नेता कृष्ण सिटौला भन्छन सभापतिले नै गुट चलाएपछि पार्टी समाप्त हुन्छ

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार

 

 

काँग्रेसमा केको विवाद हो, जब कि नेताहरूले केन्द्रीय समिति बैठक नै बहिस्कार गर्नुपर्ने अवस्था आयो ?

बैठक बहिस्कार त होइन, स्थगितसम्म भएको हो ।

 

बैठक बोलाएको समयमा बैठक हलमा नेताहरू नगएपछि त्यसलाई बहिस्कार नभनेर के भन्ने त ?

यसलाई तपाईंले आफ्नो सुविधाअनुसार बुझ्न सक्नुहुन्छ । तर बहुमत र अल्पमतबाट गरिने प्रक्रियालाई रोकेको अवश्य हो । विधान पास गर्ने बेलामा पनि यो प्रयास गरे पनि सकिएको थिएन, तर आइतबार सफल भइयो ।

जसरी पार्टीको विधानको विषयलाई लिएर बहुमतको आधारमा सभापतिले निर्णय गराउनुभयो, जुन कुरा गलत थियो । आजको समग्र देशको राजनीतिक परिस्थितिलाई मूल्याङ्कन गर्दा नेपाली काँग्रेस पार्टीभित्र बृहत् एकता खोजी गर्नुपर्छ । परस्परमा विश्वास र समझदारी निर्माण गर्न सक्नुपर्छ । त्यसमा पनि विधानजस्तो विषयमा त यो अनिवार्य नै हुन्छ, जुन विषयलाई महासमितिको बैठकले नै टुङ्ग्याइसकेको छ । दुईवटा विषयमा महासमिति बैठकले केन्द्रको ध्यानाकर्षण गरको हो ।

 

केन्द्रका पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन सदस्य बन्ने व्यवस्था खारेज गरेर तलबाटै निर्वाचित भएर आउने व्यवस्था गर भन्ने र समानुपातिक समावेशी सुविधा पटक–पटक एउटै व्यक्तिमा नदोहोरियोस् भन्ने अर्को विषय हो । यी दुई विषय पार्टी विधानमा राख्नुपर्छ भनिएको हो । यही कारण ५ दिनको महासमिति बैठक नौ दिनसम्म चल्न पुग्यो । अन्ततः नौ दिनका दिन सभापतिले नै यो प्रस्ताव गर्नुभयो, यी माग पूरा गरिन्छ, विधान पारित गर्दिनुस् भनेपछि महासमिति बैठकमा उपस्थित सदस्यहरूले ताली पड्काएर उत्साहित हुँदै विधान पारित गर्नुभयो ।

 

त्यसपछि समापन समाहरोहमा भएको त्यो परिदृश्य पनि आम पब्लिकबीचको नै हो । त्यो खुला सत्र र प्रेसको सामुन्ने बोलेको कुरा पनि हो । त्यो समाचार त्यसको भोलिपल्ट सबै सञ्चारमाध्यममा अब पार्टीको विधान यस्तो बन्नेछ भन्ने पनि आइसकेको छ । तर अहिले आएर केन्द्रीय समितिले परिमार्जन गर्ने बेलामा केन्द्रका केही साथीहरूले मान्नुभएन भनेर सभापतिले आफूपक्षीय बहुमत देखाएर निर्णय गर्नु सरासर गलत हो ।

 

विधान संशोधन गर्ने अधिकार महासमितिलाई मात्रै हुन्छ, केन्द्रीय समितिलाई छैन । केन्द्रीय समितिले त विचारहरूलाई व्यवस्थित मात्र गर्ने हो । त्यति लामो महासमिति  बैठक बसेर समिति सदस्यहरूले उठाएका विचारहरूको अपमान पनि गरियो । साथै भएको एकतामा पनि चोट पर्यो  भनेर हामीले नोट अफ डिसेन्ट लेख्यौँ । मैले यी दुईवटा विषयमा महासमिति र केन्द्रका साथीहरूको भावनालाई कसरी व्यवस्थापन गर्न सकिन्छ सोचौँ, बहुमतको आधारमा निर्णय नगर्नुस् सभापतिजी भनेको थिएँ तर उहाँले मान्नुभएन ।

 

यसरी निर्णय गरेलगत्तै विधान प्रिन्ट भएर हातमा आइसकेको छैन । साथीहरूले पाइसकेका छैनन् । यहीबेला अनुशासन समिति र निर्वाचन समिति गठन गर्न बैठक बोलाउनुभयो । यस विषयमा पनि सहमति हुने लक्षण थिएन । मैले त पदाधिकारी बैठकमा बूढानीलकण्ठमै पनि सहमति हुनसक्छ भने मात्रै बैठक राख्नुस् नत्र नराख्नुस भनेको थिएँ । अरू बढी क्षति हुन नदिनुस् । यदि त्यसो गरे काँग्रेसमा झन् ठूलो क्षति हुन्छ भन्दाभन्दै उहाँले मङ्गलबार बैठक बोलाउनुभयो । बैठक सञ्चालन पनि गर्न खोज्नुभयो । तर हामी त्यो बैठकमा गएनौँ ।

 

बैठक स्थगित गरेपछि सभापति देउवासँग केही कुरा गर्नुभयो कि ?   

भयो । मैले पार्टीभित्र राम्रो वातावरण बनाउनुस्, यदि वातावरण भएन भने पार्टी दुर्घटनामा पर्नसक्छ भनेर सुझाव दिएँ ।

तर अब तपाईंहरूको सुझाव सभापतिले कार्यान्वयन गर्नुहोला त ?

कार्यान्वयन गर्नुहुन्छ वा हुन्न त्यो उहाँको कुरा हो । सभापति भएपछि स्वतः उहाँको बहुमत पुग्छ । तर हामी बुहमत–अल्पमतबाट गरिने निर्णयलाई अब निरन्तर रोक्छौँ ।

 

कुन–कुन विषयमा सहमतिका आधारमा निर्णय गर्ने र कुनकुन विषयमा बहुमत र अल्पमतबाट निर्णय गर्ने, त्यो छुट्याएको छ काँग्रेसले ?

आजका दिनमा पार्टी सञ्चालनका विषयमा समग्र विषयमा सहमति जुटाएर हिँड्नसके पार्टी पनि सफल हुन्छ । साथै सफलतको मुख्य श्रेय सभापतिले नै पाउनुहुन्छ । अब सभापतिले गुट चलाउने होइन, पार्टी चलाउने हो । पार्टीका तमाम नेता कार्यकताहरूले सभापतिलाई इन्स्टिच्युसन हेडका रूपमा देख्न पाउनुपर्छ । जब कि कुनै एउटा टिमको लिडरको रूपमा होइन । सारा कार्यकर्तालाई नेतृत्व गर्ने नेताका रूपमा देख्न पाउनुपर्छ । त्यो रूपमा उहाँले आफूलाई उभ्याउन सक्नुभयो भने पार्टी पनि सफल हुन्छ र उहाँ पनि सफल सभापति बन्नुहुन्छ ।

 

तर तपाईंले यसो भन्दै गर्दा सहमतिका नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले भागबण्डा खोजेर पार्टीलाई नै अनिर्णयको बन्दी बनाउन खोजे भनेर संस्थापनपक्षले भनेको छ नि ?

भागबण्डा कुन अर्थमा भन्नुहुन्छ ? उहाँहरूको त्यो पुरानो धङधङी हो । यसो भन्नेहरू पुरानो नसाबाट मुक्त हुन नसकेका हुन् । अहिले पार्टीको आन्तरिक परिस्थिति मूल्याङ्कन गर्दा भागबण्डाको कुरा कसैले गरेको नै छैन । जतिबेला महाधिवेशन भएर सभापतिमा देउवा निर्वाचित हुनुभयो, उहाँको कार्यकाल र मुख्य परिणाम हेर्ने भनेको निर्वाचन नै हो, त्यो हेरिसकियो ।

पहिलो पटक नेपाली काँग्रेस पार्टी निर्वाचनताका सैद्धान्तिक विचलनमा गयो । चुनाव हारजित ठूलो कुरा हुन्न । तर, चुनावमा सैद्धान्तिक विचलन आउनु हाम्रो पार्टी सिस्टममा धेरै ठूलो कुरा मानिन्छ ।

 

निर्वाचनमा काँग्रेस कसरी सैद्धान्तिक विचलन आयो ? 

देख्नुभएन ? चुनावमा कहीँ हलोमा भोट हालेको छ, कहीँ गाई, मधेसीलाई त कहीँ नयाँ शक्तिलाई भने मसाललाई ! फेरि पार्टी एलाइन्स कहीँ छैन । व्यक्तिका आधारमा अरू पार्टीका नेतालाई सघाउने नाममा अरूलाई भोट हाल्ने काम भयो । गएको निर्वाचनमा भएको सैद्धान्तिक विचलनले त्यो बाटो नहिँड है भनेर हामीलाई परिणाम दिइसक्यो ।

 

एउटा पार्टी, जसमा सद्धान्तिक विचलन आइसकेपछि त त्यो पार्टी आउट अफ ट्र्याकमा गयो भनेर बुझ्दा गलत हुन्न ?

चुनावका बेला त्यसो गर्दा रणनीतिक र कार्यनीतिक दुवै हिसाबले कमजोर भएको प्रष्टै छ । अब त्यो विषय धेरै कोट्याउन म चाहान्न । त्यसको निर्वाचनको परिणामको रियलाइजेसन गर्दै पार्टीमा बृहद एकता गर्न सक्नुपर्दैन ? पार्टीको विधानजस्तो विषयमा महासमितिले भनेको नमान्नु र बहुमतको आधारमा निर्णय गर्नु त्योभन्दा ठूलो ज्यादति के हुनसक्छ ? त्यही टे«न्डमा अनुशासन समिति बन्ने, निर्वाचन समिति बन्ने हुन थाल्यो भने पार्टीमा अरू बढी क्षति हुने भयो ।

 

अहिलेसम्म नयाँ संरचनाको विधान बनेको छैन, पार्टीका संरचना उस्तै लथालिङ्ग र भताभुङ्ग छन । भ्रातृ सङ्गठनहरूको अवस्था त्यस्तै छ । यसमा सबै दोष सभापतिलाई मात्रै दिएर तपाईंहरू उम्कन मिल्छ ? यसको नैतिक जिम्मेवारी लिनुपर्दैन ?

सभापतिले महाधिवेशन सकिएपछि तुरुन्त विभाग र समितिहरू गठन गर्नुपथ्र्यो, त्यो उहाँले गर्नुभएन । अब अहिले महासमितिले विधानमा नयाँ संरचनाको परिकल्पना गरेपछि त त्यो संरचनामा जान सबैलाई साथ लिएर जानुपर्दैन ? विधान आफै कार्यान्वयन हुने त होइन । त्यसका लागि नियामावली बनाउनुपर्छ । परस्परमै अविश्वास छ । जे पारित भयो, त्यो छापिन्छ भन्ने नै विश्वास छैन । यसले आज काँग्रेसको केन्द्रीय वृत्तमा परस्परमा अविश्वास भएकै हो भन्ने देखाउँछ । स्वयम् सभापतिले गुट चलाएपछि के हालत हुन्छ पार्टीभित्र ? यसमा धेरै व्याख्या गर्न चाहान्न तर थप त्यस्तो दुर्घटना नहोस् भन्ने मेरो भनाइ हो ।

 

एक महिनादेखि जारी केन्द्रीय समिति बैठक बस्दा यो बीचमा असहमतिहरूलाई सहमतिमा रूपान्तरण गर्न सभापति र तपाईंहरूबीच आन्तरिक छलफल भएन ?

