यूएईको मरुभूमिमा नेपाली ‘सागवाला’

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आईतवार

 

 

कृषिप्रधान देशमा बसेर आर्थिक समृद्धि नहुने भन्दै आजभन्दा १६ वर्षअघि विदेशिएका ध्यान केसीको फुर्सदको समय हिजोआज तरकारबारीमा बित्छ ।

व्यवसायिक किसानजस्तै सिजन अनुसारका तरकारी फलाउँछ्न उनी । बारीभरी करेला, फर्सी, टमाटर र मौसमी तथा बेमौसमी तरकारीहरुले नेपालकै करेसाबारीको झल्को दिन्छ ।

कुनै रासायनिक मल वा बिसादीको प्रयोग पनि गर्दैनन् उनी । अरबको अधिकतम् तापक्रम ५० डिग्री पुगे पनि उनको बारीमा लटरम्म फलेका हुन्छन् गोलभेडा र फर्सीहरु ।

विभिन्न प्रकारका सागहरुले उनको बारी नेपालको कुनै व्यवसायिक कृषि फारमझै देखिन्छ । अरबका बलौटे जङ्गलमा रहेका कुनै भेडीगोठ या मजराहरुमा काम गर्ने भिसामा उनी आएका चाहिँ होइनन् । उनी त यूएईको राजधानी अबुधाबीको एक भब्य सेखको दरबारमा काम गर्ने सेक्युरिटी गार्ड हुन ।

आफैले काम गर्ने दरबारको खाली जग्गामा उनीले फुर्सदको समय सदुपयोग गर्न र तरोताजा तरकारी खाने उदेश्यले मलजल गरेर नेपाली पारामा एक करेसाबारी बनाएका छन् ।

आफ्नै उपभोगका लागि नेपालबाट बीउ ल्याएर सुरु गरेको तरकारी बारीमा अधिक मात्रामा उत्पादन भएपछि उनले नजिकका साथीहरूलाई दिन थाले ।

दरबारमा आफ्नै लागि फलाएको तरकारी बेचबिखन गर्न नैतिकताले पनि दिएन । साथीभाइ र आफन्तले मिठो मानी तरकारी लान र खान थालेपछि उनले सिजन अनुसारका तरकारी फलाउदै गए ।

उनको तरकारीको प्रचारप्रसार हुँदै गएपछि दुबई, सारजा र अजमानदेखि नेपालीहरु तरकारी लिन आउन थाले । आफूले पनि सिजनेबल तरकारी खान पाउने, साथीभाइ र आफन्तहरु पनि खुशी हुने, फुर्सदको समयमा सिर्जनशील काम हुने भएपछि उनको तरकारीमोह बढदै गयो ।

डिउटीपछिको समय पनि अनावश्यक डुलेर र नशामा भुलेर बिताउनुभन्दा उत्पादनमुलक काममा लाग्नु नै उचित लाग्यो ।

सबैको सकारात्मक प्रतिक्रियाबाट हौसिएका केसीले आफ्नो नियमित कामबाट फुर्सद निकाल्दै तरकारी फलाउदै गए । तरकारीप्रतिको लगाव त्यसैत्यसै बढदै गयो । यहाँसम्मकी उनले फेसबुकमा आफ्नो नाम नै मरुभूमिको सागवाला सम्म राखेका छन् । ”

पोहोर त एक ट्रक साग फलाए होला, केसीले भने, ‘मिहिनेत गर्‍यो भने बालुवामा पनि फल्दो रहेछ भने त नेपालको माटोमा सुन नै फल्ने रहेछ ।’

बालुवाले भरिएको जमिनमा दरबारको बाख्रा फारमबाट प्राङगारिक मल आफैंले ल्याएर पाइपबाट नियमित पानीको व्यवस्था गरेका कारण पनि तरकारी उत्पादन सहज भएको केसीको अनुभव छ ।

आफ्नो नियमित रोजगारीका साथमा फुर्सदको समयमा तरकारी उत्पादन गर्दै केसीले उदाहरणीय र प्रेरणादायी काम गरेको सेख प्यालेसमा ३५ वर्षदेखि कार्यरत पाकिस्तानी म्यानेजर मुजफ्फर खान बताउँछन् ।

परदेशमा १६ वर्ष

तत्कालीन शाही नेपाली सेनाको जागिर छाडेर वैदेशिक रोजगारीका लागि सर्वप्रथम साउदी हिडेका गौरादह-१ झापाका ध्यान केसी मलेसिया र कतारको रोजगारयात्रापछि बिगत ९ वर्षदेखि युएईको सेख प्यालेसमा सुरक्षागार्डको रुपमा काम गरिरहेका छन् ।

वैदेशिक रोजगारीमा भोगेका दु:खसुखका किस्साहरु बग्रेल्ती संगालेका छन् उनले । नेपाल सरकारको जागिरमा लामो समय टिक्न नसकेजस्तै साउदी, कतार र मलेसियामा पनि लामो समय जम्न सकेनन् ।

साउदीमा त भने अनुसार काम र दाम नभएपछि ६ महिनामै घर फर्किए । त्यसपछि केसी सन् २००१ मा मलेसिया हान्निए ।

एउटा भिसाको अवधि समाप्त भएपछि उनले कतारको रियालको सपना देख्न थाले । नेपालमा आर्मीमा काम गरेको अनुभवले केसीलाई ३ वर्ष कतारमा सेक्युरिटीगार्डमा जसोतसो टिक्न सहज भयो । तर, कतारको रियालले मात्रै आवश्यकताहरु पूरा गर्ने धौधौ हुने अवस्था आएपछि युएई आयो रोजाइमा । यो रोजाइ नै दिगो साबित भयो ।

आफन्तले नै पठाइदिएका थिए भिसा । दरबारमा सुरक्षागार्डकै काम । तुलनात्मक रुपमा राम्रै दाम । छोराछोरी बोर्डिङ जान थाले । परिवारको आर्थिक अवस्था सुधार हुँदै आयो ।

छोराछोरी हुर्किदै गएपछि श्रीमतीलाई पनि सैलुनमा काम गर्न यूएई नै बोलाए । काम, दाम र मामको खोजीमा परदेश जानेहरुको औसत सपना पूरा भएको छ उनको ।

यूएईको रोजगारीसँगै तरकारी उत्पादनमा रमेका ध्यान केसीजस्तै सबैले यस्तै सिर्जनात्मक काममा ध्यान दिने हो भने विदेशको बसाइ सार्थक नहुने कुरै छैन ।


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट