भुराभुरी भनेर पार्टीमा अपमानित गरे, प्यारप्यार बोली भनेर बैठकमा हप्काए : रञ्जु

प्रकाशित मिति: १८ फाल्गुन २०७५, शनिबार

 

अभियोग १ : विनाअध्ययन र विनादर्शन राजनीतिमा प्रवेश गर्नुभयो । त्यही भएर काठमाडौंको मेयरको उम्मेदवार बनेर जति चाँडो ‘राजनीतिक सेलेब्रिटी’ बन्नुभयो, अहिले त्यसरी गुमनाम हुनुभयो ।

स्थानीय तहको निर्वाचन ०७४ वैशाख ५ गते उम्मेदवारी दिएपछि मात्रै म राजनीतिमा लागेको होइन । ०७० को असोज/कात्तिकदेखि नै म सक्रिय राजनीतिमा छु । यो आरोप यहीँबाट क्लियर गर्दै जाऊँ । म राजनीतिमा लाग्नुको पछाडि केही सामान्य कारण छन् । मेरी हजुरआमाको पालामा पनि नेपाल विकासोन्मुख देश थियो, मेरी आमाको पालामा पनि विकासोन्मुख देश नै थियो । म सानो हुँदाखेरि सामाजिक शिक्षा पढ्दै गर्दाखेरि पनि नेपाल विकासोन्मुख देश हो भनेरै थाहा पाइयो । अहिले मेरा सहपाठीहरू जसले विवाह गरिसके, उनका नानीहरूले पनि त्यही कुरा पढ्दै छन् ।

 

मेरो एउटा प्रश्न थियो । हामीले कति पुस्तासम्म नेपाल विकासोन्मुख देश हो भनेर भनिरहने त ? त्यो प्रश्नको उत्तर खोज्दै जाँदा राजनीतिमा गएर ठोक्कियो । राजनीतिबाटै यसको समाधान छ भन्ने मेरो विश्वास हो । त्यो मात्रै नभइकन नेपाली समाज, त्यसमा पनि पितृसत्ताको जड कति छ भन्ने पनि मैले बुझेँ एकल आमा भएका कारणले । नागरिकता पाउन कति सकस छ भन्ने बुझेँ । बुझ्दै गर्दाखेरि फेरि पनि सबै कुरा ठोक्किने राजनीति र राजनीतिकर्मीमा । पछि गएर तिनै राजनीतिकर्मीहरूले समग्र देशलाई हेरेर बनाउने नीति–नियम रैछ । त्यसैले, म यही क्षेत्रमा लाग्नुपर्छ भन्ने बुझेर राजनीतिमा लागेकी हुँ ।

 

०७४ को स्थानीय चुनाव म जन्मेपछि भएको दोस्रो स्थानीय निर्वाचन थियो । पहिलो निर्वाचनका वेला त म भर्खर बामे सर्दै थिएँ । २० वर्षसम्म स्थानीय चुनाव भएन, त्यसमा म र मेरो पुस्ताको गल्ती छैन । हामी हुर्किँदै गर्दाखेरि कहिले पनि ठेलमठेल नभएको गाडी पनि हुन सक्छ भनेर सपना पनि देख्न सकेका थिएनौँ । ट्राफिक जाम भनेको हाम्रो नियति नै हो, यसलाई भोग्नैपर्छ भनेर हुर्कियौँ । अहिलेसम्म धेरैजनाको दिमागमा त्यही छ । तर, यी सबै गलत कुरा हुन् । यस्ता कुराहरू त स्थानीय सरकारले गर्न सक्छ भन्ने मेरो विश्वास हो । स्थानीय सरकारका बारेमा अध्ययन नै नगरीकन पनि हामीहरू आएका होइनौँ । म र मेरा साथीहरू ‘स्थानीय सरकार भनेको कार्यकारी हो, यसले गर्न सक्ने धेरै कामहरू छन्, कमसेकम आफ्नो सहर–गाउँसम्म त बदल्न सकिन्छ’ भनेरै चुनावमा आएका हौँ । हो, सम्पूर्ण कुराहरू हामीले भनेका मात्रै ठीक छन् वा हामीले मात्रै बुझेका छौँ भनेरचाहिँ म ठोकुवा गर्दिनँ । हरेक दिन नयाँ अध्ययन गर्दै/सिक्दै जानुपर्छ ।

 

