राष्ट्रिय ध्वजावहाकलाई नै आगो लगाउन खोज्ने घिनलाग्दो खेल कहिलेसम्म ?

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

 

मेरो रगतको हरेक रक्त कणमा यसकै कमाइले आर्जित अन्नजल परेको छ । आज म जे हुँ यसकै कारण हुँ । यो छ र त म पनि छु । गर्व र गौरवसाथ उभिएको छु । अलिकति पनि मैले यो संस्थाको अहित सोचे भने मलाई पाप लाग्छ । यो नभएको भए म भरिया हुन्थे वा मेरो गाउँको टारी खेतमा हलोकोदालो गर्दै हुन्थे वा गोठालो गर्दै हुन्थे । गोठालो हुनु घाँस दाउरा गर्नु पत्कर सोर्नु  खेतीपाती गर्नु पनि मेरो परिचय हो किनकी हामी कृषिप्रधान मुलुकमा जन्मेका नेपाली हौँ ।

 

तर म आज नेपाल वायुसेवा निगमको फ्लाईट सर्भिसमा मेनेजर छु । हिजो गाउँमा हलो जोत्ने भकारो सोर्ने घास काट्ने कोदालो खन्ने एउटा युवा आज उडान क्षेत्रमा एउटा गौरवशाली इतिहास बनाएको नेपाल वायुसेवा निगममा काम गर्छु । म आफुलाइ अत्यन्तै भाग्यमानी युवाको रूपमा लिन्छु। मैले यसको हित नचिताए घोर पापी हुन्छु । म कि त नेपाल वायुसेवामा हुन्छु कि सिर्जनामा हुन्छु यो भन्दा बाहेक मेरो कतै उभिने ठाँउ र घस्रने जमिन छैन । मलाई सानैमा आफ्नो हात दिएर डाेर्यायो यसैले जसै डाेर्याउछिन आमाले आफ्ना हर सन्ततिलाई ।

 

रास्ट्रको उन्नतिका लागि सदैव खट्नुपर्ने युवाहरू आज कालोमोसो हातमा लिएर कर्पोरेट अफिसहरुमा छिरेर त्याहाको एम डिलाई पैसाको भिख माग्दा नदिएको निहुँमा मुखभरी कालोमोसो दलेर भाग्छन । भागिरहेका छन । भाग्ने अभ्यासमा छन र भविस्यमा यो कायर काम भैरह्यो भने हामी नेपाली संसारमा आतंककारीको देश भनेर चिनिनुको विकल्प छैन।

 

कालो मोसो दल्ने ती युवाहरूलाई भन्दा पनि त्यस्ता युवा पुस्ता  जन्माउने हाम्रा पार्टीहरु र हाम्रा पार्टीका नायकहरुलाइ जिम्मेवार सम्झिन्छु म । कस्तो स्कुलिङ्ग दिएर मलजल गरिरहेछौ हामीले  आजका युवाहरूलाई अहिलेका हाम्रा  पार्टीहरुले ? परिश्रम गर्न सिकाउने कि लुट्न सिकाउने ? भिख माग्न सिकाउने कि धरतीमा पसिना चुहाउन सिकाउने ? बिबेकी बन्न उत्प्रेरित गर्ने कि दुष्ट बन्न पढाउने ? यी  कुराहरुसँग के हाम्रा पार्टीहरु परिचित छन त ?

 

नेपाल एयरलाइन्सलाइ जाहाज नकिनेर हात्ती घोडा वा रिक्सा ! किनेको भए यो भन्दा कम बिबाद आउथ्यो होला कि शायद ? जाहाज उडाउने संस्थाले जाहाज नकिनी के हसिया कोदालो र खुर्पा किन्न पर्ने हो र ? र आज नेपाल वायुसेवाले जाहाज किनेकोमा विकास बिरोधिहरु हातमा तरबार र जिब्रोमा बिछी बोकेर बकबक गरिरहेछन । नेपाल एयरलाइन्सलाई हवाई जाहाज किन्न नदिन निजि एयरलाइन्सका दाजुभाइहरुनै मरिमरि लागे किनकी उहाँहरुको ब्यापार र मनलाग्दी भाडा असुल्ने एकाधिकार खोसिएको छ । ब्यापारमा प्रतिस्पर्धा पो हुन्छ र हुनुपर्छ  ।

 

प्रजातान्त्रिक मुलुकको साैन्दर्य नै प्रतिस्पर्धा हो तर यस्तो घिनलाग्दो खेल हुनु राम्रो हो र ? नेवानी आज उनीहरुको शत्रु बनेको छ । ब्यापारको हिस्सा खोसेको रिसमा रास्ट्रको एक मात्र ध्वजाबाहकलाई नै आगो लगाउन खोज्ने घिनलाग्दो खेल उनीहरूले खेले जो यो देशमा सधैं अराजकता चाहन्छन । नेपाल एयरलाइन्सका बर्गशत्रुहरुलाइ पनि अन्तत के फाइदा पुग्ला र खै ?

