विमानस्थलभित्रकै पसलबाट डलर तस्करी

प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार

 

नौ वर्षअघि विमानस्थलको स्टेराइज्ड क्षेत्रमा कफीसप सञ्चालन गर्न दिने निर्णय हुँदा निकै विवाद भयो । विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा निजी कफीसप चल्न दिनु सुरक्षाको दृष्टिकोणले गलत भएको सुरक्षा अधिकारीहरूको विश्लेषण थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

 

तर, उच्च राजनीतिक दबाबका अगाडि उनीहरूको केही लागेन । कफी पसलको आवरणमा त्यहाँबाट अवैध धन्दा हुने गरेको आशंका धेरैले गर्दै आएका थिए । जुन शुक्रबार पुष्टि पनि भएको छ । पसलका सञ्चालक सुवास श्रेष्ठ विभिन्न देशका अवैध मुद्रासहित पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानमा उनले पसलबाट विदेशी मुद्राको अवैध कारोबार गर्दै आएको खुलासा भएको छ ।

 

उनको साथबाट २२ हजार एक सय ५० थाई भाट, १० हजार अमेरिकन डलर, ८० हजार चिनियाँ युआन र एक हजार तीन सय ८० युरो बरामद भएको छ । उनकी श्रीमती, दुई छोरी र एक छोरालाई समेत प्रहरीले पक्राउ गरेको छ । राजस्व अनुसन्धान विभागले श्रेष्ठदम्पतीलाई थुनामा राखी कारबाही अघि बढाएको छ ।

 

स्रोतका अनुसार पटक–पटक उनले त्यसरी अवैध विदेशी मुद्रा लैजाने गरेको सूचनापछि प्रहरीले चेकजाँच गरेको थियो । विगतमा उनीमाथि चेकजाँचसमेत हुने गरेको थिएन । स्टेराइज्ड क्षेत्र भनेको सबै चेकजाँच पूरा गरेपछि विमानको प्रतीक्षा गर्ने ठाउँ हो । उनी त्यहीँबाट पक्राउ परेका हुन् ।

 

श्रेष्ठले बरामद विदेशी मुद्राको स्रोत खुलाउन सकेका छैनन् । विदेश जाँदा बढीमा पाँच हजार अमेरिकी डलर बोक्ने पाइने नियम छ । अन्य विदेशी मुद्राको नेपालमा कारोबार हुँदैन । विदेश भ्रमणको उद्देश्यले डलर सटही गर्दा पासपोर्टमा समेत उल्लेख गर्नुपर्ने नियम छ । तर, पक्राउ परेका श्रेष्ठको पासपोर्टमा ती विदेशी मुद्रा सटहीबारे केही उल्लेख छैन । बरामद विदेशी मुद्राको स्रोत नखुलेकाले उनलाई पक्राउ गरी राजस्वमा बुझाइएको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारी बताउँछन् ।

 

चलखेलमा खोलिएको कफीसप

नौ वर्षअघि तत्कालीन पर्यटनमन्त्री शरतसिंह भण्डारीको दबाबमा विमानस्थल कार्यालयले श्रेष्ठलाई पसल चलाउन दिएको स्रोत बताउँछ । पर्यटनमन्त्रीको नेतृत्वमा हुने नागरिक उड्डयन राष्ट्रिय सुरक्षा समितिको बैठकबाटै त्यहाँ पसल चलाउन दिने निर्णय भएको थियो । समितिमा गृह, अर्थ, रक्षा मन्त्रालयका सचिव, प्रहरीका एआइजी सदस्य तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सदस्यसचिव रहन्छन् । भण्डारी नेतृत्वको बैठकमा सुरक्षा अधिकारीहरूले असन्तुष्टि जनाउँदासमेत पसल सञ्चालन गर्न दिने निर्णय भएको स्रोत बताउँछ ।

 

चेकजाँचविनै विमानमा ?

विमानस्थलभित्र पसल चलाउने भएकाले उनले स्टेराइज्ड क्षेत्रको पास सजिलै पाउँछन् । जब कि, प्रहरीलाई समेत आफ्नो ड्युटीबाहेकको क्षेत्रमा जाँदा चेकजाँच हुन्छ । तर, उनीमाथि भने कमै चेकजाँच हुने गरेको थियो । शुक्रबार पनि उनीमाथि चेकिङ नभएको खुलेको छ । सपरिवार थाइल्यान्ड जाने क्रममा उनले नियमित बाटो प्रयोग नगरी भिआइपी बाटो प्रयोग गरेका थिए । त्यसैले उनीमाथि चेकजाँच भएन । उनले स्टेराइज्ड एरियासम्म सहजै अवैध सामान पु-याउने गरेका थिए ।

 

करोडौँ भाडा, स्टे अर्डरका भरमा पसल सञ्चालन

श्रेष्ठले सो कफी पसलको वार्षिक भाडा करिब एक करोड रुपैयाँ तिर्दै आएका छन् । कफी पसल चलाएर वर्षमा एक करोड कमाउन धेरै गाह्रो हुने देखिन्छ । तर, उनले उच्च भाडादार कबोल गरेका थिए । यसका पछाडि अन्य स्वार्थ रहेको बताइन्छ । सुरुमा तीन वर्षका लागि श्रेष्ठले कफीसप चलाउने टेन्डर पाएका थिए ।

 

त्यसपछि विमानस्थल कार्यालयले सम्झौता रद्द प्रक्रिया अघि बढाएपछि अदालतको आदेशका भरमा पाँच वर्षदेखि उनले पसल चलाउँदै आएका छन् । ‘धेरै पसल स्टे अर्डरको भरमा चलेका छन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री भन्छन्, ‘अन्तरिक आदेशविरुद्ध हामी भ्याकेटमा गएका छौँ ।’

 

 

पसलले बढ्दो सुरक्षा चुनौती

विमानस्थलभित्र महँगो भाडामा धेरै पसल सञ्चालित छन् । ‘महँगो भाडा छ, व्यापार खासै छैन, तैपनि यहाँ कोही पसल छाड्न चाहँदैन,’ एक अधिकारी भन्छन्, ‘पसलको आवरणमा अवैध धन्दा हुन्छ भन्ने धेरै पहिलादेखि सुन्दै आइएको छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्री भने चेकिङ सिस्टम प्रहरीले बलियो बनाए विमानस्थलभित्र पसल सञ्चालन हुँदा सुरक्षा चुनौती नहुने बताउँछन् ।

 

विमानस्थलभित्र करिब २० वटा पसल सञ्चालित छन् । जहाँबाट अवैध गतिविधि हुने गरेको प्रहरी स्रोत बताउँछ । पसलहरूकै कारण विमानस्थलभित्र पासको व्यापक दुरुपयोग हुँदै आएको स्रोत बताउँछ । शुक्रबारको घटनापछि विमानस्थलका सुरक्षा व्यवस्थामा केही कडाइ गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
म संगै जापन जाने केटा छ भने मेरो बारेमा अपडेट हेर्नू होला।

के भने प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा

सरकारले गुठी विधेयक फिर्ता लियो

जापान/कोरिया काण्ड पछी अर्काे नेपाली यौनकाण्ड ! जसले हंगामा मच्चायाे (भिडियोसहित)

कांग्रेसको अवरोध संसदीय व्यवस्थामाथिकै धावा : योगेश भट्टराई

कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता, हेलिकोप्टरले खोज्दै

बुढीगण्डकी बनाउँछु भन्दै पेट्रोलबाट उठाएको ३० अर्ब खोई ?

भारतीय मिडियाले तोके अर्चना पनेरुको रेट साढे चार करोड

भोटेकोशी गाउँपालिकाको भौतिक पूर्वाधारको योजनाको घोषणा

नेपालमै नेटवर्किङ वेश्यावृत्ति : स्कुल ड्रेसमै बालिका सहित ८ जना पक्राउपछि खुल्यो यस्तो तथ्य