हुण्डाई गाडी बिक्रेताको खुलेआम ठगीधन्दा

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार

 

उपभोक्ताहरुको मागमा भएको वृद्धिको गलत फाइदा उठाउनकै लागि गुणस्तरहीन सवारीसाधनको उत्पादन गरी बिक्री गरेकै कारण भारत लगायत विभिन्न देशमा हलुका चारपांग्रे सवारीसाधनको बिक्रीमा भारी गिरावट आएको छ । हालै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरणअनुसार ११ वटा गाडी उत्पादक कम्पनीहरुको बिक्रीमा भारी गिरावट आएको छ । सोमध्ये प्राविधिक समस्या रहेको हुण्डाई कम्पनीको गाडी बिक्री भारतमा सोचेभन्दा बढी गिरावट आएको छ ।

 

भारतमा आएको गाडीको बिक्रीको गिरावटसँगै अन्य देशमा पनि सो कम्पनीका गाडीहरु किन्न उपभोक्ता नगएको बेला नेपालमा पनि हुण्डाई कम्पनीको गाडी बिक्रीमा समस्या आएपछि झुटो विवरण देखाउँदै ‘बम्पर उपहार’को नाममा प्राविधिक समस्या भएको गाडी बिक्री भइरहेको समाचार आर्थिक दैनिकले छापेको छ ।

 

यसअघि नै अर्थात् गत तिहारपछि नेपालमा चारपाङ्ग्रे सवारीसाधनको बिक्रीमा क्रमिक रुपमा गिरावट आइरहेको थियो । मागमा भएको वृद्धिलाई थेग्न नसकेपछि गुणस्तरहीन गाडी नेपाल ल्याई अत्यधिक महंगोमा बेच्दै आएको हुण्डाई कम्पनीको गाडीकै कारण अन्य कम्पनीलाई समेत धक्का पुगेको सम्बन्धित गाडी व्यवसायीहरुको दुःखेसो रहेको छ । नेपालमा हालसम्ममा गुणस्तरहीन गाडी भएको थाहा पाउँदापाउँदै पनि बिक्री गरिँदै आएको फोर्ड र हुण्डाई कम्पनीका कारण अन्य गाडीमा समेत सोही समस्या रहेको भन्दै खरिदमा आलटाल गरेको दुःखेसो एक गाडी व्यवसायीले नाम नलेख्ने शर्तमा गरेका छन् ।

 

 

विश्व बजारमा सवारीसाधनको मागसँगै बढेको अस्वस्थ प्रतिपर्धासँगै उत्पादन भएका हलुका सवारीसाधनहरुमध्ये हुण्डाईले अत्यधिकमात्रामा प्राविधिक समस्या रहेका गाडी बेचेको आरोप लागेको छ । पछिल्लो समय विभिन्न प्राविधिक समस्या देखिएसँगै दुर्घटना समेत हुँदै आएको छ ।

 

भारत लगायत तेस्रो मुलुकमा बन्दै आएको हुण्डाईको सवारीसाधनको इन्जिनमा अत्यधिक खराबी उत्पन्न हुने, वातावरणमा असर पु(याउने, ब्रेक, गियर र उकालोमा गाडी बन्द हुनेजस्ता गम्भीर प्रकारका समस्या बढ्दै गएपछि सो गाडीको उत्पादन नै बन्द गरेको छ । तर भारत तथा तेस्रो मुलुकमा हुण्डाईको सेन्ट्रो कार बिक्रीमा रोक लगाएपछि सो गाडी नेपाल भित्र्याएर बिक्रीवितरण हुँदै आएको छ ।

 

 

प्राविधिक समस्या देखिएपछि फोर्ड कम्पनीले सो समस्यालाई समाधान गर्न नसक्दा भारतमा फोर्ड कम्पनी बन्द गरिएको छ भने भएको उपकरणहरु महिन्द्रालाई जिम्मा दिई गाभिएको बताएको छ । यसरी प्राविधिक समस्यालाई समधान गर्नुभन्दा पनि उपभोक्तालाई झुक्याएर हुण्डाई कम्पनीले उत्पादन गरेको सेन्ट्रो कार बिक्री गरिँदै आउँदा समेत सरकारको सम्बन्धित निकायबाट कुनै पनि अनुगमन समेत गर्ने आँट देखिएको छैन । विभिन्न प्राविधिक समस्या अत्यधिमात्रामा देखिएसँगै समाधान गर्न नसकेपछि १६ वर्षपछि सो कम्पनीको गाडी उत्पादन समेत बन्द हुनपुगेको छ ।