खासै छलफल नै भएनन् । छलफल भएका भए त सहमति भइजान्थ्यो नि । सोमबार उहाँहरू रसुवा गएर फर्कनुभयो, साँझमा बोलाउनुभयो पदाधिकारीसहित म पनि थिएँ । मैले त्यही आफ्नो कुरा सर्वसम्मत हुने भए बैठक बोलाउनुस् नत्र नबोलाउनुस् भनेर हिँडँे । हतारिएर निर्णय गरेर पछुताउनुभन्दा संयमित भएर, सबै साथीहरूलाई समेटेर अगाडि जानुस् सभापतिजी भनेर मैले त पटक पटक भन्दै आएको छु ।

 

तपाईंहरूले चुनावयता त्यस्ता सुझाव धेरै पटक सभापतिलाई दिनुभयो तर सभापतिले ती सुझाव एक कानले सुन्ने र अर्कोले उडाउने गरेको पाइन्छ । यस्तै भइरहने हो भने काँग्रेसको गति कस्तो होला ?

हाम्रो सभापति त शेरबहादुर देउवा नै हो नि ! सुझाव दिने काम हाम्रो हो । पार्टीलाई नेतृत्व गर्ने त उहाँले नै हो । उहाँले चाहँदा पार्टीभित्र बृहद एकता हुन्छ र उहाँले चाहँदा भएको एकता टुट्न पनि सक्छ । यो अवस्था भएकाले एकता टुट्न नदिन सुझाव दिइरहनुपर्छ भन्ने मेरो भनाइ हो ।

 

पार्टी एकता र सङ्गठन बलियो बनाउनपर्छ भन्ने चिन्ता सभापतिलाई नभएर हो त ?

पवरमा पुग्ने मान्छेलाई त्यस वरिपरि बस्ने मान्छेले प्रायः सन्काइरहन्छन् । भक्तिभाव र फुक्र्याएर कुरा गर्न चाहन्छन् । त्यो पावरले कुर्सीमा बस्ने मान्छेलाई अन्धो पनि बनाइदिन्छ । यो प्रसङ्ग सरकार चलाउने र पार्टी दुवैमा लागू हुन्छ । सरकारमा पनि पावरमा पुग्ने मानिसहरू कहिलेकहिले आफ्ना वरिपरिका मान्छेहरूको प्रशंसाबाट बडो अन्धो भएर विवेक गुमाइरहेका हुन्छन् । त्यसो हुँदा उनीहरूमा दम्भ र अहंकार बढ्दै गएको हुन्छ । पार्टी पनि एउटा सत्ता नै हो । पार्टीभित्र पनि सभापति वा अध्यक्षको कुर्सीमा पुग्ने मान्छले ठूलै गल्ती गर्नसक्छ । उसले गरेको गल्तीले पार्टीलाई ठूलो क्षति हुनसक्छ । तर गल्ती हुन नदिन जिम्मेवार व्यक्तिहरूले निरन्तर सुझाव दिइराख्नुपर्छ । एक पटक दिएको सुझाव सभापतिले मान्नुभएन भनेर सुझाव दिन छाड्नु हुँदैन । थाक्नुहुँदैन ।

 

 

तर सभापति मात्रै होइन, अरू नेताहरू पनि पार्टीको विधिविधान र आचारसंहिता विपरीत खुलेआम बोल्ने र एकले अर्काको चर्को विरोध गर्ने गरेको पाइन्छ । के काँग्रेसमा आवाश्यकभन्दा अलि बढी स्वतन्त्रता भएर त यस्तो अराजकताको अवस्था आएको होइन ?

लोकतन्त्रसँग जोडिएको प्रश्न हो यो । लोकतन्त्र शासकहरूका लागि कठिन र जनताका लागि सहज विषय हो । पार्टीभित्र पनि आन्तरिक लोकतन्त्र सभापतिका लागि अलि गाह्रो विषय हुन्छ भने कार्यकर्तालाई सहज । लोकतान्त्रिक माध्यमबाट देश बनाउन पनि प्रधानमन्त्रीले धेरै मिहिनेत गर्नुपर्छ । पार्टी बनाउन सभापति या अध्यक्षले मिहिनेत गर्नुपर्छ । सबैको सल्लाह र साथ लिएर हिँड्नुपर्छ अनि मात्रै सफल होइन्छ । कठिन काम गर्न कठिन मिहिनेत नै गर्नुपर्छ ।

 

आजका दिनमा काँग्रेस एउटा कठिन परिस्थितिमा छ । चुनौतीहरु छन् भने अवसरहरु पनि छन् । यही अवस्थामा काम काँग्रेसले काम पनि गर्नुपर्ने छ । त्यसका लागि पहिलो व्यक्ति भनेको सभापति नै हो । उहाँले नै कम्मर कस्नुपर्छ । चुनौतीहरूको समना गर्न सबै साथीहरूको साथ जुटाउनुपर्छ । त्यसकारण काँग्रेसको लोकतान्त्रिक अभ्यास पनि आन्तरिक ढङ्गले हुन्छ र परिचालन पनि लोकतान्त्रिक तरिकाबाटै हुन्छ । अनि लोकतान्त्रिक पद्धति भनेको बहुमतको तानाशाही त होइन ।

 

तपाईंको भनाइ सभापति तानाशाही बन्न खोज्दा यो अवस्था आयो ?

घटनाक्रम हेर्नुस् त्यही देखिन्छ । उदाहरणकै लागि प्रधानमन्त्री एउटा पार्टीको मात्रै त हुने होइन । केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । नेकपाको नेताको हैसियतमा । तर, उहाँको जिम्मेवारी कम्युनिस्ट पार्टीप्रति मात्रै हुँदैन । देशप्रति, जनताप्रति आम विषयप्रति जिम्मेवार र उत्तरदायी भएर काम गर्नुपर्छ । त्यस्तै पार्टी सभापतिले पनि आफ्नो टिमबाट जित्नुभयो । जितिसकेपछि त पार्टीका सबैको सभापति बन्नुभएकाले सबैको भावनाबमोजिम बृहत् एकता निर्माण गरेर हिँड्न सक्नुपर्दैन ? त्यसकारण यो लोकतान्त्रिक पद्धति शासकहरूका लागि गाह्रो, जनता र पार्टी कार्यकर्ताका लागि सहज विषय भनेको हो ।

 

हामीले खोजेको पार्टी पद्धतिभित्र र जनतालाई सहज व्यावस्था नै हो । नेताका लागि सहज व्यवस्था ल्याइएको होइन यो । त्यसकारण काँग्रेसभित्रको कुरा गर्दा हाम्रो सभापतिले पनि पार्टीको इस्युभित्र मात्रै रहेर भन्नुपर्दा सभापतिले पार्टी सङ्गठन निर्माण लोकतान्त्रिक ढङ्गले गर्नुपर्छ । अधिवेशनहरू गर्नुपर्छ । पार्टी भनेको काँग्रेसभित्रको संरचना हो, सबै भ्रातृ संस्थाहरूको अधिवेशन गर्नुपर्छ । मनोनित गर्ने र तदर्थवादको सिस्टमबाट पार्टीलाई बचाउनुपर्छ । जस्तो अहिले नेविसङ्घ तदर्थवादमा पुग्न लागेको छ, जसले गर्दा आफू आफै झगडा गरेका छन् । यो दुःख लाग्दो अवस्था हो । नेतृत्व सम्हाल्न चौडा छाती बनाउनुपर्छ । उदार चित्त पनि राख्नुपर्छ । फराकिलो सोच बनाउनुपर्छ । साहसिलो काम गर्दै गर्दा संयमित पनि हुनुपर्छ ।

 

काँग्रेसमा तपाईं कुनैबेला गिरिजाप्रसाद कोइराला नजिक भएर काम गर्नुभयो । उहाँको कार्यकालमा पनि विधि विधान एकातिर हुन्थे तर कोइरालाले जे भन्यो त्यही लागू हुन्थ्यो, त्यसबेला देउवाहरू विरोध गर्नुहुन्थ्यो । अहिले त्यो ठाउँमा देउवा हुनुहुन्छ । तपाईंहरू विरोधमा फरक त्यति त हो नि होइन ?

गिरिजाप्रसाद कोइराला जीवनको उत्तराद्र्धमा धेरै लिबरल बनेर काम गर्नुभयो कि पार्टीबाट हिँडेका देउवालाई पुनः ल्याउनुभयो । कम्युनिस्टको खिलाफमा बोल्ने उहाँले माओवादीजस्तो बन्दुक बोकेर हिँडेको पार्टीलाई देशको मूल धारमा ल्याउनुभयो र सहमतिको नेता बन्न सफल बन्नुभयो गिरिजाप्रसाद कोइराला । अन्तरपार्टीको कुरा होइन, मैले काँग्रेसभित्रको कुरा गरेको हो ।

 

फुटेको काँग्रेसलाई जोड्नुभयो त । देउवालाई पार्टीमा फर्काएपछि मर्यादामा आफूपछि दोस्रो स्थानमा राख्नुभयो । तर अर्को अधिवेशन नगर्दै उहाँको मृत्यु भयो । त्यसकारण गिरिजप्रसाद कोइरालाको जीवनको राम्रो विश्लेषण गर्नुभयो भने, उहाँ अत्यन्त धेरै लिवरल बनेको इतिहास छ । हिजो तथानाम भनेर छोडेर हिँडेकालाई जोड्दै उचित मान, मर्यादा र पद दिनुभयो । साँच्चै भन्ने हो भने गिरिजाले पार्टी फुटाएर गएकाहरूलाई पुनः फर्किदा बढी मान्यता दिनुभएको हो, जसले बृहत्तर पार्टी एकता हुन सकेको थियो । साथै उहाँमा पार्टीभित्र र देशको राजनीतिमा पनि व्यापक उदारवादको सोचाइ थियो । उहाँले राष्ट्रपतिको पद विवाद हुन लागेपछि इच्छा नै देखाउनुभएन । त्यसपछि नै सबै पार्टीले गिरिजाप्रसाद कोइरालालाई संयोजक मान्न अन्य दलहरू सहमत भए ।

 

उहाँले सहमतिको छाप छोडेर जानुभएको छ । त्यो भनेको सहमति गर । त्यसका लागि नेताहरू उदार बन । फराकिलो सोच । निजी स्वार्थबाट माथि उठ । राष्ट्रिय स्वार्थमा समाहित होऊ । परस्परमा विश्वास कायम गर । गिरिजाप्रसाद कोइरलाले फुटेको पार्टी जोड्दा के अरूलाई पेल भनेर सन्देश दिनुभयो कि जोडेर हिँड भन्ने सन्देश दिनुभयो या पेलेर हिँड भन्ने ?  आज शेरबहादुरले त्यसैलाई फलो गर्न किन नमान्ने ? जुन उदार दृष्टिकोणबाट गिरिजाबाबुले मलाई स्वीकार गर्नुभयो सम्मानसाथ । त्यही सम्मानसाथ शेरबहादुरले आज पार्टीभित्रका फरक विचारलाई स्वीकार गर्नसक्नुपर्छ ।

 

अहिलेको अवस्था विलकुल फरक छ । त्यतिखेर माओवादी आन्दोलन थियो । अहिले त शान्तिपूर्ण  स्थिति छ, यस्तो बेलामा पार्टी मिलाउन नसक्नुको कारण के हुनसक्छ ?

त्योभन्दा मुख्य कुरा आजको परिस्थिति काँग्रेसका लागि सबैभन्दा कठिन छ । तपाईंले हिजोको अवस्थाको विश्लेषण गर्नुभयो । त्योभन्दा कठिन परिस्थिति आज छ । काँग्रेसको नेतृत्वमा संविधान आयो । काँग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न भयो । सबै तह काँग्रेस पराजित भएर बसेको अवस्था छ । स्थानीय तहमा पनि हामीभन्दा कम्युनिस्ट पार्टी निकै ठूलो बनेको अवस्था छ । यो अवस्थामा काँग्रेस पार्टीभित्र बृहत् एकता खोज्नुपर्छ सभापतिले । भएको एकता टुट्न दिनु हुँदैन ।

 

अझै एकता जोड्दै जानुपर्छ । साथीहरूलाई जोड्दै जानु पर्छ । पार्टीलाई फराकिलो रूपमा विस्तार गर्दै जानुपर्छ । विचारले पनि विस्तार गर्नुपर्छ, सङ्गठनले विस्तार गर्नुपर्छ र नेतृत्वले विस्तार गर्नुपर्छ । अनि काँग्रेसकै नेतृत्वमा देश सङ्घीयतामा जाने, काँग्रेसकै नेतृत्वमा देशले संविधान पाउने, पार्टी एकतात्मक भएर बसिराख्ने । पार्टीभित्र समस्या छ नि ? त्यो समस्याबाट पार्टीलाई निकालेर सङ्घीय संरचना लिएर जान त दु्रतगतिमा काम गर्नुपर्छ ।

 

काँग्रेसलाई कठिन परिस्थितिबाट बाहिर निकाल्न के गर्नुपर्छ त ? तपाईंलाई त्यसको निकास के हुन सक्छजस्तो लाग्छ ?

त्यसका लागि एकहोरो दृष्टि राखेर सभापति हिँड्नु हुँदैन ।

 

अब तपाईंलाई ल्यायो रामचन्द्र पौडेल बटारिने, राचन्द्र पौडेललाई ल्यायो तपाईं बटारिने गर्दा मिलाउन समस्या भयो भन्ने संस्थापनको गुनासो छ नि ?

मैले भनेको छैन । विधानको इस्युमा रामचन्द्र र कृष्ण सिटौलाको विषय होइन ? महासमितिको बैठकले गरेको निर्णय केन्द्रीय कार्यसमितिबाट बहुमतले निर्णय गरेर उल्ट्याउने अधिकार त कसैलाई छैन ।

 

तपाईंहरूले लिखित रूपमै फरक मत राख्नुभयो । विधान पारित पनि भयो । अब के गर्नु हुन्छ त ?

हो, हामीले लिखितमै फरक मत राखेका छौँ । विधान पारित भयो तर यो इस्यु महाधिवेशनसम्म बाँकी रहन्छ । हामी गलत भयो भनेर भन्छौँ ।

यो हेर्दा त पार्टीभित्रको विवाद लम्बिने भयो नि ?

पार्टीको सङ्गठन निर्माण गर्ने काम पनि जारी रहन्छ । पार्टीभित्रको वैचारिक इस्यु पनि जारी रहन्छ ।

 

विधानको विषय महाधिवेशनमा गएर टुङ्गिने भयो त ?

अहिले त उहाँहरूले विधानको विषय बहुमतले टुङ्ग्याउनुभयो । केके राख्नुभयो, केके ल्याउनुभयो ? अब देशभरका जिल्ला सभापतिहरूको र महासमितिका साथीहरूको त्यसमा विचार कसरी आयो ? उहाँले अब एउटा छलफलको नयाँ द्वार खोल्दिनुभयो, जुन आवश्यक थिएन । नयाँ द्वारले सङ्गो पार्टी र कसैलाई पनि फाइदा गर्दैन । नयाँ ढोका खोलेपछि छलफल हुन्छ नै । अझै पनि त्यसलाई सभापतिजीले व्यवस्थापन गर्न सक्नुहुन्छ । त्यो विचारबाट नयाँ निकास पनि निकाल्न सक्नुहुन्छ । सम्भावना बाँकी पनि छ । राजनीतिमा सम्भावना जहिले पनि रहन्छ ।

 

महाधिवेशन भएको लामो समयसम्म पार्टी लथालिङ्ग, भताभुङ्ग भयो भनेर तपाईंलगायत केही नेता कार्यकर्ताले भनिरहँदा अर्को महाधिवेशन आउने बेला भइसक्यो । अब तपाईंहरूलाई यही मुद्दाले अर्को महाधिवेशनमा जानलाई थप बल पुग्नेभयो भन्ने एक किसिमको विश्लेषण छ नि ?

महाधिवेशनको दृष्टिकोणले र प्रतिस्पर्धाको दृष्टिकोणले यो बहस भएको होइन ।

यो बहस खाली पार्टीको विधान, पद्धति, महासमिति बैठकको महत्त्वलाई लिएर भएको हो । हाम्रो पार्टीको सर्वोच्च निकाय भनेको महाधिवेशन र त्यसपछिको महासमिति अनि मात्र केन्द्रीय समिति हो । महासमितिले दिएको म्यान्डेट त केन्द्रीय समितिले अनिवार्य रूपमा मान्नुपर्छ । महासमितिको निर्णय, म्यान्डेट र त्यसको भावनालाई केन्द्रले सम्मान नगर्ने हो भने केन्द्रले गरेको निर्णय जिल्लाले कसरी मान्ने ? यसले तल्लो तहसम्म किचलो खडा हुनसक्छ । त्यो अवस्थामा नजावस भन्ने हाम्रो भनाइ हो । हाम्रा त्यसमा नाजायज के कुरा छन् र ?

 

 

अब नेताहरू  १४औँ महाधिवेशनको तयारीका लागि तयार भइसकेका छन् । उम्मेद्वारी दिने कुरादेखि समिकरणसमेत बनाइसके भनिन्छ नि ?

मलाई त्यस्तो लाग्दैन । नेपाली काँग्रेस पार्टीलाई तपाईंहरू अझै नजिकबाट हेर्नुहोस् ।

तपाईंको सोचाइमा म सहमत छैन– महाधिवेशनको प्रतिस्पर्धा भन्ने कुरामा । के चाहिँ हो भने जो साथीहरू बोलिराख्नु भएको छ । उहाँहरू हतारिएर बोल्नु भएको हो । महाधिवेशनको मिति घोषणा भइसकेको छैन । अहिलेका सभापतिको कार्यकाल अझै एक वर्ष बाँकी छ । सभापतिले चाहेको खण्डमा एक वर्ष थप गर्नु पाउने पार्टीको विधानमै व्यवस्था छ ।

 

विगतमा पनि विधानमा रहेको एक वर्ष थप गर्ने व्यवस्था प्रयोग गरेर महाधिवेशन गराएको इतिहास छ । विगतमा पार्टी हरेक महाधिवेशन ५ वर्षमा हुने गरेको छ । तर आजको परिस्थितिअनुसार  तत्काल महाधिवेशन गर्न हो । पार्टीलाई सङ्घीय संरचनाअनुसार लग्नुपर्ने छ । या त बाँकी कार्यकालका लागि सङ्क्रमणकालीन प्रबन्धबाट सङ्घीय संरचनाअनुसार पार्टी संरचना निमार्ण गर्नुपर्यो । अहिलेको नयाँ विधानमा सङ्क्रमणकालीन प्रबन्धबारे पनि लेखिएको छ ।

 

सङ्क्रमणकालीन प्रबन्ध दुई तीन महिनाभित्र लागू गरिन्छ भने १ वर्ष थप्दा पनि हामीलाई आपत्ति हुँदैन । पार्टी सङ्गठनमा काम गर्नु त हो नि ? जहाँसम्म प्रतिस्पर्धाको कुरा के छ भने महाधिवेशनको मिति निर्धारण भइसकेपछि मात्र  पार्टीभित्र कस्तो खालको प्रतिस्पर्धा हुन्छ भन्ने सिनारियो वा परिदृश्यहरू विकसित हुन्छ । अहिले नै अन्दाज गर्न सकिँदैन । अहिलेको अन्दाजले मिल्दैन । देशको समग्र राजनीतिमा पर्ने प्रभावबारे पार्टी नेताहरूले मूल्याङ्कन गर्नु हुन्छ ।

 

पार्टीको आन्तरिक रूपमा प्ररस्पर विचारको आधारमा, नीतिको आधारमा, इस्युको आधारमा नेतृत्व कोकोसँग मिलेर आएको हुन्छ । तलदेखि माथिसम्म । त्यसमा पनि निर्भर गर्छ । कुन सङ्ख्याले कसलाई के सन्देश दिएको हुन्छ । त्यसमा पनि निर्भर रहन्छ । यी यस्ता कुराहरूलाई लिएर मात्र महाधिवेशनको अन्दाज गर्न सकिन्छ । सभापति शेरबहादुर पुनः उठ्नु हुन्छ उठ्नु हुन्न केही ग्यारेन्टी छैन । म उठ्ने नउठ्ने पनि कही ग्यारेन्टी छैन । किनभने ‘दाइ महाधिवेशनमा के गर्नु हुन्छ ?’ भनेर मलाई धेरै प्रश्न आइसके । नानी पाउनु कहिले कहिले, कोक्रो बुन्नु अहिले । यो  अशुभ हुन्छ । महाधिवेशनको मिति निर्धारण भएपछि मात्र थाहा हन्छ काँग्रेस पार्टी कुन सिनारियोमा अगाडि बढ्छ भनेर । अहिले कसरी अन्दाज गर्न सकिन्छ ? अन्दाजमा प्रश्न गर्नु पनि बेकार हो, उत्तर दिन पनि बेकार हो ।

 

त्यसो भने तपाईंले कोइराला परिवारका तीन जना एकै ठाउँमा भेला भएर हामी उम्मेदवारी दिन्छौँ भनिरहनुभएको छ नि ?

उहाँहरू अनेक ठाउँ भएको मलाई थाहा छैन । उहाँहरू सबै एकै ठाउँ त हुनुहुन्छ । उहाँहरू पहिले गिरिजाबाबु हुँदा गिरिजाबाबुकै लाइनमा काम गर्नुहुन्थ्यो । त्यपछि सुशील दाइकै लाइनमा काम गर्नुभयो । अन्त गएको मलाई थाहा छैन ।

 

अहिले देउवाको विरोधमै लाग्छु भनिरनुभएको छ  नि ?

शेखरजीले अलिकति बोलेको सुनिन्छ । शशांकले त्यस्तो बोल्नुभएको छैन । नसुनेको कुरा भन्नु हुँदैन । शेरबादुरजीले गरेको कुनै निर्णयमा चित्त बुझेन भनेर बोल्दैमा त्यस्तो खिलापमै लागेको जस्तो मलाई लाग्दैन । पार्टीभित्रमा हुने प्रतिस्पर्धालाई नयाँ ढङ्गले सोच्नुपर्छ । यो त अर्को पार्टीसँग प्रतिस्पर्धा गरेजस्तो निर्वाचन होइन । एउटै सिद्धान्त, एउटै विधि र कार्यक्रममा पार्टीभित्र हुने प्रतिस्पर्धा निकै जटिल हुन्छ ।

 

काँग्रेसमा बेथिति भएन भने काँग्रेसको पहिचान नै गुम्छ भन्ने टिप्पणी हुन्छन् । काँग्रेसभित्रको समग्र राजनीतिक विचलनले मुलुकको राजनीतिलाई कस्तो प्रभाव पार्छ ?

काँग्रेस पार्टी बेथिति होइन, काँग्रेस पार्टी देशलाई थितिमा ल्याउने पार्टी हो ।

कम्युनिस्टहरूलाई लोकतन्त्रमा ल्याउने पार्टी हो । बन्दुक बोक्नेलाई शान्तिको बाटोमा ल्याउने पार्टी हो । काँग्रेस पार्टी सिङ्गो देशलाई थितिमा ल्याउने पार्टी हो । काँग्रेस पार्टीलाई बेथिति भन्दा सुहाउँदैन । पहिलो कुरा त तपाईंको यसबारे गलत विश्लेषण भयो । दोस्रो प्रश्न महात्त्वपूर्ण छ । काँग्रेस पार्टीभित्र निकै उत्तरचडाव आयो भने देशको राजनीतिमा ठूलो प्रभाव पार्छ । त्यो प्रभाव काँग्रेस पार्टीमा के कुरामा उथलपुथल हुन्छ । त्यही आधारमा विश्लेषण गर्न सकिन्छ ।

 

पार्टीमा सैद्धान्तिक विचलन आइसक्यो भन्नु भएको छ नि ?

त्यो त स्थानीय तहको निर्वाचनमा केही ठाउँमा देखिएको हो । सबै ठाउँमा होइन । निर्वाचनताका केही ठाउँमा आएको हो । जसको दुष्परिणाम हामीले भोगिसक्यौँ । निर्वाचनताका केही निर्वाचन क्षेत्रमा भएको सैद्धान्तिक विचनलबाट नेपाली काँग्रेसले जो दुष्परिणाम भोगिसकेको छ । त्यसबाट पार्टीमा चेत खुलेको हुनुपर्छ । काँग्रेस पार्टीमा सैद्धान्तिक विचलन नभई सिद्धान्तनिष्ठ भएर अगाडि बढ्नुपर्छ ।

 

अहिले सैद्धान्तिक विचलन छ कि छैन ?

पार्टीमा कुरा उठ्न सक्छन् तर हामीले त्यसो हुन दिनु हुँदैन । पार्टीमा जुन सैद्धानितक निष्ठा, आदर्श र मूल्यमान्यता बोकेर हामी हिँडिरहेका छौँ, यसमा निरन्तर अगाडि जनुपर्छ । त्यो परिमार्जन होला तर त्यसबाट विचलित हुनुहुँदैन ।

 

अब एउटा हाइपोथेटिक कुरा गरौँ, त्यो अवस्था आयो भने मुलुकको राजनीतिमा कस्तो प्रभाव पर्छ ?

देश कमजोर हुन्छ । लोकतन्त्र कमजोर हुन्छ । काँग्रेस कमजोर हुन्छ । नेपाली काँग्रेस प्रतिपक्षमा छ । प्रतिपक्ष भएन भने संसदीय पद्धति कमजोर हुन्छ । संसदीय पद्धति कमजोर हुँदा राज्य पनि बलियो हुन सक्दैन । सरकार पनि बलियो हुँदैन । सरकारले तानाशाही रूपमा काम गर्यो भने बलियो हुने होइन ।

 

जनतामा राम्रो प्रभाव पार्ने खालको काम गर्नुपर्यो । अनि सरकार बलियो हुन्छ । सरकारले बलियोसँगले काम गर्यो  वा कमजोर ढङ्गले काम गर्यो भन्ने मूल्याङ्कन हुनुपर्यो ।  सरकारले जनतामा राम्रो प्रभाव पर्न सकेको छ भने सरकार बलियो रहेछ भन्ने मूल्याङ्कन हुन्छ । जनतामा राम्रो प्रभाव पार्न सकेन भने सरकार कमजोर हरेछ भन्ने मूल्याङ्कन हुन्छ । बलियो प्रतिपक्ष भनेको बलियो संसद हो, बलियो संसद  भनेको बलियो सरकार पनि हो । आज खड्किएको विषय भनेको बलियो प्रतिपक्षको हो । दरो सरकार पनि भएन । सङ्ख्याले सरकार बिलायो, कामले कमजोर सरकार छ । सङ्ख्याले प्रतिपक्ष कमजोर भए पनि बलियो प्रतिपक्षको भूमिका खेल्न सक्थ्यो तर सकेन । बलियो प्रतिपक्ष संसदमा हुँदा सरकारको चेत खुलिरहन्छ  । सरकारको आँखा खुलिरहन्छ ।

 

सरकारको आँखामा पटट्ी लाग्दैन । सरकारले कहिले गलत गर्दैन, गर्नु सक्दैन । तर प्रतिपक्ष कमजोर भयो भने सरकारले धेरै गलत गर्न सक्छ । त्यसकारण सबैभन्दा सोच्नु पर्ने विषय यो भएको छ । जसले मिलेर यत्रो लामो सङ्घर्ष गरेर परिवर्तन ल्याएका छौँ । तर आज संविधानको कार्यान्वयनपछि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार आएको छ । यो एक ढेड वर्षको मूल्याङ्कन गर्ने हो भने उल्लेख्य काम भएको पाइँदैन । यसको दोष म आफ्नै पार्टीलाई पनि दिन चाहन्छु । किन यो कुरा पार्टीभित्र र संसदभित्र दरोसँग उठ्दैन ? सरकारले जनताको हितमा काम गर्ने हो । प्रतिपक्षको काम जनताको आवाज बोल्ने हो ।