दर्शन भन्ने कुरा विकास हुँदै छ म आफैँमा पनि । म कुनचाहिँ दर्शनमा अगाडि बढ्दै छु वा मेरो दर्शन के हो ? व्यक्तिगत रूपमा म के विश्वास गर्दिरछु र पार्टीगत रूपमा यो विवेकशील नेपालीसँग कहाँनिर गएर मिल्यो र मैले त्यो पार्टी छानेँ भन्ने कुरा अहिले विश्लेषण गरेर निष्कर्षमा पुग्दै छु । बिपी कोइराला कतिखेर, त्यो उमेरमा राजनीतिमा आउनुभयो ? अस्ति दिवंगत हुनुभएको पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई नै हेरौँ न । १२/१३ वर्षको उमेरदेखि उहाँले राजनीति सुरु गरेको देखिन्छ । त्यही भएर राजनीति थाल्दा नै सबै अध्ययन भएको हुनुपर्छ भन्ने नहुँदो रहेछ । ऊ अध्ययन गर्न कति तत्पर छ भन्ने कुरा महत्वपूर्ण हो भन्ने मैले बुझेको छु । त्यसकारण मलाई यस्तो आरोप लगाउनेहरूसँग मेरो भन्नु केही छैन, गुनासो पनि छैन ।

 

अभियोग २ : आन्दोलनका लागि तपाईंहरूसँग सिर्जनात्मक एजेन्डा छैनन् । सैद्धान्तिक विचारधारा छैन, विकासको मोडेल पनि छैन । त्यही भएर तपाईंहरूको पार्टी भावना भएको तर विचार नभएको भिडजस्तो मात्रै बन्यो । 

यो आरोप लाग्नु स्वाभाविक हो । किनभने, अहिलेसम्मको राजनीतिक क्षेत्रमा कहिले पनि सिर्जनात्मक, पृथक ढंगले आन्दोलन गरिन्छ वा गरिनुपर्छ भनेर कुनै पनि राजनीतिक दल आएको थिएन । हामी जे जति पढेका हुन्छौँ, सिकेका हुन्छौँ, त्यही कुरा हाम्रो बोली र काममा झल्किने हो । अहिलेसम्म राजनीतिलाई हेर्ने नजर नै एकोहोरो छ । हाम्रो नजर बक्स बक्समा अडिएको छ, कन्डिसन छ । त्यो बक्सभन्दा बाहिरको राजनीति गर्न कोही आयो भने त्यसमाथि शंका गरिन्छ, हामी त्यो शंकाका पात्र बन्यौँ । अर्को कुरा, एकदमै ठोस विचारधारा छैन भन्नेमा मेरो सहमति छैन, विचारधारा छ, तर त्यसलाई हामीले जनतामाझ राम्ररी पुर्‍याउन सकेका छैनौँ, योचाहिँ सत्य हो । जनतामाझ यदि राम्ररी पुर्‍याउन सकेको भए यी आरोपहरू आउने थिएनन् । किनभने हामीले उहाँहरूलाई बुझाउने र उहाँहरूबाट हामीले थप सिकेर त्यसलाई परिमार्जन गर्दै जाने काम हुन्थ्यो ।

 

विकासका मोडेलहरू हाम्रा मात्रै ठीक हुन् भनेर पनि कहिल्यै भनेका छैनौँ । अहिले कार्यान्वयनमा गलत भइरहेको छ । मान्छेहरूको अपनत्व जगाएर काम हुनुपथ्र्यो, त्यो भइरहेको छैन । त्यहाँनिर एउटा समस्या छ । त्योभन्दा बाहेक विकास मोडेलहरू जसरी आए, आइरहेका छन्, ती सही छन् । गर्नुपर्ने कामहरू भइरहेका छन् ।

 

अभियोग ३ : सुसंस्कृत राजनीतिक संस्कारको नारा लगाउनुहुन्छ । तर, तपाईं  आफैं संस्कार र सभ्यतामा कमजोर हुनुहुन्छ । पटक–पटक देशको प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवालाई स्यालबहादुर र पुष्पकमल दाहाललाई फुस्सकमल भनेर सार्वजनिक टिप्पणी गर्नुभयो । 

सत्यतामै टेकेर मैले यो सार्वजनिक टिप्पणी गरेको हो । अहिले यो आरोपको जवाफ दिइराख्दा त्यतिखेरको समग्र प्रसंग के थियो र के प्रसंगमा ती कुराहरू आएका थिए भन्ने पनि याद गर्नुपर्छ । यो प्रसंग तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग लगाउने विषयको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख हुँदा लोकमानसिंह कार्कीले गरेका अनियमितताका प्रमाणहरू हामीसँग थिए । ‘प्रमाण छन्, उनलाई महाअभियोग लगाउनुपर्छ’ भनेर हामीले पटक–पटक दबाब दियौँ ।

 

