केका लागि, के भनेर जाग्ने शेरबहादुरजी ?

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

 

 

संसदीय निर्वाचनमा पराजित भएपछि मूर्छित नेपाली काङ्ग्रेस पार्टी अचानक बिउँझिएझैँ देखिएको छ । नबिउँझिएको भए काङ्ग्रेसले जागरण अभियान शुरु गर्न शायद खोज्ने थिएन, तर के भनेर जाग्ने र कुन गन्तव्यका लागि जाग्ने भन्नेबारेमा नेतृत्व आफैँ अन्योलमा रहेको हुनाले फेरि पनि जिज्ञाशा उत्पन्न भएको छ– काङ्ग्रेस ब्युँझिएको हो कि बर्बराएको मात्र ?

 

सात दशकअघि काङ्ग्रेस प्रजातान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकासहित सहभागी हुँदा उसको विचार, दर्शन, सिद्धान्त, नीति, कार्यक्रम र गन्तव्य स्पष्ट थियो । एकतन्त्रीय राणाशासन विस्थापित गरी बहुदलीय संसदीय प्रजातन्त्र स्थापित गर्ने उसको स्पष्ट अभीष्ट थियो । राजासँगको सहकार्य र भारतको सहयोगमा चलेको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्नेहरूलाई स्वतः काङ्ग्रेसका रूपमा बुझिन्थ्यो त्यसताक ।

 

संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्र जनसाधारणका निम्ति बोधगम्य विषय थिएनन् । जनसङ्ख्याको धेरै सानो हिस्सा मात्र शिक्षित रहेको समयमा संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रलाई बुझ्ने मानिसको सङ्ख्या झन् कति हुँदो हो, अनुमान गर्न सकिन्छ । त्यो समयमा प्रजातन्त्र स्थापना गर्नेभन्दा राणाशासन अन्त्य गर्ने विषय सर्वगम्य बनेको हुन सक्छ ।

 

अलिकति भित्र र अलिक बढी बाह्यको बलमा यहाँ प्रजातन्त्र स्थापना भएको स्वीकार गर्न हिचकिचाउनुपर्दैन । यसरी प्राप्त गरेको प्रजातान्त्रिक प्रणालीले काङ्ग्रेसको दुईतिहाइ बहुमत प्राप्त सरकारसँगै वि.सं. २०१७ मा विश्राम लियो । त्यसपछि फेरि प्रजातन्त्र प्राप्त गर्न काङ्ग्रेसले अर्को तीन दशकसम्म निरन्तर प्रयास गर्नुपऱ्यो । हो, यही तीन दशक नेपालको इतिहासमा राष्ट्रियता र प्रजातन्त्रको आन्दोलन दुई विपरीत किनाराबाट चलेको थियो ।

 

तात्कालिक सत्तापक्ष (पञ्चायत) राष्ट्रियता प्रवद्र्धनमा केन्द्रित देखिन्थ्यो भने नेपाली काङ्ग्रेस प्रजातन्त्र पुनर्वहालीको आन्दोलनमा । तथापि पञ्चायतले राजाको सक्रिय शासन अपनाउँदाअपनाउँदै पनि निर्दलीय प्रजातन्त्रका रूपमा आफ्नो पक्षपोषण गर्ने गरेको थियो भने काङ्ग्रेसले चाहिँ राष्ट्रियता, संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रसहितको समाजवादी कार्यक्रमका प्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दथ्यो । राष्ट्रियता र प्रजातन्त्र एक–अर्काका पर्याय होइनन्, बरु परिपूरक हुन् ।

 

राष्ट्रियताबिनाको प्रजातन्त्र निरर्थक हुन्छ भने प्रजातन्त्रबिनाको राष्ट्रियता लुलो हुन सक्छ । जनताका निम्ति दुवै अपरिहार्य हुन्छन्, राष्ट्रियता देखाएर प्रजातन्त्रको उपादेयतालाई उपेक्षा गर्न या प्रजातन्त्रको कुरा गरिरहँदा राष्ट्रियता भुल्न सकिँदैन । नेपाली राजनीतिक इतिहासमा राष्ट्रियता र प्रजातन्त्रको मुद्दालाई सन्तुलित ढङ्गले ग्रहण गर्न नसक्दा पटक–पटक दुर्घटना भएका छन् ।

 

