मुर्दा शान्तिको त्यो बिहानी!

प्रकाशित मिति: २० माघ २०७५, आईतवार

 

 

घाम झुल्किसकेको थिएन। हुस्सुले काठमाडौंलाई छोपेको थियो। टेलिभिजनका पर्दामा एकाएक ब्रेकिङ न्यूज छायो ‘आज महाराजधिराज सरकारबाट विशेष सम्वोधन हुदैछ’। यसले चिसो काठमाडौंलाई एकाएक ततायो। बजारमा आशंका र अनुमान हुन थाल्यो, आज फेरि देशमा कु हुँदैछ। एकछिनमै सारा मुलुक तरंगित भयो। नभन्दै ठीक दस बजे राजाको सम्बोधन आयो‘प्यारा देशबासीहरु’।
 

राजाले प्रिय देशबासी भन्दै गर्दा मुलुकको संचार र सम्पर्क सबै ठप्प भइसकेको थियो। राजाले सबै सम्बोधन  पढिसक्दा देशमा लोकतन्त्रको हरण भइसकेको थियो। त्यो दिन भन्दा अघिल्लो रात राजाले  सुरक्षा निकायको प्रमुखहरुलाई दरबारमा बोलाएर परामर्श गरेका थिए। सुरक्ष प्रमुखहरुले मुभ गर्न ग्रिन सिग्नल दिएका थिए।  सुरक्षा प्रमुखहरुसँगको बैठकमा राजाले सिधै कु गर्न लागेको त भनेनन्। तर मैले केही गर्न खोजेको छु,तपाईहरुले साथ दिनु होला भनेका थिए।

 

१४ वर्ष शासन गरेका पार्टीहरुलाई अघिल्लो दिन सम्म देशमा कु हुदै छ भन्ने थाहा थिएन। उनीहरु भाषण गर्दै लोकतन्त्रको दुहाई दिदै हिडेका थिए। कतिपय मन्त्रीहरु त प्रमुख अतिथि बन्न गएका स्थानबाट नै नजरबन्दमा परेका थिए।   ११ बजे राजाको सम्बोधन सकिदा देशमा लोकतन्त्र सकिएको थियो। हामी गर्छौ भन्नेबाट म गर्छु भन्नेमा परिणत भएको थियो। हामीलाई अवसर देउ भन्ने ठाँउमा मलाई अवसर देउ भन्ने अवस्था आएको थियो। राजाले समय तोकेर नै भनेका थिए ‘मलाई तीन वर्ष समय दिनुहोस्।

 

माघ १९ गते राजको सम्वोधनपछि  संचार सम्बन्ध बिच्छेद पारिएको थियो। मोबाइल र ल्याण्डलाइन सबै बन्द गरिएका थिए। समाचार माध्यममा राजनीतिक खबरलाई बन्देज गरिएको थियो। सम्पादकको  कुर्सी नजिक आर्मिको बन्दुक तेर्सिएको अवस्था थियो।मुलधारको समाचारमा काम गर्ने हामी राजनीतिक समाचार लख्नेहरुलाई सेनाको बलमा गैर राजनीतिक समाचार लेख्न निर्देशन आएको थियो।  हामीहरु कहिले बिरालाको आत्मकथा र कहिले गाईको पिसाबबाट घडी चल्ने समाचार लेख्न बाध्य भएका थियौं।

 

पार्टीका सबै शीर्ष  नेताहरु नजरबन्दमा थिए। सिंहदरबारको अधिकार नाराणहिटी सरेको थियो। एफ एमहरुमा समाचारको साटो राष्ट्रवादी र राजभक्तिका गीत बज्न थालेका थिए। रेडियो नेपालमा पंचायतकालीन धुन बज्न शुरु गरेका थिए। राजाले आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरे। उनले आउट डेटेड नेताहरु  डा तुल्सी गिरी र किर्तीनिधी बिष्टलाई उपाध्यक्ष बनाएका थिए।

 

०४६ सालको अन्दोलनपछि दलहरुले शासन गरेका थिए। यस भन्दा अघिपनि राजाबाट पटकपटक कु नभएका होइनन्। तर यसपटकको कु अलि भिन्न खालको थियो। राणाकालमा पनि बाहुनलाई मार्नु हुदैन भनेर टंकप्रसाद आचार्यलाई चारपाटे मुडाएर  सुगुरको पाठोको पेरुङ्गो बोकाउँदै थानकोट कटाएका थिए। तर ०६१ सालमा यो मान्यतामा परिवर्तन आएको थियो।   यस समयमा यो कुराले कुनै अर्थ राख्दैनथ्यो।

 

माघ १९ पछि इन्टरनेट त ठप्प भयो। मानिसको जीवनशैली बनिसकेको  यो बिषयले राजाको कदमको स्वागत गर्न सकिएको थिएन। राजनीतिक दलहरुले राजाको कदमलाई असबैधानिक करार दिएपनि सडकबाट त्यसको प्रतिरोध भइरहेको थिएन। दलहरुप्रति जनताले ओठ लेपारिरहेको बेला राजाले यो कदम चालेका थिए।  जनताले दलहरुको शासनन चलेको बेला नेपाल बन्द नभएको दिन र सडकमा टायर नबलेको दिन देखेका थिएनन्।

 

घरमा बिजली बल्दा  खुशी र दिपावली मनाउनु पर्ने अवस्था आएको थिए। धाराबाट पानी होइन हावा आउदथ्यो। मट्टीतेल र पेट्रोल पाउन लाईननै बस्नु परेको थियो। यी सबै कारण सम्झेर जनता राजाको असंबैधानिक कदमको विरोधमा उत्रिरहेका थिएनन्।
यसले जनता राजासँग छन् कि दलहरुसँग यसको छिनोफानो भइसकेको थिएन। किन कि उनीहरुको शासन शैलीप्रति जनता खुशी थिएनन।

तत्कालीन सातदल राजाको कदम विरुद्ध उत्रेका थिए।  तर शुरुमा दिनमा सडकमा नेता मात्र थिए। जनता र कार्यकर्ता थिएनन् , किन कि उनीहरुले शासन संचालन गर्दा जनता र कार्यकर्ताहरुलाई सत्ताको हकदार बनाउन सकेका थिएनन्। नेताहरु जमिन्दार जनता र कार्यकर्तालाई रैतीको व्यवहार गरेका थिए।

०६१ साल फागुन २१ को दिन  तत्कालीन एमालेले सुखानी दिवस पारेर सुन्धारामा आयोजना गरेको आन्दोलनको दृष्य उल्लेख गर्न लायक छ। एमालेका नेता केशव बडालको नेतृत्वमा निकाल्ने भनिएको जुलुसमा तीन जना मात्र थिए। तीन भ्यान प्रहरी तैनाथ थिए। बडालले झण्डा निकाल्दै नारा लगाए। अरु दुई जनाले साथ दिए। तीन भ्यान प्रहरी उनीहरुलाई समात्न पछि लागे। त्यतिखेर यो दृष्य हेर्दा लाग्थो यो कुनै राजनीतिक आन्दोलन होइन  प्रहरीले चोर समाउन खोजिरहेको छ।

राजाको शासनले पनि विस्तारै जनतामा वितृष्ण पैदा गर्दै गयो। दलहरुको सामुहिक सोचले चल्दा त सुशासान नभएको मुलुकमा राजाको एकल सोचले चल्ने कुरा पनि थिएन। त्यसैले जनताले सोच्न थाले तिर्खा लाग्यो भनेर बिष पिउनुबद्धिमानी हुँदैन। जनतालाई लाग्यो, राजालाई साथ दिनु भनेको तिर्खा लाग्यो भनेर बिष पिउनु जस्तै हो। त्यसैले उनीहरु बिस्तारै दलहरुतर्फ गोलबद्ध हुदै गए। विस्तारै सहर र गाउँमा राजतन्त्रविरुद्ध एक प्रकारको आँधीबेहरी नै आयो, अनि राजतन्त्र सधैका लागि ढल्यो।

 

(बालकुमार नेपाल, नेपालसमयबाट)


तपाईंको प्रतिकृयाहरू




 


ताजा अपडेट