हाम्रा साथीहरूको लुगा च्यातिने गरेर प्रहरीले भ्यानमा कोचेर लगेको छ अख्तियारको प्रांगणबाटै । हामीले सांसदहरूलाई भेट्न यति कठिनाइ भयो भन्ने कुरा बताएर साध्य छैन । नराम्रो भएको छ, देखिएको छ । लोकमानलाई हटाऊँभन्दा सांसदहरू भेटिँदैनन् । तर, त्यहीँनेर सुशीला कार्की छिन्, जसले अब मेरो अवकाश लिने समय आइसक्यो । त्यही भएर हुर्काउनुपर्ने कामहरू म गर्छु भनेर जब उनले फाइल पल्टाउन थालिन् तब मान्छेहरू काँपेको देखियो । रातारात गरेर १४९ सांसद त उहाँहरूले जम्मा नै पार्नुभयो । मैले यही प्रसंगमा शेरबहादुर देउवा र पुष्पकमल दाहालप्रति मेरो त्यो टिप्पणी आएको हो ।

 

अहिले फर्केर हेर्दा त्यो भाषण मैले दिनुपर्ने थियो र दिएँ । धेरै नेपालीको मनमा त्यस्ता कुराहरू थिए । यो प्रसंग फेरि मैले सानो गौचरणको दोहोर्‍याएँ । एकपटक भनिसकेको कुरा फेरि किन त्यसैको डिफेन्ड गर्‍यौ भनेर साथीहरूबाट टीकाटिप्पणी आयो । तर, मलाई जे सही लाग्छ, त्यही गर्ने हो । हो, मैले नाम नै कोड गरेकी थिएँ । त्यो नामको सट्टा अरू कुनै कुरा भन्न सक्थेँ हुँला, शब्द चयनमा अझ बढी ध्यान दिन सक्थेँ भन्नेचाहिँ मलाई आभाष हुन्छ । शब्द चयनमा मैले ध्यान पुर्‍याउँदा राजनीतिमा आउने आगामी पुस्ता जो राजनीतिमा आउँछ, उसका लागि पनि दरिलो उदाहरण बन्छ ।

 

मेरो त्यो भाषणपछि अरू कुन–कुन भाषण जनताले भेट्नुभएको छ, जसमा त्यस्ता शब्दहरू प्रयोग भएका छन् ? मलाई जनताबाट एभिडेन्स चाहियो । एभिडेन्सका आधारमा नै एक्काइसौँ शताब्दीको नेतृत्वले बोल्नुपर्छ, एक्काइसौँ शताब्दीका जनताले पनि बोल्नुपर्छ । एभिडेन्स आउँछ भने त्यसमा बहस गर्न सकिन्छ ।

 

अभियोग ४ : गोविन्द केसीको आन्दोलनको बलमा मात्रै आफ्नो अभियान चलाउनुभयो, आफ्नै पहिचान बनाउन सक्नुभएन । एउटा टेलिभिजन अन्तर्वार्तामा सुन्दर र समृद्ध काठमाडौं बनाउने ५ विषय बताउँछु भन्नुभयो । तर, चारवटामै अड्किनुभयो । ‘सुगारटाइ गरेका कुरा पनि भन्न सकिन’ भनेर सामाजिक सञ्जालमा तपाईंलाई उडाइयो ।

हामी जसरी भनिरहेका छौँ, त्यसले समग्र मुद्दालाई नै हल्का बनाइरहेको छ । गोविन्द केसीले जुन अभियान चलाए, त्यो एक महिना चलाएर छाडेका होइनन् । उनी लगातार यो अभियान चलाइरहेका छन् ।

 

डा. केसी मात्रै होइन, सामान्य नागरिक वा अन्य कुनै पार्टीकै नेताले पनि एउटा क्षेत्रकै परिवर्तन गर्नका लागि मुद्दा उठाउँथ्यो भने हामी त्यसलाई पनि सहयोग गर्थ्यौ । डा. केसी एकजना व्यक्तिलाई मात्र हामीले हेर्न हुँदैन, मुद्दालाई हेर्नुपर्छ । मेरी आमा शिक्षण अस्पतालमा भर्ना हुँदा मैले त्यहाँ जे–जस्ता दृश्य देखेँ, त्यसले पोलेर म केसीको अभियानमा लागेकी हुँ । डा. केसीबाहेक अरूले त्यो मुद्दा त्यसरी उठाउन पनि सक्दैनथे ।

 

विवेकशील नेपालीको आफ्नो सिर्जनात्मक अभियान छैन, पहिचान भएन भन्ने कुरामा पनि मेरो फरक मत छ । हामीले जे अभियानहरू गर्‍यौँ, त्यो प्रकाशमा आएनन् । त्यही भएर जनताले नजिकबाट देख्न र जान्न पाउनुभएन । ‘नेपाल खुला छ’ भन्ने अभियान हामी अहिले पनि वेलावेलामा गरिरहेका हुन्छौँ । ‘नेपाल बन्दले देश बन्दैन’ भन्ने अभियानको सन्देश हो । बन्दले देश चल्दैन । खुला भए पो अर्थतन्त्र पनि चलायमान हुन्छ, अर्थतन्त्र नै चलायमान भएन भने गरिब देशलाई झन गरिब बनाउने काम मात्रै हुन्छ ।