२०४६ सालको राजनीतिक परिवर्तनपश्चात् राष्ट्रियता र प्रजातन्त्रको सन्तुलन कायम गर्ने प्रयास भएको थियो । प्रजातान्त्रिक आन्दोलनका अगुवाहरूले राजा वीरेन्द्रद्वारा प्रस्तुत ‘शान्ति क्षेत्रको प्रस्ताव’ (जसको समर्थन करिब सवा सय मुलुकहरूले गरिसकेका थिए) लाई निरन्तरता नदिने सोचले दलका नेताहरू राष्ट्रियताको मुद्दाप्रति उदासीन रहेको सङ्केत गरेको थियो । २०६३ को परिवर्तनपछि भने राष्ट्रियताको विषय गौण मात्र बनाइएन, नेपालकोे अस्तित्व रक्षा, राष्ट्रियता र राष्ट्रिय एकतासँग सम्बन्धित हरेक आधारहरूलाई ध्वंश गर्ने नीति नै अवलम्बन गरिएको अनुभूति आमनेपालीले गरेका छन् ।

 

नेपाली जनताले माओवादी हिंसाबाट मुक्ति खोजेका थिए, हिंसाबाट मुक्ति दिने नाममा शेरबहादुर देउवाले पहिले संवाद र युद्धविराम गरेका हुन्, सहमति नबनेपछि सङ्कटकाल पनि घोषणा भएको र यसै विषयमा उत्पन्न विवादका कारण काङ्ग्रेस पार्टी विभाजनसम्म हुन पुगेको थियो । संसद् विघटन र शाही घोषणामार्फत सत्ता परिवर्तन गर्नेसम्मका कार्य पनि माओवादी हिंसाकै अन्त्य गर्ने–गराउने नाममा भएका थिए ।

 

अन्ततः नयाँदिल्लीमा बाह्रबुँदे सम्झौता भएपछि, त्यसै आधारमा खडा गरिएको प्रपञ्चले नेपालमा धर्मनिरपेक्षतासहित जातीय आधारमा आरक्षण दिने सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको सूत्रपात गऱ्यो । कम्युनिस्टहरू विचारले धर्मविरोधी हुन्, संस्कृति र प्रचलित परम्परासँग उनीहरूको दुस्मनी रहने गर्दछ । राजतन्त्रात्मक व्यवस्थाविरुद्ध गणतन्त्रको वकालत पनि नेपालमा कम्युनिस्टहरूबाट नै हुँदै आएको हो ।

 

जातीयता र क्षेत्रीयताको पक्षमा सामान्यतया कम्युनिस्टहरू हुँदैनन्, तर नेपालका कम्युनिस्टले जातीयता र क्षेत्रीयताको मुद्दा पनि आफ्नै बनाएर उठाए, जातीय पहिचानसहितको सङ्घीय संरचना खोज्नेहरू कम्युनिस्टकै बुई चढेर नेपाल भित्रिएका हुन् । तथ्यहरूले धर्मनिरपेक्षतासहितको सङ्घीय गणतन्त्र र जाति एवम् क्षेत्रीयतावादी सिद्धान्त विचारका मालिक कम्युनिस्टहरू नै भएको सिद्ध गर्दछ । राजासँग रिस उठेका बेला काङ्ग्रेसका तात्कालिक सभापति गिरिजाप्रसाद कोइरालाले लुकी–लुकी माओवादी नेता र तिनका निर्माता एवम् निर्देशकहरूसँग कुन्नि के–के सहमति बनाए, तर काङ्ग्रेस पार्टीले कोइरालाबाट निजी तवरमा भएका सहमतिहरूको प्रतिवाद गर्न सकेन–खोजेन ।

 

राजनीतिकर्मीहरू सत्ताका लागि अनेकौँ आकारप्रकारका सम्झौता गर्न सक्छन्, तर सिद्धान्त, विचार र दर्शनमा कदापि सम्झौता हुँदैन भन्ने आमविश्वास हो । काङ्ग्रेस नेतृत्वले विश्वमै दुर्लभ दृष्टान्त प्रस्तुत गर्दै सिद्धान्तमा सम्झौता गऱ्यो । हिजो ती मानिसको मन र मत काङ्ग्रेसमा अडिएको थियो जो राष्ट्रवादी थिए, जसलाई एकताबद्ध मुलुक, संसदीय प्रजातन्त्र, मौलिक धर्म, परम्परा, संस्कृति र राजसंस्थासहित देशको समृद्धि चाहिएको थियो ।

 