 

 

तर नेपालमा भने सो कम्पनीको सेन्ट्रो कार उपहारमा राखी बिक्री गर्दै आएको छ । ‘नयाँ वर्ष २०७६ को शुभकामना युनाइटेड सिमेन्ट्सको उपहार सररर कार’ भन्दै सो सिमेन्ट किन्ने उपभोक्तालाई बम्पर उपहारका रुपमा दिने भन्दै प्रचार हुण्डाई कम्पनीले गर्दै आएको छ । कारहरुको सुरक्षाको मापदण्ड मापन गर्ने संस्था ग्लोबल एनक्याप ९नयाँ कार मूल्यांकन कार्यक्रम० ले समेत ‘असुरक्षित भन्दै ‘जिरो स्टार’ दिएको सो कम्पनीका कार नेपालमा भने उच्च मूल्यका साथ बिक्री हुँदै आएको छ ।

 

अहिले हुण्डाईको शोरुममा सो सेन्ट्रो कारहरु एकाएक लुकाइएको छ । उक्त गाडी असुरक्षित भएको प्रतिवेदन सार्वजनिक भएपछि भारतका कतिपय स्थानहरुमा प्रतिबन्धित छ भने भारतका नेताहरुले यो गाडी असुरक्षित छ भन्ने प्रतिवेदन सार्वजनिक भएपछि व्यवसायीले गलत प्रचार गरेकै कारण उपभोक्ताहरु प्राविधिक रुपमा अत्यधिक रहेको कार झुक्याएर बेचिँदै आएको छ । सो गाडीबारे यस्तो डरलाग्दो तथ्य सार्वजनिक नहुँदै सो कम्पनीको अधिकांश गाडी दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारतीय तथ्यांक हेर्ने हो भने अधिकांश दुर्घटना यही गाडीमा भएको देखिन्छ । नेपालमा कुन गाडीमा दुर्घटना भएको हो भन्नेबारे कुनै पनि तथ्याङ्क सार्वजनिक गर्ने गरिएको छैन ।

 

प्राप्त विवरणअनुसार हुण्डाईको सवारीसाधनको प्राविधिकरुपमा समस्या समधान गर्न नसकेपछि उत्पादन रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । गत महिना, हुण्डाईले यसको अन्तिम सेन्ट्रो उत्पादन गरेसँगै सेन्ट्रोमा प्राविधिक समस्या देखापरेको थियो । १९९८ मा भारतबाट ब्रान्डको कारको रुपमा रहेको सो कम्पनी नै घराशायी बन्ने अवस्थामा पुगेको छ । सेन्ट्रो कार अधिक लाभदायक नयाँ कारहरूको रुपमा प्रचार गर्दै आएको थियो । सेन्ट्रो कारलाई प्राविधिकहरूले पेट्रोल इन्जिनमा खराबी, गियरबक्समा समस्या देखिएको जनाएका छन् । भारतको पहिलो पिँढी हुन्डाई सेन्ट्रोको उत्पादन अहिले बन्द भएको छ । सो कारको अहिले पनि केही डिलर्सहरूसँग अझै पनि स्टक रहेका कारण झुक्याएर बिक्री गरिँदै आएको छ ।

 

भारतमा सो ब्राण्डको कार बिक्रीमा प्रातिबन्ध लगाइएको छ तर नेपालमा भने सो कारलाई सिमेन्ट किन्ने उपभोक्तालाई उपहारमा दिने घोषणा गरिएको छ । सो कारमा अन्य मोडेलकै जस्तो अप्रत्याशित रुपमा तातो हुने र करेन्ट प्रवाह हुने समस्या देखिएको आरोप लगाइएको छ । सो कम्पनीका कारको इन्जिनले चिसो मौसममा राम्रोसँग काम नगर्नेलगायतका अन्य समस्या देखिएपछि गोप्यरुपमा एक लाखभन्दा बढी आफ्ना कारहरु फिर्ता गरेको बताइएको छ । सवारीमा देखिएको समस्याको कारण इन्जिनबाट अत्यधिक नमिठो गन्ध आउने गरेको बताइएको छ । पछिल्लो समय देखिएको सुरक्षाको विषयले पनि सो कम्पनीको कारको व्यापारमा व्यापक गिरावट आएको हो ।

 

कम्पनीका करिब एक दर्जन कारका मोडलमा सुरक्षासम्बन्धी संवदेनशील विषय बाहिरिँदै आएको छ । खासमा सेन्ट्रो कारमा राखिने एयरब्यागमा समेत खराबी पाइएको छ । यसअघि विभिन्न कम्पनीबाट उत्पादन भएका कारहरुमा राखिएका एयरब्याग खराबीका कारण २३ व्यक्तिको मृत्यु भएको क्यानडाको ट्रान्सपोर्टेसन सेन्टी एजेन्सीले खुलासा गरिसकेको छ । नेपालमा भने विना रोकावट अत्यधिक मूल्यमा बिक्री हुँदै आएको छ । यसरी बन्द भएकामा टाटाको नानो, हुण्डाईको इयोन र सेन्ट्रो, होण्डाको ब्रियो र फोर्डको फिगो रहेका छन् । भारतमा सो कम्पनीको सेन्ट्रो कारको बिक्रीमा प्रतिबन्ध लगाएपछि कोरियाली कम्पनी हुण्डाईका गाडी नेपालमै उत्पादन गर्ने भन्दे उद्योग दर्ता गरेर अर्को भ्रम सृजना गरिएको छ ।

 

लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न एसेम्बल कम्पनी खोल्ने गरी उद्योग विभागमा उद्योग दर्ता गराएको बताएको छ । तर सो उद्योगको अहिलेसम्म कुनै काम भएको छैन । अहिले गाडी उत्पादनको लागि कम्पनी दर्ता गरेको लक्ष्मी मोटर्सले वार्षिक आठ हजार गाडी उत्पादन गर्ने भन्दै झुट प्रचार गर्दै आएका लक्ष्मी मोटर्सका प्रमुख अन्जनी श्रेष्ठलाई पटकपटक फोन गर्दा सम्पर्कमा आएनन् । भारतमा नबिकेका कार नेपालमा विभिन्न अफरसहित ल्याइएको छ ।

 

हुण्डाईको इयोन र सेन्ट्रोलाई समेत बजारबाट फेजआउट गरिएको छ । हुण्डाई अटोमोबाइल्स नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई फेस्टिभ डिलाइट योजना र सिमेन्टको खरिदमा कार उपहार भन्ने योजना सार्वजनिक गरेको छ । नेपालको अटोमोबाइल मार्केटको भारतसँग सिधा सम्बन्ध भएकै कारण भारतमा प्रतिबन्ध हुनलागेका सवारीसाधनलाई नेपाल पठाउने समेत गरिँदै आएको छ । यही कारण भारतमा भइरहने अटो गतिविधिको प्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने गरेको छ ।

 

कारहरूमा जडान गरिएको टकाटा एयर ब्याग पड्किने र ज्यानै समेत जाने कारण अनिवार्य रूपमा यसलाई फेर्न कार निर्माता कम्पनीहरूलाई निर्देशन दिइएको थियो । उक्त एयर ब्याग पड्किने, धारिला पदार्थहरू निस्किने र चालकको मृत्यु हुने समेत चेतावनी प्राविधिकहरुले दिएका छन् । हुन्डाइले सेन्ट्रो कार गत वर्ष नेपालमा सार्वजनिक गरेको साधन हो ।

 

हुन्डाई मोटरले सन् २०१८ बाट पुनः उत्पादन गरेको सेन्ट्रो कारमामा प्राविधिक समस्या देखिएको छ । भारतमा सो सेन्ट्रोको मूल्य न्यूनतम ३ लाख ८९ हजार ९०० भारुदेखि ५ लाख २३ हजार ९०० भारुमा बिक्री हुँदै आएको थियो । तर नेपालमा सोही गाडीको २३ लाख ५० हजारदेखि ३० लाख रुपैयाँसम्म असुली गरी उपभोक्तामाथि ठगी कार्य गर्दै आएको छ । नेपाली अटो बजारमा पनि आएको शिथिलतासँगै भारतीय बजारमा गत अप्रिल महिनामा चारपांग्रे सवारीसाधनको बिक्रीमा भारी गिरावट आएको छ ।

(तीब्रखबरबाट रोशन कार्की)


तपाईंको प्रतिकृयाहरू




 


ताजा अपडेट