 

अर्को कुरा उद्यमशील समाज भनेको के हो ? उद्यमी भनेका कस्ता हुन्छन् ? उद्यमीहरूलाई केकस्तो गाह्रो/अप्ठ्यारो पर्छ ? तिनलाई कसरी चिर्ने भन्ने अभियान पनि विवेकशील नेपालीले चलाएको हो । मलाई यी सिर्जनात्मक अभियान नै हुन् भन्ने लाग्छ । तर, यो कुरा जनतालाई बुझाउन सकेका छैनौँ वा जनतामाझ पुगेका छैनन् । त्यसकारण डा.गोविन्द केसीको मुद्दा मात्रै होइन, अरू सिर्जनात्मक मुद्दा पनि हामीले उठाएका छौँ । केसीको मुद्दालाई आफू बलियो भएर, आँट गरेर उठाउनका लागि मात्रै हामीले मद्दत गरेको हो । मद्दत गर्दै गर्दा हामी पनि चिनियौँ ।

 

टेलिभिजन अन्तर्वार्तामा भन्छु भनेकै बुँदा बिर्सिएँ भन्ने विषयमा मेरो सामान्य कुरा छ । त्यो मेरो जीवनकै दोस्रो टेलिभिजन अन्तर्वार्ता थियो । त्यसअघिसम्म मलाई अन्तर्वार्तामा त्यतिधेरै क्यामेराहरू हुन्छन् होला भन्ने पनि थाहा थिएन । त्यो टेक्निकल पाटो भयो । मैले त्यहाँ भन्न बिर्सेको कुरा मेरो मस्तिस्कमै नरहेको हो भन्नेचाहिँ म मान्दिनँ । कहिलेकाहीँ कालो बादलले सूर्य ढाकिएको हुन्छ । यसको अर्थ ‘सूर्य छँदै छैन’ भन्ने होइन । उडाउन पाइन्छ, जिस्क्याउन पाइन्छ, ती भएकै कुरा हुन् । मैले त्यसमै रुवावासी गर्नु जरुरी छैन । त्यो अन्तर्वार्तापछाडि मैले अन्तर्वार्ता कसरी दिने भन्ने कुरा पनि धेरै सिकेँ ।

 

अभियाेग ५ : मिडिया स्टन्ट गर्न पनि माहिर हुनुहुन्छ, निर्वाचनपछि सेल बेचेर जीविका चलाइरहेको प्रचार गर्नुभयो । तर, अहिले त्यो सबै हरायो ।

सेलरोटी सेलाएको छैन । सेलरोटी अर्डर गर्ने मान्छेहरूले अर्डर गर्नुुहुन्न, समस्या त्यो हो । सेलरोटी बढी खाने चाडबाडका वेलामा हो, अरू वेला अर्डर गर्नुहुन्न । साथीभाइहरूलाई ‘लौ न किनिदेऊ’ भन्ने मात्रै हो अहिलेलाई । त्यसलाई व्यवस्थित फर्ममा लान नसकेर पनि यस्तो भएको होला । अबचाहिँ सेलरोटी मात्र होइन, दुईजना पार्टनरसँग मिलेर सेलरोटी र बेकरी सुरु गर्ने तयारी गर्दै छु ।

 

मैले आफैं प्रचार गरेकोभन्दा पनि मिडियाले नै त्यसलाई क्याप्चर गरेर दिएको हो । मैले ‘नगरौँ’ भन्न पनि नमिल्ने । गरिसकेपछि त्यो स्वतः प्रचार हुने भयो । प्रचारका लागि पहिल्यैदेखि मेरो धेरै रुचि थिएन, छैन पनि । यो काम गाह्रो पनि रहेछ, भने जति सजिलो छैन । आफ्नो बिजनेस प्लान बनाउन गाह्रो छ, त्यसमाथि इन्भेस्टर खोज्नुपर्‍यो, इन्भेस्टर खोजेपछि उसलाई विश्वास दिलाउनुपर्‍यो । राजनीतिमा दिइरहेको समयबाट पनि केही समय निकालेर त्यसमा दिनुपर्‍यो । समाजसेवा हो राजनीति । तर, राजनीति गरिरहेका मान्छेहरू अर्को ग्रहबाट आउँदैनन् । राजनीति गरिरहेका मान्छेहरू जोगी पनि होइनन् ।

 

