पैसाले होइन इमानले रंगशाला बनाउँछु : सीताराम कट्टेल

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार

 

गतवर्ष, धूपले खारिएको धूमिल साँझ। भोटाहिँटी ललितकलाको सामुन्नेमा बसेर आँखा जुधाइरहेको एउटा क्याफेमा भेट भए- सीताराम कट्टेल। निकै गलेका देखिन्थे उनी। त्यति थकान त सिन्धुपाल्चोकको गिरानचौरको ढलेको बस्ती उठाउँदा पनि भएको थिएन होला। थाङ्ग्रे-डोकामा ढुंगो बोक्दा पनि भएन होला, सायद। वीर अस्पताल रंगरोगनले आहालको पाटझैँ गलाएको रहेछ उनलाई।

 

हरियो, पहेँलो, सेतो, नीलो रङका बाछिटाले इन्द्रधनुष बनेको कालो ज्याकेट क्याफेको कुर्सीमा अड्याए र बाक्लो उच्‍छवास छाडे- “समाजसेवाले पीडामात्रै थमायो ! अब म कलाकारितामै फर्कन्छु होला, बुझ्नुभो !”

उनको खस्रो सुस्केरामा सुर्ता थियो। दिनरात एकै बनाएर वीर अस्पताल उजिल्याउँदा उल्टै बेहोर्नुपरेको आरोपको विलौना थियो। अपजसप्रति तीव्र गुनासो थियो। र, त्यो गुनासोमा आफैँप्रतिको दिग्दारी पनि हुँदो हो।

 

खुकुरीको धारमा टेकेर धुर्मुसले गिरानचौरबस्ती उभ्याए। गिरानचौर आसपास यस्ता डाँडा छन्- पानीका कुला लाग्दैनन् तर घरैपिच्छे रक्सीका कुवा भेटिन्छन्। भनौँ, भुइँचालोले भन्दा बढ्दा मदिराले निमोठेको छ। र त, रातदिन पाखुरा खैँचन आउनेलाई जवाफ आँसु र पसिनाले दिए। परिणाम ढलेको गिरानचौर सर्लक्कै उभियो- ६ महिना बित्न नपाउँदै।

काठमाडौंको साँध जोडिएको गिरानचौरको पर्यावरणमा फैलिएको कलुषित हावालाई पैतालामुनि दबाएर दम्पत्तिले पिठ्युँका छाला नलाछेको भए सायदै गिरानचौर ठडिन्थ्यो।

 

गिरानचौर बनाउँदाको पीडा अवर्णनीय छन्। त्योभन्दा आन्दोलनको भुंग्रोकाबीच मधेस झर्दा भयो कि! २० घर पहरी परिवारको दुर्दशा पन्छाउँदा आफ्नै थलो उखेलिने भयले कयौँ रात जाग्राम बसे कि! धुर्मुसले आजसम्म मुख खोलेका छैनन्। समाजसेवामा अविच्छिन्न पाइला डोहोरिइरह्यो भने उनले गुपचुप नै राख्लान् पनि।

 

तर, वीर अस्पतालको रंग्याउँदा उनको मुटु चोइटियो। छाती विदीर्ण भयो। आँखाबाट बलिन्द्रधारा आँसु झारे। थकथकीले सिरानी सीमसार भयो, सायद। र त, मिडियाबाजी, हल्लाखल्ला गरेर रङरोगन र सफाइ शुरू गरेका धुर्मुसले कसैलाई थाहा-पत्तै नदिई अभियानमा पूर्णविराम लगाए।

समाजसेवाको लती धुर्मुस वीर अस्पताल सफाइ बिट मारेपछिका कयौँ रात चैनले निदाउन सकेनन्। कलाकारितामा फर्कने कि समाजसेवालाई निरन्तरता दिने ? मन मझधारमा अल्मलियो।

समाजसेवाको लागु- लती धुर्मुस समाजसेवाबाट पछाडि फर्कन सक्दैनथे। र, अठोट लिए- “व्यधानको पर्वत नै खडा भए पनि समाजलाई सकारात्मक दिशाबोध गराउँछु।”

० ० ०

गत वर्ष (१ चैत) नेपाली क्रिकेटले एक दिवसीय (ओडीआई स्ट्याटस) मान्यता पाउँदा सीताराम कट्टेल नमुना नेपालको काममा व्यस्त थिए। ४० लाख जुगाड भएको थियो- १६ अर्ब कहाँबाट जुटाउनू ! धपेडीको सीमा थिएन।

लगत्तै चैत पाँच गते क्रिकेट टोली नेपाल फर्कियो। त्रिभुवन विमानस्थलमा दुन्दुभी बजिरह्यो। क्रिकेटप्रेमीका ओठ तन्किइरहे- “ओडीआई पाइयो, स्टेडियम चाहियो।”

 

विमानस्थलमा उर्लिएको क्रिकेटपारखीको भीडले खेलाडीको स्वागत त गर्‍यो नै। अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नहुनुको पीडा पनि पोख्यो। क्रिकेटको सामान्य नियमबाटसमेत कोशौं टाढा रहेका धुर्मुसलाई नेपाली क्रिकेट टोलीको सफलताले उद्वेलित बनायो। गतिलो रंगशालाबिना नै नेपाली टोलीले हात पारेको अद्वितीय सफलताले मथिङ्गल झङ्कृत पनि भयो भनौँ।

निर्णय गर्न निमेष पनि नपर्खने, शीघ्रकर्ता धुर्मुसले सामाजिक सञ्जालमा सर्भेक्षण गरिहाले- “नमुना नेपाल पहिला कि क्रिकेट रंगशाला?”

 

धमिलो राजनीतिले दिशाविहीन मुलुकलाई सफलताको स्वाद चखाउने क्रिकेट नै थियो। पछिल्लो दशक नेपालीलाई कसैले खुसी थमाएको छ भने त्यो क्रिकेट नै हो। तिनताका ओडीआई स्ट्याटसले नेपालीहरूको मुर्झाएको मनलाई त्राण नै दिएको थियो भन्दा हुन्छ।

सामाजिक सञ्जालको लाखौँ फ्यानफलोअर्सले तुरुन्तै प्रतिक्रियाको वर्षा गराए- “नमुना नेपाल होइन, क्रिकेट स्टेडियम नै चाहियो!”

भूकम्पले खण्डखर बनाएका ८४ घरधूरी (काभ्रेको डाँडागाउँ र गिरानचौर) र गरिबीको छानोमुनि नारकीय जीवन व्यतीत गरिरहेका १०१ मुसहर-दुषाद (महोत्तरी, बर्दिबास र रौतहट सन्तपुर) लाई कंक्रिटको ‘महल’ प्रदान गरेका धुर्मुसको पाइला एकाएक रंगशालातिर सोझिए।

० ०  ०

रंगशाला बनाउने निष्कर्षमा पुग्दा रित्तोहात थिए उनी। मष्तिस्कमा अतिरिक्त शून्यता छाएको थियो। भनौँ न, भावना त थियो तर क्रिकेट स्टेडियमबारे न्यूनतम ज्ञानसमेत थिएन।

“संसारकै सबैभन्दा बढी नियम भएको खेल पो रहेछ क्रिकेट, मेरो सोचाइको दायराभन्दा निकै परको कुरा पो लाग्न थाल्यो,” मरीमरी हाँस्छन्, धुर्मुस।
सौम्य समुद्रमा सुनामी आएझैँ बेलाबखत तरंगित हुन्थे- “यत्रो परियोजना पार लगाउँला त ?”

 

उनकी पूर्णांगिनी सान्त्वना दिन्थिन्- “देशविदेशमा रहेका नेपाली-नेपालीभाषीमा अभूतपूर्व उत्साह सञ्चार भएको छ। सिंगो देश ओडीआई स्ट्याटस्बाट उमंगित छ। एकमुख लगाएर रंगशालाको माग गरिरहेको छ, कसो पार नलाग्ला त?”

श्रीमतीको शीतल-वचनबाट हौसिएका धुर्मुस तत्कालै जग्गाको खोजीमा त निस्किए तर भन्नेबित्तिकै २४० रोपनी क्षेत्रफलको मोहोडा मिलेको जग्गा कहाँ फेला पर्नू ! नमुना नेपालको जग्गा खोज्दाखोज्दै जुत्ताको तलुवा फाटेको अनुभव पनि साथमै थियो।

पुनः सुन्तलीले सुझाइन्- “अहिले भइरहेकै रङ्गशालामध्ये कुनैलाई स्तरोन्नति गर्ने कि?”

