अनुसन्धान अधिकारीलाई नै चकित बनाउने अञ्जना हत्याकाण्डः मानिस यति क्रुर पनि हुनसक्छ ?

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

 

महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रमुख राजकुमार खिउजुले प्रहरी सेवामा प्रवेश गरेको दुई दशक नाघिसक्यो ।

तर, जेठाजुद्वारा बुहारीको हत्या गरिएको घटनाले उनलाई चकित बनाएको छ । ‘जागिर खाएको यत्रो वर्ष भइसक्यो ।

यस्तो विभत्स घटना देखेको थिइन’, डीएसपी खिउजु भन्छन् ।

घटनास्थल हेर्दा एउटा प्रहरी अधिकारीकै आङ सिरिङ हुन्छ भने सर्वसाधारणलाई कस्तो लाग्दो हो ? घटना हो, बिहीबार दिउँसो ललितपुरको ढोलाहिटीमा भएको अञ्जना महत हत्या ।

प्रहरी टोली घटनास्थलमा पुग्दा उनको टाउको थोरै छालाले मात्रै शरीरमा अड्किएको थियो ।

खुट्टाले भुइँ छोए पनि आधा शरीर खाटमै थियो । कोठामा रगतको आहाल थियो । अञ्जनामाथि कति पटक हतियार प्रहार गरियो भन्ने लख काट्नसमेत मुस्किल छ ।

खुला रुपमा देखिने खत त कति हो कति ! कपडा पनि अधिकांश ठाउँ काटिएका थिए । घटनास्थल पुगेका प्रहरी अधिकारीहरु आफैं प्रतिप्रश्न गर्छन्, ‘कसरी मानिस यो हदसम्म पनि जान सक्छ ?’

तर, प्रहरीको कामै अपराध अनुसन्धान गर्ने हो । जस्तो अवस्था भएपनि अनुसन्धान गर्नैपर्छ । त्यसैले प्रहरीले प्रारम्भिक जाँच मुचुल्का तयार पारे र लाशलाई पोष्टमार्टमका लागि पठाउने तारतम्य मिलाए ।

जब खुकुरी लिएर छोरा आए…

ढोलाहिटी चोकबाट एक सय मिटर पर रहेको घरमा त्यो दिन आमा पुष्पा, बुहारी अञ्जना र जेठाजु उज्वल मात्रै थिए । बुबा कमलबहादुर र अञ्जनाका पति प्रज्वल विहानै काममा निस्किएका थिए ।

दिउँसो करिब साढे दुई बजेतिर उज्वल दौडिँदै आमा भएतिर आए । छोरा हल्ला गर्दै आएपछि तल्लो तलामा सुतेकी उनी ब्युझिइन् । ‘पुलिस बोलाइदिनू…’, परैबाट पुष्पाले आवाज सुनिन् । उनले छोराको कुरा बुझिनन् ।

‘पानी आएछ कि क्या हो भनेर सोधेँ पनि’, उनी सम्झिन्छिन्, ‘तर, जब ऊ मेरो कोठामा आयो, त्यसपछिको अवस्था म कल्पना समेत गर्न सक्दिन ।’

रगतैरगतले लतपतिएको हातमा खुकुरी बोकेर उनी तल झरेका थिए । ‘मैले त्यसलाई मारिदिएँ’, उनको भनाइलाई उद्धृत गर्दै आमा भन्छिन्, ‘पुलिस बोलाइदिनू ।’ जब उनी बुहारीको कोठामा गइन्, तब विभत्स हत्या देखिन् । लगत्तै प्रहरीलाई खबर गरियो ।

शरीरमा पटकपटक खुकुरी प्रहार गर्दा न त घरमै रहेकी आमाले थाहा पाइन् न छिमेकीले । निद्रामा मस्त भएकाले आफूले केही थाहा नपाएको उनी बताउँछिन् । प्रहरीलाई खबर हुनेवित्तिकै नजिकै रहेको सीआरभी टोली पुग्यो र घटनास्थललाई घेरा हाल्यो ।

ससुराले मृत्युको खबर पत्याउन सकेनन्

काममा गएका ससुरालाई दिउँसो घरबाटै बुहारीको हत्या भएको खबर गयो ।

तर, सुरुमा उनले पत्याउनै सकेनन् । भन्छन्, ‘सुरुमा छिटो आउ भन्दा मलाई विश्वासै लागेन । काममा छु, अहिले किन आउनु भनेको थिएँ ।’

जब अरुले पनि फोन गर्न थाले, तब उनी त्यो अकल्पनीय घटना विश्वास गर्न बाध्य भए । उनी घर पुग्दा भने धेरै ढिला भइसकेको थियो । प्रहरीले बुहारीको शव उठाइसकेको थियो भने जेठो छोरा उज्वल प्रहरी नियन्त्रणमा पुगिसकेका थिए ।

के हो हत्याको कारण ?

हालसम्मको प्रहरी अनुसन्धानले उनको हत्याको कारण खुलाउन सकेको छैन । तर, उनको पृष्ठभूमितिर फर्किँदा उनी डिप्रेसनको शिकार भएको अनुमान लगाउन सकिन्छ ।

बुहारी हत्या आरोपमा पक्राउ परेका उज्वल म्यूजिसियन हुन् । उनले चर्चित गीत ‘सुन साइली…’, ‘छक्का पञ्जा २’, ‘काले दाइ.. काले दाइ..’ लगायतमा कला देखाएका थिए । तिहारपछि भने उनले जागिर छाडेका थिए ।

काममा समस्या देखिएपछि जागिर छाडेका आफ्नो छोरालाई त्यसयता निरन्तर कार्यालयबाट धम्की आएको बुबा कमल दाबी गर्छन् । ‘६ महिना आराम गर्नुपर्छ भनेर ऊ औषधि लिँदै आराम गरिरहेको थियो’, कमलले सम्झिए, ‘तर, अफिसबाट उसलाई दिनरात फलो भइरह्यो ।’

आमा पुष्पा पनि उज्वलले आफ्नो मोबाइल ह्याक भएको सुनाउने गरेको बताउँछिन् । ‘कहिले मान्छे पठाएर सुराकी गर्दा रहेछन् । कहिले को मान्छे मर्‍यो भनेर तनाव दिन्थे’, उनी भन्छिन्, ‘सधैं उसको दिमाग घुमाइदिन्थे ।’ कमललाई त्यसरी धम्की दिने व्यक्ति शिव राई भएको परिवारको दाबी छ । एक दिन छोरा-बुहारीलाई पछ्याउँदै राई घर छेउसम्म आइपुगेको उनको भनाइ छ ।

‘त्यतिबेला उनी यति डराएका थिए कि, जतिसुकै बेला श्रीमती र छोरालाई मार्दिन्छु भन्ने गरेका थिए’, परिवारका अर्का सदस्य भन्छन् । उज्वलको फेसबुक प्रोफाइल हेर्दा उनी क्रिपा डिजिटल स्टुडियोमा म्यूजिक एरेन्जरको रुपमा काम गर्ने गरेको देखिन्छ ।

माइती पक्षको आशंका परिवारमाथि पनि

के उज्वलले बुहारीको विभत्स हत्या गर्नुको कारण डिप्रेसन नै हो, वा अरु केही ? यो विषय भने प्रहरीको अनुसन्धान सकिएपछि मात्रै खुल्नेछ ।

अहिले उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर बयान लिने काम भइरहेको छ ।

अञ्जनाको माइती पक्ष भने हत्यामा जेठाजु मात्र संलग्न रहेको स्वीकार्दैन । छोरीको मृत्युको खबर सुनेर हेटौंडाबाट आएका बुबा गणेश लामा भन्छन्, ‘यस्तो अमानवीय तरिकाले हत्या भएको छ । यसमा एक जनाको मात्र संलग्नता हुनै सक्दैन ।’

अन्तरजातीय विवाहका कारण घटना भएको हुनसक्ने भन्दै छानविन गर्नुपर्ने माइती पक्षको माग छ । उनले अनलाइनखबरसँग भने, ‘पागलले मार्‍यो भनेर अपराधीलाई बचाउने खेल भइरहेको छ, तर ऊ पागल होइन । अपराधीलाई बचाउने काम नहोस् ।’

महतका छिमेकी भने दाजु-भाइ र उनीहरुका श्रीमतीबीच कहिल्यै झगडा नदेखिएको बताउँछन् । ‘यो परिवारको यति राम्रो सम्बन्ध थियो कि सबैले उदाहरणीय मान्थे’, एक छिमेकीले भने, ‘एक्कासि यस्तो घटना बाहिर आउँदा पत्याउनै गाह्रो भइरहेको छ ।’

चापागाउँ वृत्तका डीएसपी खिउजु भने उज्वलले सामान्य व्यक्ति सरह व्यवहार गर्ने गरेको बताउँछन् । ‘उनले हत्या स्वीकारेका छन्’, खिउजुले अनलाइनखबरसँग भने, ‘हतियारसहित उनी रंगेहात समातिएका हुन् । त्यसैले उनले हत्या गरेको होइन भन्ने कुरै आउँदैन ।’

यद्यपि, घटनामा अन्य कसैको संलग्नता खुले पक्राउ गरेर अनुसन्धान गरिने उनले बताए ।


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
कम्युनिष्ट नेता यस्तरी कुहिँदा

माझी बस्तीको लागि अस्ट्रेलियाबाट आर्थिक सहयोग

सगरमाथाकाे उचाइ नाप्ने सरकारी टोली शिखरमा, सगरमाथाको उचाइ ८,८५० मिटर

भिडण्तमा प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ताको मृत्यु

श्रीमती मनकुमारीले डिभोर्स गर्ने भएपछि ९ जनाको हत्या

पहिलो पटक सेक्स गर्दै हुनुहुन्छ ? यो कुरामा ध्यान दिनुहोस्

‘तिम्रो मायाले बाधेर राख’ भन्दै यति मिठो आवाजमा गित गाईन डान्सर तेरिया मगरले ! सगर आलेको यस्तो साथ रहयो (भिडियोसहित)

नेटवर्किङ व्यावसायका मास्टरमाइन्ड विष्णु क्षत्री कहाँ छन् ?

ऋषि धमलाको सासू झनै कडा, “छोरी, ज्वाई”को सम्बन्ध बारे यस्तो भन्छिन् ! (भिडियो हेर्नुहोस)

न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्वारा आयोजित रास्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता ०७६ सम्पन्न (फोटो फिचर)