अभियाेग ६ : देशलाई नै एकताबद्ध गर्ने भन्दै राजनीतिक अभियान चलाउनुभयो । तर, आपसमै पनि मिल्न सक्नुभएन । पार्टी एकीकरण गरेको १७ महिनामै फुटेर दुई चिरा हुनुभयो । 

त्यो विभाजन जरुरी थियो । कुनै पनि कुरा गहिराइमा पुगेर हेर्‍यो भने त्यसका अनेकौँ पाटाहरू देखिन्छन् । असली रूप देखिन्छन् । र, जरासम्मै पुग्न सकियो भने समस्याको समाधान पनि निस्कन्छ । विवेकशील नेपाली र साझा पार्टी एकीकरण हुँदाताका हामीले ‘सुसंस्कृत राजनीति हुन्छ, सहभागितामूलक राजनीति हुन्छ, युवामैत्री पार्टी बन्छ, महिलामैत्री पार्टी हुन्छ’लगायतका अनेकौँ प्रतिबद्धताहरू गरेका थियौँ । १७ महिनाको दौरानमा एकीकृत पार्टीभित्र के–के भयो भन्ने कुरा बाहिर सबैलाई थाहा हुँदैन ।

 

जनताले बाहिर देख्ने भनेको एक दिन पार्टी फुटेको मात्रै हो । भित्रका अनेकौँ कुराहरू हामीले देखाउन सक्दैनौँ, देखाउन मिल्दैन पनि । त्यो राजनीतिक संस्कार हो । म अहिले पनि कतिपय आन्तरिक कुराहरू भन्दिनँ । उमेरले आलोकाँचो भए पनि मैले राजनीतिमा थुप्रै अनुभव बटुलिसकेकी छु । त्यो अनुभवलाई ‘जिरो हो, त्यसको मूल्य राख्दैनौँ’ भनेर पनि मर्यादामै प्रहार गर्ने काम भएको छ । त्यो क–कसले गर्‍यो भन्ने कुरा म भन्दिनँ । तर, आन्तरिक संघर्ष नभइकन यी कुराहरू भएका पनि होइनन् ।

 

जुन उद्देश्यले पार्टी एकीकरण भएको थियो, त्यो उद्देश्य परिपूर्ति नहुने देखिसकेपछि विवेकशील नेपालीले कम्तीमा जे सुरु गरेको थियो, त्यसलाई त निरन्तरता दिनुपथ्र्यो । धेरै समयपछि धोखा दिनुहुन्न । अहिले जे छ, त्यो निकालिदिनुपर्छ । यो कुरा चुनावकै संघारमा पनि हुन सक्थ्यो । तर, त्यो झन ठूलो घात हुने थियो । घात गर्नुहुन्न भनेरै पर्खेको हो । पार्टी फुटे पनि साझाका साथीहरूसँग सौहार्दतापूर्वक कुरा हुन्छ । उहाँहरूले गर्नुभएका कार्यक्रमहरू हेर्छौँ ।

 

सामाजिक सञ्जालमा लाइक गर्ने, सेयर गर्ने पनि गरिरहेका छौँ । यो राजनीतिक संस्कार कायम राखेका छौँ । तर, जसरी काम गरिनुपथ्र्यो, गरिन सकिन्थ्यो त्यो हुनै सकेन र अब भविष्यमा पनि हुँदैन भन्ने खुलस्त केही प्रमाणहरू आइसकेपछि अब यसरी यही संगठनमा बस्न मिल्दैन भन्ने भयो । र, पुनः जागृत भएर आयौँ । ०६९ सालदेखि विवेकशील नेपाली जुन थियो, त्यही विवेकशील तर परिस्कृत भयो । किनभने, अनुभव र चोटले धेरै सिकायो ।

 

अभियाेग ७ : एकीकरणको गर्वदेखि नै तपाईं विभाजनको पक्षमा लाग्नुभयो । तपाईंलाई विवेशशील र साझा पार्टीको एकीकरण नै मन परेको थिएन । त्यसैले, दुई पार्टीको एकता सभामै उपस्थित हुनुभएको थिएन ।

विभाजनको पक्षमा म पहिलादेखि नै थिएँ भन्ने कुरा एकदमै गलत हो । त्यसमा म सहमत छैन । एकीकरण घोषणा सभामा उपस्थित नभएका कारण म विभाजनका पक्षमा थिएँ भन्ने कुरा पनि मलाई तर्कसंगत लाग्दैन । हो, मेरा केही फरक मतहरू थिए । मैले ‘यति छिटै एकीकरण गर्नुहुँदैन’ भनेर पार्टीभित्र आफ्ना विचारहरू राखेकी थिएँ । किनभने, हामीहरू ग्राउन्डदेखि आएका थियौँ । एक्टिभिजमबाट आएका थियौँ । हामीकहाँ विज्ञ व्यक्तिहरूको खडेरी नै थियो । शुभचिन्तकहरूका यस्ता टिप्पणी बाहिरबाट एकदमै आउँथे ।