काङ्ग्रेसको नेतृत्व मन नपरे पनि, काङ्ग्रेसले उम्मेदवारका रूपमा प्रस्तुत गरेका व्यक्ति अपरिचित र अक्षम नै भए पनि जनताले मतदान गर्ने चिह्न ‘रूख’ बनेको थियो । राजा मान्नेहरू, धर्म, संस्कृति र परम्पराको संरक्षण खोज्नेहरू, संसदीय प्रजातन्त्रसहित देशको समृद्धिको कल्पना गर्नेहरू सबैको मतसङ्ग्रह हुने थलो काङ्ग्रेस थियो ।

 

त्यसैगरी जो धर्म–संस्कृति र परम्पराका विरोधी छन्, जो राजा मान्दैनन्, जसको संसदीय प्रजातन्त्रमाथि विश्वास छैन र अन्तर्राष्ट्रियवादी विचार–दर्शनप्रति लगाव छ, तिनले मतदान गर्ने चिह्न पनि निश्चित थियो । तर, २०६३ को परिवर्तनसँगै प्रमुख दलहरूबीच विचार–दर्शनको समागम भएर नेपालमा धर्मनिरपेक्ष, सङ्घीय गणतन्त्रात्मक प्रणालीको जायजन्म भएको छ । विचारको यो समागमपछि भाले माहुरीको इहलीला समाप्त भएझैँ काङ्ग्रेसको आत्मिक अस्तित्व नास हुन पुगेको छ । हिजो जुन आस्था, विश्वास र भरोसाका कारण काङ्ग्रेसलाई मतदान गरिन्थ्यो, आज कारण मेटिएको छ । काङ्ग्रेस भन्नाले जे बुझिन्थ्यो, आज त्यो बुझाइको अन्त्येष्टि भएको छ ।

 

भगवान् र मूर्ति एउटै होइनन्, हुँदैनन् । भगवान् मान्नेले मूर्ति नमान्न सक्छन् । बीपी र बीपीको सालिक भन्नु पनि एउटै होइन, बीपी भन्नाले एउटा निश्चित विचार–दर्शनको प्रतीक बुझिन्छ, सालिकचाहिँ केवल बीपीको देहगत प्रतिबिम्ब मात्र हो । त्यसर्थमा आज हामी जसलाई काङ्ग्रेस ठानिरहेका छौँ, त्यो वास्तवमा काङ्ग्रेस होइन । विचार दर्शनलाई पार्टीको प्राणका रूपमा लिइन्छ, जब कि काङ्ग्रेसले प्राण त्याग गरिसकेको छ ।

 

जसरी प्राणान्त भएपछि मानिसलाई मानिस भनिँदैन, मान्छेको शव या लास भन्ने गरिन्छ, आजको काङ्ग्रेस दार्शनिक एवम् वैचारिक दृष्टिले ठीक त्यस्तै अवस्थामा पुगेको छ । दौडिरहेको कुनै पनि प्राणीको शरीरबाट शिर छुट्याइयो भने कतै व्यवधान नहुन्जेलसम्म समान वेगमा ‘त्यो’ दौडिरहन्छ । शिरबिनाको शरीर केहीबेरका निम्ति दौडन्छ, तर जति दौडिए पनि एउटा बिन्दुमा पुगेपछि त्यो सदाका निम्ति ढल्ने नै हो र काङ्ग्रेसको आजको अवस्था योभन्दा भिन्न होइन ।

 

काङ्ग्रेसमा जागरण पैदा गर्न सबैभन्दा पहिले उसको प्राण जगाउनुपर्ने हुन्छ । नेपाली जनताले शदीयौँदेखि अवलम्बन गर्दै आएका वैदिक सनातन हिन्दू, बौद्ध, किरात, बोन, शिख र इस्लाम धर्म, संस्कृति तथा परम्परा रक्षाका पक्षमा काङ्ग्रेसलाई उभ्याउनु भनेको उसमा प्राण भर्नु हो । अहिलेको जस्तो ठिमाहा व्यवस्थालाई विस्थापित गरेर संवैधानिक राजसंस्थासहितको बहुलवादमा आधारित संसदीय प्रजातन्त्रको अवलम्बन गराउनु नै काङ्ग्रेसमा प्राण जगाउनु हो भन्नेहरूको सङ्ख्या कम छैन ।

 

अन्तर्राष्ट्रियतावादीहरूको सङ्गतबाट अलग गरी राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र एकीकृत सार्वभौमिकताको पक्षमा काङ्ग्रेस उभिनु भनेको ऊ पुनर्जीवित हुनु हो । तर, प्राण–प्रतिष्ठा हुने कुनै पनि कदमबिनाको जागरण वास्तवमा भैरवजात्राजस्तो मात्र हुनेछ । भैरव ठानेर मूर्तिको दर्शन गर्ने र त्यसपछि बिर्सनुपर्ने अवस्थाको काङ्ग्रेसको अर्थ के होला ?