 

जनताले काँग्रेसलाई दरो प्रतिपक्षको रूपमा पठाएको छ । तेस्रो त बनाउको छैन । दोस्रो पार्टीमा जनताले काँग्रेसलाई नै राखेको छ । वैकल्पिक सरकार काँग्रेस नै हो । तर त्यो रूपमा काँग्रेस उभिन सकेन । जसले गर्दा सरकार पनि लुलो भयो ।  सरकारले उल्लेख्य रूपमा उदाहरणसहित काम गर्नै सकेन । कुरा मात्रै गरेर त हुँदैन । जनताको जीवनमा प्रभाव पर्ने, सामाजिक जीवनमा प्रभाव पार्ने, राष्ट्रिय जीवनमा सकारात्मक प्रभाव पार्ने उल्लेख्य घटना हुनुपर्ने हो, त्यस्तो हुन सकेन ।

 

हामी परिवर्तनकारी सबैले गम्भीर भएर उठाउनु पर्ने विषय यिनै हुन् । अराजक घटना हुन थालेका छन् । बम पड्कन थालेका छन् । गणतन्त्ररहितको राज्य चाहिन्छ भन्ने मूभमेन्ट देखिन थालेको छ । मधेस नेपालै होइन भन्ने सीके राउत जस्ता बढिराखेका छन् । कहीँ न कहीँबाट अराजक गतिविधहरू बढ्दै जाने र परिवर्तनकारी शक्तिहरू कमजोर हुँदै जाने देखिन्छ, जसकारण यो परिवर्तनले जनताको प्रगति हुन सकेन । परिवर्तनले काम गर्न नसकेकाले भोलि हामीमाथि गम्भीर आरोप लाग्न सक्छ ।

त्यसो भए राजनीतिक दलका नेताहरूको क्षमता अभाव देखियो वा अनिच्छा ?

अभाव देखिएकै हो । इच्छा त होला नि ! राम्रो गरौँ भन्ने । इच्छै छैन विगारौ भन्ने सोच होला म भन्दिन । तर क्षमता देखिएन ।

 

त्यसको विकल्प पनि हुन सक्छ ?

त्यसको विकल्प उहाँहरूभित्रै सुधार । दलका नेताहरूको सुधार ।  सरकारमा बसेकाहरूले एक वर्षमा जनतालाई प्रत्यक्ष रूपमा अनुभूति हुनेगरी काम गरेको देखिँदैन । विगतका कामहरूको निरन्तरता मात्रै हो । खास उल्लेख्य काम केही पनि छैन ।

नयाँ संविधान बमोजिम यत्रो सङ्ख्याका साथ शक्ति आर्जन गर्दै सत्तामा आएको सरकारले विगतलाई नै निरन्तरता दिएर हुन्छ ? महत्त्वपूर्ण र ठूलो काम सरकारले गरेका मैले पाइनँ । तर पनि हेरौँ भरखर एक वर्ष भयो ।

काङ्ग्रेसको कुरा गर्दा बृह्त एकता र पारस्पारिक विश्वासका लागि जुट्नुपर्छ । पार्टीभित्र पूर्ण लोकतन्त्र हुनुपर्छ । नेतृत्वमा जवाफदेहिता हुनुपर्छ । नेताले अलि मिहिनेत गर्नुपर्छ । सबै साथीहरूको भावनालाई बुझेर सबैको भावनाको कदर गर्नुपर्छ ।  अल्पमत भएको पनि अधिकार हुन्छ । लोकतन्त्रले अल्पमतको सुरक्षा दिँदैन भने लोकतन्त्रको अर्थ रहँदैन ।

 

आगामी दिनमा काँग्रेसमा बृहत् एकता हुनेमा आशा गर्न सकिन्छ त ?

सक्नुपर्छ, मेरो यसमा विशेष पहल रहन्छ ।

 

त्यसका लागि काँग्रेसमा नेताहरूले त्याग गर्नुपर्ने देखिन्छ नि ?

आगामी निर्वाचनमा वा महाधिवेशनमा प्रतिस्पर्धा आफ्नो ठाउँमा छ । प्रतिस्पर्धा गरौँला । प्रतिस्पर्धाको कार्यकाल तीन चार महिनाको होला । प्रतिस्पर्धा सुरु भएसम्म पार्टीभित्र बृहत् एकताको सुरुवात गर्नुपर्छ । सबैले मिलेर हिँड्ने, सबैको मानसम्मान, इज्जत, प्रतिष्ठा हुने पद्धतिको बाटोमा हामी हिँड्नुपर्छ ।

रातोपाटीबाट


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
काँग्रेसले बनायो छाँया सरकार, को को भए मन्त्री

कति जिते ‘को बन्छ करोडपति’मा रबि लामिछाने( हेर्नुहोस भिडियो )

५० लाख दिनुस् प्रधानमन्त्री केपी ओलीलाई मारिदिन्छु भन्ने युवा पक्राउ

बारमा गोली चल्यो, ११ जनाको हत्या

१७० जना यात्रु लिएर सिंगापुर उडेको विमान दुर्घटनाग्रस्त

बालुवाटारको जग्गा फिर्ता ल्याएर मात्रै हुँदैन, दोषीलाई कारबाही गर्नुपर्छ : भीम रावल

मेकअप गर्दा गरिने यी १० गल्ती, जसले झनै बुढो देखाउँछ

गोंगबु नयाँ-बसपार्कमा मोडल जस्ता यौनकर्मी, यस्तो अवस्थामा पक्राउ ! हेर्नुहोस्

यौन सम्पर्क पछि महिलाहरुलाई आउन्छ यस्तो आनन्द

ग्रिनसिटी अस्पतालको अवैध धन्दा : आवश्यकताअनुसारको बच्चा जन्माइदिने भन्दै रकम असुली