 

हामीले हाम्रो आन्तरिक अवस्थालाई हेर्नुभन्दा पनि उहाँहरूको सुझाबलाई शिरोपर राखेर एकीकरणमा विश्वास गरेका हौँ । स्थानीय तहको निर्वाचनपश्चात् किशोर थापाजीको भोट र मेरो भोटको आधारमा अब एकीकरण हुनैपर्छ, दुईवटा दल राख्नुहुन्नलगायतका कुराहरू आए । दोस्रो चरण र तेस्रो चरणमा म देशैभरि प्रचारप्रसारको लागि हिँडेको थिएँ । त्यस क्रममा पनि देशैभरिबाट मिल्नुपर्छ, जोड्नुपर्छ भन्ने कुरा आयो । फेरि पनि हामीले आंकलन गरेनौँ कि कस्ता व्यक्तिहरूबाट त्यस्तो सुझाब आयो भन्ने । एकदमै विश्लेषण गर्ने व्यक्तिहरूबाट त्यस्तो कुरा आयो कि सतही कुरा गर्नेहरूबाट आयो भन्ने हामीले हेरेनौँ वा बुझेनौँ ।

 

हामीलाई पनि विज्ञता भएका व्यक्तिहरू आउनुभयो भने धेरै सिक्छौँ भन्ने थियो । किनभने, रवीन्द्र मिश्रजीसहित साझा पार्टीका साथीहरूले जुन खालको एक्टिभिजम गर्नुहुन्छ त्यस्तो हामीले पनि गर्न पायौँ भने सुनमा सुगन्ध हुन्छ भन्ने दुवै पक्षको थियो । तर, मेरो बुझाइचाहिँ केही समय उहाँहरूले काम गरेको हेरौँ न भन्ने नै थियो । त्यहाँनेर केही मेसो मिल्दैनथ्यो, एक अर्कालाई राम्ररी बुझ्दैनथ्यौँ । हामीहरू फोहोर सफा गर्दै, टोल सफा गर्दै राजनीतिमा सक्रिय भएका थियौँ । यो उहाँहरूले गर्नुभएको थिएन । यद्यपि, उहाँहरूले त्यसो गर्नुभएन भन्ने मेरो गुनासो होइन । तर पनि, केही कुराहरू, ग्राउन्डका पाटाहरूचाहिँ अझै मज्जाले बुझ्नलाई समय लिऊँ भन्ने मेरो कुरा थियो । तर, एकीकरण भयो ।

 

एकीकरण हुनुभन्दा धेरै अगाडि नै हामी केही साथीहरू मिलेर सोलुखम्बुको दूधकुण्ड जाने भन्ने हाम्रो पूर्वतयारी थियो । त्यही योजनाअनुसार म एकीकरण हुनुभन्दा दुई दिनअगाडि नै हिँडेकी हुँ । म काठमाडौंमा जन्में, हुर्किएँ । त्यसकारण काठमाडौंबाहिर जाँदा जे दृश्य देख्छु त्यो मेरा लागि रोचक र अनौठो लाग्दो हुन्छ । त्यहाँका बाटाघाटा र काठमाडौंमा गरिरहेको राजनीतिलाई हेर्दाखेरिका अन्तरहरू देखेर धेरै कुराहरू बोध हुन्छ ।

 

अभियाेग ८ : पार्टी बैठकमा पनि आफ्ना विचार व्यवस्थित रूपमा राख्न सक्नुहुन्न । त्यही भएर बैठकमा ‘प्यारप्यार बोलेको’ भन्दै नेताहरूबाट हप्कीसमेत खानुभयो ।

पहिलो कुरा त ताजुब छ, यो आन्तरिक कुरा तपाईंले कसरी थाहा पाउनुभयो ? यही कुरो अनौठो छ । बैठकमा कुनै विषयमा यदि मेरो विमति छ र म त्यसको विपक्षमा छु भन्ने लाग्यो भने केही सिनियरहरूको नजरमा म प्यारप्यार बोल्ने हुन्थेँ । कुनै विषयको पक्षमा उभिएर आफ्ना कुराहरू राखेँ भने उहाँहरूले ‘तपाईं उमेरभन्दा पनि बढी परिपक्व हुनुहुन्छ, कस्तो राम्रो बोल्नुभयो’ भनेर धन्यवाद दिनुहुन्थ्यो । मलाई भने यी दुवै टिप्पणी पूर्वाग्रही लाग्थ्यो । तपाईंको वाहवाह गर्दा म परिपक्व हुने र आलोचना गर्दा प्यारप्यार बोलेको सुनिने कुरालाई म कुनै पनि कोणबाट सही भन्न सक्दिनँ, त्यसमा सहमति जनाउन सक्दिनँ । संयोजकले नै ‘यस्ता भुराभुरी’ भनेका छन् । यस्तो तरिकाले एकपटक होइन, कैयौँपटक अपमानित गरिएको छ । अहिले ती सबै कुराहरू बोल्ने ठीक समय होइन । पार्टी बैठकमा तयारी गरेर जाने मेरो बानी छ । त्यसका लागि मैले के–के कुराहरू पढ्न सक्छु, अघिल्लो राति मजाले पढ्छु । यो बानीमा मेरो विश्वास पनि छ ।

