’

यो कुराहरू बहिनीले भनिरहँदा बहिनीको आँखा बरु ओभानो थियो तर मौनको आँखा बेस्सरी रसाएर आयो। उनले आँसु लुकाउनै सकिन अनि भक्कानिएर रोइन् र भनिन्,‘पहिला लोग्ने मरेपछि महिलालाई यही समाजले सती जान धकल्यो, लोग्ने मरेका एकल महिलालाई सानैमा काशी लखेटे र अब अहिले आएर डिभोर्सी केटीहरूलाई समाजको दाग भनेर पलपलमा अग्निपरीक्षा लिन्छन्।’

मौनको मौनता तोडिएको अवस्था थियो।

चियामा चिनी जसरी मौन पुरै आफ्नो विगतमा घोल्लिन पुगिन्।

‘म पनि डिभोर्सी केटी हो’ मौनले दुई वर्षमा भन्छु भन्छु भनेको कुरा यही थियो।

मौन आफ्नो विगत खोल्न थालिन्। मौनको विगत बहिनीको भन्दा डरलाग्दो र भयानक रहेछ। मौन घरेलु हिंसाको शिकार भएकी रहिछ। उसलाई शारीरिक र मानसिक दुवैरूपमा यातना दिइएको रहेछ। भन्दै थिइन्, लोग्नेले जाँड खाएको बेलामा कतिचोटि घाँटी न्याक्ने, चक्कु देखाउने, ट्वाइलेटमा थुन्ने, भर्याङ्गबाट धकेल्ने गरेको रहेछ। माइती पक्षले पनि सहनुपर्छ, समाजको लागि भए पनि लोग्नेसँग बस्नुपर्छ भनेपछि उनी रोएरै त्यही हिंस्रक लोग्ने तीन वर्ष बिताएकी रहिछिन्। तर कतैबाट पनि उनले सहयोग नपाएपछि बरु विदेश जान्छु भनेर अस्ट्रेलिया मास्टर्स गर्न आएकी रहिछिन्।

आँसु पुछ्दै नेपाल छोडेको दिन त नर्कबाट स्वर्ग आएजस्तो भयो भनिन्। यतिभन्दै गर्दा फेरि अर्को नमिठो कथा उनले सुनाइन्।

उनले यो स्वर्गभित्र पनि केही व्यक्तिले गर्दा नर्क अनुभूति गरिछन्। अरु त सबै ठीकै चलिरहेको थियो रे तर एकदिन उनले कल्पना नै नगरेको कुरा थाहा पाइछन्।

मेल्वर्नमा उनको टाढाको नाता पर्ने एक जना दिदी भिनाजु रहेछन् । भर्खरै जाँदा दिदीकोमा नै बस्ने बरु केही दिनपछि कोठा खोज्ने भनेर उनले दिदीलाई नेपालबाटै फोन गरिछ। तर दिदीले एयरपोर्टबाट सिधै पछि सर्न झ्याउँ हुन्छ त्यसैले अहिलेदेखिनै कोठा खोजेर व्यवस्थित गरिदिएको छु भनेर अरुकै घरमा कोठामा लगेर राखिदिनुभएछ।

दिदीले काम पनि खोजिदिएछन्। उनी दिदीले यसरी सहयोग गरेको कुरामा प्रशंसा पनि गर्छिन् तर जुन नजरले आफूलाई हेर्नुभएको कुरा थाहा पाइन् त्यसमा चाहिँ उनले साह्रै चित्त दुखाइन्।

दिदीले आएको एक महिनापछि बल्ल घरमा एकदिन खाना खान बोलाउनु भएछ। त्यही दिन चिनजान भएको दिदीको घरमा बस्ने एउटा बहिनीसँग मौनको मित्रता भएछ। त्यही घरको बहिनीसँग पछि आउने जाने भएपछि धेरै कुरा हुन थालेछ। धेरैपछि त्यस्तै कुरा गर्ने शिलशिलामा नै त्यो बहिनीले मौनलाई दिदीले एयरपोर्टबाट सिधैं घर नल्याएको कारण भनिछ। कारण थियो उनी डिभोर्सी हो भनेर।

उहाँको सोचमा डिभोर्स भएकी त्यस्ती केटीलाई घरमा ल्याउँदा बुढो लोग्ने र तरुण छोरा मात्तिन्छ भन्ने रहेछ।  यो कुरा सुनेर मौनलाई वाकवाकी नै लागेछ। त्यही दिनदेखि मौन दिदीकोमा जानै छोडिछ र सम्पर्कमा पनि आइनछ।

हामी पनि यो कुरा सुनेर अवाक् पर्यौ। खासमा दिदीलाई मौनप्रति भन्दा पनि आफ्नो लोग्ने र छोराप्रति विश्वास नभएको देखियो।

वातावरण अलि भावुक भयो।

बहिनी माहोल मिलाउन खप्पिस रहेछ।

‘दिदी, हामीसँग भएको यो मिडल फिङ्गर के का लागि त। अघि मैले भनेजस्तो उनीहरूलाई अब साँच्चिनै यसरी देखाइदिने हो र भन्ने हो । एस आई एम डिभोर्सी गर्ल…सो ह्वाट ?