हामीसँग अहिले भैरहेको जाहाजहरुको पुर्ण उपयोग र थप गन्तव्य थप्ने हो भने वार्षिक दश अर्ब कमाउछौँ । ग्राउन्ड ह्यान्डलिङ्गबाट दैनिकी एक करोड आम्दानी छ । वार्षिक तीन अर्ब पैसठी करोड थप आम्दानी भयो । लगभग चौध अर्बको कमाइ गर्ने रास्ट्रको ध्वजाबाहकलाई यहि आम्दानीको कारण हवाई माफियाहरुको नाङ्गो आँखा पर्यो र नेपालका संचार माध्यमलाई समेत किनेर यस्को बदनाम गर्ने काम लगातार रूपमा भैरहेको छ। सर्वबिदितै छ एयरबस ३३० खरिदका लागि जब बैना गयो नेपालका हवाई माफियाहरुको मुटुको भल्ब साङ्रो हुँदै गयो यिनका रगत बग्ने नसाहरु प्रेसरले धेरै धकेल्न थाल्यो ।

 

जब आकाश भैरवको खेदो खन्न थाल्छन यिनीहरू आफै बिपत्तिमा फस्छन । निजि हवाई सेवा कम्पनीबाट चालीस हजार तिरेर दिल्ली उड्ने यात्री आज नेपाल वायुसेवा निगमको थप जाहाजका कारण १५ हजारमा उडान गर्न पाएका छन । हामी नेपालीहरुमा कर्पोरेट कल्चर बुझ्ने क्षमताको बिकास अझै भएको छैन । यो नेपालको एउटा  गौरवको आयोजना हो । यस बाट हामी नेपालमा लाखौं टुरिष्ट भित्र्याउन सक्छौ र नेपाललाई समृद्धि तर्फ लैजाने बाटो मध्यको यो एउटा महत्त्वपूर्ण टर्निङ्ग प्वाइन्ट हो ।

 

नेपालमा अन्तर्राष्ट्रिय हवाई उड्डयनहरुको बजारको वार्षिक ब्यापारको आकार रु.१ खर्ब हाराहारीको छ । नेपाल वायुसेवा निगमको दैनिक  व्यापार बढ्नुको प्रत्यक्ष असर नेपालमा उडान भर्ने विभिन्न वायुसेवा र तिनका नेपाली जनरल सेल्स एजेण्ट (जीएसए) लाई पर्छ । नेपाली जीएसएले नेपालमा काट्ने टिकटबाट रु.४ अर्बको व्यापार गुमाउँदा विभिन्न वायुसेवाको दुईतर्फी व्यापारमा रु.८ अर्ब बराबरको व्यापार घट्छ । नेवानिसँग विमान नहुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा अन्य कम्पनीको मनपरी थियो । निजि वायुसेवा कम्पनीहरु नेवानी सग जाहाज नहोस भन्ने चाहन्छन र जसरी पनि नेवानीलाई सिधा्याउन चाहन्छ न। नेवानी सरकारको हो ।

 

सरकारले जिम्मेवारी बसेर नै ३२ अरबको लोन प्रवाह भएको छ । सरकारी सस्थालाइ निजि कम्पनीहरुको यो हदै सम्मको शत्रुतापुर्ण ब्यवहारको कारण यस्लाइ उठ्नु नदिनु यस्को सरचना ध्वस्त गर्न खोज्नुले के प्रमाणित गर्छ भने सरकार कम्जोर छ है भन्नुको प्रमाण हो ।  यसरी एउटा सरकारी सस्थालाइ सिद्द्याउने प्रपन्च रचिरहनु, यस्को बदनाम गराउनु ,हरेक दिन पत्रपत्रिकामा यस्को विरुद्धमा खबर र लेखहरु आइरहनु भनेको सरकार माथी नै चुनौती हो ।

 

सरकारी सस्था प्रतिको यो हदैसम्मको रवैया नेपालमा बिकास नचाहिने बिकास बिरोधी रास्ट्रघाती देशद्रोही कुलनाशक रास्ट्रका खलनायकहरुको काम हो । नेपालमा एउटा त्यस्तो समुह छ त्यो समुह जहिले पनि नेपालको बिकास चाहदैनन् । र बिकास हुन लाग्यो भने त्यस्ले अन्यत्र मुलुकहरूलाई खबर गर्छ यहाँको उन्नतिमा भाजो हाल्छ। त्यो समुह बिदेशीको हुन्डि खाएर पालिएका छन ।

 

नेवानीलाई जाहाज चाहिदैन भनेर पर्यटन मन्त्रीलाई लबिङ गर्नेहरू नेवानी बिरुद्ध लाग्नेहरु सुटकेसमा करोडौं हालेर हिडे । सबै जना देश घाती हुदैनन् यो देश केही असल मान्छेले बचाएका छन फलतः बिबिध प्रपन्चको साङ्लो तोडेर पनि नेवानीले जाहाज ल्यायो । तात्कालिक समयका ब्याक्तित्वहरुलाइ यो जस जान्छ जस्ले विविध समस्यालाई चिरेर भएपनि  नेवानीलाई जाहाज उपलब्ध गराएरै छोडे । राम्रो काम गर्नेलाइ स्यावास कहिले गर्न सिकेनै हामीले दुख यसमै छ ।

 

नेवानी जति कम्जोर हुन्छ बजारमा हवाई माफिया त्यतिनै बलियो र सकृय हुन्छन अनि आफुले चाहेको मुल्यमा यात्रुलाई ठग्न पाँउछन । आज नेवानीसग जाहाज छ र त ती गरीब नेपाली यात्रुले खाडि मुलुकमा काम गर्न जादा सस्तो टिकटमा आफ्नै रास्ट्रको ध्वजाबाहक चढेर यात्रा गर्न पाएका छन । नेपालीलाई सुलभ मुल्यमा टिकट उपलब्ध गराउने एकमात्र ध्वजाबाहक हो । यो भन्दा अगाडि सन् २०१५ मा नेवानिले ए–३२० सञ्चालन गर्नुपूर्व काठमाडौं–दिल्लीको एकतर्फी भाडा मात्रै रु.४० हजारसम्म पुगेको थियो । त्यतिबेला नेपाल वायुसेवाको निगमको खुब महत्व खड्किएको थियो तर कालाबजारीहरु रमाइरहेका थिए ।

 

बजारमा ब्ल्याक मेलिङ्ग र मनोपोली  गर्न नपाएको रिसमा नेवानी बिरुद्ध उत्रने महारोगीहरु पेपरबाजी गर्छन। नेवानिले हप्ताको सातै दिन दिल्ली उडान गर्न थालेपछि काठमाडौं–दिल्ली एकतर्फी भाडा रु.१५–२० हजारमा आइपुगेको छ । नेवानिले काठमाडौं–धनगढी सातामा पाँचदिन उडान शुरू गरेपछि रु.१० हजार नाघेको एकतर्फी भाडा रु.५–६ हजारमा झरेको छ । यात्रु ठग्न पल्केकाहरुलाइ यतिखेर निन्द्रा परेको छैन र त नेवानी सिध्याउने प्रपन्चमा लागेका छन । म भन्छु ती सब पक्षघातका दीर्घरोगी हुन । आन्तरिक तर्फ बार्सिक करोडौं घाटा सहेर पनि नेपाल वायुसेवा निगमले यात्रुसेवा गरिरहेको छ । राम्रो कुराको प्रसम्शा गर्न हामी नेपाली जहिले पनि पछि छौ र सधैं नेगेटिभ कुराको मात्रै पछि लाग्छौ ।

 

बढी मूल्यमा टिकट बिक्री गर्ने समूह नै हाम्रा विमान नचलुन् थन्कियुन र बिग्रेको हेर्न चाहन्छन् । नेवानीको बजार हिस्सा बड्दो छ त्यसैले निजि कम्पनीका मालिकहरुलाइ निन्द्रा लागेको छैन । नेवानी लाई तथानाम गाली गर्ने पत्रिकामार्फत हुर्मत लिने सस्था बदनाम गराउने फोहोरी खेलमा ती खेलाडी लागेका छन जस्ले हवाई माफियाहरुको नुन खाइरहेका छन ।२०१४ मा नेवानिको अन्तर्राष्ट्रिय बजार हिस्सा ५.८९ प्रतिशत थियो । दुइटा ए–३२० विमान आएलगत्तै २०१५ मा यो हिस्सा  बढेर ७.९ प्रतिशत र २०१६ मा ११.०४ प्रतिशत पुगेको छ । अब थप दुइटा वाइड बडि जाहाज थपिएपछि हाम्रो बजार हिस्सा झनै बढिरहेको छ ।