 

अभियाेग ९ : उम्मेदवार बनेर जनताका घरघरमा पुग्नुभयो । तर, चुनावपछि दुई वर्ष बित्न लाल्दा पनि फर्केर जानुभएन ।

यो आरोपमा म सहमत छैन । चुनाव सकिएलगत्तै पनि हामीले घरदैलो गरेर धन्यवाद दिएका हौँ । काठमाडौंका मुद्दाहरू उठाउन हामीले छाडेका छैनौँ । नागरिकको घरदैलोमा नपुगे पनि काठमाडौंका मेयर साबकोमा पटक–पटक पुगेर उहाँलाई जनताको काम गर्न झक्झकाउने गरेकी छु । उहाँले राम्रो काम गर्दा धन्यवाद दिन र नराम्रो काम गर्दा सचेत गराउने काम छाडेकी छैन । यद्यपि, काठमाडौंकै कुरामा कन्सन्ट्रेड भएरचाहिँ म लाग्न पाएकी छैन । दुई वर्षमा हामीले जति देखिनुपर्ने थियो, जति काम गर्नुपर्ने त्यो भने हुन नसकेको हो । म त्यसका लागि माफी माग्दै पुनः कार्यक्रमहरू लिएर जनताको घरदैलोमा जान प्रतिबद्ध छु । किनभने, हामीलाई गिल्टी फिल छ । यो गिल्टी फिललाई साँचेर अर्को तीन वर्ष कटाउन चाहन्नँ र कटाउँदिनँ पनि ।

 

अभियाेग १० :  छुवाछूत, नारी उत्पीडन र आर्थिक असमानताका विषयमा पनि तपाईंहरूको स्पष्ट विचार छैन । समाजमा दिनदिनै हुने त्यस्ता अपराधबारे बोल्नुहुन्न ।

विचार छैन भन्ने होइन, विचार थिएन । अहिले नयाँ ढंगबाट जाँदै गर्दाखेरि स्ट्रङ विचार लिएर अगाडि बढ्नुपर्छ, स्ट्रङ नीति लिएर अगाडि बढ्नुपर्छ भन्ने छ । अब हामीसँग खुला स्पेस छ । अभियान, आन्दोलनसँगै घटनाबारे आफ्ना धारणाहरू सार्वजनिक गर्नु पनि महत्वपूर्ण हो । यसको अर्थ त्यत्तिले दायित्व पूरा हुन्छ भन्न खोजेको होइन । समाजमा हुने आपराधिक घटनाविरुद्ध अभियान चलाउन नसकेर हामी चुकेका छौँ । यो कुरा म स्विकार्छु । मान्छेहरूले पनि चुकेको भएरै भनेका होलान् ।

 

अभियाेग ११ :  पार्टी विभाजन रोक्न पहल गर्नुको साटो तपाईंले फुटमै जोड दिनुभयो । विवाद चलिहरहेकै वेला निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताको निवेदन लिएर जानुभयो ।

हो, मैले सशक्तै आवाज निकालेर नै निर्वाचन आयोग गएकी हुँ । तर, त्योभन्दा अगाडि एकताको बिगुल फुक्दै ‘साथीहरू एकीकृत होऔँ’ भनेर पनि पार्टीभित्रै कार्यक्रमहरू चलाएको शीर्ष नेतादेखि लिएर साधारण सदस्यहरू सबैलाई थाहा छ । ‘यस्तो गर्नुहुँदैन’ भनेर मैले आफैं अन्तरक्रियाहरू पनि आयोजना गरेँ । राजनीतिमा अंकगणित त हुन्छ नै तर हाम्रो पार्टीमा अंकगणितको पनि पराकाष्ठा भयो । दुइटा दल एकीकरण भइसकेपछाडि दुइटा दलको इक्वायल फुटिङ हुन्छ । त्यसलाई मान्नुपर्छ । राजनीतिक शब्दमा भन्दाखेरि विवेकशील नेपाली र साझा पार्टी इक्वायल हो ।

 

कुन बिन्दुसम्म भने महाधिवेशनको बिन्दुसम्म । महाधिवेशनपछाडि त्यो असली रूपमा एकीकरणमा जान्थ्यो, महाधिवेशनको म्यान्डेटले पार्टीमा नयाँ नेतृत्व आउँथ्यो र त्यसपछि नेतृत्व पंक्ति एउटा हुन्थ्यो । तर, महाधिवेशनसम्मै पुगेको छैन, महाधिवेशन पनि कसरी फेयर गराउन सकिन्छ भन्नेसम्मको आवाज उठ्नु भनेको डरलाग्दो कुरा थियो । म फेरि पनि भन्छु इक्वेल फुटिङमा आइसकेपछि इक्वेल हुनुपर्छ । र, पाँच वर्षको राजनीतिक अनुभव अनुभव नै होइन, जिरो हो भनेर भनिनुहुन्नथ्यो ।

 

पार्टी एकीकरण भएर धेरै अगाडि आइसकेपछि एकजना संयोजक उज्ज्वल थापाले ‘पार्टी गलत दिशामा जाँदै छ, त्यसलाई सही बनाऊँ’ भनेर १८ पाने प्रतिवेदन निकाल्नुभयो । यसलाई केन्द्रीय कमिटीको एजेन्डासमेत बनाइएन । त्यहाँनिर गलत भयो । त्यसको सट्टामा लेखियो, ‘पार्टीमा अहिले चलिरहेको गतिरोधबारे छलफल भयो ।’ त्यो थप गलत थियो ।

 

त्यतिखेर आमसाथीहरूबीच ‘अब पार्टी दुईवटा हुने भयो, एकजना संयोजक असन्तुष्ट छ, अर्को सन्तुष्ट छ’ भन्ने डर देखिन थालेको थियो । त्यतिखेर मैले एकताको विगुल फुक्दै साथीहरूलाई ‘त्यस्तो हुन दिनुहुन्न, हामी एक हौँ’ भन्दै एकीकृत राख्नका लागि पहल गरेँ । त्यसरी हिँड्दाहिँड्दै पनि पर्दापछाडि अनेकाैं तिगड्म भए । ती तिगड्महरूलाई आत्मसात गर्दै, अंगीकार गर्दै, यही सुसंस्कृत राजनीति हो भन्दै, त्यसमै स्टाम्प लगाउँदै हिँड्न त रन्जु राजनीतिमा आएकी होइन नि । रन्जुको क्यारेक्टर पनि त्यो होइन । सहनुको पनि एउट सीमा हुन्छ नि ।

 

मलाई के लाग्छ भने यो संघर्षपछि आएको रूपान्तरण हो । यसले केही न केही नतिजा दिएरै छाड्छ । अर्कोचाहिँ मलाई के लाग्छ भने वैकल्पिक राजनीतिक दलमा अथवा वैकल्पिक राजनीतिक दर्शन बोकेका छौँ भनेर ठोकुवा गर्ने हाम्रो पार्टीमा चाहिँ संयोजकको मात्रै प्रतिवेदन होइन, साधारण सदस्यले पनि गहन अध्ययन गरेर प्रतिवेदन निकाल्नेदेखि त्यो प्रतिवेदनलाई छलफल गर्ने केन्द्रीय समितिभित्र स्पेस दिनुपर्छ । त्यो नै खास वैकल्पिक राजनीतिक पार्टी हो । हाम्रोमा संयोजकले नै ‘यस्ता भाराभुरी’ भनेका छन् । त्यो नै गलत छ ।

(खगेन्द्र पन्त नयाँपत्रिकाबाट)


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
कम्युनिष्ट नेता यस्तरी कुहिँदा

माझी बस्तीको लागि अस्ट्रेलियाबाट आर्थिक सहयोग

सगरमाथाकाे उचाइ नाप्ने सरकारी टोली शिखरमा, सगरमाथाको उचाइ ८,८५० मिटर

भिडण्तमा प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ताको मृत्यु

श्रीमती मनकुमारीले डिभोर्स गर्ने भएपछि ९ जनाको हत्या

पहिलो पटक सेक्स गर्दै हुनुहुन्छ ? यो कुरामा ध्यान दिनुहोस्

‘तिम्रो मायाले बाधेर राख’ भन्दै यति मिठो आवाजमा गित गाईन डान्सर तेरिया मगरले ! सगर आलेको यस्तो साथ रहयो (भिडियोसहित)

नेटवर्किङ व्यावसायका मास्टरमाइन्ड विष्णु क्षत्री कहाँ छन् ?

ऋषि धमलाको सासू झनै कडा, “छोरी, ज्वाई”को सम्बन्ध बारे यस्तो भन्छिन् ! (भिडियो हेर्नुहोस)

न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्वारा आयोजित रास्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता ०७६ सम्पन्न (फोटो फिचर)