 

कुनै पनि राजनीतिक शक्ति अर्को पक्षको गाली र आलोचनामा मात्र जीवित रहन सक्दैन । न अर्काको बर्बादीमा मात्र आफ्नो भविष्य देख्नेहरूकै उपादेयता राजनीतिमा दिगो रहन सक्छ । काङ्ग्रेसमा जागरणको अपरिहार्यता दशकअघि नै महसुस गरिएको हो । ढिलै भए पनि जागृत हुन खोज्नुलाई काङ्ग्रेस नेतृत्वको सत्प्रयासका रूपमा ग्रहण गरिदिँदा हुन्छ ।

 

तर, शेरबहादुर देउवाले शुरु गरेको जागरण कर्मकाण्डी छ, कम्युनिस्टलाई गलत पुष्टि गरेर आफूलाई सही देखाउने मनोरोगबाट ग्रस्त छ । विचारको जागरण आजको आवश्यकता हो, जसबाट काङ्ग्रेस नेतृत्व अझै भाग्न खोज्दै छ । आफ्नी घरवालीलाई समेत काङ्ग्रेस र प्रजातन्त्रको मूल्य र मान्यताका प्रति जागृत गर्न नसक्ने, इमानदार बन्न र भ्रष्टाचारजन्य क्रियाकलापबाट टाढा पुऱ्याउन नखोज्ने नेतृत्वले जनतामा जागरण पैदा गर्ने खबर आफैँमा हास्यप्रधान छ । काङ्ग्रेसलाई या जनतालाई जगाउने हो भने बीपी कोइरालाद्वारा प्रतिपादित विचारदर्शनमै काङ्ग्रेसलाई फर्काउनुपर्ने हुन्छ शेरबहादुरजी ।

 

बीपीलाई छोडेर विमलेन्द्रहरूलाई अपनाउने शेरबहादुरजीको राजनीतिले अहिलेसम्म काङ्ग्रेस, प्रजातन्त्र र देशलाई योगदान पुऱ्याएको ठानियो भने ‘वीरबल’समेत हाँस्न सक्छन् । बीपीलाई अनुशरण गर्ने अवस्थामा काङ्ग्रेसलाई पुऱ्याउन सक्नु नै शेरबहादुरजीको सबैभन्दा ठूलो योगदान ठहर हुन सक्नेछ । यस्तै गति र मतिले निरन्तरता पाइरहने हो भने देउवाजीले आफ्नो भविष्य हेर्न घरनजिकै बुढानीलकण्ठको मन्दिर पुगे हुन्छ, जहाँ विष्णु भगवान् उठ्नै नसक्ने गरी सदाका निम्ति उत्तानो परिरहेका छन् ।घटना र विचारबाट


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
माझी बस्तीको लागि अस्ट्रेलियाबाट आर्थिक सहयोग

सगरमाथाकाे उचाइ नाप्ने सरकारी टोली शिखरमा, सगरमाथाको उचाइ ८,८५० मिटर

भिडण्तमा प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ताको मृत्यु

श्रीमती मनकुमारीले डिभोर्स गर्ने भएपछि ९ जनाको हत्या

पहिलो पटक सेक्स गर्दै हुनुहुन्छ ? यो कुरामा ध्यान दिनुहोस्

‘तिम्रो मायाले बाधेर राख’ भन्दै यति मिठो आवाजमा गित गाईन डान्सर तेरिया मगरले ! सगर आलेको यस्तो साथ रहयो (भिडियोसहित)

नेटवर्किङ व्यावसायका मास्टरमाइन्ड विष्णु क्षत्री कहाँ छन् ?

ऋषि धमलाको सासू झनै कडा, “छोरी, ज्वाई”को सम्बन्ध बारे यस्तो भन्छिन् ! (भिडियो हेर्नुहोस)

न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्वारा आयोजित रास्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता ०७६ सम्पन्न (फोटो फिचर)

खेतला उम्मेदवार बोक्दा ‘खोलो त-यो, लौरो बिर्स्यो’ जस्तै भयो : सूर्य थापा