 

मुटुको धमनीतुल्य श्रीमतीले भनेको कुरा धुर्मुसले किन लत्याउँथे। सुन्तलीको सुझाव मुताविक नै उनी निर्माणाधीन मुलपानी रंगशाला, टीयु ग्राउन्डलगायत ठाउँमा पनि पुगे। सरकारी अधिकारीले पनि मुख फोरेरै सुझाव दिए- “धुर्मुसजी तपाईं सङ्लो हृदयको स्फूर्त मान्छे। सरकारी झमेलामा किन पर्नूहुन्छ? अन्त कतै जग्गा खोजेर स्वतन्त्र ढङ्गले रङ्गशाला बनाउनूहोस्।”

वीर अस्पताल सफाइनको तिक्त अनुभूति पनि छँदैथियो। सरकारी अधिकारीले यति भनेपछि धुर्मुस झल्याँस्स भए। र, जग्गाको जुगाड गर्न आफैँ खटिए।

क्रिकेट-क्रेज थाहा पाउन धेरै धामा गर्नै परेन। जग्गाको प्रस्तावको ओइरो लाग्यो। मध्यबानेश्वरस्थित धुर्मुस सुन्तली फाउन्डेसनको कार्यालयको ठेगानामा पत्रको उरुङ लाग्यो। रुपन्देही, पोखरा, ललितपुर मकवानपुर प्रतिनिधि जिल्ला हुन्।

देशको राष्ट्रिय गौरवका आयोजना एउटा पनि पूरा हुन नसकेको अवस्थामा क्रिकेट-पारखीले धुर्मुस सुन्तलीलाई गरेको विश्वासको लौकिक नमुना थियो त्यो।

 

० ० ०

गृष्मयाम निख्रिएर वर्षायामको आरम्भ हुँदै थियो होला। भरतपुर महानगरपालिकाले पत्राचार गर्‍यो- “क्रिकेट स्टेडियम बनाउन भरतपुर आउनुहोला। हामी जग्गासहित स्वागत गर्न तत्पर छौँ।”

ललितपुर, गोदावरीमा पनि जग्गा फेला नपरेको होइन। काठमाडौं उपत्यकामाथिको आकाशमा बादल मडारिनेबित्तिकै पानी झरी हाल्ने चेरापुञ्जी गोदावरी पर्यावरणीय दृष्टिले उपयुक्त नहुने ठहर विज्ञले गरिसकेका थिए।

“रंगशाला निर्माणका लागि जग्गामात्र होइन, घामपानीसमेत नापजाँच गर्नुपर्दो रहेछ !,” हास्य कलाकार त भइहाले। ठट्यौली आवाजमा सुनाउँछन्, धुर्मुस।

गोदावरीबाहेक काठमाडौं उपत्यकामा जग्गा नभेटिएकाले चितवनको प्रस्ताव मन हर्ने थियो। विलम्ब नगरी धुर्मुस, सुन्तली चितवन हानिए। दाँतमा ढुंगा लागेझैँ प्रतीत भयो। महानगरले देखाएको जग्गा आँखा परिहाल्ने थिएन। लम्बाइ पुगे पनि चौँडाइ रंगशाला बन्ने आकारको थिएन।

“धुर्मुस-सुन्तली फाउन्डेशनको परिकल्पना मुताविक बहुउद्देश्यीय रंगशाला बनाउन यो उपयुक्त छैन, अन्त कतै जग्गा छ भने खोज्नूस्,” धुर्मुसले आँखी भौँ खुम्च्याए।

धुर्मुस काठमाडौं फर्किएको केही समय हुँदो हो। महानगरले पुनः सम्पर्क गर्‍यो- “भरतपुर महानगर-१६ मा कृषि तथा वन विश्वविद्यालयको जग्गा छ। समय मिलाएर आउनूहोला।

नभन्दै कृषि विश्वविद्यालयको भोगाधिकार रहेको नामी जग्गा फेला पर्‍यो। विषय-विज्ञको टोलीले पनि उपुक्त ठहर्‍यायो। महानगरले जग्गा त भेट्टायो तर रङ्गशाला निर्माणका लागि कसरी अनुमति लिने ?

 

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको २० विगाहा जग्गा कृषि, तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको थियो। त्रिभुवन विश्वविद्यालय, स्थानीय विकास मन्त्रालय, कृषि तथा वनविज्ञान विश्वविद्यालयको तालुकदार शिक्षा मन्त्रालयसँग स्वीकृति प्राप्त गरेपछि महानगरमा भोगाधिकार त सर्‍यो। प्रक्रिया पूरा गर्न पहाड खन्न भन्दा गाह्रो भयो। झन्डै वर्षदिन व्यतीत गर्नुपर्‍यो।

० ० ०

जग्गाप्राप्ती धुर्मुसका लागि विशालकाय उपलब्धि थियो। दिनको संकेत बिहानीले गर्छ भनेझैँ सुस्वादू पनि थियो। त्यसभन्दा पूर्व नै धुर्मुसले नेपालका उदीयमान खेलाडीहरूको जीवनचर्या नियाले। कतिसँग सामीप्यमा रहेर। कतिसँग परै बसेर।

 

तीन करोड नेपालीको खुसी र सफलताको विम्ब बनिरहेका खेलाडीको दैनिकी निकै कष्टकर थियो। राज्यबाट बेलाबखत पारितोषिक त पाउँथे। तर, दैनिक जीवनयापनका लागि त्यो निकै न्यून थियो। उनीहरूको पुँजी, वेतन भन्नु नै दर्शकको सद्भाव रहेछ।

केही खेलाडीको अवस्था यस्तो छ- खेलअवधिभर दर्शकदीर्घाबाट हुटिङ पाउँछन्, घर पुगेपछि दुःख-दारिद्र्य रेफ्री बन्दै सिट्ठी फुक्न थाल्छ। कतिबेला थलो छाडेर मुग्लान पलायन हुनुपर्ने हो, यकिन छैन।

 

खेलाडीको चर्या हेरेर उद्भ्रान्त बनेका धुर्मुसका खेलमैदान देखेर झन् उद्विग्न बने। “देशका लागि खेलाडीले खेल खेलिरहेका छन्। पदक चुमिरहेका छन्। सफलता हात पारिरहेका छन्। नेपालको तिनै खेलाडीका कारणले उँचो छ। तर, उचित लगानी र भरणपोषणको अभावमा खेलाडी दिनहुँ खिइँदै गइरहेका छन्। कति खेलक्षेत्रबाट पलायन भएर विदेशको बाटो तताइसके,” भावुक देखिन्छन् धुर्मुस्।

 

टीठलाग्दो खेलमैदान र खेलाडीको उदेकलाग्दो चर्यासँग चिनापर्ची पाएपछि धुर्मुसको पैताला बहुउद्देश्यीय रंगशालातिर मोडियो। नेपालमा खेलिने मूलभूत विधाको खेल र खेलाडीको वृद्धिविकास रंगशालाको दीर्घ लक्ष्य बन्यो।

“खेलजीवनभर खेलाडी चिन्ता जीविकोपार्जन र करिअरतर्फ नधकेलियोस्, खेलक्षेत्रबाट पलायन हुने सोच कहिल्यै नआओस् भनेर नै बहुउद्देश्यीय संरचनामा गएका हौँ,” प्रष्टीकरण दिन्छन् उनी।

पूर्वाधार विन्यास र शिलान्यासको मितिले भरतपुर-१६ मा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला बन्नेछ। रंगशाला वरपर थुप्रै मैदानहरू निर्माण हुनेछन् जहाँ खेलाडीहरूले फुटबल, भलिबल, बास्केटबल, स्विमिङ, डन्डिवियोलगायत ३५ विधाका खेलको अभ्यास गर्न सुक्नेछन्।

 

क्रिकेट रंगशाला निर्माणकै दौरानमा उनले अर्को कुरा पनि पत्ता लगाए- नेपालमा खेल संस्कृतिको विकास भएको छैन। कुनै पनि अभिभावकले ढुक्क भएर आफ्ना सन्ततीलाई खेल क्षेत्रमा लाग्न अभिप्रेरणा दिन सक्दैनन्। खेलक्षेत्रका भविष्य क्रमशः साँघुरिँदै गइरहेको आभास हुन्छ। खेलाडीको भविष्य निर्माणाधीन रंगशालाझैँ अनिश्चित प्रतीत हुन्छ।

 

त्यो अँध्यारोलाई पन्छाउन धुर्मुसले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई खेलाडी उत्पादन गर्ने थलो पनि बनाउँदैछन्। “खेल प्रतिष्ठान (एकेडेमी) निर्माण गर्ने, ७७ जिल्लाबाट महत्त्वपूर्ण विधामा प्रशिक्षार्थी भर्ना गरी कुशल, दक्ष राष्ट्रिय खेलाडी उत्पादन गर्ने र नेपाली खेलकुदको श्रीवृद्धि गर्ने हाम्रो मुख्य ध्येय हो,” धुर्मुस लक्ष्य पस्किन्छन्।

 

० ० ०

उच्चआकाङ्क्षाको भारी बोके पनि बिसौनीमा अड्याएर थकाइ मार्ने सुविधा छैन धुर्मुसलाई। दम्पत्ति नै रकमको जोहोमा जुटेका छन्। केही दिनअघि मलेसियामा हास्यप्रस्तुति देखाउन पुगेका उनीहरूले ३५ लाखको जुगाड गरे। केही दिनमै पुनः विदेश यात्रामा निस्कने तयारीमा छन्।

रंगशाला निर्माणको घोषणासभामा ४ करोड रकमको प्रतिवद्धता आयो। एक करोड रकमको प्रतिवद्धता भरतपुरले पनि गरेको छ। बाँकी रकम पनि क्रमशः जुट्दै जानेमा विश्वस्त छन्, धुर्मुस।

“संसारभर छरिएर रहेका नेपाली-नेपालीभाषीले माया दर्शाइरहनुभएको छ, रंगशाला बेलैमा निर्माण होस् र बामे सरिरहेको राष्ट्रिय गौरवका आयोजनालाई लम्कन घच्घच्याओस्,” धुर्मुस सुनाउँछन्।

 

रंगशाला निर्माणका लागि ३ अर्ब पूर्वानुमान गरिएको छ। डीपीआर तयार नभएकाले अनुमानित लागत थपघट हुनसक्छ। “जनताकै लगानीमा बन्ने भएपछि जनतालाई नै सेयर बाँडफाँट गरे भइहाल्छ नि ?,” सामाजिक सञ्जालमा अभिव्यक्त जिज्ञासालाई पनि उनले मसिनोगरी नियालेका छन्।

 

भन्छन्, “धुर्मुस-सुन्तली मुनाफारहित गैरसरकारी संस्था हो। रंगशाला निर्माण गरी नाफा-आर्जन गर्ने लक्ष्य फाउन्डेशनको होइन। रङ्गशालाको कमाइ खेलक्षेत्रकै वृद्धि विकासमा खर्चने उद्देश्य रहेकाले सेयर बाँडफाँट गर्न कहाँ मिल्यो र !,” उनको सहज उत्तर छ।

 

सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया र सद्भावको पुष्पगुच्छामात्रै आएका छैनन्। खबरदारी र आलोचनाको मात्रा पनि उत्तिकै छ। “निकै संघर्ष र बनिबुतो गरेर बनेका कलाकार भ्रष्ट नबनून्, गलत काम नगरून् भनेर उहाँहरूले सचेत बनाउनुभएको हो, सामाजिक सञ्जालमा मुखर सबै प्रतिक्रिया दम्पत्तिकै सम्पत्ति हो,” कृतज्ञ देखिन्छन् धुर्मुस्।

 

आइतबार मध्यबानेश्वरस्थित धुर्मुस-सुन्तली फाउन्डेशनको कार्यलयमा पुग्ला निकै उत्साही थिए धुर्मुस। युद्धस्तरमा डीपीआर निर्माण भइरहेकाले निर्धारित समय अगावै रंगशाला निर्माण भइसक्ने विश्वास उनको आँखामा प्रतिच्छवित थियो।

 

“पैसाले होइन इमानले रङ्गशाला बनाउँछु, लाखौँ-करोडौँ नेपाली, नेपालभाषीको मायाले अघिल्ला परियोजना सफल भयो। अहिलेसम्म आर्जन गरेको इमान-जमानकै जगमा रंगशालाको धूरी कस्छु, पापको भारी बोकेर मर्न चाहन्नँ” यति भनेर कुराकानी बिट मारे, सीताराम कट्टेल धुर्मुसले।बाह्रखरीबाट


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट