बाढी पहिरोमा परी ६ जनाको मृत्यु, अहिलेसम्म कहाँ कहाँ के भयो ?



 

बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म मुलुकका विभिन्न ठाउँमा ६ जनाले जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् ।

 

घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् । रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् । टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए ।

 

वर्षाले कुन जिल्लामा कति क्षति पुर्‍यायो ?

पाल्पा

पाल्पाको तिनाउ–५, केराबारीमा वर्षात्का कारण सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । अहिले त्यहाँ प्रहरी चौकी प्रभाषबाट प्रहरी नायब निरीक्षकको नेतृत्जवमा टोली पुगेको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा बाटो खुलाउने प्रसास भइरहेको जनाइएको छ ।

 

काठमाडौं

काठमाडौं–२१, लगनमा ढुंगाले बनेको कच्ची घर वर्षाले भत्काएको छ । तर, मानविय क्षति हुन भएको छैन । घरमा कोही नसकेको वेला घटना भएकाले क्षति नभएको जनाइएको छ । घटनास्थलमा महानगरीय प्रहरी वृत्त, जनसेवटाबाट टोली खटिएको छ । वर्षाले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पनि पर्खाल पनि भत्काएको छ ।

 

ललितपुर

गएराति आएको हुरीले महानगरीय प्रहरी प्रभागभित्र रहेको सहायक कक्ष छेऊको रुख ढालेको छ । जसका कारण मंगल बजार जाने सडक अबरुद्ध भएको थियो । तर, अहिले अवरोध हटाइसकिएको छ ।

 

सुनसरी

सनुसरीमा अविरल वर्षाका कारण अधिकांश क्षेत्र जलमग्न बनेको छ । जिल्ला प्रहरी कार्यालय, सुनसरीको विवरण अनुसार जिल्लाको हरिनगरा–५, सुकसेना टोल डुबानमा परेको छ । अझै वर्षा भइरहे थप क्षति हुने भएकाले प्रहरीले करिब ५० घरपरिवारलाई स्थान्तरण गर्ने प्रक्रिया थालेको छ । त्यहाँ अहिले सुरक्षा बेसक्याम वसन्तपुरबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जनाको टोली खटिएको छ ।

 

महोत्तरी

वर्षाका कारण महोत्तरीको जलेश्वर कारागार पनि जलमग्न भएको छ । करिब एक फिट पानी जमेपछि कारागारमा रहेका कैदीबन्दीलाई खाना पकाउन कठिन भएको जनाइएको छ । महोत्तरीको जिल्ला प्रहरी कार्यालयभित्र पनि पानी पसेको छ । अन्य क्षति भने भएको छैन ।

 

जनकपुर

सरकारी समाचार एजेन्सी राससका अनुसार अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका पनि जलमग्न भएको छ । वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ ।

 

निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ । अविरल वर्षाले धनुषा जिल्लाको कमला नदीको जलसतह पनि बढेको छ ।

 

सिन्धुली

प्रहरीका अनुसार सिन्धुलीको गोलान्जोर–२, बित्तिजोरमा अविरल वर्षासँगै परेको चट्याङले एक जना घाइते भएकी छन् । घरमै बसिरहेका वेला ४० वर्षीया निर्मला कार्कीलाई चट्याङ्गले लागेको थियो । घटनालगत्तै उनी बेहोस भएकी थिइन् । अहिले प्राथमिक स्वास्थ्य चौकी ग्वाल्टारमा उपचार भइरहेको छ ।

सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।

 

गएराति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहलाई उदृत गर्दै राससले लेखेको छ ।

 

सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको सिंहले बताएका छन् । उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ ।

 

यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्र्तगत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए ।

 

गोलन्जोर गाउँपालिकाले साइकल जोन भन्दै राजमार्गभन्दा माथि डोजर चलाएर सडक खनेपछि पटक–पटक राजमार्ग अवरुद्ध हँुदै आएको छ । सामान्य वर्षातमा समेत माथिबाट लेदो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ । राजमार्गभन्दा माथि जथाभावी खनिएका ग्रामीण सडकका कारण पानी पर्ने बित्तिकै अवरुद्ध हुने गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् ।

 

सिन्धुलीमा लगातार वर्षा भइरहेको र अहिलेसम्म कहीँकतै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको मरिण, कमला तथा चदाह क्षेत्रका बासिन्दालाई खोला तथा नदी क्षेत्रमा जाँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।

 

रौतहट

अविरल वर्षाले जिल्लाको जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।

अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् । सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको छ ।

 

यसैबीच, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु जलमग्न भएका छन् । चन्द्रपुर–२ स्थित पूर्व–पश्चिम राजमार्गको पहिलो लच्कामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको यात्रुबहाक बस अविरल परेको बर्षाको कारण आएको बाढीले रोकिएको छ । अहिले दुवै तर्फको सवारी अवरोध भएको जनाइएको छ ।

 

पाँचथर

जिल्ला प्रहरी कार्यालय, पाँचथरका अनुसार फाल्गुनन्द–३, मेची राजमार्गस्थित पाङग्रेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । अहिले प्रहरी चौकी, पौवासार्तापबाट प्रहरी सहायक निरीक्षक वद्रिविक्रम दाहालको कमाण्डमा टोली खटिएर पहिरो हटाउने प्रयास गरिरहेको छ ।

 

झापा

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार जिल्लाका अधिकांश ग्रामिण क्षेत्र डुबानमा परेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बढी प्रभावित छन् ।तर, जिल्लाको नदी कन्काई, बिरिङ लगायतमा पानीको वहावले खतराको सूची नाघिनसकेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । जिल्लाको विभिन्न क्षेत्र जलमग्न भए पनि अहिलेसम्म कोही विस्थापित हुनु नपरेका रेडक्रसले जनाएको छ ।

 

बिराटनगर

अविरल वर्षापछि सिंगिया खोलामा आएको बाढीले विराटनगर–३ वडाका विभिन्न बस्ती डुवानमा परेका छन् । महानगरपालिकाका १, २ र ८ वडाका बस्ती शुक्रबार बिहान डुबानमा परेका हुन् ।

सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएको छ । यो वस्तीमा करिब ५० घर रहेको र उनीहरूलाई बिहीबार राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 

चितवन

चितवन प्रहरीका अनुसार माडी–३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा पानीको वहाव बढ्दै गएको छ । नारायणगढ माडी सडक खण्डमा चल्ने सवारी साधन चलेको छैन । अहिले त्यहाँ इलका प्रहरी कार्यालय, माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।

मकवानपुर

मकवानपुरको ईन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । त्यहाँ प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टाली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
एडिबीको सहुलियत ऋण सहयोगमा तीन अर्बका योजना

  एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिकामा तीन अर्बका

उपप्रधानमन्त्री यादव भारत भ्रमणमा

  समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव सोमबार नयाँ दिल्ली

जीवनभरन पैसाको कमी हुन नदिन यस्ता कुरामा ध्यान दिनुहोस…

  हरेक दिन भगवानको पूजा गरेर सोचेजस्तै कृपा पाउन सकिदैन् । धार्मिक ग्रन्थमा

को को हुँदैछन् नेकपाबाट मन्त्री ?

  प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझसम्म मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन् ।