मौनले मेरो नजिक आएर यो कुरा नभनेकोमा सरी पनि भनिन्। अनि योसँगै पासपोर्ट र नागरिकतामा भएको थर परिवर्तन गर्न अब के गर्नुपर्छ भनेर पनि सोधिन्। यत्रो वर्ष परिवर्तन गर्न मन लागेन अब चाहिँ गर्नुपर्छ भन्ने उनमा भावना आएछ।

बहिनीले यस विषयमा पनि आवाज उठाइन्। यो पतिको थर राख्नुपर्ने कस्तो हाम्रो संस्कार हो ? उनीहरू चाहिँ हाम्रो थर राख्न नहुने अनि उनीहरूको चाहिँ हामीले थर राखिदिनुपर्ने ? छोरामात्रै वंश हो भन्ने पितृसत्तात्मक सोचको परिणाम हो यो।’

एकछिन वातावरण फेमिनिस्टको भयो। यो विषयमा एकछिन लामै छलफल पनि भयो। छलफल यति लामो भयो कि चियाबाट अब खानै खाएर जाने मनस्थिति बनायौं।

यसरी मौनसँग बहिनी एकैछिनमा घुलमिल भइन्। उनीहरू खुसी देखिए। उनीहरूमा आफूले गरेका केही निर्णयहरूमा पनि पश्चताप थिएन। उनीहरूको  मुस्कुरावट निश्चल, निर्मल, कोमल र चन्द्रमा जस्तो शितल थियो। उनीहरूको मुहारविन्दुमा केही विचल्लीपन थिएन। उनीहरू खुसी देखेर मेरो मन एकदमै ढुक्क भयो।

डिभोर्सीहरू खुसी हुनुहुँदैन भन्ने समाजको लागि उनीहरूको यो आनन्द मुस्कान, हासीमजाक, रमाइलो, करियरको सफलता, स्वतन्त्र विचार, एउटा गतिलो झापड थियो।

एकछिनपछि मौनको भाइ पनि कामबाट आयो।

हामीसबै सँगै डिनर गर्न थाल्यौं। डिनरकै क्रममा उनलाई पासपोर्टमा मात्रै श्रीमानको थर भएको भए डिभोर्स र अन्य पेपरको आधारमा उनले नेपाल एम्बेसी क्यानबेराबाट नै नयाँ पासपोर्टको प्रकृया गर्न सकिन्थ्यो तर, नागरिकतामा पनि श्रीमानको थर भएकोले उनी नेपाल जानै पर्छ भनेर जानकारी  दिए। गाविसबाट सिफारिस लिएर जिल्ला प्रशासनबाट उनले नयाँ नागरिकता बनाउनु पर्ने हुनाले उनी आफैं नेपाल जानै पर्ने हुन्थ्यो ।

यसरी ह्याप्पी इन्डिङ्गमा  बहिनी र म त्यहाँबाट निस्कियौं। बहिनीलाई जहाँबाट ल्याएको थिए त्यही छोडिदिए। उनको आत्मविश्वास एकदमै लोभलाग्दो लाग्यो।

कारबाट झरे पछि बाई भन्ने क्रममा बहिनी जिस्किँदै भनिन् –डिभोर्सी केटीलाई कोठा खोजिदिएकोमा धन्यवाद !

अनि अरु पनि छ भन्न बाँकी ? म पनि जिस्किएँ ।

‘डिभोर्सी केर्टीलाई लिफ्ट दिनुभएकोमा पनि धन्यवाद।’

सो ह्वाट ? मैले उनको संवादलाई उनैसँग टुङ्गाएर हिँडे।

म बाटोभरि बहिनी र मौनको खुसीलाई चियर्स गर्दै रमाएँ।

 

रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
पक्राउ परेकी पुडासैनीकी प्रेमिकाले दिइन प्रहरीलाई यस्तो अचम्मको बयान, घटनाले लिने भयो अब अर्कै मोड !

    प्रहरीले पत्रकार शालिकराम पुडासैनीको प्रकरण अनुसन्धानका लागि ३० साउन २०७६ मा

मनकामना केवलकारको भाडा बढ्यो

    गोरखाको मनकामना मन्दिर जाने केवलकारको भाडा बढेको छ । मनकामना दर्शन

सरकारी डाक्टरलाई निजीमा जान रोक्दैछौं : स्वास्थ्यमन्त्री यादव

  उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले सरकारी अस्पताललाई निजी अस्पतालमा विरामी जाँच्ने रोक्ने गरी

थप उपचारको लागि प्रधानमन्त्री ओली बिहीबार सिंगापुर जाने

  प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पर्सी बिहीबार पुनः सिंगापुर जाने