 

आन्तरिक तर्फ पहिले खुलेर बन्द भएका पुराना सेक्टरहरु मदन खरेल अध्यक्ष भएर आएपछि पुनः खोलिएका छन । साफे बगर जुपाल ,दाङ  देखि मनाङ सम्मका यात्रुहरूलाई सहज भएको छ। नेपाल वायुसेवा निगमलाई थाइएयर्वेजसग तुलना गरेर नहेर्नुस बिन्ती । तपाईं हेर्नुस थाइल्यान्ड आज उन्नतिको चरम चर्चामा पुगेको देश हो । हामी सिटामोल र जीवन जल खान नपाएर मरिरहेका छौ अझैसम्म । भोकमरी अभाव गरीबी र पछौटेपनको आक्रमणले अझैसम्म सिथिल छौ हामी ।

 

गौरवको आयोजना सुचारु गर्न हामी आफै बादक छौ । आज मेलम्ची खानेपानीको हालत हेर्नुस् कस्तो अवस्था छ ! नेवानीले जाहाज किन्न हुदैन भन्छौ हामी भ्रष्टाचार भयो भन्छौ । यो कामै गर्न नसक्ने वातावरण कसरी कस्ले सिर्जना गरिरहेको छ भन्दा ती तमाम बिकास बिरोधि र देशद्रोही मानिसको झुन्ड लागिपरेका छन ।

 

कर्पोरेट कल्चरको बिकास नै भएको छैन नेपालमा । जस्लाइ हवाई जाहाजको बिषयमा र हवाईजाहाजको उत्पादन र अन्तर्राष्ट्रिय मुल्यको बारेमा ज्ञान् छैन उसैलाई हवाई बिज्ञको रूपमा नेपालका मिडियाहरुले लाइभ अन्तर्वार्ता लिइरहेका हुन्छन । हाम्रो बुझाइ हाम्रो बिग्यता हाम्रो कार्यक्षमता हाम्रो कार्यशैली हाम्रो झुकाव हाम्रो लगानी हाम्रो उत्पादन हाम्रो बजार सम्बन्धि अल्प अध्यनको कारण नै एउटा सस्थालाइ सबैजना मिलेर धारासाही बनाउन खोजिएको हो ।

 

नेपाल वायुसेवा निगमको कर्मचारीलाई गाली गर्ने र सस्था तिनै कर्मचारीले सिध्याएको हो भन्ने भ्रम र अनर्गल प्रचारबाजी गरेर आफू चै पानी माथिको ओभानु बन्न खोज्ने सस्था बिरोधी मनुवालाइ म च्यालेन्ज दिन्छु आएर हेर्नुस हाम्रो क्षमता र एकता भनेर । हामी कर्मचारी चेन अफ कमान्डमा बिश्वास राख्छौ । हामी आफुभन्दा एक तह माथिका कर्मचारीलाई आफ्नो अभिवावक सम्झिन्छौ र उस्को आज्ञा पालन गर्छौ । हामीमा कति आर्थिक अनुशासन छ भनेर बुझ्न आए हुन्छ । बाहिरको खराब प्रचारका बाबजुद पनि हामीमा त्यो अदम्य साहस कहिले निहुरिएन कहिले हामी लत्रीएका छैनौ । हाम्रो साहस निभाउनु सक्नुहुन्न तपाईं ।

 

हामी मदन खरेललाई र सुगतरत्नलाइ पिता समान मान्छौ किनकि यो मात्री सस्थाको आक्रमणलाई झेल्ने जिम्मेवारी बोकेर उहाँहरु लाग्नुभएको छ । हामी घुस र भ्रष्टाचारमा बिश्वास गर्दैनौ । हामीलाई थाहा छ कर्पोरेट कल्चर ,कर्पोरेट सेक्युरिटी ,कर्पोरेट रुल्स र कर्पोरेट ट्रान्सपरेन्सी । जुँघाको लडाइमा राजनैतिक प्रतिशोधको खिचातानीमा किन कर्मचारीलाई मुछ्नु हुन्छ यो मैले बुझ्न सकेको छैन ।

 

मलाई काम थाहा छ, कर्पोरेसनको हित थाहा छ , सस्थाको प्रगति थाहा छ ,यहाँको स्वस्थ काम गर्ने वातावरण थाहा छ । म यही सस्थामा बिगत ३१ बर्ष देखि कार्यरत छु । म काममा यसरी रमाइरहेको छु कि यो ३१ बर्ष  बत्तिस दिन जसरी!बितेर गयो । एउटा सिङ्गो किताब तयार बन्छ मैले सस्थाको बारेमा बयान गरे भने ।यहाँ काम गर्ने वातावरण छ ।

 

यहाँ आफ्नो क्षमता देखाउने वातावरण छ । यहाँ कल्चर छ । यहाँ बिग्रेकालाई पनि सपार्नु पर्छ भन्ने मान्यता छ, यहाँ मौका छ सबैको करियरको उन्नतिको। यहाँ भ्रष्ट कर्मचारी छन भनेर पाप बोल्नेहरुलाइ पनि सस्तो भाडामा उडाएर पठायसि भोलिपल्टैबाट आह ! हाम्रो जाहाज हाम्रो रास्ट्रध्वजाबाहक भनेर प्रसम्सा गर्न थाल्छन ।

 

यो सन्सार यस्तै हो लिन पाए मात्रै आफ्नो हुनेरहेछ । लिन नपाएको भोलिपल्ट गाली र धारेहात सुरु हुन्छ । सस्था आफै डुबेर भएपनि सस्तो टिकटमा यात्रा गर्न पाउनु भएको छ फेरि किन नेपाल वायुसेवा निगम र त्याहाका कर्मचारीलाई गाली गर्नुहुन्छ ? यो सस्था रहे मात्रै हो तपाईंले सस्तोमा उडान गर्न पाउने नत्र निजिहरुले तपाईंको खल्ती यसरी प्लाल पार्छन कि त्यतिबेला नेपाल वायुसेवालाई धेरै मिस गर्नुहुनेछ र खेतको मुरि धान बेच्दा पनि भरतपुरको टिकट आउने छैन बिदेशको त कुरै नगर्नुस ।

 

न्युरोडको सुरक्षीत घेरा पार गरेर हाम्रा सुरक्षागार्डको आखामा धुलो क्ष्यापेर एकजना भद्र ब्यक्ति जो नेपाल वायुसेवा निगमलाई जाहाज चाहिन्छ भन्दा जेल पर्नुभो बिगतमा र अविचलित भएर लाग्नु भो जाहाज ल्याउनु भो । यो कार्यको जस अवजसको भागिदार उहाँ मात्रै पनि  होइन सम्बन्धित मन्त्रालय देखि त्यो सिङ्गो टिम नै सहभागी छ ।

 

म सामान्य कर्मचारी मलाई भ्रष्टाचार के हो थाहा छैन मलाई काम थाहा छ त्यो पनि मेरो क्षेत्रको बस मैले बुझ्न पर्ने यतिमात्र हो । सुगत सरलाई मुखमा कालो मोसो दलेर खै के पाउनु भो त? के हामी यहि उपद्रोह गर्नकै लागि जन्मिएका हौं त ? के हाम्रो लक्ष्य र सपना सबैलाई मोसो दल्दै हिड्ने हो ? हामी कति फुर्सदमा छौ कि काम नगरेर उत्पादन नगरेर कर्पोरेट अफिसमा त्याहाका हाकिमहरुलाइ होलि हाल्दै हिड्ने ।

 

फागुपुर्नेमा दल्नु भएको भए हुन्थ्यो नि बरु । यो परिघटना बाट हामीले अब यो बुझ्यौकी नेपालका कुनै पनि अफिस, सस्थामा काम गर्ने उच्च ओहदामा पुगेका ब्यक्ति सुरक्षीत छैनन् । आज मोसो दलियो भोलि गोलि नै हान्ने पो होकि भन्ने त्रासदी बढेर गएको छ । यो लेखिसकेपछी शायद म पनि सुरक्षीत नहुन सक्छु । मलाई सुगत रत्नको हनुमान भन्लान या मदन खरेलको प्रवाह छैन ।

 

म हरेक रास्ट्रप्रेमीको हनुमान हु । म तिनै ब्यक्तिहरुको पुजारी  हु जो नेपाल आमालाई माया गर्छन । जो आफै चुकेर झुकेर नुहेर पनि यो देशको समृद्धिको  सपना देख्छन र चोखो हिमाल जस्तै शान्त हसिलो र खुसी देखिन्छन।जसरी यो देशका लागि हासेरै छातीमा गोलि थापे ती वीर सपुतहरुले र हामी सबै मिलेर तिन्कै सपना साकार पार्ने हो नत्र महापाप लाग्छ ।

 

-लक्ष्मण सिटाैला

इमेलः [email protected]


तपाईंको प्रतिकृयाहरू




 


ताजा अपडेट